सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १४

“तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ”

“तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ”

“ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।”—१ पत्रु. २:२१.

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

परिचय *

हामीले उहाँलाई राम्ररी पछ्याउन सकोस्‌ भनेर येसुले हाम्रो निम्ति आफ्नो पदचिन्ह छोडेर जानुभएको छ (अनुच्छेद १-२ हेर्नुहोस्‌)

१-२. पहिलो पत्रुस २:२१ का शब्दहरू बुझ्न मदत दिने एउटा उदाहरण बताउनुहोस्‌।

कल्पना गर्नुहोस्‌, तपाईँ एउटा समूहसित डरलाग्दो र हिउँले ढाकिएको बाटो भएर यात्रा गर्दै हुनुहुन्छ। एक जना अनुभवी गाइडले तपाईँहरूलाई डोऱ्‍याउँदै छ। तिनी हिँड्‌दै जाँदा हिउँमा तिनको पाइलाको छाप बस्छ। अलि पर पुगेपछि तपाईँ आफ्नो गाइडलाई देख्न सक्नुहुन्‍न। तैपनि तपाईँ आत्तिनुहुन्‍न। बरु तपाईँ र तपाईँसितै यात्रा गरिरहेकाहरू गाइडको पाइला सकेसम्म राम्ररी पछ्याउँदै अघि बढ्‌नुहुन्छ।

हामी साँचो ख्रिष्टियनहरू पनि एक अर्थमा त्यस्तै डरलाग्दो बाटो भएर यात्रा गरिरहेका छौँ। तर खुसीको कुरा, यो दुष्ट संसारमा हामीलाई डोऱ्‍याउन यहोवाले सबैभन्दा राम्रो गाइड येसु ख्रिष्टको प्रबन्ध गर्नुभएको छ, जसको पाइला हामी राम्ररी पछ्याउन सक्छौँ। (१ पत्रु. २:२१) बाइबलसम्बन्धी एउटा स्रोतसामग्रीअनुसार पत्रुसले यस पदमा येसुलाई गाइडसित तुलना गरेका छन्‌। गाइडले जस्तै येसुले पनि हामीले पछ्याउन सकोस्‌ भनेर आफ्नो पदचिन्ह छोड्‌नुभएको छ। अब हामी येसुको पाइला पछ्याउनेबारे तीन वटा प्रश्‍न छलफल गर्नेछौँ। येसुको पाइला पछ्याउनु भनेको के हो? हामीले किन उहाँको पाइला पछ्याउनुपर्छ? हामी कसरी यसो गर्न सक्छौँ?

येसुको पाइला पछ्याउनु भनेको के हो?

३. कसैको पाइला पछ्याउनु भनेको के हो?

कसैको पाइला पछ्याउनु भनेको के हो? बाइबलमा चलाइएको “हिँड्‌नु” र “खुट्टा” भन्‍ने शब्दहरूले कहिलेकाहीँ कुनै मानिसको जीवनशैलीलाई बुझाउँछ। (उत्प. ६:९; हितो. ५:५) कुनै व्यक्‍तिले बसालेको उदाहरणलाई तिनले छोडेको पदचिन्हसित तुलना गर्न सकिन्छ। त्यसैले कसैको पाइला पछ्याउनुको अर्थ तिनले बसालेको उदाहरण पछ्याउनु वा तिनको अनुकरण गर्नु हो।

४. येसुको पाइला पछ्याउनु भनेको के हो?

त्यसोभए येसुको पाइला पछ्याउनु भनेको के हो? सरल शब्दमा भन्‍नुपर्दा, उहाँको अनुकरण गर्नु हो। यस लेखको मूल शास्त्रपदमा प्रेषित पत्रुसले सहनशील हुने सन्दर्भमा येसुले बसाल्नुभएको राम्रो उदाहरणमा जोड दिएका छन्‌। तर हामीले येसुको अनुकरण गर्न सक्ने अरू पनि थुप्रै तरिका छन्‌। (१ पत्रु. २:१८-२५) भन्‍ने हो भने, येसुको पूरै जीवन, उहाँले भन्‍नुभएको र गर्नुभएको सम्पूर्ण काम हामीले अनुकरण गर्नुपर्ने राम्रो उदाहरण हुन्‌।

