सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ९

जवान भाइहरू हो, तपाईँ कसरी अरूको भरोसा जित्न सक्नुहुन्छ?

जवान भाइहरू हो, तपाईँ कसरी अरूको भरोसा जित्न सक्नुहुन्छ?

‘तिम्रो साथमा जवानहरूको दल हुनेछ, जो शीतका थोपाहरूजस्तै हुन्छन्‌।’—भज. ११०:३.

गीत ३९ परमेश्‍वरको नजरमा असल नाउँ राखौँ!

परिचय *

१. जवान भाइहरूबारे के भन्‍न सकिन्छ?

जवान भाइहरू हो, तपाईँले मण्डलीको लागि गर्न सक्ने कुराहरू धेरै छन्‌। तपाईँहरूमध्ये धेरै जना बलियो र फुर्तिलो हुनुहुन्छ। (हितो. २०:२९) तपाईँ मण्डलीको लागि अनमोल हुनुहुन्छ। तपाईँ सहायक सेवकको रूपमा नियुक्‍त हुने दिनको पर्खाइमा हुनुहुन्छ होला। तर यस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न तपाईँको उमेर पुगेको छैन वा तपाईँसित अनुभव छैन जस्तो अरूलाई लाग्न सक्छ। तपाईँ अहिले जवान हुनुहुन्छ भने पनि मण्डलीका दाजुभाइ दिदीबहिनीबाट भरोसा र आदर कमाउन तपाईँले गर्न सक्ने केही कुराहरू छन्‌।

२. हामी यस लेखमा के छलफल गर्नेछौँ?

हामी यस लेखमा राजा दाउदको जीवनी केलाउनेछौँ। साथै यहुदाका दुई जना राजा आसा र यहोसापातको जीवनमा घटेका केही घटनाहरू पनि छोटकरीमा छलफल गर्नेछौँ। यी तीन पुरुषले कस्ता समस्याहरूको सामना गर्नुपऱ्‍यो, समस्या समाधान गर्न तिनीहरूले के गरे र जवान भाइहरूले तिनीहरूको उदाहरणबाट के सिक्न सक्छन्‌, त्यो पनि छलफल गर्नेछौँ।

राजा दाउदबाट सिक्नुहोस्‌

३. जवान भाइहरूले मण्डलीका वृद्ध दाइदिदीलाई मदत गर्न सक्ने एउटा तरिका के हो?

जवान छँदा दाउदले अरूको लागि उपयोगी हुने सीपहरू सिकेका थिए। दाउदले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तिनी निपुण सङ्‌गीतकार थिए र तिनले यो सीप परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजा साउललाई मदत गर्न प्रयोग गरे। (१ समु. १६:१६, २३) के तपाईँ जवान भाइहरूसित मण्डलीका दाजुभाइ दिदीबहिनीको लागि उपयोगी हुने कुनै सीप छ? तपाईँहरूमध्ये धेरै जनासित कुनै न कुनै सीप पक्कै छ। उदाहरणको लागि, मण्डलीका वृद्ध दाइदिदीलाई व्यक्‍तिगत अध्ययन र सभाको लागि ट्याबलेट अनि अन्य इलेक्ट्रोनिक साधनहरू चलाउन सिकाइदिँदा तिनीहरू तपाईँप्रति आभारी हुन्छन्‌। तपाईँसित भएको यस्तो ज्ञानले वृद्ध दाइदिदीलाई ठूलो फाइदा पुग्न सक्छ।

आफ्नो बुबाको बगालको हेरचाह गर्ने सन्दर्भमा दाउद जिम्मेवार र भरोसायोग्य थिए। तिनले भेडाहरूलाई भालुबाट समेत जोगाए (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. जवान भाइहरूले दाउदले जस्तै कस्ता गुणहरू विकास गर्नुपर्छ? (आवरण चित्र हेर्नुहोस्‌।)

