सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४८

“तिमीहरू पवित्र हुनै पर्छ”

“तिमीहरू पवित्र हुनै पर्छ”

“तिमीहरू . . . आफ्नो सारा चालचलनमा पवित्र होओ।”—१ पत्रु. १:१५.

गीत ३४ निष्ठामा हिँडौँ!

परिचय *

१. प्रेषित पत्रुसले सङ्‌गी ख्रिष्टियनहरूलाई कस्तो सल्लाह दिए? हामीलाई यो सल्लाह लागू गर्न असम्भव छ जस्तो किन लाग्न सक्छ?

हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने, प्रेषित पत्रुसले प्रथम शताब्दीका अभिषक्‍त ख्रिष्टियनहरूलाई दिएको यो सल्लाहबाट हामी लाभ उठाउन सक्छौँ: “तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्‍वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ किनभने यस्तो लेखिएको छ: ‘तिमीहरू पवित्र हुनै पर्छ किनकि म पवित्र छु।’” (१ पत्रु. १:१५, १६) यी शब्दहरूले हामी यहोवाको अनुकरण गर्न सक्छौँ भनेर देखाउँछ, जो पवित्रताको उत्कृष्ट उदाहरण हुनुहुन्छ। हामी आफ्नो सारा चालचलनमा पवित्र हुन सक्छौँ र पवित्र हुनु पनि पर्छ। तर त्रुटिपूर्ण भएकोले यो असम्भव छ जस्तो हामीलाई लाग्न सक्छ। प्रेषित पत्रुसले केही गल्तीहरू गरे तर तिनको उदाहरणले हामी “पवित्र” हुन सक्छौँ भनेर देखाउँछ।

२. यस लेखमा हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौँ?

यस लेखमा हामी निम्न प्रश्‍नहरू छलफल गर्नेछौँ: पवित्र हुनु भनेको के हो? यहोवाको पवित्रताबारे हामी बाइबलबाट के सिक्न सक्छौँ? हामी आफ्नो सारा चालचलनमा कसरी पवित्र हुन सक्छौँ? हामी पवित्र हुनु र नहुनुले यहोवासितको हाम्रो सम्बन्धमा कस्तो फरक पार्छ?

पवित्र हुनु भनेको के हो?

३. धेरैलाई पवित्र हुनु भनेको के हो जस्तो लाग्छ तर हामी यसबारे सही जानकारी कहाँ पाउँछौँ?

धेरैजसो मानिसले पवित्र मानिस कस्तो हुन्छ भनेर कल्पना गर्दा कुनै खास धर्मलाई चिनाउने पहिरन लगाएको अनि कहिल्यै नहाँस्ने र गम्भीर देखिने मानिसलाई सम्झिने गर्छन्‌। तर पवित्र हुनु भनेको त्यस्तो होइन। यहोवा पवित्र हुनुहुन्छ र उहाँलाई बाइबलमा “आनन्दित परमेश्‍वर” भनिएको छ। (१ तिमो. १:११) उहाँका उपासकहरूलाई पनि “आनन्दित” मानिसहरू भनिएको छ। (भज. १४४:१५) येसुले आफ्नो समयका धर्मगुरुहरूको निन्दा गर्नुभयो, जसले लामा-लामा लुगा लगाउँथे र अरूलाई देखाउन धर्मकर्म गर्थे। (मत्ति ६:१; मर्कु. १२:३८) हामीले बाइबलबाट सिकेका कुराहरूबाट पवित्र हुनु भनेको के हो भनेर बुझेका छौँ। यहोवा पवित्र र मायालु परमेश्‍वर हुनुभएकोले उहाँ हामीले पालन गर्नै नसक्ने आज्ञा दिनुहुन्‍न। उहाँले हामीलाई “तिमीहरू पवित्र हुनै पर्छ” भन्‍नुभएको छ। त्यसैले हामी आफ्नो सारा चालचलनमा पवित्र हुन सम्भव छ। तर त्यसको लागि सबैभन्दा पहिला, पवित्र हुनु भनेको के हो भनेर बुझ्नुपर्छ।

४. “पवित्र” र “पवित्रता” भन्‍ने शब्दहरूको अर्थ के हो?

