सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

हामीले यहोवालाई कहिल्यै पनि ‘नाइँ’ भनेनौँ

हामीले यहोवालाई कहिल्यै पनि ‘नाइँ’ भनेनौँ

ठूलो आँधीले गर्दा नदीमा बाढी आयो र ठूलठूला ढुङ्‌गाहरू बगाएर ल्यायो। हामी नदी तर्नुपर्ने थियो। तर पुल भत्किसकेको थियो। त्यहाँ म र मेरो श्रीमान्‌ हार्भेसँगै हाम्रो अमिस भाषाको दोभासे पनि हुनुहुन्थ्यो। हामी निकै डराएका थियौँ र हामीलाई के गरौँ कसो गरौँ भइरहेको थियो। पारिपट्टि हामीलाई कुरिरहनुभएका भाइहरू पनि निकै चिन्तित हुनुहुन्थ्यो। हामीले जसोतसो नदी तर्न सुरु गऱ्‍यौँ। पहिला हामीले हाम्रो सानो गाडीलाई ट्रकको पछाडि राख्यौँ तर हामीसँग गाडीलाई बाँध्न डोरी वा सिक्री केही पनि थिएन। त्यसपछि ट्रक बिस्तारै नदी तर्न थाल्यो। हामीलाई नदी कसरी तर्ने होला जस्तो लागिरहेको थियो। तर हामीले यहोवालाई व्यग्र प्रार्थना गर्दै जसोतसो नदी तऱ्‍यौँ। यो घटना १९७१ को हो। हामी आफ्नो देशबाट हजारौँ माइल टाढा ताइवानको पूर्वी तटमा थियौँ। अब म तपाईँहरूलाई हाम्रो कथा सुनाउँछु।

यहोवालाई प्रेम गर्न सिक्दै

चार जना दाजुभाइमध्ये हार्भे जेठो हुनुहुन्थ्यो। उहाँको परिवार पश्‍चिम अस्ट्रेलियाको मिडल्याण्ड जङ्‌सनमा बस्नुहुन्थ्यो। उहाँहरू १९३० को दशकमा यहोवाको साक्षी हुनुभयो। त्यतिबेला अस्ट्रेलियामा गरिबी व्याप्त थियो। हुर्कँदै जाँदा हार्भेले यहोवालाई प्रेम गर्न सिक्नुभयो र १४ वर्षको उमेरमा बप्तिस्मा गर्नुभयो। उहाँले एउटा घटनाबाट मण्डलीमा पाएका जिम्मेवारीहरू सधैँ स्विकार्नुपर्छ भनेर सिक्नुभयो। सानो छँदा उहाँले एकचोटि आफू अयोग्य छु भनी सोचेर सभामा प्रहरीधरहरा-को अनुच्छेद पढ्‌न इन्कार गर्नुभएछ। तर एक जना भाइले हार्भेलाई सम्झाउँदै यसो भन्‍नुभयो, “यदि कसैले तपाईँलाई यहोवाको सङ्‌गठनमा कुनै जिम्मेवारी दिन्छ भने उसले तपाईँलाई योग्य सम्झेर नै त्यो जिम्मेवारी दिएको हुन्छ!”—२ कोरि. ३:५.

म, मेरी आमा र ठूली दिदीले इङ्‌गल्यान्डमा छँदा सत्य सिक्यौँ। बुबाले सुरुमा त विरोध गर्नुभयो। तर धेरै पछि उहाँ पनि साक्षी हुनुभयो। मैले उहाँको इच्छाविपरीत गएर १० वर्ष पनि नपुग्दै बप्तिस्मा गरेँ। मैले सुरुमा अग्रगामी सेवा गर्ने र पछि मिसनरी हुने लक्ष्य राखेँ। तर बुबाले म २१ वर्ष नपुगेसम्म अग्रगामी गर्न दिन्‍नँ भन्‍नुभयो। तर म त्यति लामो समय कुर्न चाहन्‍नथेँ। मेरी ठूली दिदी अस्ट्रेलियामा बसाइँ सर्नुभएको थियो। त्यसैले म पनि १६ वर्ष पुगेपछि बुबाको अनुमति लिएर उहाँसँगै बस्न अस्ट्रेलिया गएँ अनि १८ वर्ष पुगेपछि अग्रगामी सेवा सुरु गरेँ।

