सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १४

एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌

एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌

“मेरो अनुकरण गर।”—१ कोरि. ११:१.

गीत ९९ लाखौँ-हजारौँ भाइबहिनी

परिचय *

१-२. प्रेषित पावलको उदाहरणले आज एल्डरहरूलाई कसरी मदत गर्छ?

 प्रेषित पावल आफ्ना भाइबहिनीलाई माया गर्थे र उनीहरूको खातिर निकै परिश्रम गर्थे। (प्रेषि. २०:३१) भाइबहिनी पनि तिनलाई असाध्यै माया गर्थे। एकचोटि एफिससका एल्डरहरूले अब पावलसित कहिल्यै भेट हुँदैन भन्‍ने कुरा थाह पाएपछि “उनीहरूमाझ निकै रुवाबासी भयो।” (प्रेषि. २०:३७) आज पनि एल्डरहरू भाइबहिनीलाई असाध्यै माया गर्छन्‌ र उनीहरूलाई मदत गर्न सक्दो प्रयास गर्छन्‌। (फिलि. २:१६, १७) तर एल्डरहरूले पनि केही चुनौतीको सामना गर्नुपर्छ। ती चुनौतीहरूको सामना गर्न एल्डरहरूलाई केले मदत गर्छ?

मेहनती एल्डरहरूले पावलको उदाहरण विचार गर्न सक्छन्‌। (१ कोरि. ११:१) पावल स्वर्गदूतहरूजस्तो असाधारण क्षमता भएका मानिस थिएनन्‌। बरु तिनी त्रुटिपूर्ण थिए र सही काम गर्न कहिलेकाहीँ निकै सङ्‌घर्ष गर्नुपरेको थियो। (रोमी ७:१८-२०) यसबाहेक तिनले विभिन्‍न समस्या पनि झेल्नुपरेको थियो तर तिनले कहिल्यै हार मानेनन्‌ र आनन्द पनि गुमाएनन्‌। आज पनि एल्डरहरूले पावलको अनुकरण गर्दै विभिन्‍न चुनौती पार गर्न सक्छन्‌ अनि यहोवाको सेवामा आफ्नो आनन्द कायम राख्न सक्छन्‌। तिनीहरूले कसरी त्यसो गर्न सक्छन्‌?

३. यस लेखमा हामी के-के छलफल गर्नेछौँ?

यस लेखमा एल्डरहरूले अक्सर सामना गर्नुपर्ने चार वटा चुनौतीबारे छलफल गर्नेछौँ। ती हुन्‌: (१) साक्षीकार्य र अरू जिम्मेवारीबीच सन्तुलन कायम गर्ने, (२) मायालु गोठालो बन्‍ने, (३) व्यक्‍तिगत कमीकमजोरीसित जुझ्ने र (४) अरूको कमीकमजोरीमा बढ्‌तै ध्यान नदिने। पावलले यी चुनौतीहरू कसरी पार गरे र एल्डरहरूले कसरी तिनको अनुकरण गर्न सक्छन्‌, अब हामी छलफल गर्नेछौँ।

साक्षीकार्य र अरू जिम्मेवारीबीच सन्तुलन कायम गर्ने

४. एल्डरहरूलाई साक्षीकार्यमा नेतृत्व लिन कहिलेकाहीँ किन चुनौतीपूर्ण हुन सक्छ?

यसो गर्नु किन चुनौतीपूर्ण हुन सक्छ? एल्डरहरूले साक्षीकार्यमा नेतृत्व लिनेबाहेक अरू थुप्रै जिम्मेवारी पनि पूरा गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, तिनीहरूले पालैपालो मध्यहप्ताको सभा र मण्डली बाइबल अध्ययन सञ्चालन गर्नुपर्ने हुन्छ। साथै तिनीहरूले भाषणहरू पनि दिनुपर्ने हुन्छ। यसबाहेक तिनीहरू सहायक सेवकहरूलाई तालिम दिन्छन्‌ र भाइबहिनीलाई प्रोत्साहन दिने काममा पनि निकै व्यस्त रहन्छन्‌। (१ पत्रु. ५:२) केही एल्डर भने सभाभवन र यहोवाको उपासनाको लागि प्रयोग गरिने अन्य भवनहरू निर्माण गर्ने र मर्मतसम्भार गर्ने काममा भाग लिन्छन्‌। तैपनि मण्डलीका सबै भाइबहिनीको जस्तै एल्डरहरूको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भनेको सुसमाचार सुनाउनु नै हो।—मत्ति २८:१९, २०.