दाउद जिम्मेवार र भरोसायोग्य थिए। उदाहरणको लागि, जवान छँदा तिनी आफ्नो बुबाको भेडाहरूको राम्ररी हेरविचार गर्थे। गोठालो गर्दा तिनले कहिलेकाहीँ खतरा पनि मोल्नुपर्थ्यो। दाउदले पछि राजा साउललाई यसो भने: “तपाईँको यो सेवक आफ्नो बुबाको भेडा-गोठालो पनि हो। एकपटक सिंहले र अर्को पटक भालुले बगालबाट भेडा लगेको थियो। दुवै पटक म ती जनावरको पछिपछि गएँ र तिनीहरूलाई प्रहार गरेँ। अनि तिनीहरूको मुखबाट मेरो भेडा खोसेँ।” (१ समु. १७:३४, ३५) भेडाहरूको रक्षा गर्नु आफ्नो जिम्मेवारी हो भन्‍ने कुरा दाउदले राम्ररी बुझेका थिए र तिनले भेडाहरूलाई जोगाउन जङ्‌गली जनावरसँग साहसीपूर्वक भिडे। जवान भाइहरूले आफूलाई दिइएको जुनसुकै जिम्मेवारी राम्ररी पूरा गरेर दाउदको अनुकरण गर्न सक्छन्‌।

५. भजन २५:१४ अनुसार जवान भाइहरूले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

जवान दाउदले यहोवासित घनिष्ठ सम्बन्ध विकास गरेका थिए। त्यो सम्बन्ध दाउदको साहस र वीणा बजाउने सीपभन्दा धेरै महत्त्वपूर्ण थियो। यहोवा दाउदको परमेश्‍वर मात्र होइन, घनिष्ठ मित्र पनि हुनुहुन्थ्यो। (भजन २५:१४ पढ्‌नुहोस्‌।) जवान भाइहरू हो, तपाईँहरूले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वर्गमा बस्नुहुने आफ्नो बुबासितको सम्बन्ध बलियो बनाउनु हो। यसो गर्नुभयो भने तपाईँले मण्डलीमा थप जिम्मेवारी पाउन सक्नुहुनेछ।

६. कसै-कसैले दाउदप्रति कस्तो नकारात्मक दृष्टिकोण राखे?

दाउदले सामना गर्नुपरेको एउटा समस्या भनेको अरूले तिनीप्रति राखेको नकारात्मक दृष्टिकोण थियो। उदाहरणको लागि, दाउद गोल्यतसँग लड्‌न तयार हुँदा राजा साउलले “तिमी त ठिटै छौ” भनेर तिनलाई निरुत्साहित पार्न खोजे। (१ समु. १७:३१-३३) केही बेरअघि दाउदको आफ्नै दाइले तिनलाई गैर-जिम्मेवार भएको आरोप लगाएका थिए। (१ समु. १७:२६-३०) तर यहोवाले दाउदलाई अपरिपक्व वा गैर-जिम्मेवार व्यक्‍तिको रूपमा हेर्नुभएन। उहाँ तिनलाई राम्ररी चिन्‍नुहुन्थ्यो। बलको लागि आफ्नो मित्र यहोवामाथि भर परेकोले तिनले गोल्यतलाई मार्न सके।—१ समु. १७:४५, ४८-५१.

७. दाउदको एउटा विवरणबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

दाउदको अनुभवबाट तपाईँ के सिक्न सक्नुहुन्छ? हामी धीरजी हुनुपर्छ भनेर सिक्न सक्छौँ। तपाईँलाई सानैदेखि चिनेकाहरूलाई तपाईँ अब ठूलो हुनुभयो भनेर स्विकार्न केही समय लाग्न सक्छ। तर ढुक्क हुनुहोस्‌, यहोवा तपाईँको बाहिरी रूप मात्र हेर्नुहुन्‍न। तपाईँ कस्तो हुनुहुन्छ र के गर्न सक्नुहुन्छ भनेर उहाँलाई थाह छ। (१ समु. १६:७) परमेश्‍वरसितको आफ्नो सम्बन्ध बलियो बनाउनुहोस्‌। उहाँको सृष्टिका कुराहरू नियालेर दाउदले उहाँसितको सम्बन्ध बलियो बनाए। यहोवाको सृष्टिले उहाँबारे के प्रकट गर्छ भनेर तिनले मनन गरे। (भज. ८:३, ४; १३९:१४; रोमी १:२०) तपाईँले गर्न सक्ने अर्को कुरा भनेको बलको लागि यहोवामा भर पर्नु हो। उदाहरणको लागि, तपाईँ यहोवाको साक्षी भएकोले के तपाईँका स्कुलका साथीहरूले तपाईँलाई हाँसोमा उडाउँछन्‌? यदि त्यसो हो भने यो समस्याको सामना गर्न मदत गर्नुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। उहाँको वचन अनि बाइबलआधारित प्रकाशनहरू र भिडियोहरूमा पाइने व्यावहारिक सुझावहरू लागू गर्नुहोस्‌। प्रत्येक पटक यहोवाले तपाईँलाई कुनै समस्याको सामना गर्न मदत गर्नुभएको देख्दा उहाँप्रतिको तपाईँको भरोसा अझै बढ्‌नेछ। साथै तपाईँ यहोवामाथि भर परेको देख्दा अरूले पनि तपाईँमाथि भरोसा गर्नेछन्‌।