हाम्रो विवाहको दिन, १९५१

अस्ट्रेलियामा मैले हार्भेलाई भेटेँ। मेरोजस्तै उहाँको पनि मिसनरी सेवा गर्ने लक्ष्य थियो। त्यसैले १९५१ मा हामीले विवाह गऱ्‍यौँ। दुई वर्ष सँगै अग्रगामी सेवा गरेपछि हामीलाई परिभ्रमण कार्यमा खटाइयो। पश्‍चिम अस्ट्रेलियामा हामीले भ्रमण गर्नुपर्ने इलाका ठूलो थियो। त्यसैले हामीले सुक्खा र दुर्गम ठाउँहरू भएर टाढा-टाढासम्म यात्रा गर्नुपर्थ्यो।

हाम्रो सपना साकार भयो

याङ्‌की रङ्‌गशालामा गिलियडको दीक्षान्त समारोह, १९५५

सन्‌ १९५४ मा हामीले गिलियडको २५औँ कक्षामा उपस्थित हुने निम्तो पायौँ। मिसनरी हुने हाम्रो सपना चाँडै पूरा हुन लागेको थियो! हामी पानीजहाजमा यात्रा गरेर न्यु योर्क पुग्यौँ र त्यसपछि बाइबलको गहन अध्ययन सुरु भयो। गिलियड स्कुलमा हामीले स्पेनिश भाषा पनि सिक्नुपर्थ्यो। हार्भेलाई स्पेनिश भाषा सिक्न सजिलो भएन। किनभने उहाँ स्पेनिश भाषाको ‘आर’ (r) अक्षर उच्चारण गर्न सक्नुहुन्‍नथ्यो।

गिलियड स्कुलको दौडान प्रशिक्षकहरूले जापान गएर सेवा गर्न चाहनेहरूले जापानी भाषा सिक्ने कक्षामा बस्न नाम टिपाउन सक्छन्‌ भनेर बताउनुभयो। हामीले चाहिँ यहोवाको सङ्‌गठनले जहाँ खटाउँछ, त्यहीँ जाने निर्णय गऱ्‍यौँ। त्यसको केही समयपछि गिलियडको एक जना प्रशिक्षक अल्बर्ट श्रोडरले हामीले नाम नटिपाएको याद गर्नुभयो। उहाँले हामीलाई यसबारे सोच्न भन्‍नुभयो। तर हामी अझै पनि नाम टिपाउन हिचकिचाएको देखेर भाइ श्रोडरले यसो भन्‍नुभयो: “अरू प्रशिक्षक र मैले तपाईँहरूको नाम सिफारिस गऱ्‍यौँ। जापानी भाषा सिकेर हेर्नुस्‌ न!” हार्भेले जापानी भाषा सजिलै सिक्नुभयो।

सन्‌ १९५५ मा हामी जापान पुग्यौँ। त्यतिबेला पूरै देशभरि प्रकाशकहरू जम्मा ५०० जना मात्र थिए। हार्भे २६ वर्षको हुनुहुन्थ्यो र मचाहिँ २४ वर्षकी थिएँ। हामीलाई कोबे सहरमा खटाइयो, जहाँ हामीले चार वर्ष सेवा गऱ्‍यौँ। त्यसपछि हामीले फेरि परिभ्रमण कार्य गर्ने निम्तो पाउँदा हामी धेरै खुसी भयौँ र हामीले नागोया सहरनजिकै सेवा गऱ्‍यौँ। हामीलाई त्यहाँको सबै कुरा मन पर्थ्यो। हाम्रा दाजुभाइ दिदीबहिनी, खानेकुरा र त्यहाँको मनोरम दृश्‍य। केही समय नबित्दै हामीले अर्को सुअवसर पायौँ र यसपालि पनि हामीले यहोवालाई ‘नाइँ’ भनेनौँ।

