सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ११

बप्तिस्मापछि पनि “नयाँ व्यक्‍तित्व” धारण गरिरहनुहोस्‌

बप्तिस्मापछि पनि “नयाँ व्यक्‍तित्व” धारण गरिरहनुहोस्‌

“नयाँ व्यक्‍तित्व धारण गर।”—कल. ३:१०.

गीत ४९ यहोवाको मन खुसी राखौँ!

परिचय *

१. हाम्रो व्यक्‍तित्वलाई एकदमै असर गर्ने कुरा के हो?

 हामीले बप्तिस्मा गरेको केही दिन मात्र भएको होस्‌ वा वर्षौँ, हामी यहोवाले प्रेम गर्नुहुने खालको व्यक्‍ति बन्‍न चाहन्छौँ। त्यस्तो व्यक्‍ति बन्‍न हामीले आफ्नो सोचाइ काबूमा राख्नुपर्छ। किन? किनभने हाम्रो व्यक्‍तित्वलाई हाम्रो सोचाइले एकदमै असर गर्छ। यदि हामी शारीरिक कुइच्छाहरूबारे मात्र सोचिरहन्छौँ भने खराब कुरा बोल्नेछौँ र खराब काम नै गर्नेछौँ। (एफि. ४:१७-१९) अर्कोतर्फ आफ्नो दिमागमा असल कुराहरू भरेका छौँ भने हामीले यहोवालाई खुसी तुल्याउने खालको बोली बोल्ने र त्यस्तै काम गर्ने सम्भावना धेरै हुन्छ।—गला. ५:१६.

२. यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

अघिल्लो लेखमा सिकेअनुसार हामी आफ्नो दिमागमा खराब सोचाइ आउनदेखि पूरै रोक्न सक्दैनौँ तर आफूलाई त्यसअनुसार काम गर्नदेखि भने रोक्न सक्छौँ। बप्तिस्मा गर्नुअघि नै यहोवाले घृणा गर्नुहुने कुराहरू बोल्न र गर्न छोड्‌नुपर्छ। यही नै पुरानो व्यक्‍तित्वलाई फुकालेर मिल्काउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। यहोवालाई पूर्णतया खुसी बनाउन हामीले यो आज्ञा पालन गर्नै पर्छ: “नयाँ व्यक्‍तित्व धारण गर।” (कल. ३:१०) यस लेखमा हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ: “नयाँ व्यक्‍तित्व” भनेको के हो? नयाँ व्यक्‍तित्व धारण गर्न र त्यसलाई नफुकाल्न हामी के गर्न सक्छौँ?

“नयाँ व्यक्‍तित्व” भनेको के हो?

३. गलाती ५:२२, २३ अनुसार “नयाँ व्यक्‍तित्व” भनेको के हो र हामी त्यो कसरी धारण गर्न सक्छौँ?

“नयाँ व्यक्‍तित्व” भनेको यहोवाको व्यक्‍तित्व झल्किने सोचाइ र काम हो। एक जना व्यक्‍तिले आफ्नो जीवनमा पवित्र शक्‍तिको फल खेती गरेर नयाँ व्यक्‍तित्व धारण गर्न सक्छन्‌। भन्‍नुको मतलब तिनी आफ्नो सोचाइ, भावना र कामलाई पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार ढाल्छन्‌। (गलाती ५:२२, २३ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, तिनी यहोवा र उहाँका जनहरूलाई प्रेम गर्छन्‌। (मत्ति २२:३६-३९) तिनी परीक्षाहरूको सामना गर्नुपर्दा आनन्द गुमाउँदैनन्‌। (याकु. १:२-४) तिनी शान्ति कायम गर्छन्‌। (मत्ति ५:९) तिनी अरूसित व्यवहार गर्दा धीरजी र दयालु हुन्छन्‌। (कल. ३:१३) तिनी जे असल हो, त्यसलाई प्रेम गर्छन्‌ र अरूको भलाइ गर्छन्‌। (लुका ६:३५) तिनी आफ्नो कामद्वारा यहोवाप्रतिको बलियो विश्‍वास प्रकट गर्छन्‌। (याकु. २:१८) अरूले रिस उठाउँदा तिनी झगडा गर्नुको साटो कोमल व्यवहार गर्छन्‌ र प्रलोभन आउँदा आत्मसंयम देखाउँछन्‌।—१ कोरि. ९:२५, २७; ति. ३:२.

