सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४७

तपाईँको विश्‍वास कत्तिको बलियो हुनेछ?

तपाईँको विश्‍वास कत्तिको बलियो हुनेछ?

“तिमीहरूको हृदय व्याकुल नहोस्‌। परमेश्‍वरमाथि विश्‍वास गर अनि ममाथि पनि विश्‍वास गर।”—युह. १४:१.

गीत ११९ साँचो विश्‍वास हुनै पर्छ

परिचय *

१. हामी आफैलाई कस्तो प्रश्‍न सोध्न सक्छौँ?

भविष्यमा हुने थुप्रै घटनाहरू, जस्तै: झूटो धर्मको विनाश, मागोगको गोगको आक्रमण र आरमागेडोनको युद्धबारे सोच्दा के तपाईँ चिन्तित महसुस गर्नुहुन्छ? के तपाईँ कहिलेकाहीँ आफूलाई यस्तो प्रश्‍न सोध्नुहुन्छ, ‘त्यस्तो डरलाग्दो समयमा के म वफादार रहिरहन सकूँला?’ यदि तपाईँ यस्तो सोच्नुहुन्छ भने येसुले यस लेखको डोऱ्‍याउने पदमा आफ्ना चेलाहरूलाई भन्‍नुभएको कुराले तपाईँलाई पक्कै मदत गर्नेछ। उहाँले यसो भन्‍नुभयो: “तिमीहरूको हृदय व्याकुल नहोस्‌। परमेश्‍वरमाथि विश्‍वास गर अनि ममाथि पनि विश्‍वास गर।” (युह. १४:१) बलियो विश्‍वासले हामीलाई साहसी भई भविष्यको सामना गर्न मदत गर्नेछ।

२. हामी कसरी आफ्नो विश्‍वास बलियो बनाउन सक्छौँ? यस लेखमा हामी कुन कुरा विचार गर्नेछौँ?

अहिले हामी विश्‍वासको जाँच हुने परीक्षाहरू आइपर्दा कस्तो प्रतिक्रिया देखाउँछौँ भनी केलाउँदा आफ्नो विश्‍वास बलियो बनाउन कुन-कुन क्षेत्रमा उन्‍नति गर्नुपर्ने रहेछ भनेर थाह पाउन सक्छौँ। हरेक परीक्षाको सफलतापूर्वक सामना गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ र हामी भविष्यमा आइपर्ने परीक्षाहरूको सामना गर्न तयार हुन्छौँ। यस लेखमा येसुका चेलाहरूलाई अझ धेरै विश्‍वास चाहिएको चार वटा अवस्थाबारे विचार गर्नेछौँ। त्यसपछि अहिले हामी कसरी त्यस्तै चुनौतीहरूको सामना गर्न सक्छौँ र त्यसले हामीलाई भविष्यको लागि कसरी तयार बनाउँछ भनेर पनि विचार गर्नेछौँ।

यहोवाले हाम्रो भौतिक आवश्‍यकता पूरा गर्नुहुन्छ भन्‍ने विश्‍वास

आर्थिक कठिनाइ भोग्नुपरे पनि राज्य गतिविधिमा ध्यान केन्द्रित गर्न विश्‍वासले मदत गर्छ (अनुच्छेद ३-६ हेर्नुहोस्‌)

३. मत्ति ६:३०, ३३ मा येसुले भन्‍नुभएका शब्दहरूले कुन कुरा बुझ्न मदत गर्छ?