पवित्र हुनु अर्थात्‌ पवित्रता भनेको के हो? बाइबलमा प्रयोग गरिएको “पवित्र” र “पवित्रता” भन्‍ने शब्दहरूले साधारणतया नैतिक र धार्मिक रूपमा स्वच्छ र शुद्ध हुनु भन्‍ने अर्थ दिन्छ। यसले यहोवाको सेवाको लागि अलग्गै छुट्ट्याइएको भन्‍ने अर्थ पनि दिन्छ। अर्को शब्दमा भन्‍नुपर्दा, हामी नैतिक रूपमा स्वच्छ छौँ, परमेश्‍वरलाई मन पर्ने तरिकामा उहाँको उपासना गर्छौँ र उहाँसित व्यक्‍तिगत सम्बन्ध विकास गरेका छौँ भने हामीलाई पवित्र भन्‍न मिल्छ। हामीजस्तो त्रुटिपूर्ण मानिसहरूले पनि पवित्र परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्न पाउनु कत्ति ठूलो सम्मान हो!

“यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!”

५. वफादार स्वर्गदूतहरूबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

यहोवा हर तवरमा शुद्ध र स्वच्छ हुनुहुन्छ। यो कुरा उहाँको सिंहासनको नजिकै खडा हुने स्वर्गदूतहरू जसलाई बाइबलमा सराफहरू भनिएको छ, तिनीहरूले भनेको कुराबाट थाह पाउन सक्छौँ। तिनीहरूमध्ये केहीले यसो भने: “सेनाहरूका यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!” (यसै. ६:३) पवित्र परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्ने हो भने ती सराफहरू आफै पनि पवित्र हुनुपर्छ र तिनीहरू पवित्र छन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। किनकि ती स्वर्गदूतहरू देखा परेको भूमि पवित्र भएको विवरण बाइबलमा पाइन्छ। जस्तै, बलिरहेको झाडीसम्बन्धी विवरण हेर्ने हो भने स्वर्गदूत देखा परेको त्यो भूमि पवित्र भएको थियो।—प्रस्थ. ३:२-५; यहो. ५:१५.

प्रधानपुजारीको फेटामाथि बाँधिने सुनको पातामा “यहोवा पवित्र हुनुहुन्छ” भनेर लेखिएको हुन्थ्यो (अनुच्छेद ६-७ हेर्नुहोस्‌)

६-७. (क) प्रस्थान १५:१, ११ अनुसार मोसाले परमेश्‍वरको पवित्रतालाई कसरी जोड दिए? (ख) परमेश्‍वर पवित्र हुनुहुन्छ भनेर सबै इस्राएलीले कसरी थाह पाउन सक्थे? (आवरण चित्र हेर्नुहोस्‌।)

लाल समुद्र पार गरेपछि मोसाले इस्राएलीहरूलाई तिनीहरूको परमेश्‍वर यहोवा पवित्र हुनुहुन्छ भनेर फेरि एक चोटि सम्झाए। (प्रस्थान १५:१, ११ पढ्‌नुहोस्‌।) मिश्रका मानिसहरू झूटा देवीदेवताको उपासना गर्ने भएकोले तिनीहरू पवित्र थिएनन्‌। त्यसरी नै अब इस्राएलीहरू जान लागेको कनानका मानिसहरू पनि पवित्र थिएनन्‌। उनीहरू आफ्ना देवीदेवताको लागि बच्चाको बलि चढाउँथे र घृणित यौन क्रियाकलापमा भाग लिन्थे। (लेवी १८:३, ४, २१-२४; व्यव. १८:९, १०) तर यहोवा आफ्ना उपासकहरू आफूलाई अशुद्ध बनाउने कुराहरूबाट अलग रहेको चाहनुहुन्थ्यो। किनकि उहाँ आफै पनि पवित्र हुनुहुन्छ। यो कुरा प्रधानपुजारीले आफ्नो फेटामाथि बाँध्ने सुनको पातामा लेखिएको कुराबाट स्पष्ट हुन्छ। त्यस पातामा यस्तो कुँदिएको हुन्थ्यो: “यहोवा पवित्र हुनुहुन्छ।”—प्रस्थ. २८:३६-३८.

