सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २७

“यहोवामा आशा राख”

“यहोवामा आशा राख”

“यहोवामा आशा राख; साहसी होऊ, बलियो होऊ।”—भज. २७:१४.

गीत १२८ अन्तसम्म सहौँ!

परिचय *

१. (क) यहोवाले हामीलाई कस्तो आशा दिनुभएको छ? (ख) “यहोवामा आशा” राख्नुको अर्थ के हो? (“थप व्याख्या” हेर्नुहोस्‌।)

 यहोवाले उहाँलाई प्रेम गर्नेहरू सबैलाई सुन्दर आशा दिनुभएको छ। उहाँले चाँडै रोगबिमार, दुःख र मृत्युलाई हटाउनुहुनेछ। (प्रका. २१:३, ४) यहोवाले उहाँमा आशा राख्ने “नम्र” मानिसहरूलाई पृथ्वीलाई प्रमोदवनमा परिणत गर्न मदत गर्नुहुनेछ। (भज. ३७:९-११) हुनत हामी प्रत्येकले अहिले पनि यहोवासित न्यानो सम्बन्ध गाँस्न सकेका छौँ। तर त्यतिबेला उहाँले हामीलाई उहाँसितको सम्बन्ध अझ प्रगाढ बनाउन मदत गर्नुहुनेछ। यो साँच्चै सुन्दर आशा हो! तर यहोवाका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनेर हामी किन विश्‍वास गर्न सक्छौँ? किनकि उहाँको मुखबाट निस्कने हरेक वचन सधैँ पूरा हुन्छ। त्यसैले हामी “यहोवामा आशा” राख्न सक्छौँ। * (भज. २७:१४) उहाँले आफ्नो उद्देश्‍य पूरा गर्नुहुने समयलाई धीरजी र आनन्दित भई पर्खेर हामी यसो गरेको देखाउँछौँ।—यसै. ५५:१०, ११.

२. यहोवाले के प्रमाणित गरिसक्नुभएको छ?

यहोवाले उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनेर प्रमाणित गरिसक्नुभएको छ। एउटा उल्लेखनीय उदाहरण विचार गरौँ। प्रकाशको किताबमा उहाँले हाम्रो समयमा हरेक राष्ट्र, कुल, जाति अनि भाषाका मानिसहरूलाई जम्मा गर्ने र तिनीहरूलाई शुद्ध उपासनामा एकताबद्ध गर्ने प्रतिज्ञा गर्नुभएको थियो। आज यो विशेष समूह “ठूलो भीड” भनेर चिनिन्छ। (प्रका. ७:९, १०) यस समूहमा फरक-फरक जात, भाषा र पृष्ठभूमिका पुरुष, स्त्री र केटाकेटी छन्‌। तैपनि तिनीहरूमाझ शान्ति र एकता छ। (भज. १३३:१; युह. १०:१६) यस ठूलो भीडका मानिसहरू तिनीहरूको कुरा सुन्‍न चाहने जोकोहीलाई पनि अब आउने उत्तम संसारको आशाबारे बताउन सधैँ तयार छन्‌। (मत्ति २८:१९, २०; प्रका. १४:६, ७; २२:१७) तपाईँ पनि यस ठूलो भीडको भाग हुनुहुन्छ भने त्यो आशा तपाईँको लागि पक्कै अनमोल छ।

३. सैतान के चाहन्छ?

हामीले भविष्यको आशामा विश्‍वास गरेको दियाबल चाहँदैन। यहोवा हाम्रो ख्याल राख्नुहुन्‍न र उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्‍न भनेर हामीले विश्‍वास गरेको त्यो चाहन्छ। सैतान हाम्रो आशा खोस्न सफल भयो भने हामीले आफ्नो साहस गुमाउनेछौँ र यहोवाको सेवा गर्न समेत छोड्‌नेछौँ। यस लेखमा दियाबलले कसरी अय्युबको आशा खोस्न खोज्यो र तिनलाई यहोवाको सेवा गर्नदेखि रोक्न खोज्यो भनेर बुझ्नेछौँ।

४. हामी यस लेखमा के विचार गर्नेछौँ? (अय्युब १:९-१२)

यस लेखमा सैतानले अय्युबको सत्यनिष्ठा तोड्‌न के-कस्तो चाल चल्यो भनेर जाँच्नेछौँ। (अय्युब १:९-१२ पढ्‌नुहोस्‌।) अय्युबको उदाहरणबाट हामी के सिक्न सक्छौँ अनि परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ र उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्‍ने कुरा किन मनमा राख्नुपर्छ, त्यसबारे पनि विचार गर्नेछौँ।

सैतानले अय्युबको आशा खोस्न खोज्यो

५-६. छोटो समयमै अय्युबको जीवनमा के-कस्ता घटना घटे?

