सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३४

यहोवाको भलाइ ‘चाख्नुहोस्‌’—कसरी?

यहोवाको भलाइ ‘चाख्नुहोस्‌’—कसरी?

“चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ; आनन्दित हो त्यो मानिस, जसले उहाँमा शरण लिन्छ।”—भज. ३४:८.

गीत ११७ भलाइ गरौँ!

परिचय *

१-२. भजन ३४:८ अनुसार हामी यहोवाको भलाइबारे कसरी सिक्न सक्छौँ?

कल्पना गर्नुहोस्‌, तपाईँले कहिल्यै नखानुभएको खानेकुरा कसैले तपाईँलाई खान दिन्छ। तपाईँ त्यस खानेकुरालाई हेरेर, त्यसको बास्ना लिएर, त्यो पकाउने तरिका सिकेर अथवा अरूलाई त्यो खानेकुरा कस्तो लाग्छ भनी सोधेर त्यसबारे केही कुरा थाह पाउन सक्नुहुन्छ। तर तपाईँलाई त्यो खानेकुरा मन पर्छ कि पर्दैन भनेर थाह पाउन तपाईँले त्यो आफैले चाख्नुपर्छ।

बाइबल तथा अरू प्रकाशन पढेर अथवा अरूले यहोवाबाट पाएका आशिष्‌हरूबारे बताउँदा तिनीहरूको कुरा सुनेर हामी यहोवाको भलाइबारे केही कुरा त सिक्न सक्छौँ। तर यहोवा कत्ति भलो हुनुहुन्छ भनेर बुझ्न हामी आफैले उहाँको भलाइ ‘चाख्नुपर्छ।’ (भजन ३४:८ पढ्‌नुहोस्‌।) त्यसो गर्न सक्ने एउटा तरिका विचार गरौँ। मानौँ, हामी पूर्ण-समय सेवाको कुनै पक्षमा भाग लिन चाहन्छौँ। तर त्यस लक्ष्यसम्म पुग्न हामीले आफ्नो जीवन सरल बनाउनुपर्ने हुन्छ। राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिँदा यहोवाले हाम्रा आवश्‍यकताहरू पूरा गरिदिनुहुनेछ भनेर येसुले गर्नुभएको प्रतिज्ञा हामीले थुप्रै चोटि पढेका छौँ होला। तर आफैमा त्यो प्रतिज्ञा पूरा भएको अनुभव भने गरेका छैनौँ होला। (मत्ति ६:३३) तैपनि हामी येसुको प्रतिज्ञामा विश्‍वास गर्दै आफ्नो खर्च घटाउँछौँ, काममा छाँटकाँट गर्छौँ र साक्षीकार्यमा सकेजति भाग लिन्छौँ। यसो गर्दा यहोवा साँच्चै हाम्रा आवश्‍यकताहरूको ख्याल राख्नुहुन्छ भनेर हामीले आफ्नै अनुभवबाट सिक्न सक्छौँ। हामीले व्यक्‍तिगत रूपमा यहोवाको भलाइ ‘चाख्न’ सक्नेछौँ।

३. भजन १६:१, २ अनुसार कसले यहोवाको भलाइ अनुभव गर्न सक्छन्‌?

यहोवा “सबैको भलाइ गर्नुहुन्छ,” उहाँलाई नचिनेकाहरूको समेत। (भज. १४५:९; मत्ति ५:४५) तर अझ विशेषगरि यहोवालाई प्रेम गर्ने र तनमनले उहाँको सेवा गर्नेहरूले उहाँबाट प्रशस्तै आशिष्‌ पाउँछन्‌। (भजन १६:१, २ पढ्‌नुहोस्‌।) यहोवाको भलाइबाट लाभ उठाउने केही तरिका विचार गरौँ।

४. यहोवा उहाँसित नजिक हुन थालेकाहरूलाई कसरी भलाइ देखाउनुहुन्छ?

