सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १६

फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌

फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌

“मानिसको छोरा . . . धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”—मर्कु. १०:४५.

गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ

परिचय *

१-२. फिरौती भनेको के हो र यो हामीलाई किन चाहिन्छ?

त्रुटिरहित मानिस आदमले पाप गर्दा तिनले आफ्नो लागि मात्र नभई आफ्ना भावी सन्तानहरूको लागि पनि अनन्त जीवनको आशा गुमाए। तिनले जानाजानी पाप गरेको हुनाले तिनी क्षमा पाउन लायक थिएनन्‌। तर तिनको सन्तान नि? आदमको पापमा तिनीहरूको कुनै हात थिएन। (रोमी ५:१२, १४) पाप गरेकोले आदम मृत्युदण्ड पाउन लायक भए तर तिनका सन्तानहरूले अनन्त जीवन पाऊन्‌ भनेर के यहोवाले केही गर्नुहुने थियो? पक्कै गर्नुहुने थियो! आदमले पाप गरेलगत्तै यहोवाले तिनका लाखौँ सन्तानले पाप र मृत्युको बन्धनबाट कसरी छुटकारा पाउनेछन्‌ भनेर क्रमिक रूपमा प्रकट गर्दै जानुभयो। (उत्प. ३:१५) आफूले तोकेको समयमा यहोवाले स्वर्गबाट आफ्नो छोरालाई “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” पठाउनुहुने थियो।—मर्कु. १०:४५; युह. ६:५१.

फिरौती भनेको के हो? ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा प्रयोग गरिएको फिरौती शब्दले आदमले गुमाएको कुरा फिर्ता पाउन येसुले तिर्नुभएको मोललाई बुझाउँछ। (१ कोरि. १५:२२) हामीलाई फिरौती किन चाहिन्छ? किनभने व्यवस्थामा उल्लेख गरिएको यहोवाको न्यायको स्तरअनुसार ज्यानको साटो ज्यान दिनुपर्थ्यो। (प्रस्थ. २१:२३, २४) आदमले त्रुटिरहित मानव जीवन गुमाएका थिए। यहोवाको त्यही न्यायको स्तर पूरा गर्न येसुले आफ्नो त्रुटिरहित मानव जीवन बलिदान दिनुभयो। (रोमी ५:१७) यसरी उहाँको फिरौतीको बलिदानमाथि विश्‍वास गर्नेहरू सबैको लागि उहाँ “युगयुगका पिता” हुनुभयो।—यसै. ९:६; रोमी ३:२३, २४.

३. युहन्‍ना १४:३१ र १५:१३ अनुसार येसु आफ्नो त्रुटिरहित मानव जीवन बलिदान दिन किन इच्छुक हुनुभयो?

स्वर्गमा बस्नुहुने बुबा र हामीप्रतिको अपार प्रेमले गर्दा नै येसु आफ्नो जीवन बलिदान दिन इच्छुक हुनुभयो। (युहन्‍ना १४:३१; १५:१३ पढ्‌नुहोस्‌।) त्यही प्रेमले उहाँलाई मृत्युसम्मै सत्यनिष्ठ रहन र आफ्नो बुबाको इच्छा पूरा गर्न उत्प्रेरित गऱ्‍यो। यसले गर्दा मानवजाति र पृथ्वीको लागि यहोवाको सुरुको उद्देश्‍य पूरा हुन सम्भव भयो। यहोवाले येसुलाई किन यस्तो कष्टकर मृत्यु भोग्न दिनुभयो, हामी यस लेखमा छलफल गर्नेछौँ। साथै फिरौतीको बलिदानलाई हृदयदेखि कदर गरेका एक जना बाइबल लेखकको उदाहरण पनि छोटकरीमा विचार गर्नेछौँ। अन्तमा फिरौतीको बलिदानप्रति आभारी भएको कुरा कसरी देखाउन सक्छौँ अनि यहोवा र येसुले हाम्रो लागि प्रबन्ध गर्नुभएको बलिदानप्रति कसरी अझ कृतज्ञता बढाउन सक्छौँ, त्यो पनि हामी छलफल गर्नेछौँ।

यहोवाले येसुलाई किन कष्ट भोग्न दिनुभयो?

