सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ७

गीत ५१ समर्पित छौँ यहोवामा!

नाजिरीहरूबाट सिक्न सकिने पाठहरू

नाजिरीहरूबाट सिक्न सकिने पाठहरू

“नाजिरीको रूपमा जीवन बिताउन्जेल ऊ यहोवा परमेश्‍वरको सामुन्‍ने पवित्र होस्‌।”​—गन्ती ६:८.

सिक्न सकिने कुरा

नाजिरीहरूको उदाहरणले हामीलाई यहोवाको सेवामा आत्मत्यागी र साहसी हुन कसरी मदत गर्छ?

१. पुरातन समयदेखि यहोवाका सेवकहरूले कस्तो मनोभाव देखाएका छन्‌?

 के तपाईँ यहोवासितको सम्बन्धको मोल गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ। पुरातन समयदेखि आज हाम्रो समयसम्म थुप्रै सेवक त्यस्तै महसुस गर्छन्‌। (भज. १०४:३३, ३४) तिनीहरूले यहोवाको उपासनाको लागि थुप्रै त्याग गरे। पुरातन इस्राएलका नाजिरीहरूले पनि त्यागहरू गरे। तिनीहरू को थिए र तिनीहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

२. (क) नाजिरीहरू को थिए? (गन्ती ६:१, २) (ख) कुनै इस्राएलीले किन नाजिरी हुने छनौट गर्थे?

“नाजिरी” हिब्रूबाट लिइएको एउटा शब्द हो, जसको अर्थ “अलग पारिएको व्यक्‍ति,” “समर्पित व्यक्‍ति” वा “छुट्ट्याइएको व्यक्‍ति” हो। यो अभिव्यक्‍ति तिनीहरूको लागि उपयुक्‍त छ किनकि ती जोसिला इस्राएलीहरूले विशेष तरिकामा यहोवाको सेवा गर्न केही खास त्याग गरेका हुन्थे। मोसाको व्यवस्थाअनुसार कुनै पुरुष वा स्त्रीले केही समयको लागि नाजिरीको रूपमा सेवा गर्न यहोवासित विशेष भाकल गर्न सक्थे। a (गन्ती ६:१, २ पढ्‌नुहोस्‌।) त्यो भाकल गर्ने नाजिरीहरूलाई केही खास आज्ञा दिइएको हुन्थ्यो, जुन अरू इस्राएलीहरूले पालन गर्नुपर्दैनथ्यो। कुनै इस्राएलीले किन नाजिरी हुने छनौट गर्थे? तिनीहरू यहोवाप्रतिको गहिरो प्रेम र उहाँले दिनुभएका आशिष्‌हरूप्रतिको कृतज्ञताले उत्प्रेरित भएका हुन सक्थे।​—व्यव. ६:५; १६:१७.

३. नाजिरीहरू र आजका परमेश्‍वरका जनहरूबीच कस्ता समानताहरू छन्‌?

मोसाको व्यवस्थाको ठाउँमा “ख्रिष्टको व्यवस्था” स्थापना भएपछि नाजिरीहरूको प्रबन्धको अन्त भयो। (गला. ६:२; रोमी १०:४) तर नाजिरीहरूले जस्तै आज पनि यहोवाका जनहरूले आफ्नो सारा हृदयले, सारा ज्यानले, सारा दिमागले र सारा बलले उहाँको सेवा गर्ने गहिरो इच्छा देखाइरहेका छन्‌। (मर्कु. १२:३०) हामीले यहोवालाई आफ्नो जीवन समर्पण गर्दा राजीखुसीले त्यसो गर्ने भाकल गरिरहेका हुन्छौँ। त्यस भाकलअनुसार जीवन बिताउनुमा यहोवाको इच्छाअनुसार चल्नु र त्यसको लागि त्यागहरू गर्नु समावेश छ। नाजिरीहरूले आफ्नो भाकलअनुरूप कसरी जीवन बिताए भनेर जाँच्दा हामीले आफ्नो भाकलअनुरूप कसरी जीवन बिताउन सक्छौँ भन्‍नेबारे महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ। b (मत्ति १६:२४) आउनुहोस्‌, केही उदाहरण विचार गरौँ।

आत्मत्यागी हुनुहोस्‌

४. गन्ती ६:३, ४ अनुसार नाजिरीहरूले के-के त्यागे?

