सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४४

परमेश्‍वरको वचन गहिरिएर अध्ययन गर्नुहोस्‌

परमेश्‍वरको वचन गहिरिएर अध्ययन गर्नुहोस्‌

“सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ।”—एफि. ३:१८.

गीत ९५ ज्योति झनै चहकिलो भयो

परिचय a

१-२. बाइबल पढ्‌ने र अध्ययन गर्ने सबैभन्दा राम्रो तरिका के हो, उदाहरणसहित बताउनुहोस्‌।

 कल्पना गर्नुहोस्‌, तपाईँ एउटा घर किन्‍ने विचार गर्दै हुनुहुन्छ। त्यो घर किन्‍नुअघि तपाईँ कस्ता कुराहरू हेर्नुहुन्छ? त्यो घरको फोटो मात्र हेरेर चित्त बुझाउनुहुन्छ कि? अहँ, बुझाउनुहुन्‍न। बरु तपाईँ त्यो घरमै जानुहुन्छ र सबै कोठामा गएर एक-एक कुरा हेर्नुहुन्छ। त्यो घर कसरी बनिएको थियो भनेर थाह पाउन छिमेकीहरूलाई सोध्नुहुन्छ होला। पक्कै पनि तपाईँ आफूले किन्‍न चाहेको घरको एक-एक कुरा थाह पाउन चाहनुहुन्छ।

हामी बाइबल पढ्‌दा र अध्ययन गर्दा पनि त्यस्तै गर्न सक्छौँ। एक शास्त्रविद्‌ले बाइबलको सन्देशलाई “ठूलो जग्गामा बनाइएको अग्लो भवनसित तुलना गरे, जसको जग गहिरो छ।” त्यसोभए हामी बाइबलको कुरा अझै राम्ररी बुझ्न के गर्न सक्छौँ? यदि तपाईँले सरसरती मात्र पढ्‌नुभयो भने “परमेश्‍वरको पवित्र सन्देशका आधारभूत कुराहरू” मात्रै सिक्नुहुनेछ। (हिब्रू ५:१२) तर बाइबलको कुरा पूर्ण रूपमा बुझ्न चाहनुहुन्छ भने घरभित्र छिरेर एक-एक कुरा हेर्नुभएजस्तै बाइबल पनि गहिरिएर अध्ययन गर्नुपर्छ। यसरी अध्ययन गर्ने एउटा राम्रो तरिका बाइबलमा लेखिएका कुराहरू आपसमा कसरी सम्बन्धित छन्‌ भनेर बुझ्ने कोसिस गर्नु हो। तपाईँ बाइबलका के-कस्ता सत्यहरूमा विश्‍वास गर्नुहुन्छ र किन विश्‍वास गर्नुहुन्छ भनेर पनि बुझ्ने कोसिस गर्नुहोस्‌।

३. प्रेषित पावलले भाइबहिनीलाई के गर्न आग्रह गरे र किन? (एफिसी ३:१४-१९)

परमेश्‍वरको वचन पूर्ण रूपमा बुझ्न हामीले यसका गहिरा सत्यहरू अध्ययन गर्नुपर्छ। प्रेषित पावलले भाइबहिनीलाई ‘सत्यको चौडाइ, लम्बाइ, उचाइगहिराइ पूर्ण रूपमा बुझ्नको’ लागि परमेश्‍वरको वचन लगनशील भएर अध्ययन गर्न आग्रह गरे। त्यसो गरेमा तिनीहरू “विश्‍वासको जगमा [अझै] जरा हालिएका र दृढ” हुने थिए। (एफिसी ३:१४-१९ पढ्‌नुहोस्‌।) हामीले पनि त्यसै गर्नुपर्छ। हामी कसरी गहिरिएर बाइबलको अध्ययन गर्न सक्छौँ, आउनुहोस्‌ विचार गरौँ।