हरेक चोटि यहोवाबाट सिकेको कुरा लागू गर्दा त्यसले हाम्रो जीवनमा फाइदा पुऱ्‍याएको हामी अनुभव गर्न सक्छौँ। हामीले यहोवाबारे सिकेर उहाँलाई प्रेम गर्न थालेपछि उहाँले हामीलाई उहाँलाई मन नपर्ने सोचाइ र आनीबानी त्याग्न मदत गर्नुभयो। (कल. १:२१) साथै जब हामीले आफ्नो जीवन यहोवालाई समर्पण गरेर बप्तिस्मा गऱ्‍यौँ, तब हामीले उहाँको भलाइ अझै अनुभव गर्न सक्यौँ। जस्तै, हामीले उहाँबाट सफा अन्तस्करण पायौँ र उहाँसित गहिरो मित्रता गाँस्न सक्यौँ।—१ पत्रु. ३:२१.

५. हामी साक्षीकार्यमा यहोवाको भलाइ कसरी अनुभव गर्न सक्छौँ?

साक्षीकार्यमा भाग लिँदा हामी यहोवाको भलाइ अनुभव गरिरहन सक्छौँ। के तपाईँ लजालु स्वभावको हुनुहुन्छ? यहोवाका थुप्रै जन त्यस्तै छन्‌। सायद यहोवाको सेवक बन्‍नुअघि तपाईँले अपरिचित व्यक्‍तिको घरमा गएर ढोका ढकढक्याउने र तिनीसित बाइबलबारे कुरा गर्नेबारे सोच्नुसमेत भएको थिएन होला। तर अहिले तपाईँ नियमित रूपमा त्यसो गर्दै हुनुहुन्छ। अझै भन्‍नुपर्दा, यहोवाको मदत पाएकोले तपाईँले आनन्दित हुँदै साक्षीकार्यमा भाग लिन सक्नुभएको छ। तर तपाईँले अरू थुप्रै तरिकामा यहोवाको मदत अनुभव गर्नुभएको छ। विरोध गर्ने व्यक्‍ति भेट्‌दा शान्त रहन उहाँले तपाईँलाई मदत गर्नुभएको छ। उहाँले तपाईँलाई कुराकानी गर्न इच्छुक घरधनीलाई देखाउन उपयुक्‍त शास्त्रपद सम्झन पनि मदत गर्नुभएको छ। मानिसहरूले चासो नदेखाए तापनि साक्षीकार्यमा लागिरहन यहोवाले तपाईँलाई बल दिनुभएको छ।—यर्मि. २०:७-९.

६. यहोवाले दिनुहुने तालिम उहाँको भलाइको प्रमाण हो भनेर हामी किन भन्‍न सक्छौँ?

साक्षीकार्यको लागि तालिम दिनुभएर पनि यहोवाले हामीलाई भलाइ देखाउनुभएको छ। (युह. ६:४५) मध्यहप्ताको सभामा हामी राम्ररी सोचविचार गरेर तयार पारिएका नमुना कुराकानीहरू सुन्छौँ र हामीलाई साक्षीकार्यमा ती प्रयोग गर्न प्रोत्साहन दिइन्छ। सुरुमा हामीलाई नयाँ तरिका प्रयोग गर्न अप्ठ्यारो लाग्न सक्छ। तर यसो गऱ्‍यौँ भने ती सुझावहरू हाम्रो इलाकामा प्रभावकारी भएको देख्नेछौँ। सभा तथा अधिवेशनमा हामीलाई साक्षीकार्यका त्यस्ता पक्षहरूमा भाग लिन प्रोत्साहन दिइन्छ, जसमा हामीले पहिला कहिल्यै भाग लिएका थिएनौँ। सुरुमा त त्यसो गर्न सजिलो नहोला तर यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुहुनेछ। हाम्रो अवस्था जस्तोसुकै भए पनि यहोवालाई सबैभन्दा उत्तम कुरा दिन नयाँ-नयाँ तरिका अपनाउँदा हामीले पाउने केही आशिष्‌बारे अब हामी विचार गरौँ। त्यसपछि आफ्नो सेवा विस्तार गर्ने केही तरिका विचार गर्नेछौँ।

यहोवा उहाँमाथि भरोसा गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ

७. सेवा विस्तार गर्ने कोसिस गर्दा हामी कस्तो आशिष्‌ पाउन सक्छौँ?