४. नयाँ व्यक्‍तित्व धारण गर्न गलाती ५:२२, २३ मा र बाइबलका अरू पदमा बताइएका सबै गुण किन विकास गर्नुपर्छ?

नयाँ व्यक्‍तित्व धारण गर्न हामीले गलाती ५:२२, २३ र बाइबलका अरू पदमा बताइएका सबै गुण विकास गर्नुपर्छ। * यी गुणहरू भनेको छुट्टाछुट्टै लगाउने लुगाहरूजस्तो होइन, बरु यी गुणहरू एकअर्कासित सम्बन्धित छन्‌। उदाहरणको लागि, तपाईँ छिमेकीलाई प्रेम गर्नुहुन्छ भने तिनीप्रति धीरजी र दयालु पनि हुनुहुनेछ। अनि कसैको साँच्चै भलाइ गर्नुमा तिनीप्रति नम्रता र आत्मसंयम देखाउनु पनि समावेश छ।

हामी कसरी नयाँ व्यक्‍तित्व धारण गर्न सक्छौँ?

येसुको जस्तै सोचाइ राख्न हामी जति प्रयास गर्छौँ, उहाँको व्यक्‍तित्व झल्काउन त्यति नै सफल हुनेछौँ (अनुच्छेद ५, ८, १०, १२, १४ हेर्नुहोस्‌)

५. “ख्रिष्टको सोचाइ” राख्नु भनेको के हो र हामीले किन येसुको जीवनी अध्ययन गर्नुपर्छ? (१ कोरिन्थी २:१६)

पहिलो कोरिन्थी २:१६ पढ्‌नुहोस्‌। नयाँ व्यक्‍तित्व धारण गर्नको लागि हामीले “ख्रिष्टको सोचाइ” राख्नुपर्छ। यसको मतलब हामीले ख्रिष्टको सोचाइ कस्तो छ भनेर बुझ्नुपर्छ र उहाँको अनुकरण गर्नुपर्छ। येसुले पवित्र शक्‍तिको फल हुबहु देखाउनुभयो। उहाँले यहोवाका गुणहरू दुरुस्तै प्रतिबिम्बित गर्नुभयो। (हिब्रू १:३) येसुको जस्तै सोचाइ राख्न हामी जति प्रयास गर्छौँ, त्यति नै उहाँले जस्तै व्यवहार गर्न र उहाँको व्यक्‍तित्व झल्काउन सक्नेछौँ।—फिलि. २:५.

६. नयाँ व्यक्‍तित्व धारण गर्ने प्रयास गर्दा कस्ता कुराहरू मनमा राख्नुपर्छ?

के हामीले येसुको उदाहरण हुबहु अनुकरण गर्न सम्भव छ? हामी यस्तो सोचौँला: ‘येसु त्रुटिरहित हुनुहुन्छ। म उहाँजस्तो कहिल्यै हुन सक्दिनँ।’ त्यस्तो लाग्छ भने यी कुराहरू याद गर्नुहोस्‌: पहिलो, हामीलाई यहोवा र येसुजस्तै हुन सक्ने गरी सृष्टि गरिएको छ। त्यसैले हामी उहाँहरूको अनुकरण गर्न सक्छौँ र केही हदसम्म भए पनि उहाँहरूजस्तै हुन सक्छौँ। (उत्प. १:२६) दोस्रो, परमेश्‍वरको पवित्र शक्‍ति ब्रह्‍माण्डमै सबैभन्दा शक्‍तिशाली छ। त्यसको मदतले हामी आफ्नै भरमा गर्न नसक्ने कुराहरू पनि गर्न सक्छौँ। तेस्रो, हामीले अहिले नै पवित्र शक्‍तिको फल हुबहु देखाएको यहोवा आस गर्नुहुन्‍न। बरु उहाँले पृथ्वीमा बाँच्ने आशा भएकाहरूलाई हजार वर्षको दौडान त्रुटिरहित हुँदै जाने समय दिनुभएको छ। (प्रका. २०:१-३) अहिले चाहिँ हामीले सक्दो प्रयास गरेको र यहोवामा भर परेको उहाँ चाहनुहुन्छ।

७. हामी अब के छलफल गर्नेछौँ?

