सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २

गीत १९ प्रभुको साँझको भोज

के तपाईँ यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयार हुनुहुन्छ?

के तपाईँ यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयार हुनुहुन्छ?

“मेरो सम्झनामा यो गर्ने गर।”लुका २२:१९.

सिक्न सकिने कुरा

स्मरणार्थ किन विशेष छ, हामी यसको लागि कसरी तयारी गर्न सक्छौँ र यस कार्यक्रममा उपस्थित हुन अरूलाई कसरी मदत गर्न सक्छौँ?

१. स्मरणार्थ किन वर्षकै सबैभन्दा महत्त्वपूर्ण दिन हो? (लुका २२:१९, २०)

 येसुको मृत्युको सम्झना गर्ने दिन यहोवाका सेवकहरूका लागि वर्षकै सबैभन्दा महत्त्वपूर्ण दिन हो। येसुले आफ्ना चेलाहरूलाई मनाउनू भनेर आज्ञा दिनुभएको यो एक मात्र उत्सव हो। (लुका २२:१९, २० पढ्‌नुहोस्‌।) हामीले स्मरणार्थको प्रतीक्षा गर्नुका थुप्रै कारण छन्‌। आउनुहोस्‌, तीमध्ये केही विचार गरौँ।

२. हामीले स्मरणार्थको प्रतीक्षा गर्नुका केही कारण बताउनुहोस्‌।

स्मरणार्थमा फिरौतीको बलिदानको महत्त्व र यसले गर्दा सम्भव भएका आशिष्‌हरूमा मनन गर्ने मौका पाउँछौँ। अनि येसुको बलिदानप्रति कृतज्ञता देखाउने तरिकाहरूबारे सम्झन मदत पाउँछौँ। (२ कोरि. ५:१४, १५) यसले हामीलाई “एकअर्कालाई प्रोत्साहन” दिने मौका पनि दिन्छ। (रोमी १:१२) निष्क्रिय भएका थुप्रै भाइबहिनी प्रत्येक वर्ष स्मरणार्थमा उपस्थित हुन्छन्‌। त्यहाँ गरिएको न्यानो स्वागत र मायालु व्यवहारले गर्दा तिनीहरूमध्ये केही यहोवाकहाँ फर्कन उत्प्रेरित भएका छन्‌। अनि चासो देखाएका थुप्रै मानिस स्मरणार्थमा आफूले देखेका र सुनेका कुराहरूले गर्दा जीवनको बाटोमा हिँड्‌न उत्प्रेरित भएका छन्‌। यी सबै कारणले गर्दा स्मरणार्थ हाम्रो लागि निकै विशेष छ!

३. स्मरणार्थले संसारभरिका हाम्रा भाइबहिनीलाई कसरी एकतामा बाँध्छ? (चित्र पनि हेर्नुहोस्‌।)

स्मरणार्थले संसारभरिका हाम्रा भाइबहिनीलाई कसरी एकतामा बाँध्छ, सोच्नुहोस्‌। संसारभरिका यहोवाका साक्षीहरू आ-आफ्नो ठाउँको समयअनुसार स्मरणार्थको दिन सूर्यास्तपछि एक ठाउँमा भेला हुन्छन्‌। त्यस दिन हामी फिरौतीको महत्त्वबारे जोड दिइने भाषण सुन्छौँ, प्रशंसाका दुई वटा गीत गाउँछौँ, प्रतीकहरू पास गर्छौँ र चार वटा प्रार्थनाको अन्तमा मनैदेखि “आमिन” भन्छौँ। संसारभरिका मण्डलीहरूले लगभग २४ घण्टाभित्र एउटै तरिकामा स्मरणार्थ मनाउँछन्‌। यसरी संसारभरिका साक्षीहरूले एकताबद्ध भई यहोवा र येसुको प्रशंसा गरेको देख्दा उहाँहरूलाई कत्ति खुसी लाग्छ होला!

