सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३९

के तपाईँको नाम “जीवनको पुस्तकमा” लेखिएको छ?

के तपाईँको नाम “जीवनको पुस्तकमा” लेखिएको छ?

‘यहोवा परमेश्‍वरको भय मान्‍नेहरूका लागि उहाँको सामुन्‍ने सम्झनाको एउटा पुस्तक लेखियो।’—मला. ३:१६.

गीत ६१ अघि बढ, साक्षी हो!

परिचय *

मानव इतिहासको सुरुदेखि यहोवाले “जीवनको पुस्तकमा” मानिसहरूको नाम थप्दै आउनुभएको छ (अनुच्छेद १-२ हेर्नुहोस्‌)

१. मलाकि ३:१६ अनुसार यहोवाले कुन पुस्तक लेख्दै आउनुभएको छ र त्यसमा के छ?

 हजारौँ वर्षदेखि यहोवाले एउटा विशेष पुस्तक लेख्दै आउनुभएको छ। त्यस पुस्तकमा नामहरूको सूची छ र त्यसमा सबैभन्दा सुरुमा वफादार पुरुष हाबिलको नाम छ। * (लुका ११:५०, ५१) त्यस समयदेखि यता यहोवाले त्यस पुस्तकमा लाखौँ मानिसको नाम थपिसक्नुभएको छ। बाइबलमा त्यसलाई ‘सम्झनाको पुस्तक’ र “जीवनको पुस्तक” भनिएको छ। यस लेखमा हामी त्यसलाई “जीवनको पुस्तक” भन्‍नेछौँ।मलाकि ३:१६ पढ्‌नुहोस्‌; प्रका. ३:५; १७:८.

२. जीवनको पुस्तकमा कस्ता मानिसहरूको नाम लेखिएको छ र त्यसमा हाम्रो नाम लेखिएको चाहन्छौँ भने के गर्नुपर्छ?

यो विशेष पुस्तकमा यहोवाको भय मान्‍ने, गहिरो भावसाथ उहाँको उपासना गर्ने र उहाँको नामलाई अनमोल ठान्‍ने मानिसहरूको नाम लेखिएको छ। तिनीहरूसित अनन्त जीवन पाउने मौका छ। हामीले फिरौतीको बलिदानमा विश्‍वास गर्दै यहोवासित व्यक्‍तिगत सम्बन्ध गास्यौँ भने त्यस पुस्तकमा हाम्रो नाम पनि लेखिनेछ। (युह. ३:१६, ३६) हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने, हामी सबै जना त्यस पुस्तकमा आफ्नो नाम लेखिएको चाहन्छौँ।

३-४. (क) अहिले हाम्रो नाम जीवनको पुस्तकमा लेखिएको छ भने के हामीले अनन्त जीवन पाउनेछौँ? व्याख्या गर्नुहोस्‌। (ख) यो र यसपछिको लेखमा हामी के छलफल गर्नेछौँ?

तर के त्यस पुस्तकमा नाम लेखिएकाहरू सबैले अनन्त जीवन पाउने ग्यारेन्टी छ? यस प्रश्‍नको जवाफ यहोवाले प्रस्थान ३२:३३ मा मोसालाई भन्‍नुभएका शब्दहरूमा पाउन सक्छौँ। उहाँले यसो भन्‍नुभयो: “जसले मेरो विरुद्धमा पाप गरेको छ, म उसकै नाम मेरो पुस्तकबाट मेटाउनेछु।” त्यसैले अहिले त्यस पुस्तकमा भएका नामहरू मेटाइन पनि सक्छ। एक अर्थमा भन्‍ने हो भने यहोवाले त्यस पुस्तकमा नामहरू पेन्सिलले लेख्नुभएको छ। (प्रका. ३:५) तर हाम्रो नाम कहिल्यै नमेटिने गरी लेखिने समय नआउन्जेल आफ्नो नाम त्यस पुस्तकमा रहिरहेको चाहन्छौँ भने हामीले आफ्नो तर्फबाट प्रयास गर्नुपर्छ।

