सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २३

तपाईँ एक्लो हुनुहुन्‍न, यहोवा तपाईँको साथमा हुनुहुन्छ

तपाईँ एक्लो हुनुहुन्‍न, यहोवा तपाईँको साथमा हुनुहुन्छ

“यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌।”—भज. १४५:१८.

गीत २८ यहोवाको मित्र बनौँ

परिचय *

१. यहोवाका सेवकहरूले कहिलेकाहीँ किन एक्लो महसुस गर्न सक्छन्‌?

हामीमध्ये धेरैले बेलाबेलामा एक्लो महसुस गर्छौँ। कसै-कसैमा यस्तो भावना चाँडै हट्‌छ। तर कसै-कसैलाई भने यस्तो भावनाले लामो समयसम्म सताइरहन्छ। थुप्रै मानिसहरूमाझ भए पनि हामीलाई एक्लो महसुस हुन सक्छ। कसै-कसैलाई नयाँ मण्डलीमा घुलमिल हुन गाह्रो लाग्छ। अरू केहीले भने आफ्नो परिवारसित घनिष्ठ भएकोले तिनीहरूसित छुट्टिनुपर्दा एक्लो महसुस गर्न सक्छन्‌। अरू कसै-कसैलाई भने मृत्युले गर्दा गुमाउनुपरेको प्रियजनको यादले सताइरहन सक्छ। अनि केही ख्रिष्टियनहरू, विशेषगरि भर्खरै सत्य सिकेकाहरूले बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरू र साथीभाइहरूले त्याग्दा वा खेदो गर्दा एक्लो महसुस गर्छन्‌।

२. हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

यहोवालाई हाम्रो बारेमा एक-एक कुरा थाह छ। हामी एक्लो महसुस गर्दै छौँ भने यहोवा त्यो कुरा बुझ्नुहुन्छ र हामीलाई मदत गर्न चाहनुहुन्छ। यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? एक्लो महसुस हुँदा हामी आफैले पनि के गर्नुपर्छ? अनि हाम्रो मण्डलीमा एक्लो महसुस गरिरहेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ? आउनुहोस्‌, यी प्रश्‍नहरूबारे छलफल गरौँ।

यहोवा हाम्रो ख्याल राख्नुहुन्छ

यहोवाले एलियालाई तिनी एक्लो छैनन्‌ भनेर आश्‍वासन दिन एक जना स्वर्गदूत पठाउनुभयो (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. यहोवाले एलियाको ख्याल राखेको कुरा कसरी देखाउनुभयो?

यहोवा आफ्ना सबै उपासकहरू खुसी भएको चाहनुहुन्छ। यहोवा हामी सबैको नजिक हुनुहुन्छ अनि हामी दुःखी वा निराश हुँदा यहोवा त्यो याद गर्नुहुन्छ। (भज. १४५:१८, १९) भविष्यवक्‍ता एलियाको भावनाको ख्याल राखेको कुरा यहोवाले कसरी देखाउनुभयो, याद गर्नुहोस्‌। ती विश्‍वासी पुरुष इस्राएलको इतिहासको असाध्यै गाह्रो समयमा बाँचेका थिए। यहोवाका उपासकहरूले भीषण सतावट भोगिरहेका थिए अनि एलिया परमेश्‍वरको विरोध गर्ने ती शक्‍तिशाली शत्रुहरूको मुख्य तारो भएका थिए। (१ राजा १९:१, २) यहोवाको सेवा गर्ने भविष्यवक्‍ता आफू मात्र बाँकी छु भन्‍ने सोचेकोले एलिया झनै निराश भएका हुन सक्छन्‌। (१ राजा १९:१०) यहोवाले तुरुन्तै एलियातर्फ ध्यान दिनुभयो। यहोवाले तिनी एक्लो छैनन्‌, इस्राएलमा उहाँको डर मान्‍ने मानिसहरू अझै पनि धेरै छन्‌ भनेर आश्‍वासन दिन एलियाकहाँ एक जना स्वर्गदूत पठाउनुभयो।—१ राजा १९:५, १८.

४. अरूको साथ गुमाएका उहाँका सेवकहरूको यहोवा ख्याल राख्नुहुन्छ भन्‍ने कुरा मर्कुस १०:२९, ३० ले कसरी देखाउँछ?