स्मरणार्थले संसारभरिका भाइबहिनीलाई एकतामा बाँध्छ (अनुच्छेद ३ हेर्नुहोस्‌) f


४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

यस लेखमा यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ: हामी स्मरणार्थको लागि आफ्नो मन कसरी तयार पार्न सक्छौँ? चासो देखाएकाहरूले त्यस उत्सवबाट लाभ उठाउन सकून्‌ भनेर हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ? निष्क्रिय भाइबहिनीलाई कसरी मदत गर्न सक्छौँ? यी प्रश्‍नहरूको जवाफले हामीलाई यस पवित्र उत्सवको लागि तयार हुन मदत गर्नेछ।

हामी स्मरणार्थको लागि आफ्नो मन कसरी तयार पार्न सक्छौँ?

५. (क) हामीले फिरौतीको बलिदानमा किन मनन गर्नुपर्छ? (भजन ४९:७, ८) (ख) येसु किन मर्नुभयो? भन्‍ने भिडियोबाट तपाईँले के सिक्नुभयो?

स्मरणार्थको लागि आफ्नो मन तयार पार्ने एउटा महत्त्वपूर्ण तरिका येसुको फिरौतीको बलिदानमा मनन गरेर हो। हामीमध्ये कसैले पनि मोल तिरेर आफैलाई पाप र मृत्युबाट कहिल्यै छुटाउन सक्दैनौँ। (भजन ४९:७, ८ पढ्‌नुहोस्‌; येसु किन मर्नुभयो? भन्‍ने भिडियो पनि हेर्नुहोस्‌।) a त्यसैले यहोवाले येसुलाई हाम्रो लागि आफ्नो जीवन अर्पण गर्न पठाउनुभयो। उहाँहरू दुवैले ठूलो मोल चुकाउनुभयो। (रोमी ६:२३) उहाँहरूले हाम्रो लागि गर्नुभएका त्यागहरूबारे जत्ति धेरै मनन गर्छौँ, फिरौतीप्रतिको हाम्रो कृतज्ञता पनि त्यत्ति नै बढ्‌नेछ। यहोवा र येसुले हाम्रो लागि गर्नुभएका केही त्यागबारे विचार गरौँ। तर त्यसअघि फिरौतीमा के-के समावेश छ, बुझौँ।

६. फिरौती भनेको के हो र येसुले किन फिरौतीको बलिदान दिनुभयो?

फिरौती भनेको कुनै कुरा फिर्ता पाउनको लागि तिरिने मोल हो। प्रथम पुरुष आदम सृष्टि गरिँदा त्रुटिरहित थिए। तर पाप गरेपछि तिनले अनन्त जीवन पाउने आशा गुमाए। त्यति मात्र होइन, तिनका सबै सन्तानले पनि त्यो आशा गुमाए। आदमले गुमाएको कुरा फिर्ता पाउन येसुले आफ्नो त्रुटिरहित जीवन बलिदानस्वरूप दिनुभयो। पृथ्वीमा हुनुहुँदा “उहाँले एउटै पाप गर्नुभएन अनि उहाँको मुखमा कुनै छल पाइएन।” (१ पत्रु. २:२२) पाप गर्नुअघि आदम त्रुटिरहित भएजस्तै येसु पनि आफ्नो मृत्युको बेला त्रुटिरहित हुनुहुन्थ्यो। त्यसैले आफ्नो जीवन बलिदानस्वरूप दिनुभएर उहाँले फिरौतीको मोल तिर्न सक्नुभयो।—१ कोरि. १५:४५; १ तिमो. २:६.

७. पृथ्वीमा हुनुहुँदा येसुले कस्ता परीक्षाहरू सामना गर्नुपरेको थियो?

