सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३३

आफूले पाएको सुअवसरमा आनन्दित हुनुहोस्‌

आफूले पाएको सुअवसरमा आनन्दित हुनुहोस्‌

“पाउन नसक्ने कुराको पछि लाग्नुभन्दा आफ्नो अगाडि जे छ, त्यसैमा सन्तुष्ट हुनु बेस हो।”—उप. ६:९.

गीत १११ हामी आनन्दित हुनुको कारण

परिचय *

१. आफ्नो सेवा विस्तार गर्न धेरैले कस्ता लक्ष्यहरू राखेका छन्‌?

 संसारको अन्त नजिकिँदै गएको यस समयमा हामीले गर्नुपर्ने काम धेरै छ। (मत्ति २४:१४; लुका १०:२; १ पत्रु. ५:२) हामी सबै जना यहोवाको सेवामा सकेजति गर्न चाहन्छौँ। त्यसको लागि धेरैले आफ्नो सेवा विस्तार गरिरहेका छन्‌। केहीले अग्रगामी सेवा गर्ने लक्ष्य राखेका छन्‌। अरू केहीले भने बेथेल सेवा अथवा निर्माण सेवा गर्ने लक्ष्य राखेका छन्‌। अनि धेरै भाइहरू सहायक सेवक वा एल्डर हुन अघि बढिरहेका छन्‌। (१ तिमो. ३:१, ८) आफ्ना सेवकहरूमाझ यस्तो इच्छुक मनोभाव देख्दा यहोवा पक्कै खुसी हुनुहुन्छ!—भज. ११०:३; यसै. ६:८.

२. कुनै आध्यात्मिक लक्ष्य हासिल गर्न नसक्दा हामीलाई कस्तो लाग्न सक्छ?

लामो समयसम्म प्रयास गर्दा पनि कुनै आध्यात्मिक लक्ष्य हासिल गर्न नसक्दा हामी निराश हुन सक्छौँ। अथवा उमेर वा अरू परिस्थितिको कारण कुनै सुअवसर नपाउँदा पनि हामी निराश हुन सक्छौँ। (हितो. १३:१२) मेलिसाको * सन्दर्भमा पनि त्यस्तै भयो। तिनको बेथेल सेवा गर्ने वा राज्य प्रचारकहरूका लागि स्कुलमा जाने ठूलो इच्छा थियो तर तिनी यसो भन्छिन्‌, “मेरो उमेर नाघिसकेकोले यी सुअवसरहरू मेरो लागि सपना मात्रै हुन्‌। यसले गर्दा म कहिलेकाहीँ निराश हुन्छु।”

३. केही खास सुअवसर पाउन कसै-कसैले कस्ता कदमहरू चाल्नुपर्छ?

केही जवान र स्वस्थ भाइबहिनीहरू मण्डलीमा थप सुअवसर पाउन चाहन्छन्‌ होला। तर त्यसको लागि तिनीहरू परिपक्व हुनुपर्छ र केही खास गुण विकास गर्नुपर्ने हुन सक्छ। एकातर्फ तिनीहरू चलाख, छिट्टै निर्णय गर्न सक्ने र काम गर्न इच्छुक हुन सक्छन्‌ तर अर्कोतर्फ तिनीहरूले अझ धीरजी हुन, होसियारीसाथ काम गर्न र अरूलाई अझै आदर गर्न सिक्नुपर्ने हुन सक्छ। आफूमा असल गुणहरू विकास गर्नतिर ध्यान दिनुभयो भने तपाईँले आसै नगरेको बेलामा सेवाको कुनै सुअवसर पाउन सक्नुहुन्छ। निकको अनुभव विचार गर्नुहोस्‌। तिनी २० वर्ष पुग्दा तिनलाई सहायक सेवक नियुक्‍त नगरिएकोले तिनी एकदमै निराश भए। तिनी भन्छन्‌, “ममा पक्कै पनि केही कुराको कमी छ जस्तो मलाई लाग्यो।” तर तिनले हार मानेनन्‌। तिनले आफूले पाएका जिम्मेवारीहरू राम्ररी पूरा गरे। अहिले तिनी शाखा समितिको सदस्यको रूपमा सेवा गर्दै छन्‌।

