सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १७

गीत १११ हामी आनन्दित हुनुको कारण

आध्यात्मिक प्रमोदवन कहिल्यै नछोड्‌नुहोस्‌

आध्यात्मिक प्रमोदवन कहिल्यै नछोड्‌नुहोस्‌

“म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।”​—यसै. ६५:१८.

सिक्न सकिने कुरा

हामी आध्यात्मिक प्रमोदवनबाट कस्तो लाभ उठाउन सक्छौँ र यसतर्फ अरूलाई कसरी खिच्न सक्छौँ?

१. आध्यात्मिक प्रमोदवन के हो र हामी के गर्न कटिबद्ध हुनुपर्छ?

 पृथ्वीमा अहिले एउटा यस्तो प्रमोदवन छ, जहाँ लाखौँ मानिस असल काम गर्नमा व्यस्त छन्‌। तिनीहरूमाझ साँचो शान्ति छ। तिनीहरू यस प्रमोदवनलाई कहिल्यै नछोड्‌न कटिबद्ध छन्‌। अनि तिनीहरू धेरैभन्दा धेरै मानिस यस प्रमोदवनमा आएको चाहन्छन्‌। यो कस्तो प्रमोदवन हो? आध्यात्मिक प्रमोदवन! a

२. आध्यात्मिक प्रमोदवन किन उल्लेखनीय छ?

घृणा र दुष्टताले भरिएको सैतानको संसारमा यहोवाले एउटा मनोरम आध्यात्मिक वातावरण बनाउनुभएको छ, जुन साँच्चै उल्लेखनीय छ। (१ युह. ५:१९; प्रका. १२:१२) यस दुष्ट युगले हामीमा पार्ने नकारात्मक असर हाम्रो मायालु बुबाले देखिरहनुभएको छ र हामीलाई सुरक्षा दिइरहनुभएको छ। यसले गर्दा हामीले आनन्दित भई यहोवाको सेवा गरिरहन सकेका छौँ। बाइबलमा आध्यात्मिक प्रमोदवनलाई सुरक्षा दिने “ओत” र “प्रशस्त पानी पाएको बगैँचा”-को रूपमा व्याख्या गरिएको छ। (यसै. ४:६; ५८:११) यस प्रमोदवनमा भएकाहरूले यहोवाको आशिष्‌ पाइरहेका छन्‌। त्यसैले तिनीहरू अन्तको यस कठिन समयमा समेत आध्यात्मिक रूपमा फस्टाइरहेका छन्‌।​—यसै. ५४:१४; २ तिमो. ३:१.

३. यसैया अध्याय ६५ को भविष्यवाणीको पहिलो पूर्ति कसरी भयो?

आध्यात्मिक प्रमोदवनमा जीवन कस्तो हुनेछ भनेर यहोवाले भविष्यवक्‍ता यसैयामार्फत बताउनुभयो, जुन हामी यसैया अध्याय ६५ मा पाउँछौँ। यस भविष्यवाणीको पहिलो पूर्ति ईसापूर्व ५३७ मा भयो। त्यतिबेला पश्‍चात्तापी यहुदीहरू बेबिलोनको कैदबाट मुक्‍त भए र तिनीहरू आफ्नो मातृभूमि फर्किए। यहोवाले आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुभयो र ध्वस्त भएको यरुसलेम सहरलाई फेरि सुन्दर बनाउन मदत गर्नुभयो। साथै त्यहाँको मन्दिरलाई इस्राएलको साँचो उपासनाको केन्द्रको रूपमा पुनर्स्थापना गर्न पनि मदत गर्नुभयो।​—यसै. ५१:११; जक. ८:३.

४. यसैया अध्याय ६५ को भविष्यवाणी आधुनिक समयमा कसरी पूरा भइरहेको छ?

