सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २९

आफ्नो उन्‍नतिमा रमाउनुहोस्‌!

आफ्नो उन्‍नतिमा रमाउनुहोस्‌!

“हरेकले . . . अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”—गला. ६:४.

गीत ३४ निष्ठामा हिँडौँ!

परिचय *

१. यहोवा हामीलाई किन अरूसित तुलना गर्नुहुन्‍न?

यहोवालाई विविधता मन पर्छ। यो कुरा मानिसजातिलगायत उहाँको सृष्टिका अरू कुराहरूमा पनि देखिन्छ। हामी सबै जना भिन्‍न छौँ। त्यसैले यहोवा कहिल्यै पनि तपाईँलाई अरूसित तुलना गर्नुहुन्‍न। उहाँ तपाईँको हृदय अर्थात्‌ भित्री व्यक्‍तित्व जाँच्नुहुन्छ। (१ समु. १६:७) उहाँलाई हाम्रो क्षमता, कमीकमजोरी र पृष्ठभूमि थाह छ। अनि उहाँ तपाईँले गर्न सक्नेभन्दा बढी माग गर्नुहुन्‍न। हामीले यहोवाको अनुकरण गर्दै आफूप्रति उहाँको जस्तै दृष्टिकोण राख्नुपर्छ। त्यसो गर्दा हामीले आफूलाई जति ठान्‍नुपर्ने हो, त्योभन्दा बढी वा कम नठानेर “सुझबुझ” चलाउन सक्नेछौँ।—रोमी १२:३.

२. हामीले किन आफूलाई अरूसित तुलना गर्नु हुँदैन?

हामी अरूको राम्रो उदाहरणबाट सिक्न सक्छौँ। उदाहरणको लागि, प्रचारकार्यमा प्रभावकारी कुनै भाइ वा बहिनी हामी चिन्छौँ होला। (हिब्रू १३:७) हामी तिनीहरूबाट प्रचारकार्यमा कसरी प्रभावकारी हुने भनेर सिक्न सक्छौँ। (फिलि. ३:१७) तर कसैको राम्रो उदाहरण अनुकरण गर्नु र आफूलाई तिनीसित तुलना गर्नुबीच ठूलो भिन्‍नता छ। यस्तो तुलनाले तपाईँमा निराशा वा ईर्ष्या पैदा गर्न सक्छ अथवा तपाईँलाई बेकामको महसुस गराउन सक्छ। अघिल्लो लेखमा सिकेजस्तै मण्डलीका भाइबहिनीसित प्रतिस्पर्धा गर्दा यहोवासितको हाम्रो सम्बन्ध खतरामा पर्न सक्छ। त्यसैले यहोवाले हामीलाई यस्तो मायालु सल्लाह दिनुभएको छ: “हरेकले आफ्नो काम जाँचोस्‌, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”—गला. ६:४.

३. आफूले गरेका के-कस्ता आध्यात्मिक उन्‍नति देखेर तपाईँ खुसी हुनुहुन्छ?

यहोवा तपाईँ आफ्नो आध्यात्मिक उन्‍नतिमा रमाएको चाहनुहुन्छ। जस्तै, तपाईँले बप्तिस्मा गर्नुभयो भने त्यो लक्ष्य हासिल गर्नुभएकोमा तपाईँ खुसी हुन सक्नुहुन्छ। त्यो तपाईँको आफ्नै निर्णय थियो। परमेश्‍वरप्रतिको तपाईँको प्रेमले गर्दा नै तपाईँले त्यस्तो निर्णय गर्नुभयो। त्यसदेखि यता तपाईँले के-कस्तो उन्‍नति गर्नुभयो, एकछिन सोच्नुहोस्‌ त! जस्तै, के तपाईँलाई व्यक्‍तिगत बाइबल पढाइ र अध्ययन गर्न पहिलाभन्दा झन्‌ धेरै मन पर्छ? तपाईँको प्रार्थना झनै अर्थपूर्ण भएको छ? (भज. १४१:२) के तपाईँ प्रचारकार्यमा मानिसहरूसित कुराकानी गर्न र विभिन्‍न सामग्रीहरू चलाउन अझ सिपालु हुनुभएको छ? अनि तपाईँको परिवार छ भने के यहोवाले तपाईँलाई अझ राम्रो पति, पत्नी वा आमाबुबा बन्‍न मदत गर्नुभएको छ? यस्ता क्षेत्रहरूमा तपाईँले गर्नुभएको उन्‍नति देख्दा तपाईँ खुसी र सन्तुष्ट हुन सक्नुहुन्छ।