तर हाम्रो मनमा केही प्रश्‍न उठ्‌न सक्छ। जस्तै: जीवनको पुस्तकमा नाम भएकाहरू र नभएकाहरूबारे बाइबल के बताउँछ? त्यस पुस्तकमा नाम भएकाहरूले कहिले अनन्त जीवन पाउनेछन्‌? यहोवाबारे सिक्ने मौका नै नपाई मरेकाहरूबारे चाहिँ के भन्‍न सकिन्छ? के तिनीहरूको नाम पनि त्यस पुस्तकमा लेखिन सम्भव छ? यो र यसपछिको लेखमा हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

जीवनको पुस्तकमा क-कसको नाम लेखिएको छ?

५-६. (क) फिलिप्पी ४:३ अनुसार जीवनको पुस्तकमा कुन समूहको नाम लेखिएको छ? (ख) जीवनको पुस्तकमा तिनीहरूको नाम कहिल्यै नमेटिने गरी कहिले लेखिनेछ?

जीवनको पुस्तकमा क-कसको नाम लेखिएको छ? यसको जवाफ पाउन हामी पाँच वटा भिन्‍नाभिन्‍नै समूहबारे छलफल गर्नेछौँ। त्यस पुस्तकमा ती पाँच वटा समूहमध्ये कुनै समूहको नाम लेखिएको छ भने कुनैको छैन।

पहिलो समूहमा स्वर्गमा येसुसँगै शासन गर्न छानिएकाहरू पर्छन्‌। के जीवनको पुस्तकमा तिनीहरूको नाम छ? छ। प्रेषित पावलले फिलिप्पीको आफ्ना “सहकर्मीहरू”-लाई लेखेको पत्रमा येसुसँगै शासन गर्ने अभिषिक्‍त जनहरूको नाम जीवनको पुस्तकमा छ भनेर बताए। (फिलिप्पी ४:३ पढ्‌नुहोस्‌।) तर त्यस पुस्तकमा आफ्नो नाम रहिरहेको चाहन्छन्‌ भने तिनीहरू वफादार रहनुपर्छ। अनि तिनीहरूको मृत्युअघि वा महासङ्‌कष्ट सुरु हुनुअघि तिनीहरूलाई अन्तिम छाप लगाइँदा तिनीहरूको नाम जीवनको पुस्तकमा कहिल्यै नमेटिने गरी लेखिनेछ।—प्रका. ७:३.

७. ठूलो भीडको नाम जीवनको पुस्तकमा कहिल्यै नमेटिने गरी कहिले लेखिनेछ? (प्रकाश ७:१६, १७)

दोस्रो समूहमा “ठूलो भीड” पर्छ। के तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिएको छ? छ। तिनीहरू आरमागेडोनबाट बचेपछि पनि के तिनीहरूको नाम जीवनको पुस्तकमा हुनेछ? हुनेछ। (प्रका. ७:९, १४) यी भेडाखाले नम्र मानिसहरूले “अनन्त जीवन पाउनेछन्‌” भनेर येसुले बताउनुभयो। (मत्ति २५:४६) तर आरमागेडोनबाट बचेको ठूलो भीडले तुरुन्तै अनन्त जीवन भने पाउनेछैन। तिनीहरूको नाम जीवनको पुस्तकमा हुनेछ तर त्यो नाम पेन्सिलले लेखिएको जस्तै हुनेछ। हजार वर्षीय शासनको दौडान येसुले “जीवन दिने पानीको मुहानसम्मै तिनीहरूलाई गोठालोले झैँ डोऱ्‍याउनुहुनेछ।” येसुको डोऱ्‍याइअनुसारै चल्ने र अन्तिम जाँचमा यहोवाप्रति वफादार ठहरिने मानिसहरूको नाम जीवनको पुस्तकमा कहिल्यै नमेटिने गरी लेखिनेछ।प्रकाश ७:१६, १७ पढ्‌नुहोस्‌।

८. जीवनको पुस्तकमा कसको नाम लेखिएको छैन र तिनीहरूलाई के हुनेछ?

