सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३६

जवानहरूको बलको कदर गर्नुहोस्‌

जवानहरूको बलको कदर गर्नुहोस्‌

“जवान मानिसहरूको गौरव उनीहरूको बल हो।”—हितो. २०:२९.

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

परिचय *

१. उमेर ढल्कँदै जाँदा हामी कस्तो व्यावहारिक लक्ष्य राख्न सक्छौँ?

उमेर ढल्कँदै जाँदा यहोवाको लागि पहिलाजत्तिको उपयोगी हुन सक्दिनँ भन्‍ने चिन्ता हामीलाई लाग्न सक्छ। हुनत हामीसँग पहिलाजत्तिको शक्‍ति छैन होला। तर हामीसँग भएको बुद्धि र अनुभव प्रयोग गर्दै जवान भाइबहिनीलाई तिनीहरूसँग भएको क्षमता पूर्णरूपमा प्रयोग गर्न र नयाँ जिम्मेवारी सम्हाल्न मदत गर्न सक्छौँ। लामो समयदेखि एल्डरको रूपमा सेवा गरिरहेका एक भाइले यसो भने: “ढल्कँदो उमेरको कारण पहिलाजत्तिको जिम्मेवारी सम्हाल्न नसके पनि ती जिम्मेवारीहरू सम्हाल्न सक्ने योग्य जवानहरू देख्न पाउँदा मलाई खुसी लाग्छ।”

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

अघिल्लो लेखमा वृद्धहरूसित नजिक हुँदा जवानहरूले कस्तो फाइदा उठाउन सक्छन्‌ भनेर छलफल गऱ्‍यौँ। वृद्धहरू नम्र हुँदा, मर्यादामा रहँदा, कृतज्ञ हुँदा र उदार हुँदा तिनीहरूले कसरी जवानहरूसित मिलेर काम गर्न सक्छन्‌ र त्यसले पूरै मण्डलीलाई कसरी फाइदा पुऱ्‍याउँछ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ।

नम्र हुनुहोस्‌

३. फिलिप्पी २:३, ४ अनुसार नम्रता भनेको के हो र यस गुणले कुनै ख्रिष्टियनलाई कसरी मदत गर्न सक्छ?

जवानहरूलाई मदत गर्न वृद्धहरू नम्र हुनै पर्छ। नम्र व्यक्‍तिले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छ। (फिलिप्पी २:३, ४ पढ्‌नुहोस्‌।) एउटै काम पनि बाइबल सिद्धान्तसित नबाझिनेगरि विभिन्‍न तरिकामा गर्न सकिन्छ भन्‍ने कुरा नम्रता देखाउने वृद्धहरूलाई राम्ररी थाह छ। त्यसैले तिनीहरू कुनै काम पहिला आफूले गरेको तरिकाअनुसारै हुनुपर्छ भन्‍ने माग गर्दैनन्‌। (उप. ७:१०) हुनत तिनीहरूले जवानहरूलाई आफ्नो अनुभव बाँडेर मदत गर्न सक्छन्‌। तर “यस संसारको दृश्‍य परिवर्तन हुँदै छ” र नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्नुपर्छ भन्‍ने कुरा तिनीहरू स्विकार्छन्‌।—१ कोरि. ७:३१.

वृद्धहरू उदार भई अरूसित आफ्नो अनुभव बाँड्‌छन्‌ (अनुच्छेद ४-५ हेर्नुहोस्‌) *

४. क्षेत्रीय निरीक्षकहरूले कसरी लेवीहरूको जस्तो मनोवृत्ति देखाउँछन्‌?

