सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३०

यहोवाको परिवारमा आफ्नो स्थानको कदर गर्नुहोस्‌

यहोवाको परिवारमा आफ्नो स्थानको कदर गर्नुहोस्‌

“तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयो अनि उसलाई गौरव र महिमाको मुकुट पहिऱ्‍याउनुभयो।”—भज. ८:५.

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

परिचय *

१. यहोवाको सृष्टिबारे सोच्दा हामीले कस्तो महसुस गर्न सक्छौँ?

यहोवाले सृष्टि गर्नुभएको विशाल ब्रह्‍माण्डबारे सोच्दा हामी भजनरचयिता दाउदले जस्तै महसुस गर्न सक्छौँ। तिनले यहोवालाई प्रार्थनामा यस्तो प्रश्‍न सोधे: “आकाशमा तपाईँको औँलाको कामलाई विचार गर्दा, तपाईँले बनाउनुभएका जून र तारालाई हेर्दा मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ? मानिसका सन्तान के हुन्‌ र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?” (भज. ८:३, ४) यो विशाल ब्रह्‍माण्डको तुलनामा हामी नगण्य भए पनि यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा दाउदलाई जस्तै हामीलाई पनि अचम्म लाग्न सक्छ। यहोवाले पहिलो मानव जोडी आदम र हव्वाको ख्याल मात्र राख्नुभएन, बरु तिनीहरूलाई आफ्नो परिवारको भागसमेत बनाउनुभयो भनेर अब हामी बुझ्नेछौँ।

२. यहोवाले आफ्नो पहिलो मानव सन्तानको लागि कस्तो उद्देश्‍य राख्नुभएको थियो?

आदम र हव्वा यहोवाको पहिलो मानव सन्तान थिए र उहाँ तिनीहरूको मायालु बुबा हुनुहुन्थ्यो। आफ्नो परिवारको सदस्यको रूपमा तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरेको उहाँ चाहनुहुन्थ्यो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर।” (उत्प. १:२८) तिनीहरूले सन्तान जन्माएको र पृथ्वीको हेरचाह गरेको उहाँ चाहनुहुन्थ्यो। आदम र हव्वा यहोवाको इच्छाअनुसार चलेको भए तिनीहरू र तिनीहरूका सन्तान सधैँभरि उहाँको परिवारको भाग भइरहन सक्थे।

३. आदम र हव्वाले यहोवाको परिवारमा सम्मानयोग्य स्थान पाएका थिए भनेर हामी किन भन्‍न सक्छौँ?

आदम र हव्वाले यहोवाको परिवारमा सम्मानयोग्य स्थान पाएका थिए। यहोवाले मानिसहरूलाई कसरी सृष्टि गर्नुभयो, त्यसबारे दाउदले भजन ८:५ मा यसो भने: “तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयो अनि उसलाई गौरव र महिमाको मुकुट पहिऱ्‍याउनुभयो।” हुनत यहोवाले मानिसहरूलाई स्वर्गदूतहरूजत्तिको शक्‍ति, बुद्धि र क्षमता दिनुभएन। (भज. १०३:२०) तर मानिसहरू ती शक्‍तिशाली स्वर्गदूतहरूभन्दा “केही मात्र कम गरेर” सृष्टि गरिएका थिए। हो, यहोवाले हाम्रो पहिलो आमाबुबालाई सुन्दर जीवन दिनुभएको थियो।

४. यहोवाप्रति अनाज्ञाकारी भएको कारण आदम र हव्वाले के गुमाए र यस लेखमा हामी के छलफल गर्नेछौँ?

