सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ९

अरूको सेवा गरेर येसुको अनुकरण गर्नुहोस्‌

अरूको सेवा गरेर येसुको अनुकरण गर्नुहोस्‌

“लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषि. २०:३५.

गीत १७ “म इच्छा गर्छु”

परिचय *

१. आज यहोवाका मानिसहरूले कस्तो मनोवृत्ति देखाइरहेका छन्‌?

 येसुको निर्देशन पालन गर्दै यहोवाका मानिसहरूले “राजीखुसीले” उहाँको सेवा गर्नेछन्‌ भनेर बाइबलमा हजारौँ वर्षअघि भविष्यवाणी गरिएको थियो। (भज. ११०:३) आज यो भविष्यवाणी पूरा भइरहेको छ। यहोवाका जोसिला सेवकहरूले हरेक वर्ष साक्षीकार्यमा करोडौँ घण्टा बिताउँछन्‌, त्यो पनि स्वेच्छाले र आफ्नै खर्चमा। यसबाहेक तिनीहरू भाइबहिनीलाई भौतिक, भावनात्मक र आध्यात्मिक रूपमा हेरचाह गर्न पनि धेरै समय बिताउँछन्‌। साथै एल्डर र सहायक सेवकहरूले भाषणहरूको तयारी र गोठालो भेटको लागि थुप्रै घण्टा खर्च गर्छन्‌। तिनीहरूले यसो गर्नुको कारण के हो? तिनीहरू यहोवा र छिमेकीलाई प्रेम गर्छन्‌।—मत्ति २२:३७-३९.

२. रोमी १५:१-३ अनुसार येसुले हाम्रो लागि कस्तो उदाहरण बसाल्नुभयो?

आफ्नो भन्दा अरूको आवश्‍यकतालाई प्रथम स्थानमा राख्ने सन्दर्भमा येसुले हाम्रो लागि उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। हामी उहाँको पाइला पछ्याउन सक्दो प्रयास गर्दै छौँ। (रोमी १५:१-३ पढ्‌नुहोस्‌।) उहाँको अनुकरण गर्नेहरूले थुप्रै लाभ उठाउँछन्‌। येसुले भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषि. २०:३५.

३. हामी यस लेखमा के छलफल गर्नेछौँ?

यस लेखमा अरूको सेवा गर्न येसुले गर्नुभएका केही त्यागबारे र हामी उहाँको कसरी अनुकरण गर्न सक्छौँ भन्‍नेबारे छलफल गर्नेछौँ। साथै अरूको सेवा गर्ने हाम्रो इच्छा कसरी बढाउन सक्छौँ, त्यसबारे पनि बुझ्नेछौँ।

येसुको अनुकरण गर्नुहोस्‌

थकित हुनुभएको बेला भीड आफूकहाँ आउँदा येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो? (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. येसुले आफ्नो भन्दा अरूको आवश्‍यकतालाई प्रथम स्थानमा राखेको कसरी देखाउनुभयो?

येसु थकित हुनुभए पनि अरूलाई मदत गर्न समय निकाल्नुभयो। येसु सम्भवतः कफर्नहुमनजिकै एउटा डाँडामा हुनुहुँदा भीडका भीड मानिसहरू उहाँको कुरा सुन्‍न आए। त्यतिबेला उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो, विचार गरौँ। उहाँले पूरै रात प्रार्थना गरेर बिताउनुभएको थियो। त्यसैले उहाँ निकै थकित हुनुहुन्थ्यो होला। तर उहाँ गरिब र बिरामी मानिसहरूलाई देखेर टिठाउनुभयो र तिनीहरूलाई निको पार्न थाल्नुभयो। उहाँले तिनीहरूलाई अहिलेसम्मकै सबैभन्दा प्रोत्साहनदायी भाषण पनि दिनुभयो, जसलाई डाँडाको उपदेश भनिन्छ।—लुका ६:१२-२०.

हामी येसुको आत्मत्यागी मनोभावको कसरी अनुकरण गर्न सक्छौँ? (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. परिवारका शिरहरूले कसरी येसुको आत्मत्यागी मनोभाव अनुकरण गरिरहेका छन्‌?