हामी यहोवासित अझ नजिक हुन सक्छौँ। कोलम्बियामा आफ्नी श्रीमतीसँगै सेवा गर्ने एक जना एल्डर स्यामुएलको * उदाहरण विचार गरौँ। तिनीहरूले आफ्नै मण्डलीमा अग्रगामी सेवाको आनन्द उठाउँदै थिए। तर तिनीहरू आवश्‍यकता धेरै भएको मण्डलीमा सरेर आफ्नो सेवा विस्तार गर्न चाहन्थे। त्यो लक्ष्यसम्म पुग्न तिनीहरूले केही त्याग गर्नुपर्थ्यो। स्यामुएल भन्छन्‌, “हामीले मत्ति ६:३३ लागू गऱ्‍यौँ र आवश्‍यक नभएका सामानहरू किन्‍न छोड्यौँ। तर अपार्टमेन्ट छोड्‌नु हाम्रो लागि सबैभन्दा गाह्रो कुरा थियो। त्यो अपार्टमेन्ट हामीले चाहेकै तरिकामा डिजाइन गरिएको थियो र त्यो हाम्रो आफ्नै भएकोले भाँडा पनि तिर्नु पर्दैनथ्यो।” नयाँ मण्डलीमा सरिसकेपछि तिनीहरूले पहिलाभन्दा धेरै कम खर्चमा गुजारा चलाउन सके। स्यामुएल भन्छन्‌, “यहोवा हामीलाई कसरी डोऱ्‍याउनुहुन्छ र हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर हामीले देखेका छौँ। हामीले पहिला कहिल्यै अनुभव नगरेको तरिकामा उहाँको अनुमोदन र माया अनुभव गर्दै छौँ।” के तपाईँ पनि कुनै तरिकामा आफ्नो सेवा विस्तार गर्न सक्नुहुन्छ? त्यसो हो भने तपाईँ यहोवासित अझ नजिक हुन सक्नुहुन्छ र उहाँले तपाईँको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा तपाईँ ढुक्क हुन सक्नुहुन्छ।—भज. १८:२५.

८. इभान र भिक्टोरियाले भनेको कुराबाट तपाईँले के सिक्नुभयो?

हामी सेवामा आनन्दित हुन सक्छौँ। किर्गिजस्तानमा अग्रगामीको रूपमा सेवा गर्ने एक विवाहित दम्पती इभान र भिक्टोरियाले भनेको कुरा याद गर्नुहोस्‌। निर्माणकार्य र अरू जुनसुकै असाइनमेन्टमा स्वयंसेवा गर्न सकियोस्‌ भनेर तिनीहरूले आफ्नो जीवन सरल बनाए। इभान यसो भन्छन्‌, “आफूले पाएको हरेक असाइनमेन्टमा हामीले सकेजति मेहनत गऱ्‍यौँ। हुनत दिनको अन्तमा हामी थकित हुन्थ्यौँ तर आफ्नो शक्‍ति राज्य गतिविधिमा प्रयोग गर्दै छौँ भनेर सोच्दा हामी मनोशान्ति र सन्तुष्टि पाउँथ्यौँ। नयाँ साथीहरू बनाउन र मीठा यादहरू सँगाल्न सकेकोमा हामी धेरै खुसी छौँ।”—मर्कु. १०:२९, ३०.

९. अवस्था गाह्रो भए पनि आफ्नो सेवा विस्तार गर्न एक बहिनीले के गरेकी छिन्‌ र नतिजा कस्तो भएको छ?

अवस्था गाह्रो भए पनि यहोवाको सेवामा हामी आनन्दित हुन सक्छौँ। उदाहरणको लागि, दक्षिण अफ्रिकाकी एक वृद्ध विधवा मिएरा डाक्टर थिइन्‌। कामबाट अवकाश पाएपछि तिनले अग्रगामी सेवा सुरु गरिन्‌। मिएरा गम्भीर किसिमको बाथ रोगले ग्रस्त भएकीले घरघरको साक्षीकार्यमा एक घण्टाभन्दा बढी बिताउन सक्दिनन्‌। तर तिनी सार्वजनिक साक्षीकार्यमा बढी समय बिताउन सक्छिन्‌। तिनको थुप्रै पुनःभेट र बाइबल अध्ययन छन्‌। तिनीहरूमध्ये कोही-कोहीसित तिनी टेलिफोनमार्फत छलफल गर्छिन्‌। यहोवाको सेवामा अझ धेरै गर्न मिएरालाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? तिनी भन्छिन्‌, “मेरो हृदय यहोवा र येसु ख्रिष्टप्रतिको प्रेमले भरिएको छ अनि म यहोवाको सेवामा सकेजति गर्न सकूँ भनेर निरन्तर उहाँलाई प्रार्थना गर्छु।”—मत्ति २२:३६, ३७.

