सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १५

‘बोलीको सन्दर्भमा उदाहरण बन्‍नुहोस्‌’

‘बोलीको सन्दर्भमा उदाहरण बन्‍नुहोस्‌’

‘बोलीको सन्दर्भमा विश्‍वासी जनहरूको निम्ति उदाहरण बन।’—१ तिमो. ४:१२.

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

परिचय *

१. बोल्ने क्षमता हामीले कसबाट पायौँ?

 मायालु बुबा यहोवाले मानिसलाई बोल्ने क्षमतासहित सृष्टि गर्नुभयो। त्यही क्षमता प्रयोग गरेर पहिलो मानिस आदमले स्वर्गमा बस्नुहुने बुबासित कुरा गर्न सक्थे। तिनले नयाँ-नयाँ शब्द बनाएर आफ्नो शब्दभण्डार बढाउन सक्थे। यहोवाले जीवजन्तुको नाम राख्न दिनुभएको जिम्मेवारी पूरा गर्न पनि तिनले त्यही क्षमता प्रयोग गरे। (उत्प. २:१९) आदम आफ्नी सुन्दर श्रीमती हव्वासित पहिलो चोटि कुरा गर्दा असाध्यै खुसी भए।—उत्प. २:२२, २३.

२. विगतमा र आज बोलीको कसरी दुरुपयोग भएको छ?

तर चाँडै बोल्ने क्षमताको दुरुपयोग हुन थाल्यो। सैतानले हव्वासित झूट बोलेको कारण मानिसले पाप गर्न पुगे र त्रुटिपूर्ण भए। (उत्प. ३:१-४) आदमले पनि झूट बोलेर जिब्रोको दुरुपयोग गरे र आफूले गरेको गल्तीको दोष हव्वालाई लगाए अनि पछि यहोवालाई समेत दोष लगाए। (उत्प. ३:१२) हाबिललाई मारेपछि कयिनले यहोवासित झूट बोले। (उत्प. ४:९) पछि कयिनको सन्तान लेमेकले रचेको कविताबाट त्यतिबेला हत्याहिंसा कत्तिको व्याप्त थियो भन्‍ने कुरा बुझ्न सक्छौँ। (उत्प. ४:२३, २४) आज अवस्था कस्तो छ? राजनैतिक नेताहरू खुलेआम फोहोर बोली बोल्छन्‌। अनि अहिले फोहोर बोली नभएको फिल्म भेट्टाउनै गाह्रो छ। स्कुलमा र काम गर्ने ठाउँमा पनि मानिसहरू जथाभाबी बोल्ने गरेको हामी सुन्‍ने गर्छौँ। त्यस्तो छाडा बोलीले संसारको नैतिक अवस्था कत्ति खस्कँदै गइरहेको छ भन्‍ने कुरा प्रस्ट देखाउँछ।

३. हामी कुन कुरामा होसियार हुनुपर्छ र हामी यस लेखमा के छलफल गर्नेछौँ?

होसियार भएनौँ भने दिनदिनै त्यस्तो खराब बोली सुन्दा-सुन्दा हाम्रो मुखबाट पनि त्यस्तै बोली निस्कन सक्छ। हामी ख्रिष्टियनहरू पक्कै पनि यहोवालाई खुसी बनाउन चाहन्छौँ। तर त्यसको लागि अश्‍लील बोली नबोल्नु मात्र पर्याप्त छैन। बरु परमेश्‍वरले दिनुभएको यस उपहारको सही प्रयोग पनि गर्नुपर्छ। त्यसो गर्ने एउटा तरिका यहोवाको प्रशंसा गर्नु हो। यस लेखमा हामी (१) साक्षीकार्यमा, (२) सभामा र (३) दैनिक कुराकानीमा कसरी यहोवाको प्रशंसा गर्न सक्छौँ भनेर विचार गर्नेछौँ। तर त्योभन्दा अघि हाम्रो बोली कस्तो छ भन्‍ने कुरामा यहोवा किन चासो राख्नुहुन्छ, छलफल गरौँ।

हाम्रो बोलीमा यहोवा चासो राख्नुहुन्छ

हाम्रो बोलीले हाम्रो हृदयको कुरा कसरी प्रकट गर्छ? (अनुच्छेद ४-५ हेर्नुहोस्‌) *

४. मलाकि ३:१६ अनुसार हाम्रो बोलीमा यहोवा किन चासो राख्नुहुन्छ?

