सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २२

बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌

बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌

“तपाईँहरू हरेकले . . . बप्तिस्मा गर्नुहोस्‌।”—प्रेषि. २:३८.

गीत ७२ राज्य सत्यलाई फैलाऔँ!

परिचय *

१. यरुसलेममा उपस्थित भएको एउटा ठूलो भीडलाई के गर्न भनियो?

विभिन्‍न देशका र फरक-फरक भाषा बोल्ने मानिसहरूको एउटा ठूलो भीड यरुसलेममा जम्मा भएको छ। त्यस दिन एउटा अचम्मको घटना घट्‌छ। यहुदीहरूको एउटा समूहले त्यहाँ उपस्थित मानिसहरूको मातृभाषामा बोल्न थाल्छ। यो देख्दा तिनीहरू चकित हुन्छन्‌। तर यो चमत्कारभन्दा ती यहुदीहरूले बताएको कुरा र पछि प्रेषित पत्रुसले भनेको कुरा झनै महत्त्वपूर्ण थियो। येसु ख्रिष्टमा विश्‍वास गऱ्‍यो भने उद्धार पाइन्छ भनेर ती मानिसहरूले बुझे। यस सन्देशले भीडमा भएका मानिसहरूको मन यत्ति धेरै छोयो कि तिनीहरूले यस्तो प्रश्‍न सोधे: “त्यसोभए हामी के गरौँ?” पत्रुसले यस्तो जवाफ दिए: “तपाईँहरू हरेकले . . . बप्तिस्मा गर्नुहोस्‌।”—प्रेषि. २:३७, ३८.

एक भाइ आफ्नी पत्नीसित एक जना युवकलाई सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबबाट अध्ययन गराउँदै छन्‌ (अनुच्छेद २ हेर्नुहोस्‌)

२. यस लेखमा हामी के छलफल गर्नेछौँ? (आवरण तस्बिर हेर्नुहोस्‌।)

त्यसपछि भएको कुरा त झनै अचम्मलाग्दो थियो। त्यस दिन लगभग ३ हजार जनाले बप्तिस्मा गरे र ख्रिष्टको चेला बने। येसुले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभएको चेला बनाउने महत्त्वपूर्ण कामको यो त सुरुवात मात्र थियो। यो काम हाम्रो समयसम्मै चलिरहेको छ। तर अहिले हामी कसैलाई केही घण्टामै बप्तिस्मासम्म पुऱ्‍याउन सक्दैनौँ। हाम्रो विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न केही महिना, एक वर्ष वा त्योभन्दा बढी समय लाग्न सक्छ। यदि तपाईँ कसैलाई अध्ययन गराउँदै हुनुहुन्छ भने चेला बनाउनु सजिलो काम होइन भनेर तपाईँलाई पक्कै थाह छ। यस लेखमा तपाईँ आफ्नो विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न कसरी मदत गर्न सक्नुहुन्छ भनेर छलफल गर्नेछौँ।

विद्यार्थीलाई आफूले सिकेको कुरा लागू गर्न मदत गर्नुहोस्‌

३. मत्ति २८:१९, २० मा सङ्‌केत गरिएअनुसार बप्तिस्मासम्म प्रगति गर्न विद्यार्थीले के गर्नै पर्छ?

बप्तिस्मासम्म प्रगति गर्न बाइबल विद्यार्थीले आफूले सिकेको कुरा लागू गर्नै पर्छ। (मत्ति २८:१९, २० पढ्‌नुहोस्‌।) आफूले सिकेको कुरा लागू गर्ने विद्यार्थी येसुको उदाहरणको “बुद्धिमान्‌ मानिसजस्तै” हुन्छन्‌, जसले गहिरो खाल्टो खनेर चट्टानमाथि आफ्नो घर बनायो। (मत्ति ७:२४, २५; लुका ६:४७, ४८) आफूले सिकेको कुरा लागू गर्न हामी विद्यार्थीलाई कसरी मदत गर्न सक्छौँ? आउनुहोस्‌, तीन वटा सुझाव विचार गरौँ।

