सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

यहोवामाथि भरोसा राखेर डरलाई जित्नुहोस्‌

यहोवामाथि भरोसा राखेर डरलाई जित्नुहोस्‌

सन्‌ २०२४ को वार्षिक पद: “मलाई डर लाग्दा म तपाईँमाथि भरोसा राख्छु।”भज. ५६:३.

सिक्न सकिने कुरा

हामी यहोवामाथिको भरोसालाई कसरी बलियो बनाउन सक्छौँ र डरलाई कसरी जित्न सक्छौँ?

१. हामीलाई किन कहिलेकाहीँ डर लाग्न सक्छ?

 हामी सबै जनालाई कहिलेकाहीँ डर लाग्छ। हुनत बाइबलको ज्ञान पाएपछि हामी मृत्यु, भूतप्रेत र भविष्यको डरदेखि मुक्‍त भएका छौँ। तर अहिले हामी युद्ध, अपराध र महामारीजस्ता “भयानक दृश्‍यहरू” देखिरहेका छौँ, जसले गर्दा हामीलाई डर लाग्न सक्छ। (लुका २१:११) हामीलाई साँचो उपासनाको विरोध गर्ने परिवारका सदस्यहरू वा सरकारी अधिकारीहरूदेखि डर लाग्न सक्छ। कसै-कसैलाई भने अहिले भोगिरहेको परीक्षा वा भविष्यमा आइपर्न सक्ने परीक्षाहरूको सामना गर्न नसक्ने हो कि भनेर चिन्ता लाग्न सक्छ।

२. दाउद गाथमा छँदा के भयो?

दाउद पनि कहिलेकाहीँ डराएका थिए। जस्तै: राजा साउलले तिनलाई मार्न धुइँधुइँती खोजिरहेको बेला दाउद पलिस्तियालीहरूको सहर गाथमा भागे। गाथका राजा आकिसले दाउद वीर योद्धा हुन्‌ र तिनले “लाखौँ” पलिस्तियालीलाई मारेका थिए भन्‍ने कुरा आफ्ना सेवकहरूबाट थाह पाए। त्यसपछि दाउद राजा आकिससित “असाध्यै डराए।” (१ समु. २१:१०-१२) आकिसले मार्ने हुन्‌ कि भनेर तिनलाई चिन्ता लाग्यो। दाउदले आफ्नो डरलाई कसरी जिते?

३. भजन ५६:१-३, ११ अनुसार दाउदले आफ्नो डरलाई कसरी जिते?

भजन ५६ अध्यायमा दाउदले आफू गाथमा छँदा महसुस गरेको कुरा व्यक्‍त गरेका छन्‌। त्यस अध्यायमा दाउदको डरबारे मात्र होइन, तिनले त्यस डरलाई कसरी जिते भनेर पनि बताइएको छ। दाउदलाई डर लाग्दा तिनले यहोवामाथि भरोसा राखे। (भजन ५६:१-३, ११ पढ्‌नुहोस्‌।) तिनले उहाँमाथि राखेको भरोसा खेर गएन। परमेश्‍वरको मदत पाएर दाउदले अनौठो तर प्रभावकारी जुक्‍ति निकाले। तिनले बौलाएको नाटक गरे। अब भने आकिसले तिनलाई खतराको रूपमा हेरेनन्‌ बरु त्यस्तो मानिसलाई आफूकहाँ ल्याएकोले सेवकहरूलाई हप्काए। त्यसपछि दाउद त्यहाँबाट भाग्न सफल भए।—१ समु. २१:१३–२२:१.