तेस्रो समूहमा आरमागेडोनमा विनाश भोग्ने बाख्राखाले मानिसहरू पर्छन्‌। तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिएको छैन। तिनीहरू “सधैँका लागि नाश हुनेछन्‌” भनेर येसुले बताउनुभयो। (मत्ति २५:४६) पावलले पनि “तिनीहरूले अनन्त विनाशको सजाय भोग्नेछन्‌” भनेर लेखे। (२ थिस्स. १:९; २ पत्रु. २:९) मानव इतिहासभरि नै ज-जसले जानाजानी पवित्र शक्‍तिको विरुद्धमा पाप गरे, तिनीहरूले अनन्त जीवन पाउनेछैनन्‌ बरु अनन्त विनाश भोग्नेछन्‌। स्पष्ट छ, तिनीहरू फेरि जीवित हुनेछैनन्‌। (मत्ति १२:३२; मर्कु. ३:२८, २९; हिब्रू ६:४-६) अब पृथ्वीमा फेरि जीवित हुने दुई वटा समूहबारे गहिरिएर विचार गरौँ।

फेरि जीवित हुनेहरू

९. प्रेषित २४:१५ अनुसार पृथ्वीमा कुन दुई समूहका मानिसहरू फेरि जीवित हुनेछन्‌ र यी दुई समूहबीच कस्तो भिन्‍नता छ?

बाइबलले पृथ्वीमा सधैँभरि बाँच्ने आशासहित फेरि जीवित हुने दुई वटा समूहबारे बताएको छ। ती हुन्‌: “धर्मी” र “अधर्मी।” (प्रेषित २४:१५ पढ्‌नुहोस्‌।) “धर्मी” भनेको जीवित छँदा वफादार भई यहोवाको सेवा गरेका मानिसहरू हुन्‌। अर्कोतर्फ “अधर्मी” भनेको जीवित छँदा यहोवाको सेवा नगरेका मानिसहरू हुन्‌ र तिनीहरूमध्ये प्रायजसोको जीवनशैली धर्मी भन्‍न लायकको पटक्कै थिएन। यी दुवै समूहका मानिसहरू फेरि जीवित हुने भएकोले के तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिएको छ भन्‍न सक्छौँ? यस प्रश्‍नको जवाफ पाउन आउनुहोस्‌, पालैपालो यी दुई समूहबारे छलफल गरौँ।

१०. ‘धर्मीहरूलाई’ किन फेरि जीवित पारिनेछ र तिनीहरूमध्ये केहीले कस्तो सुअवसर पाउनेछन्‌? (पृथ्वीमा फेरि जीवित हुनेहरूबारे चर्चा गरिएको यस अङ्‌कको “पाठकहरूको प्रश्‍न” पनि हेर्नुहोस्‌।)

१० चौथो समूहमा ‘धर्मीहरू’ पर्छन्‌। मृत्युअघि तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिएको थियो। तर के त्यो नाम तिनीहरूको मृत्युपछि जीवनको पुस्तकबाट हटाइयो? हटाइएन किनकि यहोवाको सम्झनामा तिनीहरू अझै पनि “जीवित” छन्‌। यहोवा “मरेकाहरूका होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ किनकि उहाँको लागि तिनीहरू सबै जीवित छन्‌।” (लुका २०:३८) यसको अर्थ धर्मीहरू पृथ्वीमा फेरि जीवित हुँदा तिनीहरूको नाम जीवनको पुस्तकमा हुनेछ तर त्यो नाम पेन्सिलले लेखिएको हुनेछ। (लुका १४:१४) फेरि जीवित भएका केहीले “सारा पृथ्वीका शासक”-को रूपमा सेवा गर्ने सुअवसर पनि पाउनेछन्‌।—भज. ४५:१६.

११. जीवनको पुस्तकमा आफ्नो नाम लेखाउन ‘अधर्मीहरूले’ के गर्न सिक्नुपर्नेछ?

