सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४५

यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्‌

यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्‌

“उहाँको उपासना गर, जसले आकाश, पृथ्वी . . . बनाउनुभयो।”—प्रका. १४:७.

गीत ९३ देऊ न आशिष्‌ सभामा

परिचय a

१. एक जना स्वर्गदूत के भन्दै छन्‌ र त्यसले हामीमा कस्तो भावना जगाउँछ?

 कुनै स्वर्गदूत तपाईँसित बोल्न आएका भए के तपाईँ तिनको कुरा सुन्‍नुहुन्थ्यो? वास्तवमा भन्‍ने हो भने अहिले एक जना स्वर्गदूत “हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरू”-सित कुरा गर्दै छन्‌। तिनी के भन्दै छन्‌? “परमेश्‍वरसित डराओ र उहाँलाई महिमा देओ . . . उहाँको उपासना गर, जसले आकाश, पृथ्वी . . . बनाउनुभयो।” (प्रका. १४:६, ७) सबै मानिसले उपासना गर्नुपर्ने एक मात्र साँचो परमेश्‍वर यहोवा हुनुहुन्छ। यहोवाले महान्‌ आध्यात्मिक मन्दिरमा सेवा गर्ने अनमोल सुअवसर दिनुभएकोमा हामी उहाँप्रति निकै कृतज्ञ छौँ!

२. यहोवाको आध्यात्मिक मन्दिर भनेको के हो? (“ आध्यात्मिक मन्दिर भनेको के होइन?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

आध्यात्मिक मन्दिर भनेको के हो र यसबारे विस्तृत जानकारी कहाँ पाउन सक्छौँ? आध्यात्मिक मन्दिर भनेको साँच्चैको भवन होइन। यो येसु ख्रिष्टको फिरौतीको बलिदानको आधारमा यहोवा परमेश्‍वरलाई ग्रहणयोग्य उपासना चढाउन उहाँले मिलाउनुभएको प्रबन्ध हो। प्रेषित पावलले यहुदियाका हिब्रू ख्रिष्टियनहरूलाई लेखेको पत्रमा यसबारे विस्तृत रूपमा बताएका छन्‌। b

३-४. पावललाई किन हिब्रू ख्रिष्टियनहरूको चिन्ता लागेको हुन सक्छ र तिनले तिनीहरूलाई कसरी मदत गरे?

पावलले यहुदियाका हिब्रू ख्रिष्टियनहरूलाई किन पत्र लेखे? यसका दुई वटा मुख्य कारण हुन सक्छन्‌। पहिलो, तिनीहरूलाई प्रोत्साहन दिन। ख्रिष्टियन बन्‍नुअघि तिनीहरूमध्ये धेरैजसो यहुदी धर्म मान्थे। तिनीहरू ख्रिष्टियन भएकोले यहुदी धर्मगुरुहरूले तिनीहरूको गिल्ला गरेका हुन सक्छन्‌। किन? किनभने उपासना गर्न ख्रिष्टियनहरूको कुनै मन्दिर थिएन, भेटीहरू चढाउन कुनै वेदी थिएन र पुजारीहरू पनि थिएनन्‌। यसले गर्दा ख्रिष्टको चेला बनेकाहरू निरुत्साहित भएका हुन सक्छन्‌ र तिनीहरूको विश्‍वास कमजोर भएको हुन सक्छ। (हिब्रू २:१; ३:१२, १४) तिनीहरूमध्ये कतिपयलाई त फेरि यहुदी धर्ममै फर्केर जाऊँ कि जस्तो लागेको हुन सक्छ।

दोस्रो, पावलले बताएअनुसार हिब्रू ख्रिष्टियनहरूले परमेश्‍वरको वचनमा पाइने “खँदिलो खानेकुरा” अर्थात्‌ नयाँ वा गहिरा आध्यात्मिक सत्यहरू बुझ्न प्रयास गरिरहेका थिएनन्‌। (हिब्रू ५:११-१४) तिनीहरूमध्ये केही मोसाको व्यवस्थाअनुसारै चलिरहेका थिए जस्तो देखिन्छ। तर भेटीहरू चढाउँदैमा पापबाट पूर्णतया क्षमा पाउन नसकिने भएकोले व्यवस्थालाई “रद्द” गरिएको थियो। यही कुरा पावलले तिनीहरूलाई सम्झाए। त्यसपछि पावलले तिनीहरूलाई केही गहिरा सत्य सिकाए। तिनले येसुको बलिदानले सम्भव तुल्याएको “उत्तम आशा”-बारे सम्झाए, जसले तिनीहरूलाई “परमेश्‍वरसित नजिक” हुन मदत गर्ने थियो।—हिब्रू ७:१८, १९.