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामी अरूलाई उनीहरूको आध्यात्मिक उन्‍नतिमा रमाउन मदत गर्न सक्छौँ। अनि हामी उनीहरूलाई आफूलाई अरूसित तुलना नगर्न पनि मदत गर्न सक्छौँ। यस लेखमा आमाबुबाले छोराछोरीलाई, दम्पतीहरूले एकअर्कालाई अनि एल्डरहरू र अरूले भाइबहिनीलाई कसरी मदत गर्न सक्छन्‌ भनेर हामी छलफल गर्नेछौँ। अन्तमा हामीलाई आफ्नो क्षमता र अवस्थाअनुसार व्यावहारिक लक्ष्यहरू राख्न मदत गर्ने बाइबल सिद्धान्तहरू छलफल गर्नेछौँ।

आमाबुबा र दम्पतीले के गर्न सक्छन्‌?

आमाबुबा हो, तपाईँको प्रत्येक छोराछोरीले गरेको प्रयासको कदर गरेको कुरा देखाउनुहोस्‌ (अनुच्छेद ५-६ हेर्नुहोस्‌) *

५. एफिसी ६:४ अनुसार आमाबुबाले के गर्नु हुँदैन?

आमाबुबाले एउटा बच्चालाई अर्को बच्चासित तुलना गर्नु हुँदैन वा बच्चाले गर्न सक्नेभन्दा बढी माग गर्नु हुँदैन। अनुचित रूपमा तुलना गर्दा वा अव्यावहारिक माग गर्दा बच्चाहरू निराश हुन सक्छन्‌। (एफिसी ६:४ पढ्‌नुहोस्‌।) साचिको * नाम गरेकी एक बहिनी यसो भन्छिन्‌: “मेरा शिक्षकहरू मैले क्लासमा अरूले भन्दा राम्रो गरेको आशा गर्नुहुन्थ्यो। साथै मेरी आमा पनि शिक्षकहरू र विश्‍वासमा नभएको मेरो बुबाले साक्षी पाऊन्‌ भनेर मैले स्कुलमा राम्रो गरेको चाहनुहुन्थ्यो। साँच्चै भन्‍ने हो भने, मैले जाँचमा १०० मा १०० ल्याएको उहाँ चाहनुहुन्थ्यो, जुन मेरो लागि असम्भव थियो। मेरो स्कुलको पढाइ सकिएको धेरै वर्ष भइसक्यो। तर मलाई कहिलेकाहीँ यहोवाको सेवामा आफूले सक्दो गर्दा पनि उहाँ मदेखि खुसी हुनुहुन्‍न कि जस्तो लाग्छ।”

६. भजन १३१:१, २ बाट आमाबुबाले के सिक्न सक्छन्‌?

आमाबुबाहरूले भजन १३१:१, २ बाट महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌। (पढ्‌नुहोस्‌) राजा दाउदका “ठूलठूला आकाङ्‌क्षाहरू” थिएनन्‌। तिनले आफूले पाउनै नसक्ने कुराहरूको चाह गरेनन्‌। दाउद नम्र भएकोले तिनी “शान्त” र सन्तुष्ट भए। तिनका शब्दहरूबाट आमाबुबाले के सिक्न सक्छन्‌? आफूबाट मात्र नभई आफ्ना छोराछोरीबाट पनि बढ्‌तै माग नगरेर आमाबुबा नम्र हुन सक्छन्‌। आमाबुबाले छोराछोरीलाई तिनीहरूको बलियो र कमजोर पक्ष पत्ता लगाउन अनि त्यसैअनुसार लक्ष्यहरू राख्न मदत गर्नुपर्छ। यसले गर्दा छोराछोरीले आफूले पनि केही गर्न सक्छु भनेर महसुस गर्न सक्छन्‌। मरिना नाम गरेकी बहिनी यसो भन्छिन्‌: “मेरी आमाले मलाई मेरो दाइ र दुई जना दिदीसित वा अरू केटाकेटीसित कहिल्यै तुलना गर्नुभएन। उहाँले सबैसित फरक-फरक क्षमता हुन्छ अनि हामी प्रत्येक नै यहोवाको नजरमा बहुमूल्य छौँ भनेर सिकाउनुभयो। उहाँले मलाई यसरी सिकाउनुभएकोले म आफूलाई अरूसित तुलना गर्दिनँ।”

