अध्ययन लेख १५
येसुका अन्तिम शब्दहरूबाट सिक्नुहोस्
“यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु। तिमीहरूले उनको कुरा सुन।”—मत्ति १७:५.
गीत १७ “म इच्छा गर्छु”
परिचय *
१-२. पृथ्वीमा आफ्नो जीवनको अन्तिम शब्दहरू बताउँदा येसु कस्तो अवस्थामा हुनुहुन्थ्यो?
यो इस्वी संवत् ३३ नीसान १४ को दिन हो। येसुमाथि गलत आरोप लगाइएको छ र उहाँले गर्दै नगरेको अपराधको लागि उहाँलाई दोषी ठहराइएको छ। मानिसहरू येसुको गिल्ला गर्छन्, उहाँलाई क्रूर सास्ती दिन्छन् र त्यसपछि यातनाको खम्बामा झुन्ड्याउँछन्। उहाँको हात अनि खुट्टामा किल्ला ठोकिएको छ। उहाँलाई सास फेर्न अनि बोल्न निकै गाह्रो भइरहेको छ। तैपनि उहाँ सकिनसकी बोल्नुहुन्छ किनकि उहाँले केही महत्त्वपूर्ण कुराहरू भन्न बाँकी नै छ।
२ यातनाको खम्बामा अन्तिम सास लिँदै गर्नुहुँदा येसुले भन्नुभएका शब्दहरू र त्यसबाट हामीले सिक्न सक्ने पाठहरू अब छलफल गरौँ। आउनुहोस्, ‘उहाँको कुरा सुनौँ।’—मत्ति १७:५.
“हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्”
३. “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्” भन्नुहुँदा येसुले सायद कसको विषयमा बताउँदै हुनुहुन्थ्यो?
३ येसुले के भन्नुभयो? यातनाको खम्बामा किल्ला ठोकेर झुन्ड्याइँदा येसुले यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्।” कसलाई क्षमा गर्ने? यसपछि येसुले भन्नुभएका शब्दहरूबाट हामी केही अनुमान लगाउन सक्छौँ: “तिनीहरू जे गर्दै छन्, त्यो तिनीहरू जान्दैनन्।” (लुका २३:३३, ३४) उहाँको हात र खुट्टामा किल्ला ठोक्ने रोमी सिपाहीहरूको विषयमा येसु बताउँदै हुनुहुन्थ्यो जस्तो देखिन्छ। उहाँ वास्तवमा को हुनुहुन्छ भनेर तिनीहरूलाई थाह थिएन। उहाँ सायद भीडमा भएका केही मानिसहरूको विषयमा पनि बताउँदै हुनुहुन्थ्यो, जसले उहाँलाई मृत्युदण्ड दिन माग गरेका थिए तर पछि उहाँमाथि विश्वास गर्ने थिए। (प्रेषि. २:३६-३८) आफूले अन्याय भोग्नुपरे तापनि येसुले मनमा रिस पालेर राख्नुभएन। (१ पत्रु. २:२३) बरु आफूलाई मृत्युदण्ड दिन लागेकाहरूलाई क्षमा दिनुहोस् भनेर यहोवासित बिन्ती गर्नुभयो।
४. येसु आफ्ना विरोधीहरूलाई क्षमा दिन तयार हुनुभएको कुराबाट हामी के सिक्न सक्छौँ?
४ येसुका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? हामी पनि येसुजस्तै अरूलाई क्षमा दिन तयार हुनुपर्छ। (कल. ३:१३) हाम्रा आफन्तहरूलगायत अरूले हाम्रो विरोध गर्न सक्छन् किनभने तिनीहरूलाई हाम्रो विश्वास र जीवनशैलीबारे थाह छैन। तिनीहरूले हाम्रो विषयमा झूटो कुरा बोल्न सक्छन्, अरूको अगाडि हाम्रो बेइज्जत गर्न सक्छन्, हाम्रा साहित्यहरू नष्ट गर्न सक्छन् वा हामीलाई कुटपिट गर्ने धम्कीसमेत दिन सक्छन्। तर मनमा रिस पालेर राख्नुको सट्टा हाम्रा विरोधीहरूको आँखा खोलिदिनुहोस् र तिनीहरूले पनि सत्य स्विकार्न सकून् भनेर हामी यहोवालाई बिन्ती गर्न सक्छौँ। (मत्ति ५:४४, ४५) कहिलेकाहीँ हामीलाई क्षमा दिन गाह्रो लाग्न सक्छ, विशेषगरि कसैले हामीसित असाध्यै नराम्रो व्यवहार गर्दा। तर रिस पालेर राख्छौँ अनि क्षमा दिँदैनौँ भने हामीले आफैलाई चोट पुऱ्याइरहेका हुन्छौँ। एक जना बहिनीले यसो भनिन्: “कसैलाई क्षमा दिनु भनेको तिनको गल्तीप्रति आँखा चिम्लनु वा तिनलाई हाम्रो नाजायज फाइदा उठाउन दिनु होइन। क्षमा दिनु भनेको त आफ्नो मनबाट द्वेष हटाउने छनौट गर्नु हो।” (भज. ३७:८) कसैलाई क्षमा दिने निर्णय गर्दा आफूले भोग्नुपरेको नराम्रो व्यवहारको कारण निराश नहुने अनि मनमा रिस नपाल्ने छनौट गरिरहेका हुन्छौँ।—एफि. ४:३१, ३२.
