सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १७

आमाहरू हो, युनिसको उदाहरणबाट सिक्नुहोस्‌

आमाहरू हो, युनिसको उदाहरणबाट सिक्नुहोस्‌

“आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर। ती तिम्रो शिरको लागि सुन्दर मुकुट, गलाको लागि अनमोल हार हुन्‌।”—हितो. १:८, ९.

गीत १३७ वफादार बहिनीहरू

परिचय *

तिमोथिकी आमा युनिस र बज्यै लोइस तिमोथिले बप्तिस्मा गरेको देख्दा असाध्यै खुसी हुन्छन्‌ र गर्व महसुस गर्छन्‌ (अनुच्छेद १ हेर्नुहोस्‌)

१-२. (क) युनिस को थिइन्‌ र उनले तिमोथिलाई हुर्काउने क्रममा कस्ता अवरोधहरूको सामना गरिन्‌? (ख) आवरण चित्रको वर्णन गर्नुहोस्‌।

 बाइबलमा तिमोथिको बप्तिस्माबारे केही पनि बताइएको छैन तर तिनको बप्तिस्माको दिन युनिस कत्ति खुसी भइन्‌ होला भनेर हामी कल्पना गर्न सक्छौँ। (हितो. २३:२५) तिमोथि बप्तिस्माको लागि पानीमा जाँदा उनको अनुहारमा छुट्टै चमक देखिन्छ अनि तिमोथिकी बज्यै लोइस पनि उनीसँगै उभिरहेकी छिन्‌। तिमोथिलाई पानीमा डुबाइँदा युनिस लामो सास तान्छिन्‌। अनि तिमोथिलाई पानीबाट माथि उठाइँदा तिनको अनुहारमा पनि मुस्कान छाएको देखिन्छ। अब त युनिस आफ्नो आँसु थाम्नै सक्दिनन्‌; उनको आँखाबाट बरबरी आँसु झर्छ। युनिसले तिमोथिलाई यहोवा र उहाँको छोरा येसु ख्रिष्टलाई प्रेम गर्न सिकाउने क्रममा थुप्रै अवरोधको सामना गरिन्‌ तर अन्ततः उनी सफल भइन्‌। उनले तिमोथिलाई यो क्षणसम्म पुऱ्‍याउन कस्ता अवरोधहरूको सामना गर्नुपऱ्‍यो?

तिमोथिको बुबा र आमाको धार्मिक आस्था फरक-फरक थियो। तिनका बुबा ग्रीक थिए भने आमा र बज्यै यहुदी थिए। (प्रेषि. १६:१) युनिस र लोइसले ख्रिष्टियन धर्म अँगाल्दा सायद तिमोथि किशोरावस्थामा पुगिसकेका थिए। तर तिनका बुबा भने ख्रिष्टियन भएनन्‌। तिमोथिले कस्तो निर्णय गर्ने थिए? सायद तिनी आफै निर्णय गर्न सक्ने उमेरका भइसकेका थिए। के तिनले आफ्नो बुबाको धर्म रोज्ने थिए? वा सानैदेखि सिक्दै आएको यहुदी परम्पराअनुसारै चल्ने थिए कि? अथवा येसु ख्रिष्टको चेला बन्‍ने थिए?

३. हितोपदेश १:८, ९ अनुसार छोराछोरीलाई यहोवाको साथी बन्‍न मदत गरिरहेका आमाहरूको प्रयास देख्दा यहोवालाई कस्तो लाग्छ?

युनिसजस्तै आज आमाहरू पनि आफ्नो परिवारलाई माया गर्छन्‌। तिनीहरू छोराछोरीले यहोवासित घनिष्ठ सम्बन्ध विकास गरेको चाहन्छन्‌ अनि यसको लागि मेहनत गरिरहेका आमाहरूको यहोवा असाध्यै कदर गर्नुहुन्छ। (हितोपदेश १:८, ९ पढ्‌नुहोस्‌।) छोराछोरीलाई यहोवाको सेवा गर्न र उहाँलाई प्रेम गर्न मदत गरिरहेका आमाहरूलाई यहोवाले डोऱ्‍याइ दिनुभएको छ।

४. आज आमाहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ?

