सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४३

‘उहाँले तिमीहरूलाई बलियो पार्नुहुनेछ’—कसरी?

‘उहाँले तिमीहरूलाई बलियो पार्नुहुनेछ’—कसरी?

“[यहोवाले] तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।”—१ पत्रु. ५:१०.

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

परिचय a

१. पुरातन समयमा परमेश्‍वरले आफ्ना उपासकहरूलाई कसरी बल दिनुभयो?

 परमेश्‍वरको वचनमा वफादार पुरुषहरूलाई अक्सर बलिया मानिसहरूको रूपमा व्याख्या गरिएको छ। तर तिनीहरूमध्ये एकदमै बलिया व्यक्‍तिहरूले पनि कहिलेकाहीँ कमजोर महसुस गरे। जस्तै: राजा दाउदले कहिलेकाहीँ आफू “पहाडजत्तिकै अटल” भएको महसुस गरे तर कहिलेकाहीँ भने “त्रसित” भए। (भज. ३०:७) हुनत सिमसोन परमेश्‍वरको शक्‍ति पाएर बलवान्‌ भएका थिए। तर परमेश्‍वरको शक्‍ति नपाएमा आफू पनि “कमजोर भएर अरू मानिसजस्तै हुनेछु” भनेर तिनलाई थाह थियो। (न्याय. १४:५, ६; १६:१७) यी वफादार पुरुषहरू परमेश्‍वरको शक्‍ति पाएर मात्रै बलिया हुन सकेका थिए।

२. प्रेषित पावलले किन आफू कमजोर हुँदा बलियो हुन्छु भने? (२ कोरिन्थी १२:९, १०)

प्रेषित पावलले पनि आफूलाई यहोवाको शक्‍ति चाहिन्छ भनेर बुझेका थिए। (२ कोरिन्थी १२:९, १० पढ्‌नुहोस्‌।) हामीमध्ये थुप्रैले जस्तै पावलले पनि स्वास्थ्य समस्याहरूको सामना गरिरहेका थिए। (गला. ४:१३, १४) कहिलेकाहीँ तिनलाई पनि असल काम गर्न गाह्रो भयो। (रोमी ७:१८, १९) कहिलेकाहीँ भने तिनी चिन्तित भए र तिनको ज्यानको समेत ठेगान थिएन। (२ कोरि. १:८, ९) तैपनि पावल कमजोर हुँदा बलिया भए। कसरी? यहोवाले तिनलाई चुनौतीहरूको सामना गर्न बल दिनुभयो।

३. यस लेखमा हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

यहोवाले हामीलाई पनि बलियो बनाउने प्रतिज्ञा गर्नुभएको छ। (१ पत्रु. ५:१०) तर उहाँबाट बल पाउन हामीले आफ्नो तर्फबाट पनि प्रयास गर्नुपर्छ। जस्तै: तपाईँले आफ्नो अगाडि भएको खानेकुरालाई आफैले मुखसम्म लैजानुपर्छ। त्यसपछि मात्र त्यसबाट पोषण पाउन सक्नुहुन्छ। त्यसैगरि यहोवा हामीलाई बल दिन तयार हुनुहुन्छ तर त्यसबाट लाभ उठाउन हामी आफैले कदम चाल्नुपर्छ। उहाँले हामीलाई बल दिन के-कस्ता प्रबन्धहरू गर्नुभएको छ? ती प्रबन्धहरूबाट बल पाउन हामीले के गर्नुपर्छ? यी प्रश्‍नहरूको जवाफ पाउन यहोवाले बल दिनुभएका तीन बाइबल पात्र—भविष्यवक्‍ता योना, येसुकी आमा मरियम र प्रेषित पावलबारे विचार गरौँ। साथै यहोवाले आज आफ्ना सेवकहरूलाई कसरी बल दिइरहनुभएको छ भनेर पनि विचार गर्नेछौँ।

प्रार्थना र अध्ययन गरेर बल पाउनुहोस्‌

४. हामी कसरी यहोवाबाट बल पाउन सक्छौँ?

