सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

मैले आफ्नो कमीकमजोरीसित सङ्‌घर्ष गर्न परमेश्‍वरबाट शक्‍ति पाएको छु

मैले आफ्नो कमीकमजोरीसित सङ्‌घर्ष गर्न परमेश्‍वरबाट शक्‍ति पाएको छु

सन्‌ १९८५ मा म र मेरी श्रीमती कोलम्बिया पुग्दा पूरै देशमा हिंसा मच्चिरहेको थियो। त्यहाँको सरकार सहरहरूमा लागूऔषध कारोबार गर्ने गिरोहहरू र पहाडहरूतिर छापामार लडाकुहरूसित लड्‌दै थियो। हामीले पछि सेवा गरेको सहर मेड्‌लिनमा हतियारधारी गुण्डाहरूको बिगबिगी थियो। तिनीहरू लागूऔषध बिक्री गर्थे, जबरजस्ती पैसा असुल्थे र ज्यान मार्ने उद्योग चलाउँथे। तिनीहरूमध्ये कोही पनि लामो समयसम्म बाँचेनन्‌। हामीलाई त अर्कै संसारमा पुगेको जस्तो लाग्यो।

विश्‍वको सबैभन्दा उत्तरतिर पर्ने एउटा देश फिनल्याण्डबाट हामी कसरी दक्षिण अमेरिका पुग्यौँ? मैले जीवनमा कस्ता पाठहरू सिकेको छु?

फिनल्याण्डमा मेरो बाल्यकाल

म १९५५ मा जन्मिएँ। तीन दाजुभाइमध्ये मचाहिँ कान्छो हुँ। म फिनल्याण्डको दक्षिणी तटमा हुर्किएँ। त्यस ठाउँलाई अहिले भान्टा सहर भनिन्छ।

म जन्मिनुभन्दा केही वर्षअघि आमाले बप्तिस्मा गर्नुभयो। तर मेरो बुबा विरोधी हुनुहुन्थ्यो र आमालाई हामी छोराहरूसित अध्ययन गर्न दिनुहुन्‍नथ्यो न त सभामा लैजान नै दिनुहुन्थ्यो। त्यसैले बुबा घरमा नहुँदा आमाले हामीलाई बाइबलका कुराहरू सिकाउनुहुन्थ्यो।

म सात वर्षको हुँदा यहोवाको पक्षमा खडा भएँ

म सानैबेलादेखि यहोवाको पक्षमा खडा भएँ। म सात वर्षको हुँदाको कुरा हो, स्कुलमा मैले रगतले बनेको प्यानकेक (भरिलाटिजा) खान नमानेकोले मिस मसित एकदमै रिसाउनुभयो। उहाँले मलाई जबरजस्ती त्यो प्यानकेक खुवाउन खोज्नुभयो। तर मैले आफ्नो मुख ट्याप्प बन्द गरेको थिएँ। उहाँले एउटा हातले मेरो मुख खोल्न खोज्नुभयो अनि अर्को हातले प्यानकेक कोच्न खोज्नुभयो। तर मैले उहाँलाई बेसरी धकेलेँ र उम्किएँ।

म १२ वर्षको छँदा बुबा बित्नुभयो। त्यसपछि म सभाहरूमा जान थालेँ। मण्डलीका दाजुभाइले मलाई चासो देखाउनुभएकोले मैले आध्यात्मिक उन्‍नति गर्न प्रोत्साहन पाएँ। मैले हरेक दिन बाइबल पढ्‌न अनि लगनशील भई प्रकाशनहरू अध्ययन गर्न थालेँ। यसरी पढ्‌ने अनि अध्ययन गर्ने बानीले गर्दा १४ वर्षको उमेरमै बप्तिस्मा (अगस्त ८, १९६९) गर्न सकेँ।

स्कुलको पढाइ सकिनेबित्तिकै मैले नियमित अग्रगामी सेवा सुरु गरेँ। त्यसको केही हप्तापछि नै म आवश्‍यकता धेरै भएको ठाउँ पिएलाभेसि सहरमा बसाइँ सरेँ। यो सहर फिनल्याण्डको मध्यभागतिर पर्छ।

पिएलाभेसिमा मैले सिर्कालाई भेटेँ। उनको नम्रता अनि आध्यात्मिक परिपक्वता देखेर म उनीप्रति आकर्षित भएँ। उनी मानसम्मान वा भौतिक सुखसुविधा खोज्ने खालकी थिइनन्‌। हामी दुवै यहोवाको सेवामा आफ्नो तर्फबाट सक्दो गर्न चाहन्थ्यौँ। हामी जुनसुकै असाइनमेन्ट स्विकार्न तयार थियौँ। हामीले मार्च २३, १९७४ मा विवाह गऱ्‍यौँ। हनिमुन जानुको साटो हामी अझ धेरै आवश्‍यकता भएको ठाउँ कार्तुला सऱ्‍यौँ।