हामी खासगरि कुन-कुन तरिकामा येसुको अनुकरण गर्न सक्छौँ? यस लेखमा पवित्र शक्‍तिको फलका चार वटा पक्ष छोटकरीमा छलफल गर्नेछौँ। येसुले ती गुणहरू देखाउनुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ, त्यो पनि विचार गर्नेछौँ। साथै हामीले नयाँ व्यक्‍तित्व कत्तिको राम्ररी धारण गर्न सकिरहेका छौँ भनेर केलाउन मदत गर्ने केही प्रश्‍न पनि विचार गर्नेछौँ।

८. येसुले कसरी प्रेम देखाउनुभयो?

यहोवाप्रतिको गहिरो प्रेमले येसुलाई यहोवा र हाम्रो लागि त्यागहरू गर्न उत्प्रेरित गऱ्‍यो। (युह. १४:३१; १५:१३) उहाँले पृथ्वीमा जीवन बिताउनुभएको तरिकाबाट मानिसहरूलाई गहिरो प्रेम गरेको देखाउनुभयो। उहाँले हरेक दिन मानिसहरूलाई प्रेम र करुणा देखाउनुभयो; उहाँले शत्रुहरूलाई समेत ती गुणहरू देखाउनुभयो। उहाँले मानिसहरूलाई प्रेम गरेको देखाउनुभएको सबैभन्दा महत्त्वपूर्ण तरिका उनीहरूलाई परमेश्‍वरको राज्यबारे सिकाएर हो। (लुका ४:४३, ४४) पापीहरूको हातबाट पीडादायी मृत्यु भोग्न समेत इच्छुक भएर उहाँले यहोवा र मानिसहरूप्रतिको आत्मत्यागी प्रेम देखाउनुभयो। यसरी उहाँले सबैको लागि अनन्त जीवनको बाटो खोलिदिनुभयो।

९. प्रेम देखाउने सन्दर्भमा हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

हामीले यहोवालाई आफ्नो जीवन समर्पण गऱ्‍यौँ र बप्तिस्मा गऱ्‍यौँ किनकि हामी उहाँलाई प्रेम गर्छौँ। त्यसैले मानिसहरूसित येसुले जस्तै व्यवहार गरेर यहोवालाई प्रेम गरेको देखाउनुपर्छ। प्रेषित युहन्‍नाले लेखे: “जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन, उसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।” (१ युह. ४:२०) हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘के म मानिसहरूलाई गहिरो प्रेम गर्छु? मानिसहरूले रूखो व्यवहार गरे पनि के म तिनीहरूप्रति करुणा देखाउँछु? के म आफ्नो समय र स्रोतसाधन मानिसहरूलाई यहोवाबारे सिकाउन प्रयोग गर्छु? धेरैजसो मानिसले मेरो प्रयासको मोल नगरे पनि वा विरोध गरे पनि के म यो काममा लागिरहन्छु? के म चेला बनाउने काममा अझ धेरै समय बिताउन नयाँ-नयाँ तरिकाहरू खोजिरहन्छु?’—एफि. ५:१५, १६.

१०. येसुले कसरी शान्ति कायम गर्नुभयो?