नयाँ असाइनमेन्टसँगै नयाँ चुनौतीहरू

जापानको कोबेमा अरू मिसनरीहरूसँगै हार्भे र म, १९५७

तीन वर्ष परिभ्रमण कार्य गरेपछि जापान शाखाले हामीलाई ताइवान गएर त्यहाँको अमिस भाषा बोल्ने आदिवासीहरूलाई प्रचार गर्न सक्नुहुन्छ कि भनेर आग्रह गऱ्‍यो। त्यहाँ धर्मत्याग देखा परेको थियो र त्यस परिस्थितिलाई सम्हाल्न जापानी भाषा राम्रोसँग बोल्न सक्ने भाइको आवश्‍यकता थियो। * हामीलाई जापानको सेवा असाध्यै मन पर्थ्यो। त्यसैले यो निर्णय गर्न धेरै गाह्रो थियो। तर हार्भे जस्तोसुकै असाइनमेन्ट स्विकार्न तयार हुनुहुन्थ्यो। त्यसैले हामीले ताइवान जाने निर्णय गऱ्‍यौँ।

हामी नोभेम्बर १९६२ मा ताइवान पुग्यौँ। त्यतिबेला ताइवानमा २,२७१ जना प्रकाशक थिए, जसमध्ये धेरै जना अमिस जातिका थिए। तर सुरुमा त हामीले चिनियाँ भाषा सिक्नुपर्थ्यो। भाषा सिक्न हामीसँग एउटा किताब र एक जना शिक्षक हुनुहुन्थ्यो, जसलाई अङ्‌ग्रेजी भाषा बोल्न आउँदैनथ्यो। तैपनि हामीले चिनियाँ भाषा सिक्यौँ।

ताइवान गएको केही समयपछि नै हार्भेलाई शाखा निरीक्षकको रूपमा नियुक्‍त गरियो। त्यहाँको शाखा सानो भएकोले हार्भेले बेथेलका जिम्मेवारीहरू सम्हाल्नुका साथै महिनाको तीन हप्तासम्म अमिस भाषाका दाजुभाइ दिदीबहिनीसँग सेवा गर्न पनि समय निकाल्न सक्नुहुन्थ्यो। उहाँ समय-समयमा जिल्ला निरीक्षकको रूपमा पनि सेवा गर्नुहुन्थ्यो। त्यसैले उहाँले सम्मेलनहरूमा भाषण पनि दिनुपर्थ्यो। हार्भेले भाषणहरू जापानी भाषामा दिन सक्नुहुन्थ्यो र अमिस जातिका दाजुभाइ दिदीबहिनीले पनि उहाँको भाषण बुझ्ने थिए। तर त्यहाँको सरकारले धार्मिक कार्यक्रमहरू चिनियाँ भाषामै सञ्चालन गर्नुपर्ने नियम बनाएको थियो। त्यसैले हार्भेले धेरै प्रयास गरेर चिनियाँ भाषामै भाषणहरू दिनुहुन्थ्यो अनि अर्को भाइले अमिस भाषामा दोभासे गर्नुहुन्थ्यो।

त्यतिबेला ताइवानमा सैनिक शासन थियो। त्यसैले भाइहरूले सम्मेलन गर्न अनुमति लिनुपर्थ्यो। तर अनुमति लिन सजिलो थिएन र प्रहरीहरूले अनुमति दिन ढिलो गर्थ्यो। सम्मेलन हुने हप्तासम्म पनि अनुमति पाइएन भने हार्भे अनुमति नपाएसम्म पुलिस थानामा गएर बसिरहनुहुन्थ्यो। एक जना विदेशी त्यसरी थानामा आएर बस्दा प्रहरीहरूलाई पनि अप्ठ्यारो पर्थ्यो र तिनीहरूले तुरुन्तै अनुमति दिन्थे।