येसु पृथ्वीमा हुनुहुँदा जस्तोसुकै परीक्षा आइपरे पनि उहाँ यहोवाप्रति आज्ञाकारी हुनुभयो। येसु जन्मँदै त्रुटिरहित हुनुहुन्थ्यो। तर उहाँ सानो बेला आफ्ना त्रुटिपूर्ण आमाबुबाप्रति आज्ञाकारी हुनुपर्ने थियो। (लुका २:५१) किशोरावस्थामा उहाँले आमाबुबाप्रति अनाज्ञाकारी हुने वा यहोवाप्रति अवफादार हुने दबाबको सामना गर्नुपरेको हुन सक्छ। अनि वयस्क हुनुभएपछि उहाँलाई सैतानले विभिन्‍न प्रलोभन देखायो; यहाँसम्म कि त्यसले येसुलाई सीधै यहोवाप्रति अनाज्ञाकारी हुन दबाब दियो। (मत्ति ४:१-११) सैतान येसुलाई जसरी भए पनि पाप गर्न लगाउन लागिपरेको थियो किनभने येसुले फिरौतीको बलिदान दिएको त्यो चाहँदैनथ्यो।

८. येसुले अरू कस्ता परीक्षाहरूको सामना गर्नुभयो?

पृथ्वीमा हुनुहुँदा येसुले अरू परीक्षाहरूको पनि सामना गर्नुभयो। उहाँले खेदो भोग्नुभयो र शत्रुहरू उहाँलाई मार्न चाहन्थे। (लुका ४:२८, २९; १३:३१) उहाँले विभिन्‍न कमीकमजोरी भएका अनुयायीहरूसित व्यवहार गर्नुपऱ्‍यो। (मर्कु. ९:३३, ३४) पुर्पक्षको बेला उहाँलाई सास्ती दिइयो र उहाँको गिल्ला गरियो। उहाँलाई असाध्यै पीडादायी र बेइज्जतीपूर्ण तरिकामा मृत्युदण्ड दिइयो। (हिब्रू १२:१-३) उहाँले जीवनको अन्तिम घडीमा यहोवाको सुरक्षाविना नै परीक्षा सहनुभयो। bमत्ति २७:४६.

९. येसुको बलिदानबारे सोच्दा हामी के गर्न उत्प्रेरित हुन्छौँ? (१ पत्रुस १:८)

स्पष्ट छ, येसुले फिरौतीको मोल तिर्न धेरै कुरा सहनुभयो। उहाँले राजीखुसीले हाम्रो लागि गर्नुभएका त्यागहरूबारे सोच्दा के उहाँप्रतिको हाम्रो प्रेम अझै प्रगाढ हुँदैन र?—१ पत्रुस १:८ पढ्‌नुहोस्‌।

१०. फिरौतीको बलिदानको लागि यहोवाले कस्तो मोल चुकाउनुभयो?

१० फिरौतीको बलिदानको लागि यहोवाले कस्तो मोल चुकाउनुभयो? यहोवा आफ्नो छोरा येसुसित एकदमै घनिष्ठ हुनुहुन्छ। (हितो. ८:३०) सोच्नुहोस्‌ त, आफ्नो छोराले पृथ्वीमा छँदा विभिन्‍न किसिमका परीक्षा भोग्नुपरेको देख्दा यहोवाले कस्तो महसुस गर्नुभयो होला। आफ्नो छोरालाई दुर्व्यवहार गरिएको, तिरस्कार गरिएको अनि सास्ती दिइएको देख्दा यहोवाको मन कत्ति रोयो होला!

११. येसुलाई मारिँदा यहोवालाई कत्ति पीडा भयो होला भनेर बुझाउने एउटा उदाहरण दिनुहोस्‌।

११ आफ्नो सन्तान गुमाउनुपरेका आमाबुबालाई त्यो पीडा कत्ति असह्‍य हुन्छ भनेर थाह हुन्छ। हामी फेरि जीवित हुने आशामा बलियो विश्‍वास राख्छौँ। तर त्यस आशाले प्रियजन गुमाउनुपर्दाको पीडालाई पूर्णतया मेटाउन भने सक्दैन। यस उदाहरणबाट आफ्नो प्यारो छोराले सास्ती भोग्नुपरेको अनि मृत्यु भोग्नुपरेको देख्दा यहोवालाई कस्तो लाग्यो होला भनेर बुझ्न सक्छौँ। cमत्ति ३:१७.

१२. स्मरणार्थको लागि हामी अहिल्यैदेखि कस्तो तयारी गर्न सक्छौँ?