बाइबलका गहिरा सत्यहरू खोज्नुहोस्‌

४. हामी यहोवासित अझ नजिक हुन के गर्न सक्छौँ? केही उदाहरण दिनुहोस्‌।

हामी बाइबलका आधारभूत शिक्षाहरूमा मात्र चित्त बुझाएर बस्न चाहँदैनौँ। बरु पवित्र शक्‍तिको मदत पाएर “परमेश्‍वरका गहिरा कुराहरू”-समेत सिक्न चाहन्छौँ। (१ कोरि. २:९, १०) यहोवासित अझै नजिक हुन कुनै विषयमा गहिरिएर अध्ययन गर्न थाल्नुभए कसो होला? जस्तै: परमेश्‍वरले इस्राएलीहरूलाई प्रेम गरेको कसरी देखाउनुभयो, त्यसबारे अध्ययन गर्नुहोस्‌। अनि त्यसबाट उहाँ हामीलाई पनि प्रेम गर्नुहुन्छ भनेर कसरी देखिन्छ, खोज्नुहोस्‌। यहोवाले उपासनाको सन्दर्भमा इस्राएलीहरूको लागि गर्नुभएका प्रबन्धहरू र अहिले हाम्रो लागि गर्नुभएका प्रबन्धहरूबीच कस्ता समानताहरू छन्‌, जाँच्नुहोस्‌। अथवा येसुसित सम्बन्धित भविष्यवाणीहरू उहाँ पृथ्वीमा हुनुहुँदा कसरी पूरा भए, गहिरिएर अध्ययन गर्नुहोस्‌।

५. तपाईँ कुन विषयमा गहिरिएर अध्ययन गर्न चाहनुहुन्छ?

बाइबलका कस्ता गहिरा कुराहरू अध्ययन गर्न मन पराउनुहुन्छ भनेर केही भाइबहिनीलाई सोधिएको थियो। लगनशील भई अध्ययन गर्ने ती भाइबहिनीको जवाफ “ व्यक्‍तिगत अध्ययनका लागि केही विषय” भन्‍ने पेटीमा पाउन सक्नुहुन्छ। गहिरा विषयहरूमा अध्ययन गर्न यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी एउटा राम्रो साधन हो। गहिरिएर अध्ययन गर्दा तपाईँको विश्‍वास बलियो हुनेछ र तपाईँले ‘परमेश्‍वरको ज्ञान पाउनुहुनेछ।’ (हितो. २:४, ५) आउनुहोस्‌, हामीले गहिरिएर अध्ययन गर्न सक्ने केही विषय विचार गरौँ।

परमेश्‍वरको उद्देश्‍यबारे गहिरिएर सोच्नुहोस्‌

६. (क) योजना र उद्देश्‍यबीच कस्तो भिन्‍नता छ? (ख) यहोवाले मानिस र पृथ्वीको लागि रच्नुभएको उद्देश्‍य “युगौँअघि”-देखिको हो भनेर किन भन्‍न सक्छौँ? (एफिसी ३:११)

हामीले गहिरिएर अध्ययन गर्न सक्ने एउटा विषय परमेश्‍वरको उद्देश्‍य हो। योजना र उद्देश्‍यबीच ठूलो भिन्‍नता छ। योजना भनेको एउटा निश्‍चित बाटोजस्तै हो, जसले हामीलाई गन्तव्यसम्म पुऱ्‍याउँछ। तर त्यस बाटोमा कुनै अवरोध आइपऱ्‍यो भने त्यो योजना विफल हुन सक्छ। अर्कोतर्फ, उद्देश्‍य भनेको गन्तव्यजस्तै हो। हाम्रो मनमा गन्तव्य स्पष्ट छ भने निश्‍चित बाटो तय नभए पनि पुग्नुपर्ने ठाउँ हामीलाई राम्ररी थाह हुन्छ। यदि कुनै बाटोमा अवरोध आइपऱ्‍यो भने हामी अर्कै बाटोबाट जान सक्छौँ। खुसीको कुरा, यहोवाले “युगौँअघि रच्नुभएको उद्देश्‍य” क्रमिक रूपमा बाइबलमार्फत प्रकट गर्नुभएको छ। (एफि. ३:११) उहाँ मानिसजाति र पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्न जुनसुकै बाटो रोज्न सक्नुहुन्छ अनि उहाँ सधैँ सफल हुनुहुन्छ। किनकि “यहोवाले सबै कुरा आफ्नो उद्देश्‍यअनुसार गर्नुहुन्छ।” (हितो. १६:४) उहाँको उद्देश्‍य “युगौँअघि”-देखिको हो किनकि त्यो उद्देश्‍य पूरा हुनुअघि उहाँले लामो समय बित्न दिनुभएको छ र उहाँले गर्नुहुने काम सधैँभरि रहिरहन्छ। उहाँको उद्देश्‍य के हो? उहाँले त्यो पूरा गर्न के-कस्तो छाँटकाँट गर्नुभएको छ?