५. के त्रुटिपूर्ण मानिसहरूले येसुको त्रुटिरहित उदाहरण पछ्याउन सक्छन्‌? व्याख्या गर्नुहोस्‌।

तर के हामीजस्तो त्रुटिपूर्ण मानिसहरूले पनि येसुको उदाहरण अनुकरण गर्न सक्छौँ र? पक्कै सक्छौँ। सम्झनुहोस्‌ त, पत्रुसले हामीलाई ‘राम्ररी येसुको पाइला पछ्याउन’ आग्रह गरेका छन्‌, हुबहु पछ्याउन होइन। त्रुटिपूर्ण भए तापनि येसुको पाइला होसियारीसाथ र सक्दो राम्रो तरिकामा पछ्यायौँ भने हामी प्रेषित युहन्‍नाले दिएको यो सल्लाहअनुसार चलिरहेका हुन्छौँ: “येसुले जसरी जीवन बिताउनुभएको थियो, [हामीले] त्यसरी नै जीवन बिताइरहनै पर्छ।”—१ युह. २:६.

हामीले किन येसुको पाइला पछ्याउनुपर्छ?

६-७. येसुको पाइला पछ्याउँदा हामी यहोवाको नजिक हुन सक्छौँ भनेर किन भन्‍न सक्छौँ?

येसुको पाइला पछ्याउँदा हामी यहोवासित अझ घनिष्ठ हुन्छौँ। हामी किन त्यसो भन्‍न सक्छौँ? पहिलो कारण, परमेश्‍वरलाई खुसी बनाउने तरिकामा कसरी जीवन बिताउने भन्‍ने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। (युह. ८:२९) त्यसैले येसुको पाइला पछ्याएर हामी यहोवालाई खुसी बनाउन सक्छौँ। स्वर्गमा बस्नुहुने हाम्रा बुबा उहाँको मित्र बन्‍न प्रयत्न गर्नेहरूसित नजिक हुनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौँ।—याकु. ४:८.

दोस्रो कारण, येसुले आफ्नो बुबाको दुरुस्त नक्कल गर्नुभयो। त्यसैले उहाँले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युह. १४:९) पृथ्वीमा छँदा येसुले असल गुणहरू देखाउनुभयो र मानिसहरूसित राम्रो व्यवहार गर्नुभयो। जस्तै: उहाँ कुष्ठरोगीप्रति टिठाउनुभयो, गम्भीर रोगले सताएको स्त्रीप्रति समानुभूति देखाउनुभयो र शोकमा परेकाहरूप्रति अनुकम्पा देखाउनुभयो। हामीले येसुका यस्ता गुणहरू अनुकरण गऱ्‍यौँ भने यहोवाको पनि अनुकरण गरिरहेका हुन्छौँ। (मर्कु. १:४०, ४१; ५:२५-३४; युह. ११:३३-३५) अनि हामी जति धेरै यहोवाको अनुकरण गर्छौँ, उहाँसित त्यति नै नजिक हुनेछौँ।

८. येसुको पाइला पछ्याउँदा हामी कसरी ‘संसारलाई जित्न’ सक्छौँ? व्याख्या गर्नुहोस्‌।

येसुको पाइला पछ्याउँदा यस दुष्ट संसारले हामीलाई अलमल्याउन सक्नेछैन। पृथ्वीमा आफ्नो जीवनको अन्तिम रात येसुले यसो भन्‍न सक्नुभयो: “मैले यस संसारलाई जितेको छु।” (युह. १६:३३) येसुले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? उहाँले आफूलाई यस संसारका मानिसहरूको सोचाइ, लक्ष्य र व्यवहारको प्रभावमा पर्न दिनुभएन। आफूलाई यस पृथ्वीमा पठाइनुको कारण यहोवाको नाम पवित्र पार्नु हो भनेर येसुले कहिल्यै बिर्सनुभएन। हामी नि? यस संसारमा हामीलाई अलमल्याउने थुप्रै कुरा छन्‌। तर येसुजस्तै यहोवाको इच्छाअनुसार चलिरह्‍यौँ भने हामीले पनि यस संसारमाथि “विजय हासिल” गर्नेछौँ।—१ युह. ५:५.

९. अनन्त जीवनसम्म पुऱ्‍याउने बाटोमा हिँडिरहन हामीले के गर्नै पर्छ?