पहाड चढेको पहिलो अनुभव

ताइवानमा प्रचारकार्यमा भाग लिने क्रममा एउटा खोला तर्दै

दाजुभाइ दिदीबहिनीसँगै सेवा गर्ने हप्ताहरूमा हामी अक्सर एकचोटिमै एक घण्टाभन्दा बढी हिँड्‌थ्यौँ, पहाडहरू चढ्‌थ्यौँ र नदीहरू तर्थ्यौँ। पहिलो चोटि पहाड चढेको दिन मलाई अझै याद छ। हतारहतार खाजा खाएपछि हामी एउटा टाढाको गाउँमा जान सबेरै साढे पाँच बजेको बस चढ्यौँ। त्यसपछि हामीले नदी तऱ्‍यौँ र पहाड चढ्‌न सुरु गऱ्‍यौँ। त्यो पहाड यत्ति ठाडो थियो कि मेरो अघिअघि पहाड चढिरहेको भाइको खुट्टाले मेरो टाउकै छुन खोज्थ्यो।

त्यो बिहानी हार्भे त्यहाँको स्थानीय भाइहरूसँग प्रचार गर्न थाल्नुभयो र मचाहिँ जापानी भाषा बोल्ने मानिसहरू बस्ने एउटा सानो गाउँमा एक्लै प्रचार गर्न थालेँ। एक बजेतिर त मलाई भोकले गर्दा रिँगटै लाग्यो। किनभने यतिबेलासम्म मैले खानै खाएको थिइनँ। पछि हार्भेलाई भेट्‌दा उहाँसँग अरू भाइहरू थिएनन्‌। हार्भेले हाम्रा पत्रिकाहरू दिएबापत कुखुराको तीन वटा काँचो अण्डा पाउनुभएको रहेछ। उहाँले मलाई अण्डामा सानो प्वाल पारेर खान सिकाउनुभयो। हुनत त्यो खाऊँ-खाऊँलाग्दो त थिएन। तैपनि मैले खाएँ। तेस्रो अण्डाचाहिँ कसले पायो त? मैले पाएँ किनकि केही गरी म भोकले बेहोस भएँ भने हार्भे मलाई बोकेर पहाड झर्न सक्ने हालतमा हुनुहुन्‍नथ्यो।

अर्को एउटा नौलो अनुभव

एउटा सम्मेलनमा मैले अनौठो चुनौतीको सामना गर्नुपऱ्‍यो। हामी सभाभवनको छेउमै एक जना भाइको घरमा बसेका थियौँ। अमिस जातिका मानिसहरू नुहाउनुलाई एकदमै महत्त्वपूर्ण ठान्छन्‌। त्यसैले क्षेत्रीय निरीक्षककी श्रीमतीले हाम्रो लागि नुहाउने प्रबन्ध मिलाइदिनुभयो। हार्भे व्यस्त हुनुभएकोले उहाँले ‘तिमी पहिला नुहाऊ’ भन्‍नुभयो। नुहाउने ठाउँमा तीन वटा बाल्टिन थियो। एउटामा चिसो पानी थियो, अर्कोमा तातो पानी थियो अनि अर्कोचाहिँ रित्तो थियो। अचम्मको कुरा त, ती बहिनीले ती बाल्टिनहरू घरबाहिर सभाभवनको ठ्याक्कै अगाडि राखिदिनुभएको रहेछ। भाइहरू सभाभवनमा सम्मेलनको विभिन्‍न तयारी गर्दै हुनुहुन्थ्यो। मैले उहाँलाई छेक्नको लागि केही दिन सक्नुहुन्छ कि भनेर सोधेँ। तर उहाँले मलाई एउटा पारदर्शी प्लास्टिक पो ल्याएर दिनुभयो। मैले घरपछाडि गएर नुहाऊँ कि भनेर सोचेँ। तर त्यहाँ पनि हाँसहरूले ठुँग्ने हो कि भनेर डर लाग्यो। त्यसपछि मैले मनमनै यस्तो सोचेँ: “भाइहरू यस्तो व्यस्त हुनुहुन्छ कि म नुहाइरहेको उहाँहरूलाई यादै हुँदैन। बरु म नुहाइनँ भने उहाँहरूलाई नराम्रो लाग्न सक्छ। जे पर्ला पर्ला नुहाउँछु!”

