सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४३

हरेस नखानुहोस्‌!

हरेस नखानुहोस्‌!

“आओ, हामी असल काम गर्नमा हरेस नखाऔँ।”​—गला. ६:९.

गीत ६८ राज्यको बिउ छरौँ!

परिचय *

१. यहोवाको साक्षी हुन पाएकोमा हामी किन खुसी छौँ र गर्व गर्छौँ?

 यहोवाको साक्षी हुन पाएकोमा हामी धेरै खुसी छौँ र यसमा गर्व गर्छौँ। हामीले परमेश्‍वरको नाम वहन गरेका छौँ अनि साक्षीकार्य र चेला बनाउने काममा भाग लिएर हामी त्यस नामअनुसार जीवन बिताउँछौँ। “अनन्त जीवन पाउन लायकको” कसैलाई यहोवाको साक्षी हुन मदत दिन पाउँदा हामी आनन्दित हुन्छौँ। (प्रेषि. १३:४८) हामीले पनि येसुले जस्तै महसुस गर्छौँ। एकचोटि उहाँका चेलाहरूले साक्षीकार्यमा बटुलेका रमाइला अनुभवहरू सुनाउँदा “उहाँ असाध्यै खुसी हुनुभयो।”—लुका १०:१, १७, २१.

२. हामी साक्षीकार्यलाई गम्भीरतापूर्वक लिएको कसरी देखाउन सक्छौँ?

हामी साक्षीकार्यलाई गम्भीरतापूर्वक लिन्छौँ। प्रेषित पावलले तिमोथिलाई यस्तो सल्लाह दिए: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।” तिनले यसो पनि भने: “यसो गऱ्‍यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्‍नेहरूको उद्धार गर्नेछौ।” (१ तिमो. ४:१६) हाम्रो साक्षीकार्यले मानिसहरूको जीवन बचाउँछ। हामी परमेश्‍वरको राज्यको प्रजा भएकोले आफ्नो विषयमा सधैँ होसियार हुन्छौँ। हामी आफ्नो व्यवहारद्वारा यहोवाको प्रशंसा गरेको र आफूले सुनाउने सन्देशमा विश्‍वास गरेको देखाउन चाहन्छौँ। (फिलि. १:२७) साक्षीकार्यको लागि राम्ररी तयारी गरेर अनि अरूलाई साक्षी दिनुअघि यहोवाको मदत मागेर हामी ‘आफ्नो शिक्षाको विषयमा होसियार’ भएको देखाउँछौँ।

३. राज्य सन्देशप्रति के सबैले चासो देखाउँछन्‌? एउटा उदाहरण दिनुहोस्‌।

हामीले सक्दो गर्दा पनि इलाकाका मानिसहरूले राज्य सन्देशप्रति थोरै मात्र चासो देखाउन सक्छन्‌ वा चासो नै नदेखाउन सक्छन्‌। भाइ जर्ज लिन्डेलको अनुभव विचार गरौँ, जसले १९२९ देखि १९४७ सम्म एक्लैले आइसल्याण्डभरि साक्षी दिए। तिनले हाम्रा हजारौँ प्रकाशन वितरण गरे तर एक जनाले पनि सत्य स्विकारेनन्‌। तिनले यस्तो लेखे: “केही मानिसले बाइबलको सन्देशको विरोध गर्छन्‌। तर अधिकांशलाई भने बाइबलको सन्देशमा कुनै चासो छैन।” पछि गिलियड स्कुलमा तालिम पाएर आएका मिसनरीहरूले त्यहाँ सुसमाचार फैलाउन मदत गरे तापनि नतिजा खासै राम्रो भएन। त्यसको नौ वर्षपछि मात्र आइसल्याण्डका केही मानिसले यहोवालाई जीवन समर्पण गरे र बप्तिस्मा गरे। *

४. मानिसहरूले सुसमाचारप्रति चासो नदेखाउँदा हामीलाई कस्तो महसुस हुन सक्छ?

