सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १८

तपाईँ कसरी आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न सक्नुहुन्छ?

तपाईँ कसरी आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न सक्नुहुन्छ?

“यी कुराहरूमा चिन्तनमनन गर, यी नै कुराहरूमा डुबिरह ताकि तिम्रो प्रगति सबै मानिससामु स्पष्टै देखियोस्‌।”—१ तिमो. ४:१५.

गीत ८४ खाँचो जहाँ, पुग्छौँ त्यहाँ

परिचय *

१. हामी कस्ता आध्यात्मिक लक्ष्यहरू राख्न सक्छौँ?

 हामी साँचो ख्रिष्टियनहरू यहोवालाई धेरै प्रेम गर्छौँ। त्यसैले हामी सर्वोत्तम तरिकामा उहाँको सेवा गर्न चाहन्छौँ। तर यसको लागि हामीले आध्यात्मिक लक्ष्यहरू राख्नुपर्छ। * जस्तै: हामी ख्रिष्टियन गुणहरू विकास गर्न सक्छौँ, उपयोगी सीपहरू सिक्न सक्छौँ अनि अरूको सेवा गर्ने तरिकाहरू खोज्न सक्छौँ।

२. हामीले किन आध्यात्मिक लक्ष्यहरू राख्नुपर्छ र ती हासिल गर्न मेहनत गर्नुपर्छ?

आध्यात्मिक प्रगति गर्न हामी किन इच्छुक हुनुपर्छ? मुख्य कुरा, हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ। हामीले आफ्नो खुबी र क्षमता यहोवाको लागि प्रयोग गऱ्‍यौँ भने उहाँ हामीसित खुसी हुनुहुन्छ। साथै हामी भाइबहिनीको लागि अझ उपयोगी हुन पनि आध्यात्मिक प्रगति गर्न चाहन्छौँ। (१ थिस्स. ४:९, १०) हामी यहोवाको साक्षी भएको जति नै लामो समय भए पनि आध्यात्मिक प्रगति गर्न सक्छौँ। यो हामी कसरी गर्न सक्छौँ?

३. पहिलो तिमोथि ४:१२-१६ मा प्रेषित पावलले तिमोथिलाई के गर्न प्रोत्साहन दिए?

प्रेषित पावलले जवान तिमोथिलाई पहिलो पत्र लेख्दा तिनी एक अनुभवी एल्डर भइसकेका थिए। तैपनि पावलले तिनलाई आध्यात्मिक प्रगति गरिरहन प्रोत्साहन दिए। (१ तिमोथि ४:१२-१६ पढ्‌नुहोस्‌।) पावलले लेखेका कुराहरू विचार गर्ने हो भने उनी तिमोथिले दुई वटा तरिकामा प्रगति गरेको चाहन्थे। पहिलो, प्रेम, विश्‍वास अनि चोखो आचरणजस्ता गुणहरू विकास गरेको। दोस्रो, मानिसहरूसामु पवित्र लेखोटहरू पढ्‌ने, अर्ती दिने र सिकाउने काममा अझ सिपालु भएको। तिमोथिको उदाहरण मनमा राख्दै हामीले व्यावहारिक लक्ष्यहरू राख्दा आध्यात्मिक प्रगति गर्न कसरी मदत पुग्छ भनेर बुझ्नेछौँ। साथै आफ्नो सेवाको कामलाई अझ विस्तार गर्ने केही तरिका पनि छलफल गर्नेछौँ।

ख्रिष्टियन गुणहरू विकास गर्नुहोस्‌

४. फिलिप्पी २:१९-२२ अनुसार तिमोथि यहोवाको सेवामा किन उपयोगी हुन सके?

तिमोथि यहोवाको सेवामा किन उपयोगी हुन सके? तिनमा भएका उल्लेखनीय ख्रिष्टियन गुणहरूले गर्दा। (फिलिप्पी २:१९-२२ पढ्‌नुहोस्‌।) तिमोथि नम्र, वफादार, मेहनती र भरोसायोग्य थिए भन्‍ने कुरा पावलले लेखेको कुराबाट बुझ्न सक्छौँ। यसबाहेक तिनी भाइबहिनीलाई माया गर्थे र तिनीहरूमा गहिरो चासो राख्थे। त्यसैले पावल तिमोथिलाई छोराजस्तै प्यारो ठान्थे अनि तिनलाई महत्त्वपूर्ण जिम्मेवारीहरू सुम्पन हिचकिचाउँदैनथे। (१ कोरि. ४:१७) हामीले पनि यहोवालाई मन पर्ने गुणहरू विकास गऱ्‍यौँ भने उहाँले हामीलाई माया गर्नुहुनेछ र हामी मण्डलीको लागि अझ उपयोगी हुन सक्नेछौँ।—भज. २५:९; १३८:६.