परिवारका शिरहरू कसरी येसुको अनुकरण गर्छन्‌? यो दृश्‍य कल्पना गरौँ। एक जना परिवारको शिर दिनभरिको कामपछि निकै थकित भएर घर फर्केका छन्‌। तिनलाई त्यो साँझ पारिवारिक उपासना नगरौँ कि जस्तो लाग्छ। तर तिनले प्रार्थना गरेर यहोवासित बल माग्छन्‌। उहाँले तिनको प्रार्थनाको जवाफ दिनुहुन्छ; सदाजस्तै त्यो साँझ पनि तिनीहरूले पारिवारिक उपासना गर्छन्‌। त्यस परिवारका छोराछोरीले तिनीहरूका आमाबुबाले आध्यात्मिक कुराहरूलाई प्रथम स्थानमा राख्छन्‌ भन्‍ने महत्त्वपूर्ण पाठ सिक्छन्‌।

६. येसुले अरूको लागि समय दिनुभएको एउटा उदाहरण बताउनुहोस्‌।

येसुले अरूको लागि आफ्नो समय दिनुभयो। आफ्नो मित्र, बप्तिस्मा गराउने युहन्‍नाको हत्या भएको थाह पाएपछि येसुले कस्तो महसुस गर्नुभयो? उहाँ पक्कै पनि असाध्यै दुःखित हुनुभयो। बाइबल भन्छ: “[युहन्‍नाको मृत्युको खबर] सुनेपछि येसु एकान्तमा बस्न डुङ्‌गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो।” (मत्ति १४:१०-१३) उहाँ एक्लै बस्न चाहनुको कारण हामी बुझ्न सक्छौँ। हामीलाई पनि आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा कसैसित नबोली एक्लै बसूँ जस्तो लाग्छ। तर येसुले एक्लै समय बिताउन पाउनुभएन। उहाँ पुग्नुअघि नै भीडका भीड मानिसहरू त्यहाँ पुगिसकेका थिए। त्यतिबेला येसुले कस्तो प्रतिक्रिया देखाउनुभयो? तिनीहरूलाई मदत र सान्त्वना चाहिएको छ भन्‍ने कुरा येसुले देख्नुभयो। तिनीहरूको अवस्था देखेर “उहाँ टिठाउनुभयो” र तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुभयो। “उहाँले तिनीहरूलाई [केही कुरा मात्र होइन तर] धेरै कुरा सिकाउन थाल्नुभयो।”—मर्कु. ६:३१-३४; लुका ९:१०, ११.

७-८. मायालु एल्डरहरू कसरी येसुको अनुकरण गर्छन्‌? एउटा उदाहरण बताउनुहोस्‌।

मायालु एल्डरहरू कसरी येसुको अनुकरण गर्छन्‌? आत्मत्यागी एल्डरहरूले हाम्रो निम्ति गर्ने कामहरूको लागि हामी मनैदेखि कृतज्ञ छौँ। तिनीहरूले गर्ने धेरैजसो काम भाइबहिनीलाई थाह हुँदैन। उदाहरणको लागि, अस्पताल सम्पर्क समितिमा सेवा गर्ने भाइहरू कोही अचानक बिरामी परेर मदत चाहिँदा तुरुन्तै जान्छन्‌; प्रायजसो त्यस्तो आकस्मिक अवस्था मध्यरातमा आइपर्छ! ती भाइहरू मण्डलीलाई धेरै माया गर्छन्‌। त्यसैले तिनीहरू र तिनीहरूको परिवारले आफ्नो नभई भाइबहिनीको आवश्‍यकतालाई प्रथम स्थानमा राख्छन्‌।

एल्डरहरूले सभाभवन र अन्य भवनहरूको निर्माणकार्यका साथै राहतकार्यमा पनि भाग लिन्छन्‌। साथै तिनीहरू मण्डलीलाई सिकाउन, प्रोत्साहन दिन र अन्य विभिन्‍न तरिकामा सघाउन थुप्रै घण्टा बिताउँछन्‌। ती भाइहरू र तिनीहरूको परिवार हाम्रो प्रशंसाको योग्य छन्‌। यहोवाले तिनीहरूलाई आशिष्‌ दिइरहून्‌। तर एल्डरहरू सन्तुलित पनि हुनुपर्छ। तिनीहरू परिवारलाई समय नै दिन नसक्ने हदसम्म मण्डलीका गतिविधिमा व्यस्त हुनु हुँदैन।

हामी कसरी आत्मत्यागी मनोभाव विकास गर्न सक्छौँ?

९. फिलिप्पी २:४, ५ अनुसार हामी सबैले कस्तो मनोभाव विकास गर्नुपर्छ?