१० येसुले अरूसित शान्ति कायम गर्नुभयो। अरूले नराम्रो व्यवहार गर्दा उहाँले उनीहरूसित त्यस्तै व्यवहार गर्नुभएन। बरु उहाँ शान्ति कायम गर्न आफै अग्रसर हुनुभयो र अरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिनुभयो। उदाहरणको लागि, यदि यहोवाले हाम्रो उपासना स्विकारेको चाहन्छौँ भने पहिला आफ्नो भाइसित मिलाप गर्नुपर्छ भनेर येसुले सिकाउनुभयो। (मत्ति ५:९, २३, २४) चेलाहरूमाझ को सबैभन्दा ठूलो भनेर विवाद हुँदा येसुले विवाद सुल्झाउन तिनीहरूलाई बारम्बार मदत गर्नुभयो।—लुका ९:४६-४८; २२:२४-२७.

११. हामी कसरी शान्ति कायम गर्न सक्छौँ?

११ शान्ति कायम गर्नुमा अरूसित मतभेद सृजना गर्नदेखि अलग रहनु मात्र पर्याप्त छैन। शान्ति कायम गर्न हामी आफै अग्रसर हुनुपर्छ र कुनै भाइबहिनीबीच मतभिन्‍नता भयो भने शान्ति कायम गर्न प्रोत्साहन दिनुपर्छ। (फिलि. ४:२, ३; याकु. ३:१७, १८) आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘अरूसित शान्ति कायम गर्नको लागि म के गर्न तयार छु? कुनै भाइ वा बहिनीले चित्त दुखाउँदा के म मनमा रिस पालिराख्छु? कसैसित मतभिन्‍नता हुँदा तिनले गर्दा समस्या भएको जस्तो लागे पनि शान्ति कायम गर्न अग्रसर हुन्छु कि तिनले नै पहिलो कदम चालेको चाहन्छु? कुनै भाइबहिनीबीच मतभिन्‍नता हुँदा उपयुक्‍त छ भने के म तिनीहरूलाई शान्ति कायम गर्न प्रोत्साहन दिन्छु?’

१२. येसुले कसरी दयालु भएको देखाउनुभयो?

१२ येसु दयालु हुनुहुन्थ्यो। (मत्ति ११:२८-३०) गाह्रो अवस्थामा पनि येसुले कोमल व्यवहार देखाएर अनि व्यावहारिक भएर अरूप्रति दयालु हुनुभयो। उदाहरणको लागि, एउटी फोनिसियाली स्त्रीले आफ्नी छोरीलाई निको पारिदिन अनुरोध गर्दा येसुले सुरुमा त तिनको कुरा मान्‍नुभएन तर तिनले बलियो विश्‍वास देखाएकीले उहाँले दयालु भई तिनकी छोरीलाई निको पारिदिनुभयो। (मत्ति १५:२२-२८) येसु दयालु हुनुहुन्थ्यो तर उहाँ आवश्‍यक पर्दा सल्लाह दिन पछि हट्‌नुभएन। उहाँले कहिलेकाहीँ आफूले माया गरेका मानिसहरूलाई हप्काउनुभयो भनेर बाइबलमा बताइएको छ। उदाहरणको लागि, पत्रुसले येसुलाई परमेश्‍वरको इच्छाअनुसार गर्न रोक्न खोज्दा उहाँले तिनलाई अरू चेलाहरूको अगाडि नै हप्काउनुभयो। (मर्कु. ८:३२, ३३) उहाँले पत्रुसलाई होच्याउन त्यसो गर्नुभएको थिएन, बरु तिनलाई तालिम दिन र अरू चेलाहरूलाई घमन्डी नहुनको लागि चेतावनी दिन त्यसो गर्नुभयो। हुनत पत्रुसलाई लाज लागेको हुनुपर्छ तर तिनले त्यसबाट पक्कै लाभ उठाए।

१३. हामी अरूलाई कसरी साँच्चै दया देखाउन सक्छौँ?