७. प्रथम मानव दम्पतीले विद्रोह गरेपछि यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न कस्तो छाँटकाँट गर्नुभयो? (मत्ति २५:३४)

परमेश्‍वरले प्रथम मानव दम्पतीका लागि एउटा उद्देश्‍य राख्नुभएको थियो। त्यसबारे उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर। . . . पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।” (उत्प. १:२८) तर आदम र हव्वाले विद्रोह गरेपछि पूरै मानव परिवार पापी भयो। तैपनि यहोवाको उद्देश्‍य विफल भएन। उहाँले आफ्नो उद्देश्‍य पूरा गर्न अर्कै बाटो रोज्नुभयो। तिनीहरूले पाप गरेलगत्तै उहाँले स्वर्गमा एउटा राज्य स्थापना गर्ने निर्णय गर्नुभयो। त्यस राज्यले मानिस र पृथ्वीको लागि उहाँको सुरुको उद्देश्‍य पूरा गर्ने थियो। (मत्ति २५:३४ पढ्‌नुहोस्‌।) आफूले तोकेको समयमा यहोवाले आफ्नो जेठो छोरालाई पृथ्वीमा मानिसहरूलाई उहाँको राज्यबारे सिकाउन र फिरौतीस्वरूप जीवन दिन पठाउनुभयो। पछि उहाँले येसुलाई स्वर्गमा परमेश्‍वरको राज्यको राजा हुन पुनर्जीवित पार्नुभयो। तर परमेश्‍वरको उद्देश्‍यबारे हामी अझ धेरै कुरा सिक्न सक्छौँ।

स्वर्ग र पृथ्वीका सम्पूर्ण बौद्धिक प्राणीले एकजुट भई यहोवाको उपासना गर्ने समयबारे कल्पना गर्नुहोस्‌! (अनुच्छेद ८ हेर्नुहोस्‌)

८. (क) बाइबलको मूल विषय के हो? (ख) एफिसी १:८-११ अनुसार यहोवाको मुख्य उद्देश्‍य के हो? (आवरण चित्र हेर्नुहोस्‌।)

बाइबलको मूल विषय यहोवाको नाम उच्च पार्नु हो। उहाँले मसीही राज्यमार्फत पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्नुहुँदा त्यो नाम उच्च पारिनेछ। यहोवाको उद्देश्‍य कहिल्यै परिवर्तन हुँदैन। उहाँले आफ्नो उद्देश्‍य पूरा गरेरै छोड्‌ने ग्यारेन्टी दिनुभएको छ। (यसै. ४६:१०, ११; हिब्रू ६:१७, १८) पृथ्वी प्रमोदवनमा परिणत हुनेछ, जहाँ आदम र हव्वाका त्रुटिरहित अनि धर्मी सन्तानहरूले “सधैँभरि जीवनको आनन्द” उठाउनेछन्‌। (भज. २२:२६) तर यहोवाको उद्देश्‍य यत्तिमै सीमित छैन। उहाँको मुख्य उद्देश्‍य स्वर्ग र पृथ्वीमा रहेका बौद्धिक प्राणीहरूलाई एकतामा बाँध्नु हो। यो उद्देश्‍य पूरा भएपछि ती सबै प्राणीले उहाँलाई सार्वभौम परमेश्‍वरको रूपमा स्विकारेर उहाँको अधीनमा बस्नेछन्‌। (एफिसी १:८-११ पढ्‌नुहोस्‌।) यहोवाले सुन्दर तरिकामा आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ भनेर बुझ्दा के तपाईँको मन छोएन र?

