सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १३

साँचो उपासनाले तपाईँको आनन्द बढाउँछ

साँचो उपासनाले तपाईँको आनन्द बढाउँछ

“हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँ महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ।”—प्रका. ४:११.

गीत ३१ परमेश्‍वरसित हिँडौँ!

परिचय *

१-२. यहोवा कस्तो उपासना स्विकार्नुहुन्छ?

 उपासना शब्द सुन्‍नेबित्तिकै तपाईँको मनमा कस्तो दृश्‍य आउँछ? सायद तपाईँको मनमा राती सुत्नुअघि घुँडा टेकेर व्यग्र प्रार्थना गरिरहेको एक जना भाइको चित्र आउँछ होला। अथवा रमाउँदै पारिवारिक उपासना गरिरहेको एउटा परिवारको चित्र पो आउँछ कि?

यी दुवै वास्तवमा उपासना गरिरहेको दृश्‍य नै हुन्‌। के यहोवाले तिनीहरूको उपासना स्विकार्नुहुन्छ? यदि त्यो उहाँको उद्देश्‍यअनुसार छ अनि त्यसमा प्रेम र आदर झल्किएको छ भने पक्कै पनि उहाँले तिनीहरूको उपासना स्विकार्नुहुन्छ। हामी यहोवालाई असाध्यै प्रेम गर्छौँ अनि उहाँ हाम्रो उपासनाको योग्य हुनुहुन्छ भन्‍ने कुरा पनि हामीलाई थाह छ। त्यसैले हामी सक्दो राम्रो तरिकामा उहाँको उपासना गर्न चाहन्छौँ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यस लेखमा हामी यहोवाले पुरातन समयमा कस्तो किसिमको उपासना स्विकार्नुभएको थियो भनेर छलफल गर्नेछौँ। साथै अहिले हाम्रो समयमा पनि उहाँले स्विकार्नुहुने उपासनाको आठ वटा विभिन्‍न पक्ष छलफल गर्नेछौँ। छलफल गर्दै जाँदा व्यक्‍तिगत रूपमा कसरी अझ राम्रोसँग यहोवाको उपासना गर्न सक्छु भनेर सोच्न सक्छौँ। साँचो उपासनाले हामीलाई आनन्दित बनाउने कारणहरू पनि यस लेखमा छलफल गर्नेछौँ।

पुरातन समयमा यहोवाले स्विकार्नुभएको उपासना

४. पुरातन समयमा यहोवाका सेवकहरूले कसरी उहाँलाई आदर र प्रेम गरेको देखाए?

पुरातन समयमा हाबिल, नुह, अब्राहाम र अय्युबजस्ता वफादार पुरुषहरूले यहोवालाई आदर र प्रेम गरेको देखाए। कसरी? उहाँप्रति आज्ञाकारी भएर, उहाँमा विश्‍वास गरेर अनि भेटीहरू चढाएर। तिनीहरूले उहाँलाई कसरी उपासना गर्थे भन्‍ने सन्दर्भमा बाइबलमा एक-एक कुरा बताइएको छैन। तर तिनीहरूले यहोवाको आदर गर्न सक्दो गरे अनि उहाँले तिनीहरूको उपासना स्विकार्नुभयो। पछि यहोवाले अब्राहामको सन्तानलाई मोसाको व्यवस्था दिनुभयो। त्यस व्यवस्थामा यहोवा कसरी उहाँको उपासना गरिएको चाहनुहुन्छ भन्‍ने विषयमा स्पष्ट निर्देशनहरू दिइएको थियो।

५. येसुका चेलाहरूले यहोवाको उपासना कसरी गर्नुपर्थ्यो?