हामीले यहोवाबाट बल पाउन सक्ने एउटा तरिका उहाँलाई प्रार्थना गरेर हो। अनि उहाँले हाम्रा प्रार्थनाहरूको जवाफस्वरूप “असाधारण शक्‍ति” दिनुहुन्छ। (२ कोरि. ४:७) उहाँको वचन पढेर अनि मनन गरेर पनि हामी बल पाउन सक्छौँ। (भज. ८६:११) यहोवाले बाइबलमा हाम्रो लागि लेख्न लगाउनुभएका कुराहरू “प्रबल” छन्‌। (हिब्रू ४:१२) यहोवालाई प्रार्थना गर्दा र उहाँको वचन पढ्‌दा तपाईँले चुनौतीहरूको सामना गर्न, आनन्द कायम गर्न र गाह्रो असाइनमेन्ट पूरा गर्न आवश्‍यक बल पाउनुहुनेछ। उहाँले भविष्यवक्‍ता योनालाई कसरी बल दिनुभयो, विचार गरौँ।

५. भविष्यवक्‍ता योनालाई किन बल चाहिएको थियो?

भविष्यवक्‍ता योनालाई बल चाहिएको थियो। तिनी आफूलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्न गाह्रो लागेकोले अन्तै भागेका थिए। यसरी भागेकोले तिनले भयङ्‌कर आँधीमा परेर झन्डै आफ्नो ज्यान गुमाएका थिए र तिनले गर्दा तिनीसँगै यात्रा गरिरहेकाहरूको ज्यान पनि खतरामा परेको थियो। नाविकहरूले तिनलाई समुद्रमा फ्याँकेपछि एउटा ठूलो माछाले तिनलाई निल्यो। माछाको अन्धकार पेटमा पुगेपछि तिनलाई कत्ति डर लाग्यो होला, सोच्नुहोस्‌ त! तिनलाई आफू त्यहीँ मर्छु होला जस्तो लाग्यो कि? यहोवाले मलाई त्याग्नुभयो भन्‍ने महसुस गरे कि? जेहोस्‌, योना असाध्यै चिन्तित भएको हुनुपर्छ।

परीक्षाको सामना गर्नुपर्दा हामी कसरी भविष्यवक्‍ता योनाले जस्तै बल पाउन सक्छौँ? (अनुच्छेद ६-९ हेर्नुहोस्‌)

६. योना २:१, २, ७ अनुसार माछाको पेटमा हुँदा बल पाउन योनाले के गरे?

माछाको पेटमा हुँदा बल पाउन योनाले के गरे? तिनले यहोवालाई प्रार्थना गरे। (योना २:१, २,  पढ्‌नुहोस्‌।) हुनत तिनी यहोवाप्रति अनाज्ञाकारी भएका थिए। तर पश्‍चात्तापी मनोभावसहित गरेको प्रार्थना उहाँले सुन्‍नुहुन्छ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। साथै योनाले पहिला धर्मशास्त्रमा पढेका कुराहरूमा मनन पनि गरे। हामी किन यसो भन्‍न सक्छौँ? योना अध्याय २ मा रेकर्ड गरिएको तिनको प्रार्थनामा तिनले भजनको किताबमा पाइने शब्द र वाक्यांशहरू चलाएका छन्‌। (जस्तै: योना २:२, ५ लाई भजन ६९:१; ८६:७ सित तुलना गर्नुहोस्‌।) यसबाट तिनलाई ती विवरणहरू राम्ररी याद थियो भनेर प्रस्ट हुन्छ। ती विवरणहरूमा मनन गरेकोले तिनी यहोवाको साथ पाउने कुरामा ढुक्क हुन सके। पछि माछाले योनालाई सुक्खा जमिनमा ओकलिदियो र तिनी यहोवाले सुम्पनुभएको जिम्मेवारी पूरा गर्न तयार भए।—योना २:१०–३:४.

७-८. ताइवानका एक भाइले परीक्षाहरूको सामना गर्न कसरी बल पाए?