आफ्नो भविष्यबारे सोच्नुहोस्‌

९. बाइबलबाट भविष्यबारे कस्ता कुराहरू थाह पाउन सक्छौँ?

यहोवाले अदनको बगैँचामा गर्नुभएको भविष्यवाणीबारे विचार गरौँ, जुन उत्पत्ति ३:१५ मा लेखिएको छ। b यस भविष्यवाणीमा कस्ता घटनाहरूले उहाँको उद्देश्‍य पूरा गर्नेछ भनेर बताइएको छ। तर ती घटनाहरू हजारौँ वर्षपछि मात्र पूरा हुने थिए। जस्तै: परमेश्‍वरले अब्राहामलाई तिनको वंशबाट ख्रिष्ट जन्मनेछन्‌ भनेर बताउनुभयो। (उत्प. २२:१५-१८) उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणीअनुसारै इस्वी संवत्‌ ३३ मा येसुको कुर्कुच्चो डसियो। (प्रेषि. ३:१३-१५) यस भविष्यवाणीको अन्तमा सैतानको शिर कुच्याइनेछ, जुन १ हजार वर्षभन्दा धेरै समयपछि पूरा हुनेछ। (प्रका. २०:७-१०) सैतान र परमेश्‍वरको सङ्‌गठनबीचको दुस्मनीको अन्ततिर के-कस्ता घटनाहरू हुनेछन्‌ भनेर पनि बाइबलमा बताइएको छ।

१०. (क) चाँडै कस्ता घटनाहरू हुनेछन्‌? (ख) त्यतिबेलाको लागि हामी आफ्नो मनमस्तिष्कलाई कसरी तयार पार्न सक्छौँ? (फुटनोट हेर्नुहोस्‌।)

१० पृथ्वीलाई नै हल्लाउने बाइबलका भविष्यवाणीहरू विचार गरौँ। पहिलो, राष्ट्रहरूले “शान्ति र सुरक्षा”-को घोषणा गर्नेछन्‌। (१ थिस्स. ५:२, ३) राष्ट्रहरूले “एक्कासि” सम्पूर्ण झूटा धर्ममाथि आक्रमण गर्नेछन्‌ र यसरी महासङ्‌कष्ट सुरु हुनेछ। (प्रका. १७:१६) त्यसपछि “मानिसको छोरालाई शक्‍ति र ठूलो महिमासहित आकाशका बादलहरूमा आउँदै गरेको” उदेकलाग्दो दृश्‍य देखिन सक्छ। (मत्ति २४:३०) येसुले भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउनुभएर मानिसजातिको न्याय गर्नुहुनेछ। (मत्ति २५:३१-३३, ४६) यस समयावधिमा सैतान हात बाँधेर बस्नेछैन। त्यसले परमेश्‍वरका जनहरूलाई घृणा गर्ने भएकोले तिनीहरूमाथि आक्रमण गर्न मागोग देशको गोगलाई अर्थात्‌ राष्ट्रहरूको गठबन्धनलाई उक्साउनेछ। (इज. ३८:२, १०, ११) महासङ्‌कष्टको कुनै समयमा पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरू स्वर्ग लगिनेछन्‌ अनि तिनीहरूले ख्रिष्ट र उहाँका स्वर्गीय दलसँगै मिलेर महासङ्‌कष्टको अन्तिम चरणमा आरमागेडोनको युद्ध लड्‌नेछन्‌। c (मत्ति २४:३१; प्रका. १६:१४, १६) त्यसपछि पृथ्वीमा ख्रिष्टको हजार वर्षीय शासन सुरु हुनेछ।—प्रका. २०:६.