७-८. पतिले कसरी पत्नीको आदर गर्न सक्छन्‌?

ख्रिष्टियन पतिले आफ्नी पत्नीको आदर गर्नुपर्छ। (१ पत्रु. ३:७) कसैको आदर गर्नुमा तिनलाई विशेष ध्यान दिनु र तिनको सम्मान गर्नु समावेश छ। जस्तै, पतिले आफ्नो लागि आफ्नी पत्नी अनमोल छिन्‌ भन्‍ने कुरा देखाएर तिनको आदर गर्न सक्छन्‌। उनले तिनीबाट बढ्‌तै माग गर्दैनन्‌ र तिनलाई अरू स्त्रीसित कहिल्यै तुलना गर्दैनन्‌। तर पतिले त्यसरी अनुचित तुलना गरे भने पत्नीलाई कस्तो लाग्न सक्छ? रोसा नाम गरेकी बहिनीको पति यहोवाको साक्षी होइनन्‌। उनी अक्सर तिनलाई अरू स्त्रीसित तुलना गर्छन्‌। उनको त्यस्तो घोच्ने बोलीले गर्दा रोसाको आत्मविश्‍वास घटेको छ। आफूलाई कसैले माया गर्दैन जस्तो तिनलाई लाग्छ। तिनी भन्छिन्‌: “म यहोवाको नजरमा अनमोल छु भनेर अरूले मलाई बारम्बार सम्झाइरहनुपर्छ।” त्यसको ठीक विपरीत ख्रिष्टियन पतिले आफ्नी पत्नीको आदर गर्छन्‌। त्यसो गर्दा पत्नी र यहोवासितको सम्बन्ध बलियो हुन्छ भनेर उनलाई थाह हुन्छ। *

आफ्नी पत्नीको आदर गर्ने पतिले तिनको प्रशंसा गर्छन्‌ र आफ्नो माया व्यक्‍त गर्छन्‌। अनि तिनी आफ्नो लागि अनमोल छिन्‌ भनेर बताउँछन्‌। (हितो. ३१:२८) अघिल्लो लेखमा उल्लेख गरिएकी कट्रिनाको पतिले तिनलाई आफू बेकामको छु भन्‍ने भावना हटाउन मदत गरे। तिनी सानी छँदा तिनकी आमाले तिनको आलोचना गर्थिन्‌ र तिनलाई तिनका साथीहरूलगायत अरू केटीहरूसित तुलना गर्थिन्‌। त्यसले गर्दा कट्रिनाले अरूसित अनि साक्षी भइसकेपछि पनि आफूलाई भाइबहिनीसित तुलना गर्न थालिन्‌। तर तिनका पतिले तिनलाई यस्तो झुकावसित लड्‌न र आफूप्रति अझै सन्तुलित दृष्टिकोण राख्न मदत गरेका छन्‌। तिनी भन्छिन्‌: “उहाँ मलाई माया गर्नुहुन्छ। मैले गरेका राम्रा कुराहरूको लागि मेरो प्रशंसा गर्नुहुन्छ अनि मेरो लागि प्रार्थना गर्नुहुन्छ। उहाँ मलाई यहोवाको मनमोहक गुणहरूबारे सम्झाउनुहुन्छ अनि मेरो नकारात्मक सोचाइ हटाउन पनि मदत गर्नुहुन्छ।”

मायालु एल्डरहरू र अरूले के गर्न सक्छन्‌?