यहोवाको सेवा गर्ने छनौट गर्दा हामीमध्ये कोही-कोहीले थुप्रै त्यागहरू गर्नुपर्छ भन्‍ने कुरा उहाँ बुझ्नुहुन्छ। जस्तै: बेग्लै धर्म मान्‍ने परिवारका सदस्यहरू र साथीहरूले हाम्रो निर्णयमा साथ नदिन सक्छन्‌। एकचोटि चिन्तित हुँदै प्रेषित पत्रुसले येसुलाई यस्तो प्रश्‍न सोधे: “हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ। त्यसोभए हामीले के पाउनेछौँ त?” (मत्ति १९:२७) येसुले चेलाहरूलाई तिनीहरूले एउटा ठूलो आध्यात्मिक परिवार पाउनेछन्‌ भनेर न्यानो आश्‍वासन दिनुभयो। (मर्कुस १०:२९, ३० पढ्‌नुहोस्‌।) अनि हाम्रो आध्यात्मिक परिवारको शिर यहोवाले उहाँको सेवा गर्न चाहनेहरूलाई सधैँ साथ दिने प्रतिज्ञा गर्नुभएको छ। (भज. ९:१०) एक्लोपनको सामना गर्नुपर्दा यहोवाको मदत पाउन तपाईँले गर्न सक्ने केही व्यावहारिक कुराहरू विचार गर्नुहोस्‌।

एक्लो महसुस हुँदा तपाईँ के गर्न सक्नुहुन्छ?

५. यहोवाले तपाईँलाई सम्हाल्दै हुनुहुन्छ भन्‍ने कुरामा ध्यान दिँदा कस्तो फाइदा हुन्छ?

यहोवाले तपाईँलाई कसरी सम्हाल्दै हुनुहुन्छ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌। (भज. ५५:२२) यसले तपाईँलाई आफ्नो अवस्थाप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गर्नेछ। क्यारोल * नाम गरेकी एक अविवाहित बहिनीको परिवारका सदस्यहरू सत्यमा छैनन्‌। तिनी यसो भन्छिन्‌: “विगतमा परीक्षाहरूको सामना गर्नुपर्दा यहोवाले मलाई कसरी मदत गर्नुभयो भन्‍ने कुरामा मनन गर्दा म एक्लो छैनँ भन्‍ने कुरा महसुस गर्न सकेकी छु। अनि यसले मलाई भविष्यमा पनि यहोवा मेरो साथमा हुनुहुन्छ भन्‍ने कुरामा आश्‍वस्त पारेको छ।”

६. पहिलो पत्रुस ५:९, १० ले एक्लो महसुस गरिरहेकाहरूलाई कसरी प्रोत्साहन दिन्छ?

तपाईँले जस्तै समस्या भोगिरहेका सङ्‌गी उपासकहरूलाई यहोवाले कसरी मदत गरिरहनुभएको छ भनेर सोच्नुहोस्‌। (१ पत्रुस ५:९, १० पढ्‌नुहोस्‌।) लामो समयसम्म परिवारमा आफू मात्र साक्षी भएको एक भाइ हिरोसि यसो भन्छन्‌: “मण्डलीमा सबैको आ-आफ्नै समस्या छ। तैपनि हामी यहोवाको सेवामा यथासक्दो गर्छौँ। यो देख्दा सत्यमा एक्लै भएकाहरूले प्रोत्साहन पाउन सक्छन्‌।”

७. प्रार्थनाले तपाईँलाई कसरी मदत गर्छ?

राम्रो आध्यात्मिक तालिका कायम राख्नुहोस्‌। यसमा यहोवालाई आफ्नो मनको कुरा खुलेर बताउनु पनि समावेश छ। (१ पत्रु. ५:७) जवान बहिनी मासिएलले यहोवाको सेवा गर्ने छनौट गरिन्‌ तर परिवारले साथ नदिएकोले तिनले एक्लो महसुस गरिन्‌। तिनी यसो भन्छिन्‌: “एक्लोपनको सामना गर्न मलाई मदत गरेको एउटा महत्त्वपूर्ण कुरा भनेको व्यग्र प्रार्थना थियो। उहाँ मेरो लागि वास्तविक बुबासरह हुनुहुन्थ्यो। अनि म उहाँलाई हरेक दिन धेरै पल्ट प्रार्थना गर्ने गर्थेँ र मैले कस्तो महसुस गर्दै छु भनेर उहाँलाई बताउने गर्थेँ।”

एक्लो महसुस गरिरहेकाहरूले बाइबल र बाइबलआधारित प्रकाशनहरूको अडियो रेकर्डिङ सुनेर यस्तो भावनासित लड्‌न मदत पाएका छन्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌) *

८. परमेश्‍वरको वचन पढ्‌दा र मनन गर्दा त्यसले तपाईँलाई कसरी मदत गर्न सक्छ?