५. हिब्रूको किताबबाट हामीले के बुझ्नुपर्छ र किन?

पावलले हिब्रूहरूलाई पहिला तिनीहरूले चढाएको उपासनाभन्दा ख्रिष्टियनको रूपमा तिनीहरूले चढाउने उपासना किन उत्कृष्ट छ भनेर बताए। व्यवस्थाअनुसार यहुदीहरूले चढाएको उपासना ‘आउने कुराहरूको छाया मात्र थियो तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।’ (कल. २:१७) छाया भनेको कुनै वास्तविक वस्तुको आकृति मात्र हो। त्यसैगरि उपासना गर्ने यहुदीहरूको तरिका आउन लागेका कुराहरूको छाया मात्र थियो। हामीले पापहरूको क्षमा पाउन र यहोवालाई ग्रहणयोग्य उपासना चढाउन उहाँले गर्नुभएको प्रबन्ध राम्ररी बुझ्नुपर्छ। हिब्रूको किताबमा बताइएको “छाया” (उपासना गर्ने यहुदी तरिका) र “वास्तविकता”-लाई (उपासना गर्ने ख्रिष्टियन तरिका) तुलना गरेर हेरौँ। यसो गऱ्‍यौँ भने आध्यात्मिक मन्दिर र यसले हाम्रो लागि कस्तो अर्थ राख्छ भन्‍नेबारे अझ राम्ररी बुझ्न सक्नेछौँ।

वासस्थान

६. वासस्थान केको लागि प्रयोग गरिन्थ्यो?

छाया। ईसापूर्व १५१२ मा मोसाले स्थापना गरेको वासस्थानको आधारमा पावलले आध्यात्मिक मन्दिरको वर्णन गरे। (“छाया—वास्तविकता” चार्ट हेर्नुहोस्‌।) वासस्थान पालजस्तै थियो। इस्राएलीहरू वासस्थान अर्थात्‌ “भेट हुने पाल”-मा परमेश्‍वरको उपासना गर्न र भेटीहरू चढाउन भेला हुन्थे। (प्रस्थ. २९:४३-४६) तिनीहरूले वासस्थानलाई निर्जनभूमिमा आफू जहाँ-जहाँ जान्थे, त्यहीँ-त्यहीँ लैजान्थे। तिनीहरूले त्यसलाई यरुसलेममा मन्दिर नबनाइएसम्म झन्डै ५०० वर्षसम्म प्रयोग गरे। (प्रस्थ. २५:८, ९; गन्ती ९:२२) तर वासस्थानले पछि आउने अझ उत्तम कुरालाई सङ्‌केत गर्थ्यो।

७. आध्यात्मिक मन्दिर कहिले अस्तित्वमा आयो?

वास्तविकता। वासस्थानले यहोवाको महान्‌ आध्यात्मिक मन्दिरलाई बुझाउँछ। त्यसैले यसलाई “स्वर्गका कुराहरूको . . . छाया” भनिएको छ। पावलले बताएअनुसार “यो पाल [अर्थात्‌ वासस्थान] अहिलेको समयको लागि नमुना हो।” (हिब्रू ८:५; ९:९) त्यसैले तिनले हिब्रूहरूलाई पत्र लेख्नुअघि नै आध्यात्मिक मन्दिर अस्तित्वमा आइसकेको थियो। यो मन्दिर इस्वी संवत्‌ २९ मा अस्तित्वमा आयो। त्यो वर्ष येसुले बप्तिस्मा गर्नुभयो, पवित्र शक्‍तिद्वारा अभिषेक हुनुभयो र आध्यात्मिक मन्दिरमा “महान्‌ प्रधानपुजारी”-को रूपमा सेवा गर्न थाल्नुभयो। cहिब्रू ४:१४; प्रेषि. १०:३७, ३८.