११ अन्तमा पाँचौँ समूहबारे छलफल गरौँ, जसमा ‘अधर्मीहरू’ पर्छन्‌। सायद जीवित छँदा यहोवाको स्तर थाह नभएकोले तिनीहरूले त्यसअनुसार जीवन बिताएनन्‌। त्यसैले तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिएन। तर परमेश्‍वरले तिनीहरूलाई फेरि जीवित पार्नुभएर जीवनको पुस्तकमा आफ्नो नाम लेखाउने मौका दिनुहुनेछ। यी ‘अधर्मीहरूलाई’ धेरै मदतको आवश्‍यकता पर्नेछ। मृत्युअघि तिनीहरूमध्ये केहीले असाध्यै खराब काम गरेका थिए। त्यसैले तिनीहरूले यहोवाको धार्मिक स्तरअनुसार जीवन बिताउन सिक्नुपर्नेछ। यसको लागि परमेश्‍वरको राज्यले मानव इतिहासकै सबैभन्दा ठूलो शैक्षिक कार्यक्रमको आयोजना गर्नेछ।

१२. (क) अधर्मीहरूलाई कसले सिकाउनेछन्‌? (ख) सिकेको कुरा लागू नगर्नेहरूलाई के हुनेछ?

१२ अधर्मीहरूलाई कसले सिकाउनेछन्‌? ठूलो भीड र फेरि जीवित भएका धर्मीहरूले। जीवनको पुस्तकमा आफ्नो नाम लेखाउन अधर्मीहरूले यहोवासित सम्बन्ध गाँस्नुपर्नेछ र उहाँमा आफ्नो जीवन समर्पण गर्नुपर्नेछ। तिनीहरूले सिकेको कुरा लागू गरिरहेका छन्‌ कि छैनन्‌ भन्‍ने कुरामा येसु ख्रिष्ट र उहाँका सह-न्यायकर्ताहरूले गहिरो चासो लिनुहुनेछ। (प्रका. २०:४) तर सिकेको कुरा लागू नगर्नेहरूलाई नाश गरिनेछ, चाहे तिनीहरू १०० वर्षका नै किन नहोऊन्‌। (यसै. ६५:२०) यहोवा र येसुले मानिसहरूको हृदय पढ्‌न सक्नुहुन्छ। त्यसैले उहाँहरूले नयाँ संसारमा कसैलाई पनि कुनै हानि पुऱ्‍याउन दिनुहुनेछैन।—यसै. ११:९; ६०:१८; ६५:२५; युह. २:२५.

जीवन पाउनको लागि र न्याय गरिनको लागि फेरि जीवित हुनेहरू

१३-१४. (क) युहन्‍ना ५:२९ मा पाइने येसुका शब्दहरूबारे विगतको हाम्रो बुझाइ कस्तो थियो? (ख) यी शब्दहरूबारे हामीले कुन कुरा याद गर्नुपर्छ?

१३ येसुले पृथ्वीमा फेरि जीवित हुनेहरूबारे पनि बताउनुभयो। एकचोटि उहाँले यसो भन्‍नुभयो: “बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌ भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌।” (युह. ५:२८, २९) येसुले के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

१४ विगतको हाम्रो बुझाइ येसुका यी शब्दहरूले मृत्युबाट फेरि जीवित भएपछि मानिसहरूले गर्ने असल वा खराब कामलाई बुझाउँछ भन्‍ने थियो। तर यो कुरा याद गर्नुहोस्‌, येसुले चिहानबाट बाहिर निस्केकाहरूले असल वा खराब काम गर्नेछन्‌ भन्‍नुभएन बरु उहाँले भूतकाल चलाउनुभयो। उहाँले “ज-जसले असल काम गरे” र “ज-जसले खराब काम गरे” भन्‍नुभयो। यसबाट ती मानिसहरूले त्यस्तो काम आफ्नो मृत्युअघि गरेका थिए भन्‍ने बुझिन्छ। यो कुरा तार्किक छ किनभने नयाँ संसारमा कसैलाई पनि खराब काम गर्न दिइनेछैन। त्यसैले अधर्मीहरूले त्यस्तो खराब काम आफ्नो मृत्युअघि गरेको हुनुपर्छ। त्यसोभए येसुले कोही “जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌” र कोही “न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌” भन्‍नुको अर्थ के हो?

१५. “जीवन पाउनको लागि फेरि जीवित हुने”-हरू को हुन्‌ र तिनीहरू किन फेरि जीवित हुनेछन्‌?