मानिसहरूले हाम्रो सन्देशप्रति चासो नदेखाउँदा हामी निराश हुन्छौँ। हामीले पनि पावलले जस्तै महसुस गर्न सक्छौँ। थुप्रै यहुदीले येसु नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर नस्विकारेको देख्दा तिनले ‘ठूलो शोक र पीडा’ महसुस गरे। (रोमी ९:१-३) तपाईँले आफ्नो बाइबल विद्यार्थीलाई मदत गर्न सक्दो गर्नुभयो होला। तिनको लागि थुप्रै चोटि प्रार्थना पनि गर्नुभयो होला। तर तिनले प्रगति नगरेकोले तिनको बाइबल अध्ययन छोड्‌नुपऱ्‍यो भने नि? अथवा तपाईँले अहिलेसम्म कसैलाई पनि बप्तिस्मासम्म पुग्न मदत गर्न सक्नुभएको छैन भने नि? के तपाईँ यसको लागि आफैलाई दोष दिनुहुन्छ? अथवा यहोवाले तपाईँको सेवामा आशिष्‌ दिनुभएन भनेर सोच्नुहुन्छ कि? यस लेखमा हामी यी दुई वटा प्रश्‍नको जवाफ पाउनेछौँ: (१) हामी साक्षीकार्यमा सफल भयौँ कि भएनौँ भन्‍ने कुरा केले निर्धारण गर्छ? (२) साक्षीकार्यको सन्दर्भमा हामीले कस्तो आशा गर्नुपर्छ?

हामी साक्षीकार्यमा सफल भयौँ कि भएनौँ भन्‍ने कुरा केले निर्धारण गर्छ?

५. यहोवाको सेवामा हामीले गरेको कामको नतिजा सधैँ हामीले सोचेजस्तो किन हुँदैन?

परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिसको विषयमा बाइबल यसो भन्छ: “उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।” (भज. १:३) तर त्यसको मतलब यहोवाको सेवामा हामीले गर्ने जुनसुकै कामको नतिजा हामीले सोचेजस्तो हुन्छ भन्‍ने होइन। हाम्रो र अरूको त्रुटिपूर्ण अवस्थाले गर्दा हाम्रो जीवन “दुःखैदुःखले भरिएको” छ। (अय्यु. १४:१) साथै हाम्रा विरोधीहरूले पनि हामीलाई स्वतन्त्र भई साक्षी दिनदेखि रोक्न सक्छन्‌। (१ कोरि. १६:९; १ थिस्स. २:१८) त्यसोभए हामी साक्षीकार्यमा सफल भयौँ कि भएनौँ भनेर यहोवाले कसरी निर्धारण गर्नुहुन्छ? यस प्रश्‍नको जवाफ पाउन केही बाइबल सिद्धान्त विचार गरौँ।

चाहे हामी घरघरमा गएर साक्षी देऔँ अथवा चिठी वा टेलिफोनमार्फत, यहोवा हाम्रो प्रयासको कदर गर्नुहुन्छ (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. हामीले यहोवाको लागि गरेको काममा हामी सफल भयौँ कि भएनौँ भनेर उहाँ कसरी निर्धारण गर्नुहुन्छ?

यहोवा हाम्रो मेहनत र सहनशीलतामा ध्यान दिनुहुन्छ। हाम्रो साक्षीकार्यप्रति मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए पनि यहोवाप्रतिको प्रेमले गर्दा जोसिलो भई साक्षीकार्यमा लागिरहन्छौँ भने उहाँको नजरमा हामी सफल हुन्छौँ। पावलले यस्तो लेखे: “तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।” (हिब्रू ६:१०) हाम्रो मेहनतको नतिजा राम्रो भएन भने पनि यहोवा हाम्रो काम र उहाँप्रतिको प्रेम सधैँ सम्झनुहुन्छ। त्यसैले तपाईँको परिश्रमको नतिजा तपाईँले सोचेजस्तो नभए पनि पावलले कोरिन्थका भाइबहिनीलाई लेखेको पत्रको यो कुरा तपाईँलाई पनि लागू हुन्छ: “प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।”​—१ कोरि. १५:५८.

७. आफ्नो साक्षीकार्यबारे प्रेषित पावलले बताएको कुराबाट हामी के सिक्न सक्छौँ?

प्रेषित पावल सफल मिसनरी थिए अनि तिनले थुप्रै सहरमा नयाँ मण्डलीहरू स्थापना गरे। तर ख्रिष्टको सेवकको रूपमा आफ्नो योग्यता प्रमाणित गर्नुपर्ने अवस्था आउँदा तिनले ‘मैले यति जनालाई ख्रिष्टियन बन्‍न मदत गरेँ’ भनेर धाक लगाएनन्‌। बरु तिनले यस्तो लेखे: “मैले . . . धेरै परिश्रम गरेको छु।” (२ कोरि. ११:२३) यहोवाको लागि हाम्रो परिश्रम र सहनशीलता नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर पावलले जस्तै हामीले पनि बुझ्नुपर्छ।

८. हाम्रो साक्षीकार्यबारे हामीले कुन कुरा बुझ्नुपर्छ?