परीक्षाहरूको सामना गर्नुपर्दा योनाको उदाहरणले हामीलाई मदत गर्न सक्छ। उदाहरणको लागि, ताइवानका झमिङ b भाइको अनुभव विचार गरौँ। तिनले गम्भीर स्वास्थ्य समस्याहरूको सामना गरिरहेका छन्‌। त्यति मात्र होइन, यहोवाको साक्षी भएकोले परिवारका सदस्यहरूले तिनलाई कुटपिटसमेत गर्छन्‌। तिनी प्रार्थना र अध्ययन गरेर यहोवाबाट बल पाउँछन्‌। तिनी यसो भन्छन्‌: “समस्याहरू आइपर्दा कहिलेकाहीँ त मलाई यत्ति टेन्सन हुन्छ कि म व्यक्‍तिगत अध्ययनसमेत गर्न सक्दिनँ।” तर तिनी हार मान्दैनन्‌। तिनी अझै यसो भन्छन्‌: “सुरुमा म यहोवालाई प्रार्थना गर्छु। त्यसपछि एयरफोन लगाएर राज्य गीतहरू सुन्छु। कहिलेकाहीँ टेन्सन कम नभएसम्म ती गीतहरू सुन्दै गुनगुनाउँछु। त्यसपछि अध्ययन गर्न थाल्छु।”

व्यक्‍तिगत अध्ययनमा सिकेका कुराहरूले झमिङलाई गाह्रा परिस्थितिहरूको सामना गर्न बल दियो। उदाहरणका लागि, झमिङको एउटा ठूलो शल्यक्रिया गर्नुपरेको थियो। शल्यक्रियापछि निको हुने क्रममा एक जना नर्सले तिनको रातो रक्‍तकोष एकदमै कम भएकाले रगत लिनुपर्छ भनिन्‌। झमिङलाई केले मदत गऱ्‍यो? आफ्नो शल्यक्रिया हुनुभन्दा अघिल्लो रात झमिङले तिनको जस्तै शल्यक्रिया गरेकी एक बहिनीको अनुभव पढेका थिए। ती बहिनीको रातो रक्‍तकोष झमिङको भन्दा कम थियो। तैपनि ती बहिनीले रगत लिन इन्कार गरिन्‌ र पछि निको पनि भइन्‌। त्यस अनुभवबाट झमिङले वफादार रहिरहन बल पाए।

९. परीक्षाले गर्दा कमजोर हुनुभएको छ भने तपाईँ के गर्न सक्नुहुन्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

परीक्षाको बेला के तपाईँ प्रार्थना नै गर्न नसक्नेगरि चिन्तित हुनुभएको छ? अथवा अध्ययन गर्न बलै नभएको महसुस गर्नुभएको छ कि? यहोवा तपाईँको अवस्था राम्ररी बुझ्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। त्यसैले छोटो प्रार्थना मात्र गर्नुभयो भने पनि उहाँले तपाईँलाई चाहिएकै मदत दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (एफि. ३:२०) शारीरिक वा भावनात्मक पीडाले गर्दा पढ्‌न सकिरहनुभएको छैन भने बाइबल वा बाइबलआधारित प्रकाशनहरूको अडियो रेकर्डिङ सुन्‍न सक्नुहुन्छ। jw.org मा गीतहरू सुन्‍नुभयो वा भिडियोहरू हेर्नुभयो भने पनि मदत पाउन सक्नुहुन्छ। यहोवालाई प्रार्थना गर्नुभयो अनि त्यसको जवाफ बाइबल र उहाँले प्रबन्ध गर्नुभएका अरू कुराहरूमा खोज्नुभयो भने उहाँले तपाईँलाई बलियो बनाउनुहुन्छ।

भाइबहिनीबाट बल पाउनुहोस्‌

१०. भाइबहिनीले हामीलाई कसरी बलियो बनाउँछन्‌?

१० यहोवा हामीलाई बलियो बनाउन भाइबहिनी चलाउन सक्नुहुन्छ। परीक्षाको बेला वा आफ्नो असाइनमेन्ट पूरा गर्न गाह्रो भइरहेको बेला तिनीहरू “सान्त्वना”-को स्रोत हुन सक्छन्‌। (कल. ४:१०, ११) “दुःखमा” पर्दा हामीलाई विशेषगरि साथीहरू चाहिन्छ। (हितो. १७:१७) कमजोर हुँदा हाम्रा भाइबहिनीले हामीलाई शारीरिक, भावनात्मक र आध्यात्मिक रूपमा मदत गर्न सक्छन्‌। येसुकी आमा मरियमले कसरी अरूबाट बल पाइन्‌, विचार गरौँ।

११. मरियमलाई किन बल चाहिएको थियो?

