सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३८

आध्यात्मिक परिवारसित नजिक हुनुहोस्‌

आध्यात्मिक परिवारसित नजिक हुनुहोस्‌

‘मेरा बुबा र तिमीहरूका बुबाकहाँ म जाँदै छु।’—युह. २०:१७.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

परिचय *

१. वफादार मानिसहरूले यहोवासित कस्तो सम्बन्ध गाँस्न सक्छन्‌?

यहोवाका उपासकहरू मिलेर बनेको उहाँको परिवारमा “सारा सृष्टिको पहिलो सन्तान” येसु र असङ्‌ख्य स्वर्गदूत समावेश छन्‌। (कल. १:१५; भज. १०३:२०) येसु पृथ्वीमा हुनुहुँदा वफादार मानिसहरूले यहोवालाई बुबाको रूपमा हेर्न सक्छन्‌ भनेर उहाँले सिकाउनुभयो। आफ्ना चेलाहरूसित कुरा गर्नुहुँदा येसुले यहोवालाई “मेरा बुबा र तिमीहरूका बुबा” भन्‍नुभयो। (युह. २०:१७) अनि हामीले यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गरेपछि हामी भाइबहिनी मिलेर बनेको मायालु परिवारको भाग हुन्छौँ।—मर्कु. १०:२९, ३०.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यहोवालाई मायालु बुबाको रूपमा हेर्न कसै-कसैलाई गाह्रो लाग्न सक्छ। अरूलाई भने आफ्ना भाइबहिनीलाई कसरी माया व्यक्‍त गर्ने भनेर थाह नहुन सक्छ। यस लेखमा यहोवालाई मायालु बुबाको रूपमा हेर्न र उहाँसित नजिक हुन येसुले हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर विचार गर्नेछौँ। भाइबहिनीसित व्यवहार गर्दा यहोवाको अनुकरण गर्ने केही तरिका पनि हामी विचार गर्नेछौँ।

तपाईँ उहाँसित नजिक भएको यहोवा चाहनुहुन्छ

३. नमुना प्रार्थनाले हामीलाई यहोवासित नजिक हुन कसरी मदत गर्छ?

यहोवा मायालु बुबा हुनुहुन्छ। हामीले यहोवालाई निर्दयी शासकको रूपमा नभई एक जना दयालु र मायालु अभिभावकको रूपमा हेरेको येसु चाहनुहुन्छ। येसु आफै पनि यहोवालाई त्यसरी नै हेर्नुहुन्छ। यो कुरा उहाँले आफ्ना चेलाहरूलाई सिकाउनुभएको नमुना प्रार्थनाबाट प्रस्टै देखिन्छ। उहाँले त्यस प्रार्थनाको सुरुमा यहोवालाई “हाम्रा बुबा” भन्‍नुभयो। (मत्ति ६:९) यहोवालाई “सर्वशक्‍तिमान्‌,” “सृष्टिकर्ता” वा “युगयुगका महाराजा” भनेर सम्बोधन गर्न येसुले हामीलाई सिकाउन सक्नुहुन्थ्यो। (उत्प. ४९:२५; भज. १४६:६; १ तिमो. १:१७) यसो गर्नु गलत हुने थिएन किनभने बाइबलमा परमेश्‍वरलाई यस्ता उपाधिहरू दिइएको छ। तर यहोवालाई “बुबा” भन्‍न येसुले हामीलाई सिकाउनुभयो।

४. हामी उहाँसित नजिक भएको यहोवा चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

यहोवालाई मायालु बुबाको रूपमा हेर्न के तपाईँलाई गाह्रो लाग्छ? हामीमध्ये कसै-कसैलाई गाह्रो लाग्न सक्छ। आफू हुर्किएको पृष्ठभूमिले गर्दा मायालु आमाबुबा कस्ता हुन्छन्‌ भनेर कल्पना गर्न हामीलाई गाह्रो हुन सक्छ। तर यहोवा हाम्रो भावना राम्ररी बुझ्नुहुन्छ भनेर थाह पाउनु साँच्चै सान्त्वनादायी छ। उहाँ हामीसित नजिक हुन चाहनुहुन्छ। त्यसैले उहाँको वचनले हामीलाई यस्तो प्रोत्साहन दिन्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकु. ४:८) यहोवा हामीलाई माया गर्नुहुन्छ र हामीले उहाँलाई असल बुबाको रूपमा हेरेको चाहनुहुन्छ।

५. लुका १०:२२ अनुसार येसुले हामीलाई यहोवासित नजिक हुन कसरी मदत गर्न सक्नुहुन्छ?

