सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २५

यहोवा क्षमा दिनेहरूलाई आशिष्‌ दिनुहुन्छ

यहोवा क्षमा दिनेहरूलाई आशिष्‌ दिनुहुन्छ

“यहोवा परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।”—कल. ३:१३.

गीत १३० क्षमा दिने गरौँ!

परिचय *

१. मनैदेखि पश्‍चात्ताप गर्नेहरूलाई यहोवा कस्तो आश्‍वासन दिनुहुन्छ?

 यहोवा हाम्रो सृष्टिकर्ता, कानुनदाता र न्यायकर्ता मात्र नभई हाम्रो मायालु बुबा पनि हुनुहुन्छ। (भज. १००:३; यसै. ३३:२२) त्यसैले उहाँसित मनैदेखि पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिने अख्तियार मात्र होइन, इच्छुकता पनि छ। (भज. ८६:५) यसबारे भविष्यवक्‍ता यर्मियामार्फत यहोवाले यस्तो न्यानो आश्‍वासन दिनुभयो: “तिमीहरूका पापहरू सिन्दूरे रङ्‌गका भए पनि ती हिउँजस्तै सेता हुनेछन्‌।”—यसै. १:१८.

२. अरूसित राम्रो सम्बन्ध कायम राख्न हामीले के गर्नुपर्छ?

त्रुटिपूर्ण भएकोले हामीले आफ्नो बोली र व्यवहारद्वारा अरूको चित्त दुखाइरहेका हुन्छौँ। (याकु. ३:२) तर त्यसको मतलब हामी तिनीहरूसित राम्रो सम्बन्ध कायम गर्न सक्दैनौँ भन्‍ने त होइन। क्षमा दिन सिक्यौँ भने राम्रो सम्बन्ध कायम गर्न सक्छौँ। (हितो. १७:९; १९:११; मत्ति १८:२१, २२) कहिलेकाहीँ सानोतिनो कुराले गर्दा हाम्रो चित्त दुख्न सक्छ। त्यस्तो अवस्थामा हामीले अरूलाई क्षमा दिएको यहोवा चाहनुहुन्छ। (कल. ३:१३) किनकि उहाँ पनि हामीलाई “खुला मनले क्षमा” गर्नुहुन्छ।—यसै. ५५:७.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यस लेखमा हामी यहोवाको अनुकरण गर्दै कसरी अरूलाई क्षमा दिन सक्छौँ भन्‍नेबारे छलफल गर्नेछौँ। कस्ता प्रकारका पापहरूबारे हामीले एल्डरहरूलाई बताउनुपर्छ? यहोवा हामीले किन अरूलाई क्षमा दिएको चाहनुहुन्छ? अनि अरूको गल्तीले गर्दा धेरै दुःख भोगेका केही भाइबहिनीको अनुभवबाट के सिक्न सक्छौँ?

कुनै ख्रिष्टियनले गम्भीर पाप गर्दा

४. (क) कुनै ख्रिष्टियनले गम्भीर पाप गर्दा तिनले के गर्नुपर्छ? (ख) गम्भीर गल्ती गर्ने व्यक्‍तिलाई भेट्‌दा एल्डरहरूले के गर्छन्‌?

कुनै ख्रिष्टियनले गम्भीर पाप गर्दा तिनले त्यसबारे एल्डरहरूलाई बताउनुपर्छ। केही गम्भीर पापको उदाहरण १ कोरिन्थी ६:९, १० मा पाउन सक्छौँ। गम्भीर पाप गर्नु भनेको परमेश्‍वरको व्यवस्थाको घोर उल्लङ्‌घन गर्नु हो। कुनै ख्रिष्टियनले त्यस्तो गल्ती गर्दा तिनले आफ्नो पाप स्विकार्दै यहोवालाई क्षमाको लागि प्रार्थना गर्नुपर्छ र एल्डरहरूसित पनि कुरा गर्नुपर्छ। (भज. ३२:५; याकु. ५:१४) त्यसपछि एल्डरहरूले के गर्छन्‌? हुनत कुनै व्यक्‍तिलाई पूर्णतया माफी दिने अधिकार यहोवासित मात्र छ। * तर पाप गर्ने व्यक्‍ति मण्डलीमा रहन योग्य छ कि छैन भनेर धर्मशास्त्रअनुसार निर्णय गर्ने अधिकार यहोवाले एल्डरहरूलाई सुम्पनुभएको छ। (१ कोरि. ५:१२) निर्णय गर्नुअघि एल्डरहरूले यस्ता प्रश्‍नहरू विचार गर्छन्‌: के तिनले पहिल्यै योजना बनाएर पाप गरेका थिए? के तिनले आफ्नो पाप अरूबाट लुकाउन खोजेका थिए? के तिनले लामो समयदेखि त्यस्तो पाप गर्दै आएका थिए? सबैभन्दा महत्त्वपूर्ण कुरा, के तिनले मनैदेखि पश्‍चात्ताप गरेको कुनै प्रमाण देखिन्छ? के यहोवाले तिनलाई क्षमा दिनुभएको कुनै सङ्‌केत छ?—प्रेषि. ३:१९.