येसुको मृत्यु भएर उहाँ फेरि जीवित हुनुभएपछि चेलाहरूले मोसाको व्यवस्था पालन गर्नुपर्ने थिएन। (रोमी १०:४) बरु तिनीहरूले नयाँ व्यवस्था अर्थात्‌ “ख्रिष्टको व्यवस्था” पालन गर्नुपर्ने थियो। (गला. ६:२) तिनीहरू तीनथुप्रो नियम कण्ठ पारेर त्यसअनुसार चल्नुपर्ने थिएन। बरु तिनीहरूले येसुको उदाहरण अनुकरण गरेर अनि उहाँको शिक्षाअनुसार चलेर यो “व्यवस्था” पालन गर्नुपर्थ्यो। आज पनि ख्रिष्टियनहरू येसुको अनुकरण गर्न सक्दो कोसिस गरेर यहोवालाई खुसी बनाउँछन्‌ र आफूले पनि “स्फूर्ति” पाउँछन्‌।—मत्ति ११:२९.

६. यस लेखबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

उपासनाको प्रत्येक पक्ष छलफल गर्दै जाँदा आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘मैले के-कस्तो उन्‍नति गरिसकेको छु?’ तपाईँ आफैलाई यस्तो प्रश्‍न पनि सोध्न सक्नुहुन्छ: ‘म कसरी अझ राम्रो तरिकामा यहोवाको उपासना गर्न सक्छु?’ तपाईँले अहिले यहोवाको उपासना गर्न जे-जति गर्दै हुनुहुन्छ, त्यसमा खुसी हुनुहोस्‌। तर तपाईँले अझै पनि उन्‍नति गर्नुपर्ने पक्षहरू छन्‌ कि भनेर थाह पाउन प्रार्थनामा यहोवाको मदत माग्नुहोस्‌।

हाम्रो उपासनामा के-के समावेश छ?

७. हामीले मनैदेखि गरेको प्रार्थना यहोवालाई कस्तो लाग्छ?

यहोवालाई प्रार्थना गरेर हामी उहाँको उपासना गर्छौँ। बाइबलमा हाम्रो प्रार्थनालाई राम्रोसित तयार पारिएको धूपसित तुलना गरिएको छ, जुन धूप वासस्थानमा र मन्दिरमा चढाइन्थ्यो। (भज. १४१:२) त्यस धूपबाट आउने मीठो बास्ना यहोवालाई मन पर्थ्यो। त्यसैगरि हामीले मनैदेखि गरेको प्रार्थना उहाँ “मन पराउनुहुन्छ”, चाहे हामीले जतिसुकै सरल शब्द प्रयोग गरिरहेका किन नहोऔँ। (हितो. १५:८; व्यव. ३३:१०) हामीले यहोवालाई आफ्नो प्रेम र धन्यवाद व्यक्‍त गरेको सुन्‍न पाउँदा उहाँलाई खुसी लाग्छ। हामीले उहाँलाई आफ्ना चिन्ता, आशा र चाहनाहरू बताएको चाहनुहुन्छ। यहोवालाई प्रार्थना गर्नुभन्दा अगाडि के-के भन्‍ने भनेर विचार गरे कसो होला? यसो गर्दा तपाईँले स्वर्गमा बस्नुहुने मायालु बुबालाई एकदमै मीठो बास्ना भएको “धूप” चढाइरहनुभएको हुनेछ।

८. हामीसित यहोवाको प्रशंसा गर्ने कस्तो मौका छ?

यहोवाको प्रशंसा गरेर हामी उहाँको उपासना गर्छौँ। (भज. ३४:१) यहोवाका मनमोहक गुणहरू र आश्‍चर्यजनक कामहरू अरूलाई बताएर हामी उहाँको प्रशंसा गर्छौँ। यदि हामी यहोवाप्रति कृतज्ञ छौँ भने मनैदेखि उहाँको प्रशंसा गर्न सक्छौँ। उहाँले हाम्रो लागि गर्नुभएका असल कामहरूमा मनन गर्न समय निकाल्यौँ भने उहाँको प्रशंसा गर्ने थुप्रै कारण पाउँछौँ। साक्षीकार्यमा भाग लिँदा परमेश्‍वरलाई “प्रशंसाको बलिदान अर्थात्‌ ओठको फल” चढाउने मौका पाउँछौँ। (हिब्रू १३:१५) यहोवालाई प्रार्थना गर्नुभन्दा अगाडि के भन्‍ने भनेर राम्ररी विचार गरेजस्तै साक्षीकार्यमा मानिसहरूसित के-कस्तो विषयमा कुराकानी गर्ने भनेर पहिल्यै विचार गर्नुपर्छ। हामी आफ्नो तर्फबाट यथासक्दो राम्रो तरिकामा “प्रशंसाको बलिदान” चढाउन चाहन्छौँ। त्यसैले मानिसहरूलाई बाइबलको सत्य बताउँदा मनैदेखि बताउँछौँ।