अमिस जातिको परम्परागत भेषभूषामा

अमिस भाषामा साहित्यहरू

हार्भेले अमिस भाषाका दाजुभाइ दिदीबहिनीलाई आध्यात्मिक रूपमा उन्‍नति गर्न गाह्रो भइरहेको याद गर्नुभयो किनकि उहाँहरूमध्ये धेरै जना अशिक्षित हुनुहुन्थ्यो र उहाँहरूको भाषामा कुनै प्रकाशन थिएन। रोमन अक्षर चलाएर अमिस भाषामा लेख्न भर्खरै मात्र सुरु भएको थियो। त्यसैले दाजुभाइ दिदीबहिनीलाई उहाँहरूको आफ्नै भाषा पढ्‌न सिकाउनु नै व्यावहारिक जस्तो देखिन्थ्यो। हुन त यसको लागि धेरै काम गर्नुपर्ने थियो। तर पछि उहाँहरूले आफ्नै भाषामा यहोवाबारे सिक्न सक्नुभयो। सन्‌ १९६० को दशकको अन्ततिरदेखि अमिस भाषामा साहित्यहरू उपलब्ध हुन थाले अनि १९६८ देखि अमिस भाषामा प्रहरीधरहरा पनि प्रकाशित हुन थाल्यो।

तर सरकारले चिनियाँ भाषाबाहेकका अरू सबै प्रकाशनमा प्रतिबन्ध लगायो। त्यसैले अमिस भाषाको प्रहरीधरहरा प्रकाशित गर्न विभिन्‍न तरिका अपनायौँ। उदाहरणको लागि, हामीले केही महिना प्रहरीधरहरा-मा म्यान्डरिन र अमिस दुवै भाषा चलायौँ। यसो गर्दा हामीले स्थानीय मानिसहरूलाई चिनियाँ भाषा सिकाइरहेको जस्तो देखिने भएकोले कसैले प्रश्‍न उठाउने ठाउँ पनि थिएन। त्यस समयदेखि यहोवाको सङ्‌गठनले ती प्रिय मानिसहरूलाई बाइबलको सत्य सिकाउन अमिस भाषाको विभिन्‍न साहित्यहरू उपलब्ध गराइरहेको छ।—प्रेषि. १०:३४, ३५.

शुद्ध पार्ने समय

सन्‌ १९६० र १९७० को दशकमा अमिस जातिका थुप्रै दाजुभाइ दिदीबहिनी परमेश्‍वरको स्तरअनुरूप चलिरहेका थिएनन्‌। बाइबलको सिद्धान्त पूरै नबुझेकोले कोही-कोहीले अनैतिक जीवन बिताउँथे, धेरै रक्सी पिउँथे अनि सुर्ती र सुपारी खान्थे। हार्भेले थुप्रै मण्डलीको भ्रमण गर्नुभयो अनि दाजुभाइ दिदीबहिनीलाई त्यस्ता मामिलाहरूमा यहोवाको दृष्टिकोण बुझ्न मदत गर्नुभयो। त्यस्तै एउटा भ्रमणको दौडान सुरुमा उल्लेख गरिएको घटना घटेको थियो।

नम्र दाजुभाइ दिदीबहिनी छाँटकाँट गर्न तयार थिए तर दुःखको कुरा, अरू थुप्रैले छाँटकाँट गरेनन्‌। यसले गर्दा २० वर्षको दौडान ताइवानमा प्रकाशकको सङ्‌ख्या २,४५० बाट ९०० मा झऱ्‍यो। त्यो साह्रै निराशाजनक अवस्था थियो। तर यहोवाले यस्तो अशुद्ध सङ्‌गठनलाई कहिल्यै आशिष्‌ दिनुहुन्‍न भनेर हामीलाई थाह थियो। (२ कोरि. ७:१) केही समयपछि मण्डलीका दाजुभाइ दिदीबहिनीले यस्ता अशुद्ध आनीबानी पूरै त्यागे। यहोवाको आशिष्‌ले गर्दा अहिले ताइवानमा ११,००० भन्दा धेरै प्रकाशक छन्‌।

