सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जोसिलो भई आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्‌!

जोसिलो भई आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्‌!

आफ्नो मिल्ने साथीबाट मायालु शब्दहरूले भरिएको पत्र पाउँदा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? ख्रिष्टियन चेला तिमोथिले प्रेषित पावलबाट यस्तै पत्र पाएका थिए। यस पत्रलाई अहिले हामी बाइबलमा दोस्रो तिमोथिको किताब भनेर चिन्छौँ। पक्कै पनि तिमोथि शान्त ठाउँमा बसेर आफ्नो प्रिय मित्रले पठाएको पत्र पढ्‌न उत्सुक थिए। पत्र पाएपछि तिमोथिले यस्तो सोचेको हुनुपर्छ: ‘पावललाई कस्तो छ होला? मैले पाएको जिम्मेवारीप्रति कस्तो दृष्टिकोण राख्ने भनेर तिनले कुनै सल्लाह दिएका छन्‌ कि? के यस पत्रले म र अरूलाई ख्रिष्टियन सेवामा सफल हुन मदत दिनेछ?’ तिमोथिले यस अनमोल पत्रबाट यी प्रश्‍नहरूको जवाफलगायत अरू थुप्रै कुरा थाह पाए भनेर हामी बुझ्नेछौँ। तर सबैभन्दा पहिला हामी यस पत्रमा पाइने केही मदतकारी सल्लाहहरू विचार गर्नेछौँ।

“म सबै कुरा सहिरहन्छु”

यस पत्रको सुरुका शब्दहरू पढ्‌नेबित्तिकै तिमोथिले पावल तिनको कत्ति ख्याल राख्छन्‌ भनेर महसुस गर्न सके। पावलले तिनलाई न्यानो माया देखाउँदै “मेरो प्रिय छोरा” भने। (२ तिमो. १:२) तिमोथिले इस्वी संवत्‌ ६५ तिर यो पत्र पाउँदा तिनी ३० वर्ष नाघिसकेको हुनुपर्छ। साथै तिनी एक अनुभवी ख्रिष्टियन एल्डर भइसकेका थिए। पावलसँगै काम गरेको दस वर्षभन्दा धेरै भइसकेकोले तिनले पावलबाट धेरै सिकेका थिए।

पावलले वफादार भई परीक्षाहरू सहिरहेको कुरा थाह पाउँदा तिमोथि धेरै प्रोत्साहित भएको हुनुपर्छ। पावल रोममा कैदमा थिए र उनले चाँडै मृत्युदण्ड पाउने थिए। (२ तिमो. १:१५, १६; ४:६-८) तिमोथिले पावल साहसी छन्‌ भन्‍ने कुरा बुझ्न सके किनभने उनले पत्रमा यसो भनेका थिए: “म सबै कुरा सहिरहन्छु।” (२ तिमो. २:८-१३) तिमोथिले जस्तै हामीले पनि पावलको सहनशीलताबारे पढेर बल पाउन सक्छौँ।

“जुन वरदान पायौ, त्यसलाई आगोझैँ दन्काइरह”

पावलले तिमोथिलाई परमेश्‍वरको सेवामा आफूले पाएको जिम्मेवारीलाई अनमोल ठान्‍न आग्रह गरे। तिमोथिले ‘परमेश्‍वरबाट जुन वरदान पाएका थिए, त्यसलाई आगोझैँ दन्काइरहेको’ पावल चाहन्थे। (२ तिमो. १:६) पावलले यहाँ “वरदान”-को लागि ग्रीक शब्द खरिस्मा चलाएका छन्‌। यस शब्दले त्यस्तो वरदान आफैले कमाउन नसकिने र आफू त्यसको लायक नभए पनि सित्तैँमा पाउने कुरालाई बुझाउँछ। तिमोथिलाई विशेष तरिकामा मण्डलीको सेवा गर्न रोजिँदा तिनले त्यो वरदान पाए।—१ तिमो. ४:१४.

तिमोथिले यो वरदान कसरी प्रयोग गर्नुपर्थ्यो? तिनले “आगोझैँ दन्काइरह” भन्‍ने अभिव्यक्‍ति पढ्‌दा आगोको भुङ्‌ग्रो सम्झेको हुनुपर्छ। आगो दन्काउन र अझै रापिलो बनाउन भुङ्‌ग्रोलाई चलाइरहनुपर्थ्यो। एउटा शब्दकोशअनुसार पावलले प्रयोग गरेको ग्रीक क्रियाले (अनाजोपाइरियो) “फेरि जगाउनु, फेरि जीवित पार्नु, आगो दन्काउनु” भन्‍ने अर्थ दिन्छ। यसले प्रतीकात्मक अर्थमा “कुनै कार्यको लागि उत्साहित वा जोसिलो हुनु”-लाई बुझाउँछ। त्यसैले पावलले तिमोथिलाई यसो भन्‍न खोजिरहेका थिए: ‘जोसिलो भई आफ्नो जिम्मेवारी पूरा गर!’ आज हामीले पनि त्यसै गर्नुपर्छ; हामी पनि यहोवाको सेवामा जोसिलो भई लाग्नुपर्छ।

“यस उत्तम नासोलाई . . . सँभालेर राख”