हाम्रो लागि फिरौतीको बलिदान दिन येसुले भोग्नुभएको सबै दुःखबारे सोच्नुहोस्‌! (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. येसुले कस्तो मृत्यु भोग्नुपऱ्‍यो? व्याख्या गर्नुहोस्‌।

पृथ्वीमा आफ्नो जीवनको अन्तिम दिनमा येसुले भोग्नुभएका कष्टहरूबारे एकछिन सोच्नुहोस्‌! येसुले आफ्नो सुरक्षाको लागि पल्टनका पल्टन स्वर्गदूतहरू बोलाउन सक्नुहुन्छ। तैपनि उहाँ आफूलाई रोमी सिपाहीहरूको हातमा सुम्पनुहुन्छ र तिनीहरूले उहाँलाई निर्ममतापूर्वक यातना दिन्छन्‌। (मत्ति २६:५२-५४; युह. १८:३; १९:१) तिनीहरूले उहाँलाई मासु नै च्यातिनेगरि कोर्रा लगाउँछन्‌। त्यसपछि तिनीहरूले रक्‍ताम्य हुनुभएका येसुलाई गह्रुङ्‌गो काठको खम्बा बोक्न लगाउँछन्‌। उहाँ सकिनसकी यातनाको खम्बा घिसार्दै अघि बढ्‌नुहुन्छ तर केही समयपछि सिपाहीहरूले एक जना बटुवालाई त्यो खम्बा बोक्न लगाउँछन्‌। (मत्ति २७:३२) येसुलाई मृत्युदण्ड दिइने ठाउँमा पुगेपछि सिपाहीहरूले उहाँको हात र खुट्टामा किल्ला ठोकेर उहाँलाई खम्बामा झुन्ड्याउँछन्‌। खम्बालाई ठाडो पारेर उभ्याइँदा उहाँको शरीरको भारले गर्दा घाउ अझ च्यातिन्छ। उहाँका साथीहरू शोकमा परेका छन्‌ र उहाँकी आमा रुँदै छिन्‌ तर यहुदी शासकहरू भने उहाँको खिल्ली उडाउँदै छन्‌। (लुका २३:३२-३८; युह. १९:२५) उहाँ घण्टौँसम्म पीडाले छटपटाउनुहुन्छ। असह्‍य पीडाले गर्दा उहाँको मुटुको धड्‌कन तेज हुन्छ र फोक्सोले पनि छिटोछिटो काम गर्छ। उहाँलाई सास फेर्न झन्‌झन्‌ गाह्रो हुन्छ। उहाँ अन्तिम सास लिनुहुन्छ र यहोवालाई अन्तिम चोटि प्रार्थना गर्नुहुन्छ। त्यसपछि उहाँ शिर झुकाउनुहुन्छ र आफ्नो जीवन यहोवालाई अर्पण गर्नुहुन्छ। (मर्कु. १५:३७; लुका २३:४६; युह. १०:१७, १८; १९:३०) पीडा र बेइज्जती भोग्दै उहाँ तड्‌पी-तड्‌पी मर्नुहुन्छ।

५. कुन कुराले गर्दा येसुलाई असह्‍य पीडा भयो?

येसुलाई मृत्युदण्ड दिइएको तरिकाले भन्दा उहाँमाथि लगाइएको आरोपले गर्दा उहाँलाई असह्‍य पीडा भयो। उहाँलाई ईश्‍वरनिन्दाको अर्थात्‌ परमेश्‍वर वा उहाँको नामको अनादर गरेको झूटो आरोप लगाइएको थियो। (मत्ति २६:६४-६६) त्यस्तो आरोपमा मर्नुपर्ने कुरा सोच्दा समेत येसु अत्यन्तै दुःखित हुनुभयो। आफूमाथि लागेको आरोपले यहोवाको नाममा आँच नआओस्‌ भनेर येसुले उहाँलाई बिन्ती गर्नुभयो। (मत्ति २६:३८, ३९, ४२) यहोवाले आफ्नो प्यारो छोरालाई किन यस्तो पीडादायी मृत्यु भोग्न दिनुभयो? तीन वटा कारण विचार गरौँ।

६. येसुलाई किन यातनाको खम्बामा झुन्ड्याइनुपर्थ्यो?

