सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई थाह थियो?

के तपाईँलाई थाह थियो?

बाइबलकालीन समयमा डुङ्‌गा बनाउनको लागि के पपाइरस प्रयोग गरिन्थ्यो?

पपाइरसको बोट

प्राचीन मिश्रमा लेख्नको लागि खासगरि पपाइरस (मालिङ्‌गो) भनिने बोटबाट बनाइएको कागज प्रयोग हुन्थ्यो भनेर धेरैलाई थाह छ। ग्रीकहरू अनि रोमीहरू पपाइरसमा लेख्ने गर्थे। * तर यो कुरा थोरैलाई मात्र थाह छ कि पपाइरस लेख्नको लागि मात्र होइन, डुङ्‌गा बनाउनको लागि पनि प्रयोग गरिन्थ्यो।

मिश्रको चिहानभित्र भेटिएका पपाइरसका डुङ्‌गाहरूको दुई वटा नमुना

पच्चिस सय वर्षअघि भविष्यवक्‍ता यसैयाले “इथियोपियाका नदीहरूको छेउमा भएको” देशका मानिसहरूले “आफ्ना दूतहरूलाई समुद्रको बाटोबाट मालिङ्‌गोका डुङ्‌गाहरूमा” पठाउँथे भनेर लेखे। पछि भविष्यवक्‍ता यर्मियाले पनि बेबिलोन सहरमाथि मादी र फारसीहरूले आक्रमण गर्नेछन्‌ र बेबिलोनीहरूलाई भाग्न नदिन उनीहरूका “मालिङ्‌गोका डुङ्‌गाहरूमा” आगो लगाइदिनेछन्‌ भनेर भविष्यवाणी गरे।—यसै. १८:१, २; यर्मि. ५१:३२.

बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो। (२ तिमो. ३:१६) त्यसैले बाइबलका पाठकहरूका लागि पुरातत्त्वविद्‌हरूले बाइबलकालीन समयमा पपाइरस डुङ्‌गा बनाउनको लागि प्रयोग गरिन्थ्यो भनेर पत्ता लगाउनु अचम्मलाग्दो कुरा होइन। पुरातत्त्वविद्‌हरूले कुन कुरा पत्ता लगाएका छन्‌? मिश्रमा पपाइरसका डुङ्‌गाहरू बनाइन्थ्यो भन्‍ने कुराको विस्तृत प्रमाण उनीहरूले भेट्टाएका छन्‌।

पपाइरसका डुङ्‌गाहरू कसरी बनाइन्थ्यो?

मिश्रका चिहानहरूमा भेटिएका चित्रहरू अनि भित्तामा खोपिएका आकृतिहरूमा मानिसहरूले कसरी पपाइरस जम्मा गर्थे अनि त्यसबाट डुङ्‌गाहरू बनाउँथे भन्‍ने कुरा देख्न सकिन्छ। मानिसहरूले पपाइरसका डाँठहरू काट्‌थे, त्यसलाई बिटा-बिटा बनाएर बाँध्थे अनि ती बिटाहरूलाई आपसमा बाँधेर डुङ्‌गाको आकार दिन्थे। पपाइरसका डाँठहरू त्रिकोण आकारका हुन्छन्‌। त्यसैले ती डाँठहरूलाई टम्म कसेर बाँध्दा त्यसका बिटाहरू बलियो हुन्थे। मिश्रको इतिहासबारे बताउने एउटा किताबअनुसार * पपाइरसको डुङ्‌गा ५५ फिटसम्म (१७ मि) लामो हुन्थ्यो र डुङ्‌गाको दुवैपट्टि १० वा १२ वटा पतवार राख्न मिल्थ्यो।

मिश्रमा भेटिएको एउटा आकृतिमा मानिसहरूले पपाइरसको डुङ्‌गा बनाइरहेको देख्न सकिन्छ

डुङ्‌गा बनाउन किन पपाइरस प्रयोग गरिन्थ्यो?

मिश्रको नाइल नदीको छेउछाउमा पपाइरस प्रशस्त मात्रामा पाइन्थ्यो। साथै पपाइरसका डुङ्‌गाहरू बनाउन सजिलो पनि हुन्थ्यो। पछि गएर ठूलठूला डुङ्‌गाहरू बनाउन काठको प्रयोग गर्न थालियो तर जलारीहरू अनि सिकारीहरूले पपाइरसबाट बनेका साना डुङ्‌गाहरू प्रयोग गरी नै रहे जस्तो देखिन्छ।

पपाइरसका डुङ्‌गाहरू मानिसहरूले लामो समयसम्म प्रयोग गरिरहे। प्रथम र दोस्रो शताब्दीको बीचतिरका ग्रीक लेखक प्लुटार्कले बताएअनुसार त्यतिबेलाका केही मानिसहरूले अझै पनि पपाइरसका डुङ्‌गाहरू प्रयोग गरिरहेका थिए।

^ अनु. 3 पपाइरस भनिने बोट सिमसार अनि पानीको बहाब कम हुने नदीनालामा उम्रन्छ। यो बोट करिब १६ फिट (५ मि) अग्लो हुन्छ र यसको डाँठको तल्लो भागको व्यास करिब ६ इन्च (१५ सेमि) हुन्छ।

^ अनु. 7 A Companion to Ancient Egypt