त्यो सुनको पातामा लेखिएका अक्षरहरू देख्न पाउनेहरूले यहोवा साँच्चै पवित्र हुनुहुन्छ भनेर बुझ्न सक्थे। तर कोही-कोही इस्राएलीहरू प्रधानपुजारीको नजिक जान नपाउने भएकोले तिनीहरूले त्यो पाता देख्न पाउँदैनथे। त्यसोभए तिनीहरूले यहोवा पवित्र हुनुहुन्छ भनेर कसरी थाह पाउँथे त? इस्राएलमा पुरुष, स्त्री र केटाकेटीसामु व्यवस्थाको पुस्तक पढेर सुनाउने प्रबन्ध थियो। (व्यव. ३१:९-१२) तपाईँ पनि त्यो समुदायमा हुनुभएको भए यी शब्दहरू सुन्‍न पाउनुहुने थियो: “म तिमीहरूको परमेश्‍वर यहोवा हुँ . . . म पवित्र छु, त्यसैले तिमीहरू पनि पवित्र होओ।” “तिमीहरू मेरो पवित्र जाति होओ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा पवित्र छु।”—लेवी ११:४४, ४५; २०:७, २६.

८. लेवी १९:२ र १ पत्रुस १:१४-१६ बाट हामी कुन कुरा सिक्न सक्छौँ?

अब हामी लेवी १९:२ मा यहोवाले मोसालाई भन्‍नुभएको यस वाक्यमा ध्यान देऔँ: “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा पवित्र छु।’” पत्रुसले ख्रिष्टियनहरूलाई “पवित्र होओ” भनी सल्लाह दिँदा यही वाक्य उद्धरण गरेको हुनुपर्छ। (१ पत्रुस १:१४-१६ पढ्‌नुहोस्‌।) हुनत अहिले हामी मोसाको व्यवस्थाको अधीनमा छैनौँ। तर पत्रुसले लेखेका शब्दहरू विचार गर्दा लेवी १९:२ मा बताइएको कुरा हामीलाई पनि लागू हुन्छ भनेर बुझ्न सक्छौँ। त्यो हो, यहोवा पवित्र हुनुहुन्छ र उहाँलाई प्रेम गर्ने सबैले पवित्र हुन प्रयास गर्नुपर्छ। हाम्रो आशा यसै पृथ्वीमा बस्ने होस्‌ वा स्वर्ग जाने, यो कुरा हामी सबैलाई लागू हुन्छ।—१ पत्रु. १:४; २ पत्रु. ३:१३.

“आफ्नो सारा चालचलनमा पवित्र होओ”

९. लेवी अध्याय १९ बाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

हामी पवित्र परमेश्‍वर यहोवालाई खुसी बनाउन चाहन्छौँ। त्यसैले हामी कसरी पवित्र हुन सक्छौँ भनेर बुझ्न चाहन्छौँ। यस विषयमा यहोवाले हामीलाई व्यावहारिक सल्लाह दिनुभएको छ। त्यो सल्लाह लेवी अध्याय १९ मा पाइन्छ। हिब्रू शास्त्रविद्‌ मार्कस्‌ कालिसले यसो भने: “यो विस्तृत रूपमा लेखिएको र थुप्रै विषय समेटिएको अध्याय हो। यस अध्यायलाई लेवीको किताबको र बाइबलको सुरुको पाँच वटै किताबको सबैभन्दा महत्त्वपूर्ण अध्याय भन्‍न सकिन्छ।” अब हामी यस अध्यायका केही पदहरू सँगै छलफल गर्नेछौँ, जसबाट हाम्रो दैनिक जीवनमा लागू हुने थुप्रै पाठ सिक्न सक्छौँ। छलफलको दौडान यो कुरा पनि मनमा राख्नुहोस्‌, लेवी अध्याय १९ को सुरुमै “तिमीहरू पवित्र होओ” भनिएको छ।

आमाबुबाको आदर गर्नेबारे लेवी १९:३ मा दिइएको आज्ञाले हामीलाई कुन कुरा सोच्न उत्प्रेरित गर्नुपर्छ? (अनुच्छेद १०-१२ हेर्नुहोस्‌) *

१०-११. लेवी अध्याय १९:३ मा कस्तो आज्ञा दिइएको छ र हामीले यो आज्ञा किन पालन गर्नुपर्छ?

