सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५१

येसुको कुरा सुनिरहनुहोस्‌

येसुको कुरा सुनिरहनुहोस्‌

“यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु। तिमीहरूले उनको कुरा सुन।”—मत्ति १७:५.

गीत ५४ ‘यही हो बाटो’

परिचय *

१-२. (क) येसुका तीन जना प्रेषितलाई कस्तो आज्ञा दिइयो र तिनीहरूले के गरे? (ख) यस लेखमा हामी के विचार गर्नेछौँ?

इस्वी संवत्‌ ३२ को निस्तार चाडपछि प्रेषितहरू पत्रुस, याकुब र युहन्‍नाले सम्भवतः हर्मोन डाँडामा छँदा एउटा अचम्मको दर्शन देखे। त्यहाँ तिनीहरूसामु येसुको रूप परिवर्तन भयो। “उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिँ ज्योतिजस्तै चहकिलो भयो।” (मत्ति १७:१-४) त्यस दर्शनको अन्तमा यहोवाले ती प्रेषितहरूलाई भन्‍नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु। तिमीहरूले उनको कुरा सुन।” (मत्ति १७:५) यी तीनै जना प्रेषितले आफ्नो जीवनशैलीद्वारा येसुको कुरा सुनेको देखाए। हामीले पनि तिनीहरूको अनुकरण गर्नुपर्छ।

अघिल्लो लेखमा येसुको स्वर सुन्‍नु भनेको केही कुराहरू गर्न छोडिहाल्नु हो भनेर सिक्यौँ। यस लेखमा येसुले गर भन्‍नुभएको दुई वटा कुरा विचार गर्नेछौँ।

“साँघुरो ढोकाबाट भित्र पस”

३. मत्ति ७:१३, १४ अनुसार हामीले के गर्नुपर्छ?

मत्ति ७:१३, १४ पढ्‌नुहोस्‌। येसुले दुई वटा बाटोबारे उल्लेख गर्नुभयो। एउटा “साँघुरो” बाटो अनि अर्को “फराकिलो” बाटो। यीबाहेक अर्को तेस्रो बाटो छैन। त्यसैले यी दुईमध्ये कुनचाहिँ बाटोमा हिँड्‌ने भनेर हामीले छनौट गर्नुपर्छ। यो निर्णय एकदमै महत्त्वपूर्ण छ। किन? किनभने अनन्त जीवन पाउने हो कि होइन भन्‍ने कुरा हामीले गर्ने यही छनौटमा निर्भर हुन्छ।

४. “फराकिलो” बाटो कस्तो हुन्छ?

हामीले साँघुरो र फराकिलो बाटोको भिन्‍नता बुझ्नुपर्छ। धेरै जना “फराकिलो” बाटोमा हिँड्‌छन्‌ किनभने त्यस बाटोमा हिँड्‌न सजिलो छ। दुःखको कुरा, धेरै जनाले त्यही बाटोमा हिँडिरहने र भीडको पछि लाग्ने छनौट गर्छन्‌। तर त्यस बाटोमा हिँड्‌न लगाउने सैतान हो भनेर मानिसहरूलाई थाह छैन। त्यस बाटोले अन्तमा मृत्युमा पुऱ्‍याउँछ।—१ कोरि. ६:९, १०; १ युह. ५:१९.

५. कसै-कसैले “साँघुरो” बाटो भेट्टाउन र त्यसमा हिँड्‌न कस्तो प्रयास गरेका छन्‌?