गन्ती ६:३, ४ पढ्‌नुहोस्‌। नाजिरीहरू सबै किसिमको रक्सी र अङ्‌गुरबाट बनेको सबै चिजदेखि अलग रहनुपर्थ्यो। जस्तै: दाखमद्य, अङ्‌गुरको रस र किसमिस। तर अरू इस्राएलीहरूले भने ती खानेकुराहरू खान सक्थे अनि ती खानु गलत थिएन। हुन पनि बाइबलमा “मानिसको हृदयलाई प्रसन्‍न पार्ने मद्य” परमेश्‍वरले दिनुभएको उपहार हो भनिएको छ। (भज. १०४:१४, १५) तैपनि नाजिरीहरूले राजीखुसीले त्यस्ता खानेकुराहरू त्यागे। c

नाजिरीहरूजस्तै के तपाईँ पनि त्यागहरू गर्न तयार हुनुहुन्छ? (अनुच्छेद ४-६ हेर्नुहोस्‌)


५. मडियन र मार्सेलाले कस्ता त्यागहरू गरे र किन?

नाजिरीहरूजस्तै हामी पनि यहोवाको सेवामा अझ धेरै गर्न विभिन्‍न त्याग गर्छौँ। मडियन र मार्सेलाको उदाहरण विचार गरौँ। d त्यस दम्पतीले आरामदायी जीवन बिताउँदै थियो। मडियनको राम्रो जागिर थियो। त्यसैले तिनीहरू सुविधासम्पन्‍न अपार्टमेन्टमा बस्थे। तर तिनीहरू यहोवाको सेवामा अझ धेरै गर्न चाहन्थे। त्यो लक्ष्य हासिल गर्न तिनीहरूले जीवनमा केही छाँटकाँट गर्ने निर्णय गरे। तिनीहरू भन्छन्‌: “हामीले आफ्नो खर्च कम गऱ्‍यौँ। हामी सानो अपार्टमेन्टमा सऱ्‍यौँ अनि गाडी बेचेर एउटा स्कुटर किन्यौँ।” मडियन र मार्सेलाले त्यस्ता त्यागहरू गर्नै पर्छ भन्‍ने थिएन। तर सेवा विस्तार गर्न चाहेकोले तिनीहरूले त्यस्ता त्यागहरू गर्ने छनौट गरे। आफूले गरेको निर्णयमा तिनीहरूलाई कुनै पछुतो छैन; तिनीहरू आनन्दित अनि सन्तुष्ट छन्‌।

६. आज पनि यहोवाका सेवकहरू किन त्यागहरू गर्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

आज पनि यहोवाका सेवकहरू राजीखुसीले त्यागहरू गर्छन्‌ किनकि तिनीहरू उहाँको सेवामा अझ धेरै समय दिन चाहन्छन्‌। (१ कोरि. ९:३-६) यहोवा हामीलाई त्यस्ता त्यागहरू गर्न जबरजस्ती गर्नुहुन्‍न न त हामीले त्याग्ने कुराहरू आफैमा गलत हुन्छन्‌। जस्तै: कोही-कोही आफूलाई एकदमै मन पर्ने जागिर खाँदैनन्‌, घर बनाउँदैनन्‌ अथवा सोखको लागि पाल्तु पशु पाल्दैनन्‌। थुप्रैले लामो समयको लागि अविवाहित रहने अनि अरू कोही-कोहीले चाहिँ विवाह गरेलगत्तै छोराछोरी नजन्माउने निर्णय गरेका छन्‌। कसैले भने आफ्नो साथीभाइ अनि परिवारदेखि टाढिनुपरे तापनि आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्ने छनौट गरेका छन्‌। हामीमध्ये थुप्रैले राजीखुसीले त्यस्ता त्यागहरू गरेका छौँ किनभने हामी यहोवालाई सर्वोत्तम सेवा चढाउन चाहन्छौँ। यहोवाको सेवा गर्न हामीले गर्ने जुनसुकै त्याग, चाहे त्यो ठूलो होस्‌ या सानो, उहाँ त्यसको असाध्यै मोल गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—हिब्रू ६:१०.