१० इस्राएलीहरू पवित्र हुनुपर्छ भनेर बताउनुभएपछि यहोवाले यसो भन्‍नुभयो: “तिमीहरूले आफ्नो आमा र बुबाको आदर गर्नू . . . म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।”—लेवी १९:२, ३.

११ आमा र बुबाको आदर गर्नू भन्‍ने परमेश्‍वरको आज्ञा हामीले सधैँ मनमा राख्नुपर्छ। एकचोटि एक जना मानिसले येसुलाई “अनन्त जीवन पाउन मैले कुन असल काम गर्नुपर्छ?” भनेर सोधेका थिए। तिनलाई जवाफ दिनुहुँदा येसुले आफ्नो आमा र बुबाको आदर गर्नू पनि भन्‍नुभयो। (मत्ति १९:१६-१९) साथै येसुले विभिन्‍न बहाना बनाएर आमाबुबाको हेरचाह नगर्ने शास्त्री र फरिसीहरूको निन्दा गर्नुभयो। किनकि यसरी तिनीहरूले “परमेश्‍वरको वचनलाई बेकामको” तुल्याइरहेका थिए। (मत्ति १५:३-६) “परमेश्‍वरको वचन”-मा लेवी १९:३ मा दिइएको आज्ञा पनि समावेश छ र यो दस आज्ञामध्ये पाँचौँ आज्ञा पनि हो। (प्रस्थ. २०:१२) यो कुरा मनमा राख्नुहोस्‌, लेवी अध्याय १९ मा “तिमीहरू पवित्र हुनुपर्छ किनकि म यहोवा तिमीहरूको परमेश्‍वर पवित्र छु” भन्‍ने वाक्यांशको लगत्तै “आफ्नो आमा र बुबाको आदर गर्नू” भन्‍ने आज्ञा दिइएको छ।

१२. लेवी १९:३ को आज्ञा हामी कसरी पालन गर्न सक्छौँ?

१२ यस आज्ञाबारे सोच्दा आफैलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: ‘के मैले यो आज्ञा पालन गरिरहेको छु?’ तपाईँलाई ‘मैले यो आज्ञा राम्ररी पालन गरिरहेको छैनँ’ जस्तो लाग्छ भने अब उप्रान्त आमाबुबाको लागि के गर्न सक्नुहुन्छ, त्यसबारे विचार गर्नुहोस्‌। किनकि तपाईँ आफ्नो विगतलाई बदल्न सक्नुहुन्‍न। तर तपाईँ आमाबुबाको लागि केही कुराहरू गर्न सक्नुहुन्छ। जस्तै, तिनीहरूसित अझ धेरै समय बिताउन सक्नुहुन्छ अनि तिनीहरूलाई भौतिक, आध्यात्मिक र भावनात्मक रूपमा मदत दिन सक्नुहुन्छ। यसो गर्दा तपाईँले लेवी १९:३ मा दिइएको आज्ञा पालन गरिरहनुभएको हुनेछ।

१३. (क) लेवी १९:३ मा हामीलाई अर्को कुन सल्लाह दिइएको छ? (ख) हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ? (लुका ४:१६-१८)