९. सभामा उपस्थित हुँदा पुरातन इस्राएलीहरूले जस्तै हामीले कस्तो लाभ उठाउन सक्छौँ?

सभामा उपस्थित भएर हामी यहोवाको उपासना गर्छौँ। पुरातन इस्राएलीहरूलाई यसो भनिएको थियो: “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्‌।” (व्यव. १६:१६) ती इस्राएलीहरू यहोवाको उपासना गर्न जाँदा तिनीहरूको घर र खेतको सुरक्षा गर्ने कोही पनि हुँदैनथे। तर यहोवाले तिनीहरूलाई यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “यहोवा परमेश्‍वरसामु हाजिर हुन जाँदा कसैले पनि तिमीहरूको जग्गाजमिन हडप्नेछैन।” (प्रस्थ. ३४:२४) त्यसैले यहोवामा पूरा भरोसा राख्दै तिनीहरू हरेक वर्ष चाडहरू मनाउन जान्थे। यसो गर्दा तिनीहरूले थुप्रै इनाम पाए; तिनीहरूले परमेश्‍वरको व्यवस्था अझ राम्रोसित बुझ्न सक्थे, उहाँले गर्नुभएका असल कामहरूमा मनन गर्न सक्थे अनि सङ्‌गी इस्राएलीहरूसित सङ्‌गत गरेर आनन्द उठाउन सक्थे। (व्यव. १६:१५) ख्रिष्टियन सभाहरूमा उपस्थित हुन त्यागहरू गर्दा हामीले पनि त्यस्तै आशिष्‌हरू पाउँछौँ। सभामा हामीले छोटो अनि अर्थपूर्ण टिप्पणीहरू दिँदा यहोवालाई कत्ति खुसी लाग्छ!

१०. गीत गाउनु किन हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो?

१० प्रशंसाको गीत गाएर हामी यहोवाको उपासना गर्छौँ। (भज. २८:७) इस्राएलीहरूको लागि गीत गाउनु उपासनाको महत्त्वपूर्ण भाग थियो। राजा दाउदले मन्दिरमा गीत गाउन २८८ जना लेवीलाई नियुक्‍त गरे। (१ इति. २५:१, ६-८) आज हामी पनि प्रशंसाको गीत गाएर यहोवाप्रतिको प्रेम व्यक्‍त गर्न सक्छौँ। हाम्रो स्वर कस्तो छ, त्यो महत्त्वपूर्ण कुरा होइन। यो कुरा विचार गरौँ: बोल्दा “हामी सबै जना धेरै चोटि चुक्छौँ” तर यसले हामीलाई मण्डलीमा वा साक्षीकार्यमा बोल्नदेखि कदापि रोक्दैन। (याकु. ३:२) त्यसैगरि हामीलाई आफ्नो स्वर राम्रो छैन जस्तो लागे तापनि यहोवाको प्रशंसा गर्ने गीत गाउनदेखि पछि हट्‌नु हुँदैन।

११. भजन ४८:१३ मा बताइएझैँ हामीले किन परिवारै मिलेर अध्ययन गर्न समय निकाल्नुपर्छ?

