सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४४

यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?

यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?

“[यहोवाको] अटल प्रेम कहिल्यै टल्दैन।”—भज. १३६:१.

गीत १०८ परमेश्‍वरको अटल प्रेम

परिचय *

१. यहोवाले हामीलाई कस्तो प्रोत्साहन दिनुभएको छ?

यहोवा खुसीसाथ अटल प्रेम देखाउनुहुन्छ। (होसे ६:६, फुटनोट) उहाँ आफ्ना सेवकहरूलाई पनि त्यसै गर्न न्यानो प्रोत्साहन दिनुहुन्छ। ‘अटल प्रेमलाई प्रेम गर्न’ परमेश्‍वरले हामीलाई भविष्यवक्‍ता मिकामार्फत आग्रह गर्नुभएको छ। (मिका ६:८, फुटनोट) तर सुरुमा हामीले अटल प्रेम के हो भनेर बुझ्नु जरुरी छ।

२. अटल प्रेम भनेको के हो?

अटल प्रेम भनेको के हो? “अटल प्रेम” भन्‍ने अभिव्यक्‍ति पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा लगभग २३० चोटि चलाइएको छ। यस अनुवादको “बाइबलको शब्दावली”-अनुसार “यसले वचनबद्धता, निष्ठा, वफादारी र गहिरो स्नेहले उत्प्रेरित भएर गरिने प्रेमलाई बुझाउँछ। बाइबलमा अक्सर मानिसजातिप्रति परमेश्‍वरको प्रेमलाई बुझाउन यो शब्द प्रयोग गरिएको छ तर यसले मानिसहरूबीच हुने प्रेमलाई पनि बुझाउँछ।” अटल प्रेम देखाउने सन्दर्भमा यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। यस लेखमा यहोवा मानिसहरूलाई कसरी अटल प्रेम देखाउनुहुन्छ भनेर छलफल गर्नेछौँ। यसपछिको लेखमा हामी एकअर्कालाई अटल प्रेम देखाउँदै कसरी यहोवाको अनुकरण गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

यहोवा ‘अटल प्रेमले भरिपूर्ण’ हुनुहुन्छ

३. यहोवाले मोसालाई आफूबारे के प्रकट गर्नुभयो?

इस्राएलीहरू मिश्रबाट निस्केको केही समयपछि यहोवाले मोसालाई आफ्नो नाम र गुणहरूबारे केही कुरा प्रकट गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “यहोवा, हो म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु। मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ। म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु।” (प्रस्थ. ३४:६, ७) यहोवाले आफ्ना गुणहरूबारे यस्तो मनै छुने अभिव्यक्‍ति प्रयोग गर्नुहुँदा आफ्नो अटल प्रेमको एउटा महत्त्वपूर्ण पक्ष पनि प्रकट गर्नुभयो। त्यो के हो?

४-५. (क) यहोवाले आफूबारे के बताउनुभएको छ? (ख) हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

यहोवाले आफूमा अटल प्रेम भएको मात्र होइन, बरु आफू ‘अटल प्रेमले भरिपूर्ण’ छु भनेर बताउनुभएको छ। बाइबलमा यो अभिव्यक्‍ति अरू छ ठाउँमा पनि प्रयोग गरिएको छ। (गन्ती १४:१८; नहे. ९:१७; भज. ८६:१५; १०३:८; योए. २:१३; योना ४:२) यी सबै पदमा यो अभिव्यक्‍ति मानिसको लागि होइन, यहोवाको लागि मात्र प्रयोग गरिएको छ। यहोवाले आफ्नो अटल प्रेम भन्‍ने गुणलाई यसरी जोड दिनु उल्लेखनीय छ। यसबाट उहाँ अटल प्रेम देखाउनुलाई कत्ति महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर बुझ्न सक्छौँ। * त्यसैले राजा दाउदले यसो भने: “हे यहोवा, तपाईँको अटल प्रेम आकाशसम्मै पुग्छ . . . तपाईँको अटल प्रेम कत्ति अनमोल छ! तपाईँका पखेटाहरूको छायामा मानिसहरूले शरण लिन्छन्‌।” (भज. ३६:५, ७) दाउदजस्तै के हामी पनि परमेश्‍वरको अटल प्रेमको लागि मनैदेखि कृतज्ञ छौँ?