११ मरियमलाई यहोवाको इच्छा पूरा गर्न बल चाहिएको थियो। तिनको विवाह भएको थिएन। गब्रिएल स्वर्गदूतले तिनी गर्भवती हुनेछिन्‌ भनेर बताउँदा तिनीलाई कत्ति तनाव भयो होला, कल्पना गर्नुहोस्‌ त! तिनीसित बच्चा हुर्काउने अनुभव थिएन। तर तिनले सानो बालकको लालनपालन गर्नुपर्ने थियो, जो पछि मसीह हुने थिए। साथै तिनले कहिल्यै कसैसित शारीरिक सम्बन्ध राखेकी थिइनन्‌। तर तिनले आफ्नो मङ्‌गेतर युसुफलाई आफू गर्भवती भएको कुरा बताउनुपऱ्‍यो। तिनलाई कत्ति गाह्रो भयो होला!—लुका १:२६-३३.

१२. लुका १:३९-४५ अनुसार मरियमले कसरी बल पाइन्‌?

१२ मरियमले यो असाधारण र महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न कसरी बल पाइन्‌? तिनले अरूको मदत खोजिन्‌। जस्तै: तिनले गब्रिएल स्वर्गदूतलाई यस जिम्मेवारीबारे थप कुरा सोधिन्‌। (लुका १:३४) अनि त्यसको केही समयपछि तिनी “पहाडी भूभागमा पर्ने” यहुदाको एउटा सहरमा बस्ने आफन्त इलिसिबालाई भेट्‌न गइन्‌। तिनको यात्रा फलदायी भयो। इलिसिबाले तिनको प्रशंसा गरिन्‌ र यहोवाबाट प्रेरणा पाएर मरियमको गर्भमा रहेको बच्चाबारे एउटा प्रोत्साहनदायी भविष्यवाणी गरिन्‌। (लुका १:३९-४५ पढ्‌नुहोस्‌।) यहोवाले “आफ्नो बाहुलीले पराक्रमी कामहरू गर्नुभएको छ” भनेर मरियमले बताइन्‌। (लुका १:४६-५१) उहाँले गब्रिएल र इलिसिबामार्फत मरियमलाई बलियो पार्नुभयो।

१३. बोलिभियाकी एक बहिनीले भाइबहिनीसित मदत माग्दा नतिजा कस्तो भयो?

१३ मरियमले जस्तै हामीले पनि सङ्‌गी भाइबहिनीबाट बल पाउन सक्छौँ। बोलिभियाकी बहिनी दासुरीलाई त्यस्तै बल चाहिएको थियो। तिनको बुबालाई उपचारै नभएको प्राणघातक रोग लागेकोले अस्पतालमा भर्ना गरिएको थियो। दासुरी बहिनीले आफ्नो बुबाको हेरचाह एक्लैले गर्ने विचार गरिन्‌। (१ तिमो. ५:४) तर तिनलाई सजिलो भने भएन। तिनी भन्छिन्‌: “कति पटक त अब म सक्दिनँ जस्तो लाग्यो।” के तिनले अरूसित मदत मागिन्‌? सुरुमा त मागिनन्‌। तिनी भन्छिन्‌: “मलाई भाइबहिनीलाई दुःख दिनै मन लागेन। यस्तो पनि सोचेँ, ‘यहोवाले मलाई चाहिएको मदत दिनुहुन्छ।’ तर यसरी एक्लैले आफ्नो समस्या सामना गर्न खोज्दा मैले आफूलाई अरूबाट अलग पारिरहेकी छु भनेर पछि बुझेँ।” (हितो. १८:१) दासुरीले आफ्नो अवस्था बताउँदै केही साथीलाई चिठी लेखिन्‌। तिनी भन्छिन्‌: “मैले मायालु भाइबहिनीबाट कत्ति बल पाएँ, शब्दमा बयानै गर्न सक्दिनँ। उहाँहरूले मलाई अस्पतालमा खानेकुरा ल्याइदिनुभयो र मसित बाइबलबाट प्रोत्साहनजनक पदहरू बाँड्‌नुभयो। म एक्लो छैनँ भनेर थाह पाउँदा ढुक्क महसुस गरेँ। हामी यहोवाको ठूलो परिवारको भाग हौँ, जो दुःखमा पर्दा मदत गर्न, सँगै रुन र सँगै परीक्षाको सामना गर्न तयार छ।”

१४. हामीले किन एल्डरहरूको मदत स्विकार्नुपर्छ?