अरूभन्दा फरक देखिन तयार हुनुहोस्‌

७. नाजिरीहरूलाई आफ्नो भाकल पूरा गर्न किन गाह्रो हुन सक्थ्यो? (गन्ती ६:५) (चित्र पनि हेर्नुहोस्‌।)

गन्ती ६:५ पढ्‌नुहोस्‌। नाजिरीहरूले आफ्नो कपाल नकाट्‌ने भाकल गरेका हुन्थे। यसले तिनीहरू पूर्णतया यहोवाको अधीनमा रहेको कुरालाई बुझाउँथ्यो। यदि कुनै व्यक्‍ति नाजिरी भएको लामो समय भइसकेको थियो भने तिनको कपाल पनि लामो हुन्थ्यो र अरूले त्यो कुरा सजिलै याद गर्थे। यदि ती नाजिरीले अरू इस्राएलीहरूबाट आदर र भाकल पूरा गर्न प्रोत्साहन पाएका भए तिनलाई अरूभन्दा फरक देखिन सजिलो हुने थियो। तर दुःखको कुरा, इस्राएलको इतिहासमा यस्ता दिनहरू पनि थिए, जतिबेला इस्राएलीहरू नाजिरीहरूलाई आदर र समर्थन गर्दैनथे। भविष्यवक्‍ता आमोसको समयमा धर्मत्यागी इस्राएलीहरूले ‘नाजिरीहरूलाई मद्य पिउन दिइरहे।’ हुन सक्छ, तिनीहरू नाजिरीहरूले मद्यदेखि अलग रहने आफ्नो भाकल तोडेको चाहन्थे। (आमो. २:१२) त्यसैले नाजिरीहरूलाई आफ्नो भाकलअनुरूप चल्न र अरूभन्दा फरक देखिन बेलाबेलामा ठूलो साहस चाहिएको हुनुपर्छ।

आफ्नो भाकलअनुरूप जिउने अठोट गरेका नाजिरी अरूभन्दा फरक देखिन तयार हुन्थे (अनुच्छेद ७ हेर्नुहोस्‌)


८. बेन्जामिनको उदाहरणबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो?

हामी स्वभावैले लजालु भए तापनि अरूभन्दा फरक देखिन यहोवाबाट बल अनि साहस पाउन सक्छौँ। नर्वेका साक्षी भाइ बेन्जामिनको उदाहरण विचार गरौँ। तिनी १० वर्षका थिए। तिनको स्कुलमा युक्रेनको समर्थनमा एउटा कार्यक्रम आयोजना गरियो। केटाकेटीलाई युक्रेनको राष्ट्रिय झण्डाका रङहरू भएको लुगा लगाउन र देशभक्‍ति गीत गाउन भनियो। बेन्जामिनले राष्ट्रियताको भाव जगाउने त्यस कार्यक्रममा भाग नलिन कार्यक्रम हुने ठाउँभन्दा टाढै बस्ने विचार गरे। तर तिनको मिसले तिनलाई देखिहालिन्‌ र ठूलो सोरले यसो भनिन्‌: “सबै जना तिमीलाई पर्खिरा’ छन्‌। ल छिटो आइहाल!” बेन्जामिन साहसी हुँदै मिसकहाँ गए र यसो भने: “म राजनैतिक कार्यक्रमहरूमा भाग लिन्‍नँ। म कसैको पक्ष लिन्‍नँ। थुप्रै यहोवाका साक्षीहरूले युद्धमा भाग लिन इन्कार गरेका छन्‌। त्यसैले तिनीहरू अहिले झ्यालखानामा छन्‌।” बेन्जामिनको कुरा सुनेपछि मिसले तिनलाई जबरजस्ती गरिनन्‌। तर साथीहरूले तिनलाई किन त्यस कार्यक्रममा भाग नलिएको भनेर सोध्न थाले। बेन्जामिन यत्ति डराए कि तिनी झन्डै रुन लागेका थिए। तर तिनले मिसलाई जे-जे भनेका थिए, पूरै कक्षाको अगाडि साहस देखाउँदै त्यही कुरा बताए। पछि बेन्जामिनले आफ्नो आमाबुबालाई यहोवाबाट मदत पाएको महसुस गरेकोले नै आफू विश्‍वासको पक्षमा खडा हुन सकेको कुरा बताए।

९. हामी कसरी यहोवाको हृदयलाई खुसी बनाउन सक्छौँ?