११ यहोवाको वचन पढेर अनि उहाँबारे छोराछोरीलाई सिकाएर हामी यहोवाको उपासना गर्छौँ। विश्रामदिनमा इस्राएलीहरू काम गर्दैनथे बरु त्यो दिन तिनीहरू यहोवासितको आफ्नो मित्रता बलियो बनाउने गतिविधिहरूमा भाग लिन्थे। (प्रस्थ. ३१:१६, १७) वफादार इस्राएलीहरूले आफ्ना छोराछोरीलाई यहोवाबारे अनि उहाँले गर्नुभएका असल कामहरूबारे सिकाउँथे। आज हामीले पनि परमेश्‍वरको वचन पढ्‌न र अध्ययन गर्न समय निकाल्नुपर्छ। यो हाम्रो उपासनाको भाग हो र यसले हामीलाई यहोवासित नजिक हुन मदत गर्छ। (भज. ७३:२८) परिवारै मिलेर अध्ययन गर्दा हाम्रो भावी पुस्ता अर्थात्‌ छोराछोरीलाई स्वर्गमा बस्नुहुने मायालु बुबासित घनिष्ठ सम्बन्ध विकास गर्न मदत गरिरहेका हुन्छौँ।भजन ४८:१३ पढ्‌नुहोस्‌।

१२. वासस्थानको सरसामान बनाउने कामलाई यहोवाले कस्तो ठान्‍नुभयो? यसबाट हामी के सिक्न सक्छौँ?

१२ उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने काममा भाग लिएर हामी यहोवाको उपासना गर्छौँ। बाइबलमा वासस्थान र त्यसको सरसामान बनाउने कामलाई “पवित्र काम” भनिएको छ। (प्रस्थ. ३६:१, ४) आज पनि यहोवा सभाभवन र उहाँको उपासनामा प्रयोग गरिने अन्य भवन निर्माण गर्ने कामलाई पवित्र काम ठान्‍नुहुन्छ। केही भाइबहिनी धेरैभन्दा धेरै समय यी कामहरूमा बिताउँछन्‌। ती भाइबहिनीले गरिरहेको प्रयासको के हामी कदर गर्दैनौँ र? तिनीहरू साक्षीकार्यमा पनि भाग लिन्छन्‌। सायद तिनीहरूमध्ये कोही-कोही अग्रगामी सेवा पनि गर्न चाहन्छन्‌। मण्डलीका एल्डरहरूले ती मेहनती भाइबहिनी योग्य छन्‌ भने अग्रगामीको रूपमा नियुक्‍त गर्न हिचकिचाउँदैनन्‌। यसरी एल्डरहरूले निर्माणकार्यमा साथ दिएको देखाउन सक्छन्‌। निर्माणकार्यमा हामी सिपालु होऔँ या नहोऔँ, भवनहरू सफा र चिटिक्क राख्न हामी सबैले योगदान दिन सक्छौँ।

१३. राज्य गतिविधिको लागि अनुदान दिने कुरालाई हामीले कस्तो ठान्‍नुपर्छ?

१३ राज्य गतिविधिलाई सघाउन अनुदान दिएर हामी यहोवाको उपासना गर्छौँ। इस्राएलीहरू चाडपर्व मनाउन जाँदा खाली हात जानु हुँदैनथ्यो। (व्यव. १६:१६) तिनीहरूले आफ्नो औकातअनुसार भेटी चढाउनुपर्थ्यो। यसरी यहोवाले तिनीहरूको लागि गर्नुभएको हरेक कुराको लागि कृतज्ञ भएको देखाउन सक्थे। आज हामी पनि यहोवालाई प्रेम गरेको अनि आफूले पाएको आध्यात्मिक कुराहरूको लागि कृतज्ञ भएको कसरी देखाउन सक्छौँ? एउटा तरिका भनेको स्थानीय मण्डली र विश्‍वव्यापी कार्यको लागि आफ्नो औकातअनुसार अनुदान दिएर हो। प्रेषित पावलले यसो भने: “यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ, नभएको कुरा होइन।” (२ कोरि. ८:४, १२) हामीले दिने अनुदान जति नै थोरै भए पनि मनैदेखि दिएका छौँ भने यहोवा त्यसको कदर गर्नुहुन्छ।—मर्कु. १२:४२-४४; २ कोरि. ९:७.

१४. हितोपदेश १९:१७ अनुसार खाँचोमा परेका भाइबहिनीलाई मदत गर्दा यहोवा त्यसलाई कस्तो ठान्‍नुहुन्छ?