येसुले अर्को बाटोबारे पनि बताउनुभयो। त्यो बाटो “साँघुरो” छ र थोरैले मात्र भेट्टाउँछन्‌। किन? रोचक कुरा के छ भने, त्यसपछिको पदमा येसुले आफ्ना चेलाहरूलाई झूटा भविष्यवक्‍ताहरूदेखि होसियार रहन चेतावनी दिनुभयो। (मत्ति ७:१५) कसै-कसैको अनुमानमा संसारमा हजारौँ धर्म छन्‌ अनि तीमध्ये धेरैजसो धर्मले साँचो कुरा सिकाउने दाबी गर्छन्‌। यति धेरै धर्म भएकोले मानिसहरू अन्योलमा परेका छन्‌ वा साँचो धर्म नभेट्टाएकोले निराश भएका छन्‌। त्यसैले तिनीहरू जीवनतर्फ लैजाने बाटो खोज्ने प्रयास नै गर्दैनन्‌। तर एउटा कुरा भने पक्का छ, त्यो बाटो भेट्टाउन सकिन्छ। येसुले यसो भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (युह. ८:३१, ३२) खुसीको कुरा, तपाईँ भीडको पछि लाग्नुभएन, बरु सत्य खोज्नुभयो। तपाईँले बाइबल अध्ययन गरेर येसुका शिक्षाहरू बुझ्नुभयो र परमेश्‍वर हामीबाट के चाहनुहुन्छ भनेर सिक्नुभयो। त्यसैले तपाईँले झूटो धर्मका शिक्षाहरूलाई तिरस्कार गर्नुभयो र झूटो धर्मबाट सुरु भएका चाडपर्वहरू मनाउन छोड्‌नुभयो। यसो गर्न तपाईँलाई पक्कै सजिलो भएन। (मत्ति १०:३४-३६) तैपनि तपाईँले प्रयास गरिरहनुभयो। किनभने तपाईँ यहोवालाई प्रेम गर्नुहुन्छ र उहाँको अनुमोदन चाहनुहुन्छ। तपाईँको यस्तो प्रयास देखेर यहोवा असाध्यै खुसी हुनुहुन्छ!—हितो. २७:११.

साँघुरो बाटोमा हिँडिरहन के गर्नुपर्छ?

परमेश्‍वरका सल्लाह र स्तरहरूले हामीलाई “साँघुरो” बाटोमा हिँडिरहन मदत गर्छ (अनुच्छेद ६-८ हेर्नुहोस्‌) *

६. भजन ११९:९, १०, ४५ र १३३ अनुसार हामीलाई साँघुरो बाटोमा हिँडिरहन केले मदत गर्छ?

हामी साँघुरो बाटोमा हिँड्‌न थालिसकेका छौँ भने त्यो बाटोमा हिँडिरहन केले मदत गर्न सक्छ? एउटा उदाहरण विचार गरौँ। पहाडको साँघुरो बाटोको छेउमा रेलिङहरू राखिएको हुन्छ। ती रेलिङहरू गाडी चालक र यात्रु दुवैको सुरक्षाको लागि हो। त्यसले गर्दा गाडी चालकहरू बाटोको छेउसम्म पुग्ने र भीरबाट खस्ने खतरा हुँदैन। ती रेलिङहरूले गर्दा गाडी मजाले चलाउन पाइएन भनेर कुनै पनि चालकले गुनासो गर्दैन। बाइबलमा पाइने यहोवाका स्तरहरू पनि ती रेलिङहरूजस्तै हुन्‌। साँघुरो बाटोमा हिँडिरहन हामीलाई उहाँका स्तरहरूले मदत गर्छ।भजन ११९:९, १०, ४५, १३३ पढ्‌नुहोस्‌।

७. साँघुरो बाटोमा हिँड्‌ने कुरालाई जवानहरूले कसरी हेर्नुपर्छ?