१३ हामीले माया गर्ने व्यक्‍तिहरूलाई साँच्चै दया देखाउनु भनेको कहिलेकाहीँ तिनीहरूलाई सल्लाह दिनु पनि हो। हामी येसुले जस्तै बाइबलको सिद्धान्तमा आधारित सल्लाह दिन्छौँ। हामी तिनीहरूसित कोमल व्यवहार गर्छौँ। तिनीहरूले जे सही छ, त्यो गर्नेछन्‌ भन्‍ने कुरामा भरोसा गर्छौँ अनि तिनीहरू यहोवा र हामीलाई माया गर्छन्‌ भने सल्लाह स्विकार्नेछन्‌ भनेर पनि विश्‍वास गर्छौँ। आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘कसैले गलत काम गरेको देख्यौँ भने के हामी तिनलाई सल्लाह दिन साहस देखाउँछौँ? सल्लाह दिँदा म दयालु भई बोल्छु कि रुखो तरिकामा बोल्छु? म कुन मनसायले सल्लाह दिन्छु? त्यस व्यक्‍तिको व्यवहारले गर्दा दिक्क लागेकोले कि तिनलाई साँच्चै मदत गर्न चाहेकोले?’

१४. येसुले कसरी अरूको भलाइ गर्नुभयो?

१४ येसुलाई असल काम के हो भनेर थाह हुनुका साथै उहाँ त्यसो गर्नु पनि हुन्छ। उहाँ आफ्नो बुबा यहोवालाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँ सही काम सही मनसायले गर्नुहुन्छ। अरूलाई भलाइ गर्ने मानिसले सधैँ अरूको फाइदा हुने काम गर्छ र अरूलाई मदत गर्न सधैँ तयार रहन्छ। त्यसैले सही काम के हो भनेर थाह हुनु मात्र पर्याप्त छैन तर सही मनसायले सही काम गर्नुपर्छ। कसैले सोध्लान्‌, ‘के गलत मनसायले सही काम गर्न सकिन्छ र?’ हो, सकिन्छ। उदाहरणको लागि, येसुले दानपुण्य गर्ने मानिसहरूबारे बताउनुभयो, जो आफ्नो काम अरूले देखेको र प्रशंसा गरेको चाहन्थे। हुनत ती असल काम नै थिए तर यहोवा तिनीहरूसित खुसी हुनुभएन।—मत्ति ६:१-४.

१५. हामी कसरी साँच्चै भलाइ गर्न सक्छौँ?

१५ निःस्वार्थ भई सही काम गऱ्‍यौँ भने मात्र साँच्चै भलाइ गरिरहेका हुन्छौँ। त्यसैले तपाईँ आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘के मलाई सही काम के हो भनेर थाह छ अनि के म त्यसैअनुसार गर्छु? म कुन मनसायले असल काम गर्छु?’

हामी कसरी नयाँ व्यक्‍तित्वलाई जोगाइराख्न सक्छौँ?

१६. हामीले हरेक दिन के गर्नुपर्छ र किन?

१६ बप्तिस्मा गर्दैमा हामीले नयाँ व्यक्‍तित्व पूरै धारण गरिसक्यौँ र अब केही गर्नु पर्दैन भन्‍न मिल्दैन। नयाँ व्यक्‍तित्व भनेको नयाँ लुगाजस्तै हो। नयाँ लुगालाई जस्तै हामीले नयाँ व्यक्‍तित्वलाई पनि जोगाइराख्नुपर्छ। त्यसको लागि हामीले गर्न सक्ने एउटा कुरा भनेको हरेक दिन पवित्र शक्‍तिको फल प्रकट गर्ने मौकाहरू खोज्नु हो। किनभने यहोवा परमेश्‍वर सक्रिय हुनुहुन्छ र उहाँको पवित्र शक्‍ति पनि सक्रिय शक्‍ति नै हो। (उत्प. १:२) पवित्र शक्‍तिको फलका विभिन्‍न पक्षले हामीलाई कदम चाल्न उत्प्रेरित गर्न सक्छ र त्यसो गर्नु पनि पर्छ। उदाहरणको लागि, चेला याकुबले लेखे: “कामविनाको विश्‍वास . . . मरेको हुन्छ।” (याकु. २:२६) त्यही कुरा पवित्र शक्‍तिको फलका अन्य पक्षहरूमा पनि लागू हुन्छ। हामीले हरेक पटक ती देखाउँदा यहोवाको शक्‍तिले हामीमा काम गरिरहेको छ भन्‍ने कुराको प्रमाण दिइरहेका हुन्छौँ।

१७. पवित्र शक्‍तिको फल देखाउन चुक्दा हामीले के गर्नुपर्छ?