फिनल्याण्डको कार्तुलामा हामी बसेको घर

यहोवाले हाम्रो ख्याल राख्नुभयो

माइलो दाइले दिनुभएको गाडी

यहोवाको राज्यलाई पहिलो स्थान दिँदा उहाँले हाम्रो भौतिक आवश्‍यकताको ख्याल राख्नुभयो। (मत्ति ६:३३) यो कुरा हामीले वैवाहिक जीवनको सुरुदेखि नै अनुभव गर्न सक्यौँ। जस्तै: कार्तुलामा छँदा हामीसित गाडी थिएन। हामी साइकलमै आउजाउ गर्थ्यौँ। तर जाडोयाममा त्यहाँको तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झर्थ्यो। मण्डलीको ठूलो इलाका ढाक्न हामीलाई गाडी चाहिन्थ्यो। तर हामीसित गाडी किन्‍ने पैसा थिएन।

एकदिन माइलो दाइ खबरै नदिई अचानक हामीलाई भेट्‌न आउनुभयो। उहाँले हामीलाई आफ्नो गाडी दिनुभयो। उहाँले बिमाको पैसा पनि पहिल्यै तिरिसक्नुभएको थियो। हामीले तेल मात्र किने पुग्थ्यो। हामीले चाहिएकै कुरा पायौँ।

यहोवाले हाम्रो भौतिक आवश्‍यकता पूरा गर्दै हुनुहुन्थ्यो। हामीले केवल उहाँको राज्यलाई पहिलो स्थान दिनुपर्थ्यो।

गिलियड स्कुल

हाम्रो अग्रगामी सेवा स्कुल, १९७८

सन्‌ १९७८ मा अग्रगामी सेवा स्कुलमा छँदा हामीलाई एक जना प्रशिक्षक राइमो क्वोकानेनले a गिलियड स्कुलको लागि आवेदन फाराम भर्न प्रोत्साहन दिनुभयो। त्यसैले हामीले अङ्‌ग्रेजी भाषा सिक्न थाल्यौँ। तर आवेदन फाराम भर्नुअघि नै १९८० मा हामीलाई फिनल्याण्ड शाखामा सेवा गर्न बोलाइयो। त्यतिबेला बेथेल सेवकहरूले गिलियडको आवेदन दिन पाउँदैनथे। हामी यहोवाले चाहनुभएको ठाउँमा सेवा गर्न चाहन्थ्यौँ, आफूले चाहेको ठाउँमा होइन। किनकि हाम्रो लागि सबैभन्दा उत्तम सेवा कुन हो भनेर यहोवालाई राम्ररी थाह छ। त्यसैले हामीले बेथेलको निम्तो स्विकाऱ्‍यौँ। तर मौका मिल्यो भने गिलियड जान पाइन्छ कि भनेर हामीले अङ्‌ग्रेजी भाषा भने सिकिरह्‍यौँ।

केही वर्षपछि परिचालक निकायले बेथेल सेवकहरूलाई पनि गिलियडको आवेदन फाराम भर्ने अनुमति दियो। हामीले तुरुन्तै आवेदन फाराम भऱ्‍यौँ। त्यसको मतलब हामी बेथेलमा खुसी थिएनौँ भन्‍ने होइन। बरु हामी आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न तयार छौँ भनेर देखाउन चाहन्थ्यौँ। हामीले गिलियडको निम्तो पायौँ र सेप्टेम्बर १९८५ मा भएको ७९ औँ कक्षाबाट स्नातक गऱ्‍यौँ। त्यसपछि हामीलाई कोलम्बिया खटाइयो।

हाम्रो पहिलो मिसनरी असाइनमेन्ट

हामीलाई सुरुमा कोलम्बियाको शाखा कार्यालयमा खटाइयो। मैले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्दो कोसिस गरेँ। तर एक वर्षपछि मैले हाम्रो असाइनमेन्ट परिवर्तन गरिदिन आग्रह गरेँ। यस्तो आग्रह मैले पहिला कहिल्यै गरेको थिइनँ र पछि पनि कहिल्यै गरिनँ। त्यसपछि हामीलाई विला राज्यको नेभा सहरमा मिसनरीको रूपमा खटाइयो।

