सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

“मैले अरूबाट धेरै कुरा सिकेको छु!”

“मैले अरूबाट धेरै कुरा सिकेको छु!”

फ्रान्सेली सेनामा भर्ती हुँदा मैले भर्खरै किशोरावस्था पार गरेको थिएँ। हाम्रो टुकडी अल्जेरियाका पहाडहरूमा तैनाथ थियो। त्यस क्षेत्रमा लडाइँ भइरहने हुनाले माहोल एकदमै तनावग्रस्त थियो। एकपटकको कुरा हो, रात निकै छिप्पिसकेको थियो। म हातमा मेसिन गन बोकेर बोराहरूको चाङ लगाएर बनाएको चौकीमा पहरा दिइरहेको थिएँ। सुनसान रातमा मैले अचानक कोही मतर्फ आउँदै गरेको आवाज सुनेँ। म त डरले खङ्‌ग्रङ्‌गै भएँ। म न त कसैलाई मार्न चाहन्थेँ न आफै मर्न चाहन्थेँ। त्यसैले मैले मदतको लागि परमेश्‍वरलाई गुहार्न थालेँ।

त्यो डरलाग्दो घटनाले मेरो जीवन नै परिवर्तन गरिदियो। किनभने त्यस दिनदेखि मैले सृष्टिकर्ताको खोजी गर्न थालेँ। त्यस रातको घटनाले कस्तो मोड लियो भनेर बताउनुअघि तपाईँहरूलाई मेरो बाल्यावस्थाका केही घटनाहरूबारे बताउन चाहन्छु, जसले मेरो सोचाइलाई असर गऱ्‍यो र ममा परमेश्‍वरको खोजी गर्ने इच्छुकता बढायो।

मैले आफ्नो बुबाबाट सिकेका पाठहरू

म उत्तरी फ्रान्समा अवस्थित कोइला खानी भएको सहर गेनानमा १९३७ सालमा जन्मिएँ। मेरो बुबा कोइला खानीमा काम गर्नुहुन्थ्यो र मैले उहाँबाट मेहनती हुन सिकेँ। उहाँले मलाई अन्यायलाई घृणा गर्न पनि सिकाउनुभयो। उहाँले खानीमा काम गर्ने थुप्रैले अन्यायपूर्ण व्यवहार सहनुपरेको र आफ्नो ज्यानकै खतरा मोलेर काम गर्नुपरेको देख्नुभएको थियो र उहाँ तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। मेरो बुबा ती मजदुरहरूको अवस्था सुधार्न विभिन्‍न ट्रेड युनियनमा आबद्ध भएर आन्दोलनमा उत्रिनुभयो। उहाँ पादरीहरूको कपट देखेर पनि दुःखी हुनुहुन्थ्यो। तिनीहरूमध्ये धेरैले आरामदायी जीवन बिताइरहेका थिए। तैपनि गरिब मजदुरहरूसित खाना र पैसा माग्ने गर्थे। पादरीहरूको यस्तो व्यवहार देखेर मेरो बुबा यत्ति दिक्क भइसक्नुभएको थियो कि उहाँले मलाई कुनै धार्मिक शिक्षा सिकाउनुभएन। वास्तवमा उहाँले मसित परमेश्‍वरबारे कहिल्यै कुरा गर्नुभएन।

म ठूलो हुँदै जाँदा मैले पनि अन्यायलाई घृणा गर्न थालेँ। मलाई अन्यायपूर्ण लागेको एउटा कुरा फ्रान्समा बसोबास गरिरहेका विदेशीहरूप्रति केही मानिसहरूले राखेको पूर्वाग्रह पनि थियो। म विदेशीका छोराछोरीहरूसित फुटबल खेल्ने गर्थेँ र मलाई उनीहरूको साथ रमाइलो लाग्थ्यो। त्यसमाथि मेरी आमा पनि फ्रान्सेली नभई पोलिश हुनुहुन्थ्यो। म सबै जातिका मानिसहरू मिलेर बसेको अनि सबैलाई समान व्यवहार गरिएको हेर्न चाहन्थेँ।