हरेक शिरले आफ्नो परिवारको लागि गाँस, बास, कपासको प्रबन्ध गर्न चाहन्छन्‌। तर अहिलेको गाह्रो अवस्थामा यसो गर्न सजिलो नहुन सक्छ। हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनीले जागिर गुमाउनुपरेको छ र तिनीहरूलाई अर्को जागिर भेट्टाउन पनि गाह्रो भएको छ। साथै कुनै-कुनै जागिर ख्रिष्टियनहरूको लागि नसुहाउने भएकोले थुप्रैले त्यस्तो जागिर नखाने निर्णय गरेका छन्‌। यी सबै अवस्थामा यहोवाले हाम्रा आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ भनेर विश्‍वास गर्नु महत्त्वपूर्ण छ। येसुले यो कुरा डाँडाको उपदेशमा स्पष्ट पार्नुभएको थियो। (मत्ति ६:३०, ३३ पढ्‌नुहोस्‌।) यहोवा हामीलाई कहिल्यै त्याग्नुहुन्‍न भन्‍ने कुरामा विश्‍वस्त हुँदा हामी अझ महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न सक्छौँ। त्यो हो, राज्य गतिविधि। यहोवाले हाम्रो भौतिक आवश्‍यकता पूरा गर्नुभएको देख्दा उहाँ हामीलाई अझ वास्तविक लाग्नेछ र हाम्रो विश्‍वास पनि बलियो हुनेछ।

४-५. भौतिक आवश्‍यकता पूरा गर्न गाह्रो हुँदा एउटा परिवारलाई केले मदत गऱ्‍यो?

भेनेजुएलाको एउटा परिवारले भौतिक आवश्‍यकता पूरा गर्न गाह्रो हुँदा यहोवाको मदत कसरी अनुभव गर्न सक्यो, विचार गर्नुहोस्‌। क्यास्ट्रो परिवारले आफ्नो जीविका चलाउन खेतीकिसानी गर्ने गर्थ्यो। तर एकदिन बन्दुक भिरेका केही मानिस आएर तिनीहरूको जमिन कब्जा गरे र तिनीहरूलाई त्यहाँबाट धपाइदिए। बुबा मिगेलले यसो भने: “अहिले हामी गुजारा चलाउन भाडामा लिएको सानो जग्गामा खेतीकिसानी गर्छौँ। म हरेक दिन आजको लागि हाम्रो परिवारको आवश्‍यकता पूरा गरिदिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्छु।” क्यास्ट्रो परिवारको जीवन निकै गाह्रो छ। तर यहोवाले तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुहुन्छ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त छन्‌। यही विश्‍वासका साथ तिनीहरू हरेक सभा धाउँछन्‌ र साक्षीकार्यमा पनि सक्रिय भएर भाग लिन्छन्‌। तिनीहरूले परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहेका छन्‌ र उहाँले तिनीहरूको आवश्‍यकता पूरा गरिरहनुभएको छ।

मिगेल र तिनकी पत्नी युरीले विभिन्‍न चुनौतीको बाबजुद यहोवाले कसरी तिनीहरूको ख्याल राख्नुभएको छ भन्‍ने कुरामा ध्यान केन्द्रित गरेका छन्‌। यहोवाले थुप्रै चोटि सङ्‌गी उपासकहरू चलाएर तिनीहरूलाई आर्थिक सहयोग दिनुभएको छ र मिगेललाई उपयुक्‍त काम भेट्टाउन मदत गर्नुभएको छ। यहोवाले तिनीहरूलाई शाखा कार्यालयमार्फत राहतको प्रबन्ध पनि गरिदिनुभएको छ। यहोवाले तिनीहरूलाई कहिल्यै त्याग्नुभएन। त्यसकारण तिनीहरूको विश्‍वास अझै बलियो भएको छ। यहोवाले मदत गर्नुभएको एउटा खास घटनाबारे बताएपछि जेठी छोरी होसेलिन यसो भन्छिन्‌: “यहोवाले हामीलाई कसरी मदत गर्नुभएको छ भनेर देख्दा मेरो मनै छुन्छ। म उहाँलाई भरोसायोग्य साथीको रूपमा हेर्छु।” तिनी यसो पनि भन्छिन्‌: “हाम्रो परिवारले भोगेका समस्याहरूले हामीलाई भविष्यको लागि अझै तयार बनाएको छ।”

६. आर्थिक कठिनाइहरूको सामना गर्नुपर्दा तपाईँ कसरी आफ्नो विश्‍वास बलियो बनाउन सक्नुहुन्छ?