आफूले विकास गर्न चाहेको कुनै ख्रिष्टियन गुण रोज्नुहोस्‌ (अनुच्छेद ५-६ हेर्नुहोस्‌)

५. (क) आफूमा कुन गुण विकास गर्ने भनेर तपाईँ कसरी निर्णय गर्न सक्नुहुन्छ? (ख) तस्बिरमा देखाइएकी जवान बहिनी अरूप्रति अझ समानुभूतिशील हुन कस्तो प्रयास गर्दै छिन्‌?

कुनै खास लक्ष्य राख्नुहोस्‌। तपाईँले आफ्नो व्यक्‍तित्वका कस्ता पक्षहरू सुधार्नुपर्ने छ भनेर प्रार्थनापूर्वक विचार गर्नुहोस्‌। आफूले विकास गर्न चाहेको कुनै एउटा खास गुण रोज्नुहोस्‌। उदाहरणको लागि, तपाईँ अझ धेरै समानुभूति देखाउन वा भाइबहिनीलाई मदत गर्ने बलियो इच्छा विकास गर्न चाहनुहुन्छ कि? अथवा तपाईँ अरूसित शान्तिमा रहन र क्षमाशील हुन अझै कोसिस गर्न सक्नुहुन्छ कि? आफूले सुधार गर्नुपर्ने क्षेत्रहरूबारे थाह पाउन आफ्नो घनिष्ठ साथीलाई सोध्न पनि सक्नुहुन्छ।—हितो. २७:६.

६. आफूमा कुनै गुण विकास गर्ने लक्ष्य हासिल गर्न तपाईँ कस्तो कदम चाल्न सक्नुहुन्छ?

आफ्नो लक्ष्यसम्म पुग्न कदम चाल्नुहोस्‌। तपाईँ कसरी यसो गर्न सक्नुहुन्छ? एउटा तरिका भनेको आफूले विकास गर्न चाहेको गुणबारे राम्ररी अध्ययन गर्नु हो। मानौँ, तपाईँ अझ क्षमाशील हुन चाहनुहुन्छ। यसको लागि सुरुमा बाइबलबाट अरूलाई क्षमा दिएका र नदिएका व्यक्‍तिहरूको विवरण पढेर मनन गर्न सक्नुहुन्छ। येसुको उदाहरण विचार गरौँ। उहाँ सधैँ अरूलाई क्षमा दिन तयार हुनुहुन्थ्यो। (लुका ७:४७, ४८) उहाँ मानिसहरूको गल्तीमा नभई तिनीहरूले गर्न सक्ने राम्रा कुराहरूमा ध्यान दिनुहुन्थ्यो। तर अर्कोतर्फ फरिसीहरू भने ‘अरूलाई तुच्छ ठान्थे।’ (लुका १८:९) बाइबलबाट यस्ता विवरणहरू अध्ययन गरेपछि हामी आफैलाई सोध्न सक्छौँ: ‘म अरूमा कस्ता गुणहरू देख्छु? तिनमा भएको कुनचाहिँ गुण म आफूमा पनि विकास गर्न चाहन्छु?’ कसैलाई क्षमा दिन तपाईँलाई गाह्रो भइरहेको छ भने त्यस व्यक्‍तिमा भएका राम्रा गुणहरू आफूले सम्झेजति सबै लेख्नुहोस्‌। त्यसपछि आफैलाई सोध्नुहोस्‌: ‘येसु हुनुभएको भए के उहाँले तिनलाई क्षमा गर्नुहुने थियो?’ यसरी अध्ययन गर्दा हामी आफ्नो सोचाइ सच्याउन सक्छौँ। हुनत हाम्रो चित्त दुखाएको व्यक्‍तिलाई क्षमा दिन सजिलो नहोला। तैपनि प्रयास गरिरह्‍यौँ भने तिनलाई क्षमा दिन सक्नेछौँ।

उपयोगी सीपहरू सिक्नुहोस्‌

सभाभवनको मर्मतसम्भार गर्न सिक्नुहोस्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌) *

७. हितोपदेश २२:२९ अनुसार यहोवा सिपालु कामदारहरूलाई के-कस्ता तरिकामा प्रयोग गर्नुहुन्छ?

