सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १

शान्त हुनुहोस्‌ र यहोवामाथि भरोसा गर्नुहोस्‌

शान्त हुनुहोस्‌ र यहोवामाथि भरोसा गर्नुहोस्‌

सन्‌ २०२१ को वार्षिक पद: “शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”—यसै. ३०:१५.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

परिचय *

१. राजा दाउदले जस्तै हामीमध्ये कोहीले कस्तो प्रश्‍न सोध्न सक्छौँ?

हामी सबै सुखशान्तिको जीवन बिताउन चाहन्छौँ। हामी कसैलाई पनि चिन्तित भएर बस्न मन पर्दैन। तर कहिलेकाहीँ हामीलाई चिन्ताले सताउन सक्छ। भन्‍ने हो भने, परमेश्‍वरका केही सेवकले राजा दाउदले जस्तै यहोवालाई यस्तो प्रश्‍न सोध्न सक्छन्‌: “दिनदिनै मनमा बोझ लिएर कतिन्जेल म चिन्ताले व्याकुल भइरहूँ?”—भज. १३:२.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामी चिन्ता-फिक्रीबाट पूर्णतया मुक्‍त हुन सक्दैनौँ। तर यसलाई वशमा राख्न हामीले गर्न सक्ने केही कुराहरू छन्‌। यस लेखको सुरुमा हामीलाई चिन्तित बनाउन सक्ने केही कारणहरूबारे छलफल गर्नेछौँ। त्यसपछि समस्याहरूसित जुझ्दा शान्त हुन हामीले गर्न सक्ने छ वटा व्यावहारिक तरिकाबारे छलफल गर्नेछौँ।

हामी के-कस्ता कारणले गर्दा चिन्तित हुन सक्छौँ?

३. हामी कस्ता दबाबहरूको सामना गर्छौँ र के हामी ती कुराहरूलाई नियन्त्रण गर्न सक्छौँ?

हामीलाई चिन्तित बनाउने केही कुराहरू हाम्रो वशमा हुँदैन। उदाहरणको लागि, प्रत्येक वर्ष खानेकुरा, घरभाडा, लत्ताकपडाजस्ता कुराहरूमा बढिरहेको महँगीलाई हामी रोक्न सक्दैनौँ। हामीलाई बेइमानी गर्न वा अवैध यौनसम्बन्ध राख्न दबाब दिन सक्ने हाम्रा सहकर्मीहरू वा स्कुलका साथीहरूको मनोवृत्तिलाई पनि हामी नियन्त्रण गर्न सक्दैनौँ। न त हामी हाम्रो टोलछिमेकमा हुने अपराधका घटनाहरूलाई रोक्न नै सक्छौँ। अहिले हामीले यस्ता कठिन परिस्थितिहरूको सामना गर्नुपर्छ किनकि हामी बाँचिरहेको संसारका प्रायजसो मानिसहरू बाइबल सिद्धान्तअनुसार चल्दैनन्‌। साथै “यस संसारमा आइपर्ने फिक्री”-ले केही मानिसलाई यहोवाको सेवा गर्नदेखि बाधा पुऱ्‍याउनेछ भनेर यस संसारको ईश्‍वर सैतानलाई थाह छ। (मत्ति १३:२२; १ युह. ५:१९) त्यसैले यो संसार हामीलाई चिन्तित बनाउने समस्याहरूले भरिनु छक्कलाग्दो कुरा होइन!

४. अत्यन्तै कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा हामीलाई के हुन सक्छ?

अत्यन्तै कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा हामी चिन्ता-फिक्रीमा डुब्न सक्छौँ। जस्तै: आफ्ना आवश्‍यकताहरू पूरा गर्न पुग्दो पैसा कमाउन नसकिने हो कि भनेर हामीलाई चिन्ता लाग्न सक्छ अथवा बिरामी भएर काममै जान नसकिएला वा जागिरै गुमाउनुपर्ला भन्‍ने पिर पनि पर्न सक्छ। परमेश्‍वरको आज्ञा तोड्‌ने प्रलोभन आउँदा वफादार रहन नसक्ने हो कि भनेर पनि हामीलाई चिन्ता लाग्न सक्छ। अब चाँडै सैतानले त्यसको अधीनमा भएका मानिसहरूलाई चलाएर हामीमाथि आक्रमण गर्नेछ। त्यस्तो अवस्थामा के गर्ने होला भनेर पनि हामीलाई चिन्ता लाग्न सक्छ। त्यसैले हाम्रो मनमा यस्तो प्रश्‍न आउन सक्छ: ‘यस्ता कुराहरूबारे चिन्ता लाग्नु गलत हो र?’