यसैयाको भविष्यवाणीको दोस्रो पूर्ति सन्‌ १९१९ देखि हुन थाल्यो। त्यतिबेला परमेश्‍वरका उपासकहरू महान्‌ बेबिलोनको कैदबाट मुक्‍त भए। त्यसपछि आध्यात्मिक प्रमोदवन बिस्तारै संसारभरि फैलँदै गयो। परमेश्‍वरका जोसिला सेवकहरूले थुप्रै मण्डली स्थापना गरे। साथै तिनीहरूले पवित्र शक्‍तिको फल पनि फलाएका छन्‌। जस्तै: पशुको जस्तो हिंस्रक स्वभाव भएका पुरुष र स्त्रीहरूले ‘नयाँ व्यक्‍तित्व धारण गरे, जुन परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको थियो।’ (एफि. ४:२४) यसैयाले बताएका थुप्रै कुरा नयाँ संसारमा शाब्दिक रूपमै पूरा हुनेछन्‌। तर अहिले पनि हामीले आध्यात्मिक प्रमोदवनमा रहेर थुप्रै लाभ उठाउन सकेका छौँ। आउनुहोस्‌, आध्यात्मिक प्रमोदवनमा रहँदा हामीले कस्ता आशिष्‌हरू पाउनेछौँ र हामीले यो किन कहिल्यै छोड्‌नु हुँदैन, विचार गरौँ।

आध्यात्मिक प्रमोदवनमा पाइने आशिष्‌हरू

५. यसैया ६५:१३ मा प्रतिज्ञा गरिएअनुसार हामीले आध्यात्मिक प्रमोदवनमा कस्ता आशिष्‌हरू पाउन सक्छौँ?

स्वस्थ र स्फूर्त। यसैयाको भविष्यवाणीमा आध्यात्मिक प्रमोदवनमा हुनेहरू र नहुनेहरूबीचको भिन्‍नता स्पष्टसित बताइएको छ। (यसैया ६५:१३ पढ्‌नुहोस्‌।) यहोवा आफ्ना उपासकहरूको आध्यात्मिक आवश्‍यकता प्रशस्तैगरि पूरा गरिदिनुहुन्छ। उहाँले हामीलाई पवित्र शक्‍ति, आफ्नो वचन र प्रचुर मात्रामा आध्यात्मिक भोजन दिनुभएको छ। त्यसैले हामी ‘खान, पिउन र रमाउन’ सक्छौँ। (प्रकाश २२:१७ तुलना गर्नुहोस्‌।) तर त्यसको ठीकविपरीत आध्यात्मिक प्रमोदवनको भाग नबन्‍ने छनौट गरेकाहरू ‘भोकै रहनेछन्‌, तिर्खाउनेछन्‌ र लाजमा पर्नेछन्‌।’ किनभने तिनीहरूको आध्यात्मिक आवश्‍यकता कहिल्यै पूरा हुनेछैन।​—आमो. ८:११.

६. योएल २:२१-२४ अनुसार यहोवाले हामीलाई दिनुभएका केही उपहार के-के हुन्‌ र हामी त्यसबाट कसरी लाभ उठाउन सक्छौँ?

भविष्यवक्‍ता योएलले यहोवाले आफ्ना मानिसहरूलाई आध्यात्मिक भोजनलगायत तिनीहरूलाई आवश्‍यक पर्ने सबै कुरा उदारचित्तले दिनुहुन्छ भनेर बताए। तिनले यो कुरा बुझाउन अन्‍न, मद्य र जैतुनको तेलबारे बताए। (योए. २:२१-२४) बाइबल, बाइबलआधारित प्रकाशनहरू, हाम्रो वेबसाइट, सभा, सम्मेलन र अधिवेशनहरूमार्फत यहोवा हामीलाई आध्यात्मिक भोजन दिनुहुन्छ। हामी आध्यात्मिक भोजनबाट हरेक दिन लाभ उठाउन सक्छौँ। नतिजास्वरूप हामी अझ स्वस्थ हुनेछौँ र हामीले अझ स्फूर्ति पाउनेछौँ।

७. केले गर्दा हाम्रो “मन खुसी” हुन्छ? (यसैया ६५:१४)

खुसी र सन्तुष्ट। यहोवाका जनहरूको मन उहाँप्रतिको कृतज्ञताले भरिएकोले तिनीहरू खुसी हुँदै उहाँको “जयजयकार” गर्छन्‌। (यसैया ६५:१४ पढ्‌नुहोस्‌।) परमेश्‍वरको वचनमा पाइने सत्य कुराहरू, सान्त्वनादायी प्रतिज्ञाहरू अनि फिरौतीको बलिदानमा आधारित पक्का आशाले गर्दा हाम्रो “मन खुसी” हुन्छ। यस्ता विषयहरूमा भाइबहिनीसित कुराकानी गर्दा हामी खुसी हुन्छौँ।​—भज. ३४:८; १३३:१-३.