अटल प्रेम भनेको के हो भनेर अझ राम्ररी बुझ्न यी दुई वटा प्रश्‍नबारे छलफल गरौँ: यहोवा कसलाई अटल प्रेम देखाउनुहुन्छ? अनि उहाँले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूबाट हामी कसरी लाभ उठाउन सक्छौँ?

यहोवा कसलाई अटल प्रेम देखाउनुहुन्छ?

६. यहोवा कसलाई अटल प्रेम देखाउनुहुन्छ?

यहोवा कसलाई अटल प्रेम देखाउनुहुन्छ? बाइबलमा हामी थुप्रै कुरालाई प्रेम गर्छौँ भनेर बताइएको छ। जस्तै: “नाम,” “व्यवस्था,” “बुद्धि,” “असल कुरा” र “जीवन।” (भज. ६९:३६; ११९:९७; हितो. २९:३; आमो. ५:१५; १ पत्रु. ३:१०) तर अटल प्रेम कुनै चीज वा धारणालाई नभई मानिसलाई मात्र देखाइन्छ। यहोवा जो-कोहीलाई अटल प्रेम देखाउनुहुन्‍न। उहाँ आफूसित विशेष सम्बन्धमा गाँसिएका व्यक्‍तिहरूलाई मात्र अटल प्रेम देखाउनुहुन्छ। हाम्रा परमेश्‍वर आफ्ना मित्रहरूप्रति वफादार हुनुहुन्छ। उहाँले तिनीहरूको लागि सुन्दर उद्देश्‍य राख्नुभएको छ र उहाँ तिनीहरूलाई प्रेम गर्न कहिल्यै छोड्‌नुहुन्‍न।

यहोवाले पूरै मानव परिवारलाई थुप्रै असल कुरा दिनुभएको छ, उहाँको उपासना नगर्नेहरूलाई समेत (अनुच्छेद ७ हेर्नुहोस्‌) *

७. यहोवाले सबै मानिसलाई कसरी प्रेम देखाउनुभएको छ?

यहोवाले सबै मानिसलाई प्रेम देखाउनुभएको छ। येसुले निकोदेमस नाम गरेका मानिसलाई यसो भन्‍नुभएको थियो: “परमेश्‍वरले संसारलाई [अर्थात्‌ मानिसजातिलाई] यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”—युह. ३:१, १६; मत्ति ५:४४, ४५.

राजा दाउद र भविष्यवक्‍ता दानिएलले लेखेअनुसार यहोवा उहाँलाई चिन्‍ने, उहाँको भय मान्‍ने, उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूलाई अटल प्रेम देखाउनुहुन्छ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

८-९. (क) यहोवा आफ्ना सेवकहरूलाई किन अटल प्रेम देखाउनुहुन्छ? (ख) अब हामी कुन कुरा छलफल गर्नेछौँ?

अगाडि उल्लेख गरिएझैँ यहोवा आफूसित विशेष सम्बन्धमा गाँसिएका व्यक्‍तिहरूलाई मात्र अटल प्रेम देखाउनुहुन्छ। यो कुरा राजा दाउद र भविष्यवक्‍ता दानिएलले लेखेका शब्दहरूबाट स्पष्ट हुन्छ। उदाहरणको लागि, दाउदले यसो भने: “तपाईँलाई चिन्‍नेहरूलाई अटल प्रेम देखाउन नछोड्‌नुहोस्‌।” “ज-जसले यहोवाको भय मान्छन्‌, तिनीहरूप्रति उहाँको अटल प्रेम सदा रहिरहन्छ।” दानिएलले पनि यसो भने: “हे साँचो परमेश्‍वर यहोवा, . . . तपाईँलाई प्रेम गर्ने तपाईँको आज्ञा पालन गर्नेहरूलाई [तपाईँ] अटल प्रेम देखाउनुहुन्छ।” (भज. ३६:१०; १०३:१७; दानि. ९:४) परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका यी शब्दहरूलाई विचार गर्दा यहोवा आफ्ना सेवकहरूलाई अटल प्रेम देखाउनुहुन्छ किनकि तिनीहरू उहाँलाई चिन्छन्‌, उहाँको भय मान्छन्‌, उहाँलाई प्रेम गर्छन्‌ र उहाँको आज्ञा पालन गर्छन्‌। स्पष्ट छ, यहोवा आफ्ना मानिसहरू—आफ्ना साँचो उपासकहरूलाई मात्र अटल प्रेम देखाउनुहुन्छ।