५. येसुले “चिन्ता गर्न छोडिहाल” भनेर के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

येसुले आफ्ना अनुयायीहरूलाई “चिन्ता गर्न छोडिहाल” भन्‍नुभएको थियो। (मत्ति ६:२५) के उहाँले कुनै कुराको चिन्ता गर्नै हुँदैन भन्‍न खोज्नुभएको हो? पक्कै पनि होइन! विगतमा पनि परमेश्‍वरका केही सेवकहरूले चिन्ता-फिक्रीसित सङ्‌घर्ष गर्नुपरेको थियो। तैपनि तिनीहरूले यहोवाको अनुमोदन गुमाएनन्‌। * (१ राजा १९:४; भज. ६:३) वास्तवमा येसुले हामीलाई आश्‍वासन दिँदै हुनुहुन्थ्यो। उहाँ हामीले परमेश्‍वरसितको सम्बन्धमा नै नकारात्मक असर पर्नेगरि आफ्ना आवश्‍यकताहरूबारे औधी चिन्ता गरेको चाहनुहुन्‍न। त्यसोभए हामी आफ्नो चिन्तालाई वशमा राख्न के गर्न सक्छौँ?—“ तपाईँ कसरी यसो गर्न सक्नुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।

हामीलाई शान्त हुन मदत गर्ने छ वटा कुरा

अनुच्छेद ६ हेर्नुहोस्‌ *

६. फिलिप्पी ४:६, ७ अनुसार हामीलाई शान्त हुन केले मदत गर्न सक्छ?

(बारम्बार प्रार्थना गर्नुहोस्‌। तनावको सामना गरिरहेका ख्रिष्टियनहरूले यहोवालाई व्यग्र प्रार्थना गर्दा उनीहरूको मन हल्का हुन सक्छ। (१ पत्रु. ५:७) प्रार्थनाको जवाफस्वरूप तपाईँले “परमेश्‍वरको शान्ति” पाउन सक्नुहुन्छ, “जुन मानिसको समझभन्दा बाहिरको छ।” (फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌) यहोवाले आफ्नो शक्‍तिशाली पवित्र शक्‍तिमार्फत हामीलाई त्यस्तो शान्ति दिनुहुनेछ।—गला. ५:२२.

७. परमेश्‍वरलाई प्रार्थना गर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

यहोवालाई प्रार्थना गर्दा आफ्ना भावनाहरू सबै पोखाउनुहोस्‌। समस्या के हो र त्यसले गर्दा तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ, खुलस्त रूपमा बताउनुहोस्‌। यदि त्यो समस्याको समाधान गर्न सम्भव छ भने समाधान भेट्टाउन यहोवासित बुद्धि माग्नुहोस्‌ र त्यसअनुसार कदम चाल्न बल पनि माग्नुहोस्‌। यदि त्यो समस्या सुल्झाउन तपाईँले गर्न सक्ने केही पनि छैन भने त्यसबारे औधी चिन्तित नहुन यहोवासित मदत माग्नुहोस्‌। तपाईँले तोकेरै प्रार्थना गर्नुभयो भने यहोवाले तपाईँको प्रार्थनाको जवाफ कसरी दिनुभयो भनेर समय बित्दै जाँदा स्पष्ट देख्न सक्नुहुनेछ। त्यसैले प्रार्थनाको जवाफ तुरुन्तै नपाउँदा हरेस नखानुहोस्‌। यहोवा तपाईँले तोकेरै प्रार्थना गर्नुको अलावा खुरन्धार प्रार्थना गरेको पनि चाहनुहुन्छ।—लुका ११:८-१०.

८. हामीले प्रार्थनामा के पनि समावेश गर्नुपर्छ?