अय्युबको जीवन राम्रै चलिरहेको थियो। तिनी यहोवासित घनिष्ठ थिए। तिनको ठूलो र सुखी परिवार थियो अनि तिनी सम्पन्‍न थिए। (अय्यु. १:१-५) तर एकै दिनमा अय्युबले सबै कुरा गुमाए। सुरुमा तिनले धनसम्पत्ति गुमाए। (अय्यु. १:१३-१७) त्यसपछि आफ्ना प्यारा छोराछोरी गुमाए। त्यतिबेला तिनलाई कत्ति असह्‍य पीडा भयो होला, सोच्नुहोस्‌ त! आफ्ना छोराछोरीमध्ये एक जना मात्र गुमाउनुपऱ्‍यो भने पनि आमाबुबालाई ठूलो चोट पर्छ। झन्‌ अय्युब र तिनकी पत्नीले त दस जना छोराछोरी गुमाउनुपरेको थियो! त्यसैले अय्युबले आफ्नो लुगा च्यातेर अनि भुईँमा लडेर शोक गर्नु अचम्मलाग्दो कुरा थिएन!—अय्यु. १:१८-२०.

त्यसपछि सैतानले अय्युबलाई गम्भीर रोगले प्रहार गऱ्‍यो। (अय्यु. २:६-८; ७:५) कुनै बेला समाजका मानिसहरू अय्युबलाई निकै आदर गर्थे र सरसल्लाहको लागि तिनीकहाँ आउने गर्थे। (अय्यु. ३१:१८) तर अब भने ती मानिसहरू अय्युबदेखि टाढा हुन थाले। तिनका आफ्नै दाजुभाइ, नजिकका साथीहरू र नोकरहरूले समेत तिनलाई हेय दृष्टिले हेर्न थाले!—अय्यु. १९:१३, १४, १६.

हाम्रा थुप्रै भाइबहिनीले अय्युबको भावना राम्ररी बुझ्न सक्छन्‌ किनभने तिनीहरूले पनि त्यस्तै परीक्षा भोगेका छन्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌) *

७. (क) अय्युबलाई आफूले दुःख भोग्नुपरेको कारण के हो जस्तो लाग्यो तर तिनले के गरेनन्‌? (ख) चित्रमा देखाइएझैँ कुनै ख्रिष्टियनले अय्युब र तिनकी पत्नीले जस्तै कस्ता परीक्षाहरूको सामना गर्नुपर्ने हुन सक्छ?

यहोवा अय्युबसित रिसाउनुभएकोले दुःख भोग्नुपरेको हो भनेर तिनले सोचेको सैतान चाहन्थ्यो। सैतानले एउटा ठूलो हुरी चलायो र अय्युबका दस जना छोराछोरी खाना खाइरहेको घर गर्ल्यामगुर्लुम ढल्यो। (अय्यु. १:१८, १९) त्यसैगरि त्यसले आकाशबाट आगो बर्साएर अय्युबको वस्तुभाउ र गोठालाहरू भस्म पाऱ्‍यो। (अय्यु. १:१६) वायु र आगोको स्रोत यहोवा हुनुभएकोले अय्युबलाई यी सब उहाँले नै गर्नुभएको हो जस्तो लाग्यो। त्यसैले अय्युबलाई यहोवा तिनीसित रिसाउनुभएको छ जस्तो लागेको हुनुपर्छ। तैपनि तिनले उहाँलाई सरापेनन्‌। यहोवाले तिनलाई थुप्रै असल कुरा दिनुभएको छ भन्‍ने कुरा तिनले मानिलिए। त्यसैले परमेश्‍वरले दिनुभएको सुख मात्र होइन, दुःख भोग्न पनि तयार हुनुपर्छ भनेर तिनले तर्क गरे। तिनले यसो भने: “यहोवाको नामको सधैँ प्रशंसा होस्‌।” (अय्यु. १:२०, २१; २:१०) अय्युबले धनसम्पत्ति, छोराछोरी र स्वास्थ्य सबै कुरा गुमाए पनि परमेश्‍वरप्रति वफादार रहिरहे। तर सैतानले यतिमै चित्त बुझाएन।

८. सैतानले अर्को कस्तो चाल चल्यो?