हामीले यहोवाको सेवा गर्न थाल्नुअघि नै उहाँले सबै मानिसलाई देखाउनुभएको प्रेमबाट लाभ उठायौँ। (भज. १०४:१४) तर यहोवाको उपासकको रूपमा अहिले हामीले उहाँको अटल प्रेमबाट पनि लाभ उठाइरहेका छौँ। यहोवा आफ्ना सेवकहरूलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “मेरो अटल प्रेम कहिल्यै हट्‌नेछैन।” (यसै. ५४:१०, फुटनोट) दाउदले आफैले अनुभव गरेको कुरा यसरी लेखे: “यहोवाले आफ्ना वफादार जनहरूको धेरै ख्याल राख्नुहुन्छ।” (भज. ४:३) यो कुरा थाह पाउँदा हामी के गर्न उत्प्रेरित हुन्छौँ? भजनरचयिताले यसो भने: “जो बुद्धिमान्‌ छ, उसले यी सबै कुरा याद गर्नेछ अनि यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार गर्नेछ।” (भज. १०७:४३) यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूबाट उहाँका सेवकहरूले लाभ उठाउन सक्ने तीन वटा तरिका अब छलफल गरौँ।

यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूबाट लाभ उठाउनुहोस्‌

यहोवा आफ्ना उपासकहरूलाई थप आशिष्‌हरू दिनुहुन्छ (अनुच्छेद १०-१६ हेर्नुहोस्‌) *

१०. यहोवाको अटल प्रेम सधैँभरि रहन्छ भनेर थाह पाउँदा हामी कस्तो मदत पाउँछौँ? (भजन ३१:७)

१० परमेश्‍वरको अटल प्रेम सधैँभरि रहन्छ। अटल प्रेमको यो महत्त्वपूर्ण पक्षबारे भजन अध्याय १३६ मा २६ चोटि उल्लेख गरिएको छ। सुरुको पदमा यसो भनिएको छ: “यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ; उहाँको अटल प्रेम कहिल्यै टल्दैन।” (भज. १३६:१) यस भजनमा यहोवाले हामीलाई अटल प्रेम देखाउनुहुने विभिन्‍न तरिकाहरूबारे पढ्‌दा हाम्रो मनै छुन्छ। पद २ देखि २६ हेर्ने हो भने प्रत्येक पदमा “किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन” भन्‍ने वाक्यांश पाइन्छ। यो वाक्यांशले यहोवा आफ्ना सेवकहरूलाई प्रेम गर्न कहिल्यै छोड्‌नुहुन्‍न भन्‍ने आश्‍वासन दिन्छ। यहोवा उहाँको सेवा गर्नेहरूलाई कहिल्यै त्याग्नुहुन्‍न, विशेषगरि गाह्रो अवस्थामा। हामी कसरी लाभ उठाउन सक्छौँ? यहोवा हामीलाई कहिल्यै त्याग्नुहुन्‍न भन्‍ने कुरा थाह पाउँदा हामी आनन्दित हुन्छौँ अनि समस्याहरूको सामना गर्दै जीवनको बाटोमा हिँडिरहन बल पाउँछौँ।भजन ३१:७ पढ्‌नुहोस्‌।

११. भजन ८६:५ अनुसार क्षमा दिन यहोवालाई केले उत्प्रेरित गर्छ?