१४ खाँचोमा परेका भाइबहिनीलाई मदत गरेर हामी यहोवाको उपासना गर्छौँ। यहोवाले गरिबहरूलाई दया देखाउने इस्राएलीहरूलाई इनाम दिने प्रतिज्ञा गर्नुभयो। (व्यव. १५:७, १०) हामीले खाँचोमा परेका भाइबहिनीलाई हरेक पटक मदत गर्दा यहोवा आफूलाई नै उपहार दिएको ठान्‍नुहुन्छ। (हितोपदेश १९:१७ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, झ्यालखानामा परेका पावलले फिलिप्पिका ख्रिष्टियनहरूले पठाएको उपहार पाउँदा तिनले त्यो “परमेश्‍वरको लागि ग्रहणयोग्य . . . बलिदान हो, जसले उहाँलाई असाध्यै खुसी बनाउँछ” भनेर बताए। (फिलि. ४:१८) एकछिन तपाईँको मण्डलीका भाइबहिनीबारे सोच्नुहोस्‌ र आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌, ‘मैले मदत गर्न सक्ने कोही भाइबहिनी छन्‌ कि?’ हामीले आफ्नो समय, शक्‍ति, सीप र भौतिक कुराहरू खाँचोमा परेका भाइबहिनीलाई मदत गर्न प्रयोग गरेको देख्दा यहोवा खुसी हुनुहुन्छ। उहाँ त्यसलाई उपासनाको भाग ठान्‍नुहुन्छ।—याकु. १:२७.

साँचो उपासनाले हामीलाई आनन्दित बनाउँछ

१५. साँचो उपासनाको लागि धेरै समय र शक्‍ति खर्च गर्नुपरे तापनि त्यो किन बोझिलो छैन?

१५ साँचो उपासनाको लागि हामीले धेरै समय र शक्‍ति खर्च गर्नुपर्ने हुन्छ तर त्यो बोझिलो छैन। (१ युह. ५:३) किन? किनकि हामी प्रेमले उत्प्रेरित भएर यहोवाको उपासना गर्छौँ। कल्पना गर्नुहोस्‌, एक जना बच्चा आफ्नो बुबालाई केही उपहार दिन चाहन्छ। उसले घण्टौँ लगाएर एउटा चित्र बनाउँछ। तर बेकारमा यत्रो समय खेर फालेँ जस्तो उसलाई लाग्दैन। किनकि ऊ बुबालाई धेरै माया गर्छ अनि त्यो उपहार दिन पाउँदा खुसी हुन्छ। त्यसैगरि साँचो उपासनाको लागि आफ्नो समय र शक्‍ति खर्च गर्न पाउँदा हामी पनि निकै खुसी हुन्छौँ किनकि हामी यहोवालाई प्रेम गर्छौँ।

१६. हिब्रू ६:१० अनुसार यहोवालाई खुसी पार्न हामी प्रत्येकले गरेको प्रयासलाई उहाँ कसरी हेर्नुहुन्छ?

१६ मायालु आमाबुबा आफ्ना सबै छोराछोरीबाट एउटै किसिमको उपहारको आशा गर्दैनन्‌। ती आमाबुबाले सबै छोराछोरीको क्षमता र अवस्था एउटै हुँदैन भनेर राम्ररी बुझ्छन्‌। त्यसैगरि स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाले हामी प्रत्येकको अवस्था राम्ररी बुझ्नुहुन्छ। सायद कसै-कसैले यहोवाको सेवामा अरूले भन्दा धेरै गर्न सक्छन्‌ होला। तर तपाईँहरूमध्ये कसै-कसैले ढल्कँदो उमेर, स्वास्थ्य समस्या वा पारिवारिक जिम्मेवारीले गर्दा अरूले जति गर्न सक्नुहुन्‍न होला। तर निराश नहुनुहोस्‌। (गला. ६:४) यहोवाले तपाईँको काम कहिल्यै बिर्सनुहुन्‍न। तपाईँले असल मनसायले आफ्नो तर्फबाट सक्दो गरेको देख्दा यहोवालाई खुसी लाग्छ। (हिब्रू ६:१० पढ्‌नुहोस्‌।) यहोवाको सेवामा अझ धेरै गर्ने तपाईँको चाहना उहाँ राम्ररी बुझ्नुहुन्छ। उहाँको उपासनाको लागि तपाईँ जे-जति गर्न सक्नुहुन्छ, त्यसमा सन्तुष्ट र खुसी भएको उहाँ चाहनुहुन्छ।