 दुःखको कुरा, आदम र हव्वा सधैँभरि यहोवाको परिवारको भाग भइरहन सकेनन्‌। यसले गर्दा तिनीहरूको सन्तानले नराम्रो नतिजा भोग्नुपऱ्‍यो भनेर हामी बुझ्दै जानेछौँ। तर यहोवाको उद्देश्‍य परिवर्तन भएको छैन। उहाँ आज्ञाकारी मानिसहरू सधैँभरि उहाँको परिवारको भाग भएको चाहनुहुन्छ। यहोवाले हामीलाई कुन-कुन तरिकामा सम्मान गर्नुभएको छ, त्यसबारे सुरुमा छलफल गरौँ। त्यसपछि उहाँको परिवारको भाग बन्‍न चाहन्छौँ भनेर देखाउन अहिले हामी के गर्न सक्छौँ, त्यसबारे छलफल गर्नेछौँ। अन्तमा यहोवाको मानव सन्तानले सधैँभरि अनुभव गर्ने आशिष्‌हरूबारे छलफल गर्नेछौँ।

यहोवाले मानिसहरूलाई कुन-कुन तरिकामा सम्मान गर्नुभएको छ?

यहोवाले कुन-कुन तरिकामा हाम्रो सम्मान गर्नुभएको छ? (अनुच्छेद ५-११ हेर्नुहोस्‌) *

५. यहोवाले हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएकोमा हामी कसरी उहाँप्रति कृतज्ञता देखाउन सक्छौँ?

यहोवाले हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएर हाम्रो सम्मान गर्नुभएको छ। (उत्प. १:२६, २७) परमेश्‍वरकै स्वरूपमा सृष्टि गरिएको हुनाले हामीले प्रेम, दया, वफादारी र धार्मिकताजस्ता उहाँका थुप्रै मनमोहक गुणहरू विकास गर्न र देखाउन सक्छौँ। (भज. ८६:१५; १४५:१७) हामीले त्यस्ता गुणहरू विकास गर्दा यहोवाको आदर गरिरहेका हुन्छौँ र उहाँप्रति कृतज्ञता देखाइरहेका हुन्छौँ। (१ पत्रु. १:१४-१६) अनि अरूसितको व्यवहारमा यहोवाका गुणहरू झल्काउँदा हामी आनन्दित हुन्छौँ। साथै हामी यहोवाकै स्वरूपमा सृष्टि गरिएकोले उहाँ आफ्नो परिवारमा जस्तो व्यक्‍तिलाई राख्न चाहनुहुन्छ, त्यस्तो व्यक्‍ति बन्‍ने क्षमता हामीसित छ।

६. यहोवाले मानिसहरूको लागि पृथ्वी तयार पार्दा उहाँले कसरी तिनीहरूको सम्मान गर्नुभयो?

यहोवाले हाम्रो लागि एउटा सुन्दर घर तयार पार्नुभयो। पहिलो मानव सृष्टि गर्नुभन्दा धेरै अघि नै यहोवाले मानिसहरूको लागि पृथ्वी तयार पार्नुभयो। (अय्यु. ३८:४-६; यर्मि. १०:१२) यहोवा दयालु र उदार हुनुभएकोले उहाँले हाम्रो आनन्दको लागि थुप्रै असल कुरा दिनुभयो। (भज. १०४:१४, १५, २४) उहाँले बेलाबेलामा आफ्नो सृष्टिलाई नियाल्नुभयो र त्यो उहाँलाई “राम्रो लाग्यो।” (उत्प. १:१०, १२, ३१) उहाँले मानिसहरूलाई आफूले सृष्टि गरेका सबै सुन्दर कुरामाथि “अधिकार” दिनुभएर तिनीहरूको सम्मान गर्नुभयो। (भज. ८:६) भविष्यमा त्रुटिरहित मानिसहरूले उहाँको सम्पूर्ण सृष्टिको सधैँभरि हेरचाह गरेको यहोवा चाहनुहुन्छ। यस्तो सुन्दर प्रतिज्ञाको लागि के तपाईँ यहोवालाई नियमित रूपमा धन्यवाद दिनुहुन्छ?

७. मानिससित स्वतन्त्र इच्छा छ भन्‍ने कुरा यहोसु २४:१५ ले कसरी देखाउँछ?