तपाईँले राख्न सक्ने अर्को लक्ष्य भनेको उपयोगी सीपहरू सिक्नु हो। अहिले बेथेलभवन, सम्मेलनभवन र सभाभवनहरूको निर्माणमा थुप्रै कामदारको आवश्‍यकता छ र ती कामदारहरूमध्ये थुप्रैले अनुभवी भाइबहिनीसितै काम गरेर उपयोगी सीपहरू सिकेका छन्‌। चित्रमा पनि देखाइएजस्तै भाइहरूले र बहिनीहरूले पनि सम्मेलनभवन र सभाभवनहरूको मर्मतसम्भारको लागि चाहिने सीपहरू सिकिरहेका छन्‌। यसरी यी र अन्य तरिकामा “युगयुगका महाराजा” यहोवा र “राजाहरूका महाराजा” येसु ख्रिष्टले यस्ता दक्ष भाइबहिनीलाई चलाएर ठूलठूला कामहरू गरिरहनुभएको छ। (१ तिमो. १:१७; ६:१५; हितोपदेश २२:२९ पढ्‌नुहोस्‌।) हामी आफ्नो होइन, यहोवाको महिमाको लागि आफूमा भएका सीपहरू प्रयोग गर्न कडा मेहनत गर्न चाहन्छौँ।—युह. ८:५४.

८. कस्तो सीप सिक्ने भनेर तपाईँ कसरी निर्णय गर्न सक्नुहुन्छ?

कुनै खास लक्ष्य राख्नुहोस्‌। तपाईँ आफूमा कस्तो सीप विकास गर्न सक्नुहुन्छ? मण्डलीका एल्डरहरूलाई वा सायद तपाईँको क्षेत्रीय निरीक्षकलाई कस्तो सीप विकास गर्न सकिन्छ भनेर सोध्नुहोस्‌। उदाहरणको लागि, तिनीहरूले बोल्ने र सिकाउने सन्दर्भमा अझ प्रगति गर्न सुझाव दिए भने तपाईँले खास कुन बुँदामा प्रगति गर्नुपर्छ भनेर सोध्न सक्नुहुन्छ। त्यसपछि त्यस बुँदामा अझ प्रगति गर्न व्यावहारिक कदमहरू चाल्नुहोस्‌। तपाईँ कसरी यसो गर्न सक्नुहुन्छ?

९. कुनै सीप सिक्ने लक्ष्य हासिल गर्न तपाईँ कस्तो कदम चाल्न सक्नुहुन्छ?

आफ्नो लक्ष्यसम्म पुग्न कदम चाल्नुहोस्‌। मानौँ, तपाईँ आफ्नो सिकाउने क्षमता अझ तिखार्न चाहनुहुन्छ। त्यसको लागि तपाईँले पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌ पुस्तिका राम्रोसँग अध्ययन गर्न सक्नुहुन्छ। मध्यहप्ताको सभामा कुनै असाइनमेन्ट पाउनुभएको छ भने कुनै योग्य भाइलाई आफ्नो प्रस्तुति पहिला नै सुनिदिन र सुझाव दिन आग्रह गर्न सक्नुहुन्छ। आफूले पाएको असाइनमेन्ट पूरा गर्न राम्रोसँग तयारी गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ राम्रो वक्‍ता मात्र होइन, लगनशील र भरोसायोग्य पनि हुनुहुन्छ भनेर चिनिनुहुनेछ।—हितो. २१:५; २ कोरि. ८:२२.

१०. हामी कुनै क्षेत्रमा कसरी आफ्नो सीप तिखार्न सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌।

१० मानौँ, तपाईँले कुनै क्षेत्रमा आफ्नो सीप तिखार्ने लक्ष्य राख्नुभएको छ। तर आफ्नो सीमितताले गर्दा तपाईँलाई त्यो लक्ष्य हासिल गर्न गाह्रो छ भने नि? त्यसो हो भने हार नमान्‍नुहोस्‌। ग्यारि नाम गरेका भाइको अनुभव विचार गरौँ। तिनी राम्रोसँग पढ्‌न सक्दैनथे। मण्डलीको सभामा सबैको अगाडि ठूलो स्वरले पढ्‌नुपर्दा तिनलाई असाध्यै अप्ठ्यारो लाग्थ्यो। तैपनि तिनले त्यस क्षेत्रमा प्रगति गर्न कडा परिश्रम गरिरहे। आफूले पाएको तालिमले गर्दा अहिले सभा, सम्मेलन र अधिवेशनहरूमा भाषण दिन सक्षम भएको कुरा तिनी बताउँछन्‌।

११. यहोवाको सेवामा अझ धेरै गर्न तिमोथिलाई जस्तै हामीलाई पनि केले मदत गर्छ?