५. सुसमाचार सुनाउने सन्दर्भमा पावलले कस्तो उदाहरण बसाले?

पावलको उदाहरण। पावलको सफलताको राज के थियो भन्‍ने कुरा फिलिप्पी १:१० बाट हामी थाह पाउन सक्छौँ। तिनले लेखे: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।” पावलले यो सल्लाह आफैले पनि लागू गरे। तिनले सुसमाचार सुनाउने महत्त्वपूर्ण जिम्मेवारी पाएका थिए र दशकौँसम्म यो काम गरिरहे। तिनले “जनसमक्ष र घरघरमा” सुसमाचार सुनाए। (प्रेषि. २०:२०) तिनले दिनको कुनै समय वा हप्ताको कुनै एक दिन मात्रै प्रचार गर्न छुट्ट्याएका थिएनन्‌। बरु तिनले सुसमाचार सुनाउने हरेक मौकाको सदुपयोग गरे। जस्तै, एथेन्समा आफ्ना सहयात्रीहरूलाई कुरिरहेको बेला तिनले त्यहाँका गण्यमान्य व्यक्‍तिहरूलाई सुसमाचार सुनाए र नतिजा राम्रो भयो। (प्रेषि. १७:१६, १७, ३४) तिनले “कैदमा परेको” बेला पनि आफूले भेट्‌ने मानिसहरूलाई सुसमाचार सुनाए।—फिलि. १:१३, १४; प्रेषि. २८:१६-२४.

६. पावलले अरूलाई के गर्न तालिम दिए?

पावलले समयको पूर्ण सदुपयोग गरे। तिनले अरूलाई पनि साक्षीकार्यमा सँगै भाग लिन निम्तो दिए। जस्तै, तिनले पहिलो मिसनरी यात्रामा मर्कुस भनिने युहन्‍नालाई र दोस्रो मिसनरी यात्रामा तिमोथिलाई सँगै लगे। (प्रेषि. १२:२५; १६:१-४) पावलले ती पुरुषहरूलाई मण्डलीलाई सुव्यवस्थित गर्न, गोठालोको काम राम्रोसित पूरा गर्न र प्रभावकारी शिक्षक हुन निकै तालिम दिए।—१ कोरि. ४:१७.

सुसमाचार सुनाउन तयार भएर पावलको अनुकरण गर्नुहोस्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌) *

७. एल्डरहरूले एफिसी ६:१४, १५ मा पावलले दिएको सल्लाह कसरी लागू गर्न सक्छन्‌?

पाठ। एल्डरहरूले कसरी पावलको अनुकरण गर्न सक्छन्‌? घरघरको साक्षीकार्यमा मात्र होइन तर हरेक मौकामा सुसमाचार सुनाउन तयार भएर। (एफिसी ६:१४, १५ पढ्‌नुहोस्‌।) जस्तै, तिनीहरूले बजार जाँदा वा सहकर्मीहरूलाई साक्षी दिन सक्छन्‌। अथवा तिनीहरू सभाभवनको निर्माणकार्यमा सघाउँदै छन्‌ भने छरछिमेकी र पसलेहरूलाई सुसमाचार सुनाउन सक्छन्‌। पावलले जस्तै एल्डरहरूले पनि साक्षीकार्यमा भाग लिँदा सहायक सेवकलगायत अरू भाइबहिनीलाई तालिम दिन सक्छन्‌।

८. एल्डरहरूले कहिलेकाहीँ के गर्नुपर्ने हुन सक्छ?

एल्डरहरू मण्डली वा क्षेत्रको असाइनमेन्टले गर्दा साक्षीकार्यमा भाग लिनै नसक्नेगरि व्यस्त हुनु हुँदैन। सन्तुलित हुन तिनीहरूले कुनै-कुनै असाइनमेन्ट स्विकार्न सक्दिनँ भन्‍नुपर्ने पनि हुन सक्छ। प्रार्थनापूर्वक विचार गर्दा त्यो असाइनमेन्ट स्विकारेको खण्डमा अझ महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन गाह्रो हुन्छ भनेर तिनीहरूले महसुस गर्न सक्छन्‌। अझ महत्त्वपूर्ण कुराहरूमा हरेक हप्ता पारिवारिक उपासना गर्नु, साक्षीकार्यमा पूरापूर भाग लिनु र छोराछोरीलाई साक्षीकार्यको तालिम दिनु समावेश छ। कसै-कसैलाई आफूले पाएको असाइनमेन्ट स्विकार्न सक्दिनँ भन्‍न अप्ठ्यारो लाग्न सक्छ तर यसरी सन्तुलित हुन तिनीहरूले गर्ने प्रयासको यहोवा कदर गर्नुहुन्छ।

मायालु गोठालो बन्‍ने

९. एल्डरहरूको लागि एउटा चुनौती के हो?