सैतानले अर्को एउटा चाल चल्यो। त्यसले अय्युबका तीन जना साथी चलाएर तिनी बेकारका छन्‌ भन्‍ने महसुस गराउन खोज्यो। अय्युबले धेरै खराब काम गरेकोले यस्तो दुःख भोग्नुपरेको हो भनेर तिनीहरूले बताए। (अय्यु. २२:५-९) तिनले जति नै राम्रो काम गरे पनि परमेश्‍वरलाई खुसी बनाउन सक्दैनन्‌ भनेर तिनीहरूले अय्युबलाई विश्‍वास दिलाउन खोजे। (अय्यु. ४:१८; २२:२, ३; २५:४) तिनीहरूले अय्युबको मनमा परमेश्‍वर तिनलाई माया गर्नुहुन्छ, तिनको ख्याल राख्नुहुन्छ र तिनको सेवाको मोल गर्नुहुन्छ भन्‍ने कुरामा शङ्‌का उब्जाउन खोज्दै थिए। तिनीहरूको कुरा सुनेर अय्युबलाई आफ्नो अवस्था आशाविहीन छ जस्तो लाग्न सक्थ्यो।

९. अय्युब साहसी र बलियो हुन सक्नुको कारण के हो?

यो दृश्‍य कल्पना गर्नुहोस्‌। अय्युब खरानीको थुप्रोमा बसिरहेका छन्‌ र जीउभरि आएको खटिराले गर्दा तिनलाई एकदमै पीडा भइरहेको छ। (अय्यु. २:८) तिनका साथीहरूले तिनको इज्जतमाथि नै आँच आउनेगरि तथानाम भनिरहेका छन्‌। एकातिर छोराछोरी गुमाउनुको पीडा त छँदै छ, त्यसमाथि अनेक परीक्षाको ओइरो लागेको छ। सुरुमा त अय्युब केही नभनी चुप लागेर बस्छन्‌। (अय्यु. २:१३–३:१) तिनका साथीहरूले तिनको मौनतालाई परमेश्‍वरलाई त्यागेको सङ्‌केतको रूपमा हेरेको भए त्यो तिनीहरूको ठूलो भूल हुने थियो। कुराकानीको दौडान सायद अय्युब ती साथीहरूको आखाँमै हेरेर यसो भन्छन्‌: “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।” (अय्यु. २७:५) यस्तो गाह्रो अवस्थामा पनि अय्युब यत्ति साहसी र बलियो हुन सक्नुको कारण के हो? यहोवा परमेश्‍वरले तिनको दुःखकष्ट हटाउनुहुनेछ भन्‍ने कुरामा तिनले कहिल्यै आशा मारेनन्‌। आफ्नो मृत्यु भयो भने पनि परमेश्‍वरले फेरि जीवित पार्नुहुनेछ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए।—अय्यु. १४:१३-१५.

हामी कसरी अय्युबको अनुकरण गर्न सक्छौँ?

१०. अय्युबको विवरणबाट हामी के सिक्न सक्छौँ?

१० यहोवालाई त्याग्न सैतानले हामीलाई जबरजस्ती गर्न सक्दैन र उहाँलाई हाम्रो हरेक परिस्थिति थाह छ भनेर अय्युबको विवरणबाट सिक्न सक्छौँ। साथै अरू महत्त्वपूर्ण पाठहरू पनि सिक्न सक्छौँ। आउनुहोस्‌, अय्युबबाट सिक्न सकिने केही पाठबारे विचार गरौँ।

११. बाइबलले हामीलाई कस्तो आश्‍वासन दिन्छ? (याकुब ४:७)

११ हामीले यहोवामाथि भरोसा राखिरह्‍यौँ भने जस्तोसुकै परीक्षाको पनि सामना गर्न सक्छौँ र सैतानको पनि विरोध गर्न सक्छौँ भनेर अय्युबबाट सिक्न सक्छौँ। यसो गर्दा नतिजा कस्तो हुन्छ? सैतान हामीबाट भाग्नेछ भनेर बाइबलले आश्‍वासन दिन्छ।याकुब ४:७ पढ्‌नुहोस्‌।

१२. फेरि जीवित हुने आशाले अय्युबलाई कसरी बलियो बनायो?