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

कुनै खास आध्यात्मिक लक्ष्य हासिल गर्न नसकेकोले के तपाईँ निराश हुनुहुन्छ? त्यसो हो भने आफूलाई कस्तो लागिरहेको छ भनेर यहोवालाई बताउनुहोस्‌। (भज. ३७:५-७) साथै यहोवाको सेवामा अझै उन्‍नति गर्न के गर्नुपर्छ भनेर बुझ्न परिपक्व भाइहरूसित सल्लाह माग्नुहोस्‌ अनि त्यो सल्लाह लागू गर्न सक्दो प्रयास गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ आफ्नो लक्ष्यसम्म पुग्न सक्नुहुन्छ। तर अगाडि उल्लेख गरिएकी मेलिसाको सन्दर्भमा जस्तै तपाईँले पनि आफूले चाहेको कुनै सुअवसर तुरुन्तै पाउनुहुन्‍न होला। त्यसोभए तपाईँ आफ्नो आनन्द कसरी कायम राख्न सक्नुहुन्छ? यस प्रश्‍नको जवाफको लागि यस लेखमा यी कुराहरू छलफल गरिनेछ: (१) तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ? (२) तपाईँ आफ्नो आनन्द कसरी बढाउन सक्नुहुन्छ? र (३) तपाईँलाई अझै आनन्दित बनाउने कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ?

तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ?

५. आनन्दित हुन हामीले केमा ध्यान दिनुपर्छ? (उपदेशक ६:९)

आनन्दित हुन हामीले के गर्नुपर्छ भनेर उपदेशक ६:९ मा बताइएको छ। (पढ्‌नुहोस्‌।) “आफ्नो अगाडि जे छ, त्यसैमा सन्तुष्ट” हुने व्यक्‍तिले आफूसँग भएका कुराहरूको मोल गर्छ, जसमा तिनको हालको परिस्थिति पनि पर्छ। त्यसको ठीक विपरीत आफूले ‘पाउन नसक्ने कुराको पछि लाग्ने’ व्यक्‍ति कहिल्यै सन्तुष्ट हुँदैन। यसबाट हामी के सिक्न सक्छौँ? आनन्दित हुन हामीले अहिले आफूसँग भएका कुराहरूमा ध्यान दिनुपर्छ अनि आफूले हासिल गर्न सक्ने लक्ष्यहरू राख्नुपर्छ।

६. अब हामी कुन उदाहरण विचार गर्नेछौँ अनि यसबाट हामी के सिक्नेछौँ?

के आफूसित भएको कुरामा सन्तुष्ट हुन सम्भव छ? धेरै मानिसको विचारमा यो असम्भव छ किनभने हामीलाई नयाँ-नयाँ कुराहरू सिक्न मन पर्छ। तर यो सम्भव छ। हामी “आफ्नो अगाडि जे छ,” त्यसलाई स्विकार्ने मात्रै होइन तर त्यसमा सन्तुष्ट पनि हुन सक्छौँ। कसरी? त्यो कुरा थाह पाउन मत्ति २५:१४-३० मा येसुले दिनुभएको टालेन्टको उदाहरण विचार गरौँ। अहिले आफूले पाइरहेका आशिष्‌हरूमा आनन्दित हुने र आफ्नो आनन्द बढाउने सन्दर्भमा यस उदाहरणबाट के सिक्न सक्छौँ, विचार गर्नेछौँ।

तपाईँ आफ्नो आनन्द कसरी बढाउन सक्नुहुन्छ?

७. येसुले दिनुभएको टालेन्टको उदाहरण छोटकरीमा बताउनुहोस्‌।

येसुले बताउनुभएको उदाहरणका मानिस यात्रामा निस्कन लागेका थिए। यात्रामा निस्कनुअघि तिनले आफ्ना दासहरूलाई बोलाए र व्यापार गर्न तिनीहरू प्रत्येकलाई टालेन्ट दिए। * दासहरूको क्षमतालाई विचार गर्दै तिनले पहिलो दासलाई पाँच टालेन्ट, दोस्रोलाई दुई टालेन्ट र तेस्रोलाई एक टालेन्ट दिए। पहिलो र दोस्रो दासले अझ धेरै कमाउन लगनशील भई काम गरे तर तेस्रो दासले भने आफूले पाएको पैसा लुकाएर राखे। त्यसैले मालिकले उनलाई कामबाट निकालिदिए।

८. पहिलो दास किन आनन्दित हुन सक्थे?