४. हामी विद्यार्थीलाई बप्तिस्मासम्म प्रगति गर्दै जान कसरी मदत गर्न सक्छौँ? (“ विद्यार्थीलाई लक्ष्यहरू राख्न र त्यो हासिल गर्न मदत गर्नुहोस्‌” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

विद्यार्थीलाई लक्ष्यहरू राख्न मदत गर्नुहोस्‌। तपाईँले किन यसो गर्नुपर्छ? कल्पना गर्नुहोस्‌, तपाईँ एउटा लामो यात्रामा निस्कनुभएको छ। बाटोमा भएका रमणीय दृश्‍यहरू हेर्न तपाईँ बेलाबेलामा रोकिनुहुन्छ। यसो गर्दा तपाईँलाई त्यो लामो यात्रा पनि छोटो लाग्नेछ। त्यसैगरि छोटो समयमा हासिल गर्न सकिने लक्ष्यहरू राखेर त्यहाँसम्म पुग्दा बाइबल विद्यार्थीले बप्तिस्माको लक्ष्य पनि हासिल गर्न सक्छु भनेर महसुस गर्नेछन्‌। विद्यार्थीलाई प्रगति गर्न मदत दिन सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको “लक्ष्य” भन्‍ने विशेषता प्रयोग गर्नुहोस्‌। हरेक पाठको अन्तमा लेखिएको लक्ष्यले विद्यार्थीलाई आफूले भर्खरै सिकेको कुरा लागू गर्न कसरी मदत गर्छ भनेर छलफल गर्नुहोस्‌। यदि तपाईँले आफ्नो विद्यार्थीको लागि अर्कै लक्ष्य सोच्नुभएको छ भने “अन्य” अन्तर्गत लेख्नुहोस्‌। यो भाग नियमित रूपमा प्रयोग गरेर विद्यार्थीसित तिनले छोटो समयमा र लामो समयमा हासिल गर्न सक्ने लक्ष्यहरूबारे कुरा गर्नुहोस्‌।

५. मर्कुस १०:१७-२२ अनुसार येसुले धनी मानिसलाई के भन्‍नुभयो र किन?

विद्यार्थीलाई जीवनमा छाँटकाँटहरू गर्न मदत गर्नुहोस्‌। (मर्कुस १०:१७-२२ पढ्‌नुहोस्‌।) धनी मानिसलाई आफूसँग भएका सबै कुरा बेच्न कठिन हुनेछ भनेर येसुलाई थाह थियो। (मर्कु. १०:२३) तैपनि येसुले त्यस मानिसलाई यो ठूलो छाँटकाँट गर्न भन्‍नुभयो। किन? किनभने येसुको मनमा तिनीप्रति माया पलायो। कहिलेकाहीँ हामी आफ्नो विद्यार्थीलाई तिनले सिकिरहेको कुरा लागू गर्न प्रोत्साहन दिनदेखि पछि हट्‌न सक्छौँ किनकि तिनी अहिले यसको लागि तयार छैनन्‌ जस्तो हामीलाई लाग्न सक्छ। पुरानो व्यक्‍तित्वलाई फुकालेर नयाँ व्यक्‍तित्व धारण गर्न कसै-कसैलाई केही समय लाग्न सक्छ। (कल. ३:९, १०) तर तपाईँले यसबारे विद्यार्थीसित जत्ति चाँडो कुरा गर्नुभयो, तिनले त्यत्ति नै चाँडो छाँटकाँट गर्न सुरु गर्नेछन्‌। यसरी खुलस्त कुराकानी गर्दा तपाईँ तिनमा चासो लिनुहुन्छ भनेर विद्यार्थीले बुझ्नेछन्‌।—भज. १४१:५; हितो. २७:१७.

६. हामीले किन विद्यार्थीको विचार बुझ्ने प्रश्‍नहरू चलाउनुपर्छ?