११ हामीलाई क्षमा दिन परमेश्‍वरको अटल प्रेमले उहाँलाई उत्प्रेरित गर्छ। पाप गर्ने कुनै व्यक्‍तिले पश्‍चात्ताप गर्दा र गलत मार्ग त्याग्दा तिनलाई क्षमा दिन यहोवालाई अटल प्रेमले उत्प्रेरित गर्छ। भजनरचयिता दाउदले यहोवाबारे यसो भने: “उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन, न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।” (भज. १०३:८-११) दोषी अन्तस्करण कत्ति बोझिलो हुन्छ भन्‍ने कुरा दाउदले आफ्नै पीडादायी अनुभवबाट थाह पाएका थिए। तर यहोवा “क्षमा गर्न सधैँ तयार हुनुहुन्छ” भन्‍ने कुरा पनि तिनले बुझेका थिए। क्षमा दिन उहाँलाई केले उत्प्रेरित गर्छ? यसको जवाफ भजन ८६:५ मा पाइन्छ। (पढ्‌नुहोस्‌।) दाउदले आफ्नो प्रार्थनामा बताएझैँ यहोवा क्षमा दिनुहुन्छ किनकि उहाँलाई पुकार्ने सबैलाई उहाँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।

१२-१३. विगतमा गरेका गल्तीहरूले गर्दा दोषी भावनाले पिरोलिरहेको छ भने हामीलाई कुन कुराले मदत गर्छ?

१२ हामीले आफ्नो गल्तीको लागि पछुतो मान्‍नुपर्छ र यो राम्रो पनि हो। यस्तो भावनाले हामीलाई पश्‍चात्ताप गर्न र आफ्ना गल्तीहरू सुधार्नको लागि कदम चाल्न उत्प्रेरित गर्छ। तर परमेश्‍वरका केही सेवकलाई विगतमा आफूले गरेका गल्तीहरूले गर्दा दोषी भावनाले पिरोलिरहेको छ। पश्‍चात्ताप गरेर गलत काम त्यागे पनि यहोवाले आफूलाई कहिल्यै क्षमा दिनुहुन्‍न जस्तो तिनीहरूलाई लाग्छ। उहाँ आफ्ना सेवकहरूलाई अटल प्रेम देखाउन सधैँ इच्छुक हुनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा तपाईँले यस्तो भावना हटाउन सक्नुहुनेछ।

१३ हामी कसरी लाभ उठाउन सक्छौँ? हामी त्रुटिपूर्ण भए पनि सफा अन्तस्करण लिएर खुसीसाथ यहोवाको सेवा गर्न सक्छौँ। यो सम्भव छ किनकि “उहाँको छोरा येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।” (१ युह. १:७) आफूले गरेको कुनै गल्तीले गर्दा निराश हुनुहुन्छ भने यहोवा पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई क्षमा दिन साँच्चै इच्छुक हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌। दाउदले अटल प्रेम र क्षमाबीचको सम्बन्धबारे यस्तो लेखे: “जसरी आकाश पृथ्वीभन्दा उच्च छ, त्यसैगरि उहाँको भय मान्‍नेहरूप्रति उहाँको अटल प्रेम अपार छ। पूर्वबाट पश्‍चिम जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।” (भज. १०३:११, फुटनोट, १२) हो, यहोवा पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई “खुला मनले क्षमा” गर्न इच्छुक हुनुहुन्छ।—यसै. ५५:७.

१४. परमेश्‍वरको अटल प्रेमले हामीलाई सुरक्षा दिन्छ भनेर दाउदले कसरी बताए?

१४ परमेश्‍वरको अटल प्रेमले हामीलाई आध्यात्मिक सुरक्षा दिन्छ। यहोवालाई प्रार्थना गर्दा दाउदले यसो भने: “तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ; तपाईँले मलाई सङ्‌कष्टबाट जोगाउनुहुनेछ। तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुन्जाउनुहुनेछ। . . . यहोवालाई भरोसा गर्नेहरू उहाँको अटल प्रेमले घेरिएका हुन्छन्‌।” (भज. ३२:७, १०) पुरातन समयका सहरहरू पर्खालले घेरिएका हुन्थे र त्यसले त्यहाँका बासिन्दाहरूलाई सुरक्षा दिन्थ्यो। त्यसैगरि यहोवाको अटल प्रेमले हाम्रो सत्यनिष्ठाको जाँच हुन सक्ने खतराहरूबाट हामीलाई आध्यात्मिक सुरक्षा दिन्छ। साथै यहोवा उहाँको अटल प्रेमले गर्दा नै हामीलाई आफूतर्फ खिच्नुहुन्छ।—यर्मि. ३१:३.