मालिकले आफूमाथि भरोसा गरेर पाँच टालेन्ट दिएकोमा पहिलो दास धेरै खुसी थिए। यो ठूलो धनराशि थियो र यसबाट मालिकले पहिलो दासलाई धेरै भरोसा गर्थे भन्‍ने कुरा देखियो। तर दोस्रो दासबारे के भन्‍न सकिन्छ? पहिलो दासले जति नै टालेन्ट नपाएकोले उनी निराश हुन सक्थे तर उनले कस्तो प्रतिक्रिया देखाए?

येसुको उदाहरणको दोस्रो दासबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? (१) उनले मालिकबाट दुई टालेन्ट पाए। (२) उनले आफ्नो मालिकको लागि अझ धेरै कमाउन मेहनत गरे। (३) उनले मालिकको टालेन्टबाट दुई गुणा कमाए (अनुच्छेद ९-११ हेर्नुहोस्‌)

९. येसुले दोस्रो दासबारे के भन्‍नुभएन? (मत्ति २५:२२, २३)

मत्ति २५:२२, २३ पढ्‌नुहोस्‌। दुई टालेन्ट मात्र पाएकोले दोस्रो दास निराश भए वा रिसाए भनेर येसुले भन्‍नुभएन। अनि ती दासले यसरी गुनासो गरे पनि भन्‍नुभएन: ‘मलाई चाहिँ यति मात्रै? म पनि त पाँच टालेन्ट पाउने दासले जति नै मेहनत गर्न सक्छु नि! मालिकले मेरो कामको कदर गर्नुहुन्‍न भने म पनि यी दुई टालेन्ट जमिनमा लगेर गाड्‌छु अनि आफ्नै लागि काम गर्छु।’

१०. टालेन्ट पाएपछि दोस्रो दासले के गरे?

१० पहिलो दासले जस्तै दोस्रो दासले पनि मालिकले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिए अनि मालिकको लागि मेहनती भएर काम गरे। नतिजास्वरूप उनले मालिकले दिएको टालेन्टबाट दुई गुणा कमाए। ती दासको लगनशीलता र कडा मेहनतको लागि मालिकले उनलाई इनाम दिए। मालिक उनीदेखि खुसी मात्र भएनन्‌ बरु तिनले उनको प्रशंसा गरे अनि थप जिम्मेवारी पनि दिए।

११. हामी आफ्नो आनन्द कसरी बढाउन सक्छौँ?

११ त्यसैगरि यहोवाको सेवामा आफूले पाएको जुनसुकै जिम्मेवारी तनमनले पूरा गरेर हामी आफ्नो आनन्द बढाउन सक्छौँ। साक्षीकार्यमा “व्यस्त” हुनुहोस्‌ अनि मण्डलीका गतिविधिमा पूरापूर भाग लिनुहोस्‌। (प्रेषि. १८:५; हिब्रू १०:२४, २५) सभामा उत्थानदायी टिप्पणी दिन राम्ररी तयारी गर्नुहोस्‌। मध्यहप्ताको सभामा आफूले पाएको जुनसुकै असाइनमेन्टलाई गम्भीरतापूर्वक लिनुहोस्‌। मण्डलीमा कुनै खास कामको लागि तपाईँको मदत मागियो भने समयनिष्ठ र भरोसायोग्य हुनुहोस्‌। आफूले पाएको कुनै पनि जिम्मेवारीलाई हल्कासित नलिनुहोस्‌। आफ्नो काममा अझै सिपालु हुन मेहनत गर्नुहोस्‌। (हितो. २२:२९) आध्यात्मिक गतिविधिमा भाग लिन र असाइनमेन्ट पूरा गर्न तपाईँ जति धेरै मेहनत गर्नुहुन्छ, तपाईँले त्यति नै चाँडो उन्‍नति गर्न सक्नुहुन्छ र तपाईँको आनन्द पनि बढ्‌नेछ। (गला. ६:४) साथै आफूले चाहेको सुअवसर अरू कसैले पाउँदा तपाईँ तिनीसितै रमाउन पनि सक्नुहुनेछ।—रोमी १२:१५; गला. ५:२६.

१२. दुई जना साक्षीले आफ्नो आनन्द बढाउन के गरे?