छलफल भइरहेको विषयबारे विद्यार्थीको विचार बुझ्ने प्रश्‍नहरू सोध्नु महत्त्वपूर्ण छ। छलफल भइरहेको कुरा विद्यार्थीले बुझिरहेका छन्‌ कि छैनन्‌ र तिनी त्यस कुरामा विश्‍वास गर्छन्‌ कि गर्दैनन्‌ भनेर बुझ्न यस्ता प्रश्‍नहरू चलाउनुहोस्‌। नियमित रूपमा यसो गर्दा पछि तिनलाई विश्‍वास गर्न गाह्रो लाग्न सक्ने विषयहरू छलफल गर्न सजिलो हुनेछ। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबमा विद्यार्थीको विचार बुझ्न मदत गर्ने थुप्रै प्रश्‍न राखिएका छन्‌। उदाहरणको लागि, पाठ ०४ मा यस्तो प्रश्‍न राखिएको छ: “तपाईँले यहोवाको नाम प्रयोग गर्दा उहाँलाई कस्तो लाग्छ?” पाठ ०९ मा यस्तो प्रश्‍न सोधिएको छ: “तपाईँ के-कस्ता विषयमा प्रार्थना गर्न सक्नुहुन्छ?” सुरु-सुरुमा विद्यार्थीलाई यस्ता प्रश्‍नहरूको तुरुन्तै जवाफ दिन गाह्रो हुन सक्छ। सम्बन्धित शास्त्रपदहरू र चित्रहरूमा तर्क गर्न तालिम दिएर तपाईँ तिनलाई मदत गर्न सक्नुहुन्छ।

७. वास्तविक अनुभवहरू हामी कसरी प्रभावकारी तरिकामा प्रयोग गर्न सक्छौँ?

विद्यार्थीले आफूले गर्नुपर्ने कुरा बुझिसकेपछि तिनलाई वास्तविक अनुभवहरू चलाएर त्यसो गर्न प्रोत्साहन दिनुहोस्‌। उदाहरणको लागि, तपाईँको विद्यार्थी सभामा नियमित रूपमा उपस्थित हुँदैनन्‌ भने तिनलाई पाठ १४ को “अझ धेरै जान्‍नुहोस्‌” भागमा राखिएको यहोवाले मेरो ख्याल राख्नुभयो भन्‍ने भिडियो देखाउनुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको थुप्रै पाठमा भएको “अझ खोतल्नुहोस्‌” वा “अझ धेरै जान्‍नुहोस्‌” भन्‍ने भागमा यस्ता अनुभवहरू पाउन सक्नुहुन्छ। * विद्यार्थीलाई अरूसित तुलना गर्दै कहिल्यै यसो नभन्‍नुहोस्‌, “उहाँले सक्नुभयो भने तपाईँ पनि सक्नुहुन्छ।” बरु विद्यार्थी आफैलाई त्यस्तो निष्कर्षमा पुग्न मदत दिनुहोस्‌। भिडियोमा देखाइएको व्यक्‍तिलाई बाइबलका शिक्षाहरू लागू गर्न के-कस्ता कुराहरूले मदत गऱ्‍यो, त्यो बताउनुहोस्‌। तपाईँ कुनै महत्त्वपूर्ण शास्त्रपद वा उक्‍त व्यक्‍तिले चालेको खास कदममा जोड दिन सक्नुहुन्छ। सम्भव भएसम्म उक्‍त व्यक्‍तिलाई यहोवाले कसरी मदत गर्नुभयो भन्‍ने कुरामा जोड दिनुहोस्‌।

८. विद्यार्थीलाई यहोवाप्रतिको प्रेम विकास गर्न कसरी मदत गर्न सक्छौँ?