५. एल्डरहरूले गल्ती गर्ने व्यक्‍तिलाई मदत गर्दा मण्डलीलाई कस्तो लाभ हुन्छ?

गम्भीर गल्ती गर्ने व्यक्‍तिलाई भेट्‌दा एल्डरहरूको उद्देश्‍य भनेको स्वर्गमा जुन निर्णय भइसकेको छ, पृथ्वीमा पनि त्यही निर्णयमा पुग्ने हुनुपर्छ। (मत्ति १८:१८) यस प्रबन्धबाट मण्डलीलाई कस्तो लाभ हुन्छ? पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाइन्छ र यसो गर्दा यहोवाका बहुमूल्य भेडाहरू सुरक्षित हुन्छन्‌। (१ कोरि. ५:६, ७, ११-१३; ति. ३:१०, ११) अर्कोतर्फ पाप गर्ने व्यक्‍तिले पश्‍चात्ताप गर्ने मौका पाउँछन्‌ र यहोवाबाट क्षमा पाउन सक्छन्‌। (लुका ५:३२) पश्‍चात्ताप गर्ने व्यक्‍ति आध्यात्मिक रूपमा निको होऊन्‌ भनेर एल्डरहरूले यहोवासित मदत माग्छन्‌।—याकु. ५:१५.

६. बहिष्कार भइसकेका व्यक्‍तिले के यहोवाबाट फेरि क्षमा पाउन सक्छन्‌? व्याख्या गर्नुहोस्‌।

गम्भीर पाप गर्ने व्यक्‍तिले पश्‍चात्ताप गर्दैनन्‌ भने तिनलाई मण्डलीबाट बहिष्कार गरिन्छ। तिनले गैरकानुनी काम गरेका छन्‌ भने एल्डरहरूले तिनलाई सजाय भोग्नदेखि बचाउनेछैनन्‌। यहोवाले सरकारी अख्तियारवालाहरूलाई नियम तोड्‌ने जोसुकैलाई पनि सजाय दिने अनुमति दिनुभएको छ, चाहे तिनले पश्‍चात्ताप गरेका होऊन्‌ या नहोऊन्‌। (रोमी १३:४) तर तिनले आफ्नो गल्ती महसुस गर्छन्‌ र मनैदेखि पश्‍चात्ताप गरेर यहोवाकहाँ फर्कन्छन्‌ भने तिनको पाप जतिसुकै गम्भीर भए पनि उहाँ क्षमा दिन तयार हुनुहुन्छ।—२ इति. ३३:९, १२, १३; लुका १५:१७-२४; १ तिमो. १:१५.

७. हामीविरुद्ध पाप गर्ने व्यक्‍तिलाई क्षमा दिनुमा के समावेश छ?