पहिलो कारण, यहुदीहरूलाई एउटा सरापबाट छुटाउन येसु ख्रिष्टलाई यातनाको खम्बामा झुन्ड्याइनुपर्थ्यो। (गला. ३:१०, १३) तिनीहरूले परमेश्‍वरको व्यवस्था पालन गर्ने वाचा गरेका थिए तर तिनीहरूले त्यो वाचा पूरा गरेनन्‌। त्यसैले आदमको सन्तान भएकोले र तिनीहरूमाथि यो सराप पनि थपिएकोले तिनीहरू मृत्युदण्ड पाउन लायकका भए। (रोमी ५:१२) परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाअनुसार मृत्युदण्ड पाउन लायकको पाप गर्ने व्यक्‍ति मारिनुपर्थ्यो। त्यसपछि कुनै-कुनै अवस्थामा मृतकको लासलाई खम्बामा झुन्ड्याइन्थ्यो। * (व्यव. २१:२२, २३; २७:२६) येसुलाई यातनाको खम्बामा झुन्ड्याइएकोले यहुदीहरू त्यस सरापबाट मुक्‍त हुन सम्भव भयो र तिनीहरूले येसुलाई तिरस्कार गरे पनि उहाँको बलिदानबाट लाभ उठाउन सक्ने थिए।

७. यहोवाले आफ्नो छोरालाई पीडादायी मृत्यु भोग्न दिनुको दोस्रो कारण के हो?

परमेश्‍वरले आफ्नो छोरालाई पीडादायी मृत्यु भोग्न दिनुको दोस्रो कारण विचार गरौँ। उहाँ येसुलाई भविष्यको प्रधानपुजारीको भूमिकाको लागि तालिम दिँदै हुनुहुन्थ्यो। कठिन अवस्थामा परमेश्‍वरको आज्ञा पालन गर्नु कति गाह्रो हुन्छ भनेर येसुले अनुभव गर्नुभयो। उहाँले यति धेरै तनाव महसुस गर्नुभयो कि उहाँले “ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै” मदतको लागि यहोवालाई गुहार्नुभयो। उहाँ आफैले दुःख भोगिसक्नुभएकोले हाम्रो अवस्था राम्रोसँग बुझ्नुहुन्छ र हामी “परीक्षामा परेको बेला . . . मदत गर्न उहाँ सक्षम हुनुहुन्छ।” ‘हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन सक्ने’ कृपालु प्रधानपुजारी नियुक्‍त गर्नुभएकोमा हामी यहोवाप्रति कृतज्ञ छौँ।—हिब्रू २:१७, १८; ४:१४-१६; ५:७-१०.

८. परमेश्‍वरले येसुलाई पीडा भोग्न दिनुको तेस्रो कारण के हो?

तेस्रो कारण, एउटा महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिन यहोवाले येसुलाई यति धेरै पीडा भोग्न दिनुभयो। त्यो प्रश्‍न हो, कठिन परीक्षा आइपर्दा के मानिसहरू यहोवाप्रति वफादार रहिरहन सक्छन्‌? सैतानले सक्दैनन्‌ भनेर दाबी गरेको छ। मानिसले आफ्नो स्वार्थको लागि मात्र परमेश्‍वरको सेवा गर्छ भनेर त्यसले आरोप लगाएको छ। अनि तिनीहरूको पुर्खा आदमजस्तै तिनीहरू पनि परमेश्‍वरलाई प्रेम गर्दैनन्‌ भन्‍ने कुरामा त्यो विश्‍वस्त छ। (अय्यु. १:९-११; २:४, ५) आफ्नो छोरा वफादार रहनेछ भन्‍ने कुरामा यहोवालाई रतीभर शङ्‌का थिएन। त्यसैले उहाँले येसुलाई मानिसले सहन सक्नेसम्मको परीक्षामा पर्न दिनुभयो। येसुले सत्यनिष्ठा कायम राख्नुभयो र सैतानलाई झूटा साबित गर्नुभयो।

फिरौतीको बलिदानप्रति मनैदेखि कृतज्ञता देखाएका एक बाइबल लेखक

९. प्रेषित युहन्‍नाले हाम्रो लागि कस्तो उदाहरण बसाले?