विद्यार्थीलाई यहोवाप्रतिको प्रेम विकास गर्न मदत गर्नुहोस्‌। कसरी? यहोवाका गुणहरूतर्फ विद्यार्थीको ध्यान खिच्ने मौकाहरू खोज्नुहोस्‌। यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ र उहाँ आफूलाई प्रेम गर्नेहरूलाई मदत गर्नुहुन्छ भन्‍ने कुरा विद्यार्थीलाई बुझाउनुहोस्‌। (१ तिमो. १:११; हिब्रू ११:६) आफूले सिकेको कुरा लागू गर्दा तिनकै फाइदा हुन्छ र त्यस्ता फाइदाहरू यहोवा तिनलाई माया गर्नुहुन्छ भन्‍ने कुराको प्रमाण हो भनेर विद्यार्थीलाई बुझाउनुहोस्‌। (यसै. ४८:१७, १८) यहोवाप्रति विद्यार्थीको प्रेम बढ्‌दै जाँदा तिनी आवश्‍यक छाँटकाँट गर्न उत्प्रेरित हुनेछन्‌।—१ युह. ५:३.

विद्यार्थीलाई अरू साक्षीहरूसित चिनापर्ची गराइदिनुहोस्‌

९. मर्कुस १०:२९, ३० अनुसार बाइबल विद्यार्थीलाई त्यागहरू गर्न केले मदत गर्न सक्छ?

बप्तिस्मासम्म प्रगति गर्न बाइबल विद्यार्थीले केही त्यागहरू गर्नुपर्ने हुन्छ। अगाडि उल्लेख गरिएका धनी मानिसले झैँ केही विद्यार्थीहरूले भौतिक कुराहरू त्याग्नुपर्ने हुन सक्छ। तिनीहरूले गरिरहेको काम बाइबल सिद्धान्तसित मेल खाँदैन भने अर्कै काम खोज्नुपर्ने हुन सक्छ। थुप्रैले यहोवालाई प्रेम नगर्ने व्यक्‍तिहरूसित सङ्‌गत गर्न छोड्‌नुपर्ने हुन सक्छ। कसै-कसैलाई भने यहोवाका साक्षीहरूलाई मन नपराउने परिवारका सदस्यहरूले त्याग्न सक्छन्‌। केहीलाई यस्ता त्यागहरू गर्न गाह्रो हुनेछ भनेर येसुले बताउनुभएको थियो। तर यस्तो त्याग गर्नेहरू पछुताउनुपर्ने छैन, बरु तिनीहरू मायालु आध्यात्मिक परिवारको भाग बन्‍नेछन्‌ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो। (मर्कुस १०:२९, ३० पढ्‌नुहोस्‌।) यस्तो मायालु परिवारको भाग बन्‍न तपाईँ आफ्नो विद्यार्थीलाई कसरी मदत गर्न सक्नुहुन्छ?

१०. म्यानुएलको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१० विद्यार्थीसित अझ नजिक हुनुहोस्‌। तपाईँ आफ्नो विद्यार्थीको ख्याल राख्नुहुन्छ भनेर देखाउनु महत्त्वपूर्ण छ। किन? मेक्सिकोमा बस्ने म्यानुएलले भनेको कुरा विचार गर्नुहोस्‌। आफू विद्यार्थी छँदाको कुरा सम्झँदै तिनी यसो भन्छन्‌: “मेरो अध्ययन सञ्चालकले अध्ययन थाल्नुअघि हरेक चोटि मेरो हालखबर सोध्ने गर्नुहुन्थ्यो। उहाँ मलाई सजिलो महसुस गराउनुहुन्थ्यो र मलाई उहाँसित कुनै पनि विषयमा कुरा गर्न अप्ठ्यारो लाग्दैनथ्यो। उहाँ मेरो साँच्चै ख्याल राख्नुहुन्छ भन्‍ने कुरा मैले महसुस गर्न सकेँ।”

११. हामीसित समय बिताउँदा बाइबल विद्यार्थीलाई कस्तो फाइदा हुन्छ?