उमेर ढल्कँदै जाँदा पहिलाजत्तिको गर्न सकिँदैन भन्‍ने कुरा नम्रता देखाउने वृद्धहरूलाई थाह छ। उदाहरणको लागि, हाम्रा क्षेत्रीय निरीक्षकहरूलाई विचार गरौँ। सत्तरी वर्ष पुगेपछि तिनीहरूलाई बेग्लै असाइनमेन्ट दिइन्छ। त्यो तिनीहरूको लागि चुनौतीपूर्ण हुन सक्छ। परिभ्रमण कार्यमा भाइबहिनीलाई मदत गर्न पाउँदा तिनीहरू निकै खुसी थिए। तिनीहरू आफ्नो सेवामा रमाइरहेका थिए र अझै पनि त्यसमा लागिरहन चाहन्छन्‌। तर त्यो असाइनमेन्ट अब जवानहरूले सम्हाल्नुपर्छ भन्‍ने कुरा तिनीहरूले बुझेका छन्‌। तिनीहरूले पुरातन इस्राएलका लेवीहरूको जस्तो मनोवृत्ति देखाउँछन्‌। पचास वर्ष पुगेपछि तिनीहरूले वासस्थानमा सेवा गर्न छोड्‌नुपर्थ्यो। ती वृद्ध लेवीहरूको आनन्द कुनै खास सुअवसरमा निर्भर थिएन। उनीहरूले यहोवाको सेवामा जे-जति गर्न सक्थे, त्यो तनमनले पूरा गरे र जवानहरूलाई सक्दो मदत गरे। (गन्ती ८:२५, २६) अहिले पनि क्षेत्रीय निरीक्षकहरू ७० वर्ष पुगेपछि मण्डलीहरूको भ्रमणमा जाँदैनन्‌। तर तिनीहरू आफूलाई खटाइएको मण्डलीका भाइबहिनीलाई धेरै मदत र प्रोत्साहन दिन्छन्‌।

५. ड्यान र क्येटीको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

तेइस वर्षसम्म क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरेका ड्यानको उदाहरण विचार गरौँ। ड्यान ७० वर्ष पुगेपछि तिनी र तिनकी पत्नी क्येटीलाई विशेष अग्रगामीको रूपमा खटाइयो। नयाँ असाइनमेन्ट पाएपछि तिनीहरूले कस्तो छाँटकाँट गरे? आफू पहिलाभन्दा झनै व्यस्त भएको कुरा ड्यान बताउँछन्‌। तिनी मण्डलीका जिम्मेवारीहरू सँभाल्छन्‌, भाइहरूलाई सहायक सेवकको रूपमा योग्य हुन मदत गर्छन्‌ अनि सहरी इलाका र जेलमा साक्षी दिन भाइबहिनीलाई तालिम दिन्छन्‌। वृद्धहरू हो, तपाईँ पूर्ण-समय सेवामा भए पनि नभए पनि अरूलाई धेरै मदत गर्न सक्नुहुन्छ। कसरी? आफूलाई नयाँ परिस्थितिअनुसार ढाल्नुहोस्‌, नयाँ लक्ष्यहरू राख्नुहोस्‌ र आफूले गर्न नसक्ने कुरामा भन्दा गर्न सक्ने कुरामा ध्यान दिनुहोस्‌।

मर्यादामा रहनुहोस्‌

६. हामी किन मर्यादामा रहनुपर्छ? उदाहरणसहित बताउनुहोस्‌।

मर्यादामा रहने व्यक्‍तिले आफ्नो सीमितता बुझ्छ। (हितो. ११:२) उसले आफूबाट बढ्‌तै माग गर्दैन। यसो गर्दा ऊ आनन्दित र फलदायी भइरहन सक्छ। मर्यादामा रहने व्यक्‍तिलाई उकालोमा गाडी चलाइरहेको चालकसित तुलना गर्न सक्छौँ। उकालोमा गाडी चलाउँदा चालकले गियर घटाउनुपर्छ। हुनत त्यसो गर्दा गाडीको गति कम हुन्छ तर गाडी अघि बढिरहन्छ। त्यसैगरि मर्यादामा रहने व्यक्‍तिलाई कति बेला आफ्नो सेवाको “गियर घटाउनुपर्छ” भन्‍ने कुरा थाह हुन्छ। त्यसो गर्दा तिनी यहोवाको सेवामा सक्रिय र फलदायी भइरहन सक्छन्‌।—फिलि. ४:५.