१५ आफ्नो मृत्युअघि असल काम गरेका धर्मीहरू “जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌” किनभने जीवनको पुस्तकमा तिनीहरूको नाम पहिल्यै लेखिएको हुनेछ। त्यसैले युहन्‍ना ५:२९ मा उल्लेख गरिएको ‘असल काम गरेकाहरू’ र प्रेषित २४:१५ मा उल्लेख गरिएको ‘धर्मीहरूले’ एउटै समूहलाई बुझाउँछ। यो बुझाइ रोमी ६:७ सित पनि मेल खान्छ, जहाँ यसो भनिएको छ: “जो मर्छ, ऊ आफ्नो पापबाट मुक्‍त हुन्छ।” त्यसैले यी धर्मीहरूको मृत्यु हुँदा तिनीहरूको पाप मेटिन्छ तर तिनीहरूको वफादारीको रेकर्ड भने रहिरहन्छ। (हिब्रू ६:१०) तर जीवनको पुस्तकबाट आफ्नो नाम मेटिन नदिन फेरि जीवित भएका धर्मीहरू वफादार रहिरहनुपर्छ।

१६. ‘न्याय गरिनको लागि फेरि जीवित हुनुले’ केलाई बुझाउँछ?

१६ मृत्युअघि खराब काम गरेका मानिसहरूलाई के हुनेछ? मृत्यु हुँदा तिनीहरूको पाप मेटिए तापनि तिनीहरूको वफादारीको कुनै रेकर्ड छैन। त्यसैले जीवनको पुस्तकमा तिनीहरूको नाम लेखिएको छैन। युहन्‍ना ५:२९ मा उल्लेख गरिएको ‘खराब काम गरेकाहरू’ अनि प्रेषित २४:१५ मा उल्लेख गरिएको ‘अधर्मीहरू’ एउटै समूहका हुन्‌। तिनीहरू “न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌।” * कुन अर्थमा तिनीहरूको न्याय गरिनेछ? येसुले ती अधर्मीहरू परमेश्‍वरको स्तरअनुसार चलिरहेका छन्‌ कि छैनन्‌ भनेर जाँच्नुहुनेछ। (लुका २२:३०) तिनीहरू जीवनको पुस्तकमा नाम लेखाउन योग्य छन्‌ कि छैनन्‌ भनेर फैसला हुन केही समय लाग्नेछ। ती अधर्मीहरूले पहिलाको जीवनशैली त्यागेर यहोवामा आफ्नो जीवन समर्पण गरे भने मात्र जीवनको पुस्तकमा तिनीहरूको नाम लेखिनेछ।

१७-१८. फेरि जीवित भएकाहरू सबैले के गर्नुपर्नेछ र प्रकाश २०:१२, १३ मा उल्लेख गरिएको “काम”-ले केलाई बुझाउँछ?

१७ फेरि जीवित भएकाहरू पहिला धर्मी होऊन्‌ वा अधर्मी, तिनीहरूले हजार वर्षीय शासनको दौडान खोलिने नयाँ पुस्तकहरूमा लेखिएको नीतिनियम पालन गर्नुपर्नेछ। प्रेषित युहन्‍ना आफूले दर्शनमा देखेको कुरा यसरी व्याख्या गर्छन्‌: “के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक पनि खोलियो; त्यो जीवनको पुस्तक थियो। अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।”—प्रका. २०:१२, १३.

१८ फेरि जीवित भएकाहरूको न्याय तिनीहरूले गरेको कुन “काम”-को आधारमा गरिनेछ? तिनीहरूले मृत्युअघि गरेका कामहरूको आधारमा हो कि? त्यो त होइन किनकि हामीले अगाडि पनि बुझेझैँ तिनीहरूको मृत्यु हुँदा तिनीहरू आफ्नो पापबाट मुक्‍त हुन्छन्‌। त्यसैले यहाँ बताइएको “काम”-ले तिनीहरूले पहिलाको जीवनमा गरेको कामलाई बुझाउँदैन बरु नयाँ संसारमा तालिम पाएपछि तिनीहरूले गर्ने कामलाई बुझाउँछ। नुह, समुएल, दाउद र दानिएलजस्ता वफादार व्यक्‍तिहरूले त येसु ख्रिष्टबारे सिक्नुपर्नेछ र उहाँको बलिदानमा विश्‍वास गर्नुपर्नेछ भने अधर्मीहरूले झन्‌ कत्ति धेरै कुरा सिक्नुपर्ला!