के तपाईँ आर्थिक कठिनाइहरूको सामना गर्दै हुनुहुन्छ? यस्तो बेला पक्कै गाह्रो हुन्छ। तर यो परिस्थितिलाई आफ्नो विश्‍वास बलियो बनाउने मौकाको रूपमा हेर्नुहोस्‌। यहोवालाई प्रार्थना गर्नुहोस्‌ अनि मत्ति ६:२५-३४ मा उल्लेख गरिएका येसुका शब्दहरू पढेर त्यसमा मनन गर्नुहोस्‌। आध्यात्मिक गतिविधिमा व्यस्त हुने व्यक्‍तिहरूको आवश्‍यकता यहोवाले कसरी पूरा गर्नुहुन्छ भनेर देखाउने आधुनिक समयका अनुभवहरू विचार गर्नुहोस्‌। (१ कोरि. १५:५८) यसो गर्दा यहोवाले तिनीहरूलाई जस्तै तपाईँलाई पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुनेछ। तपाईँलाई कुन कुराको आवश्‍यकता छ अनि त्यसको प्रबन्ध कसरी मिलाउने भनेर उहाँलाई थाह छ। यहोवाको मदत अनुभव गर्नुभयो भने तपाईँको विश्‍वास बलियो हुनेछ र भविष्यमा अझ गाह्रा परीक्षाहरू पनि सहन सक्नुहुनेछ।—हब. ३:१७, १८.

“ठूलो आँधी”-को सामना गर्न विश्‍वास

बलियो विश्‍वासले “ठूलो आँधी”-को सामना गर्न मदत गर्छ, चाहे त्यो साँच्चैको होस्‌ या प्रतीकात्मक (अनुच्छेद ७-११ हेर्नुहोस्‌)

७. मत्ति ८:२३-२६ अनुसार “ठूलो आँधी”-ले कसरी चेलाहरूको विश्‍वासको जाँच गऱ्‍यो?

येसु र उहाँका चेलाहरू समुद्री आँधीमा फसेको बेला उहाँले त्यस मौकालाई चलाएर तिनीहरूले विश्‍वास बलियो बनाउनुपर्ने क्षेत्रबारे बुझ्न मदत गर्नुभयो। (मत्ति ८:२३-२६ पढ्‌नुहोस्‌।) आँधीले भीषण रूप लिएपछि पानी डुङ्‌गामाथि उर्लेर आउन थाल्यो। त्यतिबेला येसु सुतिरहनुभएको थियो। त्यसैले चेलाहरूले उहाँलाई उठाए र आफूहरूलाई बचाउन आग्रह गरे। येसुले चेलाहरूलाई सम्झाउँदै यसो भन्‍नुभयो: “तिमीहरू किन यतिबिघ्न डराउँछौ? तिमीहरूको विश्‍वास कत्ति कमजोर!” यहोवाले येसु र तिनीहरूलाई बचाउन सक्नुहुन्छ भन्‍ने कुरामा चेलाहरूले विश्‍वास गर्नुपर्थ्यो। यो विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? बलियो विश्‍वासले हामीलाई “ठूलो आँधी”-को सामना गर्न मदत गर्छ, चाहे त्यो साँच्चैको होस्‌ या प्रतीकात्मक।

८-९. आनेलको विश्‍वासको जाँच कसरी भयो र तिनलाई कुन कुराले मदत गऱ्‍यो?