४. हामी यहोवामाथिको भरोसालाई कसरी बलियो बनाउन सक्छौँ, एउटा उदाहरण बताउनुहोस्‌।

हामीले पनि यहोवामाथि भरोसा राख्यौँ भने डरलाई जित्न सक्छौँ। त्यसोभए हामी कसरी यहोवामाथिको भरोसालाई बलियो बनाउन सक्छौँ? मानिलिनुहोस्‌, तपाईँलाई एउटा रोग लाग्यो। सुरुमा त तपाईँलाई डर लाग्न सक्छ। तर तपाईँले आफ्नो डाक्टरलाई भरोसा गर्न सक्नुभयो भने त्यो डर कम हुन सक्छ। ती डाक्टरले तपाईँको जस्तै रोग लागेका थुप्रै बिरामीलाई निको पारिसकेका हुन सक्छन्‌। तपाईँले आफ्नो चिन्ता र डरबारे बताउँदा तिनी ध्यान दिएर सुन्छन्‌। त्यसैले तिनी तपाईँको ख्याल राख्छन्‌ भनेर तपाईँ विश्‍वस्त हुनुहुन्छ। अरू बिरामीलाई प्रभावकारी भएको उपचारविधि अपनाउन तिनी तपाईँलाई सुझाव दिन्छन्‌। त्यस्तैगरि यहोवामाथिको भरोसालाई बलियो बनाउन हामी यी कुराहरू विचार गर्न सक्छौँ: उहाँले पहिले गरिसक्नुभएका कुराहरू, अहिले गरिरहनुभएका कुराहरू र भविष्यमा गर्नुहुने कुराहरू। दाउदले पनि त्यसै गरेका थिए। भजन ५६ अध्यायबाट तपाईँले पनि यहोवामाथिको भरोसालाई बलियो बनाउन र आफ्नो डरलाई जित्न मदत पाउन सक्नुहुन्छ। कसरी? आउनुहोस्‌, यसबारे विचार गरौँ।

यहोवाले पहिले गरिसक्नुभएका कुराहरू

५. दाउदले आफ्नो डरलाई जित्न कस्ता कुराहरूमा मनन गरे? (भजन ५६:१२, १३)

दाउदले आफ्नो जीवन खतरामै भएको बेला यहोवाले पहिले गरिसक्नुभएका कुराहरूमा ध्यान केन्द्रित गरे। (भजन ५६:१२, १३ पढ्‌नुहोस्‌।) दाउदले आफ्नो जीवनभरि त्यस्ता कुराहरूमा ध्यान केन्द्रित गरिरहे। जस्तै: तिनले कहिलेकाहीँ यहोवाका सृजनशील कामहरूमा मनन गरे। यसले तिनलाई यहोवा सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ र मानिसहरूमा गहिरो चासो राख्नुहुन्छ भनेर सम्झन मदत गऱ्‍यो। (भज. ६५:६-९) यहोवाले अरूको लागि के गरिदिनुभएको थियो भन्‍ने कुरामा पनि तिनले मनन गरे। (भज. ३१:१९; ३७:२५, २६) साथै आफ्नो लागि के गरिदिनुभएको थियो भनेर मनन गरे। यहोवाले दाउद जन्मेदेखि नै तिनको ख्याल राख्नुभएको थियो। (भज. २२:९, १०) यसरी मनन गर्दा यहोवामाथिको दाउदको भरोसा पक्कै बलियो भएको हुनुपर्छ!

यहोवाले गरिसक्नुभएका, गरिरहनुभएका र गर्नुहुने कुराहरूमा मनन गरेर दाउदले उहाँमाथिको भरोसालाई बलियो बनाए (अनुच्छेद ५, ८, १२ हेर्नुहोस्‌) d


६. डर लाग्दा यहोवामाथि भरोसा गर्न हामीलाई केले मदत गर्छ?