१५. यहोवाको अटल प्रेमलाई किन शरणस्थान र किल्लासित तुलना गर्न सकिन्छ?

१५ परमेश्‍वरले आफ्ना सेवकहरूलाई दिनुहुने सुरक्षालाई दाउदले अर्को कुरासित पनि तुलना गरे। तिनले यस्तो लेखे: “परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ, जसले मलाई अटल प्रेम देखाउनुहुन्छ।” दाउदले यहोवाबारे यसो पनि भने: “उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ, मेरो शरणस्थान र मेरो उद्धारक, मेरो ढाल र मेरो परमेश्‍वर, जसमा मैले शरण लिएको छु।” (भज. ५९:१७; १४४:२) दाउदले यहोवाको अटल प्रेमलाई किन शरणस्थान र किल्लासित तुलना गरे? हामी जहाँसुकै भए पनि यहोवाको सेवा गर्न छोडेनौँ भने उहाँसितको अनमोल सम्बन्ध जोगाउन चाहिने सबै कुरा उहाँले दिनुहुनेछ। भजन अध्याय ९१ मा पनि त्यस्तै आश्‍वासन पाइन्छ। त्यस भजनका लेखकले यसो भने: “म यहोवालाई भन्‍नेछु: ‘तपाईँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ।’” (भज. ९१:१-३, ९, १४) मोसाले पनि यहोवालाई शरणस्थानसित तुलना गरे। (भज. ९०:१, फुटनोट) साथै तिनले आफ्नो जीवनको अन्ततिर यहोवाबारे गरेको अर्को तुलनाबाट पनि हामी आश्‍वासन पाउँछौँ। तिनले यस्तो लेखे: “धेरै पहिलेदेखि परमेश्‍वर तिम्रो शरणस्थान हुनुहुन्छ, उहाँको बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ।” (व्यव. ३३:२७) “उहाँको बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ” भन्‍ने अभिव्यक्‍तिले यहोवाबारे के बताउँछ?

१६. हामी कुन दुइटा कुरामा ढुक्क हुन सक्छौँ? (भजन १३६:२३)

१६ यहोवालाई आफ्नो शरणस्थान बनाउँदा हामी सुरक्षित महसुस गर्छौँ। तैपनि कहिलेकाहीँ हामी निरुत्साहित हुन सक्छौँ र त्यस्तो भावना हटाउन निकै गाह्रो हुन सक्छ। त्यस्तो अवस्थामा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? (भजन १३६:२३ पढ्‌नुहोस्‌।) उहाँले हामीलाई आफ्नो बाहुलीले थाम्नुहुनेछ र निरुत्साहको भावना हटाएर फेरि खडा हुन मदत गर्नुहुनेछ। (भज. २८:९; ९४:१८) हामी कसरी लाभ उठाउन सक्छौँ? परमेश्‍वरले हामीलाई सधैँ साथ दिनुहुन्छ भनेर थाह पाउँदा हामी दुइटा कुरामा ढुक्क हुन सक्छौँ। पहिलो, हामी जहाँसुकै भए पनि यहोवा हाम्रो सुरक्षित शरणस्थान हुनुहुन्छ। दोस्रो, स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाले हाम्रो सधैँ ख्याल राख्नुहुन्छ।

परमेश्‍वरले हामीलाई अटल प्रेम देखाइरहनुहुनेछ!