यहोवाको इच्छाअनुसार चल्ने छनौट गरेकोले हामी आफू वरपरका मानिसहरूभन्दा फरक देखिन्छौँ। काम गर्ने ठाउँ वा स्कुलमा आफूलाई यहोवाको साक्षी भनेर चिनाउन साहस चाहिन्छ। यस संसारका मानिसहरूको मनोवृत्ति र बानीबेहोरा झन्‌झनै खराब हुँदै गइरहेको छ। त्यसैले बाइबलको सिद्धान्तअनुसार जीवन बिताउन र मानिसहरूलाई सुसमाचार सुनाउन अझै गाह्रो हुन सक्छ। (२ तिमो. १:८; ३:१३) तर यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, संसारका मानिसहरूभन्दा फरक देखिए पनि साहसी भई यहोवाको मार्गमा हिँडिरह्‍यौँ भने हामीले ‘उहाँको हृदयलाई खुसी बनाइरहेका’ हुनेछौँ।—हितो. २७:११; मला. ३:१८.

यहोवालाई आफ्नो जीवनमा पहिलो स्थान दिइरहनुहोस्‌

१०. नाजिरीहरूलाई गन्ती ६:६, ७ मा दिइएको आज्ञा पालन गर्न किन गाह्रो हुन सक्थ्यो?

१० गन्ती ६:६, ७ पढ्‌नुहोस्‌। नाजिरीहरू लासको नजिक जानु हुँदैनथ्यो। झट्ट हेर्दा यसो गर्नु त्यत्ति ठूलो त्याग होइन जस्तो लाग्न सक्छ। तर कुनै नाजिरीको नजिकको नातेदारको मृत्यु हुँदा भने यो नियम पालन गर्न साँच्चै गाह्रो हुन्थ्यो। त्यतिबेलाको चलनअनुसार अन्त्येष्टि गर्ने क्रममा लासको नजिक जानै पर्ने हुन्थ्यो। (युह. १९:३९, ४०; प्रेषि. ९:३६-४०) तर नाजिरीहरूले यस्ता चलनहरूमा भाग लिन मिल्दैनथ्यो। परिवारको कुनै सदस्यको मृत्यु भएर शोकमा परेको बेला पनि नाजिरीहरू आफ्नो भाकलअनुसार चलेर बलियो विश्‍वास देखाउँथे। यस्तो गाह्रो अवस्थामा यहोवाले ती वफादार उपासकहरूलाई पक्कै बल दिनुभयो।

११. पारिवारिक मामिलासम्बन्धी निर्णयहरू गर्दा हामी के गर्न कटिबद्ध हुनुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

११ हामी आफ्नो समर्पणको वाचालाई गम्भीरतासाथ लिन्छौँ। यसले पारिवारिक मामिलासम्बन्धी निर्णयहरू र तिनीहरूसित गर्ने व्यवहारमा असर गर्छ। हामी परिवारको हेरविचार गर्ने धर्मशास्त्रीय जिम्मेवारी पूरा गर्न मेहनत गर्छौँ। तर यहोवाले हामीबाट चाहनुहुने कुरालाई भन्दा परिवारका सदस्यहरूको इच्छाआकाङ्‌क्षालाई कहिल्यै पहिलो स्थान दिँदैनौँ। (मत्ति १०:३५-३७; १ तिमो. ५:८) हामीले यहोवालाई खुसी बनाउने निर्णय गर्दा कहिलेकाहीँ हाम्रा आफन्तहरूलाई त्यो कुरा चित्त नबुझ्न सक्छ।

एकदमै गाह्रो अवस्थामा समेत के तपाईँ यहोवाको इच्छालाई पहिलो स्थान दिन तयार हुनुहुन्छ? (अनुच्छेद ११ हेर्नुहोस्‌) e


१२. परिवारमा गाह्रो अवस्था आइपर्दा एलेक्जेन्ड्रुले के गरे र के गरेनन्‌?