९-१०. आफूलाई अरूसित तुलना गर्ने झुकाव हटाउन एक जना बहिनीलाई मायालु एल्डरहरूले कसरी मदत गरे?

आफूलाई अरूसित तुलना गर्ने झुकाव भएका भाइबहिनीलाई एल्डरहरूले कसरी मदत गर्न सक्छन्‌? हानुनी नाम गरेकी एक जना बहिनीको अनुभव विचार गर्नुहोस्‌। तिनी सानी छँदा अरूले खासै तिनको प्रशंसा गर्दैनथे। तिनी भन्छिन्‌: “म लजालु थिएँ अनि मलाई अरू बच्चाहरू मभन्दा राम्रा छन्‌ जस्तो लाग्थ्यो। मैले सानैदेखि आफूलाई अरूसित तुलना गर्न थालेँ। अनि साक्षी भइसकेपछि पनि आफूलाई अरूसित तुलना गर्थेँ।” यसले गर्दा तिनलाई आफू मण्डलीमा हुनु र नहुनुले केही फरक पार्दैन जस्तो लाग्थ्यो। अहिले तिनी रमाउँदै अग्रगामी सेवा गरिरहेकी छिन्‌। तिनलाई आफ्नो मनोवृत्ति परिवर्तन गर्न केले मदत गऱ्‍यो?

१० हानुनीले मायालु एल्डरहरूको मदत पाइन्‌। उनीहरूले तिनलाई तिनी मण्डलीको लागि बहुमूल्य छिन्‌ भनेर बताए अनि तिनले बसालेको राम्रो उदाहरणको लागि प्रशंसा गरे। तिनी यस्तो लेख्छिन्‌: “केही पटक एल्डरहरूले मलाई मण्डलीका केही बहिनीहरूलाई प्रोत्साहन दिन भन्‍नुभयो। यसले गर्दा मण्डलीमा मेरो पनि महत्त्व छ भनेर महसुस गरेँ। मलाई अझै याद छ, केही जवान बहिनीहरूलाई प्रोत्साहन दिएपछि मायालु एल्डरहरूले मलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँहरूले मेरो लागि १ थिस्सलोनिकी १:२, ३ पढ्‌नुभयो। त्यसले मेरो मनै छोयो! ती मायालु एल्डरहरूको मदतले गर्दा मैले यहोवाको सङ्‌गठनमा मेरो पनि महत्त्वपूर्ण स्थान छ भनेर बुझ्न सकेँ।”

११. यसैया ५७:१५ मा बताइएका “मन भाँचिएका र कमजोरहरू”-लाई हामी कसरी मदत गर्न सक्छौँ?

११ यसैया ५७:१५ पढ्‌नुहोस्‌। यहोवा “मन भाँचिएका र कमजोरहरूको” ख्याल राख्नुहुन्छ। एल्डरहरूले मात्र होइन, हामी सबैले नै हाम्रा प्यारा भाइबहिनीलाई प्रोत्साहन दिन सक्छौँ। यसो गर्ने एउटा तरिका भनेको तिनीहरूप्रति निष्कपट चासो देखाएर हो। यहोवा आफ्ना अनमोल भेडाहरूले हामीमार्फत उहाँको माया महसुस गरेको चाहनुहुन्छ। (हितो. १९:१७) नम्र भएर र आफ्नो क्षमतामा धाक नलगाएर पनि हामी आफ्ना भाइबहिनीलाई मदत गर्न सक्छौँ। हामी अनावश्‍यक रूपमा अरूको ध्यान आफूतर्फ खिच्न चाहँदैनौँ किनभने यसले गर्दा अरूमा ईर्ष्या पैदा हुन सक्छ। बरु हामी आफ्नो क्षमता र ज्ञान एकअर्कालाई प्रोत्साहन दिन चलाउँछौँ।—१ पत्रु. ४:१०, ११.