तिमोथिले जस्तै आफ्ना छोराछोरीले यहोवाको सेवा गर्ने छनौट गर्लान्‌ कि नगर्लान्‌ भनेर आमाहरूलाई चिन्ता लाग्नु स्वाभाविकै हो। किनभने छोराछोरीले सैतानको संसारमा धेरै दबाबको सामना गर्नुपर्छ भनेर तिनीहरूलाई थाह छ। (१ पत्रु. ५:८) यसबाहेक कतिपय आमाहरूले श्रीमान्‌ नभएकोले वा श्रीमान्‌ यहोवाको साक्षी नभएकोले छोराछोरीलाई हुर्काउने क्रममा विभिन्‍न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। जस्तै, क्रिस्टिन * नाम गरेकी बहिनी यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ एक असल बुबा हुनुहुन्थ्यो र परिवारलाई धेरै माया गर्नुहुन्थ्यो। तर मैले छोराछोरीलाई यहोवाको विषयमा सिकाएको उहाँलाई फिटिक्कै मन पर्दैनथ्यो। छोराछोरी हुर्काउँदा मैले धेरै आँसु बगाएँ। तिनीहरूले यहोवाको उपासना गर्लान्‌ नि नगर्लान्‌ भनेर धेरै चिन्ता लाग्थ्यो।”

५. यस लेखमा हामी के छलफल गर्नेछौँ?

तपाईँ आमाहरू पनि युनिसजस्तै सफल हुन सक्नुहुन्छ। यस लेखमा छोराछोरीलाई आफ्नो बोलीकामद्वारा सिकाउने सन्दर्भमा कसरी उनको अनुकरण गर्न सकिन्छ भनेर छलफल गर्नेछौँ। यसो गर्न यहोवाले तपाईँलाई कसरी मदत गर्नुहुन्छ भनेर पनि बुझ्नेछौँ।

छोराछोरीलाई बोलीद्वारा सिकाउनुहोस्‌

६. तिमोथि कसरी ख्रिष्टियन बने? (२ तिमोथि ३:१४, १५)

युनिसले तिमोथिलाई सानोमा “पवित्र लेखोटहरू” सिकाउन मेहनत गरिन्‌। हुनत युनिससँग येसु ख्रिष्टबारे सीमित ज्ञान मात्र थियो। तैपनि तिमोथिले धर्मशास्त्रबाट जे-जति सिके, त्यो ख्रिष्टियन बन्‍नको लागि एउटा राम्रो आधार बन्यो। तर के तिमोथिले ख्रिष्टियन बन्‍ने निर्णय गर्ने थिए? जवान भइसकेकोले तिमोथिले यो निर्णय आफै गर्न सक्थे। तिनी येसुबारे सिकेका कुराहरूमा ‘विश्‍वस्त भएर लागिरहन’ सक्नुको एउटा कारण तिनकी आमाको मेहनत पनि हो। (२ तिमोथि ३:१४, १५ पढ्‌नुहोस्‌।) त्यसैले तिमोथिले यहोवाको सेवा गर्ने निर्णय गरेको देख्दा युनिस असाध्यै खुसी भएकी हुनुपर्छ। युनिसले आफ्नो नामअनुसारै काम गरिन्‌ भन्‍न सक्छौँ; उनको नामको अर्थ हो, “विजेता।”

७. युनिसले छोरालाई बप्तिस्मापछि पनि प्रगति गरिरहन कसरी मदत गर्न सक्थिन्‌?