मलाकि ३:१६ पढ्‌नुहोस्‌। आफ्नो बोलीद्वारा यहोवाको भय मानेको र उहाँको नामबारे सोचेको देखाउनेहरूको नाम यहोवाले ‘सम्झनाको पुस्तकमा’ किन लेख्नुहुन्छ, सोच्नुहोस्‌ त! हामीले बोल्ने कुराले हाम्रो हृदयमा के छ भनेर प्रकट गर्छ। येसुले भन्‍नुभयो: “हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।” (मत्ति १२:३४) हाम्रो बोलीले हामी यहोवालाई कत्तिको प्रेम गर्छौँ भनेर देखाउँछ। यहोवा उहाँलाई प्रेम गर्नेहरू नयाँ संसारमा आनन्दित भई सधैँभरि बाँचेको चाहनुहुन्छ।

५. (क) हाम्रो बोली र उपासनाबीच कस्तो सम्बन्ध छ? (ख) तस्बिरमा देखाइएझैँ यहोवालाई खुसी बनाउन चाहन्छौँ भने हामीले कस्तो बोली बोल्नु हुँदैन?

हाम्रो बोलीले यहोवा हाम्रो उपासना स्विकार्नुहुन्छ कि हुन्‍न भनेर निर्धारण गर्छ। (याकु. १:२६) यहोवालाई प्रेम नगर्ने केही मानिस रुखो बोली बोल्छन्‌ अनि अरूसित रिसाएर र होच्याएर बोल्ने गर्छन्‌। (२ तिमो. ३:१-५) हामी पक्कै पनि तिनीहरूजस्तो हुन चाहँदैनौँ। हामी आफ्नो बोलीद्वारा यहोवालाई खुसी बनाउन चाहन्छौँ। हामी सभामा वा साक्षीकार्यमा दयालु बोली बोल्छौँ होला तर घरमा परिवारका सदस्यहरूसित रुखो र कठोर बोली बोल्छौँ भने के त्यसले यहोवालाई खुसी बनाउँछ होला?—१ पत्रु. ३:७.

६. किम्बर्ली बहिनीको राम्रो बोलीले गर्दा नतिजा कस्तो भयो?

आफ्नो बोल्ने क्षमता सही तरिकामा प्रयोग गर्दा हामीले आफूलाई यहोवाको उपासकको रूपमा चिनाइरहेका हुन्छौँ। यसो गर्दा मानिसहरूले “परमेश्‍वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्‍नता” स्पष्टसित देख्न सक्छन्‌। (मला. ३:१८) किम्बर्ली नाम गरेकी बहिनीको अनुभव विचार गरौँ। * तिनलाई स्कुलमा साथीसँगै मिलेर एउटा प्रोजेक्टमा काम गर्न दिइयो। सँगै काम गरेपछि तिनको साथीले तिनी अरू साथीहरूभन्दा निकै भिन्‍न भएको कुरा याद गरिन्‌। तिनी अरूको कुरा काट्‌दिनथिन्‌, मित्रैलो भएर बोल्थिन्‌ र छाडा बोली बोल्दिनथिन्‌। यस्तो बोलीले तिनको साथीमा कौतूहलता जगायो र उनी बाइबल अध्ययन गर्न राजी भइन्‌। हामीले मानिसहरूलाई बाइबलतर्फ आकर्षित गर्ने किसिमको बोली बोल्दा त्यसले यहोवालाई धेरै खुसी बनाउँछ!

७. तपाईँ आफ्नो बोल्ने क्षमता कुन तरिकामा प्रयोग गर्न चाहनुहुन्छ?

हामी सबै जना यहोवाको महिमा हुने र हाम्रा भाइबहिनीसित घनिष्ठ बनाउने तरिकामा बोल्न चाहन्छौँ। त्यसैले आउनुहोस्‌, ‘बोलीको सन्दर्भमा उदाहरण बन्‍ने’ केही व्यावहारिक तरिका विचार गरौँ।

साक्षीकार्यमा उदाहरण बन्‍नुहोस्‌

साक्षीकार्यमा दयालु बोली बोल्दा यहोवा खुसी हुनुहुन्छ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

८. बोलीको सन्दर्भमा येसुले हाम्रो लागि कस्तो उदाहरण बसाल्नुभयो?