प्रधानपुजारी

८-९. हिब्रू ७:२३-२७ अनुसार इस्राएलका प्रधानपुजारीहरू र महान्‌ प्रधानपुजारी येसुबीच कस्ता भिन्‍नताहरू छन्‌?

छाया। प्रधानपुजारी मानिसहरूको प्रतिनिधित्व गर्दै परमेश्‍वरसामु जान्थे। वासस्थान समर्पण गरिँदा यहोवाले हारुनलाई इस्राएलको पहिलो प्रधानपुजारीको रूपमा नियुक्‍त गर्नुभयो। तर पावलले बताएअनुसार “एकपछि अर्को गर्दै धेरै जना पुजारी बन्‍नुपऱ्‍यो किनभने मृत्युले गर्दा तिनीहरू पुजारी बनिरहन सकेनन्‌।” d (हिब्रू ७:२३-२७ पढ्‌नुहोस्‌।) प्रधानपुजारीहरू त्रुटिपूर्ण भएकोले तिनीहरूले आफ्नै पापहरूका लागि पनि भेटीहरू चढाउनुपर्थ्यो। इस्राएलका प्रधानपुजारीहरू र महान्‌ प्रधानपुजारी येसुबीचको एउटा ठूलो भिन्‍नता यही नै हो।

वास्तविकता। हाम्रा प्रधानपुजारी येसु ख्रिष्ट “साँचो पालको सेवक हुनुहुन्छ, जुन पाल मानिसले होइन तर यहोवा परमेश्‍वरले टाँग्नुभएको हो।” (हिब्रू ८:१, २) पावलले बताएअनुसार “[येसु] सधैँभरि जीवित रहिरहनुहुने भएकोले उहाँको पुजारीगिरीका उत्तराधिकारीहरू छैनन्‌।” पावलले येसुबारे यसो पनि भने: “[उहाँ] निष्खोट र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि . . . उहाँले अरू प्रधानपुजारीहरूले जस्तो पहिला आफ्ना पापहरूको लागि अनि त्यसपछि मानिसहरूका पापहरूको लागि हरेक दिन बलिदान चढाउनु आवश्‍यक छैन।” अब हामी वेदीहरू र भेटीहरूको सन्दर्भमा उपासना गर्ने यहुदी तरिका अनि ख्रिष्टियन तरिकाबीच कस्ता भिन्‍नताहरू छन्‌, विचार गरौँ।

वेदीहरू र भेटीहरू

१०. तामाको वेदीमा चढाइने बलिले केलाई सङ्‌केत गर्थ्यो?

१० छाया। वासस्थानको प्रवेशद्वारनजिकै यहोवालाई जनावरहरूको बलि चढाउने तामाको एउटा वेदी थियो। (प्रस्थ. २७:१, २; ४०:२९) तर ती बलिहरूले मानिसहरूको पाप पूर्णतया हटाउन सक्दैनथ्यो। (हिब्रू १०:१-४) वासस्थानमा निरन्तर चढाइने पशुबलिहरूले एउटा बलिदानलाई सङ्‌केत गर्थ्यो, जसले मानिसहरूको पापलाई पूर्णतया हटाउने थियो।

११. येसुले आफूलाई अर्पण गर्नुभएको प्रतीकात्मक वेदीले केलाई बुझाउँछ? (हिब्रू १०:५-७, १०)

११ वास्तविकता। येसुलाई आफू मानिसजातिको लागि फिरौतीस्वरूप ज्यान अर्पण गर्न पृथ्वीमा पठाइएको हुँ भनेर थाह थियो। (मत्ति २०:२८) त्यसैले बप्तिस्माको बेला उहाँले आफूलाई यहोवाको इच्छाबमोजिम गर्न अर्पण गर्नुभयो। (युह. ६:३८; गला. १:४) येसुले आफूलाई प्रतीकात्मक वेदीमा अर्पण गर्नुभयो। त्यस वेदीले यहोवाको “इच्छा”-लाई बुझाउँछ। यहोवाको इच्छा येसुले मानिसजातिको लागि आफ्नो त्रुटिरहित शरीर बलिदानस्वरूप चढाओस्‌ भन्‍ने थियो। येसुमाथि विश्‍वास गर्नेहरू सबैको पापको प्रायश्‍चित गर्न उहाँले आफूलाई “एकै चोटि सदाको लागि” चढाउनुभयो। (हिब्रू १०:५-७, १० पढ्‌नुहोस्‌।) अब हामी वासस्थानका भित्री भागहरूले केलाई सङ्‌केत गर्छ, विचार गरौँ।

