सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५०

असल गोठालोको स्वर सुन्‍नुहोस्‌

असल गोठालोको स्वर सुन्‍नुहोस्‌

“तिनीहरूले मेरो स्वर सुन्‍नेछन्‌।”—युह. १०:१६.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

परिचय *

१. येसुले आफ्ना चेलाहरूलाई भेडासित तुलना गर्नुको एउटा कारण के हो?

येसुले आफू र आफ्ना चेलाहरूबीचको सम्बन्धलाई एक जना गोठालो र तिनको भेडाबीचको सम्बन्धसित तुलना गर्नुभयो। (युह. १०:१४) यो तुलना उपयुक्‍त छ। भेडाले आफ्नो गोठालोलाई चिन्छ र तिनले भनेअनुसार गर्छ। यो कुरा एक जना पर्यटक आफैले अनुभव गरे। तिनी भन्छन्‌: “हामी भेडाहरूको फोटो खिच्न चाहन्थ्यौँ तर हामीले बोलाउँदा ती भेडाहरू आएनन्‌। किनकि तिनीहरूले हाम्रो स्वर चिनेनन्‌। तर एक जना गोठालो केटोले ती भेडाहरूलाई बोलाउनेबित्तिकै तिनीहरू उसको पछि-पछि लागे।”

२-३. (क) येसुका चेलाहरूले कसरी उहाँको स्वर सुनेको देखाउन सक्छन्‌? (ख) यो र यसपछिको लेखमा हामी कुन कुरा छलफल गर्नेछौँ?

ती पर्यटकको अनुभवले येसुले आफ्ना भेडाहरू अर्थात्‌ चेलाहरूबारे भन्‍नुभएको एउटा कुरा सम्झाउँछ। उहाँले भन्‍नुभयो: “तिनीहरूले मेरो स्वर सुन्‍नेछन्‌।” (युह. १०:१६) तर येसु स्वर्गमा हुनुभएकोले हामी कसरी उहाँको स्वर सुन्‍न सक्छौँ? उहाँको स्वर सुनेको देखाउने एउटा राम्रो तरिका उहाँले सिकाउनुभएका कुराहरू जीवनमा लागू गर्नु हो।—मत्ति ७:२४, २५.

यो र यसपछिको लेखमा हामी येसुका केही शिक्षाबारे छलफल गर्नेछौँ। हामीले के-कस्ता कुराहरू गर्न छोडिहाल्नुपर्छ र के-कस्ता कुराहरू गर्नुपर्छ, त्यो उहाँले बताउनुभएको छ। अब हाम्रो असल गोठालोले गर्न छोडिहाल भन्‍नुभएको दुई वटा कुराबारे छलफल गरौँ।

“अचाक्ली चिन्ता गर्न छोडिहाल”

४. लुका १२:२९ अनुसार हामीलाई कुन कुराको “अचाक्ली चिन्ता” लाग्न सक्छ?

लुका १२:२९ पढ्‌नुहोस्‌। येसुले आफ्ना चेलाहरूलाई भौतिक कुराहरूको “अचाक्ली चिन्ता गर्न छोडिहाल” भनेर सल्लाह दिनुभयो। उहाँका सल्लाहहरू सधैँ बुद्धिमानी र सही हुन्छ भनेर हामीलाई थाह छ। हामी उहाँको यो सल्लाह लागू गर्न चाहन्छौँ तर त्यसो गर्न सधैँ सजिलो हुँदैन। किन?

५. कसै-कसैलाई गाँस, बास र कपासको प्रबन्ध मिलाउने विषयमा किन अचाक्ली चिन्ता लाग्न सक्छ?