येसुको पाइला पछ्याउँदा हामीले अनन्त जीवन पाउनेछौँ। एक जना धनी जवान मानिसले अनन्त जीवन पाउन मैले के गर्नुपर्छ भनेर सोध्दा येसुले यस्तो जवाफ दिनुभयो: “आएर मेरो पछि लाग।” (मत्ति १९:१६-२१) उहाँ ख्रिष्ट हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास नगर्ने केही यहुदीहरूलाई येसुले यसो भन्‍नुभयो: “मेरा भेडाहरू . . . मेरो पछि लाग्छन्‌। म तिनीहरूलाई अनन्त जीवन दिन्छु।” (युह. १०:२४-२९) यहुदी न्यायपरिषद्‌का एक जना सदस्य निकोदेमसले येसुको शिक्षामा चासो देखाएका थिए। येसुले तिनलाई उहाँमाथि “विश्‍वास गर्ने”-ले “अनन्त जीवन” पाउनेछ भनेर बताउनुभयो। (युह. ३:१६) येसुले सिकाउनुभएका कुराहरू लागू गरेर अनि उहाँको अनुकरण गरेर हामी उहाँमाथि विश्‍वास गरेको देखाउन सक्छौँ। यसो गऱ्‍यौँ भने हामी अनन्त जीवनसम्म पुऱ्‍याउने बाटोमा हिँडिरहन सक्नेछौँ।—मत्ति ७:१४.

हामी कसरी येसुको पाइला राम्ररी पछ्याउन सक्छौँ?

१०. येसुलाई अझ राम्ररी ‘चिन्‍नुमा’ के समावेश छ? (युहन्‍ना १७:३)

१० येसुको पाइला राम्ररी पछ्याउन सुरुमा त हामीले उहाँलाई चिन्‍नुपर्छ। (युहन्‍ना १७:३ पढ्‌नुहोस्‌।) येसुलाई ‘चिन्‍ने’ काम सधैँभरि चलिरहने प्रकिया हो। येसुका असल गुणहरू, सोचाइ र उहाँले पछ्याउनुभएका स्तरहरूबारे सिकिरहेर हामीले उहाँलाई अझ राम्ररी चिन्दै जानुपर्छ। हामी यहोवाको साक्षी भएको जति नै लामो समय भए पनि यहोवा र उहाँको छोरालाई चिन्‍न प्रयास गरिरहनुपर्छ।

११. सुसमाचारका चार वटा किताबमा के पाइन्छ?

११ हामीले उहाँको छोरालाई चिन्‍न सकोस्‌ भनेर यहोवाले आफ्नो वचन बाइबलमा सुसमाचारका चार वटा किताब पनि समावेश गर्नुभयो। सुसमाचारका किताबहरूमा येसुको जीवन र सेवाको कामबारे ऐतिहासिक विवरण पाइन्छ। यो विवरण पढ्‌दा हामी येसुका शब्दहरू सुन्‍न सक्छौँ, उहाँका कामहरू देख्न सक्छौँ र उहाँको भावना महसुस गर्न सक्छौँ। यी चार वटा किताबले हामीलाई येसुको उदाहरण ‘ध्यान दिएर हेर्न’ मदत गर्छ। (हिब्रू १२:३) वास्तवमा भन्‍नुपर्दा यी किताबहरूमा लेखिएका कुराहरू येसुले हाम्रो निम्ति छोड्‌नुभएको पाइलासरह हुन्‌। त्यसैले सुसमाचारका किताबहरू अध्ययन गर्दा हामी येसुलाई अझ राम्ररी चिन्दै जान सक्छौँ र उहाँको पाइला राम्ररी पछ्याउन सक्छौँ।

१२. सुसमाचारका किताबहरूबाट पूरापूर लाभ उठाउन हामीले के गर्नुपर्छ?

१२ सुसमाचारका किताबहरूबाट पूरापूर लाभ उठाउन हामीले त्यसमा भएका विवरणहरू पढेर मात्र पुग्दैन। हामीले ती विवरणहरू राम्ररी अध्ययन गर्न र त्यसबारे गहिरिएर मनन गर्न समय निकाल्नुपर्छ। (यहोसु १:८ तुलना गर्नुहोस्‌।) सुसमाचारका विवरणहरूमा मनन गर्न र त्यसमा पढेको कुरा लागू गर्न हामीलाई मदत दिने दुई वटा सुझाव अब छलफल गरौँ।

१३. सुसमाचारका विवरणहरूलाई तपाईँ कसरी जीवन्त बनाउन सक्नुहुन्छ?