सोच्नुहोस्‌ त, करोडौँ वर्ष यहोवाबारे सिकेपछि तपाईँ उहाँसित कत्ति घनिष्ठ हुनुहुनेछ! (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. अनन्त जीवनको आशाले तपाईँको लागि कस्तो अर्थ राख्छ? (चित्र पनि हेर्नुहोस्‌।)

११ हजार वर्षीय शासनपछि जीवन कस्तो हुनेछ? बाइबलमा हाम्रो सृष्टिकर्ताले “मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार पनि राखिदिनुभयो” भनेर बताइएको छ। (उप. ३:११) यस कुराले तपाईँ र यहोवासितको तपाईँको सम्बन्धलाई कस्तो असर गर्छ? यहोवासित नजिक हुनुहोस्‌ (अङ्‌ग्रेजी) भन्‍ने किताबको पृष्ठ ३१९ मा यस्तो रोचक कुरा लेखिएको छ: “सयौँ, हजारौँ, लाखौँ र करोडौँ वर्ष बाँचिसकेपछि हामीले यहोवाबारे अहिलेभन्दा अझ धेरै कुरा सिकिसकेका हुनेछौँ। तैपनि हामीलाई उहाँबारे सिक्न सक्ने रोचक कुराहरू अझ धेरै बाँकी छन्‌ भनेर महसुस हुनेछ। . . . प्रमोदवनमा जीवन कत्ति सुन्दर अनि रोमाञ्चकारी हुनेछ भनेर हामी कल्पनासमेत गर्न सक्दैनौँ। अनि सबैभन्दा सुन्दर कुरा हामी यहोवासित अझै घनिष्ठ हुँदै जानेछौँ।” त्यतिन्जेल परमेश्‍वरको वचन अध्ययन गर्दै जाँदा हामी अरू कस्ता कुराहरू बुझ्ने कोसिस गर्न सक्छौँ?

स्वर्गका कुराहरूमा ध्यान दिनुहोस्‌

१२. हामी कसरी स्वर्गका कुराहरूमा ध्यान दिन सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌।

१२ बाइबलमा यहोवा विराजमान हुनुभएको “उच्च ठाउँ”-बारे केही जानकारी पाउँछौँ। (यसै. ३३:५) साथै यहोवा र उहाँको सङ्‌गठनको स्वर्गीय भागबारे अचम्मलाग्दा कुराहरू पनि बताइएको पाउँछौँ। (यसै. ६:१-४; दानि. ७:९, १०; प्रका. ४:१-६) जस्तै: ‘स्वर्ग खुलेर परमेश्‍वरबाट दर्शन पाएपछि’ इजकिएलले देखेका रोचक कुराहरू।—इज. १:१.

१३. येसुले स्वर्गबाट तपाईँको लागि गरिरहनुभएको कुरा विचार गर्दा तपाईँलाई कस्तो लाग्छ? (हिब्रू ४:१४-१६)

१३ स्वर्गमा शासन गरिरहनुभएका राजा र समानुभूतिशील प्रधानपुजारी येसुको भूमिकाबारे पनि विचार गरौँ। हामी उहाँमार्फत प्रार्थनामा “असीम अनुग्रहको सिंहासनसामु” जान सक्छौँ अनि “चाहिएकै बेला” मदत र कृपा पाउन बिन्ती गर्न सक्छौँ। (हिब्रू ४:१४-१६ पढ्‌नुहोस्‌।) स्वर्गबाट यहोवा र येसुले हाम्रो लागि के-कस्ता कुराहरू गर्नुभयो अनि गरिरहनुभएको छ भन्‍ने कुरामा मनन नगरी हामी एक दिन पनि बिताउन चाहँदैनौँ। यसरी मनन गर्दा हामीप्रतिको उहाँहरूको प्रेमले हाम्रो मन छुन्छ र हामी उहाँको सेवामा जोसिलो हुन बाध्य महसुस गर्छौँ।—२ कोरि. ५:१४, १५.

