सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५

“हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ”

“हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ”

“हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ।”—१ कोरि. ११:३.

गीत १२ महान्‌ परमेश्‍वर यहोवा

परिचय *

१. शिरत्वप्रति एक जना पुरुषको दृष्टिकोणलाई के-कस्ता कुराहरूले प्रभाव पार्न सक्छ?

तपाईँको विचारमा शिरत्व भनेको के हो? केही पुरुषहरू आफ्नी पत्नी र छोराछोरीसित आफ्नो परम्परा, संस्कृति वा आफ्नो पारिवारिक पृष्ठभूमिको आधारमा व्यवहार गर्छन्‌। युरोपमा बस्ने बहिनी यानिता यसो भन्छिन्‌, “म बस्ने ठाउँमा स्त्रीहरू पुरुषभन्दा तल्लो दर्जाका हुन्‌ र तिनीहरूलाई नोकरजस्तै ठान्‍नुपर्छ भन्‍ने सोचाइ व्याप्त छ।” अनि अमेरिकामा बस्ने भाइ लुक यसो भन्छन्‌, “केही बुबाहरूले आफ्ना छोराहरूलाई स्त्रीहरूले भन्‍ने कुनै पनि कुरा महत्त्वपूर्ण हुँदैन, त्यसैले तिनीहरूको कुरा सुन्‍नु पर्दैन भनेर सिकाउने गर्छन्‌।” तर यहोवा पुरुषहरूले आफ्नी पत्नीलाई यस्तो व्यवहार गरेको चाहनुहुन्‍न। (मर्कुस ७:१३ तुलना गर्नुहोस्‌) त्यसोभए एक जना पुरुष परिवारको असल शिर कसरी बन्‍न सक्छन्‌?

२. परिवारको शिरले कुन कुरा थाह पाउनै पर्छ र किन?

परिवारको असल शिर बन्‍न एक जना पुरुषले यहोवा तिनीबाट के चाहनुहुन्छ भनेर सुरुमा बुझ्नुपर्छ। तिनले यहोवाले शिरत्वको प्रबन्ध किन गर्नुभयो भनेर पनि बुझ्नुपर्छ। अनि विशेषगरि तिनले यहोवा र येसुको उदाहरण कसरी अनुकरण गर्न सक्छन्‌, त्यो पनि बुझ्नुपर्छ। एक जना पुरुषले यी कुराहरू थाह पाउनु किन महत्त्वपूर्ण छ? किनभने यहोवाले परिवारका शिरहरूलाई केही हदसम्म अख्तियार दिनुभएको छ र तिनीहरूले आफूले पाएको अख्तियार सही तरिकामा चलाएको यहोवा चाहनुहुन्छ।—लुका १२:४८ख

शिरत्व भनेको के हो?

३. पहिलो कोरिन्थी ११:३ बाट शिरत्वबारे हामी के सिक्न सक्छौँ?

पहिलो कोरिन्थी ११:३ पढ्‌नुहोस्‌। यहोवाले स्वर्ग र पृथ्वीमा भएको आफ्नो परिवारलाई कसरी व्यवस्थित पार्नुभएको छ भनेर यस पदमा बताइएको छ। शिरत्वमा दुइटा मुख्य कुरा समावेश छ: अख्तियार र जबाफदेहिता। यहोवा “शिर” हुनुहुन्छ र उहाँभन्दा माथि अरू कोही छैन। त्यसैले स्वर्ग र पृथ्वीमा भएका उहाँका सबै छोराछोरी उहाँप्रति जबाफदेही छन्‌। (रोमी १४:१०; एफि. ३:१४, १५) यहोवाले येसुलाई मण्डलीमाथि अख्तियार दिनुभएको छ र येसुले हामीसित गर्नुहुने व्यवहारको लागि उहाँ यहोवाप्रति जबाफदेही हुनुहुन्छ। (१ कोरि. १५:२७) यहोवाले पतिलाई पनि आफ्नी पत्नी र छोराछोरीमाथि अख्तियार दिनुभएको छ। तर तिनले आफ्नो परिवारसँग गर्ने व्यवहारको लागि तिनी यहोवा र येसुप्रति जबाफदेही छन्‌।—१ पत्रु. ३:७.