हाम्रो साक्षीकार्यले यहोवालाई खुसी बनाउँछ। येसुले ७० जना चेलालाई राज्यको सन्देश सुनाउन पठाउनुभयो अनि साक्षीकार्य सिद्धिएपछि तिनीहरू “रमाउँदै फर्के।” तिनीहरू रमाउनुको कारण के थियो? तिनीहरूले यसो भने: “हामीले तपाईँको नाम लिँदा प्रेतहरूसमेत हाम्रो वशमा आए।” तर येसुले तिनीहरूको सोचाइ सच्याउँदै यसो भन्‍नुभयो: “प्रेतहरू तिमीहरूको वशमा आए भनी नरमाओ बरु तिमीहरूको नाम स्वर्गमा लेखियो भनेर रमाओ।” (लुका १०:१७-२०) तिनीहरूले साक्षीकार्यमा सधैँ यस्तै उल्लेखनीय नतिजा हासिल गर्नेछैनन्‌ भनेर येसुलाई थाह थियो। वास्तवमा ती चेलाहरूले साक्षी दिएकाहरूमध्ये कति जना ख्रिष्टियन बने, हामीलाई थाह छैन। ती चेलाहरू आफूले हासिल गरेको राम्रो नतिजाबारे सोचेर मात्र होइन, बरु सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो लगनशील प्रयास देखेर यहोवा खुसी हुनुहुन्छ भन्‍ने कुरा बुझेर रमाउनुपर्थ्यो।

९. गलाती ६:७-९ अनुसार साक्षीकार्यमा सहनशील भई लागिरह्‍यौँ भने हामीले कस्तो इनाम पाउनेछौँ?

साक्षीकार्यमा सहनशील भई लागिरह्‍यौँ भने हामीले अनन्त जीवन पाउनेछौँ। सत्यको बिउ छर्ने र पानी हाल्ने काममा तनमनले भाग लियौँ भने हामीले “पवित्र शक्‍तिको लागि” पनि छरिरहेका हुन्छौँ। यसो गर्दा पवित्र शक्‍तिलाई हाम्रो जीवनमा काम गर्न दिइरहेका हुन्छौँ। हामीले कसैलाई बप्तिस्मासम्म पुग्न मदत गर्न सकेका छैनौँ भने पनि ‘हरेस खाएनौँ’ वा ‘थाकेनौँ’ भने हामीले अनन्त जीवनको कटनी गर्नेछौँ भनेर यहोवाले ग्यारेन्टी दिनुभएको छ।​गलाती ६:७-९ पढ्‌नुहोस्‌।

साक्षीकार्यको सन्दर्भमा हामीले कस्तो आशा गर्नुपर्छ?

१०. हाम्रो साक्षीकार्यप्रति मानिसहरूको प्रतिक्रिया कुन कुरामा भर पर्छ?

१० मानिसहरूको प्रतिक्रिया मुख्यतया तिनीहरूको हृदयको अवस्थामा भर पर्छ। येसुले यो कुरा बुझाउन बिउ छर्ने मानिसको उदाहरण बताउनुभयो, जसले विभिन्‍न किसिमको जमिनमा बिउ छऱ्‍यो। तर असल माटोमा परेको बिउले मात्र फल फलायो। (लुका ८:५-८) ती जमिनहरूले “परमेश्‍वरको वचन”-प्रति फरक-फरक प्रतिक्रिया देखाउने मानिसहरूको हृदयलाई सङ्‌केत गर्छ भनी येसुले भन्‍नुभयो। (लुका ८:११-१५) बिउ छर्ने मानिसको सन्दर्भमा जस्तै हाम्रो परिश्रमको नतिजा राम्रो हुने वा नहुने, त्यो हाम्रो हातमा छैन। किनकि त्यो हाम्रो सन्देश सुन्‍ने मानिसको हृदयको अवस्थामा भर पर्छ। हाम्रो जिम्मेवारी भनेको राज्यको असल बिउ छर्ने काममा लागिरहनु हो। प्रेषित पावलले भनेजस्तै “हरेकले आफ्नो परिश्रमअनुसार इनाम पाउनेछ,” उसले गरेको परिश्रमको नतिजाअनुसार होइन।​—१ कोरि. ३:८.