१२ अहिल्यैदेखि व्यक्‍तिगत अध्ययन वा पारिवारिक उपासनामा फिरौतीको बलिदानबारे अध्ययन गर्नुभए कसो होला? यस विषयमा गहिरिएर अध्ययन गर्न यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी वा अन्य बाइबल अध्ययन सामग्री प्रयोग गर्न सक्नुहुन्छ। d साथै हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका-मा दिइएको स्मरणार्थ बाइबल पढाइको तालिकाअनुसारै बाइबल पढ्‌न नछुटाउनुहोस्‌। अनि स्मरणार्थको दिन बिहानको उपासनाको विशेष कार्यक्रम हेर्न पनि नभुल्नुहोस्‌। यसरी स्मरणार्थको लागि हामीले आफ्नो मन तयार पाऱ्‍यौँ भने चासो देखाएकाहरूलाई पनि मदत गर्न सक्नेछौँ।—एज्रा ७:१०.

चासो देखाएकाहरूलाई मदत गर्नुहोस्‌

१३. चासो देखाएकाहरूलाई मदत गर्न सुरुमा के गर्नुपर्छ?

१३ हामी चासो देखाएकाहरूलाई कसरी मदत गर्न सक्छौँ? सुरुमा त तिनीहरूलाई निम्तो दिनुपर्छ। हामी साक्षीकार्यमा भेटिने मानिसहरूलाई त निम्तो दिन्छौँ नै; त्यसका साथै निम्तो दिनको लागि चिनेजानेका मानिसहरूको सूची बनाउन सक्छौँ। त्यस सूचीमा आफन्तहरू, सहकर्मीहरू, सहपाठीहरू अनि अन्य व्यक्‍तिहरूको नाम लेख्न सक्छौँ। हामीसित पर्याप्त मात्रामा छापिएको निम्तोपर्ची छैन भने हामी तिनीहरूलाई निम्तोपर्चीको लिङ्‌क सेयर गर्न सक्छौँ। हामीले निम्तो दिएकाहरूमध्ये कति जना स्मरणार्थमा उपस्थित हुनेछन्‌, हामीलाई थाह छैन।—उप. ११:६.

१४. निम्तो दिनुको महत्त्वलाई किन हल्कासित लिनु हुँदैन, एउटा अनुभव बताउनुहोस्‌।

१४ निम्तो दिनुको महत्त्वलाई कहिल्यै हल्कासित नलिनुहोस्‌। एक बहिनीको अनुभव विचार गरौँ। उनका पति बेग्लै धर्म मान्छन्‌। एकदिन तिनले खुसी हुँदै आफ्नी पत्नीलाई आफू पनि स्मरणार्थमा जाने कुरा बताए। हाम्री बहिनी तीनछक परिन्‌। किन? किनभने उनले आफ्नो पतिलाई थुप्रै चोटि स्मरणार्थमा सँगै जाऔँ भनेकी थिइन्‌ तर उनका पतिले कहिल्यै मानेका थिएनन्‌। त्यसोभए तिनले यसपालिचाहिँ किन माने? किनभने तिनले आफूले चिनेको एक जना एल्डरबाट निम्तो पाएका थिए। ती पति त्यस वर्ष र त्यसपछि धेरै वर्षसम्म स्मरणार्थमा उपस्थित भए।

१५. मानिसहरूलाई स्मरणार्थको निम्तो दिनुअघि के-कस्तो तयारी गर्न सक्छौँ?