पोर्टो रिकोमा बस्ने एक अविवाहित बहिनी आनेलले कठिन परीक्षा आइपर्दा कसरी आफ्नो विश्‍वास अझ बलियो बनाइन्‌, विचार गरौँ। सन्‌ २०१७ मा मारिया नाम गरेको “ठूलो आँधी”-ले तिनको घर ध्वस्त पाऱ्‍यो। त्यही आँधीले गर्दा तिनको जागिर पनि गुम्यो। तिनी यसरी सम्झिन्छिन्‌: “त्यतिबेला म निकै आत्तिएकी थिएँ। तर मैले प्रार्थना गरेर यहोवामा भर पर्न सिकेँ र तनावले गर्दा केही गर्नै नसक्ने अवस्थामा आफूलाई पुग्न दिइनँ।”

परीक्षाको सामना गर्न आफूलाई मदत गरेको अर्को कुराबारे पनि आनेलले बताइन्‌। त्यो हो, आज्ञाकारिता। तिनी भन्छिन्‌: “सङ्‌गठनको निर्देशन पछ्याउँदा म शान्त रहन सकेँ। आफूले पाएको आध्यात्मिक प्रोत्साहन र भाइबहिनीबाट पाएको आर्थिक सहयोगमा मैले यहोवाको हात देख्न सकेँ। मैले सोचेको भन्दा धेरै कुरा यहोवाले मलाई दिनुभयो। मेरो विश्‍वास पनि निकै बलियो भयो।”

१०. “ठूलो आँधी”-को सामना गर्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ?

१० के तपाईँ जीवनमा “ठूलो आँधी”-को सामना गर्दै हुनुहुन्छ? कुनै प्राकृतिक प्रकोपको चपेटामा परेकोले तपाईँलाई गाह्रो भइरहेको होला। अथवा प्रतीकात्मक आँधी, जस्तै: गम्भीर स्वास्थ्य समस्याले गर्दा तपाईँ निराश हुनुहुन्छ होला अनि के गर्ने कसो गर्ने भनेर बुझ्नै सक्नुभएको छैन होला। तर तनाव हुँदा यहोवामा भरोसा गर्न नछोड्‌नुहोस्‌। बरु उहाँलाई मनैदेखि प्रार्थना गर्नुहोस्‌। विगतमा उहाँले तपाईँलाई कसरी मदत गर्नुभयो, त्यसमा मनन गरेर आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌। (भज. ७७:११, १२) यसो गर्नुभयो भने यहोवाले तपाईँलाई कहिल्यै त्याग्नुहुन्‍न भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ।

११. हामीले नेतृत्व लिइरहेकाहरूप्रति आज्ञाकारी हुने सङ्‌कल्प किन गर्नुपर्छ?

११ परीक्षाको सामना गर्न अरू कुन कुराले मदत गर्छ? आनेलले भनेझैँ आज्ञाकारिताले। यहोवा र येसुले भरोसा गर्नुहुने व्यक्‍तिहरूमा भरोसा गर्नुहोस्‌। कहिलेकाहीँ हामीमाझ नेतृत्व लिइरहेका व्यक्‍तिहरूले दिएको निर्देशन आफूलाई लागू हुँदैन जस्तो लाग्न सक्छ। तर कृपया याद गर्नुहोस्‌, आज्ञाकारी व्यक्‍तिहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ। आज्ञाकारी हुँदा जीवन जोगिन्छ भनेर बाइबलबाट र परमेश्‍वरका वफादार सेवकहरूको अनुभवबाट सिक्न सक्छौँ। (प्रस्थ. १४:१-४; २ इति. २०:१७) यस्ता उदाहरणहरूमा मनन गर्नुभयो भने अहिले र भविष्यमा पनि सङ्‌गठनका प्रबन्धहरूलाई समर्थन गर्ने तपाईँको सङ्‌कल्प बलियो हुनेछ। (हिब्रू १३:१७) यसरी तपाईँ आउनै लागेको अझ ठूलो आँधीको सामना गर्न तयार हुनुहुनेछ।—हितो. ३:२५.

अन्याय सहन विश्‍वास

निरन्तर प्रार्थना गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. लुका १८:१-८ अनुसार विश्‍वास गर्नु र अन्याय सहनुबीच कस्तो सम्बन्ध छ?