१२ अगाडि उल्लेख गरिएकी मेलिसालाई सम्झनुहोस्‌। तिनी बेथेल सेवा गर्न वा राज्य प्रचारकहरूका लागि स्कुलमा जान चाहन्थिन्‌। तिनको यो चाहना पूरा नभए पनि तिनी यसो भन्छिन्‌: “म तनमनले अग्रगामी सेवा गर्न र साक्षीकार्यको विभिन्‍न पक्षमा भाग लिन प्रयास गर्दै छु। यसो गर्दा म आनन्दित हुन सकेकी छु।” निकलाई पनि विचार गर्नुहोस्‌। आफूलाई सहायक सेवकको रूपमा नियुक्‍त नगरिँदा तिनले कसरी निराशाको सामना गरे? तिनी भन्छन्‌: “मैले आफूले गर्न सक्ने कुरामा ध्यान दिएँ, जस्तै: साक्षीकार्यमा भाग लिने अनि सभामा अर्थपूर्ण टिप्पणी दिने। मैले बेथेल सेवाको लागि आवेदन पनि दिएँ अनि त्यसपछिको वर्षमा नै मलाई बेथेल बोलाइयो।”

१३. अहिलेको आफ्नो असाइनमेन्ट तनमनले पूरा गर्नुभयो भने नतिजा कस्तो हुनेछ? (उपदेशक २:२४)

१३ अहिलेको आफ्नो असाइनमेन्ट तनमनले पूरा गर्नुभयो भने के तपाईँले भविष्यमा थप जिम्मेवारीहरू पाउनुहुनेछ? निकले जस्तै सायद पाउनुहुनेछ। तर पाउनुभएन भने पनि मेलिसाले जस्तै आफ्नो आनन्द बढाउन सक्नुहुनेछ र यहोवाको लागि अहिले आफूले गरिरहेको काममा सन्तुष्ट हुन सक्नुहुनेछ। (उपदेशक २:२४ पढ्‌नुहोस्‌।) साथै तपाईँको मेहनत देखेर हाम्रा मालिक येसु ख्रिष्ट खुसी हुनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा तपाईँको आनन्द अझ बढ्‌नेछ।

तपाईँलाई अझ आनन्दित बनाउने लक्ष्यहरू

१४. आध्यात्मिक लक्ष्यहरूको सन्दर्भमा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१४ हुनत तपाईँ अहिले आफूले पाएको असाइनमेन्ट पूरा गर्न सक्दो गर्दै हुनुहुन्छ होला। तर के यसको मतलब तपाईँले यतिमै चित्त बुझाएर बस्नुपर्छ भन्‍ने हो? पटक्कै होइन। हामीले साक्षीकार्यमा उन्‍नति गर्न र भाइबहिनीको लागि अझ उपयोगी हुन मदत गर्ने आध्यात्मिक लक्ष्यहरू राख्नुपर्छ। हामीले आफूमा नभई बुद्धिमान्‌ र मर्यादित हुँदै अरूको कुरामा ध्यान दियौँ भने हामी पक्कै सफल हुनेछौँ।—हितो. ११:२; प्रेषि. २०:३५.

१५. तपाईँलाई आफ्नो आनन्द बढाउन मदत गर्ने केही लक्ष्य के-के हुन्‌?

१५ तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ? आफूले कुन लक्ष्य हासिल गर्न सक्छु र कुन सक्दिनँ भनेर बुझ्न यहोवासित मदत माग्नुहोस्‌। (हितो. १६:३; याकु. १:५) यस लेखको  पहिलो अनुच्छेदमा सहायक वा नियमित अग्रगामी, बेथेल सेवा वा निर्माणकार्यजस्ता लक्ष्यहरूबारे उल्लेख गरिएको थियो। तपाईँ तीमध्ये कुनै एउटा लक्ष्य राख्न सक्नुहुन्छ कि? अथवा तपाईँको अवस्थाले दिन्छ भने सुसमाचार फैलाउन नयाँ भाषा सिक्न वा आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न सक्नुहुन्छ। यी लक्ष्यहरूबारे थप जानकारी लिन यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताबको अध्याय १० पढ्‌नुहोस्‌ र मण्डलीका एल्डरहरूसित कुरा गर्नुहोस्‌। * यस्ता लक्ष्यहरू हासिल गर्न प्रयास गर्दा अरूले तपाईँको प्रगति देख्नेछन्‌ र तपाईँको आनन्द पनि बढ्‌नेछ।

१६. तपाईँ अहिले कुनै खास लक्ष्य हासिल गर्न सक्नुहुन्‍न भने पनि के गर्न सक्नुहुन्छ?