तिमोथिको जीवनमा बप्तिस्मा एउटा महत्त्वपूर्ण कदम थियो तर युनिसलाई भने अझै चिन्ता लागिरहेको थियो। तिमोथिले अब आफ्नो जीवन कसरी बिताउनेछन्‌? तिनी खराब सङ्‌गतमा फस्ने हुन्‌ कि? अथवा उच्च शिक्षाको लागि एथेन्स गएर झूटा दार्शनिकहरूको शिक्षा स्विकार्ने हुन्‌ कि? धनसम्पत्तिको पछि लागेर आफ्नो समय, बल र युवावस्था खेर फाल्ने हुन्‌ कि? युनिसले तिमोथिको लागि निर्णय गरिदिन त सक्दिनथिन्‌ तर बुद्धिमानी निर्णय गर्न मदत भने गर्न सक्थिन्‌। कसरी? यहोवाप्रतिको तिनको प्रेमलाई अझ बलियो बनाउन र येसुप्रति कृतज्ञ हुन मदत गरेर। तर यस्ता चुनौतीहरू फरक-फरक धार्मिक आस्था भएको परिवारमा मात्र सीमित छैन। आमाबुबा दुवै साक्षी हुन्‌ भने पनि छोराछोरीको हृदयसम्म पुग्नेगरि सत्य सिकाउन र तिनीहरूलाई यहोवाको वफादार सेवक बन्‍न मदत गर्न धेरै गाह्रो हुन सक्छ। युनिसको उदाहरणबाट आमाबुबाले के सिक्न सक्छन्‌?

८. आमाले छोराछोरीको आध्यात्मिक आवश्‍यकता पूरा गर्न श्रीमान्‌लाई कसरी सघाउन सक्छिन्‌?

छोराछोरीसित बाइबलको अध्ययन गर्नुहोस्‌। दिदीबहिनीहरू हो, यदि तपाईँको श्रीमान्‌ यहोवाको साक्षी हुन्‌ भने छोराछोरीको आध्यात्मिक आवश्‍यकता पूरा गर्न तपाईँले श्रीमान्‌लाई सघाएको यहोवा चाहनुहुन्छ। यसो गर्ने एउटा तरिका नियमित रूपमा पारिवारिक उपासना गर्ने प्रबन्धलाई समर्थन गरेर हो। यस प्रबन्धबारे छोराछोरीसित सकारात्मक कुरा गर्नुहोस्‌ अनि पारिवारिक उपासनालाई कसरी न्यानो र रमाइलो बनाउन सकिन्छ भनेर पनि विचार गर्नुहोस्‌। सायद तपाईँ श्रीमान्‌सँगै मिलेर पारिवारिक उपासनाको लागि विशेष योजना तथा कार्यक्रमहरू बनाउन सक्नुहुन्छ। अनि तपाईँका छोराछोरी सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबबाट लाभ उठाउन सक्ने उमेरका भइसकेका छन्‌ भने तपाईँको श्रीमान्‌ले तिनीहरूलाई बाइबल अध्ययन गराउँदा सघाउन सक्नुहुन्छ।

९. तपाईँको श्रीमान्‌ यहोवाको साक्षी होइनन्‌ भने कसबाट मदत पाउन सक्नुहुन्छ?

तपाईँ एकल आमा हुनुहुन्छ वा तपाईँको श्रीमान्‌ यहोवाको साक्षी होइनन्‌ भने छोराछोरीको आध्यात्मिक आवश्‍यकता पूरा गर्न तपाईँले नै नेतृत्व लिनुपर्ने हुन्छ। तर बढ्‌तै चिन्ता नगर्नुहोस्‌ किनकि यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ। उहाँको सङ्‌गठनले छोराछोरीसित अध्ययन गर्न तयार पारेका सामग्रीहरूको सदुपयोग गर्नुहोस्‌। साथै पारिवारिक उपासनाको सन्दर्भमा राम्रो उदाहरण बसालेका आमाबुबासित यस्ता सामग्रीहरू कसरी प्रभावकारी तरिकामा चलाउन सकिन्छ भनेर सोध्न सक्नुहुन्छ। * (हितो. ११:१४) छोराछोरीसित खुलेर कुराकानी गर्न पनि यहोवाले तपाईँलाई मदत गर्न सक्नुहुन्छ। तिनीहरूको मनको कुरा तानेर निकाल्न उहाँसित मदत माग्नुहोस्‌। (हितो. २०:५) ‘तिमीलाई स्कुलमा सबैभन्दा गाह्रो लाग्ने कुरा के हो’ भनेर सोध्दा मात्र पनि तपाईँले तिनीहरूबारे धेरै कुरा थाह पाउन सक्नुहुनेछ।

१०. छोराछोरीलाई यहोवाबारे सिकाउन तपाईँ अरू के गर्न सक्नुहुन्छ?