यसो गर्नु किन चुनौतीपूर्ण हुन सक्छ? आज परमेश्‍वरका जनहरूले थुप्रै परीक्षाको सामना गर्छन्‌। यस अन्तको दिनमा हामीलाई प्रोत्साहन, साथ र सान्त्वना चाहिन्छ। कसै-कसैलाई चाहिँ खराब आनीबानी हटाउन मदत चाहिन सक्छ। (१ थिस्स. ५:१४) हुनत एल्डरहरूले भाइबहिनीले भोग्नुपर्ने सबै परीक्षा हटाउन सक्दैनन्‌। तैपनि यहोवा तिनीहरूले उहाँका भेडाहरूलाई प्रोत्साहन र सुरक्षा दिएको चाहनुहुन्छ। त्यसोभए एल्डरहरू जति नै व्यस्त भए पनि भाइबहिनीको लागि कसरी समय निकाल्न सक्छन्‌?

अरूको प्रशंसा गर्नुहोस्‌ र प्रोत्साहन दिनुहोस्‌ (अनुच्छेद १०, १२ हेर्नुहोस्‌) *

१०. पहिलो थिस्सलोनिकी २:७ अनुसार पावलले भाइबहिनीको कसरी ख्याल राखे?

१० पावलको उदाहरण। पावल भाइबहिनीको प्रशंसा गर्ने र तिनीहरूलाई प्रोत्साहन दिने मौका खोजिरहन्थे। एल्डरहरूले पनि पावलको अनुकरण गर्दै भाइबहिनीप्रति कोमल व्यवहार गर्न सक्छन्‌। (१ थिस्सलोनिकी २:७ पढ्‌नुहोस्‌।) पावलले भाइबहिनीलाई धेरै प्रेम गरेको कुरा बताए र तिनीहरूलाई यहोवाले पनि प्रेम गर्नुहुन्छ भनेर आश्‍वासन दिए। (२ कोरि. २:४; एफि. २:४, ५) तिनले मण्डलीका भाइबहिनीलाई साथीसरह व्यवहार गरे र तिनीहरूसित समय बिताए। साथै तिनले भाइबहिनीलाई आफ्नो चिन्ता र कमीकमजोरीबारे बताएर तिनीहरूलाई भरोसा गरेको देखाए। (२ कोरि. ७:५; १ तिमो. १:१५) तर तिनले आफ्नै समस्यामा मात्र ध्यान दिएनन्‌ बरु तिनी भाइबहिनीलाई मदत गर्न चाहन्थे।

११. पावलले भाइबहिनीलाई किन सल्लाह दिए?

११ कहिलेकाहीँ पावलले भाइबहिनीलाई सल्लाह दिनुपरेको थियो। तर तिनले कहिल्यै पनि रिसको झोकमा सल्लाह दिएनन्‌। भाइबहिनीलाई प्रेम गर्ने भएकोले र खतराहरूबाट जोगाउन चाहेकोले पावलले तिनीहरूलाई सल्लाह दिए। तिनले भाइबहिनीलाई बुझ्न र स्विकार्न सजिलो हुनेगरि सल्लाह दिए। उदाहरणको लागि, तिनले कोरिन्थीहरूलाई लेखेको पत्रमा कडा सल्लाह दिए। भाइबहिनीले त्यस पत्रमा दिइएको सल्लाहअनुसार गरे कि गरेनन्‌ भनेर तिनी जान्‍न चाहन्थे। त्यसैले तिनले त्यो पत्र तितसको हातमा कोरिन्थ पठाए। पछि त्यहाँका भाइबहिनीले सल्लाह लागू गरे भनेर थाह पाउँदा पावल असाध्यै खुसी भए।—२ कोरि. ७:६, ७.

१२. एल्डरहरूले भाइबहिनीलाई कसरी बलियो बनाउन सक्छन्‌?