१०. पहिलो पत्रुस ५:१० अनुसार सेवा विस्तार गर्नेहरूले यहोवाबाट के पाउँछन्‌?

१० हामी यहोवाबाट थप तालिम पाउँछौँ। मरिससमा अग्रगामी सेवा गर्ने केनीले यो कुरा अनुभव गर्न सकेका छन्‌। सत्य सिकेपछि तिनले विश्‍वविद्यालयको पढाइ छोडे, बप्तिस्मा गरे र पूर्ण-समय सेवा सुरु गरे। केनी भन्छन्‌, “म भविष्यवक्‍ता यसैयाजस्तै हुने प्रयास गर्छु, जसले यसो भने: ‘म हाजिर छु! मलाई पठाउनुहोस्‌!’” (यसै. ६:८) केनीले थुप्रै निर्माण परियोजनामा भाग लिएका छन्‌ र आफ्नो मातृभाषामा बाइबलआधारित प्रकाशनहरू अनुवाद गर्न पनि मदत गरेका छन्‌। केनी यसो भन्छन्‌, “मैले आफूलाई सुम्पिइएको असाइनमेन्ट पूरा गर्न आवश्‍यक तालिम पाएँ।” तर तिनले आफूले पाएको तालिमबाट काम गर्ने तरिका मात्र सिकेनन्‌। तिनी भन्छन्‌, “मैले आफ्ना सीमितताहरू बुझेँ र यहोवाको असल सेवक बन्‍न मैले विकास गर्नुपर्ने गुणहरूबारे पनि थाह पाएँ।” (१ पत्रुस ५:१० पढ्‌नुहोस्‌।) तपाईँले पनि आफ्नो परिस्थिति केलाउनुभए कसो होला? यहोवाबाट थप तालिम पाउन तपाईँ पनि आफ्नो काममा केही छाँटकाँट गर्न सक्नुहुन्छ कि?

एक दम्पती आवश्‍यकता धेरै भएको इलाकामा साक्षीकार्यमा भाग लिँदै छन्‌; एक जवान बहिनी सभाभवन निर्माणकार्यमा सघाउँदै छिन्‌; एक वृद्ध दम्पती टेलिफोन साक्षीमा भाग लिँदै छन्‌। तिनीहरू सबै जनाले यहोवाको सेवाबाट आनन्द उठाउँदै छन्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. साक्षीकार्यमा भाग लिन दक्षिण कोरियाका तीन जना दिदीले कस्तो प्रयास गरे र नतिजा कस्तो भयो? (आवरण चित्र हेर्नुहोस्‌।)

११ अनुभवी भाइबहिनीलाई पनि साक्षीकार्यको नयाँ पक्षमा भाग लिन तालिमको आवश्‍यकता पर्छ। कोभिड-१९ महामारीको दौडान दक्षिण कोरियाको एउटा मण्डलीका एल्डरहरूले यस्तो लेखे, “आफ्नो स्वास्थ्यको कारण क्षेत्र सेवामा भाग लिन सक्दिनँ भनी सोचेका कोही-कोहीले अहिले भिडियो कन्फरेन्सिङ्‌मार्फत त्यसो गर्दै छन्‌। असी वर्ष नाघिसकेका तीन जना दिदीले नयाँ प्रविधि चलाउन सिके र तिनीहरू हरेक दिनजसो नै साक्षीकार्यमा भाग लिँदै छन्‌।” (भज. ९२:१४, १५) के तपाईँ पनि आफ्नो सेवा विस्तार गरेर यहोवाको भलाइ अझ धेरै चाख्न चाहनुहुन्छ? त्यस लक्ष्यसम्म पुग्न तपाईँले चाल्न सक्ने केही कदम अब विचार गरौँ।

तपाईँ कसरी आफ्नो सेवा विस्तार गर्न सक्नुहुन्छ?

१२. उहाँमाथि भर पर्नेहरूलाई यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ?