१६ तर तपाईँ अहिले यस लेखमा छलफल गरिएका लक्ष्यहरू हासिल गर्न सक्नुहुन्‍न भने नि? त्यसो हो भने तपाईँले अहिल्यै हासिल गर्न सक्ने अर्को कुनै लक्ष्य राख्न सक्नुहुन्छ। आउनुहोस्‌, तपाईँले राख्न सक्ने केही लक्ष्य विचार गरौँ।

तपाईँले हासिल गर्न सक्ने एउटा लक्ष्य के हो? (अनुच्छेद १७ हेर्नुहोस्‌) *

१७. पहिलो तिमोथि ४:१३, १५ अनुसार राम्रो शिक्षक बन्‍न कुनै भाइले के गर्न सक्छन्‌?

१७ पहिलो तिमोथि ४:१३, १५ पढ्‌नुहोस्‌। तपाईँ बप्तिस्मा गरिसकेको भाइ हुनुहुन्छ भने आफ्नो बोल्ने र सिकाउने क्षमतामा अझ उन्‍नति गर्ने लक्ष्य राख्न सक्नुहुन्छ। किन? किनभने तपाईँ पढ्‌ने, बोल्ने र सिकाउने काममा ‘डुबिरहनुभयो’ अर्थात्‌ ती क्षेत्रहरूमा प्रगति गरिरहनुभयो भने तपाईँका श्रोताहरूले धेरै लाभ उठाउनेछन्‌। पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌ पुस्तिकामा छलफल गरिएका बुँदाहरू अध्ययन गर्ने र लागू गर्ने लक्ष्य राख्नुहोस्‌। एक चोटिमा एउटा बुँदाबारे अध्ययन गर्नुहोस्‌। घरमा राम्रोसँग अभ्यास गर्नुहोस्‌ र आफ्नो भाषणमा त्यो बुँदा लागू गर्ने प्रयास गर्नुहोस्‌। “बोल्ने र सिकाउने काममा कडा परिश्रम” गर्ने सहायक सल्लाहकार वा अरू एल्डरसँग सल्लाह माग्नुहोस्‌। * (१ तिमो. ५:१७) पुस्तिकामा छलफल गरिएका बुँदाहरू लागू गर्ने तरिकामा मात्र ध्यान दिने नगर्नुहोस्‌। बरु श्रोताहरूलाई विश्‍वास बलियो बनाउन वा कुनै खास कदम चाल्न उत्प्रेरित गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँको र तपाईँको कुरा सुन्‍नेहरूको आनन्द बढ्‌नेछ।

तपाईँले हासिल गर्न सक्ने एउटा लक्ष्य के हो? (अनुच्छेद १८ हेर्नुहोस्‌) *

१८. साक्षीकार्यमा सिपालु हुने लक्ष्य हासिल गर्न हामीलाई केले मदत गर्छ?

१८ हामी सबैले साक्षी दिने र चेला बनाउने जिम्मेवारी पाएका छौँ। (मत्ति २८:१९, २०; रोमी १०:१४) के तपाईँ यो महत्त्वपूर्ण काममा अझ दक्ष हुन चाहनुहुन्छ? तपाईँ पढ्‌ने र सिकाउने पुस्तिका अध्ययन गरेर त्यसमा भएको कुनै खास बुँदा लागू गर्ने लक्ष्य राख्न सक्नुहुन्छ। तपाईँ हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका र मध्यहप्ताको सभामा देखाइने नमुना कुराकानीको भिडियोहरूबाट अन्य व्यावहारिक सुझावहरू पाउन सक्नुहुन्छ। तपाईँको इलाकाको लागि कुन सुझाव प्रभावकारी छ भनेर पत्ता लगाउन ती सुझावहरू लागू गरेर हेर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ सिपालु ख्रिष्टियन सेवक बन्‍न सक्नुहुन्छ र तपाईँको आनन्द पनि बढ्‌नेछ।—२ तिमो. ४:५.

तपाईँले हासिल गर्न सक्ने एउटा लक्ष्य के हो? (अनुच्छेद १९ हेर्नुहोस्‌) *

१९. तपाईँ कसरी असल ख्रिष्टियनमा हुनुपर्ने गुणहरू विकास गर्न सक्नुहुन्छ?