जवान भाइहरूले नम्र भई अरूलाई थुप्रै तरिकामा मदत गर्न सक्छन्‌ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

८-९. राजा नबनुन्जेल धीरजी भई पर्खन दाउदलाई केले मदत गऱ्‍यो र जवान भाइहरूले तिनको उदाहरणबाट के सिक्न सक्छन्‌?

दाउदले सामना गर्नुपरेको अर्को समस्या विचार गर्नुहोस्‌। दाउदलाई राजाको रूपमा अभिषेक गरिए तापनि तिनले यहुदामा शासन गर्न धेरै वर्ष कुर्नुपरेको थियो। (१ समु. १६:१३; २ समु. २:३, ४) त्यस समयको दौडान तिनलाई धीरजी भई पर्खन केले मदत गऱ्‍यो? निराश भएर केही नगरी बस्नुको साटो दाउदले त्यो समय आफूले गर्न सक्ने कुराहरूमा लगाए। उदाहरणको लागि, तिनी राजा साउलबाट भागेर पलिस्तियालीहरूको इलाकामा गएर बसेका थिए। त्यतिबेला तिनले इस्राएलका शत्रुहरूसित लडाइँ गरे। यसरी दाउदले यहुदाको सिमानाको रक्षा गरे।—१ समु. २७:१-१२.

दाउदको उदाहरणबाट जवान भाइहरूले के सिक्न सक्छन्‌? दाजुभाइ दिदीबहिनीलाई मदत गर्न आफूले सकेजति गर्नुहोस्‌। रिकार्डो * नाम गरेका एक जना भाइको अनुभव विचार गर्नुहोस्‌। तिनी दस वर्षजतिको हुँदा नै नियमित अग्रगामी गर्न चाहन्थे। तर एल्डरहरूले तिनलाई केही समय पर्खन सुझाव दिए। निराश भएर वा चित्त दुखाएर बस्नुको साटो तिनले प्रचारकार्यमा अझ धेरै समय बिताए। तिनी यसो भन्छन्‌: “पछाडि फर्केर हेर्दा मैले केही समय पर्खेर राम्रै गरेछु जस्तो लाग्छ। किनकि मैले उन्‍नति गर्नुपर्ने क्षेत्रहरू अझै थिए। मैले चासो देखाएकाहरू प्रत्येकलाई भेट्‌न जाने अनि हरेक पुनःभेटको लागि राम्ररी तयारी गर्ने बानी बसालेँ। त्यसो गर्दा मैले पहिलो बाइबल अध्ययन सुरु गर्न सकेँ। यसरी अनुभव बटुल्दै गएपछि मेरो आत्मविश्‍वास पनि बढ्‌दै गयो।” अहिले रिकार्डो जोसिलो नियमित अग्रगामी र सहायक सेवकको रूपमा सेवा गर्छन्‌।

१०. एकचोटि दाउदले महत्त्वपूर्ण निर्णय गर्नुअघि के गरे?