१२ यहोवामा भर पर्न सिक्नुहोस्‌। हामीले उहाँमाथि भरोसा गऱ्‍यौँ र उहाँलाई सबैभन्दा उत्तम कुरा दियौँ भने उहाँले हामीमाथि आशिष्‌ बर्साउने प्रतिज्ञा गर्नुभएको छ। (मला. ३:१०) यहोवाको यो प्रतिज्ञा आफूमा पनि पूरा भएको कोलम्बियाकी एक बहिनी फाबिओलाले देखिन्‌। बप्तिस्मा गरेको केही समयमै तिनी नियमित अग्रगामी सेवा गर्न चाहन्थिन्‌। तर श्रीमान्‌ र तीन छोराछोरीको आवश्‍यकता पूरा गर्न तिनले काम गर्नुपर्थ्यो। त्यसैले कामबाट अवकाश लिन सक्ने भएपछि तिनले मदतको लागि यहोवालाई व्यग्र प्रार्थना गरिन्‌। तिनी भन्छिन्‌, “साधारणतया पेन्सन पाउन लामो समय कुर्नुपर्ने हुन्छ तर मैले भने निवेदन दिएको एक महिनापछि देखि नै पाउन थालेँ। यो त चमत्कार नै थियो।” दुई महिनापछि तिनले अग्रगामी सेवा सुरु गरिन्‌। तिनी अहिले ७० वर्ष नाघिसकेकी छिन्‌ र २० वर्षभन्दा लामो समयदेखि अग्रगामी सेवा गर्दै छिन्‌। त्यस दौडान तिनले आठ जनालाई बप्तिस्मासम्म पुग्न मदत गरिन्‌। तिनी भन्छिन्‌, “हुनत कहिलेकाहीँ म कमजोर महसुस गर्छु तर अग्रगामी गरिरहन यहोवा मलाई हरेक दिन मदत गर्नुहुन्छ।”

अब्राहाम र सारा, याकुब अनि यर्दन नदी पार गर्ने पुजारीहरूले यहोवामाथि भरोसा गरेको कुरा कसरी देखाए? (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३-१४. कस्ता उदाहरणहरूले हामीलाई यहोवामाथि भरोसा गरेर आफ्नो सेवा विस्तार गर्न मदत गर्न सक्छ?

१३ यहोवामाथि भर परेकाहरूको उदाहरणबाट सिक्नुहोस्‌। बाइबलमा तनमनले यहोवाको सेवा गरेका थुप्रै व्यक्‍तिको उदाहरण पाइन्छ। प्रायजसो अवस्थामा यहोवाका ती सेवकहरूले कदम चालिसकेपछि मात्रै यहोवाबाट आशिष्‌ पाए। उदाहरणको लागि, अब्राहामले “आफू कहाँ जाँदै छु भनेर थाह नभए तापनि” आफ्नो घर छोडे र त्यसपछि मात्रै यहोवाले तिनलाई आशिष्‌ दिनुभयो। (हिब्रू ११:८) याकुबले स्वर्गदूतसित कुस्ती खेलेपछि मात्रै आशिष्‌ पाए। (उत्प. ३२:२४-३०) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा पुजारीहरूले तेज गतिमा बहिरहेको यर्दन नदीमा पाइला टेकेपछि मात्रै अरूहरूले नदी पार गर्न सके।—यहो. ३:१४-१६.

१४ यहोवामाथि भर परेर आफ्नो सेवा विस्तार गरेका आधुनिक समयका साक्षीहरूको उदाहरणबाट पनि तपाईँ लाभ उठाउन सक्नुहुन्छ। उदाहरणको लागि, पेटन नाम गरेका भाइ र तिनकी श्रीमती डायनालाई “तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे” भन्‍ने शृङ्‌खला * र सेवा विस्तार गरेका अरू भाइबहिनीको अनुभव पढ्‌न मन पर्छ। पेटन भन्छन्‌, “ती अनुभवहरू पढ्‌दा हामीलाई मीठा परिकारहरूको आनन्द उठाइरहेकाहरूलाई हेरिरहेको जस्तो लाग्थ्यो। हामीले ती अनुभवहरू जति धेरै पढ्यौँ, ‘यहोवा कत्ति भलो हुनुहुन्छ’ भनी ‘चाखेर हेर्ने’ हाम्रो चाहना त्यति नै बढ्यो।” पछि पेटन र डायना आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न सरे। के तपाईँले यो शृङ्‌खला पढ्‌नुभएको छ? अनि के तपाईँले jw.org मा प्रकाशित टाढाको इलाकामा साक्षी दिने—अस्ट्रेलियाटाढाको इलाकामा साक्षी दिने—आयरल्याण्ड (अङ्‌ग्रेजी) भन्‍ने भिडियो पनि हेर्नुभएको छ? यी सामग्रीहरूले तपाईँलाई आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू थाह पाउन मदत गर्नेछ।

१५. असल सङ्‌गतले हामीलाई कसरी मदत गर्न सक्छ?