यहोवालाई प्रार्थनामा आफ्नो चिन्ता-फिक्री पोखाउँदा धन्यवादका शब्दहरू व्यक्‍त गर्न पनि नबिर्सनुहोस्‌। गाह्रा परिस्थितिहरूको सामना गर्नुपर्दा समेत आफूले पाएका आशिष्‌हरूबारे सोच्नु राम्रो हो। आफूलाई कस्तो महसुस भइरहेको छ भनेर व्यक्‍त गर्न कहिलेकाहीँ हामीलाई गाह्रो हुन सक्छ। त्यस्तो बेला यहोवालाई ‘मदत गर्नुहोस्‌’ भनेर पुकार्दा मात्र पनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌।—२ इति. १८:३१; रोमी ८:२६.

अनुच्छेद ९ हेर्नुहोस्‌ *

९. साँचो सुरक्षा कसरी पाउन सकिन्छ?

(आफ्नो होइन, यहोवाको बुद्धिमा भर पर्नुहोस्‌। ईसापूर्व आठौँ शताब्दीमा यहुदाका मानिसहरूलाई अस्सेरियालीहरूले आक्रमण गर्लान्‌ कि भन्‍ने डर थियो। कुनै हालतमा पनि अस्सेरियालीहरूको अधीनमा नपर्न तिनीहरूले मूर्तिपूजक मिश्रीहरूलाई गुहारे। (यसै. ३०:१, २) यहोवादेखि तर्केर गएकोले तिनीहरूले ठूलो मोल चुकाउनुपर्नेछ भनेर उहाँले चेतावनी दिनुभयो। (यसै. ३०:७, १२, १३) यहुदाका मानिसहरूले कसरी साँचो सुरक्षा पाउन सक्छन्‌ भनेर यहोवाले यसैयामार्फत बताउनुभयो। तिनले यसो भने: “शान्त होऊ र [यहोवामाथि] भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”—यसै. ३०:१५ख.

१०. यहोवामाथि भरोसा गरेको देखाउन सक्ने केही अवस्था बताउनुहोस्‌।

१० यहोवामाथि भरोसा गरेको हामी कसरी देखाउन सक्छौँ? केही अवस्था विचार गर्नुहोस्‌। मानौँ तपाईँलाई राम्रो तलब आउने जागिरको प्रस्ताव आयो। तर तपाईँले त्यो जागिरमा धेरै समय दिनुपर्नेछ र तपाईँको आध्यात्मिक तालिकालाई पनि असर गर्नेछ। अथवा मानौँ तपाईँको काम गर्ने ठाउँमा कसैले तपाईँप्रति रोमान्टिक चासो देखायो तर ऊ यहोवाको साक्षी होइन। वा तपाईँले माया गर्ने परिवारको सदस्यले तपाईँलाई यस्तो धम्की दियो भने नि: “कि मलाई रोज कि यहोवालाई!” यी प्रत्येक अवस्थामा तपाईँलाई निर्णय गर्न पक्कै गाह्रो हुनेछ। तर यी प्रत्येक अवस्थामा यहोवाले तपाईँलाई आवश्‍यक डोऱ्‍याइ दिनुहुनेछ। (मत्ति ६:३३; १०:३७; १ कोरि. ७:३९) तर प्रश्‍न उठ्‌छ, के तपाईँ यहोवामाथि भरोसा गरेर उहाँको डोऱ्‍याइअनुसार चल्नुहुनेछ?

अनुच्छेद ११ हेर्नुहोस्‌ *

११. विरोध आइपर्दा शान्त रहन हामी कस्ता बाइबल विवरणहरू अध्ययन गर्न सक्छौँ?

११ (असल र खराब उदाहरणबाट सिक्नुहोस्‌। शान्त हुनुपर्ने र यहोवामाथि भरोसा गर्नुपर्ने महत्त्वलाई जोड दिने थुप्रै विवरण बाइबलमा पाइन्छ। ती विवरणहरू पढ्‌नुहुँदा तीव्र विरोधको बाबजुद शान्त रहन परमेश्‍वरका सेवकहरूलाई केले मदत गऱ्‍यो, त्यो याद गर्नुहोस्‌। उदाहरणको लागि, यहुदी सर्वोच्च अदालतले प्रेषितहरूलाई प्रचार गर्न बन्द गर्ने आदेश दिँदा तिनीहरू डराएर पछि हटेनन्‌। बरु तिनीहरूले निडर भएर यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।” (प्रेषि. ५:२९) कोर्रा खानुपरे पनि प्रेषितहरू अत्तालिएनन्‌। किन? किनकि यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। यहोवा तिनीहरूदेखि खुसी हुनुहुन्थ्यो। त्यसैले तिनीहरूले सुसमाचार प्रचार गर्न छोडेनन्‌। (प्रेषि. ५:४०-४२) त्यसैगरि मृत्युको सामना गर्नुपर्दा समेत चेला स्तिफनस पटक्कै व्याकुल भएनन्‌। बरु तिनी यति शान्त रहे कि “तिनको अनुहार स्वर्गदूतको जस्तै” देखियो। (प्रेषि. ६:१२-१५) किन? किनकि यहोवाको अनुमोदन पाएको कुरामा तिनी ढुक्क थिए।