मलाई साक्षीकार्य एकदमै मन पर्छ। विवाह गर्नुअघि फिनल्याण्डमा छँदा म कहिलेकाहीँ बिहान सबेरैदेखि साँझसम्मै साक्षीकार्यमा हुन्थेँ। अनि विवाहपछि पनि सिर्का र म पूरै दिन साक्षीकार्यमा हुन्थ्यौँ। टाढा-टाढाको इलाकामा जाँदा भने हामी कहिलेकाहीँ गाडीमै सुत्थ्यौँ। यसले गर्दा यात्रा गर्ने समय जोगिन्थ्यो र बिहान सबेरै साक्षीकार्य सुरु गर्न सक्थ्यौँ।

क्षेत्रमा सेवा गर्न थाल्दा हामीले साक्षीकार्यमा पहिलाको जस्तै जोस आएको महसुस गऱ्‍यौँ। हाम्रो मण्डलीमा वृद्धि हुँदै गयो। कोलम्बियाका भाइबहिनीहरू स्वभावैले अरूको आदर गर्ने, मायालु अनि कृतज्ञता देखाउने खालका थिए।

प्रार्थनाको शक्‍ति

नेभावरपरका सहरहरूमा एक जना पनि साक्षी थिएनन्‌। त्यहाँ सुसमाचार कसरी सुनाउने भनेर मलाई एकदमै चिन्ता लाग्थ्यो। तर त्यहाँ छापामार युद्ध भइरहेकोले स्थानीयबाहेक अरू मानिसहरूको लागि त्यो ठाउँ सुरक्षित थिएन। त्यसैले कोही स्थानीय नै साक्षी होस्‌ भनेर मैले प्रार्थना गरेँ। अनि त्यस व्यक्‍तिले नेभामै बसेर सत्य सिक्नुपर्छ भन्‍ने मलाई लाग्थ्यो। अनि बप्तिस्मा गरेपछि तिनी आध्यात्मिक रूपमा परिपक्व होऊन्‌ र साक्षी दिनको लागि आफ्नै ठाउँमा फर्कून्‌ भनेर पनि मैले प्रार्थना गरेँ। तर यहोवासित मैले सोचेको भन्दा अझै राम्रो योजना थियो।

त्यसको केही समयपछि नै मैले एक जना जवान भाइ फर्नान्डो गोन्जालेजलाई भेटेँ र तिनलाई अध्ययन गराउन थालेँ। तिनी एल्हेसिरास भन्‍ने ठाउँमा बस्थे। त्यहाँ कोही पनि साक्षी थिएन। फर्नान्डो हरेक हप्ता ५० किलोमिटरभन्दा लामो यात्रा गरेर नेभामा काम गर्न आउँथे। तिनी अध्ययनको लागि सधैँ राम्ररी तयारी गर्थे अनि तिनी सभाहरूमा पनि आउन थालिहाले। अध्ययन गरेको पहिलो हप्तादेखि नै फर्नान्डोले आफ्नो टोलछिमेकका मानिसहरूलाई भेला पारेर बाइबल अध्ययनबाट बुझेका कुराहरू सिकाउन थाले।

फर्नान्डोसँग, १९९३

फर्नान्डोले अध्ययन गर्न थालेको छ महिनापछि नै जनवरी १९९० मा बप्तिस्मा गरे। त्यसपछि तिनले नियमित अग्रगामी सेवा सुरु गरे। एल्हेसिरासमा एक जना स्थानीय व्यक्‍ति साक्षी भएपछि शाखा कार्यालयले त्यहाँ विशेष अग्रगामीहरूलाई खटायो। किनकि अब भने त्यो ठाउँ सुरक्षित छ भन्‍ने शाखा कार्यालयलाई लाग्यो। त्यहाँ फेब्रुअरी १९९२ मा मण्डली स्थापना भयो।

के फर्नान्डोले आफ्नो इलाकाका मानिसहरूलाई मात्रै साक्षी दिए? अहँ। विवाह गरेपछि तिनी आफ्नी श्रीमतीसँगै कोही पनि साक्षी नभएको सान भिसेन्टे डेल काग्वान भन्‍ने ठाउँमा बसाइँ सरे। त्यहाँ तिनीहरूले एउटा मण्डली स्थापना गर्न मदत गरे। सन्‌ २००२ मा फर्नान्डो क्षेत्रीय निरीक्षक नियुक्‍त भए। तिनी र तिनकी श्रीमती ओल्गा आजको दिनसम्मै परिभ्रमणकार्य गर्दै छन्‌।

यस अनुभवबाट मैले असाइनमेन्टसित सम्बन्धित विषयमा तोकेरै प्रार्थना गर्नुको महत्त्व बुझेँ। हाम्रो लागि जुन कुरा असम्भव छ, त्यो यहोवाको लागि सम्भव छ। हुन पनि फसलका मालिक उहाँ हुनुहुन्छ, हामी होइनौँ।​—मत्ति ९:३८.