१३ पहिलो, सुसमाचारका विवरणहरूलाई जीवन्त बनाउनुहोस्‌। आफ्नो कल्पनाशक्‍ति चलाउँदै पढेका कुराहरूको दृश्‍य मनमा उतार्नुहोस्‌, वरपरको आवाज सुन्‍नुहोस्‌ र पात्रहरूको भावना महसुस गर्नुहोस्‌। यसो गर्न यहोवाको सङ्‌गठनले प्रबन्ध गरेको अध्ययन सामग्रीहरूमा केही अनुसन्धान गर्नुहोस्‌। आफूले अध्ययन गरिरहेको विवरणको प्रसङ्‌ग पनि जाँच्नुहोस्‌। विवरणमा चर्चा गरिएका मानिसहरू र ठाउँहरूबारे थप जानकारी खोज्नुहोस्‌। आफूले अध्ययन गरिरहेको विवरणलाई सुसमाचारको अर्को किताबमा भएको समानान्तर विवरणसित तुलना गरेर हेर्नुहोस्‌। कुनै-कुनै विवरणमा एक जना लेखकले छुटाएको कुनै रोचक जानकारी अर्को लेखकले समावेश गरेका हुन सक्छन्‌।

१४-१५. सुसमाचारका विवरणहरूबाट सिकेको कुरा हामी कसरी लागू गर्न सक्छौँ?

१४ दोस्रो, सुसमाचारका विवरणहरूबाट सिकेको कुरा लागू गर्नुहोस्‌। (युह. १३:१७) सुसमाचारको कुनै विवरण राम्ररी अध्ययन गरिसकेपछि आफैलाई सोध्नुहोस्‌: “यस विवरणमा मैले आफ्नो जीवनमा लागू गर्न सक्ने कुनै पाठ छ कि? अरूलाई मदत गर्न म यो विवरण कसरी प्रयोग गर्न सक्छु?” तपाईँले मदत गर्न सक्ने कुनै व्यक्‍तिबारे सोच्नुहोस्‌ अनि उपयुक्‍त समयमा आफूले सिकेको पाठ तिनलाई मायालुपूर्वक र विचारशील हुँदै बताउनुहोस्‌।

१५ यी दुई वटा सुझाव हामी कसरी लागू गर्न सक्छौँ, अब एउटा उदाहरण विचार गरौँ। येसुले मन्दिरमा देख्नुभएको एक जना गरिब विधवाको विवरण हामी केलाउनेछौँ।

मन्दिरमा एक जना गरिब विधवा

१६. मर्कुस १२:४१ मा रेकर्ड गरिएको दृश्‍य व्याख्या गर्नुहोस्‌।

१६ विवरणलाई जीवन्त बनाउनुहोस्‌। (मर्कुस १२:४१ पढ्‌नुहोस्‌।) दृश्‍य कल्पना गर्नुहोस्‌। यो इस्वी संवत्‌ ३३ नीसान ११ को दिन हो। येसुको मृत्यु हुन अब केही दिन मात्र बाँकी छ। उहाँ आफ्नो जीवनका अन्तिम दिनहरू मन्दिरमा शिक्षा दिँदै बिताउनुहुन्छ। धर्मगुरुहरूले अझै पनि उहाँलाई विरोध गर्न छोडेका छैनन्‌। केही समयअघि तिनीहरूमध्ये केहीले येसुको अख्तियारमाथि प्रश्‍न उठाएका थिए। अरू केहीले भने उहाँलाई फसाउने मनसायले प्रश्‍नहरू गरेका थिए। (मर्कु. ११:२७-३३; १२:१३-३४) अब येसु मन्दिरको अर्को भागमा, सायद स्त्रीहरूको चोकमा जानुहुन्छ। त्यहाँबाट दानपात्रहरू सजिलै देखिन्छ। त्यसपछि उहाँ बस्नुहुन्छ र मानिसहरूले दानपात्रमा भेटी खसालिरहेको हेर्नुहुन्छ। उहाँ धनी मानिसहरूले दानपात्रमा थुप्रै पैसा खसालिरहेको देख्नुहुन्छ। सायद उहाँ नजिकै हुनुभएकोले ती मानिसहरूले दानपात्रमा पैसा खसालिरहँदा सिक्काको आवाज पनि सुन्‍न सक्नुहुन्छ।

१७. मर्कुस १२:४२ मा चर्चा गरिएको गरिब विधवाले के गरिन्‌?