१२. पहिलो पत्रुस ३:१४ र ४:१४ अनुसार खेदो भोग्नुपर्दा समेत हामी किन आनन्दित हुन सक्छौँ?

१२ प्रेषितहरूले यहोवा तिनीहरूको साथमा हुनुहुन्छ भन्‍ने कुराको स्पष्ट प्रमाण पाएका थिए। यहोवाले तिनीहरूलाई चमत्कार गर्ने शक्‍ति दिनुभएको थियो। (प्रेषि. ५:१२-१६; ६:८) तर आज हामीले चमत्कार गर्ने शक्‍ति पाएका छैनौँ। तैपनि यहोवाको वचनबाट हामी यस्तो मायालु आश्‍वासन पाउन सक्छौँ: असल काम गरेकोले दुःख भोग्नुपर्दा यहोवाको पवित्र शक्‍ति हामीसित छ र उहाँ हामीसित खुसी हुनुहुन्छ। (१ पत्रुस ३:१४; ४:१४ पढ्‌नुहोस्‌) भविष्यमा खेदोको सामना गर्नुपर्दा आफूले कस्तो प्रतिक्रिया देखाउँछु होला भनेर चिन्ता नगर्नुहोस्‌। बरु हामीलाई मदत र सुरक्षा दिने यहोवाको क्षमतामा आफ्नो भरोसा कसरी बलियो बनाउन सक्छु भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। येसुको सुरु-सुरुका चेलाहरूले जस्तै हामीले पनि उहाँको यस प्रतिज्ञामा भरोसा राख्नुपर्छ: “म तिमीहरूलाई यस्ता शब्दहरू र यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्‌।” येसुले हामीलाई यस्तो ग्यारेन्टी दिनुभएको छ: “तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।” (लुका २१:१२-१९) यो कुरा पनि कहिल्यै नबिर्सनुहोस्‌, यहोवाले मृत्युसम्मै वफादार रहेका आफ्ना सेवकहरूलाई फेरि जीवित पार्न उनीहरूको सानोभन्दा सानो कुरा पनि सम्झनुहुन्छ।

१३. शान्त रहन र यहोवामाथि भरोसा राख्नदेखि चुकेका मानिसहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१३ शान्त रहन र यहोवामाथि भरोसा राख्नदेखि चुकेका मानिसहरूबाट पनि हामी पाठ सिक्न सक्छौँ। ती खराब उदाहरणहरूबारे अध्ययन गर्दा हामी तिनीहरूले जस्तै गल्ती गर्नदेखि जोगिन सक्छौँ। उदाहरणको लागि, आफ्नो शासनकालको सुरु-सुरुतिर यहुदाका राजा आसा एउटा विशाल सेनासित भिड्‌नुपर्दा यहोवामा भर परे र उहाँले तिनलाई विजयी हुन मदत गर्नुभयो। (२ इति. १४:९-१२) तर पछि इस्राएलका राजा बासा तुलनात्मक रूपमा सानो फौज लिएर लड्‌न आउँदा आसाले विगतमा जस्तै यहोवामा भर पर्नुको साटो सुनचाँदी दिएर सिरियासित सैन्य मदत मागे। (२ इति. १६:१-३) अनि आफ्नो जीवनको अन्तिम घडीतिर सिकिस्त बिरामी पर्दा समेत तिनले यहोवाको मदत खोजेनन्‌।—२ इति. १६:१२.