अरूले रिस उठाउँदा दयालु भई र आदरभावसहित बोल्नुहोस्‌। मानिसहरूले येसुलाई उहाँको सेवाको कामको दौडान पियक्कड, घिचुवा, दियाबलको चाकर, विश्रामदिन तोड्‌ने पापी र ईश्‍वरनिन्दक भनेर समेत आरोप लगाए। (मत्ति ११:१९; २६:६५; लुका ११:१५; युह. ९:१६) तर येसुले रिसको झोकमा जथाभाबी बोल्नुभएन। येसुले जस्तै हामीले पनि अरूले रुखो बोली बोल्दा जस्तालाई त्यस्तै गर्नु हुँदैन। (१ पत्रु. २:२१-२३) तर तिनीहरूसित दयालु बोली बोल्न सजिलो भने छैन। (याकु. ३:२) त्यस्तो बेला हामीलाई केले मदत गर्न सक्छ?

९. साक्षीकार्यमा आफ्नो बोलीलाई काबूमा राख्न केले मदत गर्न सक्छ?

घरधनीले नकारात्मक प्रतिक्रिया देखाउँदा त्यसैमा मात्र ध्यान नदिनुहोस्‌। स्याम भन्‍ने भाइ यसो भन्छन्‌: “घरधनीले सत्य सुन्‍नु महत्त्वपूर्ण छ र तिनी परिवर्तन हुन सक्छन्‌ भन्‍ने कुरामा ध्यान दिने कोसिस गर्नुहोस्‌।” कहिलेकाहीँ हामी गलत समयमा पुगेकोले मात्र घरधनी रिसाएका हुन सक्छन्‌। साक्षीकार्यमा रिसाउने मानिस भेट्‌दा हामी के गर्न सक्छौँ भन्‍ने सन्दर्भमा लुसिया नामकी बहिनीको उदाहरण विचार गरौँ। तिनी त्यस्तो बेला यहोवालाई शान्त रहन सकूँ र आफ्नो मुखबाट कठोर र अनादरपूर्ण बोली ननिस्कोस्‌ भनेर छोटो प्रार्थना गर्छिन्‌। हामी पनि त्यसै गर्न सक्छौँ।

१०. पहिलो तिमोथि ४:१३ अनुसार हामीले कस्तो लक्ष्य राख्नुपर्छ?

१० अझ प्रभावकारी शिक्षक बन्‍नुहोस्‌। तिमोथि साक्षीकार्यमा अनुभवी थिए। तैपनि तिनले सिकाउने काममा उन्‍नति गरिरहनुपर्थ्यो। (१ तिमोथि ४:१३ पढ्‌नुहोस्‌।) हामी साक्षीकार्यमा कसरी प्रभावकारी शिक्षक बन्‍न सक्छौँ? यसको लागि हामीले राम्रो तयारी गर्नै पर्छ। उन्‍नति गर्नको लागि हामीसँग थुप्रै साधन उपलब्ध छन्‌। हामी पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌ भन्‍ने पुस्तिका अनि हाम्रो ख्रिष्टियन जीवन र सेवा अभ्यास पुस्तिका-को “कुराकानी गर्ने सीप तिखारौँ” भन्‍ने भागमा पाइने सल्लाह लागू गर्न सक्छौँ। के तपाईँ यी साधनहरूको सदुपयोग गर्दै हुनुहुन्छ? राम्ररी तयारी गऱ्‍यौँ भने डर कम हुनेछ र विश्‍वस्त भएर बोल्न सक्नेछौँ।

११. केही ख्रिष्टियन कसरी प्रभावकारी शिक्षक बन्‍न सकेका छन्‌?