यहोवाले हामीलाई उपहारस्वरूप स्वतन्त्र इच्छा दिनुभएको छ। हामी जीवनमा के गर्न चाहन्छौँ, त्यो हामी आफै छनौट गर्न सक्छौँ। (यहोसु २४:१५ पढ्‌नुहोस्‌।) यस्तो छनौट गर्ने क्षमतालाई स्वतन्त्र इच्छा भनिन्छ। हामीले मायालु परमेश्‍वरको सेवा गर्ने छनौट गर्दा उहाँ खुसी हुनुहुन्छ। (भज. ८४:११; हितो. २७:११) हामी थुप्रै क्षेत्रमा स्वतन्त्र इच्छाको सदुपयोग गर्न सक्छौँ। यस सन्दर्भमा येसुले बसाल्नुभएको उदाहरण विचार गरौँ।

८. येसुले कसरी आफ्नो स्वतन्त्र इच्छा प्रयोग गर्नुभयो? एउटा उदाहरण दिनुहोस्‌।

येसुको उदाहरण पछ्याउँदै हामी आफ्नो इच्छालाई भन्दा अरूको इच्छालाई प्राथमिकता दिने छनौट गर्न सक्छौँ। एकचोटि येसु र उहाँका प्रेषितहरू थकित हुनुभएकोले आराम गर्न एकान्त ठाउँमा जाँदै हुनुहुन्थ्यो। तर उहाँहरूले आराम गर्न नपाउँदै एउटा भीडले उहाँहरूलाई भेट्टायो र तिनीहरू येसुको कुरा सुन्‍न चाहन्थे। तर येसुले झर्को मान्‍नुभएन। बरु तिनीहरूलाई देखेर टिठाउनुभयो। त्यसपछि येसुले के गर्नुभयो? “उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।” (मर्कु. ६:३०-३४) अरूलाई मदत गर्न आफ्नो समय र शक्‍ति खर्च गरेर येसुको अनुकरण गर्दा हामीले स्वर्गमा बस्नुहुने बुबाको महिमा गरिरहेका हुन्छौँ। (मत्ति ५:१४-१६) साथै हामी यहोवाको परिवारको भाग हुन चाहन्छौँ भन्‍ने कुरा पनि देखाइरहेका हुन्छौँ।

९. आमाबुबाले कुन कुरा बुझ्नुपर्छ?

यहोवाले मानिसहरूलाई बच्चा जन्माउने क्षमता दिनुको साथै तिनीहरूलाई उहाँको सेवा गर्न र उहाँलाई प्रेम गर्न सिकाउने जिम्मेवारी पनि दिनुभएको छ। आमाबुबा हो, के तपाईँ यो विशेष उपहारको कदर गर्नुहुन्छ? यहोवाले स्वर्गदूतहरूलाई थुप्रै आशिष्‌ दिनुभए तापनि यस्तो सुअवसर भने दिनुभएको छैन। यो कुरा विचार गर्दै आमाबुबाले छोराछोरी हुर्काउने सुअवसरको मोल गर्नुपर्छ। यहोवाले आमाबुबालाई भरोसा गरेर छोराछोरीलाई उहाँको “डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउने महत्त्वपूर्ण जिम्मेवारी दिनुभएको छ। (एफि. ६:४; व्यव. ६:५-७; भज. १२७:३) आमाबुबालाई मदत गर्न यहोवाको सङ्‌गठनले बाइबलआधारित थुप्रै साधन, जस्तै: प्रकाशन, भिडियो, सङ्‌गीत र अनलाइन सामग्रीहरूको प्रबन्ध गरेको छ। स्पष्ट छ, स्वर्गमा बस्नुहुने हाम्रा बुबा र उहाँको छोरा येसु केटाकेटीलाई धेरै माया गर्नुहुन्छ। (लुका १८:१५-१७) आफ्ना प्यारा छोराछोरीलाई हुर्काउन यहोवामा भर पर्दै यथासक्दो गर्ने आमाबुबा देख्दा उहाँलाई खुसी लाग्छ। अनि त्यस्ता आमाबुबाले आफ्ना छोराछोरीलाई सधैँभरि यहोवाको परिवारको भाग बन्‍ने आशा राख्न मदत गर्छन्‌।

१०-११. फिरौतीको प्रबन्धमार्फत यहोवाले हाम्रो लागि के सम्भव तुल्याउनुभएको छ?