१४. आसाले गरेका गल्तीहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१४ सुरुमा त राजा आसा समस्याहरू आइपर्दा यहोवामा भर परे। तर पछि तिनी यहोवामा भर पर्नदेखि चुके र आफैले समस्या सुल्झाउन खोजे। झट्ट हेर्दा आसाले सिरियासित सैन्य मदत माग्नु सही थियो जस्तो देखिन्थ्यो। तर तिनको सफलता क्षणिक थियो। यहोवाले एक जना भविष्यवक्‍तामार्फत तिनलाई यस्तो सन्देश दिनुभयो: “तपाईँ आफ्ना परमेश्‍वर यहोवामाथि भर नपरी सिरियाका राजामाथि भर पर्नुभएकोले सिरियाका राजाको सेना तपाईँको हातबाट उम्केर गयो।” (२ इति. १६:७) समस्या आइपर्दा डोऱ्‍याइको लागि यहोवाको वचनमा भर पर्नुको साटो आफ्नो समस्या आफै सुल्झाउन सक्छु भनेर अति विश्‍वस्त हुनदेखि हामी होसियार हुनुपर्छ। तुरुन्तै कुनै निर्णय गर्नुपर्ने अवस्थामा पर्दा समेत हामी शान्त भएर यहोवामा भर पर्नुपर्छ र उहाँले हामीलाई सही निर्णय गर्न मदत गर्नुहुनेछ।

अनुच्छेद १५ हेर्नुहोस्‌ *

१५. बाइबल पढ्‌दा हामी के गर्न सक्छौँ?

१५ (बाइबलका पदहरू कण्ठस्थ पार्नुहोस्‌। शान्त हुनु र यहोवामाथि भरोसा गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर देखाउने बाइबल पदहरू भेट्टाउँदा ती कण्ठस्थ पार्ने प्रयास गर्नुहोस्‌। ती पदहरू कण्ठस्थ पार्न ठूलो स्वरले पढ्‌नु वा बेलाबेलामा हेर्न मिल्नेगरि लेखेर राख्नु मदतकारी हुन सक्छ। यहोसुलाई व्यवस्थाको किताब नियमित रूपमा गुनगुनाएर पढ्‌न आज्ञा दिइएको थियो। यसो गर्दा तिनले बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्ने थिए। व्यवस्थामा लेखिएका कुराहरूले तिनलाई नडराउन बरु साहसी भएर परमेश्‍वरका मानिसहरूलाई डोऱ्‍याउन मदत गर्ने थियो। (यहो. १:८, ९) परमेश्‍वरको वचनमा पाइने थुप्रै अभिव्यक्‍तिले तपाईँलाई चिन्तित वा त्रसित बनाउन सक्ने अवस्थाहरूमा पनि मनोशान्ति पाउन मदत गर्नेछ।—भज. २७:१-३; हितो. ३:२५, २६.

अनुच्छेद १६ हेर्नुहोस्‌ *

१६. यहोवाले मण्डलीलाई चलाएर हामीलाई शान्त हुन र उहाँमाथि भरोसा गर्न कसरी मदत गर्नुहुन्छ?

१६ (दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गर्नुहोस्‌। यहोवाले हाम्रा दाजुभाइ दिदीबहिनीलाई चलाएर हामीलाई शान्त हुन र उहाँमाथि भरोसा गर्न मदत गर्नुहुन्छ। सभामा दिइने भाषणहरूबाट, श्रोताहरूले दिने टिप्पणीबाट अनि हाम्रा दाजुभाइ दिदीबहिनीसितको उत्थानदायी कुराकानीबाट हामी लाभ उठाउन सक्छौँ। (हिब्रू १०:२४, २५) मण्डलीमा मन मिल्ने साथीहरूलाई आफ्नो भावना पोखाउँदा पनि हाम्रो मन हल्का हुन सक्छ। साथीको “मीठो बोलीले” हामीलाई मनबाट चिन्ताको बोझ कम गर्न धेरै हदसम्म मदत गर्छ।—हितो. १२:२५.

अनुच्छेद १७ हेर्नुहोस्‌ *

१७. हिब्रू ६:१९ अनुसार परमेश्‍वरको राज्यको आशाले हामीलाई चुनौतीपूर्ण परिस्थितिहरूमा अडिग रहन कसरी मदत गर्छ?