पवित्र कोठा र महापवित्र कोठा

१२. वासस्थानका कोठाहरूमा को-को पस्न पाउँथे?

१२ छाया। वासस्थानको र पछि यरुसलेममा बनाइएको मन्दिरको भित्री भाग उस्तै थियो। भित्री भागमा दुई वटा कोठा थिए—“पवित्र कोठा” र “महापवित्र कोठा।” यी दुई कोठालाई बुट्टा भरिएको पर्दाले छुट्ट्याएको थियो। (हिब्रू ९:२-५; प्रस्थ. २६:३१-३३) पवित्र कोठाभित्र सुनको पानस, धूप बाल्ने वेदी र भेटीको रोटी राख्ने टेबुल थियो। ‘पुजारीको रूपमा सेवा गर्न अभिषेक गरिएका’ पुजारीहरू मात्र पवित्र कोठाभित्र पस्न पाउँथे। (गन्ती ३:३, ७, १०) महापवित्र कोठाभित्र सुनले बनाइएको करारको सन्दुक थियो, जसले यहोवाको उपस्थितिलाई सङ्‌केत गर्थ्यो। (प्रस्थ. २५:२१, २२) वर्षमा एक चोटि प्रायश्‍चितको दिनमा पर्दापछाडि रहेको महापवित्र कोठाभित्र प्रधानपुजारी मात्र पस्न पाउँथे। (लेवी १६:२, १७) तिनी आफ्नो र पूरै राष्ट्रको पापको प्रायश्‍चितको लागि जनावरको रगत लिएर महापवित्र कोठाभित्र पस्थे। समयको दौडान यहोवाले आफ्नो पवित्र शक्‍तिमार्फत वासस्थानका यी भागहरूको वास्तविक अर्थ खुलाउनुभयो।—हिब्रू ९:६-८.

१३. वासस्थानको पवित्र कोठा र महापवित्र कोठाले केलाई बुझाउँछ?

१३ वास्तविकता। येसुका सीमित चेलाहरू मात्र पवित्र शक्‍तिद्वारा अभिषेक हुन्छन्‌ र तिनीहरूले यहोवासितको विशेष सम्बन्धबाट आनन्द उठाउँछन्‌। यी १ लाख ४४ हजार अभिषिक्‍त जनले येसुसितै स्वर्गमा पुजारीको रूपमा सेवा गर्छन्‌। (प्रका. १:६; १४:१) तिनीहरू पृथ्वीमा छँदा परमेश्‍वरले तिनीहरूलाई पवित्र शक्‍तिद्वारा अभिषेक गर्नुहुन्छ र आफ्नो धर्मपुत्रको रूपमा स्विकार्नुहुन्छ। वासस्थानको पवित्र कोठाले परमेश्‍वरसितको यही विशेष सम्बन्धलाई बुझाउँछ। (रोमी ८:१५-१७) वासस्थानको महापवित्र कोठाले स्वर्गलाई बुझाउँछ, जहाँ यहोवा बास गर्नुहुन्छ। पवित्र कोठा र महापवित्र कोठालाई छुट्ट्याउने “पर्दा”-ले येसुको भौतिक शरीरलाई बुझाउँछ। भौतिक शरीर होउन्जेल येसु आध्यात्मिक मन्दिरको महान्‌ प्रधानपुजारीको रूपमा स्वर्गमा प्रवेश गर्न सक्नुहुन्‍नथ्यो। आफ्नो भौतिक शरीर मानिसजातिको लागि बलिदानको रूपमा दिनुभएर येसुले सबै अभिषिक्‍त ख्रिष्टियनको लागि स्वर्ग जाने बाटो खोलिदिनुभयो। तर रगत र मासुको शरीर होउन्जेल तिनीहरूले स्वर्गीय इनाम पाउनेछैनन्‌। (हिब्रू १०:१९, २०; १ कोरि. १५:५०) फेरि जीवित हुनुभएपछि येसु आध्यात्मिक मन्दिरको महापवित्र कोठाभित्र पस्नुभयो, जहाँ अन्ततः सबै अभिषिक्‍त जन प्रवेश गर्नेछन्‌।