“तिमी मसित प्रमोदवनमा हुनेछौ”
५. येसुले आफूसँगै झुन्ड्याइएको अपराधीसित कस्तो वाचा गर्नुभयो र उहाँले त्यस्तो वाचा गर्न सक्नुको कारण के थियो?
५ येसुले के भन्नुभयो? येसुसँगै दुई जना अपराधीलाई पनि यातनाको खम्बामा झुन्ड्याइएको थियो। सुरुमा त तिनीहरूले उहाँको गिल्ला गरिरहेका थिए। (मत्ति २७:४४) तर पछि तिनीहरूमध्ये एक जनाले आफ्नो मन परिवर्तन गरे। येसुले “यस्तो सजाय पाउनुपर्ने केही गरेको छैन” भनेर तिनले बुझे। (लुका २३:४०, ४१) साथै तिनले येसु मृत्युबाट जीवित हुनुहुनेछ र एक दिन राजाको रूपमा शासन गर्नुहुनेछ भनेर आफ्नो विश्वास पनि व्यक्त गरे। तिनले आफूसँगै टाँगिनुभएको येसुलाई यसो भने: “हे येसु, तपाईँ राजा बन्नुभएपछि मलाई सम्झनुहोस्।” (लुका २३:४२) ती मानिसले कति ठूलो विश्वास देखाए! जवाफमा येसुले यसो भन्नुभयो: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित [राज्यमा होइन तर] प्रमोदवनमा हुनेछौ।” (लुका २३:४३) येसुले यहाँ “म,” “तिमी” र “मसित” भन्ने शब्दहरू चलाउनुभएर तिनीसित व्यक्तिगत वाचा गर्नुभयो। उहाँले त्यस अपराधीलाई आशा दिन सक्नुभयो किनभने आफ्नो बुबा कृपालु हुनुहुन्छ भनेर उहाँलाई थाह थियो।—भज. १०३:८.
६. येसुले आफूसँगै झुन्ड्याइएको अपराधीलाई भन्नुभएको कुराबाट हामी के सिक्न सक्छौँ?
६ येसुका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? येसु हुबहु आफ्नो बुबाजस्तै हुनुहुन्छ। (हिब्रू १:३) यहोवा हामीलाई क्षमा दिन र कृपा देखाउन तयार हुनुहुन्छ। तर त्यसको लागि आफूले विगतमा गरेका गल्तीहरूप्रति मनैदेखि पश्चात्ताप गर्नुपर्छ र येसुको बलिदानमार्फत पापको क्षमा पाउन सक्छौँ भनेर विश्वास गर्नुपर्छ। (१ युह. १:७) कसै-कसैलाई विगतमा आफूले गरेको गल्तीको लागि यहोवाले क्षमा दिनुहुन्न जस्तो लाग्न सक्छ। यदि तपाईँलाई पनि यस्तै लाग्छ भने यो कुरा विचार गर्नुहोस्: आफ्नो मृत्युको केही छिनअघि येसुले आफूमाथि भर्खरै विश्वास गर्न थालेको अपराधीप्रति कृपा देखाउनुभयो। त्यसोभए सोच्नुहोस् त, यहोवा आफ्ना वफादार उपासकहरू जो उहाँको आज्ञा पालन गर्न सक्दो गर्दै छन्, तिनीहरूप्रति झन् कति कृपा देखाउनुहुन्छ होला!—भज. ५१:१; १ युह. २:१, २.
“हेर्नुहोस्, तपाईँको छोरा! . . . हेर, तिम्री आमा!”