७. बार्जिलैले मर्यादामा रहेको कसरी देखाए?

अब हामी बार्जिलैको उदाहरण विचार गरौँ। तिनी ८० वर्षको हुँदा राजा दाउदले तिनलाई आफूसँगै राजदरबारमा लैजाने इच्छा जाहेर गरे। तर बार्जिलै मर्यादामा रहने व्यक्‍ति भएकोले तिनले राजाको प्रस्ताव अस्वीकार गरे। ढल्कँदो उमेरको कारण आफूमा सीमितताहरू छन्‌ भन्‍ने कुरा बार्जिलैले स्विकारे र आफ्नो सट्टा जवान किमहामलाई लैजान राजालाई आग्रह गरे। (२ समु. १९:३५-३७) बार्जिलैजस्तै आज पनि वृद्ध भाइहरू जवानहरूलाई खुसीसाथ जिम्मेवारी सुम्पन्छन्‌।

राजा दाउदले तिनको छोरा सुलेमानले मन्दिर निर्माण गर्नेछन्‌ भनेर परमेश्‍वरले गर्नुभएको निर्णय स्विकारे (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. राजा दाउदले मर्यादामा रहेको कसरी देखाए?

राजा दाउदले पनि मर्यादामा रहने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाले। यहोवाको निम्ति एउटा भवन बनाउने तिनको ठूलो धोको थियो। तर त्यो सुअवसर जवान सुलेमानले पाउनेछन्‌ भनेर थाह पाउँदा दाउदले यहोवाको निर्णय स्विकारे र त्यस निर्माण परियोजनाको लागि आफूले गर्न सक्ने सबै गरे। (१ इति. १७:४; २२:५) दाउदले त्यस कामको लागि म नै उपयुक्‍त छु भनेर सोचेनन्‌। किनकि सुलेमान ‘ठिटै थियो; ऊसँग त्यत्ति अनुभव पनि थिएन।’ (१ इति. २९:१) त्यो निर्माण परियोजनाको सफलता नेतृत्व लिने व्यक्‍तिको उमेर वा अनुभवमा नभई यहोवाको आशिष्‌मा निर्भर छ भन्‍ने कुरा दाउदलाई थाह थियो। दाउदको अनुकरण गर्दै आज पनि वृद्धहरू आफ्नो असाइनमेन्ट परिवर्तन भए पनि यहोवाको सेवामा लागिरहन्छन्‌। अनि पहिला तिनीहरू जुन काम गर्ने गर्थे, अहिले त्यही काम सम्हालिरहेका जवानहरूलाई यहोवाले आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरा पनि तिनीहरूलाई थाह छ।

९. शाखा समितिका एक जना सदस्यले मर्यादामा रहेको कसरी देखाए?

आधुनिक समयमा मर्यादामा रहने सन्दर्भमा उदाहरण बसालेका एक जना भाइ सिगेओको उदाहरण विचार गरौँ। सन्‌ १९७६ मा ३० वर्षको छँदा तिनी शाखा समितिका सदस्य नियुक्‍त भए। सन्‌ २००४ मा तिनी शाखा समितिका संयोजक भए। पछि तिनले आफ्नो बल घटेको र आफूले पाएको जिम्मेवारी छिटोछरितो तरिकामा पूरा गर्न नसकेको कुरा महसुस गरे। आफूले सम्हालिरहेको जिम्मेवारी जवान भाइलाई सुम्पँदा हुने फाइदाहरूबारे तिनले प्रार्थनापूर्वक विचार गरे। अहिले तिनी संयोजक नभए पनि शाखा समितिका अरू सदस्यहरूसित मिलेर सेवा गरिरहेका छन्‌। बार्जिलै, राजा दाउद र भाइ सिगेओको उदाहरणबाट नम्र र मर्यादामा रहने व्यक्‍तिले जवानहरूको कमजोर पक्षमा नभई तिनीहरूको बलियो पक्षमा ध्यान केन्द्रित गर्छन्‌ भन्‍ने कुरा हामीले सिक्यौँ। तिनले उनीहरूलाई आफ्नो प्रतिस्पर्धी नभई सहकर्मी ठान्छन्‌।—हितो. २०:२९.