१२ पाठ। एल्डरहरूले भाइबहिनीसित समय बिताएर पावलको उदाहरण अनुकरण गर्न सक्छन्‌। यसो गर्ने एउटा तरिका भनेको मण्डलीका सभाहरूमा अलि चाँडो पुगेर हो। त्यसो गर्दा एल्डरहरूले भाइबहिनीसित प्रोत्साहनदायी कुराकानी गर्ने मौका पाउँछन्‌। कुनै भाइ वा बहिनीसित दुई-चार मिनेट मात्र कुरा गर्दा पनि तिनले चाहिएकै प्रोत्साहन पाउन सक्छन्‌। (रोमी १:१२; एफि. ५:१६) एल्डरहरूले पावलको अनुकरण गर्दै यहोवाको वचन चलाएर भाइबहिनीलाई बलियो बनाउन सक्छन्‌ र परमेश्‍वर तिनीहरूलाई माया गर्नुहुन्छ भनेर आश्‍वासन दिन सक्छन्‌। साथै आफूले पनि भाइबहिनीलाई प्रेम गरेको कुरा बताउन सक्छन्‌। एल्डरहरूले तिनीहरूसित नियमित रूपमा कुराकानी गर्न सक्छन्‌ र तिनीहरूको प्रशंसा गर्ने मौका खोज्न सक्छन्‌। साथै एल्डरहरूले कुनै भाइ वा बहिनीलाई सल्लाह दिनुपर्दा परमेश्‍वरको वचनमा आधारित भएर दिनुपर्छ। तिनीहरूले तोकेरै तर दयालु तरिकामा सल्लाह दिन्छन्‌ किनकि तिनीहरू त्यो भाइ वा बहिनीले सल्लाह स्विकारेर लाभ उठाएको चाहन्छन्‌।—गला. ६:१.

व्यक्‍तिगत कमीकमजोरीसित जुझ्ने

१३. आफ्ना कमीकमजोरीसित जुझ्ने सन्दर्भमा एल्डरहरूले कस्तो चुनौतीको सामना गर्नुपर्ने हुन्छ?

१३ यसो गर्नु किन चुनौतीपूर्ण हुन सक्छ? एल्डरहरू पनि त्रुटिपूर्ण छन्‌ र हामी सबैले जस्तै गल्तीहरू गर्छन्‌। (रोमी ३:२३) तिनीहरूलाई आफ्ना कमीकमजोरीप्रति उचित दृष्टिकोण राख्न गाह्रो हुन सक्छ। कोही-कोही आफ्ना सीमितताहरूमा बढ्‌तै ध्यान दिएकोले निराश हुन सक्छन्‌। कोही-कोहीले भने आफ्ना कमीकमजोरी त्यति गम्भीर होइन, त्यसैले छाँटकाँट गर्नु आवश्‍यक छैन भन्‍ने सोचाइ राख्न सक्छन्‌।

१४. फिलिप्पी ४:१३ अनुसार नम्रताले पावललाई कमीकमजोरीसित जुझ्न कसरी मदत गऱ्‍यो?

१४ पावलको उदाहरण। तिनले आफ्नै भरमा आफ्ना कमीकमजोरीसित जुझ्न सकिँदैन भनेर नम्र भई स्विकारेका थिए। तिनलाई यहोवाको मदत चाहिएको थियो। पहिला तिनी ख्रिष्टियनहरूलाई असाध्यै दुःख दिन्थे। तर पछि तिनले आफूले गरिरहेको काम गलत हो भनेर महसुस गरे र तिनी आफ्नो मनोवृत्ति र व्यक्‍तित्व सुधार्न चाहन्थे। (१ तिमो. १:१२-१६) यहोवाको मदतले गर्दा तिनी मायालु, दयालु र नम्र गोठालो बन्‍न सके। आफ्ना कमीकमजोरीबारे सोच्दा तिनी असाध्यै दुःखी हुन्थे तर तिनले त्यसमा बढ्‌तै ध्यान दिएनन्‌। बरु यहोवाले क्षमा दिनुहुन्छ भन्‍ने कुरामा भरोसा गरे। (रोमी ७:२१-२५) तिनले आफूबाट कहिल्यै गल्ती हुँदैन भन्‍ने सोचाइ राखेनन्‌ बरु असल गुणहरू विकास गर्न कडा प्रयत्न गरे र आफूले पाएको जिम्मेवारी पूरा गर्न यहोवामा भर परे।—१ कोरि. ९:२७; फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌।