डर लाग्दा आफैलाई सोध्नुहोस्‌: ‘यहोवाले के गरिसक्नुभएको छ?’ उहाँले सृष्टि गर्नुभएका कुराहरूबारे विचार गर्नुहोस्‌। जस्तै: यहोवाले चरा अनि फूलहरूको कसरी ख्याल राख्नुहुन्छ, ‘नियालेर हेर्नुहोस्‌।’ उहाँको स्वरूपमा सृष्टि नगरिएका र उहाँको उपासना गर्ने क्षमता नभएका ती चरा अनि फूलहरूको त उहाँ यत्ति धेरै ख्याल राख्नुहुन्छ भने हाम्रो झन्‌ कत्ति धेरै ख्याल राख्नुहुन्छ होला! (मत्ति ६:२५-३२) यस्ता कुराहरूमा मनन गर्दा यहोवामाथिको हाम्रो भरोसा अझै बलियो हुनेछ। यहोवाले आफ्ना उपासकहरूको लागि के गरिदिनुभएको थियो, त्यो पनि विचार गर्नुहोस्‌। तपाईँ उल्लेखनीय विश्‍वास देखाएका बाइबल पात्रहरूबारे अध्ययन गर्न सक्नुहुन्छ अथवा आधुनिक समयका यहोवाका सेवकहरूको अनुभव पढ्‌न सक्नुहुन्छ। a साथै यहोवाले कसरी तपाईँको ख्याल राख्नुभएको थियो, विचार गर्नुहोस्‌। उहाँले तपाईँलाई सत्यतर्फ कसरी खिच्नुभयो? (युह. ६:४४) उहाँले तपाईँका प्रार्थनाहरूको जवाफ कसरी दिनुभयो? (१ युह. ५:१४) उहाँको प्यारो छोराको बलिदानले गर्दा तपाईँ हरेक दिन कस्ता लाभहरू उठाउँदै हुनुहुन्छ?—एफि. १:७; हिब्रू ४:१४-१६.

यहोवाले गरिसक्नुभएका, गरिरहनुभएका र गर्नुहुने कुराहरूमा मनन गरेर हामी उहाँमाथिको भरोसालाई बलियो बनाउँछौँ (अनुच्छेद ६, ९-१०, १३-१४ हेर्नुहोस्‌) e


७. भनिसालाई डर हटाउन भविष्यवक्‍ता दानिएलको अनुभवले कसरी मदत गऱ्‍यो?

हाइटीकी भनिसा b बहिनीले एउटा डरलाग्दो अवस्थाको सामना गरिन्‌। तिनको छिमेकको एक जना केटाले तिनलाई दिनदिनै फोन अनि मेसेज गरेर शारीरिक सम्बन्ध राख्न दबाब दिन्थ्यो। भनिसाले ठाडै इन्कार गरिन्‌। तर त्यो केटा झनै आक्रोशित भयो र तिनलाई हानि पुऱ्‍याउने धम्कीसमेत दियो। तिनी भन्छिन्‌: “मलाई असाध्यै डर लाग्यो।” भनिसाले आफ्नो डरलाई कसरी जित्न सकिन्‌? तिनले आफ्नो सुरक्षाको लागि व्यावहारिक कदम चालिन्‌। एक जना एल्डरले तिनलाई प्रहरीकोमा उजुरी दिन सुझाव दिए। साथै तिनले यहोवाले विगतमा आफ्ना सेवकहरूलाई कसरी जोगाउनुभएको थियो भन्‍ने कुरामा ध्यान दिइन्‌। भनिसा भन्छिन्‌: “विगतका सेवकहरूबारे सोच्दा मेरो दिमागमा सबैभन्दा पहिला भविष्यवक्‍ता दानिएलको चित्र आयो। निर्दोष दानिएललाई भोका सिंहहरूको खोरमा फालिएको थियो। तर यहोवाले सिंहहरूको मुख थुनिदिनुभयो। मैले आफ्नो तर्फबाट सकेजति गरेँ अनि बाँकी कुरा यहोवाको हातमा छोडिदिएँ। त्यसपछि मेरो डर हट्यो।”—दानि. ६:१२-२२.

यहोवाले अहिले गरिरहनुभएका कुराहरू

८. दाउद कुन कुरामा विश्‍वस्त थिए? (भजन ५६:८)

गाथमा छँदा दाउदको ज्यान खतरामा भए पनि तिनी अत्तालिएनन्‌। बरु यहोवाले त्यतिबेला तिनको लागि के गर्दै हुनुहुन्छ भन्‍ने कुरामा तिनले मनन गरे। यहोवाले तिनलाई डोऱ्‍याइ र सुरक्षा दिँदै हुनुहुन्छ अनि तिनको भावना बुझ्नुहुन्छ भन्‍ने कुरा दाउदले महसुस गरे। (भजन ५६:८ पढ्‌नुहोस्‌।) दाउदका जोनाथन र प्रधानपुजारी अहिमेलेकजस्ता साथीहरू पनि थिए, जसले तिनलाई साथ र मदत दिए। (१ समु. २०:४१, ४२; २१:६, ८, ९) साउलले मार्न खोजे तापनि दाउद आफ्नो ज्यान जोगाएर भाग्न सके। यहोवालाई तिनको परीक्षाबारे र त्यसले पुऱ्‍याइरहेको भावनात्मक असरबारे थाह छ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए।

९. यहोवा हामी प्रत्येकको कस्तो कुरा याद गर्नुहुन्छ?