मैले जीवनबारे अझै गहिरिएर सोच्न थालेँ

म सेनामा छँदा

सरकारको नियमअनुसार १९५७ सालमा म सैन्य सेवामा भर्ती भएँ। यसरी म सुरुमा बताइएको त्यो अवस्थामा पुगेँ। मैले मदतको लागि परमेश्‍वरलाई गुहारेपछि मैले देखेँ कि मतर्फ शत्रु पक्षको सिपाही नभई एउटा जङ्‌गली गधाको पो आइरहेको रहेछ! त्यसपछि त मैले ढुक्क महसुस गरेँ। जेहोस्‌, त्यो घटना अनि त्यतिबेला भइरहेको युद्धले मलाई जीवनको अर्थबारे गम्भीरतापूर्वक सोच्न लगायो। जस्तै: हामी यहाँ किन छौँ? के परमेश्‍वर साँच्चै हाम्रो चासो राख्नुहुन्छ? के हामीले कहिल्यै शान्ति अनुभव गर्न सक्नेछौँ?

पछि म छुट्टीमा घर आएको बेला मैले एक जना यहोवाको साक्षीलाई भेटेँ। तिनले मलाई ला सन्ट बाइबल दिए, जुन एउटा फ्रान्सेली क्याथोलिक अनुवाद थियो। अल्जेरिया फर्केपछि मैले त्यो बाइबल पढ्‌न थालेँ। मलाई सोच्न लगाएको शास्त्रपद प्रकाश २१:३, ४ थियो, जहाँ यस्तो लेखिएको छ: “परमेश्‍वरको वासस्थान मानिसहरूमाझ छ . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।” * मैले यस्तो कुरा कहिल्यै सुनेको थिइनँ। मैले सोचेँ, ‘के यो साँच्चै होला र?’ त्यतिबेला मलाई परमेश्‍वर र बाइबलबारे केही पनि थाह थिएन।

सन्‌ १९५९ मा मेरो सैन्य सेवा सिद्धिएपछि मैले फ्राँस्वाँ नाम गरेको एक साक्षीलाई भेटेँ, जसले मलाई थुप्रै बाइबल सत्य सिकाए। उदाहरणको लागि, तिनले मलाई परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो भनेर बाइबलबाटै देखाए। (भज. ८३:१८) तिनले मलाई यहोवाले यस पृथ्वीमा न्याय स्थापना गर्नुहुनेछ, पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नुहुनेछ र प्रकाश २१:३, ४ मा बताइएका कुराहरू पूरा गर्नुहुनेछ भनेर पनि बताए।

ती शिक्षाहरू मलाई तर्कपूर्ण लाग्यो र त्यसले मेरो मनै छोयो। पादरीहरूले बाइबलमा हुँदै नभएको शिक्षा सिकाइरहेका रहेछन्‌ भनेर थाह पाएपछि मलाई उनीहरूदेखि साह्रै रिस उठ्यो। म उनीहरूको पर्दाफास गर्न चाहन्थेँ। मेरो सोचाइ अझै पनि बुबाको जस्तै थियो। म हात बाँधेर बस्न चाहन्‍नथेँ! म यस्तो अन्यायविरुद्ध तुरुन्तै लड्‌न चाहन्थेँ।

फ्राँस्वाँ अनि मेरा अरू नयाँ साक्षी साथीहरूले मलाई आफ्नो रिसलाई काबूमा राख्न मदत गरे। उनीहरूले मलाई हामी ख्रिष्टियनहरूको काम अरूको न्याय गर्नु होइन तर परमेश्‍वरको राज्यको सुसमाचार सुनाएर अरूलाई आशा दिनु हो भनेर बुझाए। येसुले पनि यही काम गर्नुभयो र आफ्ना चेलाहरूलाई पनि यसै गर्न भन्‍नुभयो। (मत्ति २४:१४; लुका ४:४३) मैले मानिसहरूको विश्‍वास जस्तोसुकै भए तापनि उनीहरूसित दयालु अनि विचारशील भएर कुराकानी गर्न सिक्नुपर्थ्यो। बाइबलमा पनि यसो भनिएको छ: “प्रभुको दासले झगडा गर्नु हुँदैन बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ।”—२ तिमो. २:२४.