१० छोराछोरीलाई यहोवाबारे सिकाउने हर मौकाको सदुपयोग गर्नुहोस्‌। यहोवाबारे र उहाँले तपाईँको लागि गरिदिनुभएका असल कुराहरूबारे छोराछोरीसित कुराकानी गर्नुहोस्‌। (व्यव. ६:६, ७; यसै. ६३:७) तिनीहरूलाई घरमा सिकाउने त्यत्ति मौका छैन भने यसो गर्नु झनै महत्त्वपूर्ण छ। अगाडि उल्लेख गरिएकी क्रिस्टिन भन्छिन्‌: “घरमा आध्यात्मिक विषयबारे कुरा गर्ने त्यत्ति मौका पाउँदिनथेँ। त्यसैले मौका पाउनेबित्तिकै आध्यात्मिक विषयमा कुरा गरिहाल्थेँ। हामी बाहिर टहल्न जाँदा वा डुङ्‌गामा घुम्न जाँदा यहोवाको सृष्टिबारे अनि अन्य थुप्रै आध्यात्मिक विषयमा कुराकानी गर्थ्यौँ। छोराछोरी आफै पढ्‌न सक्ने भएपछि उनीहरूलाई बाइबल पढ्‌न प्रोत्साहन दिएँ।” साथै यहोवाको सङ्‌गठन र हाम्रा भाइबहिनीबारे सधैँ सकारात्मक कुरा गर्नुहोस्‌। एल्डरहरूको आलोचना नगर्नुहोस्‌। तपाईँ एल्डरहरूबारे कस्तो कुरा गर्नुहुन्छ, त्यसमै तपाईँका छोराछोरी समस्या पर्दा एल्डरहरूकहाँ जान्छन्‌ कि जाँदैनन्‌ भन्‍ने कुरा निर्भर हुन्छ।

११. याकुब ३:१८ अनुसार घरमा शान्तिपूर्ण वातावरण कायम राख्नु किन महत्त्वपूर्ण छ?

११ घरमा शान्तिपूर्ण वातावरण कायम राख्नुहोस्‌। श्रीमान्‌ र छोराछोरीलाई माया गर्नुहुन्छ भनेर बेलाबेलामा व्यक्‍त गर्नुहोस्‌। छोराछोरीसित श्रीमान्‌प्रतिको आदर झल्किने तरिकामा कुरा गर्नुहोस्‌ र तिनीहरूलाई पनि त्यसै गर्न सिकाउनुहोस्‌। यसो गर्नुभयो भने छोराछोरीलाई यहोवाबारे सिक्न अझ सजिलो हुनेछ। (याकुब ३:१८ पढ्‌नुहोस्‌।) रोमानियामा विशेष अग्रगामीको रूपमा सेवा गरिरहेका जोसेफको अनुभव विचार गरौँ। तिनी सानो छँदा बुबाले विरोध गर्ने भएकोले तिनलाई अनि तिनकी आमा, दिदी र दुई भाइलाई यहोवाको सेवा गर्न धेरै गाह्रो भयो। जोसेफ भन्छन्‌: “आमाले घरमा शान्तिपूर्ण वातावरण बनाउन धेरै प्रयास गर्नुभयो। बुबाले जति नै कठोर व्यवहार गर्नुभए पनि आमाले उहाँसित दयालु व्यवहार गर्नुहुन्थ्यो। बुबाको व्यवहारले गर्दा हामीलाई उहाँको आदर गर्न र उहाँको आज्ञा पालन गर्न गाह्रो भइरहेको याद गर्नुहुँदा आमाले हामीसित एफिसी ६:१-३ छलफल गर्नुहुन्थ्यो। उहाँ बुबाका राम्रा गुणहरूबारे कुरा गर्नुहुन्थ्यो अनि उहाँलाई किन माया र आदर गर्नुपर्छ भनेर पनि बताउनुहुन्थ्यो। यसरी उहाँले थुप्रै तनावपूर्ण अवस्थालाई एकदमै राम्रोसित सम्हाल्नुभयो।”

छोराछोरीलाई कामद्वारा सिकाउनुहोस्‌

१२. दोस्रो तिमोथि १:५ अनुसार युनिसको उदाहरणले तिमोथिमा कस्तो प्रभाव पाऱ्‍यो?