फिरौतीको बलिदानको शिक्षाले थुप्रै ख्रिष्टियनको विश्‍वासलाई बलियो बनाएको छ। तिनीहरू विरोधको बाबजुद प्रचारमा लागिरहेका छन्‌ र जीवनभरि विभिन्‍न परीक्षाको सफलतापूर्वक सामना गरेका छन्‌। प्रेषित युहन्‍नाको उदाहरण विचार गरौँ। तिनले ६० वर्षभन्दा बढी समय ख्रिष्ट र फिरौतीको बलिदानको बारेमा वफादार भई प्रचार गरे। रोमी सरकारको लागि खतरनाक देखिएकोले १०० वर्ष पुग्न लागिसकेका प्रेषित युहन्‍नालाई पत्मोस टापुको झ्यालखानामा हालियो। तिनको अपराध के थियो? तिनले ‘परमेश्‍वरको विषयमा बोलेका थिए अनि येसुबारे साक्षी दिएका थिए।’ (प्रका. १:९) विश्‍वास र सहनशीलताको कस्तो उत्कृष्ट उदाहरण!

१०. युहन्‍ना फिरौतीको बलिदानप्रति कृतज्ञ थिए भन्‍ने कुरा तिनले लेखेका किताबहरूबाट कसरी देखिन्छ?

१० युहन्‍नाले आफूले लेखेका किताबहरूमा येसुप्रतिको आफ्नो गहिरो प्रेम र फिरौतीको बलिदानप्रतिको कृतज्ञता व्यक्‍त गरे। तिनले फिरौतीको बलिदानबारे वा त्यसका लाभहरूबारे १०० पटकभन्दा बढी चर्चा गरे। उदाहरणको लागि, युहन्‍नाले यस्तो लेखे: “यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार हुनुहुन्छ अर्थात्‌ येसु ख्रिष्ट, जो धर्मी हुनुहुन्छ।” (१ युह. २:१, २) युहन्‍नाले लेखेका किताबहरूमा “येसुको विषयमा साक्षी दिनु”-को महत्त्वलाई पनि जोड दिइएको छ। (प्रका. १९:१०) युहन्‍ना फिरौतीको बलिदानप्रति कृतज्ञ थिए भन्‍ने कुरा स्पष्ट छ। हामी पनि तिनीजस्तै कसरी कृतज्ञता देखाउन सक्छौँ?

फिरौतीको बलिदानप्रति आभारी भएको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

फिरौतीको बलिदानप्रति हामी साँच्चै कृतज्ञ छौँ भने पाप गर्ने प्रलोभनको तिरस्कार गर्नेछौँ (अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. प्रलोभनको प्रतिकार गर्न हामीलाई केले मदत गर्न सक्छ?

११ पाप गर्ने प्रलोभनको प्रतिकार गर्नुहोस्‌। फिरौतीको बलिदानको साँच्चै कदर गर्छौँ भने हामी यस्तो मनोवृत्ति राख्दैनौँ: ‘प्रलोभनमा पर्दा त्यसलाई तिरस्कार गरिराख्नु आवश्‍यक छैन। पाप गरिहालेँ भने पनि म यहोवासित क्षमा मागिहाल्छु नि!’ बरु कुनै गलत काम गर्ने प्रलोभनमा पर्दा हामी यसो भन्‍नेछौँ: “अहँ! मबाट यस्तो काम हुँदैन। यहोवा र येसुले मेरो लागि यति धेरै गर्नुभएको देख्दा-देख्दै म यस्तो गलत काम कसरी गर्न सक्छु र?” हामी मदतको लागि यहोवालाई यसरी प्रार्थना गर्न सक्छौँ: ‘मलाई प्रलोभनमा पर्न नदिनुहोस्‌।’—मत्ति ६:१३.

१२. पहिलो युहन्‍ना ३:१६-१८ मा दिइएको सल्लाह हामी कसरी लागू गर्न सक्छौँ?