येसुका चेलाहरू उहाँतर्फ खिचिए किनकि उहाँले कहिल्यै पनि आफूलाई चेलाहरूभन्दा ठूलो देखाउन खोज्नुभएन। उहाँलाई आफ्ना मित्रहरूसित सङ्‌गत गर्न रमाइलो लाग्थ्यो (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. नम्र मानिसहरू किन येसुतर्फ खिचिए? (आवरण चित्र हेर्नुहोस्‌।)

१२ येसुले आफ्ना चेलाहरूसित गर्नुभएको व्यवहारबारे विचार गर्दा हामीले अरूलाई कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने कुरा बुझ्न सक्छौँ। येसु सबैभन्दा महान्‌ पुरुष भए तापनि उहाँ “कोमल स्वभावको र नम्र हृदयको” हुनुहुन्थ्यो। (मत्ति ११:२८-३०) उहाँले आफ्नो अथाह बुद्धि र ज्ञानको कहिल्यै धाक लगाउनुभएन। उहाँले सरल शब्द र साधारण उदाहरण प्रयोग गरेर सिकाउनुभयो, जसले नम्रहरूको मन छोयो। (लुका १०:२१) येसु घमन्डी धर्मगुरुहरूजस्तो हुनुहुन्‍नथ्यो। उहाँले मानिसहरूलाई तिनीहरू परमेश्‍वरको नजरमा बहुमूल्य छन्‌ भनेर महसुस गराउनुभयो। (युह. ६:३७) साथै साधारण मानिसहरूलाई समेत उहाँले आदरपूर्ण व्यवहार गर्नुभयो।

१३. येसुले चेलाहरूसित गर्नुभएको व्यवहारमा उहाँको दया र माया कसरी देखियो?

१३ येसुले चेलाहरूसित गर्नुभएको व्यवहारमा उहाँको दया र माया देखिन्थ्यो। तिनीहरूको क्षमता र परिस्थिति फरक-फरक छ भनेर येसुलाई थाह थियो। त्यसैले तिनीहरूले उस्तै जिम्मेवारी वहन गर्न र तिनीहरू प्रचारकार्यमा उत्तिकै प्रभावकारी हुन सक्दैनथे। तैपनि उहाँ तिनीहरू हरेकले गरेको प्रयासको कदर गर्नुहुन्थ्यो। येसु तिनीहरूको क्षमता बुझेर त्यसैअनुसार व्यवहार गर्नुहुन्थ्यो भन्‍ने कुरा टालेन्टको उदाहरणबाट थाह पाउन सक्छौँ। त्यस उदाहरणमा मालिकले दासहरूलाई तिनीहरूको क्षमताअनुसार जिम्मेवारी दिए। लगनशील दासहरूमध्ये एक जनाले अर्कोले भन्दा धेरै कमायो। तर पनि मालिकले ती दुवैको यसरी प्रशंसा गरे: “स्याबास, असल र विश्‍वासी दास!”—मत्ति २५:१४-२३.

१४. येसुले आफ्ना चेलाहरूसित गर्नुभएको व्यवहारको हामी कसरी अनुकरण गर्न सक्छौँ?

१४ येसु सधैँ हामीसित दयालु र मायालु व्यवहार गर्नुहुन्छ। हाम्रो अवस्था र क्षमता फरक-फरक छ भनेर पनि उहाँलाई थाह छ अनि हामीले आफ्नो तर्फबाट सक्दो गर्दा उहाँ खुसी हुनुहुन्छ। हामीले पनि अरूलाई येसुले जस्तै व्यवहार गर्नुपर्छ। हामी कुनै पनि भाइबहिनीलाई उनीहरूले अरूले जत्तिको गर्न नसकेकोमा बेकामको महसुस गराउन वा निराश तुल्याउन चाहँदैनौँ। बरु यहोवाको सेवामा उनीहरूले सक्दो गरेकोले उनीहरूको प्रशंसा गर्ने मौका खोज्न चाहन्छौँ।

व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌

व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌ र त्यो हासिल गर्दा पाइने आनन्द अनुभव गर्नुहोस्‌ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌) *

१५-१६. व्यावहारिक लक्ष्यहरू राख्दा एक जना बहिनीले कस्तो लाभ उठाइन्‌?