१२ दोस्रो तिमोथि १:५ पढ्‌नुहोस्‌। युनिसले तिमोथिको लागि राम्रो उदाहरण बसालिन्‌। साँचो विश्‍वास कामद्वारा देखाइन्छ भनेर उनले तिमोथिलाई सिकाएकी हुनुपर्छ। (याकु. २:२६) अनि तिमोथिले पक्कै पनि युनिसका कामहरूमा यहोवाप्रतिको उनको गहिरो प्रेम देखेको हुनुपर्छ। यहोवाको सेवा गर्दा तिनकी आमा आनन्दित भएको तिनले याद गरेको हुनुपर्छ। यसले तिमोथिमा कस्तो प्रभाव पाऱ्‍यो? प्रेषित पावलले तिमोथिको विश्‍वास युनिसको जस्तै बलियो छ भनेर बताए। तर तिनको विश्‍वास आफसेआफ बलियो भएको त होइन। तिमोथिले आफ्नी आमाको बलियो विश्‍वास देखेका थिए र यसले गर्दा तिनी उनको विश्‍वासको अनुकरण गर्न उत्प्रेरित भए। त्यसैगरि आज पनि थुप्रै आमाले “विनावचन” आफ्नो परिवारलाई यहोवाको सेवा गर्न मदत गर्न सकेका छन्‌। (१ पत्रु. ३:१, २) तपाईँ पनि त्यसै गर्न सक्नुहुन्छ। कसरी?

१३. आमाहरूले यहोवासितको सम्बन्धलाई किन प्रथम स्थानमा राख्नुपर्छ?

१३ यहोवासितको सम्बन्धलाई प्रथम स्थानमा राख्नुहोस्‌। (व्यव. ६:५, ६) थुप्रै आमाले जस्तै तपाईँले पनि त्यागहरू गर्नुभएको छ। छोराछोरीको भौतिक आवश्‍यकता पूरा गर्न तपाईँले समय, पैसा र अरू थुप्रै कुरा त्याग्नुभयो अनि कैयौँ अनिदो रात पनि बिताउनुभयो। तर यहोवासितको आफ्नो सम्बन्धलाई बलियो बनाइराख्न समय नै नहुनेगरि परिवारको हेरविचारमा व्यस्त नहुनुहोस्‌। नियमित रूपमा प्रार्थना र बाइबलको अध्ययन गर्न समय छुट्ट्याउनुहोस्‌ अनि सभाहरूमा उपस्थित हुनुहोस्‌। यसो गर्नुभयो भने तपाईँ आध्यात्मिक रूपमा बलियो हुनुहुनेछ अनि आफ्नो परिवार र अरूको लागि पनि राम्रो उदाहरण बसाल्न सक्नुहुनेछ।

१४-१५. लियान, मारिया र झाओको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

१४ आमाको उदाहरणबाट यहोवालाई प्रेम र भरोसा गर्न सिकेका जवानहरू थुप्रै छन्‌। जस्तै, क्रिस्टिनकी छोरी लियान यसो भन्छिन्‌: “बुबा घरमा हुँदा हामी बाइबल अध्ययन गर्न सक्दैनथ्यौँ। तर आमा नियमित रूपमा सभा जानुहुन्थ्यो। हामीसित बाइबलको खासै ज्ञान नभए तापनि उहाँको राम्रो उदाहरणले गर्दा हामीले आफ्नो विश्‍वास बलियो बनाउन सक्यौँ। सभामा जान थाल्नुभन्दा धेरै अघिदेखि नै यहोवाका साक्षीहरूले सिकाउने कुरा सत्य हो भनेर थाह पाइसकेका थियौँ।”