८. आध्यात्मिक प्रमोदवनका दुई वटा विशेषता के-के हुन्‌?

आध्यात्मिक प्रमोदवनका दुई वटा विशेषता भनेको यहोवाका जनहरूबीचको प्रेम र एकता हो। (कल. ३:१४) यस्तो प्रेम र एकताले नयाँ संसारमा जीवन कस्तो हुनेछ भन्‍ने कुराको झलक दिन्छ, जहाँ यहोवाका सेवकहरूबीच अहिलेभन्दा झन्‌ धेरै प्रेम र एकता हुनेछ। यहोवाका साक्षीहरूलाई पहिलो चोटि भेट्‌दाको अनुभवबारे एक बहिनी यसो भन्छिन्‌: “मलाई कसरी खुसी हुने, थाहै थिएन। म परिवार सँगै हुँदा पनि खुसी थिइनँ। मैले पहिलो चोटि साँचो प्रेम देखेको यहोवाका साक्षीहरूमाझ नै हो।” संसारका केही मानिसले यहोवाका साक्षीहरूबारे नकारात्मक कुराहरू सुनेका होलान्‌। तर तिनीहरू साँच्चै खुसी र सन्तुष्ट हुन चाहन्छन्‌ भने तिनीहरू आफैले यहोवाका उपासकहरूमाझ भएको प्रेम र एकता अनुभव गरेर हेर्नुपर्छ। संसारका मानिसहरू हामीप्रति कस्तो धारणा राख्छन्‌ भन्‍ने कुरा महत्त्वपूर्ण होइन किनकि परमेश्‍वरका जनहरूले यहोवा र आफ्ना दाजुभाइ दिदीबहिनीमाझ राम्रो नाम कमाइरहेका छन्‌।​—यसै. ६५:१५.

९. हामीलाई पीडा र दुःख दिने कुराहरूबारे यसैया ६५:१६, १७ मा के बताइएको छ?

तनावमुक्‍त र शान्त। यसैया ६५:१४ मा बताइएअनुसार आध्यात्मिक प्रमोदवनको भाग नबन्‍ने छनौट गरेकाहरूको ‘मन दुःखले भरिनेछ र तिनीहरू रुनेछन्‌ अनि साह्रै निराश भएर तिनीहरू डाँको छोडी-छोडी रुनेछन्‌।’ परमेश्‍वरका जनहरूलाई पीडा र दुःख दिने कुराहरूबारे चाहिँ के भन्‍न सकिन्छ? समयको दौडान ती कुराहरू ‘बिर्सिइनेछन्‌ र परमेश्‍वरको नजरबाट लुकाइनेछन्‌।’ (यसैया ६५:१६, १७ पढ्‌नुहोस्‌।) यहोवाले ती समस्याहरूलाई सदाको लागि हटाउनुहुनेछ र ती कुराहरूले दिएको पीडा फेरि कहिल्यै सम्झनामा समेत आउनेछैन।

१०. भाइबहिनीसित सङ्‌गत गर्न पाउनु किन आशिष्‌को कुरा हो? (तस्बिर पनि हेर्नुहोस्‌।)

१० अहिले पनि सभाहरूमा उपस्थित हुँदा हामी तनावमुक्‍त र शान्त महसुस गर्छौँ अनि यस दुष्ट संसारले दिने दुःख र पीडालाई एकछिनको लागि भए पनि बिर्सिन्छौँ। भाइबहिनीसित व्यवहार गर्दा हामीले पवित्र शक्‍तिको फलका पक्षहरू जस्तै: प्रेम, आनन्द, शान्ति, दया र कोमलता देखायौँ भने तिनीहरूलाई पनि शान्त रहन मदत गरिरहेका हुन्छौँ। (गला. ५:२२, २३) परमेश्‍वरको सङ्‌गठनको भाग हुन पाएकोमा हामी साँच्चै कृतज्ञ छौँ! यस आध्यात्मिक प्रमोदवनको भाग भइरहनेहरूले “नयाँ आकाश र नयाँ पृथ्वीको” प्रतिज्ञा पूरा भएको आफ्नै आँखाले देख्न पाउनेछन्‌।

आध्यात्मिक प्रमोदवनमा यहोवाको परिवारको भाग बन्‍न पाउनु आशिष्‌को कुरा हो (अनुच्छेद १० हेर्नुहोस्‌) c


११. यसैया ६५:१८, १९ अनुसार आध्यात्मिक प्रमोदवनमा हुँदा हामी कस्तो महसुस गर्छौँ?