१२ एलेक्जेन्ड्रु र तिनकी पत्नी डोरिनाको अनुभव विचार गरौँ। तिनीहरूले वर्षदिनजति बाइबल अध्ययन गरेपछि डोरिनाले अध्ययन छोड्‌ने निर्णय गरिन्‌ र एलेक्जेन्ड्रुले पनि अध्ययन छोडेको उनी चाहन्थिन्‌। तर एलेक्जेन्ड्रुले आफूले अध्ययन छोड्‌न नचाहेको कुरा शान्त अनि विचारशील हुँदै बताए। डोरिनालाई त्यो कुरा चित्त बुझेन र तिनलाई जसरी भए पनि अध्ययन छोड्‌न लगाउन खोजिन्‌। एलेक्जेन्ड्रुले डोरिनालाई किन त्यस्तो लाग्यो भनेर बुझ्ने कोसिस गरे तर उनको मनको कुरा बुझ्न त्यत्ति सजिलो थिएन। डोरिनाले घोच्ने बोली बोल्दा र रिसाएर जवाफ फर्काउँदा तिनलाई अध्ययन छोड्‌दिऊँ कि जस्तो लाग्थ्यो। तैपनि एलेक्जेन्ड्रुले यहोवालाई पहिलो स्थान दिइरहे र आफ्नी पत्नीलाई प्रेम अनि आदर पनि गरिरहे। अन्तमा तिनको असल उदाहरणले डोरिनालाई फेरि बाइबल अध्ययन सुरु गर्न उत्प्रेरित गऱ्‍यो र उनले पनि सत्यलाई अङ्‌गालिन्‌।​—jw.org मा “बाइबलको सत्यले जीवनलाई नयाँ मोड दिन्छ” शृङ्‌खलाअन्तर्गत एलेक्जेन्ड्रु र डोरिना भकर: “प्रेम धीरजी र दयालु हुन्छ” भन्‍ने भिडियो हेर्नुहोस्‌।

१३. तपाईँ यहोवा र आफ्नो परिवारलाई कसरी प्रेम देखाउन सक्नुहुन्छ?

१३ यहोवाले परिवारको सुरुवात गर्नुभयो र हाम्रो पारिवारिक जीवन सुखी भएको उहाँ चाहनुहुन्छ। (एफि. ३:१४, १५) यदि हामी साँच्चै आनन्दित हुन चाहन्छौँ भने हामीले यहोवाले चाहनुभएको तरिकामा जीवन बिताउनुपर्छ। तपाईँ आफ्नो परिवारको ख्याल राख्दै हुनुहुन्छ होला अनि तिनीहरूलाई प्रेम र आदर देखाउँदै हुनुहुन्छ होला। (रोमी १२:१०) त्यो सँगसँगै यहोवाको उपासनाको लागि विभिन्‍न त्याग गर्दै हुनुहुन्छ होला। यस्ता त्यागहरूको यहोवा कदर गर्नुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌।

नाजिरी मनोभाव राख्न प्रोत्साहन दिनुहोस्‌

१४. हामीले विशेषगरि कसलाई आफ्नो बोलीले प्रोत्साहन दिनुपर्छ?

१४ यहोवाको उपासना गर्ने छनौट गरेकाहरू प्रेमले उत्प्रेरित भएर त्यागहरू गर्न तयार हुनुपर्छ। तर कहिलेकाहीँ त्यसो गर्न गाह्रो हुन सक्छ। हामी कसरी एकअर्कालाई आत्मत्यागी मनोभाव राख्न मदत गर्न सक्छौँ? आफ्नो बोलीले प्रोत्साहन दिएर। (अय्यु. १६:५) के तपाईँको मण्डलीमा यहोवाको सेवामा अझ धेरै गर्न सकियोस्‌ भनेर आफ्नो जीवन सरल बनाउने प्रयास गरिरहेका भाइबहिनी छन्‌? के तपाईँ स्कुलमा अरूभन्दा फरक देखिन साहस देखाइरहेका जवान भाइबहिनीलाई चिन्‍नुहुन्छ? के तपाईँ परिवारको विरोधको बाबजुद वफादार रहन सङ्‌घर्ष गरिरहेका बाइबल विद्यार्थी अनि भाइबहिनीलाई चिन्‍नुहुन्छ? आफ्ना प्यारा भाइबहिनीलाई प्रोत्साहन दिने हरेक मौकाको सदुपयोग गरौँ अनि तिनीहरूको आत्मत्यागी मनोभाव र साहसको प्रशंसा गरौँ।​—फिले. ४, ५, ७.