४. यहोवा र येसुसित कस्तो अख्तियार छ?

यहोवा स्वर्ग र पृथ्वीमा भएको आफ्नो परिवारको शिर हुनुभएकोले आफ्ना छोराछोरीको लागि नियम बनाउने र त्यो लागू गराउने अख्तियार उहाँसित छ। (यसै. ३३:२२) ख्रिष्टियन मण्डलीको शिरको हैसियतमा येसुसित पनि मण्डलीको लागि नियम बनाउने र त्यो लागू गराउने अधिकार छ।—गला. ६:२; कल. १:१८-२०.

५. ख्रिष्टियन परिवारको शिरसित कस्तो अख्तियार हुन्छ र तिनको अख्तियारको कस्तो सीमा छ?

यहोवा र येसुसित जस्तै ख्रिष्टियन परिवारका शिरसित पनि आफ्नो परिवारको लागि नियम बनाउने अख्तियार छ। (रोमी ७:२; एफि. ६:४) तर तिनको अख्तियारको सीमा छ। उदाहरणको लागि, तिनले परिवारको लागि बनाउने नियमहरू परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरूमा आधारित हुनुपर्छ। (हितो. ३:५, ६) अनि तिनीसित आफ्नो परिवारबाहेकका व्यक्‍तिहरूको लागि नियमहरू बनाउने अख्तियार हुँदैन। (रोमी १४:४) साथै छोराछोरी हुर्केर छुट्टै बस्न थालेपछि तिनीहरूले आफ्नो बुबाको आदर त गर्नुपर्छ तर तिनीहरू तिनको शिरत्वको अधीनमा भने हुँदैनन्‌।—मत्ति १९:५.

यहोवाले शिरत्वको प्रबन्ध किन गर्नुभयो?

६. यहोवाले शिरत्वको प्रबन्ध किन गर्नुभयो?

यहोवाले आफ्नो परिवारप्रतिको प्रेमले गर्दा शिरत्वको प्रबन्ध गर्नुभयो। यो उहाँले हामीलाई दिनुभएको उपहार हो। शिरत्वको प्रबन्धले गर्दा यहोवाको परिवारमा शान्ति छाउँछ र व्यवस्थित ढङ्‌गमा चल्न सक्छ। (१ कोरि. १४:३३, ४०) शिरत्वको यस्तो स्पष्ट प्रबन्ध नभएको भए यहोवाको परिवारमा अशान्ति छाउने थियो र अव्यवस्थित हुने थियो। उदाहरणको लागि, कसले निर्णय गर्ने र त्यो लागू गराउने काममा कसले नेतृत्व लिने भनेर हामी अन्योलमा पर्ने थियौँ।

७. एफिसी ५:२५, २८ अनुसार के यहोवा पुरुषले स्त्रीलाई दमन गरेको चाहनुहुन्छ?

हो, परमेश्‍वरले राम्रो उद्देश्‍य राखेर शिरत्वको प्रबन्ध गर्नुभएको थियो। तर आज किन यत्ति धेरै स्त्रीहरूले आफ्नो पतिबाट दुर्व्यवहार र दमन खप्नुपरेको छ त? किनकि थुप्रै पुरुषहरू परिवारको लागि यहोवाले तोकिदिनुभएको स्तरलाई बेवास्ता गर्छन्‌ अनि परिवारसित स्थानीय चलन वा परम्पराअनुसार व्यवहार गर्छन्‌। तिनीहरू आफ्नो स्वार्थी इच्छा पूरा गर्न पत्नीलाई दुर्व्यवहार गर्छन्‌। उदाहरणको लागि, एक जना पतिले आफ्नो आत्मसम्मान बढाउन वा अरूको अगाडि पुरुषार्थ देखाउन आफ्नी पत्नीलाई दमन गर्न सक्छन्‌। तिनले यस्तो सोच्न सक्छन्‌, ‘मलाई माया दिन उसलाई जबरजस्ती गर्न नसके पनि डर देखाएर त राख्न सक्छु नि!’ अनि तिनले डर-धम्की देखाएर आफ्नी पत्नीलाई अधीनमा राख्न खोज्छन्‌। * यस्तो किसिमको सोचाइ र व्यवहारले गर्दा स्त्रीहरू आफूले पाउनुपर्ने सम्मान र इज्जतबाट वञ्चित हुन्छन्‌। तर यहोवा यस्तो भएको पटक्कै चाहनुहुन्‍न।एफिसी ५:२५, २८ पढ्‌नुहोस्‌।