११ कृतज्ञ र उत्साहित। यसैयाले हामी किन आध्यात्मिक प्रमोदवनमा ‘खुसी र हर्षित’ हुनुपर्छ भनेर बताए। यो प्रमोदवन यहोवाले बनाउनुभएको हो। (यसैया ६५:१८, १९ पढ्‌नुहोस्‌।) त्यसैले आध्यात्मिक रूपमा खडेरी परेका सङ्‌गठनहरूबाट मानिसहरूलाई सुन्दर आध्यात्मिक वातावरणमा ल्याउन यहोवा हामीलाई प्रयोग गर्दै हुनुहुन्छ। थुप्रै आशिष्‌ पाइरहेकोले हामी उत्साहित छौँ र यसबारे मानिसहरूलाई बताउन उत्प्रेरित भएका छौँ।​—यर्मि. ३१:१२.

१२. यसैया ६५:२०-२४ मा गरिएको प्रतिज्ञा पढ्‌दा तपाईँले कस्तो महसुस गर्नुभयो र किन?

१२ आध्यात्मिक प्रमोदवनको बासिन्दाको रूपमा हामीले पाएको आशाप्रति हामी कृतज्ञ पनि छौँ। अनि त्यो आशा पूरा हुने दिन हेर्न उत्साहित छौँ। नयाँ संसारमा हामीले देख्न र गर्न पाउने कुराहरूबारे कल्पना गर्नुहोस्‌ त! बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “कुनै पनि शिशु थोरै दिन मात्र बाँचेर मरिहाल्नेछैन, वृद्ध मानिस पनि आफ्नो पूरा उमेरसम्म जिउनेछ।” हामीले ‘घर बनाउनेछौँ र त्यसमा बस्नेछौँ अनि अङ्‌गुर बगान लगाउनेछौँ र त्यसको फल खानेछौँ।’ हाम्रो “परिश्रम खेर जानेछैन” किनभने ‘यहोवाले हामीलाई आशिष्‌ दिनुहुनेछ।’ यहोवाले हामीलाई सुरक्षित, उद्देश्‍यपूर्ण र सुखी जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँलाई सबैको आवश्‍यकताबारे राम्ररी थाह भएकोले हामीले “पुकार्नुअघि नै” उहाँले हाम्रो “इच्छा पूरा गरिदिनुहुन्छ।”​—यसै. ६५:२०-२४; भज. १४५:१६.

१३. यसैया ६५:२५ मा मानिसहरूले जीवनमा गर्ने परिवर्तनबारे के बताइएको छ?

१३ शान्त र सुरक्षित। जनावरको जस्तो हिंस्रक स्वभाव भएका थुप्रैले पवित्र शक्‍तिको मदत पाएर जीवनमा ठूलठूला परिवर्तनहरू गरेका छन्‌। (यसैया ६५:२५ पढ्‌नुहोस्‌।) तिनीहरूले पहिलेको खराब आनीबानीलाई हटाउन कडा मेहनत गरेका छन्‌। (रोमी १२:२; एफि. ४:२२-२४) हुनत परमेश्‍वरका जनहरू पनि त्रुटिपूर्ण नै भएकोले गल्तीहरू गर्छन्‌। तर यहोवाले “हरकिसिमका मानिसहरूलाई” प्रेम र शान्तिको अटुट बन्धनमा बाँध्नुभएको छ। (ति. २:११) यो साँच्चै चमत्कार हो, जुन सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मात्र गर्न सक्नुहुन्छ!

१४. यसैया ६५:२५ एक भाइको जीवनमा कसरी सत्य साबित भयो?