गल्ती गर्ने व्यक्‍ति क्षमा पाउन लायकको छ कि छैन भनेर हामीले निर्णय गर्नुपर्दैन भन्‍ने कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ। त्यो निर्णय यहोवाले नै गर्नुहुन्छ। तर हामीले निर्णय गर्नुपर्ने एउटा कुराचाहिँ छ। त्यो के हो? कसैले हामीविरुद्ध पाप गर्न सक्छन्‌ र कुनै-कुनै पाप त गम्भीर प्रकारको पनि हुन सक्छ। तर तिनले आफ्नो गल्ती स्विकारेर हामीसित माफी माग्न सक्छन्‌। तिनले माफी मागेनन्‌ भने पनि हामीले मनमा रिस नपालेर तिनलाई क्षमा दिने निर्णय गर्न सक्छौँ। हाम्रो मनमा गहिरो चोट लागेको छ भने त्यो निको हुन समय लाग्न सक्छ र रिस हटाउन पनि निकै कोसिस गर्नुपर्ने हुन सक्छ। यसबारे सेप्टेम्बर १५, १९९४ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) यसो भनिएको थियो: “कसैलाई क्षमा दिनुको अर्थ तिनको पापलाई बेवास्ता गर्नु त होइन। बरु सबै कुरा यहोवाको हातमा छोडिदिनु हो। उहाँ ब्रह्‍माण्डका न्यायकर्ता हुनुहुन्छ र उहाँले नै ठीक समयमा न्याय गर्नुहुनेछ।” अरूलाई क्षमा दिन र न्याय गर्ने कुरा यहोवाकै हातमा छोडिदिन उहाँ हामीलाई किन प्रोत्साहन दिनुहुन्छ?

यहोवा हामीलाई किन क्षमा दिन प्रोत्साहन दिनुहुन्छ?

८. हामीले क्षमा दिँदा कसरी यहोवाको कृपाप्रति कृतज्ञता देखाइरहेका हुन्छौँ?

क्षमा दिँदा यहोवाको कृपाप्रति कृतज्ञता देखाइरहेका हुन्छौँ। येसुले एउटा उदाहरणमा यहोवालाई एक जना मालिकसित तुलना गर्नुभयो, जसले आफ्नो दासको ठूलो ऋण माफ गरिदिए। तर त्यस दासले आफूसित थोरै मात्र ऋण लिएका सङ्‌गी दासलाई भने माफी दिएनन्‌। (मत्ति १८:२३-३५) यस उदाहरणबाट येसुले के सिकाउन खोज्दै हुनुहुन्थ्यो? यदि हामी यहोवाको कृपाप्रति साँच्चै कृतज्ञ छौँ भने हामी पनि अरूलाई क्षमा दिन उत्प्रेरित हुन्छौँ। (भज. १०३:९) एउटा पुरानो प्रहरीधरहरा-मा यसो भनिएको थियो: “हामीले आफ्ना भाइबहिनीलाई जति नै धेरै चोटि क्षमा दिए तापनि त्यसलाई परमेश्‍वरले ख्रिष्टमार्फत देखाउनुभएको कृपा र क्षमासित तुलना गर्न सकिँदैन।”

९. यहोवा कसलाई कृपा देखाउनुहुन्छ? (मत्ति ६:१४, १५)

क्षमा दिनेहरूले क्षमा पाउनेछन्‌। अरूलाई कृपा देखाउनेहरूलाई यहोवा कृपा देखाउनुहुन्छ। (मत्ति ५:७; याकु. २:१३) येसुले चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुँदा यो कुरा प्रस्ट पार्नुभयो। (मत्ति ६:१४, १५ पढ्‌नुहोस्‌।) यहोवाले पनि अय्युबसित कुरा गर्नुहुँदा यही कुरामा जोड दिनुभएको थियो। आफ्ना तीन जना साथी एलिपज, बिल्दद र जोपरको घोच्ने बोलीले गर्दा तिनको एकदमै मन दुखेको थियो। तर यहोवाले अय्युबलाई तिनीहरूको लागि प्रार्थना गर्न भन्‍नुभयो। तिनले उहाँले भन्‍नुभएअनुसारै गरे र आशिष्‌ पाए।—अय्यु. ४२:८-१०.

१०. रिस पालेर राख्नु किन हानिकारक हुन्छ? (एफिसी ४:३१, ३२)