येसुले हामीलाई यहोवासित नजिक हुन मदत गर्न सक्नुहुन्छ। येसु यहोवालाई राम्ररी चिन्‍नुहुन्छ र उहाँका गुणहरू दुरुस्त अनुकरण गर्नुहुन्छ। त्यसैले उहाँले यसो भन्‍नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युह. १४:९) परिवारमा दाइले आफ्नो भाइलाई सिकाएजस्तै येसुले पनि हामीलाई बुबाको आदर गर्न र उहाँप्रति आज्ञाकारी हुन सिकाउनुहुन्छ। साथै उहाँलाई दुःखी नबनाउन र उहाँको अनुमोदन पाउन हामीले के गर्नुपर्छ भनेर पनि सिकाउनुहुन्छ। तर पृथ्वीमा हुनुहुँदा येसुले विशेषगरि यहोवा मायालु र दयालु हुनुहुन्छ भन्‍ने कुरा देखाउनुभयो। (लुका १०:२२ पढ्‌नुहोस्‌।) केही उदाहरण विचार गरौँ।

मायालु बुबाको रूपमा यहोवाले आफ्नो छोरालाई स्वर्गदूतमार्फत हौसला दिनुभयो (अनुच्छेद ६ हेर्नुहोस्‌) *

६. यहोवाले येसुको कुरा सुन्‍नुभएको केही उदाहरण बताउनुहोस्‌।

यहोवा आफ्ना छोराछोरीको कुरा सुन्‍नुहुन्छ। उहाँले आफ्नो जेठो छोराको कुरा सुन्‍नुभएको केही उदाहरण विचार गरौँ। पृथ्वीमा हुनुहुँदा येसुले गर्नुभएको थुप्रै प्रार्थना यहोवाले पक्कै पनि सुन्‍नुभयो। (लुका ५:१६) महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्दा येसुले गर्नुभएको प्रार्थना उहाँले सुन्‍नुभयो, जस्तै: १२ प्रेषित छान्दा। (लुका ६:१२, १३) तनावमा हुनुभएको बेला येसुले गर्नुभएको प्रार्थना पनि यहोवाले सुन्‍नुभयो। यहुदाले धोका दिनुभन्दा केही समयअघि येसुले आफूमाथि आउनै लागेको कठिन परीक्षाको लागि आफ्नो बुबालाई व्यग्र प्रार्थना गर्नुभयो। यहोवाले येसुको प्रार्थना सुन्‍नु मात्र भएन बरु आफ्नो प्यारो छोरालाई हौसला दिन स्वर्गदूत पनि पठाउनुभयो।—लुका २२:४१-४४.

७. यहोवा हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा हामी कस्तो महसुस गर्छौँ?

अहिले पनि यहोवा आफ्ना उपासकहरूको प्रार्थना सुन्‍नुहुन्छ अनि ठीक समयमा र सबैभन्दा उत्तम तरिकामा त्यसको जवाफ पनि दिनुहुन्छ। (भज. ११६:१, २) भारतकी एक बहिनीले यो कुरा व्यक्‍तिगत रूपमा कसरी अनुभव गरिन्‌, विचार गर्नुहोस्‌। तिनले भावनात्मक तवरमा निकै सङ्‌घर्ष गरिरहेकी थिइन्‌। त्यसैले यस विषयमा तिनले यहोवालाई व्यग्र प्रार्थना गरिन्‌। तिनी यस्तो लेख्छिन्‌: “चिन्ता-फिक्रीको सामना कसरी गर्ने भन्‍ने विषयको मे २०१९ को JW ब्रोडकास्टिङ कार्यक्रम मेरै लागि तयार पारिएको हो जस्तो मलाई लाग्यो। यो मेरो प्रार्थनाको जवाफ थियो।”

८. यहोवाले येसुप्रतिको माया के-कस्ता तरिकामा व्यक्‍त गर्नुभयो?