१४ आफ्नो जीवनमा आमूल परिवर्तन गरेका एक जवान भाइको अनुभव विचार गरौँ। बीस वर्षको हुँदासम्म तिनी थुप्रै चोटि जेलमा परिसकेका थिए। तिनी अनैतिक र हिंस्रक जीवनशैली बिताउँथे। तिनी गाडी चोरेको, डकैती गरेको र अन्य जघन्य अपराध गरेकोले जेलमा परेका थिए। तिनी जोसित पनि झगडा गर्न सुरिहाल्थे। तर बाइबलको सत्य सुनेपछि र यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन थालेपछि तिनले जीवन जिउने कारण भेट्टाए। त्यो हो, आध्यात्मिक प्रमोदवनमा रहेर यहोवाको उपासना गर्नु। तिनले बप्तिस्मा गरिसकेका छन्‌ र तिनी अक्सर यसैया ६५:२५ आफूमा कसरी लागू भयो भनेर सोच्ने गर्छन्‌। तिनी सिंहजस्तो हिंस्रक व्यक्‍तिबाट पाठोजस्तो शान्त व्यक्‍ति बने।

१५. हामी अरूलाई आध्यात्मिक प्रमोदवनको भाग बन्‍न किन मदत गर्न चाहन्छौँ र हामी कसरी त्यसो गर्न सक्छौँ?

१५ यसैया ६५:१३ को सुरुमा यसो भनिएको छ: “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ।” पद २५ को अन्तमा यसो भनिएको छ: “यहोवा भन्‍नुहुन्छ।” यी अभिव्यक्‍तिहरूबाट ती पदहरूमा बताइएका कुराहरू यहोवाले नै भन्‍नुभएको हो भनेर बुझ्न सक्छौँ। अनि हामीलाई थाह छ, उहाँको वचन पूरा भएरै छोड्‌छ। (यसै. ५५:१०, ११) उहाँले प्रतिज्ञा गर्नुभएको आध्यात्मिक प्रमोदवन अहिले साँच्चै अस्तित्वमा छ। यहोवाका जनहरूमाझको भाइचारा निकै विशेष छ। यस हिंस्रक संसारमा पनि हामी उहाँका जनहरूमाझ साँचो शान्ति र सुरक्षा पाउन सक्छौँ। (भज. ७२:७) यी कारणहरूले गर्दा हामी सकेसम्म धेरै मानिसलाई हाम्रो परिवारको भाग बन्‍न मदत गर्न चाहन्छौँ। यसो गर्न हामीले चेला बनाउने काममा ध्यान केन्द्रित गर्नुपर्छ।​—मत्ति २८:१९, २०.

आध्यात्मिक प्रमोदवनलाई कसरी आकर्षक बनाउन सक्छौँ?

१६. मानिसहरू कसरी आध्यात्मिक प्रमोदवनतर्फ खिचिन्छन्‌?

१६ आध्यात्मिक प्रमोदवनलाई आकर्षक बनाउन हामी प्रत्येकको महत्त्वपूर्ण भूमिका छ। हामी यहोवाको अनुकरण गरेर त्यसो गर्न सक्छौँ। उहाँ मानिसहरूलाई आफ्नो सङ्‌गठनको भाग बन्‍न जबरजस्ती गर्नुहुन्‍न। बरु मायालुपूर्वक मानिसहरूलाई आफूतर्फ ‘खिच्नुहुन्छ।’ (युह. ६:४४; यर्मि. ३१:३) यहोवाका मनमोहक गुणहरूबारे थाह पाएपछि असल हृदय भएका मानिसहरू उहाँतर्फ आफसेआफ खिचिन्छन्‌। हाम्रो असल आचरण देखेर मानिसहरू कसरी आध्यात्मिक प्रमोदवनतर्फ खिचिन सक्छन्‌?

१७. हामी कसरी अरूलाई आध्यात्मिक प्रमोदवनतर्फ आकर्षित गर्न सक्छौँ?

१७ अरूलाई आध्यात्मिक प्रमोदवनतर्फ आकर्षित गर्ने एउटा तरिका हाम्रा भाइबहिनीसित मायालु व्यवहार गर्नु हो। विश्‍वास नगर्ने केही मानिस कोरिन्थको सभामा उपस्थित भएका हुन सक्छन्‌। अनि तिनीहरूले यसो भनेका हुन सक्छन्‌: “परमेश्‍वर साँच्चै तपाईँहरूमाझ हुनुहुँदो रहेछ।” (१ कोरि. १४:२४, २५; जक. ८:२३) हाम्रा सभाहरूमा उपस्थित हुने नयाँ व्यक्‍तिहरू पनि त्यस्तै निष्कर्षमा पुगेको हामी चाहन्छौँ। त्यसैले हामीले “एकअर्कासँग शान्तिसित बस” भन्‍ने सल्लाह पालन गरिरहनुपर्छ।​—१ थिस्स. ५:१३.