तपाईँले यहोवाको साक्षी र येसुको चेला बन्‍न मदत गरेको व्यक्‍ति नयाँ संसारमा भेट्‌दा तपाईँलाई कत्ति खुसी लाग्ला! (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. हामी यहोवा र येसुप्रति कृतज्ञ छौँ भनेर देखाउने एउटा राम्रो तरिका के हो? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१४ हामी परमेश्‍वर र उहाँको छोराप्रति कृतज्ञ छौँ भनेर देखाउने एउटा राम्रो तरिका मानिसहरूलाई यहोवाको साक्षी अनि येसुको चेला बन्‍न मदत गर्नु हो। (मत्ति २८:१९, २०) प्रेषित पावलले पनि यस्तै गरे किनकि तिनी परमेश्‍वर र ख्रिष्टप्रति कृतज्ञ थिए। “[यहोवा] सबै किसिमका मानिसले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ” भनेर तिनलाई थाह थियो। (१ तिमो. २:३, ४) तिनले “सम्भव भएसम्म केहीलाई बचाउन सकूँ” भनेर धेरैभन्दा धेरै मानिसलाई मदत गर्न कडा मेहनत गरे।—१ कोरि. ९:२२, २३.

परमेश्‍वरको वचनको अध्ययनमा रमाउनुहोस्‌

१५. भजन १:२ अनुसार हामीलाई केले आनन्दित बनाउँछ?

१५ एक जना भजनरचयिताले ‘यहोवाको व्यवस्थामा प्रसन्‍न रहने’ र ‘दिनरात उहाँको व्यवस्थामा मनन गर्ने’ व्यक्‍ति आनन्दित र सफल हुन्‌ भनेर बताए। (भज. १:१-३, फुटनोट) यस पदबारे बाइबल अनुवादक जोसेफ रथरहामले आफ्नो किताब भजनसङ्‌ग्रहको अध्ययन-मा (अङ्‌ग्रेजी) यसो भने: “परमेश्‍वरको व्यवस्थामा प्रसन्‍न रहने व्यक्‍तिले त्यसमा खोज-अनुसन्धान गर्छ, अध्ययन गर्छ र त्यसबारे समय लगाएर विचार गर्छ।” साथै तिनले यसो पनि भने: “बाइबल पढ्‌ने व्यक्‍तिलाई एक दिन मात्र बाइबल पढ्‌न छुट्यो भने पनि त्यो दिन खेर गएको जस्तो लाग्छ।” तपाईँ कसरी परमेश्‍वरको व्यवस्थामा प्रसन्‍न रहन सक्नुहुन्छ? बाइबलका गहिरा कुराहरू अध्ययन गरेर र ती कुराहरू आपसमा कसरी सम्बन्धित छन्‌ भन्‍ने कुरा दाँजेर। परमेश्‍वरको वचन पूर्ण रूपमा बुझ्न अझ गहिरिएर खोतल्नु कत्ति आनन्ददायी कुरा!

१६. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१६ यहोवाले हामीलाई आफ्नो वचनमा सिकाउनुभएका सुन्दर सत्यहरू बुझ्नै नसकिने छैनन्‌। अर्को लेखमा हामी यस्तै एउटा गहिरो सत्य—यहोवाको महान्‌ आध्यात्मिक मन्दिरबारे छलफल गर्नेछौँ। यसबारे पावलले हिब्रू ख्रिष्टियनहरूलाई लेखेका थिए। यस विषयमा अध्ययन गर्दा तपाईँलाई अपार आनन्द मिलोस्‌!

गीत ९४ परमेश्‍वरको वचनप्रति कृतज्ञ

a परमेश्‍वरको वचन अध्ययन गर्दा हामी आनन्दित हुन सक्छौँ। अनि स्वर्गमा बस्नुहुने बुबासित अझ नजिक हुन सक्छौँ। यस लेखमा परमेश्‍वरको वचनको “चौडाइ, लम्बाइ, उचाइ र गहिराइ” पूर्ण रूपमा कसरी बुझ्न सक्छौँ भनेर थाह पाउनेछौँ।

b जुलाई २०२२ अङ्‌कको प्रहरीधरहरा-मा “हाम्रो लागि ठूलो अर्थ राख्ने बाइबलको पहिलो भविष्यवाणी” भन्‍ने लेख हेर्नुहोस्‌।

c निकट भविष्यमा हुने भयानक घटनाहरूको लागि आफैलाई कसरी तयार पार्न सक्नुहुन्छ भनेर थाह पाउन परमेश्‍वरको राज्यले शासन गर्दै छ! किताबको पृ. २३० हेर्नुहोस्‌।