१५. कसै-कसैले पूर्ण-समय सेवामा लागेकाहरूलाई कसरी मदत गरेका छन्‌?

१५ कहिलेकाहीँ हामी पूर्ण-समय सेवामा लागेका ख्रिष्टियनहरूलाई व्यावहारिक मदत दिन सक्ने अवस्थामा हुन सक्छौँ। (हितो. १९:१७; हिब्रू १३:१६) श्रीलङ्‌काकी ७६ वर्षकी एक बहिनीले त्यसै गरिन्‌। आफ्नो पेन्सन बढेकोले तिनी दुई जना अग्रगामी बहिनीलाई सेवामा लागिरहन आर्थिक मदत दिन चाहन्थिन्‌। ती जवान बहिनीहरूको आर्थिक अवस्था राम्रो थिएन। त्यसैले तिनले उनीहरूको हरेक महिनाको फोनको बिल तिर्न निश्‍चित रकम दिने निर्णय गरिन्‌। कस्तो राम्रो मनोभाव!

१६. नाजिरीहरूको प्रबन्धबाट हामी के सिक्न सक्छौँ?

१६ नाजिरीहरूको असल उदाहरणबाट हामी थुप्रै पाठ सिक्न सक्छौँ। तर नाजिरीहरूको प्रबन्धबाट स्वर्गमा हुनुहुने बुबा यहोवाबारे पनि केही कुरा सिक्न सक्छौँ। हामी उहाँलाई खुसी बनाउन चाहन्छौँ र समर्पणको वाचाअनुरूप जीवन बिताउन त्यागहरू गर्न तयार छौँ भन्‍ने कुरामा उहाँ विश्‍वस्त हुनुहुन्छ। राजीखुसीले उहाँलाई प्रेम देखाउने मौका दिनुभएर उहाँले हामीलाई आदर देखाउनुभएको छ। (हितो. २३:१५, १६; मर्कु. १०:२८-३०; १ युह. ४:१९) नाजिरीहरूको प्रबन्धबाट यहोवाको सेवामा हामीले गर्ने त्यागहरू उहाँ याद गर्नुहुन्छ र त्यसको मोल गर्नुहुन्छ भनेर थाह पाउन सक्छौँ। त्यसैले हामी निरन्तर यहोवालाई सर्वोत्तम सेवा चढाउन कटिबद्ध होऔँ!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • नाजिरीहरूले आफू आत्मत्यागी र साहसी भएको कसरी देखाए?

  • नाजिरी मनोभाव देखाउन हामी कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छौँ?

  • नाजिरीहरूको प्रबन्धले यहोवा कुन कुरामा विश्‍वस्त हुनुहुन्छ भनेर देखाउँछ?

गीत १२४ सधैँ वफादार रहौँ!

a केही नाजिरीलाई परमेश्‍वरले नै नियुक्‍त गर्नुभएको थियो तर धेरैजसोले स्वेच्छाले नाजिरीको रूपमा सेवा गरे।—“ यहोवाले नियुक्‍त गर्नुभएका नाजिरीहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

b कहिलेकाहीँ हाम्रा प्रकाशनहरूमा पूर्ण-समय सेवामा लागेकाहरूलाई नाजिरीहरूसित तुलना गरिएको छ। तर यस लेखमा यहोवाका सबै समर्पित सेवकले कसरी नाजिरी मनोभाव देखाउन सक्छन्‌ भनेर छलफल गर्नेछौँ।

c नाजिरीहरूले आफ्नो भाकल पूरा गर्न अरू कुनै थप जिम्मेवारी पूरा गर्नुपर्दैनथ्यो जस्तो देखिन्छ।

d jw.org मा “यहोवाका साक्षीहरूको अनुभव” शृङ्‌खलाबद्ध लेखहरूअन्तर्गत “हामीले आफ्नो जीवन सरल बनायौँ” भन्‍ने लेख हेर्नुहोस्‌।

e चित्रको व्याख्या: एक नाजिरी छतबाट आफ्नो परिवारको सदस्यको शव लगेको हेर्दै छन्‌। नाजिरीको रूपमा जिउने भाकल गरेकोले तिनी मलामी जान मिल्दैन।