१८. मानिसहरू हाम्रो सङ्‌गठनतर्फ कसरी आकर्षित हुन सक्छन्‌?

१८ हामीले भाइबहिनीप्रति सधैँ यहोवाको जस्तै दृष्टिकोण राख्नुपर्छ। त्यसो गर्न हामीले तिनीहरूमा भएका असल गुणहरूमा ध्यान दिनुपर्छ, कमीकमजोरीमा होइन, जुन आखिरमा हराउनेछ। हामी ‘एकअर्काप्रति दयालु भयौँ अनि कोमलताले भरिएको करुणा देखायौँ र एकअर्कालाई खुला मनले क्षमा गऱ्‍यौँ’ भने जस्तोसुकै मतभेदलाई सुल्झाउन सक्छौँ। (एफि. ४:३२) अरूले आफूसित यस्तै मायालु व्यवहार गरेको चाहने मानिसहरू आध्यात्मिक प्रमोदवनतर्फ खिचिन्छन्‌। b

आध्यात्मिक प्रमोदवनमा रहिरहनुहोस्‌

१९. (क) “ फर्केर आएकाहरू” भन्‍ने पेटीबाट केही अनुभव बताउनुहोस्‌। (ख) हामी के गर्न कटिबद्ध हुनुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१९ हामी आध्यात्मिक प्रमोदवन पाएकोमा साँच्चै कृतज्ञ छौँ! यसको सुन्दरता पहिलाभन्दा बढ्‌दै गइरहेको छ र यसमा यहोवाको उपासना गर्नेहरू दिनप्रतिदिन थपिँदै गइरहेका छन्‌। यहोवाले हाम्रो लागि बनाउनुभएको यस प्रमोदवनप्रति हामी सधैँ कृतज्ञ भइरहौँ! सन्तुष्ट, शान्त र सुरक्षित हुन अनि स्फूर्ति पाउन चाहनेहरू यस आध्यात्मिक प्रमोदवनको भाग बन्‍नुपर्छ र यसलाई कहिल्यै छोड्‌नु हुँदैन। तर होसियार हुनुहोस्‌ किनकि सैतान हामीलाई यस आध्यात्मिक प्रमोदवनबाट टाढा लैजान लागिपरेको छ। (१ पत्रु. ५:८; प्रका. १२:९) हामी त्यसको पासोमा नपरौँ। यस आध्यात्मिक प्रमोदवनको सुन्दरता, स्वच्छता र शान्तिलाई जोगाउन आफ्नो तर्फबाट हरकोसिस गरिरहौँ!

आध्यात्मिक प्रमोदवनमा रहिरहनेहरूले नयाँ संसारबाट पनि आनन्द उठाउनेछन्‌ (अनुच्छेद १९ हेर्नुहोस्‌)


तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • आध्यात्मिक प्रमोदवन भनेको के हो?

  • आध्यात्मिक प्रमोदवनमा हामीले कस्ता आशिष्‌हरू पाइरहेका छौँ?

  • हामी अरूलाई आध्यात्मिक प्रमोदवनतर्फ कसरी आकर्षित गर्न सक्छौँ?

गीत १४४ इनाममा दृष्टि राखौँ!

a थप व्याख्या: “आध्यात्मिक प्रमोदवन”-ले सुरक्षित वातावरणलाई बुझाउँछ, जहाँ हामी यहोवाको उपासना गर्छौँ। आध्यात्मिक प्रमोदवनमा हामी यहोवा र सङ्‌गी भाइबहिनीसितको शान्तिमय सम्बन्धबाट आनन्द उठाउन सक्छौँ।

b jw.org मा उहाँहरू अहिले कहाँ हुनुहुन्छ? अलेना जित्निकोभा: मेरो सपना पूरा भयो भन्‍ने भिडियो हेर्नुहोस्‌ र आध्यात्मिक प्रमोदवनमा रहँदा अलेना बहिनीले कस्ता आशिष्‌हरू पाइन्‌, याद गर्नुहोस्‌।

c तस्बिरको व्याख्या: सभामा अरू भाइबहिनी एकअर्कासित सङ्‌गत गरेर आनन्द उठाइरहेका छन्‌ भने एक भाइ अरूसित कुरा नगरी एक्लै बसिरहेका छन्‌।