 कसै-कसैलाई गाँस, बास र कपासको प्रबन्ध कसरी मिलाउने भनेर अचाक्ली चिन्ता लाग्न सक्छ। देशको आर्थिक अवस्था राम्रो नभएकोले परिवारको पालनपोषण गर्नको लागि पर्याप्त पैसा कमाउन गाह्रो हुन सक्छ। अथवा परिवारमा कमाउने व्यक्‍तिको मृत्यु भएकोले आर्थिक सङ्‌कट आइपर्न सक्छ। कोभिड-१९ महामारीले गर्दा केहीले आफ्नो जागिर गुमाएका हुन सक्छन्‌ र तिनीहरूको कुनै आयस्रोत नहुन सक्छ। (उप. ९:११) यदि तपाईँले पनि यी वा अन्य चुनौतीको सामना गर्दै हुनुहुन्छ भने येसुले भन्‍नुभएको अचाक्ली चिन्ता गर्न छोडिहाल भन्‍ने सल्लाह कसरी पालन गर्न सक्नुहुन्छ?

भौतिक आवश्‍यकताको अचाक्ली चिन्तामा डुब्नुको साटो यहोवामाथिको भरोसा बलियो बनाउनुहोस्‌ (अनुच्छेद ६-८ हेर्नुहोस्‌) *

६. एकचोटि प्रेषित पत्रुसलाई के भयो? व्याख्या गर्नुहोस्‌।

एकचोटि प्रेषित पत्रुस र अरू प्रेषितहरू गालिल समुद्रमा यात्रा गरिरहेको बेला ठूलो आँधी चल्यो। त्यति नै बेला तिनीहरूले येसु पानीमाथि हिँडिरहनुभएको देखे। यो देखेर पत्रुसले भने: “प्रभु, यदि तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँकहाँ आउने आज्ञा दिनुहोस्‌।” उहाँले तिनलाई “हुन्छ, आऊ!” भन्‍नुभयो। तिनी डुङ्‌गाबाट ओर्ले अनि “पानीमाथि हिँड्‌दै येसु भएतिर गए।” त्यसपछि के भयो? “आँधी चलिरहेको देखेर तिनी डराए अनि डुब्न थालेपछि यसो भन्दै कराए: ‘प्रभु, मलाई बचाउनुहोस्‌!’” येसुले आफ्नो हात पसारेर तिनलाई बचाउनुभयो। अचम्मको कुरा, पत्रुसले येसुलाई एकटक लगाएर हेरुन्जेल तिनी पानीमाथि हिँड्‌न सके। तर जब पत्रुसले आँधीतर्फ ध्यान दिए, तब तिनी असाध्यै डराए र डुब्ने हो कि भनेर शङ्‌का गरे। नभन्दै तिनी डुब्न थाले।—मत्ति १४:२४-३१.

७. पत्रुसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

हामी पत्रुसबाट पाठ सिक्न सक्छौँ। डुङ्‌गाबाट ओर्लेर पानीमाथि हिँड्‌न थाल्दा आँधीले गर्दा डुब्ने हो कि भनेर पत्रुसले सोचेका पनि थिएनन्‌। तिनी पानीमाथि हिँडेर येसु हुनुभएको ठाउँसम्म पुग्न चाहन्थे। तर तिनले उहाँलाई एकटक लगाएर हेरेनन्‌ र डुब्ने हो कि भनेर शङ्‌का गर्न थाले। हामी पानीमाथि हिँड्‌न त सक्दैनौँ तर हामीले विश्‍वासको जाँच हुने परीक्षाहरूको सामना गर्नुपर्छ। यस्तो अवस्थामा यहोवा र उहाँका प्रतिज्ञाहरूमा ध्यान दिन सकेनौँ भने हामी पनि आध्यात्मिक रूपमा डुब्न थाल्नेछौँ। आँधीबेहरीरूपी परीक्षाको सामना गर्नुपरे तापनि यहोवामा र उहाँले हामीलाई बचाउन सक्नुहुन्छ भन्‍ने कुरामा ध्यान दिइरहनुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ?

८. भौतिक आवश्‍यकताहरूको अचाक्ली चिन्ता नगर्न हामीलाई केले मदत गर्न सक्छ?