१४. हिब्रू ९:१२, २४-२६ अनुसार आध्यात्मिक मन्दिरको प्रबन्ध किन उत्तम छ?

१४ येसुको बलिदान र उहाँको पुजारीगिरीको आधारमा शुद्ध उपासनाको लागि यहोवाले गर्नुभएको प्रबन्ध कत्ति उत्तम छ भनेर हामीले बुझ्यौँ। इस्राएलमा प्रधानपुजारी जनावरको रगत लिएर मानिसले बनाएको महापवित्र कोठामा पस्थे। तर येसु भने परमेश्‍वरसामु हाजिर हुन सबैभन्दा पवित्रस्थान अर्थात्‌ “स्वर्गमै पस्नुभयो।” त्यहाँ उहाँले हाम्रो “पाप हटाउन” आफ्नो त्रुटिरहित मानव जीवनको मोल यहोवासामु चढाउनुभयो। (हिब्रू ९:१२, २४-२६ पढ्‌नुहोस्‌।) येसुको बलिदानले गर्दा हामीले पापबाट सधैँभरिको लागि क्षमा पाउन सम्भव भएको हो। हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने, हामी आध्यात्मिक मन्दिरमा रहेर यहोवाको उपासना गर्न सक्छौँ। आउनुहोस्‌, अब यसबारे छलफल गरौँ।

चोकहरू

१५. वासस्थानको चोकमा कसले सेवा गर्थे?

१५ छाया। वासस्थानमा एउटा चोक थियो, जुन चारैतिर पाल टाँगेर बनाइएको थियो। त्यस खुला चोकमा पुजारीहरू आ-आफ्नो जिम्मेवारी पूरा गर्थे। चोकमा अग्निभेटी चढाउनको लागि तामाको एउटा ठूलो वेदी थियो। अनि भेट हुने पाल र वेदीको बीचमा तामाको एउटा ठूलो बाटा थियो, जहाँको पानीले पुजारीहरू पवित्र सेवा चढाउनुअघि आफ्नो हातखुट्टा धुन्थे। (प्रस्थ. ३०:१७-२०; ४०:६-८) तर पछि बनाइएका मन्दिरहरूमा बाहिरी चोक पनि थियो, जहाँ पुजारीको रूपमा नियुक्‍त नभएका मानिसहरू जान र परमेश्‍वरको उपासना गर्न सक्थे।

१६. आध्यात्मिक मन्दिरका चोकहरूमा क-कसले सेवा गर्छन्‌?

१६ वास्तविकता। येसुसँगै पुजारीको रूपमा सेवा गर्न स्वर्ग जानुअघि पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूले आध्यात्मिक मन्दिरको भित्री चोकमा वफादार भई सेवा गर्छन्‌। त्यस चोकको पानी भएको ठूलो बाटाले तिनीहरूलाई र सबै ख्रिष्टियनलाई नैतिक तथा आध्यात्मिक रूपमा शुद्ध हुनुपर्ने महत्त्वपूर्ण कुरा सम्झाउँछ। त्यसोभए ख्रिष्टका अभिषिक्‍त भाइहरूलाई साथ दिने “ठूलो भीड”-ले कहाँ रहेर उपासना गर्छ? प्रेषित युहन्‍नाले तिनीहरूलाई ‘सिंहासनको अगाडि उभिएर दिनरात परमेश्‍वरलाई पवित्र सेवा चढाइरहेको’ देखे। (प्रका. ७:९, १३-१५) ठूलो भीडले यसै पृथ्वीमा रहेर आध्यात्मिक मन्दिरको बाहिरी चोकमा यहोवाको उपासना गर्छ। यहोवाको महान्‌ आध्यात्मिक मन्दिरमा उहाँको उपासना गर्ने अनमोल सुअवसर पाएकोमा हामी साँच्चै कृतज्ञ छौँ!