११ येसुले आफ्ना चेलाहरूसित समय बिताउनुभएजस्तै तपाईँ पनि आफ्ना विद्यार्थीहरूसित समय बिताउनुहोस्‌। (युह. ३:२२) मिल्छ भने आफ्नो प्रगतिशील बाइबल विद्यार्थीलाई चिया वा खाना खान अथवा ब्रोडकास्टिङको मासिक कार्यक्रम हेर्न घरमा बोलाउनुहोस्‌। चाडबाडको बेला विद्यार्थीले एक्लो महसुस गर्न सक्छन्‌। त्यस्तो मौका पारेर बोलाउनुभयो भने तिनले त्यसको कदर गर्नेछन्‌। युगाण्डामा बस्ने काजिब्वे यसो भन्छन्‌: “अध्ययनको दौडान मात्र होइन, अध्ययन सञ्चालकसँग समय बिताउँदा पनि मैले यहोवाबारे धेरै कुरा सिक्न सकेँ जस्तो लाग्छ। यहोवा आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ र तिनीहरू साँच्चै आनन्दित छन्‌ भनेर मैले देख्न सकेँ। मैले चाहेको कुरा पनि त्यही नै थियो।”

आफ्नो बाइबल अध्ययनमा विभिन्‍न भाइबहिनीलाई लैजानुभयो भने विद्यार्थीलाई सभामा उपस्थित हुन सजिलो लाग्नेछ (अनुच्छेद १२ हेर्नुहोस्‌) *

१२. विभिन्‍न भाइबहिनीलाई अध्ययनमा लैजाँदा कस्तो फाइदा हुन्छ?

१२ विभिन्‍न भाइबहिनीलाई अध्ययनमा लैजानुहोस्‌। कहिलेकाहीँ हामीलाई एक्लै वा एकै जनालाई मात्र अध्ययनमा लैजान सजिलो लाग्छ होला। तर विभिन्‍न भाइबहिनीलाई अध्ययनमा लैजाँदा हाम्रो विद्यार्थीले उन्‍नति गर्न मदत पाउनेछन्‌। मोल्डोभामा बस्ने डिमिट्रि यसो भन्छन्‌: “मेरो अध्ययनमा आएका प्रत्येक भाइबहिनीको बुझाउने शैली फरक-फरक थियो। यसले गर्दा मैले एउटै कुरालाई विभिन्‍न दृष्टिकोणबाट हेर्न मदत पाएँ। थुप्रै भाइबहिनीलाई अध्ययनमा भेटिसकेकोले पहिलोचोटि सभामा जाँदा मलाई त्यत्ति अप्ठ्यारो लागेन।”

१३. विद्यार्थीलाई सभामा उपस्थित हुन किन मदत गर्नुपर्छ?

१३ विद्यार्थीलाई मण्डलीका सभाहरूमा उपस्थित हुन मदत गर्नुहोस्‌। किन? किनकि यहोवा आफ्ना उपासकहरू एकसाथ भेला भएको चाहनुहुन्छ; यो हाम्रो उपासनाको भाग हो। (हिब्रू १०:२४, २५) साथै मण्डलीका हाम्रा भाइबहिनीहरू हाम्रो आध्यात्मिक परिवारका सदस्यहरू हुन्‌। तिनीहरूसँग एकसाथ सभामा भेला हुनु भनेको परिवारका सदस्यहरू सँगै बसेर स्वादिष्ठ भोजनको आनन्द उठाउनुजस्तै हो। बाइबल विद्यार्थीलाई सभामा उपस्थित हुन मदत गर्दा हामीले तिनलाई बप्तिस्मासम्म पुग्ने एउटा महत्त्वपूर्ण कदम चाल्न मदत गरिरहेका हुन्छौँ। तर यो कदम चाल्न तिनलाई गाह्रो हुन सक्छ। त्यसोभए सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबले सभामा उपस्थित हुन बाधा पुऱ्‍याइरहेको कुरालाई पन्छ्याउन तपाईँको विद्यार्थीलाई कसरी मदत गर्छ?

१४. सभामा उपस्थित हुन विद्यार्थीलाई कसरी उत्प्रेरित गर्न सक्छौँ?