१५ आध्यात्मिक लक्ष्यहरूले हाम्रो जीवनलाई सही डोऱ्‍याइ दिन्छ र उद्देश्‍यपूर्ण बनाउँछ। हामीले आफ्नो क्षमता र परिस्थितिअनुसार लक्ष्य राख्नुपर्छ। अरूले जे लक्ष्य राख्छन्‌, हामीले पनि त्यही लक्ष्य राख्नुपर्छ भन्‍ने छैन। नत्र त हामी निराश मात्र हुनेछौँ। (लुका १४:२८) एक जना अग्रगामी बहिनी मिदोरीको उदाहरण विचार गर्नुहोस्‌।

१६ तिनका बुबा यहोवाको साक्षी होइनन्‌। तिनी सानी छँदा तिनका बुबाले तिनका भाइबहिनी र सहपाठीहरूसित तिनको तुलना गर्ने गर्थे। तिनलाई आफ्नो कुनै मोल छैन जस्तो लाग्थ्यो। हुर्कँदै जाँदा तिनको आत्मविश्‍वास बढ्‌दै गयो। तिनी यसो भन्छिन्‌: “मनको शान्ति पाउन म हरेक दिन बाइबल पढ्‌ने गर्थेँ। यसो गर्दा यहोवा मलाई माया गर्नुहुन्छ भन्‍ने कुरा मैले महसुस गर्न सकेँ।” साथै तिनले व्यावहारिक लक्ष्यहरू राखिन्‌ र ती लक्ष्यहरूसम्म पुग्न तिनले यहोवालाई तोकेरै प्रार्थना गरिन्‌। यसरी मिदोरी आफ्नो आध्यात्मिक उन्‍नतिमा रमाउन सकिन्‌।

यहोवालाई तपाईँको सबैभन्दा उत्तम कुरा दिइरहनुहोस्‌

१७. हामी कसरी ‘आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहन’ सक्छौँ र त्यसो गर्दा नतिजा कस्तो हुन्छ?

१७ नकारात्मक भावना र सोचाइ रातारात हट्‌दैन। त्यसैले यहोवा हामीलाई यस्तो सल्लाह दिनुहुन्छ: “तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ।” (एफि. ४:२३, २४) त्यसको लागि पक्कै पनि हामीले प्रार्थना गर्नुपर्छ अनि परमेश्‍वरको वचन अध्ययन र मनन गर्नुपर्छ। त्यसैले यी कुराहरू गरिरहनुहोस्‌ र यहोवासित मदत मागिरहनुहोस्‌। उहाँको पवित्र शक्‍तिको मदत पाएर तपाईँ आफूलाई अरूसित तुलना गर्ने झुकावलाई जित्न सक्नुहुन्छ। साथै तपाईँमा ईर्ष्या र घमन्डजस्ता दुर्गुणहरू देखा परेका छन्‌ कि भनेर पत्ता लगाउन र छ भने त्यसलाई तुरुन्तै हटाउन यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ।

१८. दोस्रो इतिहास ६:२९, ३० बाट तपाईँले कस्तो सान्त्वना पाउनुभयो?

१८ दोस्रो इतिहास ६:२९, ३० पढ्‌नुहोस्‌। यहोवा हाम्रो हृदयमा के छ भनी जान्‍नुहुन्छ। साथै हामी यो संसारको मनोभाव र हाम्रो आफ्नै त्रुटिपूर्ण झुकावसित लड्‌दै छौँ भन्‍ने कुरा पनि उहाँलाई थाह छ। यस्ता नकारात्मक प्रभावहरूसित लड्‌न हामीले भरमग्दुर प्रयास गरिरहेको देख्दा यहोवा हामीलाई अझ धेरै माया गर्नुहुन्छ।

१९. यहोवा हामीप्रति कस्तो महसुस गर्नुहुन्छ भनेर बुझाउन उहाँले कस्तो उदाहरण चलाउनुभयो?