फिलिप्पी २:४, ५ पढ्‌नुहोस्‌। हुनत हामीमध्ये सबै जना एल्डर होइनौँ तैपनि हामी येसुको आत्मत्यागी मनोभाव अनुकरण गर्न चाहन्छौँ। उहाँ “दासजस्तो भएर . . . जन्मनुभयो” भनी बाइबल बताउँछ। (फिलि. २:७) यस पदबाट हामी के सिक्न सक्छौँ? एक जना असल दास वा सेवकले मालिकलाई खुसी बनाउने मौकाहरू खोज्छ। हामी यहोवाको दास र भाइबहिनीका सेवक हौँ। त्यसैले हामी यहोवा र भाइबहिनीको लागि अझ धेरै उपयोगी हुन चाहन्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ? आउनुहोस्‌, केही सुझाव छलफल गरौँ।

१०. हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ?

१० आफ्नो मनोवृत्ति केलाउनुहोस्‌। हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘के म अरूको लागि त्यागहरू गर्न इच्छुक छु? उदाहरणको लागि, वृद्ध भाइलाई भेट्‌न जान अथवा वृद्ध बहिनीलाई सभामा लगिदिन आग्रह गरिँदा म कस्तो प्रतिक्रिया देखाउँछु? अधिवेशनस्थलको सरसफाइ वा सभाभवनको मर्मतसम्भार गर्न स्वयंसेवकहरूको आवश्‍यकता पर्दा के म अग्रसर हुन्छु?’ हामीले यहोवालाई जीवन समर्पण गर्दा आफ्नो समय, शक्‍ति र स्रोतसाधन उहाँको सेवामा प्रयोग गर्ने वाचा गरेका थियौँ। त्यसैले निःस्वार्थ भई भाइबहिनीको सेवा गर्दा यहोवा खुसी हुनुहुनेछ। आफूलाई केलाउँदा छाँटकाँट गर्नुपर्ने केही कुरा देख्यौँ भने हामीले के गर्नुपर्छ?

११. आत्मत्यागी मनोभाव विकास गर्न प्रार्थनाले हामीलाई कसरी मदत गर्छ?

११ यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस्‌। आफैलाई जाँच्दा केही छाँटकाँट गर्नुपर्ने कुरा देख्नुभयो तर तपाईँमा ती छाँटकाँट गर्ने इच्छा नै छैन भने तपाईँ के गर्न सक्नुहुन्छ? यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस्‌। तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ भनेर इमानदार भई यहोवालाई बताउनुहोस्‌। अनि तपाईँमा ‘इच्छा पैदा गरिदिन र त्यो पूरा गर्ने शक्‍ति पनि दिन’ उहाँलाई बिन्ती गर्नुहोस्‌।—फिलि. २:१३.

१२. बप्तिस्मा गरिसकेका जवान भाइहरूले सङ्‌गठनलाई कसरी सघाउन सक्छन्‌?

१२ तपाईँ बप्तिस्मा गरिसकेको जवान भाइ हुनुहुन्छ भने भाइबहिनीको अझ धेरै सेवा गर्ने इच्छा बढाइदिन यहोवालाई बिन्ती गर्नुहोस्‌। केही देशमा एल्डरहरू धेरै छन्‌ तर सहायक सेवकहरू भने थोरै छन्‌, त्यसमाथि पनि ती सहायक सेवकहरू अधबैँसे वा वृद्ध भइसकेका छन्‌। हाम्रो सङ्‌गठन जति बढ्‌दै जान्छ, यहोवाका सेवकहरूको हेरचाह गर्ने जवान भाइहरूको त्यति नै खाँचो पर्छ। जहाँ आवश्‍यकता छ, त्यहाँ सेवा गर्न तयार हुनुहुन्छ भने तपाईँ आनन्दित हुनुहुनेछ। किन? यसो गर्दा तपाईँले यहोवालाई खुसी बनाउनुहुनेछ, भाइबहिनीमाझ राम्रो नाम कमाउनुहुनेछ र अरूलाई मदत गर्दा पाइने आनन्द अनुभव गर्नुहुनेछ।