११ के तिमोथि राम्रो वक्‍ता वा शिक्षक बन्‍न सके? यस विषयमा बाइबलले केही पनि बताएको छैन। तर पावलले दिएको सल्लाहअनुसार चल्दा तिमोथिले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सके भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (२ तिमो. ३:१०) त्यसैगरि हामीले पनि आफूमा विभिन्‍न सीप विकास गऱ्‍यौँ भने यहोवाको सेवामा अझ धेरै गर्न सक्नेछौँ।

अरूको सेवा गर्ने तरिकाहरू खोज्नुहोस्‌

१२. अरूले तपाईँलाई कसरी मदत गरेका छन्‌?

१२ भाइबहिनीले हामीलाई विभिन्‍न तरिकामा मदत गर्छन्‌। जस्तै, हामी बिरामी भएकोले अस्पतालमा छौँ भने अस्पताल सम्पर्क समिति वा बिरामी भेट्‌ने समूहका एल्डरहरू हामीलाई भेट्‌न आउँदा हामी निकै आभारी हुन्छौँ। हामीले जीवनमा कुनै गाह्रो अवस्थाको सामना गरिरहेका छौँ र त्यस्तो अवस्थामा मण्डलीका एल्डरहरूले हाम्रो कुरा सुन्‍न र सान्त्वना दिन समय निकाल्दा हामी कृतज्ञ हुन्छौँ। हामीलाई आफ्नो बाइबल अध्ययनमा मदत चाहिँदा कुनै अनुभवी अग्रगामी हामीसँगै अध्ययनमा बसेर केही सुझाव दिँदा हामी खुसी हुन्छौँ। यी भाइबहिनी पनि यसरी मदत गर्न पाउँदा खुसी हुन्छन्‌। त्यसैले ती भाइबहिनीजस्तै आनन्दित हुने हो भने हामी पनि अरूलाई मदत गर्न अग्रसर हुनुपर्छ। येसुले भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषि. २०:३५) तपाईँले पनि यी तथा अन्य तरिकामा यहोवाको सेवा अझ धेरै गर्ने लक्ष्य राख्नुभएको छ भने त्यस लक्ष्यसम्म पुग्न तपाईँलाई केले मदत गर्छ?

१३. कुनै लक्ष्य राख्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१३ तपाईँ यस्तो सोच्नुहोला, ‘म मण्डलीको लागि अझ धेरै गर्न चाहन्छु।’ तर तपाईँले स्पष्ट लक्ष्य राख्नुभएको छैन भने त्यो कसरी हासिल गर्ने र त्यो कहिले हासिल भयो भनेर थाह पाउन गाह्रो हुन सक्छ। त्यसैले स्पष्ट र तोकेरै लक्ष्य राख्नुहोस्‌। आफ्नो लक्ष्य र त्यो हासिल गर्ने योजना लेखेर राख्न पनि सक्नुहुन्छ।

१४. लक्ष्यहरू राख्दा हामी किन परिस्थितिअनुसार छाँटकाँट गर्न तयार हुनुपर्छ?

१४ लक्ष्यहरू राख्दा हामी परिस्थितिअनुसार छाँटकाँट गर्न पनि तयार हुनुपर्छ। किन? किनकि हाम्रो परिस्थिति सधैँ उस्तै रहँदैन। उदाहरणको लागि, हामी पावललाई विचार गर्न सक्छौँ। प्रेषित पावलले थिस्सलोनिकामा नयाँ मण्डली स्थापना गर्न मदत गरेका थिए। तिनले पक्कै पनि त्यहीँ बसेर त्यहाँका नयाँ ख्रिष्टियनहरूलाई मदत गर्ने लक्ष्य राखेका थिए। तर विरोधीहरूले पावललाई सहरबाट लखेटे। (प्रेषि. १७:१-५, १०) यदि पावल त्यहीँ बसेका भए अरू भाइबहिनीको पनि ज्यान खतरामा पर्न सक्थ्यो। तर पावलले हार मानेनन्‌। तिनी नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्न तयार भए। पछि तिनले थिस्सलोनिका सहरका नयाँ ख्रिष्टियनहरूलाई आध्यात्मिक रूपमा मदत गर्न तिमोथिलाई त्यहाँ पठाए। (१ थिस्स. ३:१-३) तिमोथि आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न राजी भएको देख्दा थिस्सलोनिकाका भाइबहिनी धेरै खुसी भएको हुनुपर्छ।