१० हामी फेरि यहोवाको परिवारको भाग बन्‍न सकोस्‌ भनेर उहाँले आफ्नो प्यारो छोराको बलिदान दिनुभयो।  अनुच्छेद ४ मा उल्लेख गरिएझैँ आदम र हव्वा यहोवाको परिवारको भाग भइरहन सकेनन्‌ र तिनीहरूका सन्तान पनि यसबाट वञ्चित भए। (रोमी ५:१२) आदम र हव्वाले जानाजानी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेकोले तिनीहरूलाई उहाँको परिवारबाट हटाउनु उचित थियो। तर तिनीहरूको सन्तानको कुनै दोष थिएन। त्यसैले आज्ञाकारी मानिसहरूलाई फेरि आफ्नो परिवारको भाग बनाउन यहोवाले मायालु प्रबन्ध मिलाउनुभयो। उहाँले आफ्नो एक मात्र छोरा येसु ख्रिष्टको बलिदान दिनुभयो। (युह. ३:१६; रोमी ५:१९) येसुको बलिदानले गर्दा यहोवाले १ लाख ४४ हजार वफादार मानिसलाई धर्मपुत्रको रूपमा स्विकार्न सक्नुभयो।—रोमी ८:१५-१७; प्रका. १४:१.

११ साथै लाखौँ वफादार र आज्ञाकारी मानिस यहोवाको इच्छाअनुसार चलिरहेका छन्‌। तिनीहरूले हजार वर्षीय शासनको अन्तिम जाँचपछि यहोवाको परिवारको भाग बन्‍ने आशा पाएका छन्‌। (भज. २५:१४; रोमी ८:२०, २१) त्यस्तो आशा पाएकोले तिनीहरू अहिले नै सृष्टिकर्ता यहोवालाई “बुबा” भनेर पुकार्छन्‌। (मत्ति ६:९) साथै फेरि जीवित भएर आएकाहरूलाई यहोवा तिनीहरूबाट के चाहनुहुन्छ भनेर सिक्ने मौका दिइनेछ। उहाँको आज्ञा मान्‍न छनौट गर्नेहरू पनि अन्ततः उहाँको परिवारको भाग बन्‍नेछन्‌।

१२. अब हामी कुन प्रश्‍नको जवाफ पाउनेछौँ?

१२ मानिसहरूको सम्मान गर्न यहोवाले थुप्रै कुरा गरिसक्नुभएको छ भनेर हामीले थाह पायौँ। उहाँले अभिषिक्‍त जनहरूलाई धर्मपुत्रको रूपमा स्विकारिसक्नुभएको छ र “ठूलो भीड”-लाई नयाँ संसारमा साँचो अर्थमा उहाँको छोराछोरी बन्‍ने आशा दिनुभएको छ। (प्रका. ७:९) सधैँभरि यहोवाको परिवारको भाग बन्‍न चाहन्छौँ भनेर देखाउन अहिले हामी के गर्न सक्छौँ?