यहुदियाका ख्रिष्टियनहरू यर्दन नदी पार गरेर पेला सहरमा जान्छन्‌। त्यहाँ पहिल्यै पुगिसकेका ख्रिष्टियनहरूले भर्खरै आइपुगेका सङ्‌गी ख्रिष्टियनहरूलाई खानेकुरा बाँड्‌दै छन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३-१४. हामी भाइबहिनीलाई के-कस्ता व्यावहारिक तरिकामा मदत गर्न सक्छौँ? (आवरण चित्र हेर्नुहोस्‌।)

१३ अरूको आवश्‍यकताप्रति सजग हुनुहोस्‌। प्रेषित पावलले हिब्रू ख्रिष्टियनहरूलाई यस्तो सल्लाह दिए: “भलाइ गर्न अनि आफूसित भएको कुरा बाँडचुँड गर्न नबिर्स किनकि यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ।” (हिब्रू १३:१६) यो साँच्चै व्यावहारिक सल्लाह थियो! ती ख्रिष्टियनहरूले पावलको पत्र पाएको केही समयमै तिनीहरू आफ्नो घरबार, व्यापार-व्यवसाय र आफन्तहरूलाई छोडेर ‘डाँडाहरूतिर भाग्नुपरेको’ थियो। (मत्ति २४:१६) त्यतिबेला पक्कै पनि तिनीहरूले एकअर्कालाई मदत गर्नु आवश्‍यक थियो। यदि तिनीहरूले बाँडचुँड गर्नेबारे पावलले दिएको सल्लाह लागू गर्न थालिसकेका थिए भने तिनीहरूलाई नयाँ ठाउँमा सरेपछि त्यहाँ घुलमिल हुन सजिलो भएको हुनुपर्छ।

१४ हाम्रा भाइबहिनीले आफूलाई मदत चाहिएको कुरा सधैँ नबताउन सक्छन्‌। उदाहरणको लागि, कुनै भाइ आफ्नी पत्नीको मृत्यु भएकोले शोकमा छन्‌ होला। तिनलाई खाना पकाउन, कतै जान वा घरको सरसफाइ गर्न मदत चाहिएको हुन सक्छ तर भाइबहिनीलाई दुःख नदिऊँ भनेर केही पनि नभन्‍न सक्छन्‌। तर हामी आफै अग्रसर भएर मदत गऱ्‍यौँ भने तिनी हाम्रो मदतको लागि कृतज्ञ हुनेछन्‌। त्यसैले हामीले कहिल्यै पनि ‘उहाँलाई अरूले नै मदत गर्लान्‌’ वा ‘मदत चाहियो भने उहाँ आफैले भन्‍नुहोला नि’ भनेर अड्‌कल काट्‌नु हुँदैन। बरु आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘म उहाँको जस्तै अवस्थामा भएको भए भाइबहिनीले कस्तो मदत दिएको आशा गर्थेँ?’

१५. हामी कस्तो व्यक्‍ति बन्‍न चाहन्छौँ?

१५ मदत माग्न सजिलो व्यक्‍ति बन्‍नुहोस्‌। सायद तपाईँ आफ्नो मण्डलीका त्यस्ता भाइबहिनीलाई चिन्‍नुहुन्छ होला, जो सधैँ अरूलाई मदत गर्न तयार हुन्छन्‌। हामीले घरीघरी मदत माग्दा तिनीहरू दिक्क मान्दैनन्‌। गाह्रोसाह्रो पर्दा हामी अप्ठ्यारो नमानी तिनीहरूसित मदत माग्छौँ र हामी पनि तिनीहरूजस्तै हुन चाहन्छौँ। एलन नाम गरेका ४५ वर्षका एल्डर मदत माग्न सजिलो व्यक्‍ति बन्‍न चाहन्छन्‌। येसुको उदाहरण मनन गर्दै तिनी यसो भन्छन्‌: “येसु व्यस्त हुनुहुन्थ्यो। तर सबै उमेरका मानिसहरू उहाँको नजिक आउन र उहाँको मदत माग्न अप्ठ्यारो मान्दैनथे। उहाँ अरूको ख्याल राख्ने व्यक्‍ति भनेर चिनिनुभयो। म येसुजस्तै मित्रैलो र अरूको ख्याल राख्ने व्यक्‍ति बन्‍न चाहन्छु। अनि अरूले मसित मदत माग्न सजिलो महसुस गरेको चाहन्छु।”

१६. भजन ११९:५९, ६० लागू गर्दा कसरी येसुको उदाहरण राम्रोसँग अनुकरण गर्न सक्नेछौँ?