जवानहरू हो, के तपाईँलाई यहोवाका स्तरहरू असाध्यै कडा लाग्छ? तपाईँले यस्तै सोचाइ राखेको सैतान चाहन्छ। फराकिलो बाटोमा हिँडिरहेका मानिसहरूले जीवनको भरपुर आनन्द उठाइरहेका छन्‌ जस्तो देखिन्छ र सैतानले त्यही कुरातर्फ तपाईँको ध्यान खिच्न खोज्छ। तपाईँको जीवन स्कुलका साथीहरू वा इन्टरनेटमा देखिने मानिसहरूको जस्तो रमाइलो छैन भनेर सोचेको सैतान चाहन्छ। यहोवाका स्तरहरूले तपाईँलाई मोजमस्ती गर्नदेखि रोकिरहेको छ भन्‍ने सोचाइ राखेको त्यो चाहन्छ। * तर यो कुरा नबिर्सनुहोस्‌: सैतानको बाटोमा हिँड्‌नेहरूले पछि आफूलाई के हुनेछ भनेर थाह नपाएको त्यो चाहन्छ। तर यहोवाले भने उहाँको बाटोमा हिँड्‌नेहरूको जीवन भविष्यमा कस्तो हुनेछ भनेर स्पष्टसित बताउनुभएको छ।—भज. ३७:२९; यसै. ३५:५, ६; ६५:२१-२३.

८. जवानहरूले ओलाफको अनुभवबाट के सिक्न सक्छन्‌?

जवान भाइ ओलाफबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ। * तिनलाई स्कुलका साथीहरूले यौनसम्बन्ध राख्न निकै दबाब दिए। तिनले आफू यहोवाको साक्षी भएकोले बाइबलको उच्च नैतिक स्तरअनुसार जीवन बिताउँछु भनेर बताए। त्यो सुनेपछि तिनको कक्षाका केही केटीहरूले विभिन्‍न प्रलोभन देखाएर तिनीसित यौनसम्बन्ध राख्न खोजे तर ओलाफ आफ्नो अडानमा दृढ रहे। तिनले उच्च शिक्षा लिने दबाबको पनि सामना गरे। स्कुलका शिक्षकहरूले तिनलाई उच्च शिक्षा लिनै पर्छ भनेर दबाब दिन थाले। उच्च शिक्षा लिएनन्‌ भने मानिसहरूले तिनलाई आदर गर्नेछैनन्‌ र तिनको जीवन सफल हुनेछैन भने। यस्तो दबाब आउँदा ओलाफले के गरे? तिनले मण्डलीका भाइबहिनीसित घनिष्ठ सम्बन्ध गाँसे। तिनीहरू ओलाफको लागि परिवारजस्तै भयो। साथै तिनले अझ ध्यान दिएर बाइबल पढ्‌न थाले। यसरी अध्ययन गर्दा तिनी यो नै सत्य हो भन्‍ने कुरामा विश्‍वस्त भए। त्यति मात्र होइन, यहोवाको सेवा गर्ने तिनको अठोट झनै बलियो भयो।

९. साँघुरो बाटोमा हिँडिरहन के गर्नुपर्छ?

हामी जीवनतर्फ लैजाने बाटोमा हिँड्‌न छोडेर अरू मानिसजस्तै “विनाशतर्फ लैजाने” फराकिलो बाटोमा हिँडेको सैतान चाहन्छ। (मत्ति ७:१३) तर येसुको कुरा सुनिरह्‍यौँ अनि साँघुरो बाटोमा हिँड्‌दा हाम्रै सुरक्षा हुन्छ भन्‍ने कुरा मनमा राख्यौँ भने हामी त्यो बाटोमा हिँडिरहन सक्छौँ। अब येसुले हामीलाई गर भन्‍नुभएको अर्को एउटा कुराबारे विचार गरौँ।

आफ्नो भाइसित मिलाप गर्नुहोस्‌

१०. मत्ति ५:२३, २४ मा येसुले हामीलाई के गर भन्‍नुभयो?

१० मत्ति ५:२३, २४ पढ्‌नुहोस्‌। येसुको कुरा सुनिरहेका यहुदीहरूको लागि मन्दिरमा गएर बलि चढाउनु एकदमै महत्त्वपूर्ण थियो। कल्पना गर्नुहोस्‌, बलि चढाउन मन्दिरमा गएको एक जना यहुदीले पुजारीलाई आफ्नो पशु दिनै लागेको छ। तर एक जना भाइको ऊप्रति कुनै गुनासो छ भन्‍ने कुरा उसलाई झल्याँस्स याद आउँछ। अब उसले के गर्नुपर्थ्यो? उसले आफ्नो बलि त्यहीँ छोडेर जानुपर्थ्यो। उसको लागि मन्दिरमा बलि चढाउनुभन्दा महत्त्वपूर्ण कुरा केही थियो होला र? यसको जवाफ येसुले स्पष्टसित दिनुभयो: “पहिले आफ्नो भाइसित मिलाप गर।”