कुनै परीक्षा भोग्दा डर लाग्यो भने यो कुरा मनमा राख्नुहोस्‌: तपाईँको परीक्षा अनि त्यसले गर्दा तपाईँको मनमा आएको भावना यहोवा याद गर्नुहुन्छ। यहोवाले मिश्रमा इस्राएलीहरूले भोगिरहेको दुर्व्यवहार मात्र होइन, “तिनीहरूले भोगिरहेको पीडा” पनि याद गर्नुभयो। (प्रस्थ. ३:७) दाउदले यहोवाले “मेरो दुःख” देख्नुभयो अनि उहाँले “मेरो वेदना” बुझ्नुभयो भनेर भजन गाए। (भज. ३१:७) इस्राएलीहरूले आफ्नै मूर्खतापूर्ण निर्णयले गर्दा दुःख भोग्नुपर्दा समेत ‘उहाँ दुःखी हुनुभयो।’ (यसै. ६३:९) तपाईँलाई पनि डर लाग्दा यहोवा तपाईँको भावना बुझ्नुहुन्छ र त्यस डरलाई हटाउन उहाँ उत्सुक हुनुहुन्छ।

१०. यहोवा तपाईँलाई याद गर्नुहुन्छ र परीक्षाहरूको सामना गर्न मदत गर्नुहुन्छ भन्‍ने कुरामा तपाईँ किन विश्‍वस्त हुन सक्नुहुन्छ?

१० कुनै डरलाग्दो परीक्षाको सामना गरिरहेको बेला यहोवा तपाईँलाई कसरी मदत गर्दै हुनुहुन्छ भनेर बुझ्न सक्नुभएन भने नि? उहाँबाट मदत पाएको महसुस गर्न सकूँ भनेर प्रार्थना गर्नुहोस्‌। (२ राजा ६:१५-१७) त्यसपछि यी कुराहरू विचार गर्नुहोस्‌: के कुनै भाषण वा टिप्पणीबाट मैले बल पाएको छु? के कुनै प्रकाशन, भिडियो वा मौलिक गीतबाट मैले प्रोत्साहन पाएको छु? कसैले मलाई आश्‍वासन दिने कुरा भनेका वा बाइबलबाट कुनै पद देखाएका छन्‌ कि? भाइबहिनीबाट पाएको माया र बाइबलबाट पाएको प्रोत्साहनले कत्ति मदत गरेको थियो भनेर हामी बिर्सन सक्छौँ। वास्तवमा ती कुराहरू यहोवाले दिनुभएका अमूल्य उपहारहरू हुन्‌। (यसै. ६५:१३; मर्कु. १०:२९, ३०) ती उपहारहरू यहोवा तपाईँको ख्याल राख्नुहुन्छ र उहाँ भरोसायोग्य हुनुहुन्छ भन्‍ने कुराका प्रमाणहरू हुन्‌।—यसै. ४९:१४-१६.

११. आइडालाई डर हटाउन केले मदत गऱ्‍यो?