हामीले आफ्ना समस्याहरूबारे अचाक्ली चिन्ता गर्नुको साटो यहोवामा भरोसा राख्नुपर्छ। आध्यात्मिक कुराहरूलाई प्रथम स्थानमा राख्यौँ भने हाम्रो मायालु बुबा यहोवाले हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। (मत्ति ६:३२, ३३) यहोवा सधैँ आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। (व्यव. ८:४, १५, १६; भज. ३७:२५) उहाँले चराचुरुङ्‌गी र फूलहरूको त हेरचाह गर्नुहुन्छ भने हामीले के खाने वा के लाउने भनेर अचाक्ली चिन्ता गर्नुपर्छ र? (मत्ति ६:२६-३०; फिलि. ४:६, ७) मायालु आमाबुबाले छोराछोरीप्रतिको प्रेमले गर्दा उनीहरूको भौतिक आवश्‍यकता पूरा गरिदिन्छन्‌। त्यसैगरि यहोवाले पनि हामीप्रतिको प्रेमले गर्दा हाम्रा आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ। त्यसैले उहाँ हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ।

९. एक दम्पतीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

यहोवाले हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ भनेर बुझाउने एउटा अनुभव विचार गरौँ। एक अग्रगामी दम्पतीले शरणार्थी शिविरमा भएका हाम्रा बहिनीहरूलाई सभामा ल्याउन आफ्नो थोत्रो कारमा एक घण्टाभन्दा लामो यात्रा गऱ्‍यो। सभापछि त्यस दम्पतीले ती बहिनीहरूलाई आफ्नो घरमा खाना खान बोलायो। तर खानेकुरा त केही पनि छैन भनेर तिनीहरूले पछि पो याद गरे। त्यसपछि के भयो? अचम्मको कुरा, घर पुग्दा त ढोकाबाहिर टन्‍न खानेकुरा भएको दुई वटा झोला रहेछ। तिनीहरूलाई त्यो कसले राखेको होला भनेर थाह थिएन। तर यहोवाले नै मदत गर्नुभएको हो भन्‍ने कुरा तिनीहरूले महसुस गरे। पछि तिनीहरूको कार बिग्रियो। साक्षीकार्यमा भाग लिन तिनीहरूलाई त्यो कार चाहिन्थ्यो तर मर्मत गर्ने पैसा थिएन। तैपनि त्यो मर्मत गर्न कति लाग्ने रहेछ भनेर बुझ्न तिनीहरूले त्यो कार ग्यारेजमा लगे। त्यति नै बेला एक जना मानिस आएर “यो कार कसको हो?” भनेर सोधे। अनि हाम्रो भाइले “मेरो हो, बनाउन ल्याएको” भनेर जवाफ दिए। ती मानिसले “मेरी श्रीमतीलाई यस्तै कार, यही रङमा चाहिएको थियो। मलाई बेच्नुहोस्‌, कति हो?” भनेर सोधे। हाम्रो भाइले ती मानिसलाई कार बेचे र त्यो पैसा अर्को कार किन्‍न पुग्ने थियो। ती भाइ यसो भन्छन्‌: “त्यस दिनको अन्तमा हामीले कस्तो महसुस गऱ्‍यौँ, शब्दमा व्यक्‍त गर्नै सक्दैनौँ। यो संयोग त हुनै सक्दैन। यसमा पक्कै पनि यहोवाको हात छ।”

१०. भजन ३७:५ ले भौतिक आवश्‍यकताबारे अचाक्ली चिन्ता नगर्न हामीलाई कस्तो प्रोत्साहन दिन्छ?

१० हामीले असल गोठालोको कुरा सुन्यौँ र भौतिक आवश्‍यकताबारे अचाक्ली चिन्ता गरेनौँ भने यहोवाले ती पूरा गरिदिनुहुन्छ। (भजन ३७:५ पढ्‌नुहोस्‌; १ पत्रु. ५:७)  अनुच्छेद ५ मा छलफल गरिएका परिस्थितिहरू फेरि विचार गरौँ। अहिलेसम्म यहोवाले परिवारको शिरलाई चलाएर हाम्रो दैनिक आवश्‍यकता पूरा गरिरहनुभएको थियो होला। अथवा जागिर भएकोले हाम्रा आवश्‍यकताहरू पूरा भइरहेको थियो होला। तर कारणवश परिवारको शिरले कमाउन नसक्ने भए वा हामीले जागिर गुमाउनुपऱ्‍यो भने पनि यहोवाले अरू नै तरिका चलाएर हाम्रो हेरचाह गर्नुहुन्छ। उहाँले हाम्रा आवश्‍यकताहरू पक्कै पूरा गरिदिनुहुनेछ। अब हामी असल गोठालोले गर्न छोडिहाल भन्‍नुभएको अर्को कुरा के हो, विचार गरौँ।