सन्‌ १९८० को दशकदेखि अमिस मण्डलीहरूको आध्यात्मिक अवस्था राम्रो हुँदै गयो र हार्भेले चिनियाँ भाषाको इलाकामा अझ धेरै समय बिताउन सक्नुभयो। हाम्रा केही दिदीबहिनीको श्रीमान्‌हरूलाई यहोवाको साक्षी बन्‍न मदत गर्न पाउँदा हार्भे निकै खुसी हुनुभयो। तिनीहरूमध्ये एक जनाले यहोवालाई पहिलो चोटि प्रार्थना गर्दा उहाँ कत्ति खुसी हुनुभएको थियो, मलाई अझै याद छ। इमानदार हृदय भएका थुप्रैलाई यहोवासित नजिक हुन मदत गर्न सकेकोमा म पनि धेरै खुसी छु। मैले आफ्नो एक जना विद्यार्थीको छोरा र छोरीसँगै ताइवान शाखामा सेवा गर्ने सुअवसर पनि पाएँ।

बिछोडको पीडा

अहिले हार्भे मेरो साथमा हुनुहुन्‍न। उहाँ क्यान्सरसँग लड्‌दै हुनुहुन्थ्यो। हाम्रो विवाह भएको झन्डै ५९ वर्षपछि जनवरी १, २०१० मा उहाँ बित्नुभयो। उहाँले पूर्ण-समय सेवामा झन्डै ६० वर्ष बिताउनुभयो। मलाई उहाँको धेरै याद आउँछ। तर दुई वटा रमाइलो देशमा उहाँसँगै मिलेर सेवा गरेका दिनहरू सम्झँदा खुसी पनि लाग्छ। हामीले दुई वटा गाह्रो एसियाली भाषा बोल्न सिक्यौँ अनि हार्भेले त आफ्नो कामले गर्दा ती भाषाहरू लेख्न पनि सिक्नुभयो।

मेरो उमेर ढल्कँदै गएकोले केही वर्षपछि परिचालक निकायले मलाई अस्ट्रेलिया फर्कने सुझाव दियो। सुरुमा मलाई ताइवान छोड्‌न मनै लागेको थिएन। तर हार्भेले मलाई यहोवाको सङ्‌गठनलाई कहिल्यै ‘नाइँ’ नभन्‍न सिकाउनुभएको थियो। त्यसैले मैले अस्ट्रेलिया फर्कने निर्णय गरेँ। मैले बुद्धिमानी निर्णय गरेँ जस्तो लाग्छ।

जापानी र चिनियाँ भाषा बोल्ने दाजुभाइ दिदीबहिनीलाई बेथेल टुर गराउन पाउँदा धेरै खुसी लाग्छ

अहिले म अस्ट्रेलेजिया शाखामा सेवा गर्छु अनि सप्ताहन्तमा चाहिँ स्थानीय मण्डलीसँगै मिलेर प्रचारमा भाग लिन्छु। जापानी र चिनियाँ भाषा बोल्ने दाजुभाइ दिदीबहिनीलाई बेथेल टुर गराउन पाउँदा धेरै खुसी लाग्छ। यहोवाले मरेकाहरूलाई फेरि जीवित पार्ने दिनको म उत्कट प्रतीक्षामा छु। हार्भे पनि यहोवाको सम्झनामा हुनुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु किनकि उहाँले कहिल्यै यहोवालाई ‘नाइँ’ भन्‍नुभएन।—युह. ५:२८, २९.

^ अनु. 14 अहिले ताइवानको आधिकारिक भाषा चिनियाँ भए पनि पहिला दशकौँसम्म त्यहाँको आधिकारिक भाषा जापानी थियो। त्यसैले ताइवानको विभिन्‍न जनजातिहरूले अहिले पनि जापानी भाषा बोल्छन्‌।