१७ मर्कुस १२:४२ पढ्‌नुहोस्‌। केही बेरपछि येसुले एक जना स्त्रीलाई याद गर्नुहुन्छ। तिनी एक जना “गरिब विधवा” हुन्‌। (लुका २१:२) तिनको जीवन निकै कष्टकर छ; तिनलाई बिहान बेलुकीको छाक टार्न पनि धौधौ हुन्छ। तैपनि तिनी दानपात्रहरू राखिएको ठाउँमा जान्छिन्‌ र दुई साना सिक्का खसाल्छिन्‌। तिनले दानपात्रमा सिक्का खसाल्दा सिक्काको आवाज खासै सुनिँदैन। तिनी दानपात्रमा दुई लेप्टा खसाल्छिन्‌, जुन त्यतिबेलाको चलनचल्तीको सबैभन्दा कम मोलको सिक्का हो। त्यति पैसाले त सबैभन्दा सस्तो पर्ने एउटा सानो भँगेरा पनि किन्‍न सकिँदैन।

१८. मर्कुस १२:४३, ४४ अनुसार विधवाले खसालेको भेटीबारे येसुले के भन्‍नुभयो?

१८ मर्कुस १२:४३, ४४ पढ्‌नुहोस्‌। ती विधवाले गरेको काम देखेर येसुको मन छुन्छ। त्यसैले उहाँ चेलाहरूलाई बोलाउनुहुन्छ र ती विधवातर्फ इसारा गर्दै यसो भन्‍नुहुन्छ: “यस गरिब विधवाले . . . अरू सबैले भन्दा धेरै खसाली।” उहाँ अझै यसो भन्‍नुहुन्छ: “अरू सबैले [विशेषगरि धनी मानिसहरूले] आफ्नो प्रशस्तताबाट खसाले तर उसले त अभाव हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।” यी विश्‍वासी विधवाले आफूसित भएको सबै पैसा खसालेर यहोवाले नै आफ्नो सबै आवश्‍यकता पूरा गरिदिनुहुनेछ भन्‍ने कुरामा भरोसा गरेको देखाइन्‌।—भज. २६:३.

यहोवाको सेवामा सक्दो गरिरहेकाहरूलाई येसुले जस्तै प्रशंसा गर्नुहोस्‌ (अनुच्छेद १९-२० हेर्नुहोस्‌) *

१९. गरिब विधवाबारे येसुले भन्‍नुभएका शब्दहरूबाट हामी कुन महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ?

१९ यस विवरणबाट सिकेको पाठ लागू गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘यस गरिब विधवाबारे येसुले भन्‍नुभएका शब्दहरूबाट म कस्तो पाठ सिक्न सक्छु?’ ती विधवाबारे सोच्नुहोस्‌। तिनी पक्कै पनि यहोवालाई अझ धेरै दिन चाहन्थिन्‌। तैपनि तिनले उहाँलाई आफ्नो तर्फबाट सबैभन्दा उत्तम कुरा चढाइन्‌। ती विधवाले चढाएको भेटी आफ्नो बुबाको नजरमा अमूल्य छ भन्‍ने कुरा येसुलाई थाह थियो। यसबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ: हामीले यहोवालाई आफूले सक्ने सबैभन्दा उत्तम कुरा दिँदा अर्थात्‌ तनमनले उहाँको सेवा गर्दा यहोवा प्रसन्‍न हुनुहुनेछ। (मत्ति २२:३७; कल. ३:२३) हामीले सकेजति गरेको देख्दा यहोवालाई पक्कै पनि खुसी लाग्छ। सभा, प्रचारकार्य र अन्य आध्यात्मिक गतिविधिको लागि हामीले खर्च गर्ने समय र शक्‍तिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।

२०. गरिब विधवाको विवरणबाट सिकेको पाठ तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ? एउटा उदाहरण दिनुहोस्‌।