१७. परमेश्‍वरको अटल प्रेमले गर्दा हामी कुन कुरामा ढुक्क हुन सक्छौँ? (भजन ३३:१८-२२)

१७ हामीले जीवनमा पहाडरूपी समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। तर यहोवाले हामीलाई सत्यनिष्ठा कायम राख्न मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। (२ कोरि. ४:७-९) भविष्यवक्‍ता यर्मियाले यसो भने: “यहोवाको अटल प्रेमले गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।” (विला. ३:२२) यहोवाको अटल प्रेम हामीसँग सधैँभरि रहन्छ। भजनरचयिताले हामीलाई यस्तो आश्‍वासन दिएका छन्‌: “यहोवासित डराउनेहरूमाथि र उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ।”भजन ३३:१८-२२ पढ्‌नुहोस्‌।

१८-१९. (क) हामी कुन कुरा मनमा राख्न चाहन्छौँ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१८ हामी कुन कुरा मनमा राख्न चाहन्छौँ? हामीले यहोवाको सेवा गर्न थाल्नुअघि नै उहाँले सबै मानिसलाई देखाउनुभएको प्रेमबाट लाभ उठायौँ। तर यहोवाको उपासक भएपछि हामीले उहाँको अटल प्रेमबाट पनि लाभ उठाइरहेका छौँ। त्यही अटल प्रेमले उत्प्रेरित भएर उहाँ हामीलाई अङ्‌गालोमा बाँध्नुहुन्छ अनि आफ्नो नजिक ल्याउनुहुन्छ। हाम्रो लागि राख्नुभएको उद्देश्‍य पनि उहाँ पूरा गर्नुहुन्छ अनि हामीलाई सफल हुन मदत गर्नुहुन्छ। (भज. ४६:१, २, ७) त्यसैले चाहे जस्तोसुकै परीक्षा भोग्नु किन नपरोस्‌, हामी त्यसको सामना गर्न र सत्यनिष्ठ रहन बल पाउँछौँ।

१९ यहोवाले आफ्ना सेवकहरूलाई अटल प्रेम देखाउनुभएको छ भनेर हामीले बुझ्यौँ। तर हामीले पनि एकअर्कालाई अटल प्रेम देखाएको उहाँ चाहनुहुन्छ। त्यसोभए हामी कसरी अटल प्रेम देखाउन सक्छौँ? यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।

गीत १३६ “यहोवाले पूरापूर प्रतिफल देऊन्‌”

^ अनु. 5 अटल प्रेम भनेको के हो? यहोवा कसलाई अटल प्रेम देखाउनुहुन्छ र यहोवाको अटल प्रेम पाउनेहरूले कस्तो लाभ उठाउन सक्छन्‌? हामी यस लेखमा यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ। यो उल्लेखनीय गुणबारे हामी यस लेखमा र यसपछिको लेखमा पनि चर्चा गर्नेछौँ।

^ अनु. 4 बाइबलका अन्य पदहरूमा पनि परमेश्‍वर अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ भन्‍ने कुरा झल्किने शब्दहरू चलाइएको छ।—नहेम्याह १३:२२; भजन ६९:१३; १०६:७ र विलाप ३:३२ हेर्नुहोस्‌।

^ अनु. 54 चित्रको व्याख्या: यहोवाले आफ्ना सेवकहरूलगायत सबै मानिसलाई प्रेम देखाउनुभएको छ। उहाँले हामीलाई प्रेम देखाउनुभएका केही तरिकाहरू गोलो घेरामा राखिएको छ। सबैभन्दा महत्त्वपूर्ण चाहिँ फिरौतीको प्रबन्ध हो।

^ अनु. 62 चित्रको व्याख्या: यहोवाको सेवक बन्‍ने र फिरौतीको प्रबन्धमा विश्‍वास गर्नेहरूले उहाँको प्रेमबाट अर्को तरिकामा पनि लाभ उठाउन सक्छन्‌। तिनीहरूले परमेश्‍वरले सबै मानिसलाई गर्नुहुने प्रेमबाट मात्र नभई उहाँको अटल प्रेमबाट पनि लाभ उठाउन सक्छन्‌। तिनीहरूले परमेश्‍वरको अटल प्रेमबाट लाभ उठाउन सक्ने केही तरिकाहरू गोलो घेरामा राखिएको छ।