१३ लेवी १९:३ बाट पवित्र हुने सन्दर्भमा हामी अर्को कुरा पनि सिक्न सक्छौँ। यसमा विश्रामदिनबारे चर्चा गरिएको छ। हामी व्यवस्थाको अधीनमा नभएकोले अहिले विश्रामदिन मान्‍नु पर्दैन। तर इस्राएलीहरूले विश्रामदिनमा के गर्थे र त्यसो गर्दा तिनीहरूलाई कस्तो फाइदा हुन्थ्यो भनेर थाह पाउँदा हामी थुप्रै पाठ सिक्न सक्छौँ। विश्रामदिनमा इस्राएलीहरूले आफ्नो दैनिक कामकुरालाई थाती राखेर परमेश्‍वरको सेवामा धेरै समय बिताउँथे। * येसु ख्रिष्ट पनि विश्रामदिनमा सभाघरमा जानुहुन्थ्यो अनि त्यहाँ परमेश्‍वरको वचनबाट पढ्‌नुहुन्थ्यो। (प्रस्थ. ३१:१२-१५; लुका ४:१६-१८ पढ्‌नुहोस्‌।) त्यसोभए आज हामीले के गर्नुपर्छ? हामीले आध्यात्मिक गतिविधिको लागि केही समय छुट्ट्याउनुपर्छ। तपाईँले पनि यस सन्दर्भमा छाँटकाँट गर्नुपर्ने महसुस गर्नुभएको छ कि? आध्यात्मिक गतिविधिको लागि नियमित रूपमा समय छुट्ट्याउनुभयो भने तपाईँ यहोवासित न्यानो र व्यक्‍तिगत सम्बन्ध विकास गर्न सक्नुहुन्छ, जुन पवित्र हुनको लागि नभई नहुने कुरा हो।

यहोवासितको सम्बन्ध बलियो बनाउनुहोस्‌

१४. लेवी अध्याय १९ भरि कुन महत्त्वपूर्ण सत्यलाई जोड दिइएको छ?

१४ लेवी अध्याय १९ मा एउटा महत्त्वपूर्ण सत्य थुप्रै चोटि दोहोऱ्‍याइएको छ, जसले हामीलाई पवित्र रहिरहन मदत दिन्छ। त्यो सत्य के हो? पद ४ को अन्तमा यस्तो लेखिएको छ: “म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।” यो र यससित मिल्दोजुल्दो वाक्यांश यस अध्यायमा १६ चोटि प्रयोग गरिएको छ। यसले हामीलाई दस आज्ञामध्ये पहिलो आज्ञा सम्झाउँछ: “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्‍नू।” (प्रस्थ. २०:२, ३) पवित्र रहन चाहने सबै ख्रिष्टियनले यहोवा र आफूबीच कुनै पनि कुरालाई वा कसैलाई आउन दिनु हुँदैन। हामी यहोवाका साक्षीहरू भएकोले उहाँको नामलाई अपवित्र पार्ने कुनै पनि काम गर्न चाहँदैनौँ।—लेवी १९:१२; यसै. ५७:१५.

१५. लेवी अध्याय १९ मा पशुबलिबारे चर्चा गरिएका पदहरू पढेपछि हामी के गर्न उत्प्रेरित हुनुपर्छ?

१५ यहोवाले दिनुभएका नियमहरू पालन गरेर इस्राएलीहरूले उहाँलाई आफ्नो परमेश्‍वरको रूपमा स्विकारेको देखाउन सक्थे। लेवी १८:४ यसो भन्छ: “तिमीहरू मैले गरेको फैसलाअनुसार चल्नू अनि मेरा विधिविधान पालन गर्नू। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।” लेवी अध्याय १९ मा यहोवाले इस्राएलीहरूलाई दिनुभएको केही “विधिविधान” समावेश गरिएको छ। उदाहरणको लागि, पद ५-८, २१, २२ मा पशुबलिबारे बताइएको छ। ‘यहोवा परमेश्‍वरको निम्ति चढाइएको पवित्र कुरालाई अपवित्र नतुल्याउन’ इस्राएलीहरू सजग हुनुपर्थ्यो। यी पदहरू पढेपछि हामी पनि यहोवालाई खुसी तुल्याउन र हिब्रू १३:१५ ले प्रोत्साहन दिएझैँ उहाँलाई स्वीकार्य हुने प्रशंसाको बलिदान चढाउन उत्प्रेरित हुनुपर्छ।

१६. लेवी अध्याय १९ मा पाइने कुन सिद्धान्तले हामीलाई परमेश्‍वरको सेवा गर्ने र नगर्ने मानिसहरूबीचको भिन्‍नता बुझ्न मदत गर्छ?