मैले आवश्‍यक परिवर्तनहरू गरेँ अनि १९५९ को क्षेत्रीय सम्मेलनमा बप्तिस्मा गरेँ। त्यस सम्मेलनमा मैले एक जवान बहिनी एन्जेललाई भेटेँ। मलाई ऊ मन पर्न थाल्यो। म बेलाबेलामा उनको मण्डलीमा जान्थेँ र हाम्रो विवाह १९६० मा भयो। उनी साँच्चै एउटा असल स्त्री, सुयोग्य पत्नी अनि यहोवाले मलाई दिनुभएको अनमोल उपहार हुन्‌।—हितो. १९:१४.

हाम्रो विवाहको दिन

मैले बुद्धिमान्‌ र अनुभवी भाइहरूबाट थुप्रै कुरा सिकेँ

वर्षौँको दौडान मैले बुद्धिमान्‌ र अनुभवी भाइहरूबाट थुप्रै महत्त्वपूर्ण पाठहरू सिकेको छु। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण पाठ हो: कुनै चुनौतीपूर्ण असाइनमेन्टमा सफल हुन हामी नम्र हुनुपर्छ र हितोपदेश १५:२२ मा पाइने यो सल्लाह लागू गर्नुपर्छ: “धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।”

फ्रान्समा क्षेत्रीय भ्रमणको बेला, १९६५

परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका यी शब्दहरू कत्ति सत्य छन्‌ भन्‍ने कुरा १९६४ देखि मैले अझै राम्ररी बुझ्न थालेँ। त्यस वर्षदेखि मैले क्षेत्रीय निरीक्षकको रूपमा मण्डलीहरूको भ्रमण गर्दै भाइहरूलाई प्रोत्साहन दिन र उनीहरूलाई आध्यात्मिक रूपमा बलियो हुन मदत गरेँ। तर त्यो समयमा म २७ वर्षको मात्र थिएँ अनि मसित अनुभवको कमी थियो। त्यसैले मैले गल्तीहरू गरेँ। तर ती नै गल्तीहरूबाट मैले पाठ सिक्ने प्रयास गरेँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले योग्य अनि अनुभवी सल्लाहकारहरूबाट थुप्रै बहुमूल्य पाठहरू सिकेँ।

सुरु-सुरुतिरको एउटा घटना म सम्झन्छु। पेरिसको एउटा मण्डलीको भ्रमण सिद्धिएपछि एक जना आध्यात्मिक रूपमा परिपक्व दाइले मसित एकैछिन कुरा गर्न सकिन्छ कि भनेर सोध्नुभयो। मैले भनेँ, “हुन्छ नि।”

उहाँले मलाई सोध्नुभयो, “लुइस, डाक्टरले कसलाई मदत गर्छ? बिरामीलाई कि स्वस्थ मानिसलाई?”

मैले जवाफ दिएँ, “बिरामीलाई।”

उहाँले भन्‍नुभयो: “हो। तर मैले याद गरेको छु, तपाईँ आफ्नो धेरैजसो समय मण्डलीका आध्यात्मिक रूपमा बलियो भाइबहिनीसितै बिताउनुहुन्छ, जस्तै, मण्डलीका निरीक्षकहरू। तर हाम्रो मण्डलीमा थुप्रै निराश, नयाँ अथवा लजालु भाइबहिनीहरू हुनुहुन्छ। तपाईँले उहाँहरूसित समय बिताउँदा अथवा उहाँहरूको घरमा खाना खान जाँदा उहाँहरूले साँच्चै प्रोत्साहन पाउनुहुनेछ।”

ती प्रिय दाइबाट पाएको सल्लाहको लागि म निकै आभारी छु। यहोवाका भेडाहरूप्रति उहाँको माया देख्दा मेरो मनै छोयो। हुनत सुरुमा मलाई आफ्नो गल्ती स्विकार्न गाह्रो लाग्यो। तर मैले तुरुन्तै उहाँको सल्लाह लागू गरेँ। उहाँजस्तो दाइ पाएकोमा म यहोवालाई धन्यवाद दिन्छु।