११ सेनेगलकी आइडाले परीक्षाको बेला यहोवाले कसरी मदत गरिरहनुभएको छ भन्‍ने कुरा याद गरिन्‌। तिनी जेठी छोरी थिइन्‌। त्यसैले तिनका आमाबुबा घरखर्च चलाउन तिनले पैसा कमाएको चाहन्थे। तर पछि तिनले अग्रगामी सेवा गर्न आफ्नो जीवन सरल बनाइन्‌। त्यतिबेला तिनलाई आर्थिक रूपमा धेरै गाह्रो भयो। तिनको परिवारका सदस्यहरू निकै रिसाए र तिनको आलोचना गरे। तिनी भन्छिन्‌: “आमाबुबालाई मदत गर्न नसक्ने हो कि र मान्छेहरूले मेरो कुरा काट्‌ने हुन्‌ कि भनेर मलाई डर लाग्यो। मेरो अवस्था यत्तिसम्म नराम्रो हुन दिनुभएकोमा यहोवालाई समेत दोष दिएँ।” पछि सभामा सुनेको एउटा भाषणले तिनलाई मदत गऱ्‍यो। तिनी भन्छिन्‌: “यहोवा हाम्रो मनको घाउ याद गर्नुहुन्छ भनेर वक्‍ताले बताउनुभयो। एल्डरहरू अनि अरूले पनि यहोवा मलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन मदत गर्नुभयो। म बिस्तारै त्यस कुरामा ढुक्क हुँदै गएँ। उहाँले मदत गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुँदै मैले प्रार्थना गर्न थालेँ। यहोवाले प्रार्थनाहरूको जवाफ दिनुभएको याद गर्दा मैले मनोशान्ति पाएँ।” पछि आइडाले अग्रगामी सेवालाई निरन्तरता दिन र परिवारलाई पनि आर्थिक तवरमा मदत दिन सक्ने एउटा काम पाइन्‌। तिनी भन्छिन्‌: “मैले यहोवामाथि पूर्णतया भरोसा राख्न सिकेँ। आजकाल म प्रार्थना गरेपछि आफ्नो डर हटेको महसुस गर्छु।”

यहोवाले भविष्यमा गर्नुहुने कुराहरू

१२. भजन ५६:९ अनुसार दाउद कुन कुरामा विश्‍वस्त थिए?

१२ भजन ५६:९ पढ्‌नुहोस्‌। यस पदमा दाउदले आफ्नो डरलाई जित्न सक्नुको अर्को कारणबारे बताइएको छ। तिनको ज्यान अझै पनि खतरामा भए तापनि यहोवाले तिनको लागि भविष्यमा के गरिदिनुहुनेछ भन्‍ने कुरामा तिनले मनन गरे। यहोवाले उपयुक्‍त समयमा बचाउनुहुनेछ भनेर दाउदलाई थाह थियो। हुन पनि यहोवाले साउलपछिको इस्राएलको राजा दाउद हुनेछन्‌ भनेर घोषणा गरिसक्नुभएको थियो। (१ समु. १६:१, १३) यहोवाले प्रतिज्ञा गर्नुभएका कुराहरू दाउदको लागि पूरा भएसरह थिए।

१३. यहोवाले हाम्रो लागि के गरिदिनुहुनेछ भनेर विश्‍वस्त हुन सक्छौँ?

१३ यहोवाले तपाईँको लागि के गरिदिने प्रतिज्ञा गर्नुभएको छ? उहाँले हामीलाई सबै समस्यादेखि जोगाउनुहुन्छ भनेर हामी आशा गर्दैनौँ। c तर नबिर्सनुहोस्‌, यहोवाले आउँदै गरेको नयाँ संसारमा अहिले हामीले भोगिरहेका समस्याहरूलाई हटाउनुहुनेछ। (यसै. २५:७-९) हाम्रो सृष्टिकर्तासित मरेकाहरूलाई ब्युँताउने, हाम्रा शारीरिक अनि भावनात्मक पीडालाई निको पार्ने र सबै विरोधीलाई नामेट पार्ने शक्‍ति छ।—१ युह. ४:४.

१४. हामी कस्तो कुरामा मनन गर्न सक्छौँ?