“न्याय गर्न छोडिहाल”

अरूको कमीकमजोरीमा नभई असल गुणहरूमा ध्यान दियौँ भने न्याय गर्न छोडिहाल्न सक्नेछौँ (अनुच्छेद ११, १४-१६ हेर्नुहोस्‌) *

११. मत्ति ७:१, २ मा येसुले के गर्न छोडिहाल भन्‍नुभयो? यसो गर्न किन गाह्रो हुन सक्छ?

११ मत्ति ७:१, २ पढ्‌नुहोस्‌। येसुलाई हामी त्रुटिपूर्ण छौँ र हामीमा अरूको कमीकमजोरीमा ध्यान दिने झुकाव छ भनेर थाह थियो। त्यसैले उहाँले “अरूको न्याय गर्न छोडिहाल” भनेर सल्लाह दिनुभयो। तर येसुको यो सल्लाहअनुसार गर्न कोसिस गर्दागर्दै पनि कहिलेकाहीँ अरूको कमीकमजोरीमा ध्यान दिन्छौँ। त्यस्तो बेला हामीले के गर्नुपर्छ? हामीले येसुको स्वर सुन्‍नुपर्छ र अरूको न्याय गर्न छोडिहाल्न सक्दो प्रयास गर्नुपर्छ।

१२-१३. यहोवाले राजा दाउदप्रति राख्नुभएको दृष्टिकोणबारे मनन गर्दा हामी अरूको न्याय गर्न छोडिहाल्न कस्तो मदत पाउँछौँ?

१२ हामी यहोवाको उदाहरणमा मनन गरेर पनि लाभ उठाउन सक्छौँ। यहोवा मानिसहरूमा असल कुरा हेर्नुहुन्छ। उदाहरणको लागि, उहाँले राजा दाउदसित गर्नुभएको व्यवहार विचार गर्न सक्छौँ। राजा दाउदले आफ्नो जीवनमा गम्भीर गल्तीहरू गरे। जस्तै: तिनले बेतसेबासित व्यभिचार गरे र उनको पतिलाई मार्न समेत लगाए। (२ समु. ११:२-४, १४, १५, २४) यसको नतिजास्वरूप दाउद र तिनको परिवारमाथि दुःख आइपऱ्‍यो। (२ समु. १२:१०, ११) हामी अर्को घटना पनि विचार गरौँ। राजा दाउदले इस्राएली सेनाको गणना लिन लगाएर यहोवाले निषेध गर्नुभएको काम गरे। यसरी तिनले यहोवामाथि होइन, आफ्नो विशाल सेनामाथि भरोसा गरेको देखाए। नतिजा के भयो? महामारीले गर्दा ७० हजार इस्राएलीले ज्यान गुमाउनुपऱ्‍यो।—२ समु. २४:१-४, १०-१५.

१३ राजा दाउदको शासनकालमा तपाईँ पनि इस्राएलमै हुनुभएको भए तिनलाई कस्तो नजरले हेर्नुहुने थियो? तिनी यहोवाको कृपा पाउन लायकका छैनन्‌ भनेर सोच्नुहुने थियो कि? यहोवाले त त्यसरी सोच्नुभएन, बरु दाउदले वर्षौँदेखि देखाएको वफादारी र साँचो पश्‍चात्ताप याद गरेर तिनलाई क्षमा दिनुभयो। साथै दाउद उहाँलाई प्रेम गर्छन्‌ र असल काम गर्न चाहन्छन्‌ भन्‍ने कुरा पनि यहोवालाई थाह थियो। यहोवा हामीमा असल कुराहरू हेर्नुहुन्छ भन्‍ने कुरा थाह पाउँदा के तपाईँ उहाँप्रति कृतज्ञ हुनुहुन्‍न र?—१ राजा ९:४; १ इति. २९:१०, १७.

१४. अरूको न्याय गर्न छोडिहाल्न हामीले के गर्नुपर्छ?