१९. यो सुनौलो मौकाको सदुपयोग नगर्नेहरूलाई के हुनेछ?

१९ यो सुनौलो मौकाको सदुपयोग नगर्नेहरूलाई के हुनेछ? प्रकाश २०:१५ यसो भन्छ: “ज-जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन, तिनीहरूलाई . . . अग्निकुण्डमा हुर्ऱ्याइयो।” हो, तिनीहरूले अनन्त विनाश भोग्नेछन्‌। त्यसैले जीवनको पुस्तकमा आफ्नो नाम लेखाउन र त्यसलाई मेटिन नदिन हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्छ।

एक भाइ हजार वर्षको दौडान सञ्चालन हुने बृहत्‌ शैक्षिक कार्यक्रमअन्तर्गत अरूलाई सिकाउँदै छन्‌ (अनुच्छेद २० हेर्नुहोस्‌)

२०. हजार वर्षीय शासनको दौडान कस्ता रोमाञ्चकारी कामहरू गरिनेछ? (आवरण चित्र हेर्नुहोस्‌।)

२० हजार वर्षीय शासनको अवधि साँच्चै कत्ति रोमाञ्चकारी समय हुनेछ! त्यतिबेला अहिलेसम्मकै सबैभन्दा ठूलो शैक्षिक कार्यक्रम आयोजना गरिनेछ। साथै त्यस समयमा धर्मी र अधर्मी दुवैले यहोवाको नीतिनियमअनुसार चल्न इच्छुक भएको कुरा साबित गर्नुपर्नेछ। (यसै. २६:९; प्रेषि. १७:३१) त्यो शैक्षिक कार्यक्रम कसरी अघि बढ्‌नेछ? यसपछिको लेखले त्यस विशेष प्रबन्धबारे बुझ्न र त्यसको मोल गर्न मदत गर्नेछ।

गीत १४७ वाचा अनन्त जीवनको

^ युहन्‍ना ५:२८, २९ मा “जीवन पाउनको लागि फेरि जीवित हुने” र “न्याय गरिनको लागि फेरि जीवित हुने”-बारे बताइएको छ। यस लेखमा येसुका यी शब्दहरूको बुझाइमा गरिएको छाँटकाँटबारे थाह पाउनेछौँ। साथै यी दुई किसिमको पुनर्जीवनले केलाई बुझाउँछ र यी दुई समूहमा को-को समावेश छन्‌ भनेर पनि बुझ्नेछौँ।

^ यो पुस्तक “संसारको प्रारम्भदेखि” लेख्न सुरु गरियो र “संसार” शब्दले पापबाट उद्धार पाउन योग्य मानिसहरूलाई बुझाउँछ। (मत्ति २५:३४; प्रका. १७:८) त्यसैले यस पुस्तकमा लेखिएको पहिलो नाम धर्मी हाबिलको हुनुपर्छ।

^ यहाँ चलाइएको “न्याय” शब्दले सजाय वा दण्ड दिनुलाई बुझाउँछ भनेर हामीले व्याख्या गर्दै आएका थियौँ। हुनत “न्याय” शब्दको अर्थ यो पनि हुन सक्छ। तर यस प्रसङ्‌गमा येसुले “न्याय” शब्द न त नकारात्मक अर्थमा न त सकारात्मक अर्थमा नै प्रयोग गर्दै हुनुहुन्थ्यो जस्तो देखिन्छ। बरु यसले कसैको मूल्याङ्‌कन वा जाँच गर्ने प्रक्रियालाई बुझाउँछ। एउटा ग्रीक बाइबल शब्दकोशअनुसार यसले “कसैको आचरणलाई गहिरिएर जाँच्नु”-लाई बुझाउँछ।