१४ यहोवा हामीलाई एल्डरहरूमार्फत पनि बल दिनुहुन्छ। हामीले वरदानको रूपमा पाएका एल्डरहरूले हामीलाई बल र स्फूर्ति दिन्छन्‌। (यसै. ३२:१, २) त्यसैले चिन्ताफिक्रीले सताउँदा आफ्ना भावनाहरू कुनै एल्डरलाई बताउनुहोस्‌। तिनले मदत दिँदा कृतज्ञ भई स्विकार्नुहोस्‌। एल्डरहरूमार्फत यहोवा तपाईँलाई बलियो पार्न सक्नुहुन्छ।

भविष्यको आशाबाट बल पाउनुहोस्‌

१५. सबै ख्रिष्टियनले कस्तो अनमोल आशा पाएका छन्‌?

१५ बाइबलआधारित आशाले हामीलाई बल दिन सक्छ। (रोमी ४:३, १८-२०) हामी ख्रिष्टियनहरूले सधैँभरि बाँच्ने अनमोल आशा पाएका छौँ, चाहे त्यो पृथ्वीमा होस्‌ वा स्वर्गमा। यस आशाले हामीलाई परीक्षाहरू सहन, साक्षीकार्यमा लागिरहन र मण्डलीमा विभिन्‍न असाइनमेन्ट पूरा गर्न बल दिन्छ। (१ थिस्स. १:३) प्रेषित पावललाई पनि यही आशाले बल दिएको थियो।

१६. प्रेषित पावललाई किन बल चाहिएको थियो?

१६ पावललाई परीक्षाहरूको सामना गर्न बल चाहिएको थियो। कोरिन्थका ख्रिष्टियनहरूलाई लेखेको पत्रमा तिनले आफूलाई माटोको कमजोर भाँडोसित तुलना गरे। तिनी “थिचिएका,” “अन्योलमा परेका” र ‘पछारिएका’ थिए। तिनको “खेदो गरिएको” थियो अनि तिनको ज्यानसमेत खतरामा परेको थियो। (२ कोरि. ४:८-१०) पावलले यी शब्दहरू तेस्रो मिसनरी यात्राको बेला लेखेका थिए। सायद त्यतिबेला तिनले अझ धेरै कठिनाइ भोग्नुपर्नेछ भनेर सोचेकै थिएनन्‌। तिनलाई मानिसहरूको हुलले आक्रमण गर्ने थियो, तिनी पक्राउ पर्ने थिए, तिनी चढेको जहाज दुर्घटनामा पर्ने थियो र तिनलाई झ्यालखानामा हालिने थियो।

१७. दोस्रो कोरिन्थी ४:१६-१८ अनुसार पावललाई परीक्षाहरू सहन केले बल दियो?

१७ पावलले आफ्नो आशामा ध्यान केन्द्रित गर्दा सहने बल पाए। (२ कोरिन्थी ४:१६-१८ पढ्‌नुहोस्‌।) तिनले कोरिन्थका ख्रिष्टियनहरूलाई आफ्नो “शरीर क्षीण हुँदै गइरहेको” भए तापनि आफू निरुत्साहित नहुने कुरा बताए। पावलले भविष्यमा आफूले पाउने इनाममा ध्यान केन्द्रित गरे। तिनको लागि स्वर्गीय इनाम “अतुलनीय” थियो। त्यसैले तिनी जस्तोसुकै कठिनाइ भोग्न पनि तयार भए। पावलले त्यस आशामा मनन गरे। नतिजास्वरूप, तिनले आफ्नो भित्री व्यक्‍तित्व “दिनदिनै नयाँ हुँदै गइरहेको” महसुस गरे।

१८. तिहोमिर र तिनको परिवारलाई भविष्यको आशाले कसरी बल दिएको छ?