१६ पवित्र हुने हो भने हामी अरूभन्दा फरक देखिन इच्छुक हुनुपर्छ। तर यसो गर्न सधैँ सजिलो हुँदैन। किनकि हाम्रा साथीहरू, सहकर्मीहरू, आफन्तहरू र अरू मानिसहरूले परमेश्‍वरको इच्छासित मेल नखाने कुराहरूमा भाग लिन हामीलाई दबाब दिन सक्छन्‌। त्यस्तो अवस्थामा हामीले ठोस निर्णय गर्नुपर्छ। त्यसोभए सही निर्णय गर्न हामीलाई केले मदत गर्छ? लेवी १९:१९ मा एउटा महत्त्वपूर्ण सिद्धान्त पाइन्छ। त्यहाँ यस्तो लेखिएको छ: “दुई किसिमको धागो प्रयोग गरेर बुनेको लुगा नलगाउनू।” यस नियमले इस्राएलीहरूलाई वरपरका राष्ट्रहरूभन्दा फरक देखिन मदत गऱ्‍यो। तर आज हामीले सुती र पोलिस्टर अथवा ऊन र रेयन मिसिएको लुगा लगाउनु हुँदैन भन्‍ने त होइन। बरु हामी बाइबलको स्तरअनुसार नचल्ने व्यक्‍तिहरूजस्तो हुन चाहँदैनौँ, चाहे उनीहरू हाम्रो साथी, सहकर्मी वा आफन्त नै किन नहोऊन्‌। हामी आफन्तहरू र छिमेकीहरूलाई माया गर्छौँ। तर कुनै-कुनै अवस्थामा अरूभन्दा फरक देखिने निर्णय गर्नुपरे पनि त्यसो गर्न हिचकिचाउँदैनौँ किनकि हामी पवित्र हुन चाहन्छौँ।—२ कोरि. ६:१४-१६; १ पत्रु. ४:३, ४.

लेवी १९:२३-२५ बाट इस्राएलीहरूले कस्तो पाठ सिक्नुपर्थ्यो र तपाईँले के सिक्नुभयो? (अनुच्छेद १७-१८ हेर्नुहोस्‌) *

१७-१८. लेवी १९:२३-२५ बाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ?

१७ “म यहोवा तिमीहरूका परमेश्‍वर हुँ” भन्‍ने वाक्यांशले इस्राएलीहरूलाई यहोवासितको सम्बन्धलाई पहिलो स्थानमा राख्न मदत गरेको हुनुपर्छ। उनीहरूले यसो गर्न सक्ने एउटा तरिकाबारे लेवी १९:२३-२५ मा बताइएको छ। (पढ्‌नुहोस्‌।) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि यी शब्दहरूले उनीहरूको लागि कस्तो अर्थ राख्थ्यो? उनीहरूले आफ्नो जमिनमा फलफूलका बोटहरू लगाउन सक्थे तर त्यसको फल तीन वर्षसम्म खान पाउँदैनथे। उनीहरूले चौथो वर्षमा त्यसको फल भेटीस्वरूप पवित्रस्थानमा चढाउनुपर्थ्यो। पाँचौँ वर्षमा मात्र उनीहरूले त्यसको फल खान पाउँथे। यो नियमले इस्राएलीहरूलाई कुन कुरा सिकायो? यसले उनीहरूलाई आफ्नो इच्छालाई नभई यहोवाको उपासनालाई पहिलो स्थानमा राख्न र उहाँले नै भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ भनेर भरोसा राख्न मदत गऱ्‍यो। साथै यहोवाले इस्राएलीहरूलाई उदार भई पवित्रस्थानमा भेटीहरू चढाउन प्रोत्साहन दिनुभयो।