कृतज्ञ हुनुहोस्‌

१०. वृद्धहरू मण्डलीका जवानहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

१० वृद्धहरू जवानहरूलाई यहोवाको उपहार ठान्छन्‌ र तिनीहरूको सेवाको लागि कृतज्ञ हुन्छन्‌। वृद्धहरू शारीरिक रूपमा कमजोर हुँदै जान्छन्‌। तर आफ्नो बल यहोवाको सेवामा लगाउन सक्ने र त्यसो गर्न इच्छुकता देखाउने जवानहरू पाएकोमा तिनीहरू कृतज्ञ छन्‌।

११. वृद्धहरूले कृतज्ञ हुँदै जवानहरूको मदत स्विकार्दा त्यसबाट लाभ उठाउन सक्छन्‌ भन्‍ने कुरा रुथ ४:१३-१६ बाट कसरी स्पष्ट हुन्छ?

११ बाइबलमा वृद्धहरूले कृतज्ञ हुँदै जवानहरूको मदत स्विकारेको थुप्रै विवरण पाइन्छ। त्यसमध्ये एउटा उत्कृष्ट उदाहरण नाओमी हुन्‌। सुरुमा नाओमीले विधवा बुहारी रुथलाई आफ्ना मानिसहरूकहाँ फर्कन आग्रह गरिन्‌। तर रुथले नाओमीलाई एक्लै छोड्‌न मानिनन्‌ र तिनीसितै बेतलेहेम गइन्‌। नाओमीले तिनको मदत स्विकारिन्‌। (रुथ १:७, ८, १८) यो निर्णय दुवै स्त्रीको लागि आशिष्‌ साबित भयो। (रुथ ४:१३-१६ पढ्‌नुहोस्‌।) नम्रताले वृद्धहरूलाई नाओमीको उदाहरण पछ्याउन उत्प्रेरित गर्छ।

१२. प्रेषित पावलले कसरी कृतज्ञता व्यक्‍त गरे?

१२ आफूले पाएको मदतको लागि प्रेषित पावल कृतज्ञ भए। उदाहरणको लागि, तिनले आफूलाई भौतिक रूपमा सहयोग गर्ने फिलिप्पीका ख्रिष्टियनहरूलाई धन्यवाद दिए। (फिलि. ४:१६) साथै तिमोथिले दिएको मदतको लागि तिनले उनीप्रति कृतज्ञता व्यक्‍त गरे। (फिलि. २:१९-२२) अनि कैदीको रूपमा रोमतर्फ जाँदै गर्दा आफूलाई प्रोत्साहन दिन भाइबहिनी पठाइदिनुभएकोमा तिनले परमेश्‍वरलाई धन्यवाद दिए। (प्रेषि. २८:१५) पावल जोसिलो थिए। तिनले ठाउँ-ठाउँमा साक्षी दिन र मण्डलीहरूलाई बलियो पार्न हजारौँ माइल यात्रा गरे। तैपनि तिनले त्यसमा घमन्ड गरेनन्‌। बरु नम्र हुँदै अरू भाइबहिनीको मदत स्विकारे।

१३. वृद्धहरूले जवानहरूप्रति कसरी कृतज्ञता देखाउन सक्छन्‌?