१७ बप्तिस्मा गरेको धेरै वर्ष भइसकेका ख्रिष्टियनहरू पनि कहिलेकाहीँ पवित्र शक्‍तिको फल प्रकट गर्न चुक्छन्‌। तर महत्त्वपूर्ण कुरा भनेको त्यसो हुँदा हामीले हार मान्‍नु हुँदैन। एउटा उदाहरण विचार गर्नुहोस्‌। तपाईँलाई मन पर्ने लुगा फाट्यो भने तपाईँ त्यो तुरुन्तै फाल्नुहुन्‍न। बरु मिल्छ भने त्यसलाई सिलाउनुहुन्छ र त्यसलाई जतन गरेर लगाउनुहुन्छ। त्यसरी नै तपाईँ कसैप्रति दयालु, धीरजी वा मायालु हुन चुक्नुभयो भने निरुत्साहित नहुनुहोस्‌। बरु मनैदेखि क्षमा माग्नुभयो भने त्यस व्यक्‍तिसित तपाईँको सम्बन्ध फेरि राम्रो हुन सक्छ र भविष्यमा फेरि त्यसो नगर्न सङ्‌कल्प गर्नुहोस्‌।

१८. तपाईँ कुन कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ?

१८ येसुले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभएकोमा हामी साँच्चै कृतज्ञ छौँ। हामीले उहाँको जस्तै सोचाइ र मनोभाव विकास गऱ्‍यौँ भने उहाँले जस्तै कदम चाल्न हामीलाई सजिलो हुनेछ। हामी उहाँजस्तै हुन जति प्रयास गर्छौँ, हामीलाई नयाँ व्यक्‍तित्व धारण गर्न त्यति नै सजिलो हुनेछ। यस लेखमा हामीले पवित्र शक्‍तिको फलका चार वटा पक्षबारे मात्र विचार गऱ्‍यौँ। त्यसैले पवित्र शक्‍तिको फलका अरू पक्षहरूबारे विचार गर्न र तपाईँले ती गुणहरू कत्तिको राम्ररी देखाइरहनुभएको छ भनेर केलाउन समय निकाल्नुभए कसो होला? तपाईँले यस्ता लेखहरूको सूची यहोवाका साक्षीहरूको अनुसन्धान सहयोगी-को “ख्रिष्टियन जीवन” विषयअन्तर्गत “पवित्र शक्‍तिको फल”-मा पाउन सक्नुहुन्छ। यदि तपाईँले नयाँ व्यक्‍तित्व धारण गर्न र त्यसलाई नफुकाल्न प्रयास गर्नुभयो भने यहोवाले तपाईँलाई पक्कै पनि मदत गर्नुहुनेछ।

गीत १२७ म कस्तो मानिस बनूँ?

^ जस्तोसुकै पृष्ठभूमिबाट आएको भए पनि हामी “नयाँ व्यक्‍तित्व” धारण गर्न सक्छौँ। त्यसको लागि हाम्रो सोच्ने तरिका परिवर्तन गरिरहनुपर्छ र येसुजस्तै बन्‍न प्रयास गरिरहनुपर्छ। यस लेखमा हामी येसुको सोचाइ र काम झल्किने केही उदाहरणबारे विचार गर्नेछौँ। साथै बप्तिस्मापछि पनि हामी कसरी उहाँको अनुकरण गरिरहन सक्छौँ, त्यसबारे बुझ्नेछौँ।

^ गलाती ५:२२, २३ मा पवित्र शक्‍तिले फलाउन मदत गर्ने सबै गुण उल्लेख गरिएको छैन। यसबारे बुझ्न जून २०२० अङ्‌कको प्रहरीधरहरा-को “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।