परमेश्‍वरको वचन नियमित रूपमा पढ्‌नुहोस्‌ र परमेश्‍वर तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरालाई जोड दिने खास विवरणहरूमा मनन गर्नुहोस्‌। परिवारको तीतो वचन सुन्‍नुपरेको एक बहिनी बियाङ्‌का यसो भन्छिन्‌: “मेरोजस्तै अवस्थाको सामना गरेका यहोवाका सेवकहरूको बाइबल विवरण र जीवनी पढ्‌दा र मनन गर्दा त्यसले मलाई साँच्चै मदत गरेको छ।” केही ख्रिष्टियनहरूले भने सान्त्वनादायी शास्त्रपदहरू, जस्तै: भजन २७:१० र यसैया ४१:१० कण्ठै पारेका छन्‌। अरूले भने सभाको तयारी गर्दा वा बाइबल पढ्‌दा त्यससित सम्बन्धित अडियो रेकर्डिङहरू सुन्‍ने गरेका छन्‌। त्यसो गर्दा तिनीहरूले ज्यादै एक्लो महसुस नगर्न मदत पाएका छन्‌।

९. सभामा उपस्थित हुँदा तपाईँलाई कस्तो फाइदा हुन्छ?

नियमित रूपमा सभामा उपस्थित हुन सक्दो कोसिस गर्नुहोस्‌। यसो गर्दा प्रोत्साहनदायी कार्यक्रमबाट लाभ उठाउनुको साथै भाइबहिनीलाई चिन्‍ने मौका पनि पाउनुहुनेछ। (हिब्रू १०:२४, २५) अगाडि उल्लेख गरिएकी मासिएल यसो भन्छिन्‌: “हुनत म लजालु स्वभावकी थिएँ। तर मैले हरेक सभामा उपस्थित हुने र टिप्पणी दिने सङ्‌कल्प गरेँ। यसले मलाई आफू पनि मण्डलीको भाग हुँ भन्‍ने कुरा महसुस गर्न मदत गऱ्‍यो।”

१०. वफादार ख्रिष्टियनहरूसित मित्रता गाँस्नु किन महत्त्वपूर्ण छ?

१० वफादार ख्रिष्टियनहरूसित मित्रता गाँस्नुहोस्‌। मण्डलीमा त्यस्ता साथीहरू खोज्नुहोस्‌, जसबाट तपाईँ केही सिक्न सक्नुहुन्छ, चाहे तिनीहरू उमेरमा तपाईँभन्दा साना वा ठूला अथवा फरक पृष्ठभूमिका नै किन नहोऊन्‌। “उमेर ढल्किसकेका मानिससित” बुद्धि हुन्छ भनी बाइबल बताउँछ। (अय्यु. १२:१२) मण्डलीका पाका व्यक्‍तिहरूले पनि जवानहरूबाट थुप्रै कुरा सिक्न सक्छन्‌। दाउद र जोनाथनको उमेर निकै फरक थियो। तैपनि तिनीहरूले आपसमा गहिरो मित्रता गाँस्न सके। (१ समु. १८:१) दाउद र जोनाथनले थुप्रै चुनौतीहरूको बाबजुद यहोवाको सेवा गर्न एकअर्कालाई मदत गरे। (१ समु. २३:१६-१८) बहिनी इरिना जो सत्यमा एक्लै छिन्‌, तिनी यसो भन्छिन्‌: “मण्डलीका साथीहरू हाम्रा आध्यात्मिक बुबाआमा वा भाइबहिनी बनिदिन सक्छन्‌। हाम्रो आवश्‍यकता पूरा गर्न यहोवा तिनीहरूलाई चलाउन सक्नुहुन्छ।”

११. गहिरो मित्रता गाँस्न तपाईँले के गर्नै पर्छ?