१३ वृद्धहरू हो, तपाईँ थुप्रै तरिकामा आफ्नो मण्डलीका जवानहरूप्रति कृतज्ञता देखाउन सक्नुहुन्छ। तिनीहरूले तपाईँलाई कतै जानुपर्दा आफ्नो सवारी साधनमा लगिदिन चाहन्छन्‌ अथवा किनमेल गर्न वा अरू आवश्‍यक कुरामा सघाउन चाहन्छन्‌ भने खुसीसाथ तिनीहरूको मदत स्विकार्नुहोस्‌। त्यस्तो मदतलाई तपाईँप्रति यहोवाको प्रेमको अभिव्यक्‍तिको रूपमा हेर्नुहोस्‌। आफूलाई मदत गर्ने जवानहरूसित तपाईँ घनिष्ठ मित्रता गाँस्न सक्नुहुन्छ। आफ्ना ती जवान साथीहरूको आध्यात्मिक उन्‍नतिमा सधैँ चासो राख्नुहोस्‌। मण्डलीका कामहरूमा सघाउन तिनीहरूले गरिरहेको प्रयास देख्दा तपाईँ कत्ति खुसी हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई बताउनुहोस्‌। साथै आफूले बटुलेका अनुभवहरू तिनीहरूसित बाँड्‌न समय निकाल्नुहोस्‌। त्यसो गर्दा आफ्नो सङ्‌गठनमा जवानहरूलाई खिच्नुहुने यहोवाप्रति तपाईँ “कृतज्ञ” हुनुहुन्छ भनी देखाइरहनुभएको हुनेछ।—कल. ३:१५; युह. ६:४४; १ थिस्स. ५:१८.

उदार हुनुहोस्‌

१४. राजा दाउदले कसरी उदारता देखाए?

१४ वृद्धहरूले राजा दाउदले जस्तै एउटा महत्त्वपूर्ण गुण विकास गर्नुपर्छ र त्यो हो, उदारता। तिनले मन्दिर निर्माणको लागि आफ्नै ढुकुटीबाट थुप्रै धनसम्पत्ति अनुदान दिए। (१ इति. २२:११-१६; २९:३, ४) त्यस निर्माण परियोजनाको मुख्य श्रेय आफ्नो छोरा सुलेमानले पाउने भए पनि तिनले त्यसो गरे। निर्माण परियोजनाहरूमा भाग लिन हामीसित पहिलाजत्तिको बल नभए पनि आफ्नो परिस्थितिले दिएसम्म त्यस्ता परियोजनाहरूलाई सघाइरहन सक्छौँ। अनि हामीले वर्षौँको दौडान बटुलेका अनुभवहरूबाट लाभ उठाउन जवानहरूलाई मदत गर्न सक्छौँ।

१५. प्रेषित पावलले तिमोथिसित कस्ता बहुमूल्य कुराहरू बाँडे?

१५ उदारता देखाउने सन्दर्भमा प्रेषित पावलले बसालेको उदाहरण विचार गरौँ। तिनले जवान तिमोथिलाई आफूसँगै मिसनरी सेवामा लाग्न निम्तो दिए अनि उदार भएर उनलाई साक्षी दिने र सिकाउने विभिन्‍न तरिकाहरू सिकाए। (प्रेषि. १६:१-३) पावलबाट पाएको तालिमले गर्दा तिमोथिले प्रभावकारी तरिकामा सुसमाचार फैलाउन सके। (१ कोरि. ४:१७) अनि तिमोथिले पनि पावलबाट सिकेका तरिकाहरू चलाउँदै अरूलाई तालिम दिए।

१६. भाइ सिगेओले अरूलाई किन तालिम दिए?

१६ वृद्धहरू आफूले सम्हालिरहेको जिम्मेवारीको लागि जवानहरूलाई तालिम दिँदा आफू यहोवाको लागि उपयोगी नहुने हो कि भनेर चिन्ता गर्दैनन्‌। उदाहरणको लागि, अगाडि उल्लेख गरिएका भाइ सिगेओले शाखा समितिका जवान भाइहरूलाई वर्षौँसम्म व्यावहारिक तालिम दिए। आफूले सेवा गरिरहेको देशको राज्य गतिविधिलाई सघाउन तिनले यसो गरे। यसले गर्दा पछि तिनीबाट राम्रो तालिम पाएको अर्को भाइले त्यो जिम्मेवारी सम्हाल्न सके। भाइ सिगेओले ४५ वर्ष शाखा समितिमा सेवा गरेको अनुभव जवान भाइहरूसित अझै पनि बाँड्‌दै छन्‌। तिनीजस्तै थुप्रै दाजुभाइ हाम्रो लागि आशिष्‌ हुन्‌।