सन्‌ १९६९ र १९७३ मा पेरिसको कोलोम्बेसमा भएको दुई वटा अन्तरराष्ट्रिय अधिवेशनमा मलाई खानेकुराको प्रबन्ध गर्ने विभागको निरीक्षकको रूपमा सेवा गर्न खटाइयो। सन्‌ १९७३ को अधिवेशनमा लगभग ६० हजारलाई पाँच दिनसम्म खुवाउनुपर्थ्यो। यो काम कसरी पूरा गर्ने, मलाई अत्तोपत्तो थिएन। तर एकचोटि फेरि यो समस्याको समाधान हितोपदेश १५:२२ मै लुकेको थियो। मतलब, मैले अरूको सल्लाह लिनुपर्थ्यो। मैले आध्यात्मिक रूपमा परिपक्व र यस क्षेत्रमा अनुभव हासिल गरेका भाइहरूको मदत खोजेँ। उहाँहरूमध्ये कोही-कोही मासु बेच्ने, तरकारी खेती गर्ने, खाना पकाउने र किनमेल गर्ने काम गर्नुहुन्थ्यो। हामीले सँगै मिलेर यो ठूलो जिम्मेवारी पूरा गर्न सक्यौँ।

सन्‌ १९७३ मा म र मेरी श्रीमतीलाई फ्रान्स बेथेलमा सेवा गर्न बोलाइयो। बेथेलमा मैले पाएको पहिलो जिम्मेवारी मेरो लागि चुनौतीपूर्ण थियो। अफ्रिकी मुलुक क्यामरूनसम्म हाम्रा साहित्यहरू पुऱ्‍याउने कुनै तरिका खोज्नुपर्ने थियो। त्यस ठाउँमा १९७० देखि १९९३ सम्म हाम्रो काममा प्रतिबन्ध लगाइएको थियो। यो जिम्मेवारी कसरी पूरा गर्ने होला भनेर मलाई चिन्ता लाग्न थाल्यो। फ्रान्सको शाखा निरीक्षकले सायद मैले कस्तो महसुस गरिरहेको छु भनेर बुझ्नुभयो। त्यसैले उहाँले मलाई यसरी प्रोत्साहन दिनुभयो: “क्यामरूनका हाम्रा भाइहरूलाई आध्यात्मिक भोजनको निकै आवश्‍यकता छ। सँगै मिलेर उहाँहरूलाई खुवाऔँ!” अनि हामीले त्यसै गऱ्‍यौँ।

नाइजेरियामा क्यामरूनबाट आएका साक्षीहरूसित विशेष सभामा, १९७३

क्यामरूनका एल्डरहरूलाई भेट्‌न म थुप्रै चोटि क्यामरूनको छिमेकी देशहरूमा गएँ। ती साहसी र बुद्धिमान्‌ दाजुभाइहरूले क्यामरूनसम्म हाम्रो साहित्य नियमित रूपमा पुऱ्‍याउने प्रबन्धहरू मिलाउन मलाई निकै मदत गर्नुभयो। यहोवाले हाम्रो प्रयासमा आशिष्‌ बर्साउनुभयो। वास्तवमा लगभग २० वर्षसम्म त्यस ठाउँका यहोवाका जनहरूले प्रहरीधरहरा हाम्रो राज्य सेवा-को हरेक अङ्‌क पढ्‌न पाए।

सन्‌ १९७७ मा एन्जेल र मैले नाइजेरियामा क्यानरूनबाट आएका क्षेत्रीय निरीक्षकहरू र उहाँहरूका श्रीमतीहरूसित सङ्‌गत गर्ने मौका पायौँ

मैले आफ्नो प्यारी श्रीमतीबाट थुप्रै कुरा सिकेँ

एकअर्कासित चिनजान भएदेखि नै मैले एन्जेलको आध्यात्मिक गुणहरू याद गरेँ। हाम्रो विवाह भएदेखि मैले ती गुणहरू अझ प्रस्टसित देख्न सकेको छु। जस्तै, हाम्रो विवाह भएकै साँझ तिनले मलाई विवाहित दम्पतीको रूपमा सक्दो यहोवाको सेवा गर्ने हाम्रो इच्छाबारे प्रार्थना गर्न आग्रह गरिन्‌। यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।

एन्जेलले मलाई यहोवामाथि पूर्ण रूपमा भरोसा गर्न मदत गरेकी छिन्‌। उदाहरणको लागि, १९७३ मा हामीलाई बेथेलमा सेवा गर्न बोलाइँदा सुरुमा त म हिचकिचाएँ किनभने मलाई आफूले गरिरहेको सेवाको काम निकै मन पर्थ्यो। तर हामीले यहोवालाई आफ्नो जीवन समर्पण गरेकोले उहाँको सङ्‌गठनले हामीलाई जुन काम सुम्पन्छ, त्यो स्विकार्नुपर्छ भनेर एन्जेलले मलाई सम्झाइन्‌। (हिब्रू १३:१७) म तिनको कुरासित सहमत भएँ। त्यसपछि हामी बेथेल गयौँ। मेरी श्रीमती समझदार अनि व्यावहारिक छिन्‌ र तिनी यहोवालाई साँच्चै माया गर्छिन्‌। तिनको यस्ता गुणहरूले वर्षौँको दौडान हाम्रो वैवाहिक सम्बन्धलाई अझै बलियो बनाएको छ र हामीलाई सही निर्णयहरू गर्न मदत गरेको छ।