१६ हामीले हुबहु येसुको अनुकरण गर्न सकेनौँ भने पनि निराश हुनु पर्दैन। (याकु. ३:२) उदाहरणको लागि, एक जना विद्यार्थीले आफ्नो गुरुले जस्तै कलाकृति बनाउन त सक्दैनन्‌ तर तिनले आफ्नो गल्तीबाट सिके र गुरुको अनुकरण गर्न सक्दो प्रयास गरे भने तिनी झन्‌झन्‌ सिपालु हुँदै जानेछन्‌। त्यसैगरि हामीले पनि व्यक्‍तिगत बाइबल अध्ययनमा पढेका कुराहरू लागू गर्न र आफ्नो कमीकमजोरी सुधार्न सक्दो गऱ्‍यौँ भने येसुले हाम्रो लागि छोड्‌नुभएको उदाहरण राम्रोसँग अनुकरण गर्न सक्नेछौँ।भजन ११९:५९, ६० पढ्‌नुहोस्‌।

आत्मत्यागी मनोभाव देखाउँदा हुने फाइदाहरू

येसुको आत्मत्यागी मनोभावको अनुकरण गरेर एल्डरहरूले जवानहरूको लागि राम्रो उदाहरण बसाल्छन्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌) *

१७-१८. येसुको आत्मत्यागी मनोभावको अनुकरण गर्दा कस्ता फाइदाहरू हुन्छन्‌?

१७ आत्मत्यागी मनोभाव देखायौँ भने अरू पनि त्यस्तै मनोभाव देखाउन उत्प्रेरित हुन्छन्‌। टिम नाम गरेका एल्डर भन्छन्‌: “हाम्रो मण्डलीका थुप्रै जवान भाइले प्रगति गरेका छन्‌ र कोही-कोही त सानै उमेरमा सहायक सेवक नियुक्‍त भएका छन्‌। यसको एउटा कारण भनेको तिनीहरूले मण्डलीका भाइबहिनीले निःस्वार्थ भई अरूको सेवा गरेको देखे र तिनीहरू पनि त्यसै गर्न उत्प्रेरित भए। तिनीहरू विभिन्‍न तरिकामा मण्डलीलाई मदत गर्छन्‌ र एल्डरहरूलाई पनि सघाउँछन्‌।”

१८ हामी स्वार्थी संसारमा बाँचिरहेका छौँ। तर परमेश्‍वरका सेवकहरू संसारका मानिसहरूजस्तो स्वार्थी छैनन्‌। हामीले येसुको आत्मत्यागी मनोभावबारे सिकेका छौँ र उहाँको उदाहरण पछ्याउने सङ्‌कल्प गरेका छौँ। हुनत हामी उहाँको पाइला हुबहु पछ्याउन सक्दैनौँ तर ‘राम्ररी उहाँको पाइला पछ्याउन’ भने सक्छौँ। (१ पत्रु. २:२१) हामीले येसुको आत्मत्यागी मनोभावको अनुकरण गर्न सक्दो प्रयास गरेको देख्दा यहोवा खुसी हुनुहुनेछ र उहाँलाई खुसी बनाउन सकेकोमा हामी आफै पनि आनन्दित हुनेछौँ।

गीत १३ ख्रिष्ट—हाम्रो उदाहरण

^ अनु. 5 येसुले सधैँ आफ्नो भन्दा अरूको आवश्‍यकतालाई प्रथम स्थानमा राख्नुभयो। यस लेखमा हामीले येसुको अनुकरण गर्न सक्ने केही तरिका छलफल गर्नेछौँ। साथै येसुको जस्तै आत्मत्यागी मनोभाव देखाउँदा कस्तो फाइदा हुन्छ, त्यो पनि बुझ्नेछौँ।

^ अनु. 57 तस्बिरको व्याख्या: जवान भाइ ड्यान अस्पतालमा दुई जना एल्डर आफ्नो बुबालाई भेट्‌न आएको हेर्दै छन्‌। ती एल्डरहरूको राम्रो उदाहरणले ड्यानमा अमेट छाप पारेको छ। तिनी पनि मण्डलीमा मदत चाहिएकाहरूलाई सघाउन अग्रसर हुन्छन्‌। ड्यानले अरूलाई मदत गरेको अर्का जवान भाइ बेनले याद गर्छन्‌। ड्यानको राम्रो उदाहरणले गर्दा बेन पनि सभाभवनको सरसफाइमा भाग लिन उत्प्रेरित हुन्छन्‌।