हुनत नुहले वर्षौँसम्म वफादार भई साक्षी दिए तर तिनको परिवारका सदस्यबाहेक अरू कोही पनि तिनीसित जहाजमा पसेनन्‌। तैपनि नुह परमेश्‍वरप्रति आज्ञाकारी रहन सफल भए (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. मानिसहरूले नुहको सन्देश नसुने पनि यहोवा तिनीदेखि किन खुसी हुनुभयो? (आवरण चित्र हेर्नुहोस्‌।)

११ इतिहास हेर्ने हो भने यहोवाका थुप्रै सेवकले मानिसहरूलाई साक्षी दिए तर धेरैले सुनेनन्‌। उदाहरणको लागि, नुहले दशकौँसम्म “धार्मिकताबारे प्रचार” गरे। (२ पत्रु. २:५) पक्कै पनि तिनले आफूले सुनाउने सन्देशप्रति मानिसहरूले राम्रो प्रतिक्रिया देखाउनेछन्‌ भनेर आस गरेका थिए तर यहोवाले त्यस्तो कुनै सङ्‌केत दिनुभएन। बरु तिनलाई जहाज बनाउने निर्देशन दिनुहुँदा परमेश्‍वरले यसो भन्‍नुभयो: “तिमी, तिम्री पत्नी, तिम्रा छोराहरू र बुहारीहरू जहाजभित्र जानू।” (उत्प. ६:१८) यहोवाले जहाज कत्रो बनाउने भनेर निर्देशन दिनुभएपछि धेरै मानिसले तिनको सन्देश सुन्‍नेछैनन्‌ भनेर तिनले सोचे होलान्‌ किनकि जहाजको क्षमता सीमित थियो। (उत्प. ६:१५) अनि हामीलाई थाह छ, त्यो भ्रष्ट संसारको एक जनाले पनि नुहको सन्देश सुनेनन्‌। (उत्प. ७:७) त्यसोभए के नुह यहोवाको नजरमा असफल भए? अहँ, भएनन्‌। बरु यहोवा तिनीदेखि खुसी हुनुभयो। किनकि तिनले वफादार भई यहोवाको आज्ञाबमोजिम सबै गरे।​—उत्प. ६:२२.

१२. भावशून्यता र विरोधको बाबजुद भविष्यवक्‍ता यर्मिया आफ्नो सेवामा किन रमाउन सके?

१२ भावशून्यता र विरोधको बाबजुद भविष्यवक्‍ता यर्मियाले पनि दशकौँसम्म मानिसहरूलाई परमेश्‍वरको सन्देश सुनाए। विरोधीहरूले “अपमान र ठट्टा” गर्दा तिनी यत्ति निराश भए कि तिनको मनमा आफ्नो जिम्मेवारीबाट पछि हट्‌ने विचारसम्म आयो। (यर्मि. २०:८, ९) तैपनि तिनले हरेस खाएनन्‌। नकारात्मक सोचाइ हटाउन र आफ्नो सेवामा रमाउन तिनलाई केले मदत गऱ्‍यो? तिनले दुई वटा महत्त्वपूर्ण कुरामा ध्यान दिए। पहिलो, यर्मियाले सुनाएको सन्देशले मानिसहरूलाई “उज्ज्वल भविष्य र आशा” दिने थियो। (यर्मि. २९:११) दोस्रो, यहोवाले मानिसहरूलाई आफ्नो सन्देश सुनाउन यर्मियालाई रोज्नुभएको थियो। (यर्मि. १५:१६) हामी पनि मानिसहरूलाई आशाको सन्देश सुनाउँछौँ अनि यहोवाको साक्षीको रूपमा उहाँको नाम वहन गर्छौँ। यी दुई वटा महत्त्वपूर्ण कुरामा ध्यान दिन्छौँ भने मानिसहरूको प्रतिक्रिया जस्तोसुकै भए पनि हामी रमाउन सक्छौँ।