१० रिस पालेर राख्नु हानिकारक हुन्छ। रिस पालेर राख्नु भनेको गह्रुङ्‌गो भारी बोक्नुजस्तै हो। त्यो भारी बिसाएर हामीले मनोशान्ति पाएको यहोवा चाहनुहुन्छ। (एफिसी ४:३१, ३२ पढ्‌नुहोस्‌।) उहाँले हामीलाई “रिसाउन छोड र क्रोध त्यागिदेऊ” भन्‍नुभएको छ। (भज. ३७:८) यो सल्लाह पालन गर्दा हाम्रै फाइदा हुन्छ किनभने रिस पालेर राख्दा यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा हानि पुऱ्‍याउँछ। (हितो. १४:३०) हाम्रो चित्त दुखाएको व्यक्‍तिप्रति मनमा रिस पालेर राख्नु भनेको विष खानुजस्तै हो। रिस पालेर राख्दा त्यसले हामीलाई नै हानि पुऱ्‍याउँछ। अर्कोतर्फ अरूलाई क्षमा दिँदा हामीले आफैलाई इनाम दिइरहेका हुन्छौँ। (हितो. ११:१७) हामीले मनोशान्ति पाउनेछौँ र यहोवाको सेवामा आनन्दित भई लागिरहन सक्नेछौँ।

११. बदला लिनेबारे बाइबल के भन्छ? (रोमी १२:१९-२१)

११ बदला लिने काम यहोवाको हो। कसैले हामीविरुद्ध पाप गर्दा यहोवाले हामीलाई तिनीसित बदला लिने अधिकार दिनुभएको छैन। (रोमी १२:१९-२१ पढ्‌नुहोस्‌।) हामी त्रुटिपूर्ण भएकोले यहोवाले जस्तै सबै कुरा राम्ररी बुझ्न सक्दैनौँ। त्यसैले हामीले उहाँले जस्तै सही तरिकामा न्याय गर्न सक्दैनौँ। (हिब्रू ४:१३) कहिलेकाहीँ हाम्रो भावनाले पनि सही न्याय गर्ने हाम्रो क्षमतालाई असर गर्छ। यहोवाले याकुबलाई “रिस गर्ने मानिस परमेश्‍वरको धार्मिक स्तरबमोजिम चलिरहेको हुँदैन” भनेर लेख्न प्रेरणा दिनुभयो। (याकु. १:२०) यहोवाले सही न्याय गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।

मनमा रिस नपाल्नुहोस्‌। न्याय गर्ने काम यहोवाकै हातमा छोडिदिनुहोस्‌। पापले गर्दा भएका सबै असर उहाँले हटाउनुहुनेछ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. हामीले यहोवाको न्यायमा भरोसा गरेको कसरी देखाउन सक्छौँ?

१२ क्षमा दिँदा हामीले यहोवाको न्यायमा भरोसा गरेको देखाइरहेका हुन्छौँ। कसैले हामीविरुद्ध पाप गर्दा त्यस मामिलालाई यहोवाकै हातमा छोडिदिनुपर्छ। यसो गर्दा हामीले भोग्नुपरेका हानिहरू उहाँले सच्याउनुहुनेछ भनेर भरोसा गरेको देखाइरहेका हुन्छौँ। प्रतिज्ञा गरिएको नयाँ संसारमा हाम्रा गहिरा भावनात्मक चोटहरू ‘फेरि सम्झनामा आउनेछैनन्‌, ती कुराहरू फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौँ।’ (यसै. ६५:१७) तर हामीलाई गहिरो चोट पुगेको छ भने के हामी आफ्नो मनबाट रिस र द्वेष पूरै हटाउन सक्छौँ? कसै-कसैले कसरी यसो गर्न सकेका छन्‌, विचार गरौँ।

क्षमा दिँदा पाइने आशिष्‌हरू

१३-१४. क्षमा दिने सन्दर्भमा टोनी र होसेको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१३ अरूको व्यवहारले गर्दा मनमा गहिरो चोट लागेको भए तापनि थुप्रै भाइबहिनीले क्षमा दिएका छन्‌। यसरी क्षमा दिँदा तिनीहरूले कस्ता आशिष्‌हरू पाएका छन्‌?