१२ मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नुहोस्‌। त्यस्तो प्रेम देखाउँदा हामीले फिरौतीको बलिदानप्रति कृतज्ञता पनि देखाइरहेका हुन्छौँ। किन? किनभने येसुले हाम्रो लागि मात्र नभई मण्डलीका दाजुभाइ दिदीबहिनीको लागि पनि आफ्नो जीवन दिनुभएको हो। उहाँ तिनीहरूको लागि मर्न तयार हुनुभएको कुरा विचार गर्दा तिनीहरू उहाँको नजरमा अनमोल छन्‌ भन्‍ने कुरा थाह पाउन सक्छौँ। (१ युहन्‍ना ३:१६-१८ पढ्‌नुहोस्‌।) मण्डलीका दाजुभाइ दिदीबहिनीलाई हामी आफ्नो कामद्वारा प्रेम देखाउँछौँ। (एफि. ४:२९, ३१–५:२) उदाहरणको लागि, तिनीहरू बिरामी पर्दा वा प्राकृतिक प्रकोपलगायत विभिन्‍न कठिन परीक्षाको सामना गर्नुपर्दा हामी तिनीहरूलाई मदत गर्छौँ। तर मण्डलीको कुनै भाइ वा बहिनीले गरेको वा भनेको कुनै कुराले हाम्रो चित्त दुख्दा हामीले के गर्नुपर्छ?

१३. हामी किन क्षमाशील हुनुपर्छ?

१३ के तपाईँलाई आफ्नो चित्त दुखाउने भाइ वा बहिनीलाई क्षमा दिन कहिलेकाहीँ गाह्रो लाग्छ? (लेवी १९:१८) त्यसो हो भने यो सल्लाह लागू गर्नुहोस्‌: “यदि कसैको विरुद्धमा केही गुनासो छ भने पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवा परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।” (कल. ३:१३) यसरी हरेक चोटि भाइबहिनीलाई क्षमा दिँदा हामीले स्वर्गका बुबासामु फिरौतीको बलिदानप्रति मनैदेखि कृतज्ञ भएको कुरा देखाइरहेका हुन्छौँ। परमेश्‍वरले दिनुभएको यस उपहारप्रति आफ्नो कृतज्ञता हामी कसरी अझ बढाइरहन सक्छौँ?

फिरौतीको बलिदानप्रति तपाईँ कसरी अझ कृतज्ञता बढाउन सक्नुहुन्छ?

१४. फिरौतीको बलिदानप्रति कृतज्ञता बढाउन हामीले गर्न सक्ने एउटा कुरा के हो?

१४ फिरौतीको बलिदानको लागि यहोवालाई धन्यवाद दिनुहोस्‌। भारतमा बस्ने ८३ वर्षीया जोआना यसो भन्छिन्‌, “मेरो विचारमा हरेक दिन प्रार्थनामा फिरौतीको बलिदानको कुरा पनि राख्नु र त्यसको लागि यहोवालाई धन्यवाद दिनु महत्त्वपूर्ण छ।” व्यक्‍तिगत प्रार्थनामा दिनभरि आफूले गरेका गल्तीहरूको लागि यहोवासित क्षमा माग्नुहोस्‌। यदि तपाईँले गम्भीर पाप गर्नुभएको छ भने तपाईँलाई एल्डरहरूको मदत पनि चाहिन्छ। तिनीहरूले तपाईँको कुरा सुन्‍नेछन्‌ र परमेश्‍वरको वचनबाट मायालु सल्लाह दिनेछन्‌। तिनीहरूले येसु ख्रिष्टको बलिदानको आधारमा तपाईँलाई क्षमा गरिदिनुहोस्‌ भनेर यहोवासित प्रार्थना गर्नेछन्‌, जसले गर्दा तपाईँ आध्यात्मिक रूपमा “निको” हुन सक्नुहुनेछ।—याकु. ५:१४-१६.

१५. फिरौतीको बलिदानबारे अध्ययन र मनन गर्न हामीले किन समय निकाल्नुपर्छ?

१५ फिरौतीको बलिदानबारे मनन गर्नुहोस्‌। त्रिहत्तर वर्षीया राजमनी यसो भन्छिन्‌, “येसुले भोग्नुभएको दुःखबारे पढ्‌दा मेरो आँखा रसाएर आउँछ।” परमेश्‍वरको छोराले यति धेरै दुःख भोगेको कुरा विचार गर्दा तपाईँको पनि मन रुन्छ होला। येसुको बलिदानबारे तपाईँ जति धेरै मनन गर्नुहुन्छ, उहाँ र उहाँको बुबाप्रतिको तपाईँको प्रेम अझ प्रगाढ हुँदै जानेछ। फिरौतीको बलिदानबारे गहिरो अध्ययन र मनन गर्न विशेष योजना बनाउनुभए कसो होला?