याकुबले नम्र भई आफ्नो दाइसित मिलाप गरे। के तपाईँ तिनको अनुकरण गर्नुहुन्छ? (अनुच्छेद ११-१२ हेर्नुहोस्‌) *

११. याकुबले एसावसित मिलाप गर्न कस्तो प्रयास गरे?

११ कुलपिता याकुबको जीवनमा घटेको एउटा घटनाबाट हामी अरूसित मिलाप गर्ने विषयमा महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ। याकुबले आफ्नो जन्मभूमि छोडेको लगभग २० वर्ष भइसकेको थियो। यहोवाले एक जना स्वर्गदूतमार्फत तिनलाई आफ्नो जन्मभूमि फर्कन आज्ञा दिनुभयो। (उत्प. ३१:११, १३, ३८) तर एउटा समस्या थियो। तिनका दाइ एसावले तिनलाई मार्न खोजेका थिए। (उत्प. २७:४१) यत्तिका वर्षपछि पनि दाइले मनमा रिस पालेर राखेका छन्‌ कि भनेर याकुब “असाध्यै डराए र चिन्तित भए।” (उत्प. ३२:७) तिनले के गरे? सुरुमा तिनले यस विषयमा यहोवालाई व्यग्र प्रार्थना गरे। त्यसपछि तिनले एसावको लागि प्रशस्त उपहार पठाए। (उत्प. ३२:९-१५) अनि वर्षौँपछि यी दुई दाजुभाइ आमनेसामने हुँदा याकुबले नै पहिलो कदम चाले। तिनले एसावलाई एक चोटि होइन, सात-सात चोटि दण्डवत्‌ गरे। याकुबले नम्रता र आदरभाव देखाउँदै एसावसित मिलाप गरे।—उत्प. ३३:३, ४.

१२. हामी याकुबको उदाहरणबाट के सिक्न सक्छौँ?

१२ याकुबले आफ्नो दाइलाई भेट्‌नुअघि गरेको तयारी र भेटेपछि चालेको कदमबाट हामी पाठ सिक्न सक्छौँ। याकुबले नम्र भई यहोवासित मदत मागे। त्यसपछि तिनले प्रार्थनाअनुरूपै आफ्नो दाइसित मिलाप गर्न कदमहरू चाले। ती दाजुभाइको भेट हुँदा याकुबले एसावसित को सही र को गलत भनेर तर्कवितर्क गरेनन्‌। किनभने याकुबको उद्देश्‍य दाइसित मिलाप गर्नु थियो। हामी याकुबको उदाहरण कसरी अनुकरण गर्न सक्छौँ?

हामी अरूसित कसरी मिलाप गर्न सक्छौँ?

१३-१४. हामीले कुनै भाइ वा बहिनीको चित्त दुखाएका छौँ भने के गर्नुपर्छ?

१३ अनन्त जीवनतर्फ लैजाने बाटोमा हिँडिरहन चाहन्छौँ भने हामी सङ्‌गी भाइबहिनीसित मिलेर बस्नुपर्छ। (रोमी १२:१८) तर हामीले कुनै भाइ वा बहिनीको चित्त दुखाएका छौँ भन्‍ने महसुस भयो भने नि? याकुबले जस्तै हामीले यहोवालाई व्यग्र प्रार्थना गर्नुपर्छ। त्यसपछि ती भाइ वा बहिनीसित मिलाप गर्ने प्रयासमा सफल हुन सकूँ भनेर उहाँलाई बिन्ती गर्नुपर्छ।