१० दाउदको जीवनमा घटेको अर्को घटना विचार गर्नुहोस्‌। पलिस्तियालीहरूको इलाकामा बस्दा दाउद र तिनका मानिसहरू आफ्नो परिवारलाई घरमा छोडेर शत्रुहरूलाई आक्रमण गर्न गएका थिए। त्यतिबेला केही शत्रुहरू तिनीहरूको घरमा आए र परिवारलाई बन्दी बनाएर लगे। दाउद एक अनुभवी योद्धा थिए। त्यसैले बन्दी बनाएर लगिएकाहरूलाई छुटाएर ल्याउन राम्रो योजना बनाउन सक्छु भनेर तिनले सोच्न सक्थे। तर तिनले यहोवाको डोऱ्‍याइ खोजे। पुजारी अबियातारको मदत लिएर दाउदले यहोवालाई यस्तो प्रश्‍न सोधे: “म ती आक्रमणकारीहरूलाई खेद्‌न जाऊँ कि नजाऊँ?” यहोवाले शत्रुहरूलाई खेद्‌न जाऊ भन्‍नुभयो र तिनी सफल हुनेछन्‌ भनेर आश्‍वासन पनि दिनुभयो। (१ समु. ३०:७-१०) यो विवरणबाट तपाईँ कस्तो पाठ सिक्न सक्नुहुन्छ?

जवान भाइहरूले एल्डरहरूसित सल्लाह माग्नुपर्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. निर्णयहरू गर्नुअघि तपाईँ के गर्न सक्नुहुन्छ?

११ निर्णयहरू गर्नुअघि अरूसित सल्लाह माग्नुहोस्‌। आफ्ना आमाबुबासित कुरा गर्नुहोस्‌। तपाईँ अनुभवी एल्डरहरूबाट पनि राम्रो सुझाव पाउन सक्नुहुन्छ। यहोवा यी नियुक्‍त पुरुषहरूमाथि भरोसा गर्नुहुन्छ र तपाईँ पनि गर्न सक्नुहुन्छ। यहोवा यी पुरुषहरूलाई मण्डलीको लागि “वरदान”-को रूपमा हेर्नुहुन्छ। (एफि. ४:८) तिनीहरूको विश्‍वासको अनुकरण गर्दा र तिनीहरूले दिएका बुद्धिमानी सल्लाहहरू सुन्दा तपाईँले लाभ उठाउन सक्नुहुन्छ। राजा आसाबाट हामी के सिक्न सक्छौँ, अब विचार गरौँ।

राजा आसाबाट सिक्नुहोस्‌

१२. शासन गर्न थाल्दा राजा आसासित कस्ता गुणहरू थिए?

१२ जवान छँदा राजा आसा नम्र र साहसी थिए। उदाहरणको लागि, उनी आफ्नो बुबा अबियाहपछि राजा भए र देशबाट मूर्तिपूजा हटाउने अभियान चलाए। साथै उनले “यहुदाका मानिसहरूलाई आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको खोजी गर्न अनि उहाँको व्यवस्था र आज्ञा पालन गर्न अह्राए।” (२ इति. १४:१-७) इथियोपियाली जेरह आफ्नो १० लाख सिपाही लिएर यहुदामा आक्रमण गर्न आउँदा आसाले मदतको लागि यहोवालाई यसरी गुहारे: “हे यहोवा, तपाईँ जसलाई मदत गर्न चाहनुहुन्छ, तिनीहरूलाई अवश्‍य मदत गर्न सक्नुहुन्छ, चाहे तिनीहरू सङ्‌ख्यामा धेरै होऊन्‌ वा चाहे तिनीहरूसित कुनै शक्‍ति नहोस्‌। हे हाम्रा परमेश्‍वर यहोवा, हामीलाई मदत गर्नुहोस्‌ किनकि हामी तपाईँमै भर परेका छौँ।” यो सुन्दर अभिव्यक्‍तिबाट आसा उनलाई र उनका मानिसहरूलाई बचाउन यहोवा सक्षम हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए भनेर देखिन्छ। आसाले स्वर्गमा बस्नुहुने आफ्नो बुबामाथि भरोसा गरे र “यहोवा परमेश्‍वरले . . . इथियोपियाली सेनालाई हराउनुभयो।”—२ इति. १४:८-१२.

१३. पछि आसालाई के भयो र किन?