७. युहन्ना १९:२६, २७ मा बताइएअनुसार येसुले मरियम र युहन्नालाई के भन्नुभयो र उहाँले किन त्यसो भन्नुभयो?
७ येसुले के भन्नुभयो? (युहन्ना १९:२६, २७ पढ्नुहोस्।) येसु आफ्नी आमाको चिन्ता गर्दै हुनुहुन्थ्यो, जो सायद विधवा थिइन्। उहाँका भाइबहिनीहरूले तिनको शारीरिक र भौतिक आवश्यकता त पूरा गर्न सक्थे होलान्। तर तिनको आध्यात्मिक आवश्यकता चाहिँ कसले पूरा गर्ने? उहाँका भाइहरू चेला बनिसकेका थिए भनेर बाइबलमा कुनै सङ्केत पाइँदैन। तर युहन्ना एक जना वफादार प्रेषित र येसुको घनिष्ठ मित्र थिए। येसु यहोवाको उपासनामा आफूसँगै भाग लिनेहरूलाई आफ्नो आध्यात्मिक परिवारको रूपमा हेर्नुहुन्थ्यो। (मत्ति १२:४६-५०) उहाँ आफ्नी आमालाई प्रेम गर्नुहुन्थ्यो र तिनको चिन्ता गर्नुहुन्थ्यो। त्यसैले उहाँले युहन्नालाई तिनको आध्यात्मिक आवश्यकताको हेरविचार गर्ने जिम्मा सुम्पनुभयो। उहाँले आफ्नी आमालाई यसो भन्नुभयो: “हेर्नुहोस्, तपाईँको छोरा!” अनि युहन्नालाई यसो भन्नुभयो: “हेर, तिम्री आमा!” त्यस दिनदेखि युहन्ना मरियमको छोरासमान भए र उनले आफ्नै आमा सम्झेर तिनको हेरविचार गरे। आफ्नी आमाप्रति येसुको कति ठूलो प्रेम! मरियम ती नै स्त्री थिइन् जसले उहाँलाई जन्म दिइन्, मायालुपूर्वक हुर्काइन् र अहिले उहाँको मृत्युको क्षणमा पनि उहाँसँगै छिन्।
८. येसुले मरियम र युहन्नालाई भन्नुभएका शब्दहरूबाट हामी के सिक्न सक्छौँ?
८ येसुका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसितको हाम्रो सम्बन्ध हाम्रो आफ्नै परिवारको सदस्यसितको सम्बन्धभन्दा बलियो हुन सक्छ। आफन्तहरूले हाम्रो विरोध गर्लान् वा हामीलाई त्याग्लान् तर यहोवा र उहाँको सङ्गठनसित नजिक भइरह्यौँ भने येसुले प्रतिज्ञा गर्नुभएझैँ हामीले आफूले गुमाएको भन्दा “१०० गुणा” धेरै पाउनेछौँ। मण्डलीका थुप्रै दाजुभाइ दिदीबहिनी हाम्रो लागि मायालु छोरा, छोरी, आमा वा बुबासमान हुनेछन्। (मर्कु. १०:२९, ३०) यहोवा र एकअर्काप्रतिको प्रेमले गर्दा अनि एउटै विश्वासले गर्दा एकताबद्ध भएको आध्यात्मिक परिवारको भाग हुन पाउँदा तपाईँ कस्तो महसुस गर्नुहुन्छ?—कल. ३:१४; १ पत्रु. २:१७.
“हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?”
९. मत्ति २७:४६ मा रेकर्ड गरिएका येसुका शब्दहरूबाट हामी के थाह पाउन सक्छौँ?
९ येसुले के भन्नुभयो? आफ्नो मृत्युको अन्तिम क्षणमा येसुले ठूलो स्वरमा यसो भन्नुभयो: “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?” (मत्ति २७:४६) येसुले यसो भन्नुको कारणबारे बाइबलमा केही बताइएको छैन। तर ती शब्दहरूबाट हामी के थाह पाउन सक्छौँ, विचार गरौँ। एउटा कुरा त, ती शब्दहरू भन्नुभएर येसुले भजन २२:१ मा गरिएको भविष्यवाणी पूरा गर्दै हुनुहुन्थ्यो। * साथै ती शब्दहरूबाट यहोवाले आफ्नो छोरालाई “चारैतिरबाट रक्षा गर्नुभएको छैन” भनेर स्पष्ट देखियो। (अय्यु. १:१०) येसुले मृत्युसम्मै आफ्नो वफादारी प्रमाणित गर्न सकोस् भनेर यहोवाले उहाँलाई शत्रुहरूको हातमा छोडिदिनुभएको थियो र यो कुरा येसुले राम्ररी बुझ्नुभएको थियो। यस्तो परीक्षा आजसम्म कुनै मानिसले भोग्नुपरेको छैन। साथै ती शब्दहरूबाट उहाँले मृत्युदण्ड पाउन लायकको कुनै अपराध गर्नुभएको थिएन भनेर पनि प्रमाणित भयो।
१०. येसुले आफ्नो बुबालाई भन्नुभएका शब्दहरूबाट हामी के सिक्न सक्छौँ?