१५ हामीले निम्तो दिएका व्यक्‍तिहरूको मनमा केही प्रश्‍न हुन सक्छ भन्‍ने कुरा याद गर्नुहोस्‌, खासगरि तिनीहरू हाम्रो कुनै पनि सभामा उपस्थित भएका छैनन्‌ भने। तिनीहरूले सोध्न सक्ने प्रश्‍नहरू विचार गर्नुहोस्‌ र त्यसको जवाफ तयारी गर्नुहोस्‌। (कल. ४:६) जस्तै, कोही-कोहीले यस्तो प्रश्‍न सोध्न सक्छन्‌: ‘यो कस्तो खालको कार्यक्रम हो?’ ‘कति घण्टा हुन्छ?’ ‘कस्तो लुगा लगाएर आउनुपर्ने हो?’ ‘टिकट काट्‌नुपर्छ कि?’ ‘चन्दा दिनुपर्छ?’ कसैलाई स्मरणार्थको निम्तो दिँदा यसो भन्‍न सक्नुहुन्छ: “तपाईँको केही प्रश्‍न छ कि?” अनि तिनले प्रश्‍न सोधेमा तिनको जिज्ञासा मेटाउन सक्नुहुन्छ। हाम्रा सभाहरूमा के-के हुन्छ भनेर बुझाउन तपाईँ येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्‍ने भिडियो देखाउन सक्नुहुन्छ। साथै सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ २८ बाट पनि तिनलाई केही कुरा बताउन सक्नुहुन्छ।

१६. स्मरणार्थमा उपस्थित भएकाहरूले अरू कस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌?

१६ स्मरणार्थमा उपस्थित भएपछि चासो देखाएकाहरूले अरू प्रश्‍न सोध्न सक्छन्‌। जस्तै: ‘किन कसैले पनि रोटी र दाखमद्य नखाएको?’ केहीले मात्र खाएका छन्‌ भने तिनीहरूले यस्तो प्रश्‍न सोध्न सक्छन्‌: ‘किन उनीहरूले मात्रै खाएको?’ साथै यस्ता प्रश्‍नहरू पनि सोध्लान्‌: ‘तपाईँहरू कति चोटि स्मरणार्थ मनाउनुहुन्छ?’ ‘तपाईँहरूको सबै सभा यसरी नै हुन्छ?’ यी प्रश्‍नहरूको जवाफ स्मरणार्थको भाषणमा दिइने भए पनि नयाँ व्यक्‍तिहरूलाई अझै राम्ररी बुझाउनुपर्ने हुन सक्छ। jw.org मा भएको “यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?” भन्‍ने लेखमा पनि उपयोगी जानकारी पाउन सक्नुहुन्छ। “उचित मनसाय” भएकाहरूले स्मरणार्थ उत्सवबाट लाभ उठाउन सकून्‌ भनेर हामी तिनीहरूलाई स्मरणार्थको अघि, त्यस दौडान र त्यसपछि सक्दो मदत गर्न चाहन्छौँ।—प्रेषि. १३:४८.

निष्क्रिय भाइबहिनीलाई मदत गर्नुहोस्‌

१७. एल्डरहरूले निष्क्रिय भाइबहिनीलाई कसरी मदत गर्न सक्छन्‌? (इजकिएल ३४:१२, १६)

१७ स्मरणार्थको बेला एल्डरहरूले निष्क्रिय भाइबहिनीलाई कसरी मदत गर्न सक्छन्‌? तिनीहरूको ख्याल राखेर। (इजकिएल ३४:१२, १६ पढ्‌नुहोस्‌।) निष्क्रिय भएका सबैलाई स्मरणार्थअघि भेट्‌ने सक्दो कोसिस गर्नुहोस्‌। तपाईँ तिनीहरूलाई माया गर्नुहुन्छ र सक्दो मदत गर्न चाहनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त बनाउनुहोस्‌। तिनीहरूलाई स्मरणार्थमा बोलाउनुहोस्‌। तिनीहरू आए भने न्यानो स्वागत गर्नुहोस्‌। स्मरणार्थपछि पनि ती प्यारा भाइबहिनीसित कुनै न कुनै तरिकामा सम्पर्कमा रहनुहोस्‌ र तिनीहरूलाई यहोवाकहाँ फर्कन मदत दिनुहोस्‌।—१ पत्रु. २:२५.