एक जना पुरुष परिवारको असल शिर कसरी बन्‍न सक्छन्‌?

८. एक जना पुरुष परिवारको असल शिर कसरी बन्‍न सक्छन्‌?

यहोवा र येसुले आफ्नो अख्तियार प्रयोग गर्नुभएको तरिका अनुकरण गरेर एक जना पुरुष परिवारको असल शिर बन्‍न सक्छन्‌। यहोवा र येसुले देखाउनुभएको दुइटा गुणबारे विचार गरौँ अनि परिवारको शिरले आफ्नी पत्नी र छोराछोरीसित व्यवहार गर्दा ती गुणहरू कसरी देखाउन सक्छन्‌ भनेर पनि विचार गरौँ।

९. यहोवा कसरी नम्रता देखाउनुहुन्छ?

नम्रता। यहोवा ब्रह्‍माण्डकै सबैभन्दा बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ। तैपनि उहाँ आफ्ना सेवकहरूको विचार सुन्‍नुहुन्छ। (उत्प. १८:२३, २४, ३२) उहाँले आफ्नो अधीनमा भएकाहरूलाई आफ्नो विचार व्यक्‍त गर्न दिनुभएको छ। (१ राजा २२:१९-२२) यहोवा त्रुटिरहित हुनुहुन्छ तर हामी भने त्रुटिपूर्ण छौँ। त्यसैले उहाँ हामीले गर्न सक्नेभन्दा बढ्‌ता माग गर्नुहुन्‍न। बरु हामीलाई उहाँको सेवामा सफल हुन मदत गर्नुहुन्छ। (भज. ११३:६, ७) बाइबलमा यहोवालाई “मदतगार” समेत भनिएको छ। (भज. २७:९; हिब्रू १३:६) यहोवाको नम्रता र मदतले गर्दा नै आफूले पाएको जिम्मेवारी पूरा गर्न सकेको हुँ भनेर राजा दाउदले स्विकारे।—२ समु. २२:३६.

१०. येसुले कसरी नम्रता देखाउनुभयो?

१० येसुको उदाहरण विचार गरौँ। चेलाहरूको प्रभु र गुरु हुनुभए तापनि उहाँले तिनीहरूको खुट्टा धोइदिनुभयो। यहोवाले बाइबलमा यो विवरण सुरक्षित राख्नुको एउटा कारण के हो? परिवारका शिरलगायत अरूले पनि येसुको उदाहरण अनुकरण गर्न सकून्‌ भनेर। येसु आफैले यसो भन्‍नुभयो: “मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।” (युह. १३:१२-१७) आफूसँग ठूलो अख्तियार भए तापनि अरूले आफ्नो सेवा गरेको उहाँले आस गर्नुभएन। बरु उहाँले अरूको सेवा गर्नुभयो।—मत्ति २०:२८.

परिवारको शिरले घरायसी कामकाजमा सघाएर अनि परिवारको आध्यात्मिक आवश्‍यकता पूरा गरेर नम्रता र प्रेम देखाउन सक्छन्‌ (अनुच्छेद ११, १३ हेर्नुहोस्‌)

११. यहोवा र येसुको उदाहरणबाट परिवारको शिरले नम्रताबारे के सिक्न सक्छन्‌?