११ तपाईँ लजालु स्वभावको हुनुहुन्छ भने नयाँ साथीहरू बनाउन तपाईँलाई गाह्रो हुन सक्छ। विरोधको बाबजुद सत्य सिकेकी एक जना लजालु स्वभावकी बहिनी रत्ना यसो भन्छिन्‌: “मलाई आध्यात्मिक परिवारको मदत र साथ चाहिन्छ भन्‍ने कुरा मैले स्विकार्नुपरेको थियो।” कसैलाई आफ्नो मनका भावनाहरू पोखाउन तपाईँलाई अप्ठ्यारो लाग्न सक्छ। तर खुलस्त कुराकानी गरेमा मात्र गहिरो मित्रता गाँस्न सकिन्छ। तपाईँका साथीहरू तपाईँलाई मदत र प्रोत्साहन दिन इच्छुक छन्‌ तर तपाईँलाई कस्तो किसिमको मदत चाहिएको हो, तिनीहरूलाई थाह दिनुपर्छ।

१२. तपाईँ कसरी असल साथीहरू बनाउन सक्नुहुन्छ?

१२ साथीहरू बनाउने एउटा उत्तम तरिका भनेको भाइबहिनीसित साक्षीकार्यमा भाग लिएर नै हो। अगाडि उल्लेख गरिएकी क्यारोल यसो भन्छिन्‌: “मैले साक्षीकार्यमा र अरू आध्यात्मिक गतिविधिमा दिदीबहिनीसित समय बिताएकोले असल साथीहरू बनाउन सकेकी छु। वर्षौँको दौडान यहोवाले यी साथीहरूमार्फत मलाई मदत गर्दै आउनुभएको छ।” वफादार भाइबहिनीसित मित्रता गाँस्न तपाईँले गर्नुभएको प्रयास खेर जानेछैन। एक्लो महसुस हुँदा वा अरू कारणले तपाईँ निराश हुँदा यहोवाले ती साथीहरू चलाएर तपाईँलाई प्रोत्साहन दिनुहुन्छ।—हितो. १७:१७.

आध्यात्मिक परिवारको भाग भएको महसुस गर्न अरूलाई मदत गर्नुहोस्‌

१३. मण्डलीमा सबैले कस्तो जिम्मेवारी पाएका छन्‌?

१३ मण्डलीमा मायालु र शान्तिपूर्ण वातावरण कायम गर्नु हामी सबैको जिम्मेवारी हो। त्यसो गऱ्‍यौँ भने कसैले पनि एक्लो महसुस गर्नेछैन। (युह. १३:३५) हामीले भन्‍ने वा गर्ने कुराले अरूलाई राम्रो वा नराम्रो असर पार्न सक्छ। एक जना बहिनीले के भनिन्‌, ध्यान दिनुहोस्‌: “मैले सत्य सिकिसकेपछि मण्डली मेरो लागि परिवारजस्तै भयो। भाइबहिनीको साथ नपाएको भए सायद म यहोवाको साक्षी बन्‍न सक्दिनथेँ।” सत्यमा एक्लो भाइबहिनीलाई तिनीहरू पनि मण्डलीको भाग हुन्‌ भन्‍ने कुरा महसुस गराउन तपाईँ के गर्न सक्नुहुन्छ?

१४. तपाईँ नयाँ व्यक्‍तिहरूसित कसरी मित्रता गाँस्न सक्नुहुन्छ?

१४ मित्रता गाँस्न अग्रसर हुनुहोस्‌। मण्डलीमा आएका नयाँ व्यक्‍तिहरूलाई न्यानो स्वागत गरेर हामी त्यसो गर्न सक्छौँ। (रोमी १५:७) तर हामीले न्यानो अभिवादन गरेर मात्र पुग्दैन। समयको दौडान हामी तिनीहरूसित बलियो मित्रता गाँस्न चाहन्छौँ। त्यसैले नयाँ व्यक्‍तिहरूप्रति न्यानो र साँचो चासो देखाउनुहोस्‌। तिनीहरूले के-कस्ता समस्याहरू भोगिरहेका छन्‌, त्यो बुझ्ने कोसिस गर्नुहोस्‌। तर तिनीहरूलाई अप्ठ्यारोमा पार्ने प्रश्‍नहरू नसोध्नुहोस्‌। कसै-कसैलाई आफ्नो मनको कुरा बताउन गाह्रो लाग्न सक्छ। त्यसैले तिनीहरूलाई जबरजस्ती बोल्न नलगाउनुहोस्‌। बरु तिनीहरूको मनको कुरा तानेर निकाल्न विचार पुऱ्‍याएर प्रश्‍नहरू सोध्नुहोस्‌ र तिनीहरूले जवाफ दिँदा धीरजी भएर सुन्‍नुहोस्‌। उदाहरणको लागि, तपाईँ तिनीहरूलाई “यहोवाका साक्षीहरूलाई कसरी भेट्‌नुभयो?” भनेर सोध्न सक्नुहुन्छ।

१५. परिपक्व ख्रिष्टियनहरूले मण्डलीमा अरूलाई कसरी मदत गर्न सक्छन्‌?