११ हामी पनि मण्डलीका अरू भाइबहिनीको सिकाउने कला हेरेर अझ प्रभावकारी शिक्षक बन्‍न सक्छौँ। माथि उल्लेख गरिएका स्याम आफ्नो मण्डलीका केही भाइबहिनी कसरी प्रभावकारी शिक्षक बन्‍न सके भनेर सोच्ने गर्छन्‌। ती भाइ उनीहरूको सिकाउने तरिका याद गर्छन्‌ र त्यसै गर्ने कोसिस गर्छन्‌। तालिया भन्‍ने बहिनी पनि मण्डलीका अनुभवी वक्‍ताहरूले जनभाषणका बुँदाहरू कसरी विस्तार गर्छन्‌ भनेर ध्यान दिएर सुन्‍ने गर्छिन्‌। यसो गर्दा तिनले घरधनीका प्रश्‍नहरूको राम्ररी जवाफ दिन र तर्क गर्न सिकेकी छिन्‌।

सभामा उदाहरण बन्‍नुहोस्‌

सभामा मनैदेखि गीत गाउँदा यहोवाको प्रशंसा हुन्छ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)

१२. कसै-कसैलाई के गर्न गाह्रो लाग्न सक्छ?

१२ हामी सबै जना सभामा गीत गाएर अनि राम्ररी तयारी गरेको टिप्पणी दिएर सभामा भाग लिन सक्छौँ। (भज. २२:२२) कसै-कसैलाई सभामा गीत गाउन वा टिप्पणी दिन गाह्रो लाग्न सक्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ कि? लाग्छ भने केही भाइबहिनीले त्यस्तो डर कसरी हटाउन सके भन्‍ने कुरा तपाईँ पक्कै बुझ्न चाहनुहुन्छ होला।

१३. सभामा मनैदेखि गीत गाउन तपाईँलाई केले मदत गर्न सक्छ?

१३ मनैदेखि गाउनुहोस्‌। गीत गाउँदा हाम्रो मुख्य ध्यान यहोवाको प्रशंसा गर्ने कुरामा हुनुपर्छ। सारा भन्‍ने बहिनीलाई आफूले राम्ररी गाउन सक्दिनँ जस्तो लाग्छ। तैपनि तिनी गीत गाएर यहोवाको प्रशंसा गर्न चाहन्छिन्‌। तिनले सभाका अरू भागहरू तयारी गरेजस्तै गीतको लागि तयारी गर्नु पनि मदतकारी भएको अनुभव गरेकी छिन्‌। तिनी गीतको अभ्यास गर्दा गीतका शब्दहरू छलफल गरिने विषयसित कसरी सम्बन्धित छ भनेर विचार गर्छिन्‌। तिनी भन्छिन्‌: “यसले मलाई आफ्नो गीत गाउने क्षमतामा भन्दा गीतका शब्दहरूमा ध्यान दिन मदत गर्छ।”

१४. टिप्पणी दिन डर लाग्छ भने तपाईँलाई केले मदत गर्न सक्छ?

१४ नियमित रूपमा टिप्पणी दिनुहोस्‌। कसै-कसैलाई यसो गर्न गाह्रो लाग्न सक्छ। माथि उल्लेख गरिएकी तालिया भन्छिन्‌: “अरूले याद गर्दैनन्‌ होला तर अरूको अगाडि बोल्न मलाई साह्रै डर लाग्छ। त्यसैले मलाई टिप्पणी दिन धेरै गाह्रो लाग्छ।” तर यस्तो डरले तिनलाई टिप्पणी दिन रोकेको छैन। तिनी सभाको लागि राम्ररी तयारी गर्छिन्‌ अनि प्रश्‍नको सुरुको जवाफ छोटो अनि प्रश्‍नले मागेको जति मात्र हुनुपर्छ भन्‍ने कुरा मनमा राख्छिन्‌। तिनी भन्छिन्‌: “मेरो जवाफ छोटो, साधारण अनि प्रश्‍नले खोजेको मात्र हुन्छ। हुन पनि सञ्चालकले यस्तै जवाफको आशा गरिरहनुभएको हुन्छ।”

१५. टिप्पणी दिने सन्दर्भमा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१५ कोही-कोही लजाउने वा डराउने नभए तापनि टिप्पणी दिनदेखि पछि हट्‌न सक्छन्‌। किन? जुलियट नाम गरेकी बहिनी यसो भन्छिन्‌: “मेरो टिप्पणी एकदमै साधारण अनि त्यति राम्रो छैन जस्तो लाग्छ। त्यसैले टिप्पणी दिन अलि हिचकिचाउँछु।” तर याद गर्नुहोस्‌, यहोवा हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गरेर टिप्पणी दिएको चाहनुहुन्छ। * सभामा उहाँको प्रशंसा गर्ने अनि डराएर पछि नहट्‌ने हाम्रो सङ्‌कल्पको यहोवा कदर गर्नुहुन्छ।

दैनिक कुराकानीमा उदाहरण बन्‍नुहोस्‌

१६. हामीले कस्तो बोली त्याग्नुपर्छ?