१५ मारियाको उदाहरण विचार गरौँ। तिनको बुबाले तिनीहरू सभा गएको थाह पाउँदा सजाय दिने गर्थे। मारिया यसो भन्छिन्‌: “मैले चिनेको साहसी बहिनीहरूमध्ये मेरी आमा पनि एक हुनुहुन्छ। सानो छँदा मानिसहरूले के भन्लान्‌ भन्‍ने डरले गर्दा म कुनै-कुनै कुरा गर्न मान्दिनथेँ। तर आमाको साहस र उहाँले सधैँ यहोवालाई आफ्नो जीवनमा प्रथम स्थानमा राख्नुभएको देख्दा मैले मानिसको डरलाई जित्न सकेँ।” अर्को उदाहरण झाओको हो। उनको बुबाले घरमा बाइबलको कुरा गर्न दिँदैनथे। झाओ भन्छन्‌: “मेरो मनमा अमेट छाप पारेको एउटा कुरा के हो भने मेरी आमा बुबालाई खुसी पार्न जस्तोसुकै कुरा त्याग्न तयार हुनुहुन्थ्यो तर यहोवालाई त्याग्न भने कहिल्यै तयार हुनुभएन।”

१६. आमाको असल उदाहरणले अरूमा कस्तो प्रभाव पार्न सक्छ?

१६ आमाहरू हो, तपाईँको उदाहरणले अरूमा राम्रो प्रभाव पार्न सक्छ भनेर नबिर्सनुहोस्‌। युनिसको उदाहरणले प्रेषित पावलमा कस्तो प्रभाव पाऱ्‍यो भनेर विचार गर्नुहोस्‌। तिनले तिमोथिमा भएको निष्कपट विश्‍वास “सुरुमा . . . युनिससित थियो” भनेर लेखे। (२ तिमो. १:५) तिनले सबैभन्दा पहिला युनिसको विश्‍वास कहिले याद गरेका थिए? सम्भवतः तिनले पहिलो मिसनरी यात्राको दौडान लिस्त्रामा लोइस र युनिसलाई भेटेका थिए। तिनले उनीहरूलाई ख्रिष्टियन बन्‍न मदत गरेका हुन सक्छन्‌। (प्रेषि. १४:४-१८) सोच्नुहोस्‌ त, पावलले तिमोथिलाई करिब १५ वर्षपछि पत्र लेख्दा युनिसले देखाएको विश्‍वास अझै बिर्सिएका थिएनन्‌ र उनको विश्‍वास उदाहरणीय छ भनेर पावलले उल्लेख गरे। पक्कै पनि प्रेषित पावल र प्रथम शताब्दीका अरू थुप्रै ख्रिष्टियनले युनिसको उदाहरणबाट प्रोत्साहन पाएका थिए। तपाईँ पनि एक्लैले अथवा फरक-फरक धार्मिक आस्था भएको परिवारमा छोराछोरी हुर्काउँदै हुनुहुन्छ भने तपाईँको असल उदाहरणले अरूको विश्‍वास बलियो बनाउँछ र तिनीहरूलाई सही काम गर्न उत्प्रेरित गर्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

छोराछोरीलाई आध्यात्मिक रूपमा हुर्काउन समय लाग्छ। त्यसैले हरेस नखानुहोस्‌! (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. छोराछोरीले उन्‍नति गरिरहेका छैनन्‌ जस्तो लाग्दा तपाईँ के गर्न सक्नुहुन्छ?

१७ छोराछोरीलाई यहोवाबारे सिकाउन जति नै मेहनत गरे पनि तिनीहरूले उन्‍नति गरिरहेका छैनन्‌ जस्तो लाग्दा तपाईँ के गर्न सक्नुहुन्छ? छोराछोरीलाई प्रशिक्षण दिन समय लाग्छ भन्‍ने कुरा याद गर्नुहोस्‌। चित्रमा देखाइएझैँ तपाईँले कुनै बिउ रोप्दा त्यो बढ्‌ला कि नबढ्‌ला, त्यसले फल फलाउला कि नफलाउला जस्तो लाग्न सक्छ। यस्तो कुरा तपाईँको वशमा हुँदैन। तैपनि फल फलाओस्‌ भनेर तपाईँ पानी हालिरहनुहुन्छ। (मर्कु. ४:२६-२९) त्यसैगरि तपाईँ आमाहरूलाई पनि आफूले सिकाएको कुरा छोराछोरी मनसम्म पुगेको हो कि होइन जस्तो लाग्न सक्छ। पछि तिनीहरूले कस्तो निर्णय गर्छन्‌ भन्‍ने कुरा तपाईँको नियन्त्रणमा हुँदैन। तर तिनीहरूलाई तालिम दिन आफ्नो तर्फबाट सक्दो गरिरहनुभयो भने तिनीहरूलाई यहोवाको साथी बन्‍न मदत गरिरहनुभएको हुनेछ।—हितो. २२:६.