१३ दस लाख सिपाहीसित भिड्‌नु पक्कै पनि चानचुने कुरा होइन। तर आसाले यहोवामाथि भरोसा राखे र उनी सफल भए। तर दुःखको कुरा, आसाले योभन्दा कम चुनौतीपूर्ण समस्याको सामना गर्नुपर्दा यहोवाको सल्लाह मागेनन्‌। इस्राएलका दुष्ट राजा बासाले युद्धको धम्की दिँदा आसाले मदतको लागि सिरियाका राजालाई गुहारे। यसको परिणाम धेरै नराम्रो भयो। भविष्यवक्‍ता हानानिमार्फत यहोवाले आसालाई यसो भन्‍नुभयो: “तपाईँ आफ्ना परमेश्‍वर यहोवामाथि भर नपरी सिरियाका राजामाथि भर पर्नुभएकोले सिरियाका राजाको सेना तपाईँको हातबाट उम्केर गयो।” त्यस समयदेखि आसाले युद्धबाट विश्राम पाएनन्‌। (२ इति. १६:७, ९; १ राजा १५:३२) हाम्रो लागि कस्तो पाठ छ?

१४. तपाईँ कसरी यहोवामाथि भर पर्न सक्नुहुन्छ र १ तिमोथि ४:१२ अनुसार तपाईँले यसो गर्नुभयो भने के हुन्छ?

१४ नम्र हुँदै यहोवामाथि भर परिरहनुहोस्‌। बप्तिस्मा गर्दा तपाईँले यहोवामाथि बलियो विश्‍वास र भरोसा देखाउनुभयो। अनि यहोवाले पनि तपाईँलाई खुसीसाथ आफ्नो परिवारको सदस्यको रूपमा स्विकार्नुभयो। अब तपाईँले गर्नुपर्ने कुरा भनेको यहोवामाथि सधैँ भर परिरहनु हो। जीवनमा ठूलठूला निर्णयहरू गर्नुपर्दा तपाईँ यहोवामाथि भर पर्नुहुन्छ होला। तर अरू निर्णयहरू गर्नुपर्दा नि? कस्तो मनोरञ्जन गर्ने, कस्तो जागिर खाने अनि कस्तो लक्ष्य राख्ने भन्‍ने विषयमा निर्णयहरू गर्नुपर्दा यहोवामाथि भर पर्नु उत्तिकै महत्त्वपूर्ण छ। आफ्नै बुद्धिमा भर नपर्नुहोस्‌। बरु तपाईँको परिस्थितिमा लागू हुने सिद्धान्तहरू खोज्नुहोस्‌ र त्यसअनुसार चल्नुहोस्‌। (हितो. ३:५, ६) यसो गर्नुभयो भने तपाईँले यहोवालाई खुसी बनाउन सक्नुहुनेछ र मण्डलीका दाजुभाइ दिदीबहिनीको आदर पनि कमाउन सक्नुहुनेछ।१ तिमोथि ४:१२ पढ्‌नुहोस्‌।

राजा यहोसापातबाट सिक्नुहोस्‌

१५. दोस्रो इतिहास १८:१-३; १९:२ अनुसार राजा यहोसापातले कस्ता गल्तीहरू गरे?

१५ हामीजस्तै तपाईँ पनि त्रुटिपूर्ण हुनुहुन्छ र कहिलेकाहीँ तपाईँबाट गल्ती हुन पुग्छ। तर यसले तपाईँलाई यहोवाको सेवामा आफूले गर्न सक्नेजति गर्न नरोकोस्‌। राजा यहोसापातको उदाहरण विचार गर्नुहोस्‌। उनीसित थुप्रै राम्रा गुणहरू थिए। जवान छँदा उनले “आफ्ना बुबाका परमेश्‍वरको खोजी गरे अनि उहाँका आज्ञा पालन गरे।” साथै उनले मानिसहरूलाई यहोवाबारे सिकाउन भारदारहरूलाई यहुदाको विभिन्‍न सहरमा पठाए। (२ इति. १७:४, ७) तर यहोसापात असल मानिस भए तापनि उनले कहिलेकाहीँ गलत निर्णयहरू गरे। उनको यस्तै एउटा निर्णयले गर्दा यहोवाको प्रतिनिधिबाट उनले कडा सल्लाह पाए। (२ इतिहास १८:१-३; १९:२ पढ्‌नुहोस्‌।) यो विवरणबाट तपाईँ कस्तो पाठ सिक्न सक्नुहुन्छ?