१० येसुका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? हामीले सिक्न सक्ने एउटा पाठ भनेको विश्वासको जाँच हुन सक्ने परीक्षाहरूबाट यहोवाले हामीलाई जोगाएको आशा गर्नु हुँदैन। येसुजस्तै हामी पनि मृत्युसम्मै आफ्नो वफादारी प्रमाणित गर्न तयार हुनुपर्छ। (मत्ति १६:२४, २५) तर परमेश्वरले हामीलाई सहन सक्नेभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन भन्ने कुरामा हामी ढुक्क छौँ। (१ कोरि. १०:१३) हामीले सिक्न सक्ने अर्को पाठ भनेको हामी पनि येसुजस्तै अन्यायको सिकार हुन सक्छौँ। (१ पत्रु. २:१९, २०) हामीले कुनै खराब काम गरेकोले होइन बरु हामी यस संसारको भाग नभएकोले अनि सत्यको साक्षी दिएकोले मानिसहरू हाम्रो विरोध गर्छन्। (युह. १७:१४; १ पत्रु. ४:१५, १६) यहोवाले आफूलाई दुःख भोग्न दिनुको कारण येसुलाई थाह थियो। तर परीक्षा भोगिरहेका यहोवाका केही वफादार उपासकहरूको मनमा यहोवाले यी सब किन हुन दिनुहुन्छ भन्ने प्रश्न उठेको छ। (हब. १:३) तिनीहरूको मनमा यस्तो प्रश्न उठ्नुको कारण विश्वासको कमीले गर्दा होइन भनेर हाम्रा कृपालु अनि धीरजी परमेश्वरलाई थाह छ। तिनीहरूलाई सान्त्वना चाहिएको छ, जुन सान्त्वना यहोवाले मात्र दिन सक्नुहुन्छ।—२ कोरि. १:३, ४.
“मलाई तिर्खा लाग्यो”
११. येसुले किन युहन्ना १९:२८ का शब्दहरू भन्नुभयो?
११ येसुले के भन्नुभयो? (युहन्ना १९:२८ पढ्नुहोस्।) येसुले किन “मलाई तिर्खा लाग्यो” भन्नुभयो? “धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर” उहाँले यसो भन्नुभयो। भजन २२:१५ मा यस्तो भविष्यवाणी गरिएको थियो: “मेरो बल माटोको खपटाझैँ सुकिसकेको छ; मेरो जिब्रो तालुमा टाँसिएको छ।” साथै येसुले थुप्रै पीडा भोग्नुभएको थियो अनि अहिले यातनाको खम्बामा असह्य पीडा सहँदै हुनुहुन्थ्यो। त्यसैले उहाँलाई निकै तिर्खा लागेको हुनुपर्छ। तिर्खा मेटाउन उहाँलाई कसैको मदत चाहिएको थियो।
१२. येसुले “मलाई तिर्खा लाग्यो” भन्नुभएको कुराबाट हामी के सिक्न सक्छौँ?
१२ येसुका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? येसुले आफ्नो भावना व्यक्त गर्नु भनेको कमजोरीको चिन्ह हो भनेर सोच्नुभएन। हामीले पनि त्यस्तो सोच्नु हुँदैन। हामीमध्ये केहीलाई अरूसित मदत माग्न अप्ठ्यारो लाग्न सक्छ। तर हाम्रो जीवनमा यस्तो समय पनि आउँछ, जब हामीलाई अरूको मदत नभई हुँदैन। त्यस्तो बेला हामी अरूसित मदत माग्न हिचकिचाउनु हुँदैन। उदाहरणको लागि, हामी वृद्ध वा अशक्त छौँ भने पसल वा अस्पतालसम्म पुऱ्याइदिन कसैलाई मदत माग्नुपर्ने हुन सक्छ। यदि हामी निराश छौँ भने कुनै एल्डर वा परिपक्व ख्रिष्टियन साथीलाई हाम्रो कुरा सुनिदिन वा हामीलाई प्रोत्साहन दिन आग्रह गर्न सक्छौँ। (हितो. १२:२५) हाम्रा दाजुभाइ दिदीबहिनी हामीलाई प्रेम गर्छन् र “दुःखमा साथ दिन” चाहन्छन् भन्ने कुरा सधैँ मनमा राखौँ। (हितो. १७:१७) तर तिनीहरू हाम्रो मनको कुरा पढ्न सक्दैनन्। हामी आफैले नभनेसम्म हामीलाई मदतको खाँचो छ भनेर तिनीहरूलाई थाह नहुन सक्छ।
“सबै पूरा भयो!”