१३. मर्कुस ४:२६-२९ मा येसुले बताउनुभएको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१३ आध्यात्मिक प्रगति बिस्तारै हुन्छ। येसुले यो कुरा बुझाउन बिउ छर्ने मानिसको अर्को उदाहरण बताउनुभयो। (मर्कुस ४:२६-२९ पढ्‌नुहोस्‌।) त्यस मानिसले बिउ छरेपछि त्यो बिउ अङ्‌कुरायो र बिस्तारै बढ्‌दै गयो। त्यो बिउलाई छिटोछिटो हुर्काउन उसले गर्न सक्ने कुरा केही पनि थिएन। त्यो मानिसले जस्तै तपाईँले पनि चेला बनाउने कामको नतिजा तुरुन्तै देख्नुहुन्‍न होला। किनकि आध्यात्मिक प्रगति बिस्तारै अनि क्रमिक रूपमा हुन्छ। जसरी किसानले बालीलाई जबरजस्ती आफूले चाहेको गतिमा हुर्काउन सक्दैन, त्यसरी नै हामीले पनि आफ्नो बाइबल विद्यार्थीलाई हामीले चाहेको गतिमा आध्यात्मिक प्रगति गर्न जबरजस्ती गर्न सक्दैनौँ। त्यसैले तिनीहरूको प्रगति तपाईँले सोचेभन्दा ढिलो भइरहेको छ भने पनि निराश नहुनुहोस्‌ वा हरेस नखानुहोस्‌। किसानलाई जस्तै चेला बनाउने काममा हामीलाई पनि धीरज चाहिन्छ।​—याकु. ५:७, ८.

१४. हाम्रो साक्षीकार्यको नतिजा देखिन समय लाग्न सक्छ भनेर कुन उदाहरणले देखाउँछ?

१४ कुनै-कुनै इलाकामा हाम्रो साक्षीकार्यको नतिजा वर्षौँसम्म नदेखिन सक्छ। साक्खै दिदीबहिनी ग्लाडिज र रूबी एलेनको अनुभव विचार गरौँ। तिनीहरूलाई १९५९ मा क्यानाडाको क्युबेक प्रान्तको एउटा सहरमा नियमित अग्रगामीको रूपमा खटाइयो। * समाजको डर र क्याथोलिक चर्चको प्रभावले गर्दा मानिसहरू राज्यको सन्देश सुन्‍न चाहँदैनथे। ग्लाडिजले यसो भनिन्‌: “कसैले पनि कुरा सुन्‍न नमाने तापनि दुई वर्षसम्म दिनको आठ घण्टा हामी घरघरको प्रचारकार्यमा गइरह्‍यौँ! मानिसहरू ढोकासम्म आएर पर्दाबाट पुलुक्क चियाउँथे र पर्दा बन्द गरिदिन्थे। तर हामीले हरेस खाएनौँ।” समय बित्दै जाँदा मानिसहरूले हामीसित कुरा गर्न सजिलो मान्‍न थाले र इलाका अझ फलदायी हुँदै गयो। अहिले त्यो सहरमा तीन वटा मण्डली छ।​—यसै. ६०:२२.

१५. पहिलो कोरिन्थी ३:६, ७ ले चेला बनाउने कामबारे के बताउँछ?

१५ चेला बनाउने कामको लागि सामूहिक प्रयास चाहिन्छ। कसैलाई बप्तिस्मासम्म पुऱ्‍याउन पूरै मण्डलीको साथ चाहिन्छ। (१ कोरिन्थी ३:६, ७ पढ्‌नुहोस्‌।) मानौँ, एक जना भाइले चासो देखाएको व्यक्‍तिलाई पर्चा वा पत्रिका दिन्छन्‌। तर आफू त्यो व्यक्‍तिलाई पायक पर्ने समयमा भेट्‌न जान नसक्ने भएकोले तिनी अर्को प्रकाशकलाई भेट्‌न जान आग्रह गर्छन्‌। ती प्रकाशकले उक्‍त व्यक्‍तिसित बाइबल अध्ययन सुरु गर्छन्‌। त्यसपछि उनी फरक-फरक भाइबहिनीलाई सँगै अध्ययनमा लैजान्छन्‌ अनि सबैले कुनै न कुनै तरिकामा विद्यार्थीलाई प्रोत्साहन दिन्छन्‌। ती विद्यार्थीले भेट्‌ने प्रत्येक भाइ वा बहिनीले सत्यको बिउमा पानी हाल्ने काममा मदत गर्छन्‌। यसरी येसुले भन्‍नुभएझैँ आध्यात्मिक कटनीकार्यमा बिउ छर्ने र काट्‌ने सँगसँगै रमाउँछन्‌।​—युह. ४:३५-३८.