यहोवाको परिवारको भाग हुन चाहनुहुन्छ भनेर देखाउनुहोस्‌

१३. यहोवाको परिवारको भाग बन्‍न हामी के गर्न सक्छौँ? (मर्कुस १२:३०)

१३ सारा हृदयले यहोवाको सेवा गरेर उहाँलाई प्रेम गरेको देखाउनुहोस्‌। (मर्कुस १२:३० पढ्‌नुहोस्‌।) यहोवाले दयालु भएर हामीलाई दिनुभएको थुप्रै उपहारमध्ये एउटा उहाँको उपासना गर्ने क्षमता पनि हो। “परमेश्‍वरका आज्ञाहरू पालन” गरेर हामी उहाँलाई प्रेम गरेको देखाउँछौँ। (१ युह. ५:३) चेला बनाउन र बप्तिस्मा गराउन येसुले दिनुभएको आज्ञा हामीले पालन गरेको यहोवा चाहनुहुन्छ। (मत्ति २८:१९) येसुले हामीलाई आपसमा प्रेम गर्न पनि आज्ञा दिनुभयो। (युह. १३:३५) यहोवाले आज्ञाकारी मानिसहरूलाई आफ्नो विशाल परिवारको भाग बनाउनुहुनेछ।—भज. १५:१, २.

१४. हामी अरूलाई प्रेम गरेको कसरी देखाउन सक्छौँ? (मत्ति ९:३६-३८; रोमी १२:१०)

१४ अरूलाई प्रेम गर्नुहोस्‌। प्रेम यहोवाको प्रमुख गुण हो। (१ युह. ४:८) हामीले यहोवालाई चिन्‍नुअघि नै उहाँले हामीलाई प्रेम गर्नुभयो। (१ युह. ४:९, १०) हामी पनि उहाँको देखासिकी गर्दै अरूलाई प्रेम गर्छौँ। (एफि. ५:१) अरूलाई प्रेम देखाउने एउटा राम्रो तरिका भनेको समय छँदै तिनीहरूलाई यहोवाबारे सिक्न मदत गर्नु हो। (मत्ति ९:३६-३८ पढ्‌नुहोस्‌।) यसो गरेर हामीले तिनीहरूलाई यहोवाको परिवारको भाग बन्‍न मदत गरिरहेका हुन्छौँ। कसैले बप्तिस्मा गरिसकेपछि पनि तिनलाई प्रेम र आदर गरिरहनुपर्छ। (१ युह. ४:२०, २१) यसो गर्नुमा के-के समावेश छ? एउटा कुरा, हामी तिनको मनसायमा शङ्‌का गर्दैनौँ। तिनले कुनै काम किन गरे भनेर बुझ्न नसक्दा तिनले त्यो काम गलत मनसायले वा आफ्नो स्वार्थको लागि गरेका हुन्‌ भनेर हामी सोच्ने गर्दैनौँ। बरु हामी तिनलाई आफूभन्दा श्रेष्ठ ठानेर तिनको आदर गर्छौँ।रोमी १२:१० पढ्‌नुहोस्‌; फिलि. २:३.

१५. हामीले कसलाई कृपा र दया देखाउनुपर्छ?

१५ सबै मानिसलाई कृपा र दया देखाउनुहोस्‌। हामी सधैँभरि यहोवाको परिवारको भाग बन्‍न चाहन्छौँ भने हामीले उहाँको वचन बाइबलमा दिइएको कुरा आफ्नो जीवनमा लागू गर्नुपर्छ। उदाहरणको लागि, हामीले सबै मानिसलाई र शत्रुलाई समेत कृपा र दया देखाउनुपर्छ भनेर येसुले सिकाउनुभयो। (लुका ६:३२-३६) तर त्यसो गर्न सायद हामीलाई सधैँ सजिलो हुँदैन। त्यसैले हामीले येसुले जस्तै सोच्न र व्यवहार गर्न सिक्नुपर्छ। यहोवाको आज्ञा पालन गर्न र येसुको अनुकरण गर्न यथासक्दो गरेर हामी सधैँभरि यहोवाको परिवारको भाग बन्‍न चाहन्छौँ भन्‍ने कुरा देखाइरहेका हुन्छौँ।

१६. यहोवाको परिवारको इज्जतमाथि आँच आउन नदिन हामी के गर्न सक्छौँ?