१५. परिस्थिति परिवर्तन हुँदा हाम्रो लक्ष्यमा कस्तो असर पर्न सक्छ? एउटा अनुभव बताउनुहोस्‌।

१५ पावलले थिस्सलोनिकामा हासिल गरेको अनुभवबाट हामी धेरै कुरा सिक्न सक्छौँ। हामीले पनि कुनै लक्ष्य राखेका थियौँ होला तर परिस्थिति परिवर्तन भएकोले त्यस लक्ष्यसम्म पुग्न असमर्थ हुन सक्छौँ। (उप. ९:११) यदि तपाईँले पनि त्यस्तै अनुभव गर्नुभएको छ भने आफूले हासिल गर्न सक्ने अर्को कुनै लक्ष्य राख्न सक्नुहुन्छ। यस सन्दर्भमा हामी टेड र हाइडी भन्‍ने एक दम्पतीको उदाहरण विचार गर्न सक्छौँ। पहिला तिनीहरू दुवै जना बेथेलमा सेवा गर्थे। पछि स्वास्थ्य समस्याले गर्दा तिनीहरूले बेथेल सेवा छोड्‌नुपऱ्‍यो। तर यहोवाप्रतिको प्रेमले गर्दा तिनीहरूले आफ्नो सेवा विस्तार गर्ने अरू तरिकाहरू खोज्न थाले। जस्तै, सुरुमा टेड र हाइडीले नियमित अग्रगामी सेवा गरे र पछि तिनीहरूलाई विशेष अग्रगामीको रूपमा खटाइयो। टेडलाई कार्यवाहक क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने तालिम पनि दिइयो। तर एउटा निश्‍चित उमेर पुगेपछि क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न नपाउने निर्देशन आएपछि तिनीहरूले यो सेवा पनि छोड्‌नुपऱ्‍यो। सुरुमा त तिनीहरू निराश भए तर तिनीहरूले यहोवाको सेवा गर्ने अरू तरिकाहरू सोच्न थाले। टेड भन्छन्‌: “हामीले आफ्नो अनुभवबाट विभिन्‍न तरिकामा यहोवाको सेवा गर्न सकिन्छ भनेर सिक्यौँ।”

१६. गलाती ६:४ बाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१६ हाम्रो जीवनमा हुने सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। त्यसैले हामीले पाएका सुअवसरहरूले गर्दा यहोवा हामीलाई अनमोल ठान्‍नुहुन्छ भन्‍ने सोचाइ राख्नु हुँदैन अनि हामीले नपाएको सुअवसर अरूले पाएको छ भने आफूलाई उनीहरूसित तुलना गर्नु हुँदैन। हाइडी भन्छिन्‌: “हामीले आफूलाई अरूसित तुलना गऱ्‍यौँ भने मनोशान्ति गुम्न सक्छ।” (गलाती ६:४ पढ्‌नुहोस्‌।) यहोवाको लागि अझ उपयोगी हुने तरिकाहरू खोज्नु महत्त्वपूर्ण छ। *

१७. थप सेवाका सुअवसरको लागि योग्य हुन तपाईँ के गर्न सक्नुहुन्छ?

१७ तपाईँले आफ्नो जीवन सरल बनाउनुभयो र अनावश्‍यक ऋण लिनुभएन भने तपाईँ यहोवाको सेवामा अझ धेरै गर्न सक्नुहुन्छ। लामो समयमा हासिल हुने लक्ष्यसम्म पुग्न अहिले ससाना लक्ष्यहरू राख्नुहोस्‌। उदाहरणको लागि, तपाईँ नियमित अग्रगामी सेवा गर्न चाहनुहुन्छ भने अहिल्यैदेखि हरेक महिना सहायक अग्रगामी सेवा गर्नुभए कसो होला? सहायक सेवकको रूपमा सेवा गर्न चाहनुहुन्छ भने अहिल्यैदेखि क्षेत्र सेवामा धेरै समय बिताउन सक्नुहुन्छ कि? अथवा मण्डलीका वृद्ध र बिरामी भाइबहिनीलाई भेट्‌न जान सक्नुहुन्छ कि? तपाईँले अहिले हासिल गरेका अनुभवहरूले भविष्यमा थप सेवाका सुअवसर पाउन मदत गर्नेछ। त्यसैले अहिले जुन असाइनमेन्ट पाउनुभएको छ, त्यो राम्रोसित पूरा गर्ने सङ्‌कल्प गर्नुहोस्‌।—रोमी १२:११.