११ हाम्रो लागि पाठ। परिवारको शिरले विभिन्‍न तरिकामा नम्रता देखाउन सक्छन्‌। उदाहरणको लागि, तिनी आफ्नी पत्नी र छोराछोरीले गर्न सक्नेभन्दा बढ्‌ता माग गर्दैनन्‌। परिवारका सदस्यहरू तिनको विचारसित सहमत नभए तापनि तिनी तिनीहरूको विचार सुन्छन्‌। अमेरिकामा बस्ने मार्ले यसो भन्छिन्‌: “कहिलेकाहीँ मेरो पति र मेरो कुरा मिल्दैन। तर कुनै निर्णय गर्नुअघि उहाँ मेरो विचार सुन्‍नुहुन्छ र त्यसबारे गहिरिएर सोच्नुहुन्छ। त्यसले गर्दा उहाँ मलाई आदर गर्नुहुन्छ र मेरो विचारको पनि कदर गर्नुहुन्छ भनेर महसुस गर्छु।” साथै आफू बस्ने समाजमा घरायसी काम स्त्रीहरूको काम हो भन्‍ने सोचाइ भए तापनि एक जना नम्र पति आफ्नी पत्नीलाई घरायसी कामकाजमा सघाउन हिचकिचाउँदैनन्‌। तर त्यसो गर्न चुनौतीपूर्ण हुन सक्छ। किन? बहिनी रेचेल यसो भन्छिन्‌, “म हुर्केको समाजमा यदि पतिले आफ्नी पत्नीलाई भाँडाकुँडा माझ्न वा घर सफा गर्न सघाए भने तिनका नातेदारहरू र छिमेकीहरूले ‘कस्तो जोइटिङ्‌ग्रे रहेछ’ भनेर कुरा काट्‌न थाल्छन्‌। तिनी आफ्नी पत्नीलाई तह लगाएर राख्न सक्दैनन्‌ भन्‍ने सोच्छन्‌।” तपाईँको समाजमा पनि त्यस्तै सोचाइ व्याप्त छ भने येसुको उदाहरण सम्झनुहोस्‌। उहाँले आफ्ना चेलाहरूको खुट्टा धोइदिनुभयो, जबकि त्यतिबेला यो काम दासको काम हो भन्‍ने ठानिन्थ्यो। परिवारको असल शिर अरूको अगाडि आफूलाई राम्रो देखाउन होइन, बरु आफ्नी पत्नी र छोराछोरीलाई खुसी पार्न खोज्छन्‌। परिवारको असल शिर बन्‍न नम्रताबाहेक अर्को कुन गुण पनि चाहिन्छ?

१२. प्रेमले गर्दा यहोवा र येसु के गर्न उत्प्रेरित हुनुभयो?

१२ प्रेम। यहोवा सबै काम प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। (१ युह. ४:७, ८) हामीप्रतिको प्रेमले गर्दा उहाँ आफ्नो वचन बाइबल र सङ्‌गठनमार्फत हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहुन्छ। हामीले उहाँको माया पाएको महसुस गराएर उहाँ हाम्रो भावनात्मक आवश्‍यकता पनि पूरा गर्नुहुन्छ। अनि हाम्रो भौतिक आवश्‍यकता नि? यहोवा “हामीले आनन्द उठाइरहेको सबै चिज हामीलाई प्रशस्तगरि दिनुहुन्छ।” (१ तिमो. ६:१७) हामीले गल्ती गर्दा उहाँ हामीलाई सच्याउनुहुन्छ तर हामीलाई प्रेम गर्न भने कहिल्यै छोड्‌नुहुन्‍न। प्रेमको कारणले नै उहाँले हाम्रो लागि फिरौतीको प्रबन्ध गर्नुभयो। येसु पनि हामीलाई धेरै माया गर्नुहुन्छ। त्यसैले उहाँले हाम्रो लागि आफ्नो ज्यान अर्पण गर्नुभयो। (युह. ३:१६; १५:१३) यहोवा र येसुप्रति वफादार रहनेहरूलाई उहाँहरूको प्रेमबाट कुनै पनि कुराले अलग पार्न सक्दैन।—युह. १३:१; रोमी ८:३५, ३८, ३९.