१६ यहोवाको परिवारको इज्जतमाथि आँच आउन नदिनुहोस्‌। साधारणतया परिवारमा दाइले जे गर्छ, सानो भाइले पनि हुबहु त्यही नै गर्ने गर्छ। यदि दाइले आफ्नो जीवनमा बाइबल सिद्धान्तहरू लागू गर्छ भने उसले आफ्नो भाइको लागि राम्रो उदाहरण बसालिरहेको हुन्छ। तर यदि दाइले गलत काम गर्छ भने भाइले पनि उसको खराब उदाहरण पछ्याउन सक्छ। यहोवाको परिवारमा पनि त्यही कुरा लागू हुन्छ। यहोवाको कुनै वफादार सेवक धर्मत्यागी भए अथवा तिनले अनैतिक वा गलत काम गरे भने अरूहरू पनि तिनको खराब उदाहरण पछ्याउने प्रलोभनमा पर्न सक्छन्‌। तिनीहरूले त्यसो गरे भने यहोवाको परिवारको इज्जतमाथि आँच आउन सक्छ। (१ थिस्स. ४:३-८) हामीले यस्ता खराब उदाहरणहरू पछ्याउनु हुँदैन र कुनै पनि कुराले यहोवासितको सम्बन्धलाई बिगार्न दिनु हुँदैन।

१७. हामीले कस्तो सोचाइ राख्नु हुँदैन र किन?

१७ भौतिक कुरामा होइन, यहोवामाथि भरोसा राख्नुहोस्‌। यहोवाको राज्यलाई पहिलो स्थान दियौँ र उहाँको धार्मिक स्तरअनुसार जीवन बितायौँ भने उहाँले हाम्रो लागि गाँस, बास र कपासको प्रबन्ध मिलाइदिने प्रतिज्ञा गर्नुभएको छ। (भज. ५५:२२; मत्ति ६:३३) त्यसैले यस संसारले दिने भौतिक कुराहरूले चिरस्थायी शान्ति र सुरक्षा दिन्छ भनेर हामी सोच्दैनौँ। हामीलाई थाह छ, साँचो शान्ति पाउने एक मात्र तरिका भनेको यहोवाको इच्छाअनुसार चल्नु हो। (फिलि. ४:६, ७) हामीले धेरै सरसामान किन्‍न सक्छौँ भने पनि त्यो प्रयोग गर्न र त्यसको रेखदेख गर्न हामीसँग पर्याप्त समय र शक्‍ति छ कि छैन भनेर विचार गर्नुपर्छ। के हामी आफूसँग भएको धनसम्पत्तिलाई बढ्‌तै महत्त्व दिने प्रलोभनमा पर्न सक्छौँ? हामी सबैले आफ्नो जिम्मेवारी पूरा गरेको यहोवा चाहनुहुन्छ भनेर बिर्सनु हुँदैन। यसको अर्थ, हामी अरू कुरामा अलमलिनु हुँदैन। हामी त्यो जवान धनी मानिसजस्तो हुन चाहँदैनौँ, जसले आफ्नो धनसम्पत्तिलाई प्रेम गरेकोले यहोवाको सेवा गर्ने र उहाँको धर्मपुत्र बन्‍ने सुअवसरलाई लत्यायो।—मर्कु. १०:१७-२२.

यहोवाको सन्तानले सधैँभरि केको आनन्द उठाउनेछन्‌?

१८. आज्ञाकारी मानिसहरूले सधैँभरि कस्तो सम्मान र आशिष्‌हरू पाउनेछन्‌?