१४ फिलिपिन्सका टोनीको * अनुभव विचार गरौँ। तिनी यहोवाको साक्षी हुनुभन्दा धेरै वर्षअघि होसे भन्‍ने व्यक्‍तिले तिनका एक जना दाइको हत्या गरेका थिए। टोनी सत्य सिक्नुअघि एकदमै रिसाहा र हिंस्रक स्वभावका थिए। तिनी दाइको हत्याको बदला लिन चाहन्थे। पछि होसे पक्राउ परे र तिनलाई झ्यालखानामा हालियो। होसे झ्यालखानाबाट छुटेको थाह पाएपछि टोनीले उनलाई जसरी भए पनि मार्ने कसम खाए। त्यसको लागि तिनले बन्दुक पनि किने। तर त्यही समयतिर टोनीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। तिनी यसो भन्छन्‌: “अध्ययन गर्दै जाँदा मैले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने कुरा बुझेँ। विशेषगरि मैले रिसाउने बानी हटाउनुपर्ने थियो।” केही समयपछि टोनीले बप्तिस्मा गरे र पछि एल्डर पनि भए। यसैबीच होसे पनि यहोवाका साक्षी भइसकेका थिए। यो कुरा थाह पाउँदा टोनी कत्ति छक्क परे होलान्‌! पछि भेट हुँदा उनीहरूले एकअर्कालाई अङ्‌गालो हाले र टोनीले होसेलाई माफी दिइसकेको कुरा बताए। होसेलाई क्षमा दिँदा आफूले महसुस गरेको आनन्द शब्दमा बयानै गर्न गाह्रो छ भनी टोनी बताउँछन्‌। यसरी क्षमा दिन इच्छुक हुँदा यहोवाले टोनीलाई आशिष्‌ दिनुभयो।

पिटर र सुको उदाहरणले हामी आफ्नो मनबाट रिस हटाउन सक्छौँ भनेर देखाउँछ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)

१५-१६. क्षमा दिने सन्दर्भमा पिटर र सुको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ सन्‌ १९८५ मा पिटर र सु सभाभवनमा हुँदा अचानक एउटा ठूलो विस्फोट भयो। सभाभवनमा एक जना मान्छेले बम राखेको थियो। विस्फोटले गर्दा सुको आँखा र कानमा गम्भीर चोट लाग्यो। तिनी कुनै गन्ध थाह पाउन नसक्ने भइन्‌। * पिटर र सु यस्तो हदसम्म खराब काम गर्ने मानिस कस्तो होला भनेर सोच्ने गर्थे। यो घटना भएको धेरै वर्षपछि ती अपराधी पक्राउ परे र तिनलाई जन्मकैदको सजाय सुनाइयो। ती अपराधीलाई क्षमा दिए कि दिएनन्‌ भनेर सोधिँदा पिटर र सुले यसो भने: “मनमा रिस पालेर राख्दा यसले हामीलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा असर गर्छ भनेर यहोवाले हामीलाई सिकाउनुभएको छ। त्यसैले त्यो घटना भएको सुरु-सुरुतिर नै हामीले आफ्नो रिसलाई हटाउन सकौँ र शान्तिसित जीवन बिताउन सकौँ भनेर यहोवासित मदत माग्यौँ।”

१६ के तिनीहरूलाई क्षमा दिन सजिलो भएको छ? छैन। तिनीहरू यसो भन्छन्‌: “सुलाई आफ्नो चोटले गर्दा गाह्रो हुँदा हामीलाई त्यो मान्छे सम्झेर साह्रै रिस उठ्‌छ। तर यसबारे धेरै सोचेर नबस्ने भएकोले रिस पनि हराइहाल्छ। साँच्चै भन्‍नुपर्दा, त्यो अपराधी कुनै दिन हाम्रो भाइ भयो भने हामी मनैदेखि स्वागत गर्नेछौँ। बाइबल सिद्धान्तहरूले हामीलाई सोचेभन्दा धेरै तरिकामा स्वतन्त्र तुल्याउँछ भनेर त्यस घटनाबाट सिकेका छौँ। अनि यहोवा परमेश्‍वरले चाँडै नै सबै हानिलाई सच्याउनुहुनेछ भनेर थाह पाउँदा सान्त्वना पाउँछौँ।”