१७. (क) उपासनाको केही पक्षमा भाग लिन गाह्रो भइरहेको छ भने हामी के गर्न सक्छौँ? (ख) “ आफ्नो आनन्द बढाउनुहोस्‌” पेटीमा दिइएको कुनै पक्षबाट तपाईँले कस्तो लाभ उठाउनुभएको छ?

१७ उपासनाको केही पक्ष, जस्तै: व्यक्‍तिगत अध्ययन वा साक्षीकार्यमा भाग लिन गाह्रो भइरहेको छ भने हामी के गर्न सक्छौँ? हामी यी गतिविधिहरूमा जति धेरै भाग लिन्छौँ, यसबाट त्यति नै धेरै आनन्द र लाभ उठाउन सक्छौँ। हामी आफ्नो उपासनालाई व्यायाम गर्ने वा कुनै बाजा बजाउन अभ्यास गर्ने कामसित तुलना गर्न सक्छौँ। यदि हामी कहिलेकाहीँ मात्र यसो गर्छौँ भने हामीलाई उन्‍नति गर्न गाह्रो हुन्छ। तर हामीले यसलाई दैनिक जीवनको भाग बनायौँ भने नि? सुरुमा त हामी हरेक दिन थोरै समय निकाल्न सक्छौँ अनि बिस्तारै समय बढाउँदै लैजान सक्छौँ। हामीले गरेको मेहनतको फल देख्दा हामीलाई खुसी लाग्छ र अझै गरौँ-गरौँ जस्तो लाग्छ। उपासनाको सन्दर्भमा पनि हामी यही तरिका अपनाउन सक्छौँ।

१८. हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? त्यसो गर्दा नतिजा कस्तो हुन्छ?

१८ हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सारा हृदयले यहोवाको उपासना गर्नु हो। यसो गर्दा हामी आनन्दित हुन र अर्थपूर्ण जीवन बिताउन सक्छौँ। साथै हामीले भविष्यमा सधैँभरि यहोवाको उपासना गर्ने आशा पनि पाएका छौँ। (हितो. १०:२२) हामीले अहिले पनि मनोशान्ति पाएका छौँ किनकि यहोवाले आफ्ना उपासकहरूलाई समस्या आइपर्दा मदत गर्नुहुन्छ भनेर हामीलाई थाह छ। (यसै. ४१:९, १०) स्वर्गमा बस्नुहुने मायालु बुबा सारा सृष्टिको ‘महिमा र आदर ग्रहण गर्न योग्य’ हुनुहुन्छ। (प्रका. ४:११) त्यसैले उहाँको उपासना गर्दा आनन्दित हुने थुप्रै राम्रा कारण हामीसित छन्‌।

गीत २४ आऊ न यहोवाको पर्वतमा

^ यहोवा सबै कुराको सृष्टिकर्ता हुनुभएकोले हामीले उहाँको उपासना गर्नुपर्छ। यहोवाको आज्ञा पालन गर्छौँ र उहाँको स्तरअनुसार जीवन बिताउँछौँ भने उहाँको उपासनाको लागि हामीले गर्ने सबै कुरा उहाँले स्विकार्नुहुन्छ। यस लेखमा उपासनाका आठ वटा विभिन्‍न पक्ष छलफल गर्नेछौँ। हामी यी पक्षहरूमा कसरी उन्‍नति गर्न सक्छौँ र यसले हामीलाई आफ्नो आनन्द बढाउन कसरी मदत गर्नेछ भनेर पनि छलफल गर्नेछौँ।