१३. परिवारको शिरले आफ्नो परिवारलाई प्रेम देखाउनु किन महत्त्वपूर्ण छ? (“ नवविवाहित पुरुषले आफ्नी पत्नीको आदर कसरी कमाउन सक्छन्‌?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

१३ हाम्रो लागि पाठ। परिवारको शिरले हरेक काम प्रेमले उत्प्रेरित भएर गर्नुपर्छ। यसो गर्नु किन महत्त्वपूर्ण छ? प्रेषित युहन्‍ना यस्तो जवाफ दिन्छन्‌: “जसले आफूले देखेको भाइलाई [वा परिवारलाई] प्रेम गर्दैन, उसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।” (१ युह. ४:११, २०) आफ्नो परिवारलाई प्रेम गर्ने अनि यहोवा र येसुको उदाहरण अनुकरण गर्न चाहने पुरुषले आफ्नो परिवारको आध्यात्मिक, भावनात्मक र भौतिक आवश्‍यकता पूरा गर्छन्‌। (१ तिमो. ५:८) तिनी आफ्नो छोराछोरीलाई तालिम र अनुशासन दिन्छन्‌। तिनी यहोवाको आदर हुने र परिवारलाई पनि फाइदा पुग्ने निर्णय गर्न प्रयास गरिरहन्छन्‌। आउनुहोस्‌, परिवारको शिरले पूरा गर्नुपर्ने यी आवश्‍यकताहरू एक-एक गरी छलफल गरौँ अनि तिनले यहोवा र येसुको अनुकरण कसरी गर्न सक्छन्‌, त्यो पनि विचार गरौँ।

परिवारको शिरले के गर्नुपर्छ?

१४. परिवारको शिरले आफ्नो परिवारको आध्यात्मिक आवश्‍यकता कसरी पूरा गर्छन्‌?

१४ तिनले आफ्नो परिवारको आध्यात्मिक आवश्‍यकता पूरा गर्नुपर्छ। आफ्नो बुबाको अनुकरण गर्दै येसुले पनि आफूले हेरचाह गर्नुपर्नेहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्नुभयो। (मत्ति ५:३, ६; मर्कु. ६:३४) त्यसैगरि परिवारको शिरले आफ्नो परिवारको आध्यात्मिक आवश्‍यकता पूरा गर्नुलाई प्राथमिकता दिनुपर्छ। (व्यव. ६:६-९) बाइबल पढ्‌ने र अध्ययन गर्ने, सभामा उपस्थित हुने अनि सुसमाचार प्रचार गर्नेजस्ता आध्यात्मिक गतिविधिमा परिवारसँगै भाग लिएर तिनले यसो गर्न सक्छन्‌। साथै तिनले आफू मात्र होइन, आफ्नो परिवारलाई पनि यहोवासित मित्रता गाँस्न र त्यसलाई कायम राख्न मदत गर्नुपर्छ।

१५. परिवारको शिरले आफ्नो परिवारको भावनात्मक आवश्‍यकता कसरी पूरा गर्न सक्छन्‌?

१५ तिनले आफ्नो परिवारको भावनात्मक आवश्‍यकता पूरा गर्नुपर्छ। यहोवाले येसुप्रतिको आफ्नो प्रेम अरूसामु व्यक्‍त गर्नुभयो। (मत्ति ३:१७) त्यसैगरि येसुले पनि आफ्ना चेलाहरूलाई आफ्नो काम र बोलीद्वारा प्रेम व्यक्‍त गर्नुभयो। अनि चेलाहरूले पनि उहाँप्रतिको आफ्नो प्रेम व्यक्‍त गरे। (युह. १५:९, १२, १३; २१:१६) परिवारको शिरले आफ्नो कामद्वारा, जस्तै: आफ्नी पत्नी र छोराछोरीसँगै बाइबल अध्ययन गरेर तिनीहरूलाई प्रेम गरेको देखाउन सक्छन्‌। तिनले तिनीहरूप्रतिको प्रेम र कदर व्यक्‍त गर्नुपर्छ अनि उचित छ भने अरूसामु तिनीहरूको प्रशंसा पनि गर्नुपर्छ।—हितो. ३१:२८, २९.