१६ हरकिसिमको “दुर्वचन” त्याग्नुहोस्‌। (एफि. ४:३१) अगाडि पनि उल्लेख गरिएझैँ ख्रिष्टियनहरूले फोहोर बोली बोल्नु हुँदैन। तर कहिलेकाहीँ हाम्रो मुखबाट थाहै नपाई दुर्वचन निस्कन सक्छ। हामी त्यसदेखि जोगिनुपर्छ। उदाहरणको लागि, अरूको संस्कृति, जाति र राष्ट्रियताबारे कुराकानी गर्दा अनावश्‍यक रूपमा तुलना गर्नदेखि हामी होसियार हुनुपर्छ। हामी कहिल्यै पनि आफ्नो बोलीद्वारा अरूको चित्त दुखाउन चाहँदैनौँ। एक जना भाइ भन्छन्‌: “मैले कहिलेकाहीँ यस्तो बोली बोलेको छु, जुन मलाई हाँसउठ्‌दो अनि अहानिकारकजस्तो लाग्थ्यो तर त्यसले अरूको चित्त दुखाइरहेको हुन्थ्यो। मेरो बोलीले गर्दा मेरी श्रीमती वा अरूको चित्त दुख्दा उनी मलाई सम्झाउने गर्छिन्‌।”

१७. एफिसी ४:२९ मा बताइएअनुसार हामी कसरी अरूको उत्थान गर्न सक्छौँ?

१७ अरूको उत्थान गर्ने बोली बोल्नुहोस्‌। अरूको आलोचना गर्न वा गनगन गर्न नभई अरूको प्रशंसा गर्न तत्पर हुनुहोस्‌। (एफिसी ४:२९ पढ्‌नुहोस्‌।) इस्राएलीहरूसित धन्यवादी हुनुपर्ने थुप्रै कारण थिए तर तिनीहरू प्रायः गनगन गर्थे। गनगन गर्ने मनोवृत्ति सरुवा रोगजस्तै हो। यो कुरा दस जना जासुसले इस्राएलीहरूलाई नकारात्मक रिपोर्ट सुनाएपछि कस्तो नतिजा भयो भन्‍ने कुराबाट थाह पाउन सक्छौँ। बाइबल भन्छ: ‘सबै इस्राएलीले मोसाविरुद्ध गनगन गर्न थाले।’ (गन्ती १३:३१–१४:४) अर्कोतर्फ हामीले अरूको प्रशंसा गर्दा तिनीहरूलाई असल काम गर्न हौसला दिइरहेका हुन्छौँ। जस्तै, यिप्तहकी छोरीको उदाहरण विचार गर्नुहोस्‌। आफ्ना साथीहरूबाट पाएको प्रशंसाले गर्दा तिनले यहोवाको सेवामा लागिरहन प्रोत्साहन पाइन्‌। (न्याय. ११:४०) अगाडि पनि उल्लेख गरिएकी सारा भन्छिन्‌: “हामीले अरूको प्रशंसा गर्दा यहोवा तिनीहरूलाई माया गर्नुहुन्छ र उहाँको सङ्‌गठनमा तिनीहरूको स्थान छ भनेर महसुस गराइरहेका हुन्छौँ।” त्यसैले मनैदेखि अरूको प्रशंसा गर्ने मौकाहरू खोजिरहनुहोस्‌।

१८. भजन १५:१, २ अनुसार हामीले किन सत्य बोल्नुपर्छ र यसमा के समावेश छ?