१४ हामीले आफ्नो मनसाय पनि केलाउनुपर्छ। हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘के म आफ्नो गल्ती स्विकार्न, क्षमा माग्न र मिलाप गर्न तयार छु? म ती भाइ वा बहिनीसित मिलाप गर्न अग्रसर भएँ भने यहोवा र येसुले कस्तो महसुस गर्नुहुनेछ?’ यी प्रश्‍नहरूको जवाफले हामीलाई येसुको कुरा सुन्‍न र आफै अग्रसर भएर शान्ति कायम गर्न जुरमुऱ्‍याउँछ। यसरी हामी याकुबको उदाहरण अनुकरण गर्न सक्छौँ।

१५. एफिसी ४:२, ३ मा पाइने सिद्धान्त लागू गर्दा हामी कसरी अरूसित मिलाप गर्न सक्छौँ?

१५ याकुबले एसावसित भेट्‌दा को सही र को गलत भनेर तर्कवितर्क गरेका भए परिणाम कस्तो हुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त! तिनीहरूबीच मेलमिलाप कदापि हुने थिएन। त्यसरी नै हामी पनि कुनै भाइ वा बहिनीसित मेलमिलाप गर्न चाहन्छौँ भने नम्रता देखाउनुपर्छ। (एफिसी ४:२, ३ पढ्‌नुहोस्‌।) हितोपदेश १८:१९ यसो भन्छ: “चित्त दुखाएर बसेको साथीलाई मनाउनुभन्दा पर्खालले घेरिएको सहर जित्नु सजिलो हुन्छ अनि कुनै-कुनै किचलो दरबारका ढोकाहरूजस्तै हुन्छ।” हामीले नम्र भई क्षमा माग्यौँ भने “दरबार”-भित्र छिर्न सक्नेछौँ। यसको मतलब ती भाइ वा बहिनीसित मिलाप गर्न सक्नेछौँ।

१६. हामीले कुन कुरा राम्ररी सोचविचार गर्नुपर्छ र किन?

१६ कुनै भाइ वा बहिनीसित मिलाप गर्न जानुअघि के भन्‍ने अनि कसरी भन्‍ने भनेर राम्ररी सोचविचार गर्नुपर्छ। तिनलाई भेट्‌न जाँदा हाम्रो लक्ष्य भनेको तिनीसित फेरि राम्रो सम्बन्ध कायम गर्ने हुनुपर्छ। सुरुमा भेट्‌दा तिनले उल्टै हाम्रो चित्त दुख्ने कुराहरू भन्‍न सक्छन्‌। यस्तो अवस्थामा हामीलाई झडङ्‌ङ रिस उठ्‌न सक्छ वा तिनलाई नै गलत ठहराऊँ जस्तो लाग्न सक्छ। तर त्यसो गऱ्‍यौँ भने मिलाप गर्न सम्भव हुन्छ र? पक्कै हुँदैन। यो कुरा नबिर्सौँ, को सही र को गलत भनेर प्रमाणित गर्नुभन्दा ती भाइ वा बहिनीसित मिलाप गर्नु महत्त्वपूर्ण छ।—१ कोरि. ६:७.

१७. तपाईँले गिल्बर्टको अनुभवबाट के सिक्नुभयो?

१७ गिल्बर्टले अरूसित शान्ति कायम गर्न धेरै प्रयास गरे। तिनी आफ्नो अनुभव यसरी सुनाउँछन्‌: “परिवारको एक जना सदस्यसित मेरो निकै खटपट भइरहेको थियो। मैले उनीसित फेरि राम्रो सम्बन्ध कायम गर्न दुई वर्षभन्दा लामो समय प्रयास गरेँ। मैले आफ्नो मनको कुरा खुलस्त रूपमा र शान्तपूर्वक बताउन निकै कोसिस गरेँ।” यसबाहेक गिल्बर्टले के गरे? तिनी भन्छन्‌: “उनीसित कुरा गर्न जानुअघि म प्रार्थना गर्थेँ अनि उनले मेरो चित्त दुखाइहाले तापनि त्यो सुन्‍न तयार हुन्थेँ। म उनलाई क्षमा दिन पनि तयार हुन्थेँ। आफ्नो अधिकारमा जिद्दी गर्नुको साटो मिलाप गर्नु महत्त्वपूर्ण छ भन्‍ने कुरा पनि मैले बुझेँ।” परिणाम कस्तो भएको छ? गिल्बर्ट भन्छन्‌: “अहिले मैले परिवारको सबै सदस्यसित राम्रो सम्बन्ध कायम गर्न सकेको छु। त्यसैले मनोशान्ति पाएको छु।”