मेहनती र भरोसायोग्य जवान भाइहरूले मण्डलीमा राम्रो नाम कमाउन सक्छन्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. राजिवको अनुभवबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

१६ सल्लाह स्विकार्नुहोस्‌ र त्यो लागू गर्नुहोस्‌। थुप्रै युवाहरूलाई जस्तै तपाईँलाई पनि आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिने भनेर निर्णय गर्न गाह्रो लाग्छ होला। तर निरुत्साहित नहुनुहोस्‌। राजिव नाम गरेका एक जना भाइको अनुभव विचार गर्नुहोस्‌। आफ्नो किशोरावस्थाका दिनहरू सम्झँदै तिनी यसो भन्छन्‌: “जीवनमा के गर्ने भनेर म कहिलेकाहीँ अन्योलमा पर्थेँ। तर थुप्रै युवाहरूलाई जस्तै मलाई पनि सभा वा प्रचारमा जानभन्दा साथीहरूसित खेल्न र रमाइलो गर्न मन पर्थ्यो।” राजिवले कसबाट मदत पाए? एक जना दयालु एल्डरले तिनलाई केही सल्लाह दिए। राजिव भन्छन्‌: “उहाँले मलाई १ तिमोथि ४:८ मा पाइने सिद्धान्त राम्ररी बुझ्न मदत गर्नुभयो।” राजिवले नम्र हुँदै सल्लाह स्विकारे र आफूले जीवनमा कुन कुरालाई प्राथमिकता दिइरहेको छु भनेर जाँचे। उनी यसो भन्छन्‌: “मैले आध्यात्मिक लक्ष्यहरूलाई प्राथमिकता दिने निर्णय गरेँ।” परिणाम के भयो? राजिव यसो भन्छन्‌: “सल्लाह पाएको केही वर्षपछि म सहायक सेवक नियुक्‍त भएँ।”

स्वर्गमा बस्नुहुने बुबाले तपाईँमा गर्व गर्न सकून्‌

१७. यहोवाको सेवा गरिरहेका जवान भाइहरू देख्दा अरू दाजुभाइ दिदीबहिनीलाई कस्तो लाग्छ?

१७ तपाईँ जवान भाइहरूसँगै “काँधमा काँध मिलाएर” सेवा गर्न पाउँदा मण्डलीका दाजुभाइ दिदीबहिनी खुसी हुन्छन्‌। (सप. ३:९) आफूलाई सुम्पिइएको काम तपाईँले जोसिलो भएर अनि पूरा बल लगाएर गरेको देख्दा तिनीहरूको मन छुन्छ। तिनीहरूको नजरमा तपाईँ अनमोल हुनुहुन्छ।—१ युह. २:१४.

१८. हितोपदेश २७:११ अनुसार उहाँको सेवा गरिरहेका जवान भाइहरू देख्दा यहोवालाई कस्तो लाग्छ?

१८ जवान भाइहरू हो, यहोवा तपाईँलाई माया र भरोसा गर्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। अन्तको दिनमा राजीखुसीले उहाँको सेवा गर्ने जवानहरूको दल हुनेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (भज. ११०:१-३) तपाईँ यहोवालाई माया गर्नुहुन्छ र तनमन लगाएर उहाँको सेवा गर्न चाहनुहुन्छ भनेर उहाँलाई थाह छ। त्यसैले अरूहरूसित अनि आफूसित पनि धीरजी हुनुहोस्‌। तपाईँबाट कुनै गल्ती हुँदा अनुशासन पाउनुहुन्छ होला। त्यसलाई यहोवाबाट पाएको तालिमको रूपमा स्विकार्नुहोस्‌। (हिब्रू १२:६) आफूले पाएका जिम्मेवारीहरू लगनशील भई पूरा गर्नुहोस्‌। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले गर्ने हरेक काममा स्वर्गमा बस्नुहुने तपाईँको बुबाले गर्व गर्न सकून्‌!हितोपदेश २७:११ पढ्‌नुहोस्‌।

गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान्‌ होऊ”

^ अनु. 5 जवान भाइहरू आध्यात्मिक रूपमा परिपक्व भएपछि तिनीहरू यहोवाको सेवामा अझ धेरै गर्न चाहन्छन्‌। सहायक सेवकको रूपमा योग्य हुन तिनीहरूले मण्डलीका दाजुभाइ दिदीबहिनीबाट आदर कमाउनुपर्छ र त्यसलाई कायम राख्नुपर्छ। जवान भाइहरूले अरूबाट आदर कमाउन के गर्न सक्छन्‌?

^ अनु. 9 केही नाम परिवर्तन गरिएका छन्‌।