१७. क्षमा दिने सन्दर्भमा माइराको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१७ माइराले बाइबल सत्य सिक्दा तिनको विवाह भइसकेको थियो र दुई साना छोरा पनि थिए। तिनका पतिले बाइबल सत्य स्विकारेनन्‌। पछि उनले व्यभिचार गरे र परिवारलाई छोडेर हिँडे। माइरा भन्छिन्‌: “मेरो श्रीमान्‌ले म र हाम्रा दुई छोरालाई छोडेर जाँदा मनमा अनेक कुराहरू खेले। सुरुमा त विश्‍वासै गर्न सकिनँ। साह्रै मन दुख्यो; पछुतो पनि लाग्यो। मैले आफैलाई दोष दिएँ र रिस पनि उठ्यो।” हुनत तिनीहरू छुट्टिसकेका थिए तर माइराको मनको घाउ भने आलै थियो। माइरा भन्छिन्‌: “यस्ता भावनाहरूले मलाई महिनौँसम्म सतायो। यसले गर्दा यहोवा र अरूसितको सम्बन्धमा पनि असर गरिरहेको याद गरेँ।” अहिले माइराले आफ्नो रिस हटाउन सकेकी छिन्‌ र पहिलेको श्रीमान्‌को कुभलो चिताउँदिनन्‌। उनी कुनै दिन यहोवाको नजिक हुनेछन्‌ भनेर तिनी आशा गर्छिन्‌। माइराले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका असल कुराहरूमा ध्यान दिन सकेकी छिन्‌। तिनी एक्लैले दुवै छोरालाई सत्यमा राम्ररी हुर्काइन्‌। अहिले माइरा आफ्ना छोराहरू र उनीहरूको परिवारसँगै आनन्दित भई यहोवाको सेवा गर्दै छिन्‌।

यहोवा सधैँ सही न्याय गर्नुहुन्छ

१८. सर्वोच्च न्यायकर्ताले के गर्नुहुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौँ?

१८ कुनै व्यक्‍तिको न्याय गर्नेजस्तो बोझिलो काम हामीले गर्नुपर्दैन भनेर थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ। सर्वोच्च न्यायकर्ता यहोवाले नै यो महत्त्वपूर्ण काम सम्हाल्नुहुन्छ। (रोमी १४:१०-१२) उहाँले आफ्नो उच्च स्तरअनुरूप नै न्याय गर्नुहुन्छ भन्‍ने कुरामा हामी पूर्णतया विश्‍वस्त हुन सक्छौँ। (उत्प. १८:२५; १ राजा ८:३२) उहाँले कहिल्यै अन्यायपूर्ण काम गर्नुहुनेछैन!

१९. यहोवाले भविष्यमा के गर्नुहुनेछ?

१९ मानिसको त्रुटिपूर्ण अवस्था र पापले गर्दा भएका खराब असरहरू यहोवाले हटाउनुहुने समयको हामी प्रतीक्षा गर्दै छौँ। त्यतिबेला हाम्रो शारीरिक र भावनात्मक चोटहरू पूरै निको हुनेछ। (भज. ७२:१२-१४; प्रका. २१:३, ४) ती पीडादायी कुराहरू कहिल्यै हाम्रो सम्झनामा आउनेछैनन्‌। तर त्यो सुन्दर दिन नआउन्जेल हामीले एकअर्कालाई क्षमा दिनुपर्ने अवस्थाहरू आइरहन्छन्‌। त्यसैले अरूलाई क्षमा दिएर उहाँको अनुकरण गर्ने क्षमता दिनुभएकोमा हामी यहोवाप्रति आभारी छौँ।

गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ

^ यहोवा पश्‍चात्ताप गर्ने पापीहरूलाई क्षमा दिन इच्छुक हुनुहुन्छ। हामी ख्रिष्टियनहरूले पनि उहाँको अनुकरण गर्दै हाम्रो चित्त दुखाउनेहरूलाई क्षमा दिनुपर्छ। यस लेखमा हामी कस्ता किसिमका पापहरू आफैले क्षमा दिन सक्छौँ र कस्ता किसिमका पापहरूबारे एल्डरहरूलाई बताउनुपर्छ भन्‍नेबारे छलफल गर्नेछौँ। हामीले किन अरूलाई क्षमा दिएको यहोवा चाहनुहुन्छ अनि त्यसो गर्दा कस्ता आशिष्‌हरू पाउँछौँ भन्‍नेबारे पनि विचार गर्नेछौँ।

^ अप्रिल १५, १९९६ अङ्‌कको प्रहरीधरहरा-को “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

^ केही नाम परिवर्तन गरिएका छन्‌।

^ जनवरी ८, १९९२ अङ्‌कको ब्यूँझनुहोस्‌!, (अङ्‌ग्रेजी) पृष्ठ ९-१३ हेर्नुहोस्‌। JW ब्रोडकास्टिङको पिटर र सु सुल्स: गहिरो चोट सहन सफल (अङ्‌ग्रेजी) भिडियो पनि हेर्नुहोस्‌।