यहोवा हामीलाई माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ। पृथ्वीमा येसुको चुनौतीपूर्ण असाइनमेन्टको दौडान यहोवाले उहाँलाई माया गर्नुभयो र उहाँको ख्याल राख्नुभयो। (युह. ५:२०) उहाँले येसुको आध्यात्मिक, भावनात्मक र भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुभयो। साथै उहाँ आफ्नो छोराप्रतिको माया र उहाँसित खुसी भएको कुरा व्यक्‍त गर्नबाट पछि हट्‌नुभएन। (मत्ति ३:१६, १७) स्वर्गका बुबा सधैँ आफ्नो साथमा हुनुहुन्छ भनेर थाह भएकोले येसुले कहिल्यै एक्लो महसुस गर्नुभएन।—युह. ८:१६.

९. यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

येसुले जस्तै हामी सबैले यहोवाको माया अनुभव गर्न सकेका छौँ। सोच्नुहोस्‌ त, यहोवाले हामीलाई आफूतर्फ खिच्नुभयो र हामीलाई खुसी बनाउन अनि हाम्रो भावनात्मक आवश्‍यकता पूरा गर्न हामीलाई मायालु र एकताबद्ध आध्यात्मिक परिवार दिनुभयो। (युह. ६:४४) यहोवा नियमित रूपमा हाम्रो लागि आध्यात्मिक भोजनको प्रबन्ध पनि मिलाउनुहुन्छ। साथै उहाँ हामीलाई जीवन धान्‍न चाहिने कुराहरू जुटाउन पनि मदत गर्नुहुन्छ। (मत्ति ६:३१, ३२) यहोवाले हामीलाई प्रेम देखाउनुभएको कुरामा मनन गऱ्‍यौँ भने उहाँप्रतिको हाम्रो प्रेम अझ बढ्‌नेछ।

आफ्नो आध्यात्मिक परिवारलाई यहोवाले जस्तै व्यवहार गर्नुहोस्‌

१०. यहोवाले हाम्रा भाइबहिनीलाई गर्नुहुने व्यवहारबाट हामी के सिक्न सक्छौँ?

१० यहोवा हाम्रा भाइबहिनीलाई माया गर्नुहुन्छ। तर हाम्रो आध्यात्मिक परिवारलाई प्रेम गर्न र त्यो प्रेम आफ्नो व्यवहारद्वारा देखाउन सधैँ सजिलो नहुन सक्छ। हुन पनि हाम्रो रहनसहन र हामी हुर्केको वातावरण फरक-फरक छ। साथै हामी सबै जनाबाट गल्ती हुन्छ, जसले गर्दा अरूलाई रिस उठ्‌न सक्छ वा दुःखी बनाउन सक्छ। तैपनि हाम्रो आध्यात्मिक परिवारको प्रेमको बन्धन बलियो बनाउन हामी पनि योगदान दिन सक्छौँ। कसरी? हाम्रा भाइबहिनीलाई प्रेम गरेको देखाउने सन्दर्भमा हाम्रो बुबाको अनुकरण गरेर। (एफि. ५:१, २; १ युह. ४:१९) यहोवाको उदाहरणबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ।

११. येसुले यहोवाको “कोमल करुणा”-को अनुकरण कसरी गर्नुभयो?

११यहोवा परमेश्‍वर “कोमल करुणा” देखाउनुहुन्छ। (लुका १:७८) कोमल करुणाले भरिएको व्यक्‍तिलाई अरूले पीडा भोगिरहेको देख्दा दुःख लाग्छ। तिनी उक्‍त व्यक्‍तिलाई मदत र सान्त्वना दिने तरिकाहरू खोज्छन्‌। मानिसहरूसित व्यवहार गर्नुहुँदा येसुले यहोवाको करुणाको अनुकरण गर्नुभयो। (युह. ५:१९) एकचोटि भीडलाई देखेर “उहाँ टिठाउनुभयो किनभने तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।” (मत्ति ९:३६) येसुको करुणा केवल न्यानो भावनामा मात्र सीमित थिएन। उहाँले बिरामीहरूलाई निको पार्नुभयो अनि “कठोर श्रमले थाकेका र भारले दबिएका” मानिसहरूलाई स्फूर्ति दिनुभयो।—मत्ति ११:२८-३०; १४:१४.