१२ अन्यायले गर्दा आफ्ना चेलाहरूको विश्‍वासको जाँच हुनेछ भनेर येसुलाई थाह थियो। त्यसकारण उहाँले तिनीहरूलाई मदत गर्न एक जना विधवाको कथा बताउनुभयो। त्यो कथा लुकाको किताबमा रेकर्ड गरिएको छ। तिनले परमेश्‍वरको डर नमान्‍ने एक जना न्यायाधीशसँग न्यायको लागि बिन्ती गरिरहिन्‌। तिनले निरन्तर बिन्ती गरिरहेकीले अन्तमा त्यस न्यायाधीशले तिनको कुरा सुन्यो। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यहोवा अन्यायी हुनुहुन्‍न। येसुले यसो भन्‍नुभयो: “त्यसोभए के परमेश्‍वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्‍न र?” (लुका १८:१-८ पढ्‌नुहोस्‌।) उहाँले यसो पनि भन्‍नुभयो: “मानिसको छोरा आउँदा के उसले यस्तो विश्‍वास हुने मानिस पृथ्वीमा साँच्चै पाउनेछ?” अन्यायको सामना गर्नुपर्दा धीरजी भएर अनि हार नमानेर हामीले आफ्नो विश्‍वास त्यस विधवाको जस्तै बलियो छ भनेर देखाउनुपर्छ। यस्तो विश्‍वास छ भने ढिलो होस्‌ या चाँडो, यहोवाले हामीलाई पक्कै मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ। हामी प्रार्थनाको शक्‍तिमा पनि विश्‍वास गर्न चाहन्छौँ। कहिलेकाहीँ हामीले नसोचेको तरिकामा प्रार्थनाको जवाफ पाउन सक्छौँ।

१३. अन्यायको सामना गर्नुपरेको एउटा परिवारलाई प्रार्थनाले कसरी मदत गऱ्‍यो?

१३ प्रजातान्त्रिक गणतन्त्र कङ्‌गोमा बस्ने एक बहिनी भेरोको उदाहरण विचार गरौँ। तिनको गाउँमा विद्रोही सेनाले आक्रमण गरेकोले तिनी बेग्लै धर्म मान्‍ने आफ्नो पति र १५ वर्षीया छोरीसित त्यहाँबाट भाग्नुपऱ्‍यो। बाटोमा तिनीहरूलाई विद्रोही सेनाको एउटा दलले समात्यो र मार्ने धम्की दियो। त्यतिखेर भेरो रुन थालिन्‌। तर छोरीले आमालाई शान्त पार्न ठूलो स्वरमा पटक-पटक यहोवाको नाम पुकार्दै प्रार्थना गर्न थालिन्‌। प्रार्थना सिद्धिएपछि त्यस दलको कमान्डरले तिनलाई सोधे, “तिमीलाई प्रार्थना गर्न कसले सिकायो?” तिनले यस्तो जवाफ दिइन्‌, “आमाले मत्ति ६:९-१३ बाट सिकाउनुभयो।” कमान्डरले भने, “नानी, तिमी र तिम्रो आमाबुबालाई हामी जान दिन्छौँ। यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको रक्षा गरून्‌।”

१४. कुन कुराले हाम्रो विश्‍वासको जाँच गर्न सक्छ र हामीलाई सहन केले मदत गर्छ?

१४ यस्ता अनुभवहरूले हामीलाई प्रार्थनाको महत्त्व बुझ्न मदत गर्छ। तर आशा गरेजस्तो तुरुन्तै वा प्रस्टै देखिनेगरि प्रार्थनाको जवाफ नपाउँदा तपाईँको विश्‍वासको जाँच हुन सक्छ। तैपनि येसुको उदाहरणको विधवाले जस्तै निरन्तर प्रार्थना गरिरहनुहोस्‌। यहोवाले तपाईँलाई त्याग्नुहुन्‍न अनि कुनै न कुनै तरिकामा तपाईँको प्रार्थनाको जवाफ दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। यहोवासित प्रार्थनामा पवित्र शक्‍तिको लागि बिन्ती गर्नुहोस्‌। (फिलि. ४:१३) यहोवाले तपाईँलाई यत्ति धेरै आशिष्‌ दिनुहुनेछ कि विगतमा भोगेका सबै दुःख तपाईँले बिर्सनुहुनेछ। उहाँको मदत पाएर परीक्षाहरूको सामना गर्दै जाँदा तपाईँ भविष्यको लागि अझै बलियो हुनुहुनेछ।—१ पत्रु. १:६, ७.