यहोवा हामीमा ‘इच्छा पैदा गर्नुहुन्छ र शक्‍ति पनि दिनुहुन्छ’

हामीलाई १९९० मा परिभ्रमणकार्यमा खटाइयो। हामीलाई खटाइएको पहिलो क्षेत्र कोलम्बियाको राजधानी बोगोटा थियो। त्यो असाइनमेन्ट पूरा गर्न नसक्ने हो कि भनेर हामीलाई चिन्ता लाग्यो। किनभने हामीसित कुनै विशेष क्षमता थिएन। अनि हामीलाई एकदमै व्यस्त सहरमा बस्ने बानी पनि थिएन। तर यहोवाले फिलिप्पी २:१३ मा बताइएको प्रतिज्ञा पूरा गर्नुभयो: “परमेश्‍वरले नै आफ्नो इच्छाबमोजिम तिमीहरूलाई बलियो बनाउनुहुन्छ अनि तिमीहरूमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहुन्छ।”

पछि हामीलाई मेड्‌लिनमा खटाइयो। मैले यस सहरबारे सुरुमा पनि बताएको थिएँ। त्यहाँका मानिसहरूलाई सडकमा हुने हिंसा सामान्य लाग्थ्यो। एकचोटिको कुरा हो, मैले अध्ययन गराइरहेको घरबाहिर गोली हानाहान हुन थाल्यो। म भुइँमा घोप्टो पर्नै लाग्दा मेरो विद्यार्थी भने केही नभएजस्तो गरी अनुच्छेद पढिरहे। अनि पढिसकेपछि तिनी ‘एकछिन है’ भनेर बाहिर गए। एकछिनपछि तिनी आफ्नो दुई जना सानो छोरालाई लिएर भित्र आए अनि यसो भने: “माफ गर्नुस्‌ है, के गर्ने बच्चाहरूलाई भित्र ल्याउनै पऱ्‍यो।”

हामी थुप्रै चोटि ज्यानै जाने अवस्थामा पऱ्‍यौँ। एकचोटि हामी घरघरको साक्षीकार्यमा हुँदा मेरी श्रीमती दौडेर मकहाँ आइन्‌। डरले गर्दा तिनको अनुहारको रङ्‌गै उडेको थियो। तिनलाई कसैले गोली हानेको रहेछ। मेरो त आङै सिरिङ्‌ग भयो। तर पछि थाह भयो, त्यस मान्छेले सिर्कालाई होइन, तिनको छेउबाट हिँडेको मान्छेलाई पो गोली हानेको रहेछ।

समयको अन्तरालमा हामीले सडकमा हुने हिंसाबाट जोगिन के गर्नुपर्छ भनेर सिक्यौँ। स्थानीय साक्षीहरूले यी तथा अझै गाह्रा परिस्थितिहरूको डटेर सामना गरेको देखेर हामीले निकै प्रोत्साहन पायौँ। यहोवाले उहाँहरूलाई मदत गर्दै हुनुहुन्छ भने हामीलाई पनि मदत गर्नुहुन्छ भनेर हामी ढुक्क भयौँ। हामीले सधैँ स्थानीय एल्डरहरूको सल्लाह पालन गऱ्‍यौँ, सावधानी अपनायौँ अनि बाँकी कुरा यहोवाको हातमा छोडिदियौँ।

तर कुनै-कुनै बेला अवस्था हामीले सोचेको जस्तो खतरनाक हुँदैनथ्यो। एकचोटि म एउटा घरमा हुँदा दुई जना महिला बाझाबाझ गरिरहेको आवाज आयो। मलाई त्यस्तो झगडा हेर्नमा कुनै चासो थिएन तर घरधनीले मलाई बाहिर बोलाए। पछि कुरा के भएको रहेछ भने दुइटा सुगाले पो छिमेकीहरूको नक्कल गरेर बोलेका रहेछन्‌।

थप सुअवसर र चुनौतीहरू

सन्‌ १९९७ मा मलाई मिनिस्टेरियल ट्रेनिङ स्कुलको b प्रशिक्षक नियुक्‍त गरियो। म ईश्‍वरतान्त्रिक स्कुलहरूबाट पाएको तालिमको सधैँ मोल गर्थेँ। तर प्रशिक्षकको रूपमा सेवा गर्ने ठूलो सुअवसर पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ।