१२ फेरि जीवित हुने आशामा हाम्रो विश्‍वास बलियो हुनुपर्छ। अघिल्लो लेखमा छलफल गरिएझैँ सैतानले हाम्रो सत्यनिष्ठा तोड्‌न अक्सर मृत्युको डरलाई प्रयोग गर्छ। सैतानले अय्युब आफ्नो जीवन बचाउन जे गर्न पनि तयार हुन्छ, यहाँसम्म कि आफ्नो सत्यनिष्ठामा सम्झौता गर्न समेत तयार हुन्छ भनेर दाबी गरेको थियो। तर सैतान गलत साबित भयो। मृत्युको मुखमा पर्दा समेत तिनले आफ्नो विश्‍वासमा सम्झौता गरेनन्‌। यहोवाको भलाइमाथि तिनको विश्‍वास र उहाँले सबै कुरा सच्याउनुहुनेछ भन्‍ने आशाले तिनलाई सहन मदत गऱ्‍यो। आफू जीवितै हुँदा यहोवाले मदत गर्नुभएन भने पनि भविष्यमा आफूलाई जीवित पार्नुहुनेछ भनेर तिनी विश्‍वास गर्थे। फेरि जीवित हुने आशामा अय्युब साँच्चै विश्‍वास गर्थे। हामी पनि यो आशामा साँच्चै विश्‍वास गर्छौँ भने मृत्युको डरले पनि हाम्रो सत्यनिष्ठा तोड्‌न सक्दैन।

१३. सैतानले अय्युबविरुद्ध चालेका चालहरूबारे हामीले किन थाह पाउनुपर्छ?

१३ सैतानले अय्युबविरुद्ध कस्ता चालहरू चल्यो भनेर पनि हामीले थाह पाउनुपर्छ किनभने त्यसले आज पनि त्यस्तै चालहरू चल्छ। सैतानले अय्युबलाई आरोप लगाउँदा के भनेको थियो, याद गर्नुहोस्‌: “आफ्नो ज्यान जोगाउन [अय्युब मात्र होइन, सबै] मानिस जे गर्न पनि तयार हुन्छ।” (अय्यु. २:४, ५) यहाँ सैतानले मानिसहरू परमेश्‍वरलाई मनैदेखि प्रेम गर्दैनन्‌ र आफ्नो ज्यान जोखिममा पर्दा उहाँको विरुद्धमा खडा हुन्छन्‌ भनिरहेको थियो। साथै परमेश्‍वर हामीलाई माया गर्नुहुन्‍न र उहाँलाई खुसी पार्न हामीले गरेको प्रयास उहाँ याद गर्नुहुन्‍न भनेर त्यसले दाबी गऱ्‍यो। सैतानका चालहरूबारे पहिल्यै थाह भएकोले हामी परमेश्‍वरमा आशा राख्ने मानिसहरू त्यसका चालहरूदेखि जोगिन सक्छौँ।

१४. परीक्षाहरूले हामीलाई के गर्न मदत गर्छ? एउटा अनुभव बताउनुहोस्‌।

१४ हामीले परीक्षाहरूलाई आफूलाई अझ राम्ररी चिन्‍ने मौकाको रूपमा हेर्नुपर्छ। अय्युबले परीक्षाहरू भोग्नुपर्दा आफ्ना केही कमीकमजोरी थाह पाउन र ती सुधार्न सके। जस्तै, तिनले आफू अझै नम्र हुनुपर्छ भनेर याद गरे। (अय्यु. ४२:३) परीक्षाहरू भोग्दा हामीले पनि आफैबारे थुप्रै कुरा थाह पाउन सक्छौँ। निकोलाइको * अनुभव विचार गरौँ। तिनलाई गम्भीर स्वास्थ्य समस्याहरूको बाबजुद झ्यालखानामा हालिएको थियो। तिनी भन्छन्‌: “झ्यालखाना भनेको एक्सरे मेसिनजस्तै हो। यहाँ हामीले आफूले अझै विकास गर्नुपर्ने गुणहरू देख्न सक्छौँ।” आफ्नो कमीकमजोरी थाह पाएपछि हामी त्यसलाई सुधार्न सक्छौँ।

१५. हामीले कसको कुरा सुन्‍नुपर्छ र किन?