१५ परिपक्व ख्रिष्टियनहरू, विशेषगरि एल्डरहरूले भाइबहिनीलाई चासो देखाउँदा मण्डलीका सबै जनाको विश्‍वास बलियो हुनेछ। मेलिसालाई तिनकी आमाले सानैदेखि सत्यमा हुर्काएकी थिइन्‌। तिनी यसो भन्छिन्‌: “वर्षौँको दौडान मायालु बुबाले जस्तै मेरो ख्याल राख्दै आउनुभएको मण्डलीका दाइहरूप्रति म निकै कृतज्ञ छु। मलाई आवश्‍यक परेको बेला मेरो कुरा सुन्‍न उहाँहरूमध्ये कोही न कोही सधैँ तयार हुनुहुन्छ।” आफ्नो अध्ययन सञ्चालकले सत्य त्याग्दा एक जना जवान भाइ मौरिसियोले एक्लो महसुस गरे। तिनी यसो भन्छन्‌: “एल्डरहरूले मप्रति व्यक्‍तिगत चासो देखाउनुभएको हुनाले मलाई धेरै सजिलो भयो। उहाँहरू मसित नियमित कुराकानी गर्नुहुन्थ्यो। उहाँहरू मसितै साक्षीकार्यमा भाग लिनुहुन्थ्यो, व्यक्‍तिगत बाइबल अध्ययनबाट सिकेका कुराहरू मलाई भन्‍नुहुन्थ्यो र मसितै खेल्नु पनि हुन्थ्यो।” अहिले मेलिसा र मौरिसियो दुवै जना पूर्ण-समय सेवा गरिरहेका छन्‌।

के तपाईँ पनि मण्डलीको कसैसित समय बिताउन वा दयालु भई तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ? (अनुच्छेद १६-१९ हेर्नुहोस्‌) *

१६-१७. हामी अरूलाई कस्ता व्यावहारिक तरिकाहरूमा मदत गर्न सक्छौँ?

१६ व्यावहारिक तरिकाहरूमा मदत गर्नुहोस्‌। (गला. ६:१०) आफ्नो परिवारबाट टाढाको देशमा मिसनरी सेवा गरिरहेका लिओ यसो भन्छन्‌: “सही समयमा गरिएको सानो मदतले पनि ठूलो काम गर्न सक्छ। मलाई याद छ, एक दिन मेरो कार दुर्घटना भएको थियो। म बल्लतल्ल घर पुगेँ। मलाई निकै तनाव भइरहेको थियो। त्यति नै बेला एक दम्पतीले मलाई उहाँहरूको घरमा खाना खान बोलाउनुभयो। त्यतिबेला मैले के खाएँ, मलाई याद छैन। तर उहाँहरूले मेरो कुरा ध्यान दिएर सुन्‍नुभएको चाहिँ मलाई अझै याद छ। उहाँहरूसित कुरा गरिसकेपछि मैले हल्का महसुस गरेँ।”

१७ हामी सम्मेलन र अधिवेशनजस्ता आध्यात्मिक कार्यक्रमहरूबाट आनन्द उठाउँछौँ। किनभने त्यतिबेला हामी भाइबहिनीसित समय बिताउन पाउँछौँ र सिकेका कुराहरूबारे एकअर्कासित कुराकानी पनि गर्न पाउँछौँ। तर अगाडि उल्लेख गरिएकी क्यारोल यसो भन्छिन्‌: “मलाई सम्मेलन र अधिवेशनहरूमा साह्रै एक्लो महसुस हुन्छ।” किन? तिनी यसो भन्छिन्‌: “हुनत म सयौँ वा हजारौँ भाइबहिनीको बीचमा हुन्छु। तर अक्सर तिनीहरू आ-आफ्नै परिवारसँग बसिरहेका हुन्छन्‌। त्यो देख्दा मलाई झनै एक्लो महसुस हुन्छ।” अरू कोही-कोहीलाई भने आफ्नो जीवनसाथी गुमाएपछिको पहिलो सम्मेलन वा अधिवेशनमा उपस्थित हुन गाह्रो लाग्छ। यस्तै चुनौतीहरूको सामना गरिरहेको कसैलाई के तपाईँ चिन्‍नुहुन्छ? त्यसोभए अब आउने सम्मेलन वा अधिवेशनमा तिनलाई तपाईँको परिवारसँगै बस्न बोलाउनुभए कसो होला?