१८ बुल्गेरियाका तिहोमिर भाइलाई भविष्यको आशाले बल दियो। केही वर्षअघि तिनको भाइ स्ट्राकोको दुर्घटनामा परेर मृत्यु भयो। त्यसले गर्दा तिनलाई असह्‍य पीडा भयो। त्यो पीडा सहन तिनी र तिनको परिवारले मरेकाहरू फेरि जीवित भएपछि जीवन कस्तो हुनेछ भनेर कल्पना गर्छन्‌। तिनी भन्छन्‌: “हामी भाइलाई कहाँ भेटिन्छ होला, उसलाई के पकाएर खुवाउने, ऊ फेरि जीवित भएपछि खुसीयाली मनाउन क-कसलाई बोलाउने र अन्तको दिनबारे कस्तो कुरा बताउने भनेर छलफल गर्ने गर्छौँ।” यसरी भविष्यको आशामा ध्यान केन्द्रित गर्दा तिनको परिवारले सहन र मरेकाहरू फेरि जीवित हुने समय पर्खिरहन बल पाएको कुरा तिहोमिर बताउँछन्‌।

नयाँ संसारमा तपाईँ के गर्न चाहनुहुन्छ? (अनुच्छेद १९ हेर्नुहोस्‌) c

१९. तपाईँ आफ्नो आशालाई बलियो बनाउन के गर्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१९ तपाईँ आफ्नो आशालाई कसरी बलियो बनाउन सक्नुहुन्छ? तपाईँको आशा पृथ्वीमा सधैँभरि जिउने हो भने प्रमोदवनबारे बाइबलमा पाइने विवरणहरू पढ्‌नुहोस्‌ र त्यसमा मनन गर्नुहोस्‌। (यसै. २५:८; ३२:१६-१८) नयाँ संसारमा जीवन कस्तो हुनेछ भनेर सोच्नुहोस्‌। आफू त्यहीँ भएको कल्पना गर्नुहोस्‌। तपाईँ क-कसलाई देख्नुहुन्छ? कस्ता आवाजहरू सुन्‍नुहुन्छ? कस्तो महसुस गर्नुहुन्छ? अझ राम्ररी कल्पना गर्नको लागि हाम्रा प्रकाशनहरूमा भएका चित्रहरू वा म्युजिक भिडियोहरू हेर्नुहोस्‌। जस्तै: नयाँ संसारको आशा, कल्पना गरशान्ति सधैँलाई! यसरी नियमित रूपमा नयाँ संसारबारे सोच्नुभयो भने तपाईँलाई आफ्ना समस्याहरू “क्षणिक र हलुका” लाग्नेछ। (२ कोरि. ४:१७) हो, यहोवा तपाईँलाई भविष्यको आशामार्फत बलियो पार्नुहुन्छ।

२०. कमजोर महसुस हुँदा हामी कसरी बल पाउन सक्छौँ?

२० कमजोर महसुस हुँदा “परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ।” (भज. १०८:१३) यहोवाले हामीलाई बल दिन चाहिने सबै कुराको प्रबन्ध गरिसक्नुभएको छ। त्यसैले असाइनमेन्ट पूरा गर्न, परीक्षा सहन वा आफ्नो आनन्द कायम गर्न यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस्‌ र व्यक्‍तिगत अध्ययन गरेर उहाँको डोऱ्‍याइ खोज्नुहोस्‌। भाइबहिनीले दिने प्रोत्साहन स्विकार्नुहोस्‌। आफ्नो आशालाई धमिलो हुन नदिनुहोस्‌। ‘अनि महिमाले भरिपूर्ण परमेश्‍वरको सामर्थ्यबाट ठूलो बल पाएर तपाईँहरूले सबै कुरा धीरजी र आनन्दित हुँदै सहन सक्नुहुनेछ।’—कल. १:११.

गीत ३३ बिसाऊ भारी यहोवामा

a यस लेखले परीक्षा सहन एकदमै गाह्रो महसुस गरिरहेकाहरूलाई र असाइनमेन्टहरू पूरा गर्न एकदमै गाह्रो भइरहेकाहरूलाई मदत गर्नेछ। अनि यहोवा हामीलाई कसरी बलियो पार्नुहुन्छ र उहाँको मदत पाउन के गर्न सक्छौँ भनेर पनि सिक्नेछौँ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

c चित्रको व्याख्या: बहिरा बहिनी बाइबलका प्रतिज्ञाहरूमा मनन गर्दै छिन्‌। म्युजिक भिडियो हेर्दै नयाँ संसारमा आफ्नो जीवन कस्तो हुनेछ भनेर तिनी कल्पना गर्दै छिन्‌।