आफ्नो प्रिय मित्रबाट पाएको पत्र पढ्‌दै जाँदा तिमोथिले आफ्नो सेवाको काममा सफल हुन मदत दिने अर्को अभिव्यक्‍ति पनि याद गरे। पावलले पत्रमा यस्तो लेखेका थिए: “हामीलाई सुम्पिइएको यस उत्तम नासोलाई हामीमा बास गरिरहेको पवित्र शक्‍तिद्वारा सँभालेर राख।” (२ तिमो. १:१४) त्यो नासो के थियो? तिमोथिलाई कस्तो नासो सुम्पिइएको थियो? यसको अघिल्लो पदमा पावलले धर्मशास्त्रमा पाइने “साँचो शिक्षा”-बारे उल्लेख गरे। (२ तिमो. १:१३) ख्रिष्टियन सेवक भएकोले तिमोथिले मण्डलीभित्र र बाहिर साँचो शिक्षा सिकाउनुपर्थ्यो। (२ तिमो. ४:१-५) साथै परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरचाह गर्न तिनी एल्डर नियुक्‍त भएका थिए। (१ पत्रु. ५:२) यहोवाको पवित्र शक्‍ति र उहाँको वचनमा भर परेर तिमोथिले आफूलाई सुम्पिइएको उत्तम नासो अर्थात्‌ साँचो शिक्षालाई सँभालेर राख्न सक्ने थिए।—२ तिमो. ३:१४-१७.

अहिले हामीलाई पनि त्यो साँचो शिक्षा सुम्पिइएको छ, जुन शिक्षा हामी अरूलाई सिकाउँछौँ। (मत्ति २८:१९, २०) निरन्तर प्रार्थना गरेर अनि परमेश्‍वरको वचन अध्ययन गर्ने राम्रो बानी बसालेर हामी आफूलाई सुम्पिइएको यो नासोको मोल गर्न सक्छौँ। (रोमी १२:११, १२; १ तिमो. ४:१३, १५, १६) एल्डरको रूपमा वा पूर्ण-समय सेवकको रूपमा सेवा गर्ने थप जिम्मेवारी हामीले पाएका हुन सक्छौँ। यस्तो जिम्मेवारी पाउँदा हामी नम्र हुनुपर्छ र परमेश्‍वरमा भर पर्नुपर्छ। यसरी यो नासोको मोल गरेर अनि यहोवामा भर परेर हामी यसलाई सँभालेर राख्न सक्छौँ।

“ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ”

तिमोथिले पाएको जिम्मेवारीमा आफूले गरिरहेको काम गर्न अरूलाई तालिम दिनु पनि समावेश थियो। त्यसैले पावलले तिमोथिलाई यस्तो सल्लाह दिए: “तिमीले मबाट जे-जे सुन्यौ . . . , ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ ताकि तिनीहरू पनि अरूलाई सिकाउन योग्य हुन सकून्‌।” (२ तिमो. २:२) हो, तिमोथिले आफ्ना ख्रिष्टियन दाजुभाइबाट सिक्नुपर्थ्यो र तिनीहरूलाई पनि सिकाउनुपर्थ्यो। अहिले ख्रिष्टियन मण्डलीमा पनि हरेक निरीक्षकले यसै गर्नु महत्त्वपूर्ण छ। असल निरीक्षकले आफूले सम्हाल्दै आएको जिम्मेवारीबारे आफूसँग भएको ज्ञान आफैमा मात्र सीमित राख्नु हुँदैन। बरु उनले अरूलाई पनि त्यो काम गर्न सिकाउनुपर्छ। त्यो काम आफूले भन्दा अरूले राम्ररी गर्लान्‌ र आफू ओझेलमा परिएला भनेर सोच्नु हुँदैन। निरीक्षकले आफूले तालिम दिइरहेकाहरूलाई कुनै काम कसरी गर्ने भनेर सरसरती मात्र बताउनुको सट्टा तिनीहरूलाई राम्ररी सुझबुझ र अन्तर्दृष्टि चलाउन सिकाउनुपर्छ। यसरी उनले सिकाएका “विश्‍वासी पुरुषहरू” मण्डलीको लागि अझ मदतकारी साबित हुनेछन्‌।

पावलबाट मायालु शब्दहरूले भरिएको पत्र पाउँदा तिमोथिले पक्कै पनि त्यसको मोल गरे। तिनले त्यस पत्रमा भएका अनमोल सल्लाहहरू दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढेको र जिम्मेवारी सम्हाल्दा ती सल्लाह कसरी राम्रोसँग लागू गर्ने भनेर चिन्तनमनन गरेको हामी कल्पना गर्न सक्छौँ।

हामी पनि ती सल्लाह पालन गर्न चाहन्छौँ। कसरी? आफूले पाएको वरदानलाई आगोझैँ दन्काइरहन, आफूलाई सुम्पिइएको नासो सँभालेर राख्न अनि आफूसित भएको अनुभव र ज्ञान अरूलाई बाँड्‌न हामी कडा मेहनत गर्न सक्छौँ। यसो गर्दा पावलले तिमोथिलाई सल्लाह दिएझैँ हामी “आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा” गर्न सक्छौँ।—२ तिमो. ४:५.