भाइबहिनीलाई करुणा र उदारता देखाएर यहोवाको अनुकरण गर्नुहोस्‌ (अनुच्छेद १२-१४ हेर्नुहोस्‌) *

१२. हामी कसरी करुणा देखाउन सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌।

१२ हाम्रा भाइबहिनीले कस्ता चुनौतीहरूको सामना गरिरहेका छन्‌ भनेर विचार गऱ्‍यौँ भने हामीले तिनीहरूलाई करुणा देखाउन सक्नेछौँ। उदाहरणको लागि, कुनै बहिनीले गम्भीर स्वास्थ्य समस्याको सामना गरिरहेकी हुन सक्छिन्‌। तिनी आफ्नो समस्याबारे कहिले पनि कुरा गर्दिनन्‌। तैपनि कसैले मदत दिँदा त्यसको लागि तिनी पक्कै पनि कृतज्ञ हुनेछिन्‌। के तिनले आफ्नो परिवारको हेरचाह गर्न सकिरहेकी छिन्‌? हामी तिनलाई खाना पकाउन अथवा घर सफा गर्न मदत गर्न सक्छौँ कि? कुनै भाइले आफ्नो जागिर गुमाएका हुन सक्छन्‌। अर्को जागिर नपाउन्जेल तिनलाई मदत मिलोस्‌ भनेर तिनलाई थाह नहुनेगरि उपहारस्वरूप केही पैसा दिन सक्छौँ कि?

१३-१४. हामी कसरी यहोवाजस्तै उदार हुन सक्छौँ?

१३यहोवा उदार हुनुहुन्छ। (मत्ति ५:४५) भाइबहिनीले मदत माग्लान्‌ अनि मदत गरूँला भनी हामी पर्खेर बस्नु हुँदैन। बरु यहोवाजस्तै करुणा देखाउन आफै अग्रसर हुनुपर्छ। हामीले नमागे पनि उहाँले हरेक दिन घाम लगाइदिनुहुन्छ। घामको न्यानोपनबाट यहोवाप्रति कृतज्ञ हुने व्यक्‍तिहरूले मात्र होइन, सबैले लाभ उठाउन सक्छन्‌। हाम्रा आवश्‍यकताहरू पूरा गरेर यहोवाले हामीप्रति आफ्नो माया व्यक्‍त गर्दै हुनुहुन्छ भन्‍ने कुरामा के तपाईँ सहमत हुनुहुन्‍न र? यहोवा दयालु अनि उदार हुनुभएकोले हामी उहाँलाई धेरै माया गर्छौँ।

१४ स्वर्गका बुबाको अनुकरण गर्दै हाम्रा थुप्रै भाइबहिनी उदारता देखाउन अग्रसर हुन्छन्‌। उदाहरणको लागि, २०१३ मा घातक आँधी हायानले फिलिपिन्समा ठूलो क्षति पुऱ्‍यायो। हाम्रा थुप्रै भाइबहिनीले आफ्नो घर र सम्पत्ति गुमाउनुपऱ्‍यो। तर संसारभरि रहेका तिनीहरूको आध्यात्मिक परिवारले तिनीहरूलाई तुरुन्तै मदत गरे। थुप्रैले अनुदान दिए र निर्माणकार्यमा भाग लिए। यसले गर्दा एक वर्षभन्दा कम समयमै लगभग ७५० वटा घर मर्मतसम्भार वा निर्माण गर्न सकियो। त्यसैगरि कोभिड-१९ महामारीको दौडान साक्षीहरूले भाइबहिनीलाई मदत गर्न कडा मेहनत गरे। आफ्नो आध्यात्मिक परिवारलाई मदत गर्न तुरुन्तै कदम चाल्दा हामी तिनीहरूलाई माया गर्छौँ भनेर देखाइरहेका हुन्छौँ।

१५-१६. लुका ६:३६ अनुसार हाम्रो स्वर्गका बुबाको अनुकरण गर्ने एउटा महत्त्वपूर्ण तरिका के हो?

१५ यहोवा कृपालु अनि क्षमाशील परमेश्‍वर हुनुहुन्छ। (लुका ६:३६ पढ्‌नुहोस्‌।) हामी हरेक दिन हाम्रा स्वर्गका बुबाको कृपा अनुभव गर्छौँ। (भज. १०३:१०-१४) येसुका चेलाहरू त्रुटिपूर्ण थिए। तैपनि उहाँले तिनीहरूलाई कृपा देखाउनुभयो र क्षमा दिनुभयो। हामीले पापको क्षमा पाउन सकोस्‌ भनेर उहाँ आफ्नो जीवन बलिदान गर्न समेत तयार हुनुभयो। (१ युह. २:१, २) यहोवा र येसु कृपालु अनि क्षमाशील हुनुभएकोले के तपाईँ उहाँहरूसित नजिक हुन उत्प्रेरित हुनुहुन्‍न र?