१५ हामीले शत्रुहरूको होइन, यहोवाको कुरा सुन्‍नुपर्छ। अय्युबले पनि यहोवाको कुरा ध्यान दिएर सुने। उहाँ तिनीसित मानौँ यसरी तर्क गर्दै हुनुहुन्थ्यो: ‘के तिमीले सृष्टिमा मेरो शक्‍ति देख्यौ? तिम्रो जीवनमा के-के भइरहेको छ, त्यो मलाई राम्ररी थाह छ। तिमीलाई मैले तिम्रो ख्याल राख्न सक्दिनँ जस्तो लाग्छ?’ त्यसपछि अय्युबले आफैलाई नम्र तुल्याए अनि यहोवाको भलाइप्रति गहिरो कृतज्ञता व्यक्‍त गर्दै यसो भने: “मैले त तपाईँबारे सुनेको मात्र थिएँ तर अब भने आफ्नै आँखाले तपाईँलाई देखेँ।” (अय्यु. ४२:५) तिनले यी शब्दहरू भन्दा सायद तिनी खरानीको थुप्रोमै थिए, तिनको जीउभरि खटिरै-खटिरा थियो र तिनी अझै पनि छोराछोरीको मृत्युको शोकमा थिए। तर यहोवाले तिनलाई यस कुरामा आश्‍वस्त पार्नुभयो: उहाँ तिनलाई माया गर्नुहुन्छ र तिनले उहाँको अनुमोदन पाएका छन्‌।—अय्यु. ४२:७, ८.

१६. यसैया ४९:१५, १६ अनुसार परीक्षाहरूको सामना गर्नुपर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१६ आज पनि मानिसहरूले हाम्रो बेइज्जत गर्न र हामीसित तुच्छ व्यवहार गर्न सक्छन्‌। तिनीहरूले हामी व्यक्‍तिविशेषको वा हाम्रो सङ्‌गठनको बदनाम गर्न सक्छन्‌ र ‘हामीविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा’ भन्‍न सक्छन्‌। (मत्ति ५:११) तर परीक्षाहरूको बाबजुद हामी वफादार रहन सक्छौँ भन्‍ने कुरामा यहोवा विश्‍वस्त हुनुहुन्छ भनेर अय्युबको विवरणबाट सिक्यौँ। यहोवा हामीलाई माया गर्नुहुन्छ र उहाँमा आशा राख्नेहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्‍न। (यसैया ४९:१५, १६ पढ्‌नुहोस्‌।) शत्रुहरूले हामीविरुद्ध फैलाउने झूटा कुराहरूमा ध्यान नदेऔँ। टर्कीका जेम्स भाइ जसको परिवारले कठिन परीक्षाहरूको सामना गर्नुपऱ्‍यो, तिनी यसो भन्छन्‌: “परमेश्‍वरका सेवकहरूको विरुद्धमा फैलाइएका झूटा अफवाहहरू सुन्यौँ भने हामी निराश हुनेछौँ भनेर हामीले महसुस गऱ्‍यौँ। त्यसैले हामीले भविष्यको आशामा ध्यान दियौँ र यहोवाको सेवामा जोसिलो भई लागिरह्‍यौँ। यसो गर्दा हामीले आफ्नो आनन्द कायम राख्न सक्यौँ।” अय्युबजस्तै हामी पनि यहोवाको कुरा सुन्छौँ। शत्रुहरूले हामीविरुद्ध फैलाएका झूटहरूले हाम्रो आशालाई हामीबाट खोस्न सक्दैन।

आशाले तपाईँलाई सम्हाल्नेछ

अय्युब सत्यनिष्ठ रहेकोले इनाम पाए। त्यसपछि तिनी र तिनकी पत्नीले लामो र सुखी जीवन बिताए (अनुच्छेद १७ हेर्नुहोस्‌) *

