सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

कुनै ख्रिष्टियनले आफ्नी पत्नीसित धर्मशास्त्रीय आधारविना सम्बन्धविच्छेद गर्छन्‌ र अर्को विवाह गर्छन्‌ भने मण्डलीले तिनको पहिलाको वैवाहिक सम्बन्ध र नयाँ वैवाहिक सम्बन्धलाई कुन दृष्टिकोणले हेर्छ?

यस्तो अवस्थामा मण्डलीको नजरमा तिनको पहिलाको वैवाहिक सम्बन्ध अन्त हुन्छ र मण्डलीले नयाँ वैवाहिक सम्बन्धलाई कानुनी मान्यता पाएको रूपमा हेर्छ। यस्तो निष्कर्षमा पुग्नुको कारण बुझ्न येसुले सम्बन्धविच्छेद र पुनःविवाहबारे के भन्‍नुभयो, विचार गरौँ।

येसुले मत्ति १९:९ मा वैवाहिक सम्बन्ध अन्त गर्ने एक मात्र धर्मशास्त्रीय आधारबारे बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।” येसुका यी शब्दहरूबाट हामी यी दुई वटा कुरा सिक्न सक्छौँ: (१) सम्बन्धविच्छेद गर्न सक्ने एक मात्र धर्मशास्त्रीय आधार अवैध यौनसम्बन्ध हो र (२) धर्मशास्त्रीय आधारविना आफ्नी पत्नीसित सम्बन्धविच्छेद गरेर अर्कीसित विवाह गर्ने पुरुषले व्यभिचार गरिरहेको हुन्छ। a

के येसुका शब्दहरूको अर्थ अवैध यौनसम्बन्ध राख्ने र आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्ने पुरुष पुनःविवाह गर्न धर्मशास्त्रीय आधारमा स्वतन्त्र हुन्छ भन्‍ने हो? त्यसो त पक्कै होइन। यदि पतिले व्यभिचार गर्छन्‌ भने तिनकी निर्दोष पत्नीले तिनलाई क्षमा दिने कि नदिने भनेर निर्णय गर्छिन्‌। पत्नीले तिनलाई क्षमा नदिने र सम्बन्धविच्छेद गर्ने निर्णय गर्छिन्‌ भने सम्बन्धविच्छेदको प्रक्रिया पूरा भइसकेको अवस्थामा दुवै जना पुनःविवाह गर्न स्वतन्त्र हुन्छन्‌।

अर्कोतर्फ, निर्दोष पत्नीको इच्छा आफ्नो वैवाहिक सम्बन्धलाई कायम राख्ने हुन सक्छ। त्यसैले उनी आफ्नो पतिलाई क्षमा दिन तयार हुन सक्छिन्‌। यदि व्यभिचारी पतिले पत्नीको क्षमा दिने प्रस्तावलाई इन्कार गर्छन्‌ र एकतर्फी रूपमा सम्बन्धविच्छेद गर्छन्‌ भने नि? पत्नी क्षमा दिन र आफ्नो वैवाहिक सम्बन्ध कायम राख्न तयार भएकीले ती पति पुनःविवाह गर्न धर्मशास्त्रीय आधारमा स्वतन्त्र हुँदैनन्‌। यदि पुनःविवाह गर्न धर्मशास्त्रीय आधारमा स्वतन्त्र नभए तापनि पतिले अर्को विवाह गर्छन्‌ भने तिनले फेरि व्यभिचार गरिरहेका हुन्छन्‌। यस्तो अवस्थामा मण्डलीका एल्डरहरूले यो मामिला सम्हाल्न फेरि न्यायिक समिति गठन गर्नुपर्ने हुन्छ।—१ कोरि. ५:१, २; ६:९, १०.

धर्मशास्त्रीय आधारमा पुनःविवाह गर्न स्वतन्त्र नभएको पुरुषले पुनःविवाह गर्छन्‌ भने तिनको पहिलाको वैवाहिक सम्बन्ध र नयाँ वैवाहिक सम्बन्धलाई मण्डलीले कुन दृष्टिकोणले हेर्छ? पहिलाको वैवाहिक सम्बन्ध के अहिले पनि धर्मशास्त्रीय आधारमा मान्य हुन्छ? के निर्दोष पत्नीले पहिलाको पतिलाई क्षमा दिने कि नदिने भनेर अझै निर्णय गर्न सक्छिन्‌? के मण्डलीले नयाँ वैवाहिक सम्बन्धलाई व्यभिचारको रूपमा हेर्छ?

विगतमा निर्दोष पत्नी जीवित होउन्जेल, उनले पुनःविवाह नगरुन्जेल र उनी अवैध यौनसम्बन्धको दोषी नहोउन्जेल उनको पतिको नयाँ वैवाहिक सम्बन्धलाई व्यभिचारको रूपमा हेरिन्थ्यो। तर येसुले सम्बन्धविच्छेद र पुनःविवाहको विषयमा कुरा गर्नुहुँदा निर्दोष पत्नीको विषयमा उल्लेख गर्नुभएको थिएन। बरु उहाँले कुनै पुरुषले धर्मशास्त्रीय आधार नभए तापनि आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छन्‌ र पुनःविवाह गर्छन्‌ भने त्यो व्यभिचार हो भन्‍नुभयो। यस्तो अवस्थामा सम्बन्धविच्छेद र पुनःविवाहले पहिलाको वैवाहिक सम्बन्धलाई अन्त गर्छ।

“जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।”—मत्ति १९:९

दोषी पतिले एकतर्फी रूपमा सम्बन्धविच्छेद र पुनःविवाह गरेर वैवाहिक सम्बन्ध अन्त गरेकोले निर्दोष पत्नीले आफ्नो वैवाहिक सम्बन्ध कायम राख्ने कि नराख्ने भनेर निर्णय गर्न सक्दिनन्‌। पतिको निर्णयमा उनको कुनै हात नभएकोले उनी सबै प्रकारको दोषबाट मुक्‍त हुन्छिन्‌। यसबाहेक निर्दोष पत्नीको मृत्यु भएको, उनले पुनःविवाह गरेको वा उनी अवैध यौनसम्बन्धको दोषी भएको होस्‌ या नहोस्‌, मण्डलीले नयाँ वैवाहिक सम्बन्धलाई कानुनी मान्यता पाएको रूपमा हेर्छ। b

माथिको उदाहरणमा पतिले व्यभिचार गरेको कारण सम्बन्धविच्छेद भएको थियो। यदि पतिले व्यभिचार गरेका थिएनन्‌ तर सम्बन्धविच्छेद गरे र पुनःविवाह गरे भने नि? अथवा पतिले सम्बन्धविच्छेद गर्नुअघि अवैध यौनसम्बन्ध राखेका थिएनन्‌ तर सम्बन्धविच्छेद गरेपछि अवैध यौनसम्बन्ध राखे र पत्नी क्षमा दिन तयार हुँदाहुँदै पनि पतिले पुनःविवाह गरे भने नि? यी सबै अवस्थामा सम्बन्धविच्छेद गरेर पुनःविवाह गर्नु व्यभिचार भएकोले पहिलाको वैवाहिक सम्बन्ध अन्त हुन्छ र नयाँ वैवाहिक सम्बन्धले कानुनी मान्यता पाउँछ। नोभेम्बर १५, १९७९ अङ्‌कको प्रहरीधरहरा, (अङ्‌ग्रेजी) पृष्ठ ३२ मा यसो भनिएको थियो: “तिनी अब नयाँ वैवाहिक सम्बन्धमा बाँधिसकेका छन्‌। त्यसैले यसलाई सजिलै अन्त गर्न सकिँदैन र तिनी पहिलाकी पत्नीकहाँ फर्कन सक्दैनन्‌। सम्बन्धविच्छेद, व्यभिचार र पुनःविवाहले गर्दा पहिलाको वैवाहिक सम्बन्ध अन्त भइसकेको छ।”

यस नयाँ बुझाइले वैवाहिक सम्बन्धको पवित्रता र व्यभिचारको गम्भीरतालाई हल्का बनाउँदैन। कुनै पुरुषले धर्मशास्त्रीय आधार नभए तापनि आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छन्‌ र धर्मशास्त्रीय आधारमा पुनःविवाह गर्न स्वतन्त्र नभए तापनि अर्को विवाह गर्छन्‌ भने व्यभिचारको आरोपमा न्यायिक समिति गठन गर्नुपर्छ। (तिनले अहिले विवाह गरेकी स्त्री ख्रिष्टियन हुन्‌ भने व्यभिचारको आरोपमा ती स्त्रीको लागि पनि न्यायिक समिति गठन गरिन्छ।) नयाँ वैवाहिक सम्बन्धलाई मण्डलीले व्यभिचारी विवाह नठाने तापनि उक्‍त पुरुष धेरै वर्षसम्म, अझ भन्‍नुपर्दा तिनको गलत कामले गर्दा चोट पुगेकाहरूले त्यसलाई नबिर्सेसम्म वा तिनमा लागेको कलङ्‌क नहटेसम्म तिनी मण्डलीमा विशेष सुअवसरहरू पाउन योग्य हुनेछैनन्‌। एल्डरहरूले तिनलाई मण्डलीमा सेवाको कुनै सुअवसर दिनुअघि तिनले धोका दिएको पहिलाकी पत्नी र तिनले त्यागेका नाबालिग छोराछोरीको हालको अवस्था पनि राम्ररी विचार गर्नेछन्‌।—मला. २:१४-१६.

धर्मशास्त्रविपरीत सम्बन्धविच्छेद र पुनःविवाह गर्दा हुने गम्भीर नतिजाहरूलाई विचार गर्दै ख्रिष्टियनहरूले वैवाहिक प्रबन्धको पवित्रताप्रति यहोवाको जस्तै दृष्टिकोण विकास गर्छन्‌।—उप. ५:४, ५; हिब्रू १३:४.

a सजिलोको लागि हामी व्यभिचारी पक्षलाई पुरुषको रूपमा अनि निर्दोष पक्षलाई स्त्रीको रूपमा उल्लेख गर्नेछौँ। तर मर्कुस १०:११, १२ मा येसुले बताउनुभएअनुसार यो सल्लाह पुरुष र स्त्री दुवैलाई लागू हुन्छ।

b यो हाम्रो बुझाइमा गरिएको छाँटकाँट हो। हाम्रो पहिलाको बुझाइअनुसार निर्दोष पत्नीको मृत्यु नहोउन्जेल, उनले पुनःविवाह नगरुन्जेल वा उनी अवैध यौनसम्बन्धको दोषी नहोउन्जेल यस्तो वैवाहिक सम्बन्धलाई व्यभिचारी विवाहको रूपमा हेरिन्थ्यो।