१८. अतिथिसत्कार गर्ने सन्दर्भमा हामी २ कोरिन्थी ६:११-१३ कसरी लागू गर्न सक्छौँ?

१८ सँगै समय बिताउनुहोस्‌। जमघटहरूको आयोजना गर्नुहुँदा फरक-फरक भाइबहिनीलाई बोलाउने गर्नुहोस्‌, विशेषगरि एक्लो महसुस गरिरहेकाहरूलाई। हामी त्यस्ता भाइबहिनीको लागि आफ्नो “मन ठूलो” बनाउन चाहन्छौँ। (२ कोरिन्थी ६:११-१३ पढ्‌नुहोस्‌।) अगाडि उल्लेख गरिएकी मेलिसा यसो भन्छिन्‌: “अरू भाइबहिनीले हामीलाई आफ्नो घरमा निम्तो दिँदा वा सँगै घुम्न जान बोलाउँदा हामी धेरै खुसी हुन्थ्यौँ।” के तपाईँ पनि मण्डलीको कसैलाई अतिथिसत्कार गर्न सक्नुहुन्छ?

१९. कस्तो बेला भाइबहिनीसित समय बिताउनु मदतकारी हुन सक्छ?

१९ खास अवस्थाहरूमा भाइबहिनीसित समय बिताउँदा तिनीहरू खुसी हुन सक्छन्‌। कसै-कसैलाई चाडपर्वको बेला विश्‍वासमा नभएका परिवारका सदस्यहरूसित समय बिताउन गाह्रो लाग्न सक्छ। अरू केहीलाई भने वर्षौँसम्म पनि कुनै खास दिनमा, जस्तै: आफ्नो प्रियजनको मृत्यु भएको दिनमा निकै गाह्रो महसुस हुन सक्छ। यस्ता चुनौतीहरूको सामना गरिरहेका भाइबहिनीसित समय बिताउँदा हामीले तिनीहरूप्रति “साँचो चासो” देखाइरहेका हुन्छौँ।—फिलि. २:२०.

२०. एक्लो महसुस हुँदा मत्ति १२:४८-५० मा लिपिबद्ध येसुका शब्दहरूले हामीलाई कसरी मदत गर्न सक्छ?

२० कुनै ख्रिष्टियनले एक्लो महसुस गर्नुको पछाडि थुप्रै कारण हुन सक्छन्‌। तर यहोवाले हाम्रा भावनाहरू बुझ्नुहुन्छ भन्‍ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। अक्सर उहाँले भाइबहिनी चलाएर हाम्रो आवश्‍यकता पूरा गरिदिनुहुन्छ। (मत्ति १२:४८-५० पढ्‌नुहोस्‌।) हामी पनि आध्यात्मिक परिवारलाई मदत गर्न यथासक्दो गरेर यस्तो मायालु प्रबन्ध मिलाउनुहुने यहोवाप्रति कृतज्ञता देखाउन सक्छौँ। कहिलेकाहीँ हामी एक्लो महसुस गर्छौँ होला तर हामी एक्लो छैनौँ। किनभने यहोवा सधैँ हाम्रो साथमा हुनुहुन्छ।

गीत ४६ धन्यवाद छ, यहोवा

^ अनु. 5 के तपाईँले कहिलेकाहीँ एक्लो महसुस गर्नुभएको छ? त्यसो हो भने यहोवा तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ भन्‍ने कुरा जान्‍नुहुन्छ र तपाईँलाई मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। यस लेखमा तपाईँ एक्लोपनको कसरी सामना गर्न सक्नुहुन्छ भनेर छलफल गर्नेछौँ। एक्लो महसुस गरिरहेका सङ्‌गी उपासकहरूलाई तपाईँ कसरी प्रोत्साहन दिन सक्नुहुन्छ भनेर पनि सिक्नेछौँ।

^ अनु. 5 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 60 तस्बिरको व्याख्या: आफ्नी पत्नी गुमाएका एक भाइ बाइबल र अध्ययन सामग्रीको अडियो रेकर्डिङ सुनेर लाभ उठाउँछन्‌।

^ अनु. 62 तस्बिरको व्याख्या: एक भाइ आफ्नी छोरीसित खानेकुरा लिएर मण्डलीको एक वृद्ध दाइलाई भेट्‌न जान्छन्‌।