१४ यहोवाले त हामीमा असल गुणहरू हेर्नुहुन्छ भने के हामीले पनि अरूको कमीकमजोरी नभई असल कुराहरू हेर्नु पर्दैन र? हामीमा अरूको कमीकमजोरी हेर्ने र आलोचना गर्ने झुकाव छ। हुनत आध्यात्मिक दृष्टिकोण राख्ने व्यक्‍तिले पनि अरूको कमीकमजोरी देख्छ। तर उसले त्यसलाई बेवास्ता गर्छ र सकेसम्म मिलेर बस्ने प्रयास गर्छ। उदाहरणको लागि, भर्खरै खानीबाट निकालेको हिरामा कुनै चमक हुँदैन। तर त्यसलाई काटेर पालिस लगाएपछि त्यसमा चमक आउँछ भन्‍ने कुरा त्यस हिराको साँचो मोल बुझेको व्यक्‍तिलाई थाह हुन्छ। त्यसैले यहोवा र येसुले जस्तै हामीले पनि अरूको कमीकमजोरीमा नभई असल गुणहरूमा ध्यान दिनुपर्छ।

१५. हामीले किन अरूको परिस्थिति विचार गर्नुपर्छ?

१५ अरूको न्याय नगर्न हामीले तिनीहरूका असल गुणहरूमा ध्यान दिनुको अलावा के पनि गर्नुपर्छ? हामीले तिनीहरू जीवनमा कस्तो परिस्थितिबाट गुज्रिरहेका छन्‌ भनेर सोच्न सक्छौँ। एउटा उदाहरण विचार गरौँ। एकदिन येसुले मन्दिरमा एक जना गरिब विधवाले दानपात्रमा थोरै मोलको दुई वटा सिक्का खसालेको देख्नुभयो। त्यतिबेला येसुले “उसले किन यति थोरै पैसा खसालेको” भनेर सोच्नुभएन। बरु तिनको मनसाय र परिस्थिति विचार गर्नुभयो। तिनले जे गर्न सक्थी, त्यो गरेकीले उहाँले तिनको प्रशंसा गर्नुभयो।—लुका २१:१-४.

१६. भेरोनिकाको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१६ बहिनी भेरोनिकाको अनुभवले अरूको परिस्थिति बुझ्नु कत्ति महत्त्वपूर्ण छ भनेर देखाउँछ। तिनको मण्डलीमा एक्लैले छोरा हुर्काइरहेकी एउटी आमा थिइन्‌। भेरोनिका यसो भन्छिन्‌: “ती बहिनी र उहाँको छोरा मण्डलीको गतिविधिमा खासै भाग लिनुहुन्‍न जस्तो लाग्थ्यो। त्यसैले मैले उहाँहरूलाई नकारात्मक दृष्टिकोणले हेर्न थालेँ। एक दिन मैले ती बहिनीसँग साक्षीकार्यमा भाग लिएँ अनि कुराकानी गर्दै जाँदा उहाँले आफ्नो छोराको अवस्थाबारे बताउनुभयो। उहाँको छोरालाई सामाजिक र मानसिक विकास नहुने अटिजम्‌ भन्‍ने रोग लागेको रहेछ। त्यसैले छोराको शारीरिक र आध्यात्मिक हेरचाह गर्न उहाँले निकै मेहनत गरिरहनुभएको रहेछ। कहिलेकाहीँ त हाम्रो सभाको समयमा छोरालाई गाह्रो भएकोले अर्कै मण्डलीमा जानुहुँदो रहेछ।” भेरोनिका अझै यसो भन्छिन्‌: “मैले बल्ल उहाँको अवस्था राम्ररी बुझेँ। यहोवाको सेवा गर्न उहाँ कत्ति प्रयास गर्दै हुनुहुन्छ भनेर थाह पाउँदा उहाँलाई अझ धेरै माया र आदर गर्न सकेकी छु।”

१७. याकुब २:८ ले हामीलाई के गर्न सल्लाह दिन्छ? हामी कसरी त्यसो गर्न सक्छौँ?