यहोवाको उपासना गर्ने सुअवसर

१७. हामीले यहोवालाई कस्ता बलिदानहरू चढाउने सुअवसर पाएका छौँ?

१७ आज सबै ख्रिष्टियनले परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन आफ्नो समय, शक्‍ति र स्रोतसाधन प्रयोग गर्ने अनमोल सुअवसर पाएका छन्‌। प्रेषित पावलले हिब्रू ख्रिष्टियनहरूलाई भनेझैँ “हामी येसुद्वारा परमेश्‍वरलाई सधैँ प्रशंसाको बलिदान अर्थात्‌ ओठको फल चढाऔँ। परमेश्‍वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।” (हिब्रू १३:१५) यहोवालाई आफ्नो तर्फबाट सबैभन्दा उत्तम सेवा चढाएर हामी उहाँको उपासना गर्ने सुअवसरको कदर गरेको देखाउन सक्छौँ।

१८. हिब्रू १०:२२-२५ अनुसार हामीले कुन कुरा कहिल्यै बेवास्ता गर्नु हुँदैन र केको मोल गरिरहनुपर्छ?

१८ हिब्रू १०:२२-२५ पढ्‌नुहोस्‌। पावलले हिब्रूहरूलाई लेखेको पत्रको अन्ततिर हामीले बेवास्ता गर्नै नहुने उपासनाका विभिन्‍न पक्षबारे बताए। जस्तै: प्रार्थनामार्फत परमेश्‍वरसामु जानु, आफ्नो आशाबारे जनसमक्ष घोषणा गर्नु, मण्डलीको रूपमा एकसाथ भेला हुनु र “दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन्‌ बढी” एकअर्कालाई प्रोत्साहन दिइरहनु। प्रकाशको किताबको अन्ततिर यहोवाका स्वर्गदूतले यसो भने: “परमेश्‍वरको उपासना गर!” (प्रका. १९:१०; २२:९) ती स्वर्गदूतले यो साँच्चै महत्त्वपूर्ण कुरा हो भनेर जोड दिन यो कुरा दुई चोटि भने। यहोवाको महान्‌ आध्यात्मिक मन्दिरबारे सिकेको यो गहिरो सत्य र हाम्रा महान्‌ परमेश्‍वरको उपासना गर्ने सुअवसरको मोल गरिरहौँ!

गीत ८८ मलाई तपाईँको मार्ग सिकाउनुहोस्‌

a परमेश्‍वरको वचनमा पाइने गहिरा शिक्षाहरूमध्ये एउटा यहोवाको महान्‌ आध्यात्मिक मन्दिरबारे हो। त्यो आध्यात्मिक मन्दिर भनेको के हो? त्यस मन्दिरबारे हिब्रूको किताबमा बताइएका कुराहरू यस लेखमा छलफल गर्नेछौँ। साथै यस लेखले यहोवाको उपासना गर्ने सुअवसरप्रतिको तपाईँको कृतज्ञता बढाउनेछ।

b हिब्रूको किताबको विषयवस्तुबारे बुझ्न jw.org मा हिब्रूको परिचय भन्‍ने भिडियो हेर्नुहोस्‌।

c ख्रिष्टियन ग्रीक धर्मशास्त्रको हिब्रूको किताबमा मात्र येसुलाई प्रधानपुजारी भनिएको छ।

d एउटा स्रोतसामग्रीअनुसार इस्वी संवत्‌ ७० मा यरुसलेमको मन्दिर विनाश हुने बेलासम्म इस्राएलमा करिब ८४ जना प्रधानपुजारीले सेवा गरेका हुन सक्छन्‌।

f जुलाई १, २०१० अङ्‌कको प्रहरीधरहरा-को पृ. ३० मा भएको “आत्माले प्रतीकात्मक मन्दिरको अर्थ कसरी प्रकट गऱ्‍यो” भन्‍ने पेटी हेर्नुहोस्‌।