१४ विद्यार्थीलाई सभामा उपस्थित हुन उत्प्रेरित गर्न सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ १० प्रयोग गर्नुहोस्‌। यो किताब विमोचन हुनुअघि केही अनुभवी प्रकाशकहरूलाई यो पाठ चलाएर अध्ययन गराउन भनिएको थियो। यस पाठले विद्यार्थीहरूलाई सभामा उपस्थित हुन धेरै हदसम्म मदत गरेको कुरा तिनीहरूले बताए। तर पाठ १० छलफल गरिसकेपछि मात्र विद्यार्थीलाई सभामा निम्तो दिन्छु भन्‍ने नसोच्नुहोस्‌। सक्दो चाँडो निम्तो दिनुहोस्‌ र तिनलाई सभामा उपस्थित हुन बेलाबेलामा प्रोत्साहन दिनुहोस्‌। प्रत्येक विद्यार्थीले फरक-फरक अवरोधहरू सामना गरिरहेका हुन सक्छन्‌। त्यसैले विद्यार्थीको आवश्‍यकतामा ध्यान दिनुहोस्‌ र तपाईँले तिनलाई व्यावहारिक मदत दिन सक्ने ठाउँ छ कि भनेर याद गर्नुहोस्‌। तर तपाईँको विद्यार्थी तुरुन्तै सभामा आउन थालेनन्‌ भने पनि निराश नहुनुहोस्‌। धीरजी भएर प्रयास गरिरहनुहोस्‌।

विद्यार्थीलाई डर हटाउन मदत गर्नुहोस्‌

१५. हाम्रा विद्यार्थीहरूलाई के-कस्ता कुराहरूको डर लाग्न सक्छ?

१५ के तपाईँलाई यहोवाको साक्षी हुन डर लागेको थियो? सायद तपाईँले ‘म प्रचार गर्न सक्दिनँ’ भनेर सोच्नुभएको थियो होला। अथवा परिवार वा साथीभाइबाट विरोध आउला भनेर डराउनुभएको थियो होला। त्यसो हो भने तपाईँ आफ्नो विद्यार्थीको भावना बुझ्न सक्नुहुन्छ। कोही-कोही डराउनेछन्‌ भनेर येसुले बताउनुभएको थियो। तर उहाँले आफ्ना चेलाहरूलाई डरको कारण यहोवाको सेवा गर्नदेखि पछि नहट्‌न प्रोत्साहन दिनुभयो। (मत्ति १०:१६, १७, २७, २८) उहाँले चेलाहरूलाई डर हटाउन कसरी मदत गर्नुभयो? अनि तपाईँ कसरी उहाँको अनुकरण गर्न सक्नुहुन्छ?

१६. विद्यार्थीलाई आफ्नो विश्‍वास अरूसित बाँड्‌न कसरी तालिम दिन सक्नुहुन्छ?

१६ आफ्नो विश्‍वास अरूसित बाँड्‌न विद्यार्थीलाई बिस्तारै तालिम दिनुहोस्‌। येसुले आफ्ना चेलाहरूलाई प्रचारमा पठाउँदा तिनीहरूलाई डर लागेको थियो होला। तर उहाँले तिनीहरूलाई कसलाई प्रचार गर्ने र केबारे प्रचार गर्ने भनेर बताउनुभयो। (मत्ति १०:५-७) तपाईँ कसरी येसुको अनुकरण गर्न सक्नुहुन्छ? क-कसलाई प्रचार गर्न सकिन्छ भनेर बुझ्न विद्यार्थीलाई मदत गर्नुहोस्‌। उदाहरणको लागि, बाइबलको कुनै खास शिक्षाबाट लाभ उठाउन सक्ने कोही छन्‌ कि भनेर तिनलाई सोध्नुहोस्‌। त्यसपछि तिनलाई त्यो बाइबल शिक्षा सरल तरिकामा प्रस्तुत गर्न सिकाउनुहोस्‌। उपयुक्‍त छ भने सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबमा भएको “कोही-कोही भन्छन्‌” र “कसै-कसैले सोध्लान्‌” भन्‍ने विशेषताहरू अभ्यासको लागि चलाउन सक्नुहुन्छ। यसरी विद्यार्थीलाई बाइबलै चलाएर सरल तर तर्कपूर्ण जवाफ दिन तालिम दिनुहोस्‌।

१७. विद्यार्थीलाई यहोवामाथि भरोसा गर्न मदत दिन हामी मत्ति १०:१९, २०, २९-३१ कसरी चलाउन सक्छौँ?