एउटा साधारण भोजद्वारा येसुले आफ्ना चेलाहरूलाई उहाँको बलिदानको सम्झना कसरी गर्न सकिन्छ भनेर देखाउनुभयो (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. फिरौतीको बलिदानबारे अरूलाई सिकाउँदा हामीलाई कस्तो फाइदा हुन्छ? (आवरण चित्र हेर्नुहोस्‌।)

१६ फिरौतीको बलिदानबारे अरूलाई सिकाउनुहोस्‌। हरेक चोटि फिरौतीको बलिदानबारे अरूलाई बताउँदा यसप्रति हाम्रो कृतज्ञता अझै बढ्‌नेछ। येसु हाम्रो लागि किन मर्नुभयो भनेर अरूलाई सिकाउन हामीसँग केही उपयोगी साधनहरू छन्‌। उदाहरणको लागि, हामी परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाको पाठ ४ प्रयोग गर्न सक्छौँ। त्यस पाठको शीर्षक हो, “येसु ख्रिष्ट को हुनुहुन्छ?” अथवा बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय ५ पनि हामी प्रयोग गर्न सक्छौँ। त्यस अध्यायको शीर्षक हो, “फिरौतीको बलिदान—परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार।” अनि हरेक वर्ष येसुको मृत्युको स्मरणार्थमा उपस्थित भएर अनि त्यसको लागि अरूलाई पनि जोसका साथ निम्तो दिएर हामी फिरौतीको बलिदानप्रति आफ्नो कृतज्ञता अझ बढाउन सक्छौँ। यहोवाले आफ्नो छोराबारे अरूलाई सिकाउने ठूलो सुअवसर हामीलाई दिनुभएको छ।

१७. फिरौतीको बलिदान मानवजातिको लागि परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार किन हो?

१७ फिरौतीको बलिदानप्रति कृतज्ञता बढाउनुपर्ने थुप्रै असल कारण हामीसित छन्‌। त्रुटिपूर्ण भए पनि फिरौतीको बलिदानले गर्दा हामीले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सकेका छौँ। फिरौतीको बलिदानले गर्दा दियाबलका कामहरू पूर्ण रूपले नष्ट हुनेछन्‌। (१ युह. ३:८) फिरौतीको बलिदानले गर्दा नै पृथ्वीको लागि यहोवाले सुरुमा राख्नुभएको उद्देश्‍य पूरा हुनेछ। पूरै पृथ्वी सुन्दर बगैँचामा परिणत हुनेछ। त्यहाँ सबैले यहोवालाई प्रेम गर्नेछन्‌ र उहाँको सेवा गर्नेछन्‌। आउनुहोस्‌, परमेश्‍वरले मानवजातिको लागि दिनुभएको सबैभन्दा अनमोल उपहार फिरौतीको बलिदानप्रति हरेक दिन कृतज्ञता देखाउने मौकाहरू खोजिरहौँ।

गीत २० एक मात्र प्यारो छोरा दियौ

^ अनु. 5 येसुले किन दर्दनाक मृत्यु भोग्नुपऱ्‍यो? यस प्रश्‍नको जवाफ यस लेखमा दिइनेछ। साथै यस लेखले फिरौतीको बलिदानप्रति हाम्रो कृतज्ञता अझै बढाउनेछ।

^ अनु. 6 रोमी चलनअनुसार अपराधीलाई जिउँदै किल्ला ठोकेर वा बाँधेर खम्बामा झुन्ड्याइन्थ्यो र यहोवाले पनि आफ्नो छोरालाई यही तरिकामा मृत्यु भोग्न दिनुभयो।

^ अनु. 55 चित्रको व्याख्या: भाइहरूले अनुचित दृश्‍य हेर्ने, धूम्रपान गर्ने वा घुस लिने जस्ता बेग्लाबेग्लै प्रलोभनको तिरस्कार गर्दै छन्‌।