१५ असल सङ्‌गत छान्‍नुहोस्‌। कुनै खास परिकार मन पराउने व्यक्‍तिसित धेरै समय बिताउँछौँ भने हामीलाई त्यो परिकार चाख्न मन लाग्छ। त्यसैगरि यहोवाको सेवामा व्यस्त भाइबहिनीसित सङ्‌गत गर्छौँ भने हामी पनि आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू खोज्न उत्प्रेरित हुनेछौँ। एक दम्पती केन्ट र भेरोनिकाको सन्दर्भमा पनि यो कुरा साँचो साबित भयो। केन्ट भन्छन्‌, “हाम्रा साथीभाइ र परिवारले हामीलाई यहोवाको सेवा गर्ने नयाँ तरिकाहरू चाखेर हेर्न प्रोत्साहन दिए। राज्यलाई पहिलो स्थान दिइरहेकाहरूसित सङ्‌गत गर्दा हामीले सेवाको फरक पक्षमा भाग लिने मनोबल बढेको महसुस गऱ्‍यौँ।” अहिले केन्ट र भेरोनिका विशेष अग्रगामीको रूपमा सर्बियामा सेवा गर्दै छन्‌।

१६. लुका १२:१६-२१ मा पाइने येसुको उदाहरणअनुसार हामी त्यागहरू गर्न किन इच्छुक हुनुपर्छ?

१६ यहोवाको लागि त्यागहरू गर्नुहोस्‌। यहोवालाई खुसी बनाउन हामीले आफूलाई मन पर्ने सबै कुरा त्याग्नुपर्छ भन्‍ने होइन। (उप. ५:१९, २०) तर त्यागहरू गर्नुपर्ने डरले यहोवाको सेवामा अझ बढी गर्नदेखि पछि हट्‌छौँ भने हामीले पनि येसुको उदाहरणको धनी मानिसले जस्तै गल्ती गरिरहेका हुन्छौँ, जसले प्रशस्त धनसम्पत्ति जम्मा गऱ्‍यो तर परमेश्‍वरलाई भने बिर्स्यो। (लुका १२:१६-२१ पढ्‌नुहोस्‌।) फ्रान्समा बस्ने क्रिष्टियन नाम गरेका एक भाइ यसो भन्छन्‌, “मैले आफ्नो परिवारलाई पर्याप्त समय दिन र तनमनले यहोवाको सेवा गर्न सकिरहेको थिइनँ।” त्यसैले तिनी र तिनकी श्रीमतीले अग्रगामी सेवा सुरु गर्ने निर्णय गरे। तर त्यस लक्ष्यसम्म पुग्न तिनीहरूले आफ्नो जागिर छोड्‌नुपर्थ्यो। खर्च जुटाउन तिनीहरूले सरसफाइसम्बन्धी सानो व्यवसाय सुरु गरे र आफूसँग जे छ, त्यसमा सन्तुष्ट हुन सिके। के तिनीहरूले गरेको त्याग व्यर्थ गयो? क्रिष्टियन यसो भन्छन्‌, “हाम्रो साक्षीकार्य अर्थपूर्ण भएको छ र हाम्रा बाइबल विद्यार्थीहरू अनि पुनःभेटहरूले यहोवाबारे सिकेको देख्दा हामी आनन्दित हुन सकेका छौँ।”

१७. साक्षी दिने नयाँ तरिका अपनाउन हामीलाई किन गाह्रो लाग्न सक्छ?