यहोवालाई खुसी पार्ने हो भने परिवारको शिरले आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्नै पर्छ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. परिवारको शिरले अरू के पनि गर्नुपर्छ र तिनी कसरी सन्तुलित हुन सक्छन्‌?

१६ तिनले आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्नुपर्छ। इस्राएलीहरू अनाज्ञाकारी भएकोले सजाय भोगिरहेको बेलामा समेत यहोवाले तिनीहरूको आधारभूत आवश्‍यकता पूरा गरिदिनुभयो। (व्यव. २:७; २९:५) उहाँ आज पनि हाम्रो आधारभूत आवश्‍यकता पूरा गरिदिनुहुन्छ। (मत्ति ६:३१-३३; ७:११) त्यसैगरि येसुले पनि उहाँको कुरा सुन्‍न आएकाहरूलाई खुवाउनुभयो। (मत्ति १४:१७-२०) उहाँले तिनीहरूको रोगबिमार निको पारिदिनुभयो। (मत्ति ४:२४) यहोवालाई खुसी पार्ने हो भने परिवारको शिरले आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्नै पर्छ। तर तिनी सन्तुलित पनि हुनुपर्छ। तिनी आफ्नो परिवारको आध्यात्मिक र भावनात्मक आवश्‍यकता पूरा गर्नै नसक्नेगरि काममा लग्गू हुनु हुँदैन।

१७. हामीलाई तालिम र अनुशासन दिने सन्दर्भमा यहोवा र येसुले कस्तो उदाहरण बसाल्नुभएको छ?

१७ तालिम दिनुपर्छ। यहोवा हाम्रै भलाइको लागि हामीलाई तालिम र अनुशासन दिनुहुन्छ। (हिब्रू १२:७-९) येसु पनि आफ्नो अधीनमा भएकाहरूलाई मायालुपूर्वक तालिम दिनुहुन्छ। (युह. १५:१४, १५) आवश्‍यक पर्दा उहाँ स्पष्ट सल्लाह दिनुहुन्छ तर दयालु पनि हुनुहुन्छ। (मत्ति २०:२४-२८) हामी त्रुटिपूर्ण भएकोले हामीबाट अक्सर गल्ती भइरहन्छ भनेर उहाँ बुझ्नुहुन्छ।—मत्ति २६:४१.

१८. परिवारको असल शिरले कुन कुरा मनमा राख्छन्‌?

१८ यहोवा र येसुको अनुकरण गर्ने परिवारको शिरले परिवारका सदस्यहरू पनि त्रुटिपूर्ण छन्‌ भन्‍ने कुरा मनमा राख्छन्‌। तिनी आफ्नी पत्नी वा छोराछोरीसित “रिसले चूर” हुँदैनन्‌। (कल. ३:१९) बरु तिनी गलाती ६:१ मा भएको सिद्धान्त लागू गर्छन्‌ र आफू पनि त्रुटिपूर्ण छु भन्‍ने कुरा स्विकार्दै तिनीहरूलाई “कोमलताको भावले” सच्याउने कोसिस गर्छन्‌। येसुले जस्तै आफ्नो उदाहरणद्वारा सिकाउनु नै सबैभन्दा राम्रो तरिका हो भनेर तिनी मानिलिन्छन्‌।—१ पत्रु. २:२१.

१९-२०. निर्णयहरू गर्नुपर्दा परिवारको शिरले यहोवा र येसुको कसरी अनुकरण गर्न सक्छन्‌?