१९ यहोवा हामीप्रति कस्तो महसुस गर्नुहुन्छ भन्‍ने कुरा बुझाउन उहाँले एउटी आमा र उनको नवजात शिशुबीचको बन्धनलाई उदाहरणको रूपमा चलाउनुभयो। (यसै. ४९:१५) रेचेल नाम गरेकी एक आमाको उदाहरण विचार गर्नुहोस्‌। तिनी यसो भन्छिन्‌: “मेरी छोरी स्टेफनी महिना नपुग्दै जन्मिई। मैले पहिलो चोटि उसलाई देख्दा ऊ निकै सानो र कमजोर देखिन्थी। उसलाई एक महिनासम्म भेन्टिलेटरमै राख्नुपऱ्‍यो। डाक्टरहरूले दिनको एकचोटि भए पनि उसलाई मेरो काखमा राख्न दिनुहुन्थ्यो। त्यस दौडान म र मेरी छोरीबीच घनिष्ठ सम्बन्ध गाँसियो। अहिले ऊ छ वर्षकी भइसकी। तर आफ्नै उमेरका अरू बच्चाहरूभन्दा ऊ सानो देखिन्छे। म उसलाई धेरै माया गर्छु। किनभने उसले सानो उमेरमै निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो। उसको जन्म भएसँगै मेरो जीवनमा खुसीको बहार आएको छ।” तनमनले यहोवाको सेवा गर्न हामीले सङ्‌घर्ष गरिरहेको देख्दा उहाँ पनि हामीप्रति त्यस्तै महसुस गर्नुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी कुरा!

२०. यहोवाको समर्पित सेवकको रूपमा तपाईँसित रमाउने कस्ता कारणहरू छन्‌?

२० यहोवाको सेवकको रूपमा तपाईँ उहाँको परिवारको एक जना अमूल्य सदस्य हुनुहुन्छ र तपाईँको छुट्टै पहिचान छ। तपाईँ अरूभन्दा राम्रो भएकोले यहोवाले तपाईँलाई आफूतर्फ खिच्नुभएको होइन। उहाँले तपाईँको हृदयलाई जाँच्दा तपाईँ नम्र र आफूले चाहेको आकारमा ढाल्न सकिने व्यक्‍ति हुनुहुन्छ भनेर उहाँले देख्नुभयो। त्यसैले उहाँले तपाईँलाई आफूतर्फ खिच्नुभयो। (भज. २५:९) उहाँको सेवा गर्न तपाईँले गर्नुभएको हरेक प्रयासको उहाँ कदर गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। तपाईँको सहनशीलता र वफादारी तपाईँ “असल हृदय” भएको व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुराको प्रमाण हो। (लुका ८:१५) त्यसैले यहोवालाई तपाईँको सबैभन्दा उत्तम कुरा दिइरहनुहोस्‌। यसो गर्दा तपाईँले “आफ्नै काममा रमाउने कारण” पाउनुहुनेछ।

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

^ अनु. 5 यहोवा हामीलाई अरूसित तुलना गर्नुहुन्‍न। तर हामीसित आफूलाई अरूसित तुलना गर्ने झुकाव हुन सक्छ, जसले गर्दा आफू बेकामको छु भन्‍ने महसुस हुन सक्छ। यस लेखमा आफूलाई अरूसित तुलना गर्दा कस्तो खतरा हुन सक्छ भनेर छलफल गर्नेछौँ। परिवारका सदस्यहरू र मण्डलीका भाइबहिनीलाई आफूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न हामी कसरी मदत गर्न सक्छौँ भनेर पनि छलफल गर्नेछौँ।

^ अनु. 5 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 7 यी सल्लाहहरू पतिलाई दिइएको भए तापनि यहाँ दिइएका सिद्धान्तहरू पत्नीलाई पनि लागू हुन्छ।

^ अनु. 58 तस्बिरको व्याख्या: पारिवारिक उपासनाको दौडान आमाबुबाले नुहको जहाजमा राख्नको लागि तीनै जना छोराछोरीले बनाएको कुराहरूको कदर गर्छन्‌।

^ अनु. 62 तस्बिरको व्याख्या: सानो छोरा भएको एक्ली आमा सहायक अग्रगामी सेवा गर्न आफ्नो तालिकामा छाँटकाँट गर्छिन्‌ र त्यो लक्ष्यसम्म पुग्न सकेकोमा तिनी खुसी छिन्‌।