१४ तपाईँलाई डर लाग्दा यहोवाले भविष्यमा के गर्नुहुनेछ भन्‍ने कुरामा मनन गर्नुहोस्‌। भविष्यमा सैतान र दुष्ट मानिसहरूलाई नाश गरिनेछ अनि पृथ्वीमा धर्मी मानिसहरू मात्रै रहनेछन्‌। हामी प्रत्येक दिन त्रुटिरहित अवस्थातर्फ अघि बढ्‌नेछौँ। त्यतिबेला हाम्रो जीवन कस्तो हुनेछ, कल्पना गर्नुहोस्‌। सन्‌ २०१४ को अधिवेशनमा आशामा कसरी मनन गर्न सकिन्छ भन्‍नेबारे एउटा प्रदर्शन देखाइएको थियो। उक्‍त प्रदर्शनमा एक जना बुबाले आफ्नो परिवारलाई प्रमोदवनमा जीवन कस्तो हुनेछ भनेर बुझाउन २ तिमोथि ३:१-५ मा बताइएका शब्दहरूलाई उल्ट्याएर यसो भनेका थिए: “तर नयाँ संसारमा असाध्यै खुसीको समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू अरूलाई प्रेम गर्ने, आध्यात्मिक धनलाई प्रेम गर्ने, धाक नलगाउने, नम्र, परमेश्‍वरको प्रशंसा गर्ने, आमाबुबाको आज्ञा पालन गर्ने, कृतज्ञ, वफादार, स्वाभाविक स्नेह भएका, सहमत हुने, अरूको विषयमा राम्रो कुरा गर्ने, संयमित, कोमल, भलाइलाई प्रेम गर्ने, विश्‍वासयोग्य, जिद्दी नगर्ने, आफूलाई ठूलो नठान्‍ने, सुखविलासलाई नभई परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको भक्‍ति गर्ने अनि त्यसैअनुसार चल्ने हुनेछन्‌; यिनीहरूको नजिक बस।” के तपाईँ आफ्नो परिवार अनि भाइबहिनीसित नयाँ संसारमा जीवन कस्तो हुनेछ भनेर कुरा गर्नुहुन्छ?

१५. तान्यालाई डर हटाउन केले मदत गऱ्‍यो?

१५ उत्तर म्यासिडोनियाकी तान्याले भविष्यका आशिष्‌हरूमा मनन गरेर आफ्नो डरलाई जितिन्‌। बाइबल अध्ययन गर्न थालेपछि आमाबुबाले तिनको घोर विरोध गरे। तिनी भन्छिन्‌: “मलाई जुन कुराको डर थियो, त्यही भयो। म सभाबाट फर्किएपछि आमा मलाई सधैँ पिट्‌नुहुन्थ्यो। आमाबुबाले म यहोवाको साक्षी भएँ भने मलाई मार्ने धम्की दिनुभयो।” पछि तान्यालाई घरबाट निकालियो। तिनले के गरिन्‌? तिनी भन्छिन्‌: “म सत्यनिष्ठ रहेँ भने भविष्यमा सधैँभरि आनन्दित भइरहन सक्छु भन्‍ने कुरामा मनन गरेँ। साथै मैले अहिले जस्तोसुकै कुरा गुमाउनुपरे पनि नयाँ संसारमा यहोवाले प्रशस्तै इनाम दिनुहुनेछ र खराब कुराहरू सम्झनामा आउनेछैनन्‌ भन्‍ने कुरा पनि सोचेँ।” तान्याले आफ्नो सत्यनिष्ठा कायम राखिन्‌। अनि यहोवाको मदत पाएर तिनले बस्ने ठाउँ पनि भेट्टाइन्‌। पछि एक जना वफादार भाइसित तान्याको विवाह भयो। अहिले तिनी आफ्नो पतिसँगै आनन्दित हुँदै पूर्ण-समय सेवामा लागिरहेकी छिन्‌।

अहिल्यैदेखि यहोवामाथिको भरोसालाई बलियो बनाउनुहोस्‌

१६. लुका २१:२६-२८ मा बताइएका घटनाहरू देख्दा हामीलाई साहसी भइरहन केले मदत गर्नेछ?