१९ परिवारको हित हुने निर्णयहरू गर्नुपर्छ। यहोवा मानिसहरूको हित हुने तरिकामा निर्णयहरू गर्नुहुन्छ। उदाहरणको लागि, उहाँले आफ्नो खुसीको लागि नभई हामीले जीवनको आनन्द उठाउन सकोस्‌ भनेर हामीलाई सृष्टि गर्ने निर्णय गर्नुभयो। साथै उहाँले अरू कसैको दबाबमा परेर हाम्रो लागि आफ्नो छोराको बलिदान दिनुभएको होइन। उहाँले हाम्रै भलाइको लागि राजीखुसीले त्यस्तो त्याग गर्ने निर्णय गर्नुभयो। येसुले पनि अरूको भलाइ हुने तरिकामा निर्णयहरू गर्नुभयो। (रोमी १५:३) उदाहरणको लागि, उहाँ थकित हुनुभए तापनि आराम गर्नुको साटो आफ्नो कुरा सुन्‍न आएका मानिसहरूलाई सिकाउने निर्णय गर्नुभयो।—मर्कु. ६:३१-३४.

२० परिवारको असल शिरले गर्नुपर्ने सबैभन्दा गाह्रो काम भनेको आफ्नो परिवारको लागि बुद्धिमानी निर्णयहरू गर्नु हो र तिनी यो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्छन्‌। तिनी आफूखुसी वा भावनामा बहेर निर्णय गर्दैनन्‌। बरु तिनी यहोवाले दिनुहुने तालिम स्विकार्छन्‌। * (हितो. २:६, ७) यसरी तिनी आफ्नै कुरामा नभई अरूको कुरामा ध्यान दिन्छन्‌।—फिलि. २:४.

२१. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२१ यहोवाले परिवारका शिरहरूलाई चुनौतीपूर्ण जिम्मेवारी दिनुभएको छ। तिनीहरूले त्यो जिम्मेवारी कसरी सम्हाल्छन्‌, त्यसको लागि तिनीहरू यहोवाप्रति जबाफदेही छन्‌। पतिले यहोवा र येसुको उदाहरण पछ्याउने प्रयास गर्छन्‌ भने तिनी परिवारको असल शिर बन्‍न सक्नेछन्‌। अनि तिनकी पत्नीले पनि आफ्नो भूमिका राम्रोसँग पूरा गर्छिन्‌ भने तिनीहरूको वैवाहिक जीवन सुखमय हुनेछ। पत्नीले शिरत्वको प्रबन्धप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ अनि तिनले कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ? अर्को लेखबाट हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

गीत १६ यहोवा र उहाँको पुत्रको प्रशंसा

^ अनु. 5 जब कुनै पुरुषले विवाह गर्छन्‌, तब तिनी एउटा नयाँ परिवारको शिर बन्छन्‌। यस लेखमा हामी शिरत्व भनेको के हो, यहोवाले किन शिरत्वको प्रबन्ध गर्नुभयो अनि यहोवा र येसुको उदाहरणबाट पुरुषहरूले कस्तो पाठ सिक्न सक्छन्‌ भनेर छलफल गर्नेछौँ। यस लेखको दोस्रो शृङ्‌खलामा पति र पत्नीले येसु र अन्य बाइबल पात्रहरूबाट कस्तो पाठ सिक्न सक्छन्‌ भनेर विचार गर्नेछौँ। अनि तेस्रो लेखमा दाजुभाइहरूले मण्डलीमा आफूले पाएको अख्तियार कसरी चलाउनुपर्छ भनेर छलफल गर्नेछौँ।

^ अनु. 7 चलचित्र, नाटक र कमिकहरूमा समेत पुरुषले आफ्नी पत्नीलाई दुर्व्यवहार गर्नु, यहाँसम्म कि तिनलाई शारीरिक दुर्व्यवहार गर्नु गलत होइन भन्‍ने कुरा देखाइएको हुन्छ। त्यसैले पुरुषले आफ्नी पत्नीलाई दमन गर्नुमा कुनै खराबी छैन भनेर मानिसहरू सोच्ने गर्छन्‌।

^ अनु. 20 सही निर्णय कसरी गर्न सकिन्छ भन्‍ने सन्दर्भमा थप जानकारीको लागि अप्रिल १५, २०११ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ १३-१७ मा भएको “परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।