यहोवाले दिनुहुने मदतमा भर पर्नुहोस्‌

१८. छोराछोरीलाई आध्यात्मिक उन्‍नति गर्न यहोवाले कसरी मदत गर्न सक्नुहुन्छ?

१८ बाइबलकालीन समयदेखि यहोवाले थुप्रै जवानलाई आफ्नो साथी बन्‍न मदत गर्नुभएको छ। (भज. २२:९, १०) तपाईँको छोराछोरी आध्यात्मिक उन्‍नति गर्न चाहन्छन्‌ भने उहाँले तिनीहरूलाई पनि मदत गर्नुहुनेछ। (१ कोरि. ३:६, ७) तपाईँका छोराछोरी सत्यबाट तर्किएर गएको जस्तो लागे तापनि यहोवा तिनीहरूलाई माया गर्न छोड्‌नुहुन्‍न र तिनीहरूमाथि नजर राखिराख्नुहुन्छ। (भज. ११:४) उहाँले तिनीहरूमा अलिकति मात्र “उचित मनसाय” देख्नुभयो भने पनि उहाँ तिनीहरूलाई मदत गर्न अग्रसर हुनुहुनेछ। (प्रेषि. १३:४८; २ इति. १६:९) छोराछोरीलाई चाहिएकै बेला ठीक कुरा भन्‍न उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। (हितो. १५:२३) अथवा उहाँले मण्डलीको कुनै मायालु भाइ वा बहिनीलाई तिनीहरूप्रति विशेष चासो देखाउन उत्प्रेरित गर्नुहुनेछ। छोराछोरी वयस्क भइसकेपछि पनि तपाईँले सानोमा सिकाएका कुराहरू सम्झन यहोवाले मदत गर्नुहुनेछ। (युह. १४:२६) छोराछोरीलाई आफ्नो बोली र कामद्वारा प्रशिक्षण दिन जुन प्रयास गरिरहनुभएको छ, त्यसको लागि यहोवाले तपाईँलाई इनाम दिनुहुनेछ।

१९. यहोवाको अनुमोदन पाउने कुरामा तपाईँ किन विश्‍वस्त हुन सक्नुहुन्छ?

१९ छोराछोरीले जस्तोसुकै छनौट गरे तापनि यहोवा तपाईँलाई माया गर्न छोड्‌नुहुन्‍न। उहाँ तपाईँलाई माया गर्नुहुन्छ किनभने तपाईँ पनि उहाँलाई माया गर्नुहुन्छ। तपाईँ एकल आमा हुनुहुन्छ भने यहोवाले उहाँ तपाईँको छोराछोरीको निम्ति बुबा र तपाईँको निम्ति रक्षक बन्‍ने प्रतिज्ञा गर्नुभएको छ। (भज. ६८:५) छोराछोरीले सही छनौट गर्ने हुन्‌ कि होइनन्‌ भन्‍ने कुरा तपाईँको हातमा छैन तर यहोवामा भर पर्दै आफ्नो तर्फबाट सक्दो गर्नुभयो भने तपाईँले उहाँको अनुमोदन पाउनुहुनेछ।

गीत १३४ छोराछोरी—यहोवाको नासो

^ अनु. 5 यस लेखमा ख्रिष्टियन आमाहरूले कसरी तिमोथिकी आमा युनिसको उदाहरणबाट सिक्न सक्छन्‌ भनेर छलफल गर्नेछौँ। तिनीहरूले आफ्ना छोराछोरीलाई कसरी यहोवालाई चिन्‍न र प्रेम गर्न मदत दिन सक्छन्‌ भनेर पनि बुझ्नेछौँ।

^ अनु. 4 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 9 उदाहरणको लागि, सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ५० र अगस्त १५, २०११ अङ्‌कको प्रहरीधरहरा-को पृष्ठ ६-७ मा भएको “पारिवारिक उपासना र व्यक्‍तिगत अध्ययन गर्ने केही तरिका” भन्‍ने लेख हेर्नुहोस्‌।