१३. मृत्युसम्मै सत्यनिष्ठ भएर येसुले कस्ता कुराहरू पूरा गर्नुभयो?
१३ येसुले के भन्नुभयो? नीसान १४ को दिउँसो तीन बजेतिर येसुले यसो भन्नुभयो: “सबै पूरा भयो!” (युह. १९:३०) उहाँले आफ्नो मृत्युको केही छिनअघि भन्नुभएका यी शब्दहरूबाट यहोवाले चाहनुभएको सबै कुरा उहाँले पूरा गर्नुभयो भनेर स्पष्ट हुन्छ। मृत्युसम्मै सत्यनिष्ठ भएर येसुले थुप्रै कुरा पूरा गर्नुभयो। पहिलो, उहाँले सैतान झूटा हो भनेर प्रमाणित गर्नुभयो। सैतानले जेसुकै गरे पनि त्रुटिरहित मानिस पूर्णरूपमा सत्यनिष्ठ हुन सक्छ भनेर येसुले देखाउनुभयो। दोस्रो, येसुले आफ्नो जीवन फिरौतीको बलिदानस्वरूप दिनुभयो। उहाँको मृत्युले गर्दा हामी त्रुटिपूर्ण भए पनि परमेश्वरको नजरमा धर्मी ठहरिन सक्यौँ र हामीले सधैँभरि बाँच्ने आशा पनि पायौँ। तेस्रो, मानिसजातिमाथि शासन गर्ने अधिकार यहोवासित मात्र छ भनेर येसुले प्रमाणित गर्नुभयो र आफ्नो बुबाको नाममा लागेको कलङ्क मेटाउनुभयो।
१४. हामीले हरेक दिन कसरी बिताउने सङ्कल्प गर्नुपर्छ? व्याख्या गर्नुहोस्।
१४ येसुका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? हामीले हरेक दिन आफ्नो सत्यनिष्ठा कायम राख्ने सङ्कल्प गर्नुपर्छ। गिलियड स्कुलको प्रशिक्षकको रूपमा सेवा गर्नुभएको भाइ म्याक्सवेल फ्रेन्डले के भन्नुभयो, विचार गर्नुहोस्। एउटा अन्तरराष्ट्रिय सम्मेलनमा वफादारीको विषयमा भाषण दिनुहुँदा भाइ फ्रेन्डले यसो भन्नुभयो: “आजै गर्न वा भन्न सक्ने कुरालाई भोलि गरौँला भनेर नपन्छाउनुहोस्। त्यो भोलि साँच्चै आउनेछ भनेर के तपाईँ पक्का हुनुहुन्छ? आफ्नो जीवनको हरेक दिनलाई अनन्त जीवन पाउन योग्यको छु भनेर देखाउने अन्तिम मौकाको रूपमा हेर्नुहोस्।” हामीले हरेक दिनलाई आफ्नो सत्यनिष्ठा कायम राख्ने अन्तिम मौकाको रूपमा हेऱ्यौँ भने मृत्युको मुखैमा परे तापनि यसो भन्न सक्नेछौँ, “यहोवा, मैले सत्यनिष्ठ रहन, सैतानलाई झूटो प्रमाणित गर्न अनि तपाईँको नाम र सार्वभौमिकता उच्च पार्न सक्दो गरेँ।”
“म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु”
१५. लुका २३:४६ अनुसार येसु कुन कुरामा विश्वस्त हुनुहुन्थ्यो?
१५ येसुले के भन्नुभयो? (लुका २३:४६ पढ्नुहोस्।) येसुले निर्धक्क भएर यसो भन्नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।” आफ्नो भविष्य यहोवामा निर्भर छ भनेर येसुलाई थाह थियो अनि बुबाले आफूलाई सम्झनुहुनेछ भन्ने कुरामा उहाँ ढुक्क हुनुहुन्थ्यो।
१६. एक जना भाइको अनुभवबाट तपाईँले के सिक्नुभयो?