१६ महासङ्‌कष्टको बेला संसारका मानिसहरू ‘डरले गर्दा मूर्च्छा पर्नेछन्‌।’ तर परमेश्‍वरका जनहरू भने वफादार र साहसी भइरहनेछन्‌। (लुका २१:२६-२८ पढ्‌नुहोस्‌।) हामी किन त्यतिबेला डराउनेछैनौँ? किनकि हामीले यहोवामाथि भरोसा गर्न सिकिसकेका हुनेछौँ। अघि उल्लेख गरिएकी तान्यालाई विगतका अनुभवहरूले अरू गाह्रा अवस्थाहरूको सामना गर्न मदत गऱ्‍यो। तिनी भन्छिन्‌: “यहोवाले जस्तोसुकै परिस्थिति सहन मदत गर्न सक्नुहुन्छ र हामीलाई आशिष्‌ दिनुहुन्छ भनेर मैले आफ्नै अनुभवबाट सिकेकी छु। कहिलेकाहीँ परिस्थिति अरू मानिसहरूको नियन्त्रणमा छ जस्तो देखिन सक्छ तर यहोवा तिनीहरूभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ। अनि कुनै-कुनै परीक्षा सहन धेरै गाह्रो हुन सक्छ तर हामी त्यसलाई पार लगाउन सक्छौँ।”

१७. सन्‌ २०२४ को वार्षिक पदले हामीलाई कसरी मदत गर्नेछ? (आवरण चित्र हेर्नुहोस्‌।)

१७ आज संसारमा डर पैदा गर्ने थुप्रै कुरा छन्‌। तर हामी दाउदले जस्तै डरलाई जित्न सक्छौँ। सन्‌ २०२४ को वार्षिक पद दाउदले यहोवालाई गरेको प्रार्थना हो: “मलाई डर लाग्दा म तपाईँमाथि भरोसा राख्छु।” (भज. ५६:३) यस पदबारे एक बाइबलविद्‌ले यसो भनेका छन्‌: “दाउदले आफ्ना डर र समस्याहरूबारे मात्र सोचेर बसेनन्‌। बरु तिनले आफूलाई बचाउनुहुने उद्धारकर्तामा भरोसा गरे।” आउँदा दिनहरूमा डरलाग्दा परिस्थितिहरूको सामना गर्नुपर्दा यस वार्षिक पदबारे विचार गर्नुहोस्‌। यहोवाले पहिले गरिसक्नुभएका, अहिले गरिरहनुभएका र भविष्यमा गर्नुहुने कुरामा समय लगाएर मनन गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँले पनि दाउदले जस्तै यसो भन्‍न सक्नुहुनेछ: “परमेश्‍वरमा म भरोसा राख्छु; म डराउँदिनँ।”—भज. ५६:४.

प्रकोपको मारमा परेकी बहिनी वार्षिक पदमा मनन गर्दै छिन्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌)

तपाईँ निम्न कुराहरूमा मनन गरेर कसरी डरलाई जित्न सक्नुहुन्छ?

  • यहोवाले पहिले गरिसक्नुभएका कुराहरूमा

  • यहोवाले अहिले गरिरहनुभएका कुराहरूमा

  • यहोवाले भविष्यमा गर्नुहुने कुराहरूमा

गीत ३३ बिसाऊ भारी यहोवामा

a तपाईँ आफ्नो विश्‍वासलाई बलियो बनाउने जानकारी jw.org को “खोज्ने” ठाउँमा “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌” वा “अनुभव” टाइप गरेर खोज्न सक्नुहुन्छ। JW लाइब्रेरी एपमा शृङ्‌खलाबद्ध लेखहरूअन्तर्गत “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌” वा “यहोवाका साक्षीहरूको अनुभव” हेर्नुहोस्‌।

b केही नाम परिवर्तन गरिएका छन्‌।

d चित्रको व्याख्या: यहोवाले भालुलाई मार्न बल दिनुभएको, अहिमेलेकमार्फत मदत दिइरहनुभएको र भविष्यमा आफूलाई राजा अभिषेक गर्नुहुने कुरामा दाउदले मनन गरे।

e तस्बिरको व्याख्या: विश्‍वासको कारण जेलमा परेका भाइ यहोवाले चुरोट छोड्‌न मदत दिनुभएको, प्रियजनहरूले पठाएका चिठीहरूमार्फत बल दिइरहनुभएको र प्रमोदवनमा अनन्त जीवन दिनुहुने कुरामा मनन गर्दै छन्‌।