पछि मैले जिल्ला निरीक्षकको रूपमा सेवा गरेँ। त्यो प्रबन्ध खारेज भएपछि म फेरि परिभ्रमणकार्यमा फर्केँ। मैले प्रशिक्षक र परिभ्रमण निरीक्षकको रूपमा सेवा गरेको ३० वर्षभन्दा धेरै भइसक्यो। यी असाइनमेन्टहरूमा लाग्दा मैले थुप्रै आशिष्‌ पाएको छु। तर सधैँ सजिलो भने थिएन। यसबारे केही बताउँछु।

म कडा स्वभावको छु। हुनत यसले गर्दा मैले गाह्रा परिस्थितिहरूको सामना गर्न सकेको छु। तर मण्डलीका मामिलाहरू सम्हाल्दा कहिलेकाहीँ मैले चाहिनेभन्दा धेरै जोस देखाएको छु। कुनै बेला मैले भाइबहिनीलाई मायालु अनि व्यावहारिक हुन कडा सल्लाह दिएको छु। तर भन्‍ने हो भने त्यतिबेला म आफैमा ती गुणहरूको कमी थियो।​—रोमी ७:२१-२३.

आफ्ना कमजोरीहरूले गर्दा म कहिलेकाहीँ असाध्यै निराश भएको छु। (रोमी ७:२४) एकचोटि त मैले यहोवालाई मिसनरी सेवा छोडेर फिनल्याण्ड फर्कनु नै मेरो लागि सबैभन्दा राम्रो हो भनेर प्रार्थना गरेँ। त्यो साँझ म सभा गएँ। त्यहाँ पाएको प्रोत्साहनले गर्दा म आफ्नो असाइनमेन्टमा लागिरहनुपर्छ र मैले आफ्नो कमीकमजोरी हटाउन कोसिस गरिरहनुपर्छ भनेर बुझेँ। यहोवाले मेरो प्रार्थनाको स्पष्ट जवाफ दिनुभएको कुरा म आजसम्म पनि सम्झन्छु। मलाई आफ्नो कमीकमजोरी हटाउन मायालु तरिकामा मदत दिनुभएकोमा म उहाँप्रति निकै कृतज्ञ छु।

मलाई भविष्यको कुनै चिन्ता छैन

सिर्का र मैले जीवनको धेरैजसो समय पूर्ण-समय सेवामा बितायौँ। यस्तो सुअवसर दिनुभएकोमा हामी यहोवाप्रति ऋणी छौँ। अनि यहोवाले मलाई यस्तो मायालु र वफादार पत्नी दिनुभएकोमा उहाँप्रति निकै आभारी छु।

म ७० वर्ष पुग्नै लागेको छु। अब मैले छिट्टै प्रशिक्षक र परिभ्रमण निरीक्षकको सेवा छोड्‌नुपर्नेछ। तर म अलिकता पनि निराश भएको छैनँ। किन? किनकि मर्यादामा रहेर यहोवाको सेवा गर्दा अनि प्रेम र कृतज्ञताले ओतप्रोत भएर उहाँको प्रशंसा गर्दा उहाँको महिमा हुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु। (मिका ६:८; मर्कु. १२:३२-३४) यहोवाको महिमा गर्न हामीले कुनै विशेष सुअवसर पाएको हुनुपर्छ भन्‍ने छैन।

मैले थुप्रै असाइनमेन्ट पूरा गरेको छु। अहिले फर्केर हेर्दा मैले ती असाइनमेन्टहरू अरूभन्दा योग्य भएकोले वा मसित कुनै विशेष क्षमता भएकोले पाएको होइनँ भनेर बुझेको छु। बरु ती असाइनमेन्टहरू यहोवाको असीम अनुग्रहले गर्दा पाएको हुँ। ममा कमीकमजोरी भए तापनि उहाँले मलाई यस्ता सुअवसरहरू दिनुभयो। यहोवाको मदतले गर्दा मात्रै मैले ती असाइनमेन्टहरू पूरा गर्न सकेको हुँ। मैले आफ्नो कमीकमजोरीसित सङ्‌घर्ष गर्न परमेश्‍वरबाट शक्‍ति पाएको छु।​—२ कोरि. १२:९.

a “यहोवाको सेवा गर्न कटिबद्ध” भन्‍ने विषयको राइमो क्वोकानेनको जीवनी अप्रिल १, २००६ अङ्‌कको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) पढ्‌न सक्नुहुन्छ।

b अहिले यस स्कुलको सट्टामा राज्य प्रचारकहरूका लागि स्कुल सञ्चालन गरिन्छ।