व्यक्‍तिगत कमीकमजोरी हटाउन कडा प्रयत्न गर्नुहोस्‌ (अनुच्छेद १४-१५ हेर्नुहोस्‌) *

१५. एल्डरहरूले आफ्ना कमीकमजोरीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१५ पाठ। एल्डरहरूले गल्ती नै नगर्ने भएकोले तिनीहरूलाई एल्डर नियुक्‍त गरिएको होइन। बरु यहोवा तिनीहरूले आफ्ना गल्तीहरू स्विकारेको र असल गुणहरू विकास गर्न प्रयास गरेको आशा गर्नुहुन्छ। (एफि. ४:२३, २४) एल्डरहरूले परमेश्‍वरको वचनको अध्ययन गरेर आफैलाई जाँच्नुपर्छ र आवश्‍यक छाँटकाँट गर्नुपर्छ। यसो गरे भने यहोवाले तिनीहरूलाई आफ्नो आनन्द कायम राख्न र असल एल्डर बन्‍न मदत गर्नुहुन्छ।—याकु. १:२५.

अरूको कमीकमजोरीमा बढ्‌तै ध्यान नदिने

१६. एल्डरहरूले अरूको कमीकमजोरीमा बढ्‌तै ध्यान दिए भने के हुन सक्छ?

१६ यसो गर्नु किन चुनौतीपूर्ण हुन सक्छ? एल्डरहरूले मण्डलीका भाइबहिनीसित धेरै समय बिताउने भएकोले उनीहरूमा भएको कमीकमजोरी सजिलै देख्न सक्छन्‌। यदि एल्डरहरू होसियार भएनन्‌ भने भाइबहिनीको कमीकमजोरी देखेर रिस उठ्‌न सक्छ वा भाइबहिनीप्रति कठोर वा आलोचनात्मक हुन सक्छन्‌। सैतान हामीले यस्तै गरेको चाहने भएकोले पावलले ख्रिष्टियनहरूलाई होसियार रहन चेतावनी दिएका थिए।—२ कोरि. २:१०, ११.

१७. पावलले भाइबहिनीप्रति कस्तो दृष्टिकोण राखे?

१७ पावलको उदाहरण। पावलले भाइबहिनीप्रति सकारात्मक दृष्टिकोण राखे। भाइबहिनीबाट गल्ती हुन्छ भन्‍ने कुरा तिनलाई थाह थियो र कहिलेकाहीँ उनीहरूको व्यवहारले गर्दा तिनको चित्त पनि दुखेको थियो। तर कसैले गल्ती गर्दैमा तिनी खराब व्यक्‍ति हुन्‌ भन्‍न मिल्दैन भनेर पावललाई राम्ररी थाह थियो। पावल भाइबहिनीलाई माया गर्थे र उनीहरूको असल गुणहरूमा ध्यान दिन्थे। तिनले सही काम गर्न सङ्‌घर्ष गरिरहेका भाइबहिनीको मनसायमा शङ्‌का गरेनन्‌ बरु तिनीहरूलाई मदतको खाँचो छ भन्‍ने कुरा बुझे।

१८. पावलले इयोदिया र सिन्तकेलाई समस्या सुल्झाउन मदत गरेको तरिकाबाट तपाईँले के सिक्नुभयो? (फिलिप्पी ४:१-३)

१८ पावलले फिलिप्पी मण्डलीका दुई जना बहिनीलाई कसरी मदत गरे, विचार गरौँ। (फिलिप्पी ४:१-३ पढ्‌नुहोस्‌।) व्यक्‍तिगत मतभिन्‍नताले गर्दा इयोदिया र सिन्तकेको सम्बन्धमा फाटो आएको थियो जस्तो देखिन्छ। तर पावलले तिनीहरूसित कठोर व्यवहार गरेनन्‌ वा तिनीहरूको आलोचना गरेनन्‌। बरु तिनीहरूको असल गुणहरूमा ध्यान दिए। ती दुवै जना बहिनी वफादार थिए र लामो समयदेखि यहोवाको सेवा गरिरहेका थिए। यहोवा इयोदिया र सिन्तकेलाई माया गर्नुहुन्छ भन्‍ने कुरा पावललाई थाह थियो। तिनीहरूप्रतिको यस्तो सकारात्मक दृष्टिकोणले गर्दा पावलले तिनीहरूलाई मतभिन्‍नता सुल्झाउन प्रोत्साहन दिए। साथै यस्तो दृष्टिकोणले गर्दा तिनले आफ्नो आनन्द गुमाएनन्‌ र त्यस मण्डलीका अरू भाइबहिनीसितको मित्रता कायम राख्न सके।