१६. स्वास्थ्य कमजोर भए पनि वा बल घटे पनि तपाईँ सेवामा किन रमाउन सक्नुहुन्छ?

१६ स्वास्थ्य कमजोर भएकोले वा बल घटेकोले साक्षी दिने र सिकाउने काममा पहिलेजति गर्न सक्नुभएको छैन भने नि? यस कामको लागि सक्दो योगदान दिएर तपाईँ आनन्दित हुन सक्नुहुन्छ। राजा दाउदको उदाहरण विचार गरौँ। एकचोटि अमालेकी आक्रमणकारीहरूले दाउद र तिनका मानिसहरूको धनमाल लुटे र तिनीहरूको परिवारलाई बन्दी बनाएर लगे। त्यसैले दाउद र तिनका मानिसहरू तिनीहरूलाई छुटाउन गए। तर दाउदका मानिसहरूमध्ये २०० जना थाकेर चूर भएकोले लडाइँ गर्न सक्ने अवस्थामा थिएनन्‌। त्यसैले उनीहरू सामान कुरेर बसे। अमालेकीहरूसँगको युद्ध जितेपछि दाउदले छुटाएर ल्याएको धनमाल सबै जनालाई बराबर बाँड्‌न लगाए। (१ समु. ३०:२१-२५) विश्‍वव्यापी रूपमा चेला बनाउने काम पनि यस्तै हो। यस काममा आफ्नो तर्फबाट सक्दो गऱ्‍यौँ भने कुनै व्यक्‍तिले परमेश्‍वरलाई चिनेर जीवनको बाटोमा हिँड्‌न सुरु गर्दा हामी पनि अरूसितै रमाउन सक्नेछौँ।

१७. हामीले यहोवालाई केको लागि धन्यवाद दिनुपर्छ?

१७ हामीले गर्ने सेवाको मोल गर्नुहुने यहोवालाई हामी धन्यवाद दिन्छौँ। हाम्रो परिश्रमको नतिजा हाम्रो हातमा छैन भन्‍ने कुरा उहाँलाई राम्ररी थाह छ। तैपनि उहाँ हाम्रो लगनशीलता र असल मनसाय याद गर्नुहुन्छ अनि हामीलाई इनाम दिनुहुन्छ। अहिले व्यापक रूपमा भइरहेको कटनीकार्यमा आफूले गर्न सक्नेजति गरेर कसरी रमाउन सकिन्छ, त्यो पनि उहाँ हामीलाई सिकाउनुहुन्छ। (युह. १४:१२) हामीले हरेस खाएनौँ भने परमेश्‍वरको अनुमोदन पाउनेछौँ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।

गीत ६७ “वचन प्रचार गर”

^ मानिसहरूले सुसमाचारप्रति राम्रो प्रतिक्रिया देखाउँदा हामीलाई खुसी लाग्छ। तर नराम्रो प्रतिक्रिया देखाउँदा हामी निराश हुन्छौँ। सायद तपाईँ कसैलाई बाइबल अध्ययन गराउँदै हुनुहुन्छ होला। तर तिनले प्रगति गरेनन्‌ भने नि? अथवा तपाईँले अहिलेसम्म कसैलाई पनि बप्तिस्मासम्म पुग्न मदत गर्न सक्नुभएको छैन भने नि? के यसको अर्थ तपाईँ चेला बनाउने काममा सफल हुनुभएन भन्‍ने हो? मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए पनि हामी किन साक्षीकार्यमा सफल हुन र आनन्दित भइरहन सक्छौँ, यस लेखमा छलफल गर्नेछौँ।

^ यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २००५ (अङ्‌ग्रेजी), पृष्ठ २०५-२११ हेर्नुहोस्‌।

^ सेप्टेम्बर १, २००२ अङ्‌कको प्रहरीधरहरा-मा “म बिलकुलै अहिलेको जस्तो जीवन चाहन्छु, त्यसमा रत्तीभर परिवर्तन नहोस्‌!” भन्‍ने विषयको ग्लाडिज एलेनको जीवनी हेर्नुहोस्‌।