१८-१९. हामीले कसैको चित्त दुखाएका छौँ भने के गर्ने सङ्‌कल्प गर्नुपर्छ र किन?

१८ तपाईँले कुनै भाइ वा बहिनीको चित्त दुखाएको महसुस गर्नुभयो भने के गर्ने सङ्‌कल्प गर्नुपर्छ? तपाईँले तिनीसित मिलाप गर्न येसुको निर्देशन पछ्याउनुपर्छ। यसबारे यहोवालाई बताउनुपर्छ अनि मिलाप गर्न उहाँको पवित्र शक्‍तिमा भर पर्नुपर्छ। यसो गर्नुभयो भने तपाईँ आनन्दित हुनुहुनेछ र येसुको कुरा सुनेको पनि देखाइरहनुभएको हुनेछ।—मत्ति ५:९.

१९ यहोवाले हामीलाई “मण्डलीको शिर” येसु ख्रिष्टमार्फत मायालु निर्देशन दिइरहनुभएकोमा हामी आभारी छौँ। (एफि. ५:२३) प्रेषितहरू पत्रुस, याकुब र युहन्‍नाजस्तै हामी पनि येसुको कुरा ‘सुन्‍ने’ सङ्‌कल्प गरौँ। (मत्ति १७:५) हामीले चित्त दुखाएको कुनै भाइ वा बहिनीसित मिलाप गर्दा कसरी येसुको स्वर सुनिरहेका हुनेछौँ भनेर हामीले बुझ्यौँ। यस्तो प्रयास गर्नुका साथै साँघुरो बाटोमा हिँडिरहँदा अहिले थुप्रै आशिष्‌ पाउनेछौँ। त्यति मात्र होइन, भविष्यमा अपार आनन्द पाउनेछौँ।

गीत १३० क्षमा दिने गरौँ!

^ अनु. 5 येसु हामीलाई जीवनतर्फ लैजाने साँघुरो बाटोमा हिँड्‌न सल्लाह दिनुहुन्छ। उहाँ हामीलाई सङ्‌गी भाइबहिनीसित मिलाप गर्न पनि सल्लाह दिनुहुन्छ। उहाँका यी सल्लाहहरू पालन गर्ने प्रयास गर्दा कस्ता बाधाहरू आइपर्न सक्छन्‌? तर हामी ती बाधाहरू कसरी हटाउन सक्छौँ?

^ अनु. 7 युवाहरूको १० प्रश्‍नका जवाफहरू पुस्तिकाको प्रश्‍न ६: “साथीहरूको दबाबको कसरी प्रतिरोध गर्न सक्छु?” र www.pr418.com/ne मा साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌! भन्‍ने ह्वाइटबोर्ड एनिमेसन हेर्नुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌।)

^ अनु. 8 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 56 चित्रको व्याख्या: रेलिङले गाडीलाई भीरबाट खस्नदेखि जोगाएझैँ “साघुँरो” बाटोमा हिँड्‌दा परमेश्‍वरका स्तरहरूले हामीलाई अश्‍लील सामग्री हेर्ने, अवैध यौनसम्बन्ध राख्ने र उच्च शिक्षालाई पहिलो स्थान दिने प्रलोभनमा फस्नदेखि जोगाउँछ।

^ अनु. 58 चित्रको व्याख्या: आफ्नो दाइ एसावसित मिलाप गर्न गएका याकुबले तिनलाई धेरै चोटि दण्डवत्‌ गरे।