१७. वृद्धहरूले अरूलाई के दिन सक्छन्‌? (लुका ६:३८)

१७ तपाईँ वृद्धहरूले यहोवाप्रति वफादार र निष्ठावान्‌ हुनु नै जीवन बिताउने सर्वोत्तम तरिका हो भनेर प्रमाणित गर्नुभएको छ। बाइबल सिद्धान्तहरू सिक्न र ती जीवनमा लागू गर्न हामीले गरेको मेहनत खेर जाँदैन भनेर तपाईँले आफ्नो उदाहरणद्वारा देखाउनुभएको छ। विगतमा सङ्‌गठनको कुनै काम कसरी गरिन्थ्यो भन्‍ने कुरा तपाईँलाई थाह छ तर नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्नुपर्छ भन्‍ने कुरा पनि तपाईँले स्विकार्नुभएको छ। तपाईँहरूमध्ये कसै-कसैले हालसालै बप्तिस्मा गर्नुभएको छ भने पनि तपाईँले दिन सक्ने कुरा धेरै छन्‌। जीवनको यस्तो मोडमा आएर यहोवालाई चिन्‍न पाउँदा आफूले अनुभव गरेको आनन्द तपाईँ अरूसित बाँड्‌न सक्नुहुन्छ। तपाईँका अनुभवहरू र तपाईँले सिक्नुभएका पाठहरू सुनेर जवानहरूले लाभ उठाउनेछन्‌। यदि तपाईँले आफ्नो अनुभवको भण्डारबाट अरूलाई ‘दिने गर्नुभयो’ भने यहोवाले तपाईँलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ।लुका ६:३८ पढ्‌नुहोस्‌।

१८. वृद्धहरू र जवानहरूले एकअर्कालाई कसरी मदत गर्न सक्छन्‌?

१८ यसरी तपाईँ प्रिय वृद्ध भाइबहिनीहरू जवानहरूसित घनिष्ठ हुनुभयो भने तपाईँहरूले एकअर्काबाट मदत र प्रोत्साहन पाउन सक्नुहुन्छ। (रोमी १:१२) तपाईँहरू दुवै जनासँग एकअर्कालाई उपयोगी हुने केही बहुमूल्य कुरा छ। वृद्धहरूसँग जीवनभर बटुलेको अनुभव र बुद्धि छ। जवानहरूसँग जोस र बल छ। जवानहरू र वृद्धहरू मिलेर सेवा गर्दा तिनीहरूले स्वर्गमा बस्नुहुने बुबाको प्रशंसा गरिरहेका हुन्छन्‌ र तिनीहरू मण्डलीको लागि आशिष्‌ साबित हुन्छन्‌।

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

^ अनु. 5 हाम्रो मण्डलीमा यहोवाको सङ्‌गठनलाई सघाउन यथासक्दो गर्ने जवान भाइबहिनी पाएकोमा हामी धेरै खुसी छौँ। आफ्नो पृष्ठभूमि वा संस्कृति फरक भए पनि वृद्धहरूले जवानहरूलाई आफ्नो सम्पूर्ण बलले यहोवाको सेवा गर्न मदत दिन सक्छन्‌।

^ अनु. 55 तस्बिरको व्याख्या: एक जना क्षेत्रीय निरीक्षक ७० वर्ष पुगेपछि तिनी र तिनकी पत्नीले नयाँ असाइनमेन्ट पाए। आफूले लामो समयदेखि बटुलेको अनुभव प्रयोग गर्दै तिनीहरू अहिले सेवा गरिरहेको मण्डलीका भाइबहिनीलाई तालिम दिँदै छन्‌।