१७ साक्षी दिने नयाँ तरिकाहरू अपनाउन इच्छुक हुनुहोस्‌। (प्रेषि. १७:१६, १७; २०:२०, २१) अमेरिकाकी एक अग्रगामी सेर्लीले कोभिड-१९ महामारीमा साक्षी दिन केही छाँटकाँट गर्नुपऱ्‍यो। सुरुमा त तिनलाई टेलिफोन साक्षी दिन अप्ठ्यारो लाग्यो। तर क्षेत्रीय निरीक्षकको भ्रमणको दौडान तालिम पाएपछि तिनले साक्षीकार्यको यो पक्षमा नियमित रूपमा भाग लिन थालिन्‌। तिनी भन्छिन्‌, “पहिला त मलाई निकै डर लाग्यो तर अहिले रमाइलो लागिरहेको छ। हामीले घरघरको साक्षीकार्यमा भन्दा झन्‌ धेरै मानिसलाई भेट्‌न सकेका छौँ।”

१८. सेवा विस्तार गर्दा चुनौतीहरूको सामना गर्न हामीलाई कुन कुराले मदत गर्छ?

१८ योजना बनाउनुहोस्‌ र कदम चाल्नुहोस्‌। चुनौतीहरूको सामना गर्नुपर्दा हामी मदतको लागि यहोवालाई प्रार्थना गर्छौँ र सोच्ने क्षमता चलाउँदै योजना बनाउँछौँ। (हितो. ३:२१) युरोपको रोमानी भाषाको समूहमा सेवा गर्ने एक नियमित अग्रगामी बहिनी सोनिया यसो भन्छिन्‌, “म आफ्नो योजना एउटा कागजमा लेखेर देख्ने ठाउँमा राख्ने गर्छु। मेरो टेबुलमा फरक-फरक गन्तव्यमा पुऱ्‍याउने दुई वटा बाटोको चित्र छ। कुनै निर्णय गर्नुपर्दा म त्यो चित्र हेर्ने गर्छु र मेरो निर्णयले मलाई कहाँ पुऱ्‍याउनेछ भनेर सोच्ने गर्छु।” आफूले सामना गर्नुपर्ने चुनौतीहरूप्रति सोनिया सकारात्मक दृष्टिकोण राख्ने प्रयास गर्छिन्‌। तिनी भन्छिन्‌, “हरेक नयाँ परिस्थितिलाई लक्ष्यमा पुग्नदेखि बाधा पुऱ्‍याउने पर्खालको रूपमा हेर्ने कि लक्ष्यमा पुग्न मदत गर्ने पुलको रूपमा, त्यो ममा नै भर पर्छ।”

१९. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

१९ यहोवा हामीलाई विभिन्‍न तरिकामा आशिष्‌ दिनुहुन्छ। उहाँको प्रशंसा हुने काममा सक्दो भाग लिएर हामी यी आशिष्‌हरूको कदर गरेको देखाउन सक्छौँ। (हिब्रू १३:१५) यसो गर्नुमा सेवा विस्तार गर्ने नयाँ तरिका खोज्नु पनि समावेश छ। यसो गऱ्‍यौँ भने यहोवाले हामीलाई अझ धेरै आशिष्‌ दिनुहुनेछ। हरेक दिन “यहोवा कत्ति भलो हुनुहुन्छ” भनी ‘चाखेर हेर्ने’ मौकाहरू खोजिरहौँ। यसो गऱ्‍यौँ भने हामीले येसुले जस्तै यस्तो महसुस गर्नेछौँ: “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।”—युह. ४:३४.

गीत ८० ‘चाखेर हेर यहोवा छन्‌ भलो’

^ अनु. 5 यहोवा भलाइको स्रोत हुनुहुन्छ। उहाँ सबैलाई, दुष्टहरूलाई समेत असल कुराहरू दिनुहुन्छ। तर खासगरि उहाँ आफ्ना वफादार उपासकहरूको भलाइ गर्न रुचाउनुहुन्छ। यस लेखमा यहोवा आफ्ना उपासकहरूलाई कसरी भलाइ देखाउनुहुन्छ भनेर छलफल गर्नेछौँ। आफ्नो सेवा विस्तार गर्नेहरूले कसरी अझ विशेष तरिकामा यहोवाको भलाइ अनुभव गर्न सक्छन्‌ भनेर पनि हामी विचार गर्नेछौँ।

^ अनु. 7 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 14 पहिला प्रहरीधरहरा-मा प्रकाशित यो शृङ्‌खला अहिले jw.org मा उपलब्ध छ। हाम्रो बारेमा > अनुभव > आध्यात्मिक लक्ष्यहरू हासिल गर्ने अन्तर्गत हेर्नुहोस्‌।