१७ हामीले कुनै भाइ वा बहिनीको न्याय गरिरहेका छौँ भनेर महसुस गऱ्‍यौँ भने के गर्नुपर्छ? हामीले आफ्ना भाइबहिनीलाई प्रेम गर्नुपर्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुपर्छ। (याकुब २:८ पढ्‌नुहोस्‌।) न्याय गर्न छोडिहाल्न मदत दिनुहोस्‌ भनेर यहोवालाई व्यग्र प्रार्थना पनि गर्नुपर्छ अनि प्रार्थनाअनुरूपै कदम चाल्नुपर्छ। हामी आफै अग्रसर भएर ती भाइ वा बहिनीसित अझ धेरै समय बिताउन सक्छौँ। यसो गर्दा हामीले तिनलाई अझ राम्रोसँग चिन्‍ने मौका पाउँछौँ। यसबाहेक हामी तिनीसँगै साक्षीकार्यमा भाग लिने वा सँगै खाना खाने प्रबन्ध मिलाउन सक्छौँ। यसरी तिनलाई अझ राम्ररी चिन्दै जाँदा यहोवा र येसुले जस्तै तिनमा असल गुणहरू हेर्ने प्रयास गर्न सक्छौँ। यसो गर्दा असल गोठालोले दिनुभएको अरूको न्याय गर्न छोडिहाल भन्‍ने आज्ञा पालन गरिरहेका हुन्छौँ।

१८. हामीले असल गोठालोको स्वर सुनेको कसरी देखाउन सक्छौँ?

१८ भेडाले गोठालोको स्वर सुनेजस्तै येसुका चेलाहरूले पनि उहाँको स्वर सुन्छन्‌। हामीले भौतिक आवश्‍यकताबारे अचाक्ली चिन्ता गर्न र अरूको न्याय गर्न छोडिहाल्ने प्रयास गऱ्‍यौँ भने यहोवा र येसुले हाम्रो प्रयासमा आशिष्‌ दिनुहुनेछ। हामी “सानो बगाल”-का होऔँ वा “अरू भेडा”-का, असल गोठालोको स्वर सुनिरहौँ र उहाँको आज्ञा पालन गरिरहौँ। (लुका १२:३२; युह. १०:११, १४, १६) अर्को लेखमा येसुले आफ्ना चेलाहरूलाई गर भन्‍नुभएको दुई वटा कुराबारे छलफल गर्नेछौँ।

गीत १०१ एकतामा बाँधिएर गरौँ काम!

^ अनु. 5 येसुले भेडाहरूले उहाँको स्वर सुन्‍नेछन्‌ भन्‍नुहुँदा चेलाहरूले उहाँका शिक्षाहरू सुन्‍नेछन्‌ र ती आफ्नो जीवनमा लागू गर्नेछन्‌ भन्‍न खोज्दै हुनुहुन्थ्यो। यस लेखमा हामी येसुको दुई वटा महत्त्वपूर्ण शिक्षाबारे छलफल गर्नेछौँ। पहिलो, भौतिक कुराहरूको अचाक्ली चिन्ता गर्न छोडिहाल्ने र दोस्रो, अरूको न्याय गर्न छोडिहाल्ने। येसुको यो सल्लाह हामी कसरी लागू गर्न सक्छौँ भनेर पनि यस लेखमा छलफल गर्नेछौँ।

^ अनु. 51 तस्बिरको व्याख्या: एक जना भाइले आफ्नो जागिर गुमाएका छन्‌। तिनको परिवारमा पैसाको अभाव भएको छ र अर्कै ठाउँमा सर्नुपर्ने भएको छ। यस्तो अवस्थामा तिनी अचाक्ली चिन्तित हुन सक्छन्‌ र यहोवाको सेवामा ध्यान दिइरहन गाह्रो हुन सक्छ।

^ अनु. 53 तस्बिरको व्याख्या: एक जना भाइ सभामा ढिलो आउँछन्‌। तर तिनले अरू असल गुणहरू देखाउँछन्‌। जस्तै: तिनी अनौपचारिक साक्षी दिन्छन्‌, एक जना दिदीलाई मदत गर्छन्‌ र सभाभवनको सरसफाइमा भाग लिन्छन्‌।