१८. मण्डलीका सबैले निष्क्रिय भाइबहिनीलाई कसरी मदत गर्न सक्छन्‌? (रोमी १२:१०)

१८ स्मरणार्थमा आएका निष्क्रिय भाइबहिनीलाई मण्डलीका सबैले मदत गर्न सक्छन्‌। कसरी? तिनीहरूलाई प्रेम, दया र आदर देखाएर। (रोमी १२:१० पढ्‌नुहोस्‌।) ती प्यारा भाइबहिनीलाई फेरि सभामा आउन अप्ठ्यारो लागेको हुन सक्छ भन्‍ने कुरा याद गर्नुहोस्‌। तिनीहरूलाई ‘अरूले केही भन्‍ने हुन्‌ कि’ वा ‘कुरा काट्‌ने हुन्‌ कि’ भनेर डर पनि लागेको हुन सक्छ। e त्यसैले तिनीहरूलाई अप्ठ्यारोमा पार्ने प्रश्‍नहरू नसोध्नुहोस्‌ वा चित्त दुख्ने कुरा नभन्‍नुहोस्‌। (१ थिस्स. ५:११) तिनीहरू पनि हाम्रै परिवारका सदस्य हुन्‌। तिनीहरूसितै मिलेर फेरि यहोवाको उपासना गर्न पाउँदा हामी खुसी हुन्छौँ।—भज. ११९:१७६; प्रेषि. २०:३५.

१९. येसुको मृत्युको सम्झना गर्दा कस्तो लाभ हुन्छ?

१९ येसुले हामीलाई उहाँको मृत्युको सम्झना गर्न भन्‍नुभएकोमा हामी साँच्चै कृतज्ञ छौँ। यस उत्सवमा उपस्थित हुँदा हामी आफैलाई र अरूलाई पनि विभिन्‍न तरिकामा लाभ हुन्छ। (यसै. ४८:१७, १८) यहोवा र येसुप्रतिको हाम्रो प्रेम अझै प्रगाढ हुन्छ। उहाँहरूले हाम्रो लागि गर्नुभएका कुराहरूप्रति कृतज्ञता देखाउने मौका पाउँछौँ। सङ्‌गी भाइबहिनीसितको हाम्रो सम्बन्ध पनि अझै बलियो हुन्छ। अनि हामी जिज्ञासु व्यक्‍तिहरूलाई फिरौतीले गर्दा सम्भव भएका आशिष्‌हरूबाट कसरी लाभ उठाउन सकिन्छ भनेर बुझ्न मदत गर्न सक्छौँ। यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिन, स्मरणार्थ उत्सवको लागि तयार हुन आफ्नो तर्फबाट सक्दो गरौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामी स्मरणार्थको लागि आफ्नो मन कसरी तयार पार्न सक्छौँ?

  • हामी चासो देखाएकाहरूलाई कसरी मदत गर्न सक्छौँ?

  • निष्क्रिय भाइबहिनीलाई कसरी मदत गर्न सक्छौँ?

गीत १८ फिरौतीको बलिदानप्रति कृतज्ञ

a यस लेखमा बताइएका लेखहरू र भिडियोहरू jw.org को “खोज्ने” ठाउँमा टाइप गरेर खोज्नुहोस्‌।

b अप्रिल २०२१ अङ्‌कको प्रहरीधरहरा-को “पाठकहरूको प्रश्‍न” भन्‍ने लेख हेर्नुहोस्‌।

d अनुसन्धानका लागि सुझाव” भन्‍ने पेटी हेर्नुहोस्‌।

e मण्डलीका भाइबहिनीले कस्तो प्रतिक्रिया देखाए?” भन्‍ने पेटी र तस्बिरहरू हेर्नुहोस्‌। एक निष्क्रिय भाइ अप्ठ्यारो लागे तापनि सभाभवन भित्र जान्छन्‌। तिनलाई न्यानो स्वागत गरिन्छ र भाइबहिनीलाई भेट्‌न पाएकोमा तिनी खुसी हुन्छन्‌।

f तस्बिरहरूको व्याख्या: पृथ्वीको एउटा ठाउँका भाइबहिनीले स्मरणार्थ उत्सव मनाउँदै गर्दा अरू ठाउँका भाइबहिनी त्यस उत्सवको लागि तयारी गर्दै छन्‌।