१८ लेवी १९:२३-२५ मा पाइने नियमले हामीलाई येसुले डाँडाको उपदेशमा भन्‍नुभएको यस कुराको सम्झना गराउँछ: “के खाऔँला वा के पिऔँला भनी . . . चिन्ता गर्न छोडिहाल।” उहाँले यसो पनि भन्‍नुभयो: “यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।” हो, यहोवाले आकाशका चराचुरुङ्‌गीलाई खुवाउनुभएझैँ हामीलाई पनि खुवाउनुहुन्छ। (मत्ति ६:२५, २६, ३२) उहाँले हाम्रो हेरचाह गर्नुहुन्छ भन्‍ने कुरामा भरोसा राख्छौँ। हामी खाँचोमा परेकाहरूलाई मदत गर्न गुप्तमा “दानपुण्य” गर्छौँ अनि मण्डलीको खर्चको लागि केही सहयोग पनि गर्छौँ। हामीले गरेको सबै असल काम यहोवाले देख्नुहुन्छ र हामीलाई इनाम दिनुहुन्छ। (मत्ति ६:२-४) यसरी हामीले लेवी १९:२३-२५ बाट सिकेको पाठ लागू गरिरहेका हुन्छौँ।

१९. लेवीको किताबका केही पदहरूबाट तपाईँले कस्तो लाभ उठाउनुभयो?

१९ हामीले लेवी अध्याय १९ का केही पदहरू छलफल गऱ्‍यौँ। हामी यहोवाजस्तै पवित्र हुन के गर्न सक्छौँ भनेर पनि बुझ्यौँ। यहोवाको अनुकरण गर्दा हामीले “आफ्नो सारा चालचलनमा पवित्र” हुने प्रयास गरिरहेका हुन्छौँ। (१ पत्रु. १:१५) हाम्रो यस्तो असल चालचलन अरूले पनि याद गर्न सक्छन्‌। कसै-कसैले त हाम्रो चालचलन देखेर यहोवाको महिमासमेत गर्न सक्छन्‌। (१ पत्रु. २:१२) तर लेवी अध्याय १९ बाट हामीले सिक्न सक्ने पाठहरू अरू पनि थुप्रै छन्‌। अर्को लेखमा यस अध्यायका अरू पदहरू छलफल गर्नेछौँ र हामी “पवित्र” हुनुपर्ने अन्य क्षेत्रहरूबारे बुझ्नेछौँ।

गीत ८० ‘चाखेर हेर यहोवा छन्‌ भलो’

^ अनु. 5 हामी यहोवालाई धेरै प्रेम गर्छौँ र उहाँलाई खुसी बनाउन चाहन्छौँ। यहोवा पवित्र हुनुहुन्छ र उहाँका उपासकहरू पनि पवित्र भएको चाहनुहुन्छ। तर के हामीजस्तो त्रुटिपूर्ण मानिसहरू पनि पवित्र हुन सम्भव छ? पक्कै सम्भव छ। प्रेषित पत्रुसले सङ्‌गी ख्रिष्टियनहरूलाई दिएको सल्लाह र यहोवाले इस्राएलीहरूलाई दिनुभएका आज्ञाहरू विचार गर्दा हामी आफ्नो सारा चालचलनमा कसरी पवित्र हुने भनेर सिक्न सक्छौँ।

^ अनु. 13 विश्रामदिन र त्यसबाट हामीले सिक्न सक्ने पाठहरूबारे बुझ्न डिसेम्बर २०१९ अङ्‌कको प्रहरीधरहरा-मा भएको “काम र आरामको लागि ‘उचित समय छ’” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 57 चित्रको व्याख्या: एक छोरा आफ्नो आमाबुबालाई भेट्‌न आउँछन्‌। तिनी आफ्नी पत्नी र छोरीलाई पनि सँगै ल्याउँछन्‌ र आमाबुबासित नियमित रूपमा कुराकानी गर्छन्‌।

^ अनु. 59 चित्रको व्याख्या: एक इस्राएली किसान रूखमा लागेको फल हेर्दै छन्‌।