अरूप्रति आलोचनात्मक नहुनुहोस्‌ (अनुच्छेद १९ हेर्नुहोस्‌) *

१९. (क) एल्डरहरूले भाइबहिनीप्रति कसरी सकारात्मक दृष्टिकोण राख्न सक्छन्‌? (ख) एक जना एल्डरले सभाभवन सरसफाइ गरिरहेको चित्रबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

१९ पाठ। एल्डरहरू हो, भाइबहिनीका असल गुणहरूमा ध्यान दिनुहोस्‌। हामी सबै जना त्रुटिपूर्ण छौँ। तैपनि हामी सबैमा केही न केही राम्रा गुणहरू छन्‌। (फिलि. २:३) कहिलेकाहीँ एल्डरहरूले भाइबहिनीको गलत सोचाइलाई सच्याउनुपर्ने हुन सक्छ। तर भाइबहिनीको बोली वा व्यवहारमा बढ्‌तै ध्यान दिनुको साटो पावलले जस्तै यहोवाप्रति उनीहरूको प्रेम, उनीहरूको सहनशीलता र असल काम गर्ने उनीहरूको इच्छुकतामा ध्यान दिन सक्छन्‌। एल्डरहरूले भाइबहिनीप्रति यस्तो सकारात्मक दृष्टिकोण राख्दा मण्डलीको वातावरण न्यानो हुन्छ र सबैले माया पाएको महसुस गर्न सक्छन्‌।

पावलको अनुकरण गरिरहनुहोस्‌

२०. एल्डरहरूले पावलको उदाहरणबाट कसरी लाभ उठाइरहन सक्छन्‌?

२० एल्डरहरू हो, पावलको उदाहरण अध्ययन गर्दा तपाईँले पक्कै लाभ उठाउनुहुनेछ। * फुटनोटमा दिइएका लेखहरू पढ्‌दा आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘आनन्द कायम राख्न र एल्डरको जिम्मेवारी राम्रोसित पूरा गर्न पावलको उदाहरणले मलाई कसरी मदत गर्छ?’

२१. एल्डरहरू कुन कुरामा ढुक्क हुन सक्छन्‌?

२१ एल्डरहरू हो, तपाईँ कहिल्यै गल्ती नै नगर्ने व्यक्‍ति बनेको यहोवा आस गर्नुहुन्‍न बरु तपाईँ विश्‍वासयोग्य भएको चाहनुहुन्छ। (१ कोरि. ४:२) उहाँले पावलको कडा मेहनत र वफादारीको असाध्यै मोल गर्नुभयो। यहोवाको सेवाको लागि तपाईँले गर्नुभएको प्रयासको उहाँ कदर गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। ‘तपाईँले पवित्र जनहरूको सेवा गर्नुभएको छ र निरन्तर गर्दै पनि हुनुहुन्छ, यसरी तपाईँले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।’—हिब्रू ६:१०.

गीत ८७ आऊ, स्फूर्ति पाऔँ!

^ हाम्रो लागि कडा परिश्रम गर्ने मायालु एल्डरहरूप्रति हामी मनैदेखि कृतज्ञ छौँ। यस लेखमा एल्डरहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा अक्सर सामना गर्नुपर्ने चार वटा चुनौतीबारे छलफल गर्नेछौँ। प्रेषित पावलको उदाहरणले एल्डरहरूलाई ती चुनौतीहरू पार गर्न कसरी मदत गर्छ, त्यो पनि बुझ्नेछौँ। यस लेखले हामीलाई एल्डरहरूप्रति समानुभूति देखाउन अनि तिनीहरूलाई प्रेम गरेको र साथ दिएको देखाउन मदत गर्नेछ।

^ परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌ किताबको पृष्ठ ११२, १८९अगस्त १, १९९७ अङ्‌कको प्रहरीधरहरा-को पृष्ठ १७-१८ हेर्नुहोस्‌।

^ तस्बिरको व्याख्या: एक भाइ कामबाट घर फर्कने बेला सहकर्मीलाई सुसमाचार सुनाउँछन्‌।

^ तस्बिरको व्याख्या: एक एल्डर सभाभवनमा एक्लै बसिरहेका भाइलाई भेटेर मित्रैलो तरिकामा कुराकानी गर्छन्‌।

^ तस्बिरको व्याख्या: एक भाइ चित्त दुखाएर बसेका अर्का भाइलाई सम्झाउँछन्‌।

^ तस्बिरको व्याख्या: एक जना भाइले सरसफाइ गर्न छोडेर मोबाइल चलाइरहेको देख्दा एक एल्डर तिनीसित रिसाउँदैनन्‌।