हितो. ३:५) प्राणघातक रोग लागेको १५ वर्षको भाइ जोसुवाको उदाहरण विचार गर्नुहोस्। तिनले परमेश्वरको नियम उल्लङ्घन हुने उपचार गर्न अस्वीकार गरेका थिए। मृत्युको केही क्षणअघि तिनले आफ्नी आमालाई यसो भनेका थिए: “ममी, अब मेरो जीवन यहोवाकै हातमा छ। . . . म यो कुरामा विश्वस्त छु कि यहोवाले मलाई फेरि जीवन दिनुहुनेछ। उहाँले मेरो मन पढ्नुभएको छ र म उहाँलाई साँच्चै माया गर्छु।” * हामी हरेकले आफैलाई यस्तो प्रश्न सोध्नुपर्छ, ‘विश्वासको खातिर ज्यान जाने अवस्था आए पनि के म आफ्नो जीवन यहोवाको हातमा सुम्पन्छु र उहाँले मलाई सम्झनुहुन्छ भनेर भरोसा गर्छु?’
१६ येसुका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? आफ्नो जीवनै खतरामा भए तापनि यहोवाप्रति वफादार हुनुहोस्। यसो गर्न तपाईँले “आफ्नो सारा हृदयले यहोवामा भरोसा” राख्नुपर्छ। (१७-१८. हामीले कस्ता पाठहरू सिक्यौँ? (“ येसुका अन्तिम शब्दहरूबाट हामी के सिक्न सक्छौँ?” भन्ने पेटी पनि हेर्नुहोस्।)
१७ येसुका अन्तिम शब्दहरूबाट हामीले कत्ति महत्त्वपूर्ण पाठहरू सिक्यौँ! अरूलाई क्षमा दिनु र यहोवाले हामीलाई क्षमा दिनुहुन्छ भनेर भरोसा गर्नु किन महत्त्वपूर्ण छ भनेर हामीले सम्झन सक्यौँ। ठूलो आध्यात्मिक परिवार पाएकोमा हामी धेरै खुसी छौँ। हाम्रा दाजुभाइ दिदीबहिनी हामीलाई मदत गर्न सधैँ तयार छन् तर मदतको खाँचो पर्दा हामी आफै अग्रसर भएर तिनीहरूसित मदत माग्नुपर्छ। हामीमाथि आइपर्ने जुनसुकै परीक्षा सहन यहोवाले हामीलाई मदत गर्नुहुन्छ भनेर हामीले थाह पायौँ। हाम्रो जीवन यहोवाको हातमा सुरक्षित छ भनेर विश्वस्त हुँदै हरेक दिनलाई आफ्नो सत्यनिष्ठा प्रमाणित गर्ने अन्तिम मौकाको रूपमा हेर्नुपर्छ भनेर पनि हामीले सिक्यौँ।
१८ यातनाको खम्बामा अन्तिम सास लिँदै गर्दा येसुले भन्नुभएका शब्दहरू कत्ति अर्थपूर्ण छन्! आफूले सिकेका पाठहरू लागू गर्दा यहोवाले आफ्नो छोराको विषयमा भन्नुभएका यी शब्दहरू हामीले पालन गरिरहेका हुन्छौँ: “उनको कुरा सुन।”—मत्ति १७:५.
गीत १२६ जागा रहौँ, दह्रो होऔँ र पराक्रमी हुँदै जाऔँ!
^ अनु. 5 यहोवा हामीले उहाँको छोराको कुरा सुनेको चाहनुहुन्छ भनेर मत्ति १७:५ मा बताइएको छ। यातनाको खम्बामा अन्तिम सास लिँदै गर्नुहुँदा येसुले भन्नुभएका शब्दहरूबाट हामीले सिक्न सक्ने पाठहरू यस लेखमा छलफल गर्नेछौँ।
^ अनु. 9 येसुले भजन २२:१ का शब्दहरू उद्धरण गर्नुको सम्भाव्य कारणहरू बुझ्न यसै अङ्कको “पाठकहरूको प्रश्न” हेर्नुहोस्।
^ अनु. 16 जनवरी २२, १९९५ को ब्यूँझनुहोस्!-मा (अङ्ग्रेजी) “जोसुवाको विश्वास—बालबालिकाको अधिकारको रक्षा” भन्ने लेख हेर्नुहोस्।