२० गरिब विधवाको विवरणबाट सिकेको पाठ तपाईँ कसरी लागू गर्न सक्नुहुन्छ? आफूले गरिरहेको प्रयास देखेर यहोवा खुसी हुनुहुन्छ भन्‍ने कुराको आश्‍वासन चाहिएको कुनै भाइ वा बहिनीबारे सोच्नुहोस्‌। कमजोर स्वास्थ्य अवस्थाले गर्दा प्रचारकार्यमा पहिलाजति भाग लिन नसकेकोले आफूलाई बेकामको महसुस गरिरहेकी कुनै वृद्ध बहिनीलाई तपाईँ चिन्‍नुहुन्छ कि? अथवा दीर्घकालीन र पीडादायी रोगले गर्दा हरेक सभाको लागि सभाभवन आउन नसक्ने कुनै भाइलाई सम्झन सक्नुहुन्छ कि? त्यस्तो अवस्थामा भएका भाइबहिनीलाई “उत्थान गर्ने” असल वचन बोलेर सान्त्वना दिनुहोस्‌। (एफि. ४:२९) गरिब विधवाको विवरणबाट सिकेको प्रोत्साहनदायी पाठ उनीहरूलाई बताउनुहोस्‌। तपाईँका उत्थानदायी शब्दहरूबाट यहोवालाई सबैभन्दा उत्तम कुरा चढाउँदा उहाँ खुसी हुनुहुन्छ भन्‍ने कुरा सम्झन तिनीहरूले मदत पाउन सक्छन्‌। (हितो. १५:२३; १ थिस्स. ५:११) कसैले यहोवाको सेवामा गरिरहेको प्रयास सानो जस्तो देखिए तापनि तिनले आफूले सक्ने सबैभन्दा उत्तम कुरा चढाइरहेका हुन सक्छन्‌। त्यो कुरा याद गरेर उनको प्रशंसा गऱ्‍यौँ भने हामीले येसुको पाइला राम्ररी पछ्याइरहेका हुन्छौँ।

२१. तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ?

२१ सुसमाचारका विवरणहरूमा येसुबारे यति धेरै जानकारी समावेश गर्नुभएकोमा हामी यहोवाप्रति धन्यवादी छौँ। यसले गर्दा हामीले येसुको पाइला राम्ररी पछ्याएर उहाँको अनुकरण गर्न सकेका छौँ। व्यक्‍तिगत अध्ययनमा वा पारिवारिक उपासनामा सुसमाचारका विवरणहरू अध्ययन गर्न योजना बनाउनुभए कसो होला? तर यो कुरा मनमा राख्नुहोस्‌: यस्तो अध्ययनबाट पूरापूर लाभ उठाउन आफूले पढिरहेको बाइबल विवरणलाई जीवन्त बनाउनु र त्यो विवरणबाट सिकेको पाठ जीवनमा लागू गर्नु महत्त्वपूर्ण छ। हामीले येसुले गर्नुभएका कामहरूको अनुकरण गर्नुका साथै उहाँले भन्‍नुभएका कुराहरू सुन्‍नु पनि आवश्‍यक छ। यस पृथ्वीमा छँदा येसुले भन्‍नुभएका अन्तिम शब्दहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ भनेर अर्को लेखमा छलफल गर्नेछौँ।

गीत १५ यहोवाको पुत्रको जय होस्‌!

^ अनु. 5 साँचो ख्रिष्टियनहरू भएकोले हामीले ‘राम्ररी येसुको पाइला पछ्याउनुपर्छ।’ हामीले उहाँको “पाइला” पछ्याउन सकोस्‌ भनेर येसुले हाम्रो निम्ति कस्तो उदाहरण छोडेर जानुभएको छ? यस लेखमा यो प्रश्‍नको जवाफ पाउनेछौँ। हामीले किन उहाँको पाइला राम्ररी पछ्याउनुपर्छ र हामी कसरी यसो गर्न सक्छौँ, यस लेखमा त्यसबारे पनि छलफल गर्नेछौँ।

^ अनु. 60 चित्रको व्याख्या: गरिब विधवाबारे येसुले भन्‍नुभएको कुरामा मनन गरेपछि एक बहिनी तनमनले यहोवाको सेवा गरिरहेकी एक वृद्ध दिदीको प्रशंसा गर्छिन्‌।