फ्रान्स बेथेलको बगैँचामा एन्जेलसँगै

हुनत हामीलाई बुढेसकालले छोइसक्यो तर एन्जेलले सुयोग्य पत्नीको रूपमा मलाई अझै पनि विभिन्‍न तरिकाले सघाइरहेकी छिन्‌। उदाहरणको लागि, ईश्‍वरतान्त्रिक स्कुलहरूमा भाग लिन एन्जेल र मैले अङ्‌ग्रेजी भाषा अझै राम्रोसँग सिक्न प्रयास गऱ्‍यौँ। किनभने प्रायजसो स्कुलहरू अङ्‌ग्रेजी भाषामा सञ्चालन गरिन्छन्‌। हामी दुवै जना ७० वर्ष कटिसकेको भए तापनि अङ्‌ग्रेजी भाषाको मण्डलीमा सऱ्‍यौँ। फ्रान्स शाखा समितिको सदस्य भएकोले मेरा थुप्रै जिम्मेवारीहरू थिए। त्यसैले नयाँ भाषा सिक्न समय निकाल्नु मेरो लागि चुनौतीपूर्ण थियो। तर एन्जेल र मैले एकअर्कालाई मदत गऱ्‍यौँ। अहिले हामी ८० वर्ष कटिसक्यौँ तर अझै पनि हामी अङ्‌ग्रेजी र फ्रान्सेली दुवै भाषामा सभाको तयारी गर्ने गर्छौँ। हामी सभा र प्रचारकार्यमा मण्डलीसँगै भाग लिने सक्दो प्रयास गर्छौँ। अङ्‌ग्रेजी सिक्ने हाम्रो प्रयासमा यहोवाले आशिष्‌ बर्साउनुभएको छ।

सन्‌ २०१७ मा हामीले एउटा ठूलो आशिष्‌ पायौँ। एन्जेल र मैले न्यु योर्कको प्याटर्सनमा रहेको वाचटावर शैक्षिक केन्द्रमा सञ्चालन गरिने शाखा समितिका सदस्य र तिनीहरूका पत्नीका लागि स्कुलमा जाने सुअवसर पायौँ।

यहोवा साँच्चै महान्‌ शिक्षक हुनुहुन्छ। (यसै. ३०:२०) त्यसैले यहोवाका जनहरू, चाहे वृद्ध होऊन्‌ वा जवान, तिनीहरूले सबैभन्दा उत्तम शिक्षा पाइरहेको देख्नु छक्कलाग्दो कुरा होइन। (व्यव. ४:५-८) यहोवा अनि अनुभवी भाइबहिनीको सल्लाह लिएको जवानहरूले आध्यात्मिक उन्‍नति गरेको र यहोवाको एक जना असल सेवक बनेको मैले देखेको छु। हितोपदेश ९:९ यसो भन्छ: “बुद्धिमान्‌ मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान्‌ हुनेछ; धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्‌नेछ।”

करिब ६० वर्षअघि अल्जेरियाका पहाडहरूमा घटेको त्यो घटना म अझै पनि सम्झन्छु। मेरो जीवन यत्ति सन्तोषजनक होला भनेर मैले त्यस रात सोचेकै थिइनँ। मैले अरूबाट धेरै कुरा सिकेको छु। यहोवाले साँच्चै म र एन्जेललाई सुन्दर अनि सन्तोषजनक जीवन दिनुभएको छ। त्यसैले हामी यहोवाबाट अनि उहाँलाई माया गर्ने बुद्धिमान्‌ र अनुभवी भाइबहिनीहरूबाट सधैँभरि सिकिरहन कटिबद्ध छौँ।

^ अनु. 11 पवित्र बाइबल—नयाँ संसार अनुवाद