चुनौतीहरूको बाबजुद अघि बढिरहन विश्‍वास

१५. मत्ति १७:१९, २० मा येसुका चेलाहरूले सामना गरेको कुन चुनौतीबारे बताइएको छ?

१५ चुनौतीहरूको बाबजुद अघि बढिरहन विश्‍वासले मदत गर्नेछ भनेर येसुले चेलाहरूलाई बताउनुभयो। (मत्ति १७:१९, २० पढ्‌नुहोस्‌।) विगतमा चेलाहरूले प्रेतहरूलाई धपाउन सकेको भए तापनि एकचोटि भने सकेनन्‌। समस्या के थियो? तिनीहरूसित विश्‍वासको कमी थियो। तिनीहरूसित अझ धेरै विश्‍वास भएको भए तिनीहरूले पहाडरूपी चुनौतीहरू पनि पार गर्न सक्ने थिए भनेर येसुले बताउनुभयो। अहिले हामीले पनि पार गर्न सक्दिनँ जस्तो लाग्ने चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ।

असह्‍य पीडा भोग्नुपरे पनि यहोवाको सेवामा व्यस्त रहन विश्‍वासले मदत गर्छ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. गेइडीलाई पीडा सहन केले मदत गऱ्‍यो?

१६ ग्वाटेमालामा बस्ने बहिनी गेइडीको अनुभव विचार गर्नुहोस्‌। मण्डलीको सभाबाट घर फर्कँदै गर्दा तिनको पति इडीको हत्या गरियो। गेइडीलाई यस्तो ठूलो पीडा सहन विश्‍वासले कसरी मदत गऱ्‍यो? तिनी भन्छिन्‌: “प्रार्थनाले मलाई आफ्नो भारी यहोवामा बिसाउन र शान्त रहन मदत गरेको छ। यहोवाले परिवार र मण्डलीका साथीहरू चलाएर मेरो ख्याल राखिरहनुभएको छ। यहोवाको सेवामा व्यस्त रहँदा मैले पीडा सहन र भोलिको चिन्ता नगर्न मदत पाएकी छु। यो घटनाले गर्दा भविष्यमा जस्तोसुकै चुनौती आए पनि यहोवा, येसु र सङ्‌गठनको मदत पाएर त्यसको सामना गर्न सक्नेछु भन्‍ने कुरा बुझेकी छु।”

१७. पहाडरूपी समस्याहरूको सामना गर्नुपर्दा हामी के गर्न सक्छौँ?

१७ के तपाईँ प्रियजनको मृत्यु भएकोले शोक गर्दै हुनुहुन्छ? त्यसो हो भने फेरि जीवित हुने आशाबारे बाइबलमा पाइने विवरणहरू समय लगाएर पढ्‌नुहोस्‌ र त्यस आशामा आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌। के तपाईँ परिवारको कुनै सदस्य बहिष्कार भएकोले दुःखी हुनुहुन्छ? त्यसो हो भने यहोवाले दिनुहुने अनुशासन हाम्रै हितको लागि हो भनेर विश्‍वस्त हुन त्यसबारे अध्ययन गर्नुहोस्‌। जुनसुकै चुनौतीको सामना गर्नुपरे तापनि त्यसलाई आफ्नो विश्‍वास बलियो बनाउने मौकाको रूपमा लिनुहोस्‌। यहोवालाई आफ्नो मनको बह पोख्नुहोस्‌। आफूलाई एक्लो नपार्नुहोस्‌, बरु भाइबहिनीसित नजिक भइरहनुहोस्‌। (हितो. १८:१) आँसु बगाउनै परे तापनि तपाईँलाई पीडा सहन मदत गर्ने गतिविधिमा भाग लिन नछोड्‌नुहोस्‌। (भज. १२६:५, ६) सभा जाने, साक्षी दिने र बाइबल पढ्‌नेजस्ता कुराहरू गरिरहनुहोस्‌। अनि यहोवाले तपाईँको लागि साँचेर राख्नुभएका सुन्दर आशिष्‌हरूमा पनि ध्यान दिइरहनुहोस्‌। यहोवाले तपाईँलाई कसरी मदत दिइरहनुभएको छ भनेर विचार गर्नुभयो भने तपाईँको विश्‍वास अझ बलियो हुनेछ।

“हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

१८. विश्‍वासको कमी महसुस गर्नुभएको छ भने तपाईँ के गर्न सक्नुहुन्छ?

१८ विगतमा वा अहिले परीक्षाहरूको सामना गर्नुपर्दा आफूमा विश्‍वासको कमी रहेछ भनेर महसुस गर्नुभएको छ भने हरेस नखानुहोस्‌। बरु यसलाई विश्‍वास बलियो बनाउने मौकाको रूपमा हेर्नुहोस्‌। येसुका चेलाहरूले जस्तै तपाईँ प्रार्थनामा यसरी बिन्ती गर्न सक्नुहुन्छ: “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌।” (लुका १७:५) यस लेखमा पढेका अनुभवहरूमा पनि मनन गर्नुहोस्‌। मिगेल र युरीले जस्तै यहोवाले तपाईँलाई मदत गर्नुभएका क्षणहरू सम्झनुहोस्‌। ठूलो चुनौतीको सामना गर्नुपर्दा भेरोकी छोरी र आनेलले जस्तै व्यग्र प्रार्थना गर्नुहोस्‌। गेइडीले जस्तै यहोवाले परिवार र साथीहरूलाई चलाएर तपाईँलाई आवश्‍यक मदत दिनुहुनेछ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। अहिले चुनौतीहरूको सामना गर्नुपर्दा यहोवाको मदत स्विकार्नुभयो भने भविष्यमा कुनै पनि चुनौतीको सामना गर्न यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुनेछ।

१९. येसु कुन कुरामा विश्‍वस्त हुनुहुन्थ्यो र तपाईँ कुन कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ?

१९ चेलाहरूले विश्‍वास बलियो बनाउनुपर्ने क्षेत्रहरू येसुले देखाइदिनुभयो। तर तिनीहरूले भविष्यमा सामना गर्नुपर्ने चुनौतीहरू पार गर्न सक्ने हो कि होइन भनेर उहाँले कहिल्यै पनि शङ्‌का गर्नुभएन। (युह. १४:१; १६:३३) बलियो विश्‍वासले गर्दा एउटा ठूलो भीडले महासङ्‌कष्ट पार गर्नेछ भन्‍ने कुरामा उहाँ विश्‍वस्त हुनुहुन्थ्यो। (प्रका. ७:९, १४) के तपाईँ पनि त्यो ठूलो भीडमा हुनुहुनेछ? यहोवाको असीम अनुग्रहले गर्दा तपाईँ पनि त्यो भीडमा हुन सक्नुहुन्छ। तर त्यसको लागि अहिल्यै आफ्नो विश्‍वास बलियो बनाउने हरेक मौकाको सदुपयोग गर्नुहोस्‌।—हिब्रू १०:३९.

गीत ११८ “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

^ अनु. 5 यस दुष्ट संसारको अन्त हुने समयको हामी प्रतीक्षा गर्दै छौँ। तर त्यस समयको दौडान परमेश्‍वरमाथिको विश्‍वास बलियो रहिरहने हो कि होइन भनेर हामीलाई चिन्ता लाग्न सक्छ। यस लेखमा हामी केही अनुभवहरू र पाठहरू विचार गर्नेछौँ, जसले हामीलाई आफ्नो विश्‍वास बलियो बनाउन मदत गर्नेछ।