१७ (आफ्नो आशालाई बलियो बनाइरहनुहोस्‌। परमेश्‍वरको राज्यको आशा “हाम्रो जीवनको लङ्‌गर हो,” जसले हामीलाई चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्नुपर्दा वा चिन्ताले सताउँदा अडिग रहन मदत गर्छ। (हिब्रू ६:१९ पढ्‌नुहोस्‌) यहोवाले भविष्यको लागि प्रतिज्ञा गर्नुभएको नयाँ संसारबारे मनन गर्नुहोस्‌, जहाँ हामीलाई कुनै पनि किसिमको नकारात्मक भावनाहरूले सताउनेछैन। (यसै. ६५:१७) शान्तिमय नयाँ संसारमा जीवन बिताइरहेको कल्पना गर्नुहोस्‌, जहाँ हामीलाई चिन्तित बनाउने परिस्थितिहरू हुनेछैन। (मिका ४:४) आफ्नो आशाबारे अरूलाई बताउँदा पनि तपाईँको आशा अझ बलियो हुनेछ। प्रचार गर्ने र चेला बनाउने काममा सक्दो गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ “आफ्नो आशा पूरा हुनेछ भनी अन्तसम्मै निश्‍चिन्त हुन” सक्नुहुनेछ।—हिब्रू ६:११.

१८. भविष्यमा कस्ता गाह्रा परिस्थितिहरू आउन सक्छन्‌ र हामी कसरी त्यसको सफलतापूर्वक सामना गर्न सक्नेछौँ?

१८ यस संसारको अन्त नजिकिँदै जाँदा हामीले चिन्तित बनाउने अझ धेरै गाह्रा परिस्थितिहरूको सामना गर्नुपर्नेछ। सन्‌ २०२१ को वार्षिक पदले हामीलाई आफ्नै बलमा नभई यहोवामाथि भरोसा गरेर यस्तो गाह्रा परिस्थितिहरूको सामना गर्न र शान्त रहन मदत गर्नेछ। यस वर्षभरि आफ्नो कामद्वारा यहोवाको यस प्रतिज्ञामा भरोसा गरेको देखाउनुहोस्‌: “शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”यसै. ३०:१५.

गीत ८ यहोवा हाम्रो शरण

^ अनु. 5 सन्‌ २०२१ को वार्षिक पदले अहिले र भविष्यमा तनावग्रस्त परिस्थितिको सामना गर्दा यहोवामाथि भरोसा गर्नुपर्ने महत्त्वलाई जोड दिन्छ। यस वर्षको वार्षिक पदमा पाइने सल्लाह लागू गर्न सक्ने व्यावहारिक तरिकाहरू यस लेखमा छलफल गर्नेछौँ।

^ अनु. 5 केही वफादार दाजुभाइ दिदीबहिनीलाई अचाक्ली चिन्ताले सताउन सक्छ वा तिनीहरू अत्यन्तै व्याकुल हुन सक्छन्‌। यस्तो किसिमको चिन्ता गम्भीर स्वास्थ्य समस्या हो। येसुले यस्तो किसिमको चिन्ताबारे बताउन खोज्नुभएको होइन।

^ अनु. 63 चित्रको व्याख्या: (१) दिनभरि नै विभिन्‍न समयमा एक बहिनी आफ्ना चिन्ताहरूबारे व्यग्र प्रार्थना गर्छिन्‌।

^ अनु. 65 चित्रको व्याख्या: (२) काममा खाजा खाने समयमा तिनी बुद्धिको लागि परमेश्‍वरको वचन पढ्‌छिन्‌।

^ अनु. 67 चित्रको व्याख्या: (३) तिनी बाइबलमा पाइने असल र खराब उदाहरणमा मनन गर्छिन्‌।

^ अनु. 69 चित्रको व्याख्या: (४) तिनी फ्रिजमा आफूले कण्ठस्थ पार्न चाहेको प्रोत्साहनदायी बाइबल पद टाँस्छिन्‌।

^ अनु. 71 चित्रको व्याख्या: (५) तिनी मण्डलीको साथीसित रमाउँदै प्रचारकार्यमा भाग लिन्छिन्‌।

^ अनु. 73 चित्रको व्याख्या: (६) तिनी भविष्यको आशाबारे सोचेर त्यस आशालाई बलियो बनाउँछिन्‌।