१७ विद्यार्थीलाई यहोवामाथि भरोसा गर्न सिकाउनुहोस्‌। येसुले आफ्ना चेलाहरूलाई यहोवा तिनीहरूलाई माया गर्नुहुन्छ र मदत गर्न सधैँ तयार हुनुहुन्छ भनेर बताउनुभयो। (मत्ति १०:१९, २०, २९-३१ पढ्‌नुहोस्‌।) यहोवाले तिनलाई पनि मदत गर्नुहुनेछ भनेर विद्यार्थीलाई सम्झाउनुहोस्‌। तिनका लक्ष्यहरूबारे तिनीसँगै प्रार्थना गरेर तपाईँ तिनलाई यहोवामाथि भरोसा गर्न मदत गर्न सक्नुहुन्छ। पोल्याण्डमा बस्ने फ्रान्सिजेक यसो भन्छन्‌: “मेरो अध्ययन सञ्चालकले आफ्नो प्रार्थनामा मेरा लक्ष्यहरू पनि समावेश गर्ने गर्नुहुन्थ्यो। यहोवाले उहाँको प्रार्थनाको जवाफ दिनुभएको देख्दा मैले पनि प्रार्थना गर्न थालेँ। मैले भर्खरै नयाँ काम थालेको थिएँ। सभा र अधिवेशनको लागि छुट्टी माग्नुपर्दा यहोवाले मलाई मदत गर्नुभएको मैले अनुभव गर्न सकेँ।”

१८. अध्ययन सञ्चालकहरूले गरिरहेको प्रयास देख्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ?

१८ यहोवा हाम्रा बाइबल विद्यार्थीहरूमा गहिरो चासो लिनुहुन्छ। आफ्नो विद्यार्थीलाई यहोवासित नजिक हुन मदत गरिरहेका अध्ययन सञ्चालकहरूको कडा परिश्रम देख्दा उहाँ त्यसको कदर गर्नुहुन्छ र यस्तो प्रयास गरेकोमा उहाँ तिनीहरूलाई माया गर्नुहुन्छ। (यसै. ५२:७) तर अहिले तपाईँको बाइबल अध्ययन छैन भने पनि अरू प्रकाशकहरूको अध्ययनमा गएर तिनीहरूको विद्यार्थीलाई बप्तिस्मासम्म प्रगति गर्न मदत दिन सक्नुहुन्छ।

गीत ६० जीवन दिने सन्देश

^ अनु. 5 यस लेखमा येसुले मानिसहरूलाई उहाँको चेला बन्‍न कसरी मदत गर्नुभयो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ, त्यो छलफल गर्नेछौँ। साथै सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! भन्‍ने नयाँ किताबका केही विशेषताहरूबारे पनि चर्चा गर्नेछौँ। यस किताबले हाम्रा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गर्नेछ।

^ अनु. 7 यस्ता वास्तविक अनुभवहरू (१) यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी किताबको “बाइबल” भन्‍ने विषयअन्तर्गत “व्यावहारिक महत्त्व” शीर्षकमुनि भएको “‘बाइबलले जीवनलाई नयाँ मोड दिन्छ’ (प्रहरीधरहरा-को शृङ्‌खला)”-मा वा (२) JW लाइब्रेरी-को मिडियाअन्तर्गत “अन्तरवार्ता तथा अनुभव”-मा पाउन सकिन्छ।

^ अनु. 62 तस्बिरको व्याख्या: एक भाइ आफ्नी पत्नीसित एक जना युवकलाई अध्ययन गराउँदै छन्‌। पछि तिनी अरू भाइहरूलाई पनि आफ्नो अध्ययनमा लैजान्छन्‌।