१८ सत्य बोल्नुहोस्‌। हामी झूट बोल्छौँ भने यहोवालाई खुसी बनाउन सक्दैनौँ। उहाँ हरकिसिमको झूटलाई घृणा गर्नुहुन्छ। (हितो. ६:१६, १७) आज थुप्रै मानिसलाई झूट बोल्नु सामान्य लाग्छ तर हामी भने यस सन्दर्भमा यहोवाको जस्तै दृष्टिकोण राख्छौँ। (भजन १५:१, २ पढ्‌नुहोस्‌।) हो, हामी झूट बोल्दैनौँ। तर जानाजानी अरू मानिस गलत निष्कर्षमा पुग्न सक्ने खालको बोली बोल्नदेखि पनि होसियार हुन्छौँ।

नकारात्मक कुराकानीलाई सकारात्मक कुराकानीतर्फ मोड्‌दा यहोवा खुसी हुनुहुन्छ (अनुच्छेद १९ हेर्नुहोस्‌)

१९. हामी कुन कुरामा पनि होसियार हुनुपर्छ?

१९ अरूको कुरा नकाट्‌नुहोस्‌। (हितो. २५:२३; २ थिस्स. ३:११) नकारात्मक गफले आफूलाई कसरी असर गरेको छ भन्‍ने विषयमा माथि उल्लेख गरिएकी जुलियट भन्छिन्‌: “कसैले मकहाँ आएर अरूको कुरा काटेको मलाई मन पर्दैन र म त्यस्तो व्यक्‍तिलाई भरोसा गर्न सक्दिनँ। मसित अरूको कुरा काट्‌ने व्यक्‍तिले मेरोचाहिँ कुरा नकाट्‌ला भनेर कसरी भन्‍न सकिन्छ र?” कसैले अरूको कुरा काट्‌न थालेको याद गर्नुभयो भने त्यसलाई सकारात्मक कुराकानीतर्फ मोड्‌नुहोस्‌।—कल. ४:६.

२०. बोलीको सन्दर्भमा तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ?

२० हामी बाँचिरहेको संसार खराब बोलीले भरिएको छ। त्यसैले आफ्नो बोलीद्वारा यहोवालाई खुसी बनाउन हामीले कडा परिश्रम गर्नै पर्छ। यहोवाले हामीलाई उपहारस्वरूप बोल्ने क्षमता दिनुभएको छ। त्यसैले हामी त्यो उपहार कसरी प्रयोग गर्छौँ भन्‍ने कुरामा यहोवा चासो राख्नुहुन्छ। साक्षीकार्यमा, सभामा र दैनिक कुराकानीमा त्यस उपहारलाई सकारात्मक तरिकामा चलाउने हाम्रो प्रयासमा उहाँले आशिष्‌ दिनुहुनेछ। यहोवाले यस दुष्ट संसारलाई नाश गर्नुभएपछि हामीलाई आफ्नो बोलीद्वारा यहोवाको आदर गर्न अझ सजिलो हुनेछ। (यहु. १५) त्यतिन्जेल आफ्नो “मुखको वचन”-ले यहोवालाई खुसी तुल्याउने सङ्‌कल्प गरौँ।—भज. १९:१४.

गीत १२१ आत्मसंयम जरुरी

^ अनु. 5 यहोवाले हामीलाई उपहारस्वरूप बोल्ने क्षमता दिनुभएको छ। दुःखको कुरा, मानिसहरूले यहोवाले चाहनुभएको तरिकामा यो उपहार प्रयोग गरेका छैनन्‌। नैतिक स्तर खस्कँदै गइरहेको यस संसारमा हामी आफ्नो बोलीलाई शुद्ध र उत्थानदायी बनाउन के गर्न सक्छौँ? साक्षीकार्यमा भाग लिँदा, सभामा उपस्थित हुँदा र अरूसित कुराकानी गर्दा हामी आफ्नो बोलीद्वारा कसरी यहोवालाई खुसी बनाउन सक्छौँ? यी प्रश्‍नहरूको जवाफ हामी यस लेखमा पाउनेछौँ।

^ अनु. 6 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 15 टिप्पणी दिने सन्दर्भमा थप जानकारीको लागि जनवरी २०१९ अङ्‌कको प्रहरीधरहरा-मा “सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 61 तस्बिरको व्याख्या: घरधनी जङ्‌गिँदा एक भाइले रिसाउँदै जवाफ फर्काउँछन्‌; एक भाइ सभामा गीत नगाई उभिरहेका छन्‌ अनि एक बहिनी अरूको कुरा काट्‌दै छिन्‌।