१६ हामीले एकअर्कालाई “खुला मनले क्षमा” गऱ्‍यौँ भने हाम्रो आध्यात्मिक परिवारको प्रेमको बन्धन बलियो हुनेछ। (एफि. ४:३२) हो, अरूलाई क्षमा दिन कहिलेकाहीँ गाह्रो हुन सक्छ। त्यसैले क्षमाशील हुन हामीले प्रयास गर्नै पर्छ। एक बहिनीलाई त्यसो गर्न “एक-अर्कालाई खुला मनले क्षमा गर्नुहोस्‌” भन्‍ने विषयको प्रहरीधरहरा-को लेखले मदत गरेको तिनले महसुस गरिन्‌। * तिनी यस्तो लेख्छिन्‌: “यस लेखबाट मैले अरूलाई क्षमा दिने कुरालाई फरक र अझ सकारात्मक दृष्टिकोणले हेर्न मदत पाएँ। अरूलाई क्षमा गर्न इच्छुक हुनु भनेको उनीहरूको गलत आचरणलाई समर्थन गर्नु वा त्यसले पुऱ्‍याएको क्षतिलाई हल्कासित लिनु होइन। क्षमा गर्नु भनेको त्यस्ता गल्तीहरूको कारण मनमा द्वेष नराख्नु अनि आफ्नो शान्ति खलबलिन नदिनु हो भनेर त्यस लेखमा बताइएको थियो।” हाम्रा भाइबहिनीलाई खुला मनले क्षमा गरेर हामी तिनीहरूलाई माया गर्छौँ र हाम्रो मायालु बुबा यहोवाको अनुकरण गर्छौँ भनेर देखाइरहेका हुन्छौँ।

यहोवाको परिवारको भाग भएकोमा आभारी हुनुहोस्‌

केटाकेटीहरू र वयस्कहरूले आफ्नो आध्यात्मिक परिवारप्रति मायालु चासो देखाइरहेका छन्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌) *

१७. मत्ति ५:१६ अनुसार हामी कसरी हाम्रो स्वर्गका बुबाको महिमा गर्न सक्छौँ?

१७ एउटा मायालु विश्‍वव्यापी परिवारको भाग हुन पाउनु ठूलो सुअवसर हो। हामी धेरैभन्दा धेरै मानिसले हामीसँगै परमेश्‍वरको उपासना गरेको चाहन्छौँ। यो कुरा मनमा राख्दै हामी यहोवा वा उहाँको सङ्‌गठनमाथि कलङ्‌क लाग्ने कुनै पनि काम गर्न चाहँदैनौँ। हाम्रो चालचलनद्वारा हामी मानिसहरूलाई सुसमाचारतर्फ आकर्षित गर्न चाहन्छौँ।मत्ति ५:१६ पढ्‌नुहोस्‌।

१८. नडराई साक्षी दिन हामीलाई केले मदत गर्छ?

१८ हामी स्वर्गका बुबाप्रति आज्ञाकारी भएकोले कहिलेकाहीँ कसै-कसैले हाम्रो आलोचना वा खेदो गर्न सक्छन्‌। आफ्नो विश्‍वासबारे अरूसित कुरा गर्न हामीलाई डर लाग्छ भने हामी के गर्न सक्छौँ? यहोवा र उहाँको छोराले हामीलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी भरोसा गर्न सक्छौँ। येसुले आफ्ना चेलाहरूलाई कसरी बोल्ने र के बोल्ने भनेर चिन्ता नगर्न भन्‍नुभयो। तर किन? येसुले यसो भन्‍नुभयो: “के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।”—मत्ति १०:१९, २०.