आफूले हासिल गर्न सक्ने कुनै खास लक्ष्य राख्नुहोस्‌ (अनुच्छेद १८ हेर्नुहोस्‌) *

१८. तस्बिरमा देखाएकी बहिनी बेभर्लिबाट तपाईँले के सिक्नुभयो?

१८ आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न उमेरले छेक्दैन। पचहत्तर वर्षीया बहिनी बेभर्लिको अनुभव विचार गरौँ। गम्भीर स्वास्थ्य समस्याले गर्दा तिनलाई हिँडडुल गर्न गाह्रो छ। तैपनि तिनी स्मरणार्थको अभियानमा पूरापूर भाग लिन चाहन्थिन्‌। त्यसैले तिनले तोकेरै लक्ष्यहरू राखिन्‌। अभियानको लागि आफूले राखेका लक्ष्यहरू पूरा गर्न सक्दा तिनी असाध्यै खुसी भइन्‌। तिनको यस्तो प्रयास देखेर अरूले पनि साक्षीकार्यमा अझ धेरै भाग लिन प्रोत्साहन पाए। वृद्ध भाइबहिनी आफूले चाहेजति गर्न सक्दैनन्‌ तर तिनीहरूले यहोवाको लागि जे-जति गर्न सकेका छन्‌, त्यसको उहाँ कदर गर्नुहुन्छ।—भज. ७१:१७, १८.

१९. हामीले कस्ता आध्यात्मिक लक्ष्यहरू राख्न सक्छौँ?

१९ आफूले हासिल गर्न सक्ने लक्ष्यहरू राख्नुहोस्‌। यहोवासित अझ नजिक हुन मदत गर्ने गुणहरू विकास गर्नुहोस्‌। यहोवा अनि उहाँको सङ्‌गठनको लागि अझ उपयोगी हुने सीपहरू सिक्नुहोस्‌। भाइबहिनीको सकेजति सेवा गर्ने तरिकाहरू खोज्नुहोस्‌। * यहोवाको आशिष्‌ले गर्दा तिमोथिको जस्तै तपाईँको पनि ‘प्रगति सबै मानिससामु स्पष्टै देखिनेछ।’—१ तिमो. ४:१५.

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

^ अनु. 5 तिमोथि सुसमाचार सुनाउने काममा निकै सिपालु थिए। तर प्रेषित पावलले तिनलाई आध्यात्मिक प्रगति गरिरहन प्रोत्साहन दिए। पावलको सल्लाह पालन गर्दा तिमोथि यहोवाको लागि अझ उपयोगी हुन सक्थे र तिनले भाइबहिनीलाई विभिन्‍न तरिकामा मदत गर्न सक्थे। तिमोथिजस्तै के तपाईँ पनि यहोवा र भाइबहिनीको सेवा गर्न इच्छुक हुनुहुन्छ? पक्कै हुनुहुन्छ। यसको लागि तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ? आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न तपाईँले के गर्नुपर्छ?

^ अनु. 1 थप व्याख्या: आध्यात्मिक लक्ष्यहरूमा तनमनले यहोवाको सेवा गर्न र उहाँलाई खुसी बनाउन हामीले गर्ने सबै कुरा समावेश छ।

^ अनु. 16 यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताबको अध्याय १०, अनुच्छेद ६-९ मा भएको “आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नुहोस्‌” हेर्नुहोस्‌।

^ अनु. 19 सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ६०, “प्रगति गरिरहनुहोस्‌” हेर्नुहोस्‌।

^ अनु. 63 तस्बिरको व्याख्या: एक भाइ दुई जना बहिनीलाई मर्मतसम्भारको तालिम दिँदै छन्‌। ती बहिनीहरू आफूले सिकेको नयाँ सीप लागू गर्दै छन्‌।

^ अनु. 65 तस्बिरको व्याख्या: घरमै बस्नुपर्ने अवस्थाकी एक बहिनी टेलिफोन साक्षीमा मानिसहरूलाई स्मरणार्थ उत्सवको निम्तो दिँदै छिन्‌।