१७. हिब्रू अध्याय ११ मा उल्लेख गरिएका वफादार पुरुष तथा स्त्रीहरूबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

१७ कठिन परीक्षाहरूको सामना गर्नुपर्दा साहसी र बलियो रहेका अय्युब मात्र त होइनन्‌। प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रमा थुप्रै वफादार पुरुष तथा स्त्रीबारे उल्लेख गरेका छन्‌ र तिनीहरूलाई ‘साक्षीहरूको बाक्लो बादल’ भनेका छन्‌। (हिब्रू १२:१) तिनीहरू सबैले कठिन परीक्षाहरूको सामना गर्नुपरे तापनि परमेश्‍वरप्रति वफादार रहे। (हिब्रू ११:३६-४०) के तिनीहरूको सहनशीलता र वफादारी खेर गयो? पक्कै पनि गएन। आफ्नो जीवनकालमा यहोवाका सबै प्रतिज्ञा पूरा भएको नदेखे तापनि तिनीहरूले उहाँमाथि आशा राख्न छोडेनन्‌। परमेश्‍वरबाट अनुमोदन पाएको कुरामा पक्का भएकोले तिनीहरू परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको देख्न पाउने कुरामा विश्‍वस्त थिए। (हिब्रू ११:४, ५) तिनीहरूको उदाहरणले यहोवामा आशा राखिराख्ने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउँछ।

१८. तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ? (हिब्रू ११:६)

१८ अहिले हामी झन्‌झनै खराब हुँदै गइरहेको संसारमा बाँचिरहेका छौँ। (२ तिमो. ३:१३) सैतानले परमेश्‍वरका सेवकहरूमाथि परीक्षा ल्याउन छोडेको छैन। भविष्यमा जस्तोसुकै चुनौतीको सामना गर्नुपरे तापनि हामीले “जीवित परमेश्‍वरमाथि आफ्नो आशा राखेका छौँ” भन्‍ने कुरा मनमा राख्दै यहोवाको लागि कडा परिश्रम गरिरहौँ। (१ तिमो. ४:१०) “यहोवा परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुन्छ” भन्‍ने कुरा उहाँले अय्युबलाई दिनुभएको आशिष्‌बाट प्रस्ट हुन्छ। (याकु. ५:११) परमेश्‍वरले “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ” भन्‍ने कुरामा ढुक्क भएर हामी पनि उहाँप्रति वफादार रहिरहौँ!हिब्रू ११:६ पढ्‌नुहोस्‌।

गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!

^ कठिन परीक्षाहरू भोगेका व्यक्‍तिहरूबारे सोच्दा हामी अक्सर अय्युबलाई सम्झन्छौँ। हामी यी वफादार पुरुषबाट के सिक्न सक्छौँ? सैतानले हामीलाई जबरजस्ती यहोवालाई त्याग्न लगाउन सक्दैन भनेर सिक्न सक्छौँ। यहोवालाई हाम्रो हरेक परिस्थिति थाह छ भनेर पनि सिक्न सक्छौँ। अनि जसरी यहोवाले अय्युबका परीक्षाहरूको अन्त गरिदिनुभयो, त्यसरी नै उहाँले एकदिन हाम्रा परीक्षाहरू पनि हटाइदिनुहुनेछ। हामीले कामबाट यी कुराहरूमा विश्‍वस्त भएको देखाइरहेका छौँ भने हामीले पनि “यहोवामा आशा” राखिरहेका हुनेछौँ।

^ थप व्याख्या: “आशा” भनी अनुवाद गरिएको हिब्रू शब्दले उत्सुकतासाथ “पर्खनु”-लाई बुझाउँछ। यसले कसैमाथि भरोसा राख्नु वा कसैमाथि भर पर्नुलाई पनि बुझाउँछ।—भज. २५:२, ३; ६२:५.

^ केही नाम परिवर्तन गरिएका छन्‌।

^ चित्रको व्याख्या: अय्युब र तिनकी पत्नीले सबै छोराछोरी गुमाए।

^ चित्रको व्याख्या: अय्युब परीक्षाहरूको बाबजुद वफादार रहिरहे। तिनीहरू यहोवाले आफ्नो परिवारलाई दिनुभएका आशिष्‌हरूबारे कुरा गर्दै छन्‌।