१९ तपाईँले राख्न सक्ने एउटा सबैभन्दा महत्त्वपूर्ण लक्ष्य भनेको असल ख्रिष्टियनमा हुनुपर्ने गुणहरू विकास गर्नु हो भनेर नबिर्सनुहोस्‌। (गला. ५:२२, २३; कल. ३:१२; २ पत्रु. १:५-८) यो लक्ष्य हासिल गर्न तपाईँ के गर्न सक्नुहुन्छ? मानौँ, तपाईँ आफ्नो विश्‍वास अझ बलियो बनाउन चाहनुहुन्छ। यसको लागि तपाईँ हाम्रा प्रकाशनहरूमा विश्‍वास बलियो बनाउन मदत गर्ने व्यावहारिक सुझावहरू दिइएका लेखहरू पढ्‌न सक्नुहुन्छ। साथै तपाईँ JW ब्रोडकास्टिङमा विभिन्‍न परीक्षाहरूको बाबजुद विश्‍वासमा अडिग रहेका भाइबहिनीको भिडियो हेरेर पनि लाभ उठाउन सक्नुहुन्छ। त्यसपछि तपाईँ तिनीहरूको विश्‍वास कसरी अनुकरण गर्न सक्नुहुन्छ भनेर विचार गर्नुहोस्‌।

२०. हामी कसरी आफ्नो आनन्द बढाउन र निराशा कम गर्न सक्छौँ?

२० पक्कै पनि हामी सबै जना यहोवाको सेवामा जति गरिरहेका छौँ, त्योभन्दा अझ धेरै गर्न चाहन्छौँ। परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारमा हामी सबैले उहाँको सेवामा चाहेजति गर्न सक्नेछौँ। त्यतिन्जेल अहिले आफूले पाएको जिम्मेवारी राम्ररी पूरा गरेर हामी आफ्नो आनन्द बढाउन र निराशा कम गर्न सक्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले हाम्रो “आनन्दित परमेश्‍वर” यहोवाको महिमा र प्रशंसा गर्न सक्छौँ। (१ तिमो. १:११) त्यसैले हामी सबै जना आफूले पाएका सुअवसरहरूमा आनन्दित भइरहौँ!

गीत ८२ “तिमीहरूको ज्योति चम्कोस्‌”

^ अनु. 5 हामी यहोवालाई धेरै माया गर्छौँ अनि उहाँको सेवामा सकेजति गर्न चाहन्छौँ। त्यसैले सायद हामी आफ्नो सेवा विस्तार गर्न अथवा मण्डलीमा सुअवसरहरूको लागि योग्य हुन अघि बढ्‌छौँ। तर आफूले सक्दो गर्दा पनि कुनै लक्ष्य हासिल गर्न सकेनौँ भने नि? हामी कसरी यहोवाको सेवामा लागिरहन सक्छौँ र आनन्द कायम राख्न सक्छौँ? येसुले दिनुभएको टालेन्टको उदाहरणबाट हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

^ अनु. 2 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 7 थप व्याख्या: एक टालेन्ट भनेको एक जना साधारण कामदारको लगभग २० वर्षको ज्याला हो।

^ अनु. 15 बप्तिस्मा गरिसकेका भाइहरूलाई सहायक सेवक र एल्डरको जिम्मेवारीको लागि योग्य हुन प्रोत्साहन दिइन्छ। सहायक सेवक र एल्डरको योग्यताबारे थप जानकारीको लागि यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताबको अध्याय ५ र हेर्नुहोस्‌।

^ अनु. 17 थप व्याख्या: सहायक सल्लाहकार भनेको मण्डलीमा जुनसुकै असाइनमेन्ट प्रस्तुत गर्ने एल्डर वा सहायक सेवकलाई व्यक्‍तिगत रूपमा आवश्‍यक सल्लाह दिने जिम्मेवारी पाएका एल्डर हुन्‌।

^ अनु. 64 तस्बिरको व्याख्या: अझ राम्रो शिक्षक बन्‍ने लक्ष्य हासिल गर्न एक जना भाइ हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्छन्‌।

^ अनु. 66 तस्बिरको व्याख्या: अनौपचारिक साक्षी दिने लक्ष्य राखेकी एक बहिनी रेष्टुरेन्टमा काम गर्ने एक महिलालाई JW कार्ड दिन्छिन्‌।

^ अनु. 68 तस्बिरको व्याख्या: असल ख्रिष्टियनमा हुनुपर्ने गुणहरू विकास गर्न प्रयास गरिरहेकी एक बहिनीले अर्की बहिनीलाई तिनले आशै नगरेको समयमा उपहार दिन्छिन्‌।