१८ आज्ञाकारी मानिसहरूले अहिलेसम्मको सबैभन्दा ठूलो सम्मान अर्थात्‌ सधैँभरि यहोवालाई प्रेम गर्ने र उहाँको उपासना गर्ने सुअवसर पाउनेछन्‌। यसै पृथ्वीमा सधैँभरि बाँच्ने आशा पाएकाहरूले यहोवाले तिनीहरूकै लागि भनेर सृष्टि गर्नुभएको सुन्दर पृथ्वीको रेखदेख गर्ने काममा भाग लिएर आनन्द उठाउनेछन्‌। चाँडै परमेश्‍वरको राज्यले पृथ्वी र यसमा भएका सबै कुरालाई फेरि सुन्दर बनाउनेछ। आदम र हव्वाले परमेश्‍वरको परिवारलाई त्याग्ने निर्णय गरेकोले मानिसजातिले भोग्नुपरेको सबै समस्यालाई येसुले समाधान गर्नुहुनेछ। यहोवाले लाखौँ मानिसलाई फेरि जीवित पार्नुहुनेछ र प्रमोदवनमा परिणत भएको यस पृथ्वीमा पूर्ण स्वस्थ भएर अनन्त जीवनको आनन्द उठाउने मौका दिनुहुनेछ। (लुका २३:४२, ४३) पृथ्वीमा रहेका यहोवाका सेवकहरू त्रुटिरहित अवस्थामा पुगेपछि तिनीहरू प्रत्येकले दाउदले लेखेझैँ यहोवाबाट “गौरव र महिमा” पाउनेछन्‌।—भज. ८:५.

१९. हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१९ यदि तपाईँ “ठूलो भीड”-मध्येको हुनुहुन्छ भने तपाईँसित एउटा अद्‌भुत आशा छ। परमेश्‍वर तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँ उहाँको परिवारको सदस्य बनेको चाहनुहुन्छ। त्यसैले उहाँलाई खुसी पार्न आफूले सकेजति सबै गर्नुहोस्‌। हरेक दिन परमेश्‍वरका प्रतिज्ञाहरूमा मनन गर्नुहोस्‌। स्वर्गमा बस्नुहुने हाम्रा मायालु बुबाको उपासना गर्ने सुअवसरको कदर गर्नुहोस्‌ र भविष्यमा सधैँभरि उहाँको प्रशंसा गर्ने आशामा ध्यान केन्द्रित गर्नुहोस्‌।

गीत १०७ ईश्‍वरीय प्रेमको नमुना

^ अनु. 5 परिवारलाई सुखी बनाउन प्रत्येक सदस्यले आफ्नो भूमिका थाह पाउनुपर्छ र एकअर्कालाई मदत गर्नुपर्छ। बुबाले मायालु तरिकामा नेतृत्व लिन्छन्‌, आमाले तिनलाई साथ दिन्छिन्‌ र छोराछोरीहरू तिनीहरूप्रति आज्ञाकारी हुन्छन्‌। यहोवाको परिवार पनि त्यस्तै छ। परमेश्‍वरले हाम्रो लागि एउटा उद्देश्‍य राख्नुभएको छ। यदि हामी त्यस उद्देश्‍यअनुसार चल्यौँ भने हामी सधैँभरि उहाँको परिवारको सदस्य हुन सक्छौँ।

^ अनु. 55 तस्बिरको व्याख्या: यहोवाले मानिसजातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। त्यसैले एक दम्पती उहाँको अनुकरण गर्दै एकअर्कालाई र छोराहरूलाई प्रेम र कृपा देखाउँछन्‌। तिनीहरू यहोवालाई प्रेम गर्छन्‌ अनि आफ्ना छोराहरूलाई यहोवालाई प्रेम गर्न र उहाँको सेवा गर्न सिकाएर उहाँबाट पाएको यस उपहारको कदर गरेको देखाउँछन्‌। आमाबुबाले आफ्ना छोराहरूलाई एउटा भिडियो देखाएर यहोवाले किन येसुको बलिदान दिनुभयो भनेर बुझाउँछन्‌। साथै आउनै लागेको प्रमोदवनमा हामीले सधैँभरि पृथ्वी र जनावरहरूको हेरचाह गर्नेछौँ भनेर पनि सिकाउँछन्‌।