१९. साहसी भई साक्षी दिएको एक जना भाइको उदाहरण बताउनुहोस्‌।

१९ रोबर्टको उदाहरण विचार गर्नुहोस्‌। केही समयअघिको कुरा हो। तिनले भर्खरै बाइबल अध्ययन सुरु गरेका थिए र तिनीसित बाइबलको खासै ज्ञान थिएन। त्यतिबेला तिनी दक्षिण अफ्रिकाको सैन्य अदालतसामु खडा हुनुपऱ्‍यो। आफ्ना ख्रिष्टियन दाजुभाइहरूप्रतिको प्रेमले गर्दा तटस्थ रहन चाहेको कुरा तिनले अदालतसामु साहसी भई बताए। आध्यात्मिक परिवारको भाग भएकोमा तिनी आभारी थिए। न्यायाधीशले अचानक सोधे: “को हुन्‌ तिम्रा दाजुभाइहरू?” रोबर्टले यस्तो प्रश्‍नको आसै गरेका थिएनन्‌। तर झट्टै तिनलाई त्यस दिनको दैनिक पद याद आयो। त्यो पद मत्ति १२:५० थियो, जहाँ यस्तो लेखिएको छ: “जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।” रोबर्टले भर्खरै बाइबल अध्ययन सुरु गरेको भए तापनि यहोवाको पवित्र शक्‍तिले तिनलाई यो र तिनले आशा नगरेका अरू प्रश्‍नहरूको जवाफ दिन मदत गऱ्‍यो। रोबर्टलाई देखेर यहोवाले पक्कै गर्व गर्नुभयो। साथै हामी पनि चुनौतीपूर्ण अवस्थामा साहसी भई साक्षी दिन यहोवामा भर पऱ्‍यौँ भने उहाँले हामीमा पनि गर्व गर्नुहुनेछ।

२०. हामीले के गर्ने सङ्‌कल्प गर्नुपर्छ? (युहन्‍ना १७:११, १५)

२० मायालु आध्यात्मिक परिवारको भाग हुन पाएकोमा सधैँ आभारी होऔँ। हामीले सबैभन्दा उत्तम बुबा र हामीलाई माया गर्ने भाइबहिनी पाएका छौँ। यसको लागि हामी सधैँ आभारी हुनुपर्छ। सैतान र त्यसलाई साथ दिनेहरूले हामीलाई स्वर्गका बुबाको मायामाथि शङ्‌का गर्न लगाउँछन्‌ र हामीमाझ भएको एकता भङ्‌ग गर्न खोज्छन्‌। तर येसुले हाम्रो तर्फबाट प्रार्थना गर्नुभएको छ र हाम्रो परिवार एकताबद्ध रहन सकोस्‌ भनेर बुबालाई हाम्रो हेरचाह गर्न बिन्ती गर्नुभएको छ। (युहन्‍ना १७:११, १५ पढ्‌नुहोस्‌।) यहोवाले त्यो प्रार्थनाको जवाफ दिँदै हुनुहुन्छ। स्वर्गका बुबाले हामीलाई माया गर्नुहुन्छ र हामीलाई मदत गर्नुहुन्छ भन्‍ने कुरामा येसुले जस्तै कहिल्यै शङ्‌का नगरौँ। हाम्रो आध्यात्मिक परिवारसित नजिक भइरहने सङ्‌कल्प गरिरहौँ।

गीत ९९ लाखौँ-हजारौँ भाइबहिनी

^ अनु. 5 मायालु भाइबहिनीहरू मिलेर बनेको आध्यात्मिक परिवारको भाग हुन पाएकोमा हामी धेरै खुसी छौँ। हामीबीच भएको प्रेमको बन्धनलाई हामी अझ बलियो बनाउन चाहन्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ? हाम्रो मायालु बुबाले हामीसित गर्ने व्यवहार अनुकरण गरेर अनि येसु र हाम्रा भाइबहिनीको उदाहरण पछ्याएर।

^ अनु. 57 चित्रको व्याख्या: यहोवाले येसुलाई हौसला दिन गेत्समनीको बगैँचामा स्वर्गदूत पठाउनुभयो।

^ अनु. 59 चित्रको व्याख्या: कोभिड-१९ महामारीको दौडान थुप्रैले खानेकुरा तयार पार्न र ठाउँ-ठाउँमा पुऱ्‍याउन मदत गरे।

^ अनु. 61 चित्रको व्याख्या: एक आमाले आफ्नी छोरीलाई झ्यालखानामा भएको एक भाइलाई सान्त्वनादायी चिठी लेख्न मदत गर्दै छिन्‌।