सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १५

गीत १२४ सधैँ वफादार रहौँ!

यहोवाको सङ्‌गठनमाथिको भरोसा बढाउनुहोस्‌

यहोवाको सङ्‌गठनमाथिको भरोसा बढाउनुहोस्‌

“जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌ अनि जसले तिमीहरूलाई परमेश्‍वरको वचन सुनाएका छन्‌, तिनीहरूलाई सम्झ।”हिब्रू १३:७.

सिक्न सकिने कुरा

तपाईँ कसरी यहोवाको सङ्‌गठनमाथि आफ्नो भरोसा बढाउन र कायम राख्न सक्नुहुन्छ?

१. प्रथम शताब्दीमा यहोवाका सेवकहरूलाई कसरी व्यवस्थित पारिएको थियो?

 यहोवाले आफ्ना सेवकहरूलाई कुनै काम दिनुहुँदा तिनीहरूले त्यो काम व्यवस्थित भएर गरेको आशा गर्नुहुन्छ। (१ कोरि. १४:३३) उदाहरणको लागि, उहाँ राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिएको चाहनुहुन्छ। (मत्ति २४:१४) त्यस काममा नेतृत्व लिने जिम्मेवारी उहाँले येसुलाई दिनुभएको छ। येसुले यो काम व्यवस्थित तरिकामा भइरहेको छ कि छैन भनेर निरीक्षण गर्नुहुन्छ। प्रथम शताब्दीमा विभिन्‍न ठाउँमा स्थापना भएका मण्डलीहरूलाई डोऱ्‍याउन र नेतृत्व लिन एल्डरहरू नियुक्‍त गरिए। (प्रेषि. १४:२३) यरुसलेममा प्रेषितहरू र एल्डरहरू मिलेर बनेको एउटा निकाय थियो र सबै मण्डली त्यस निकायले गरेका निर्णयहरूअनुसार चल्थे। (प्रेषि. १५:२; १६:४) यस्तो आज्ञाकारिताले गर्दा “मण्डलीमा हुनेहरूको विश्‍वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्‌ख्या पनि दिनप्रतिदिन बढ्‌दै गयो।”​—प्रेषि. १६:५.

२. इस्वी संवत्‌ १९१९ देखि यहोवाले कसरी आफ्ना सेवकहरूलाई डोऱ्‍याइ र आध्यात्मिक खानेकुरा दिँदै हुनुहुन्छ?

यहोवा अहिले पनि आफ्ना सेवकहरूलाई व्यवस्थित पार्दै हुनुहुन्छ। इस्वी संवत्‌ १९१९ देखि येसुले साक्षीकार्य व्यवस्थित पार्न र आफ्ना अनुयायीहरूको लागि आध्यात्मिक खानेकुराको प्रबन्ध मिलाउन अभिषिक्‍त पुरुषहरूको एउटा सानो समूहलाई चलाउँदै आउनुभएको छ। a (लुका १२:४२) यहोवाले त्यस समूहको काममा आशिष्‌ दिँदै हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट छ।​—यसै. ६०:२२; ६५:१३, १४.

३-४. (क) व्यवस्थित हुँदा हामीलाई कस्तो फाइदा भएको छ? उदाहरण दिनुहोस्‌। (ख) हामी यस लेखमा के छलफल गर्नेछौँ?

हामी व्यवस्थित नभएको भए येसुले हामीलाई सुम्पनुभएको जिम्मेवारी पूरा गर्न सक्दैन थियौँ। (मत्ति २८:१९, २०) उदाहरणको लागि, मण्डलीको इलाका व्यवस्थित तरिकामा नछुट्ट्याइएको भए के हुन्थ्यो? कुनै-कुनै इलाकामा फरक-फरक प्रकाशकहरू साक्षी दिन पटक-पटक जान्थे होलान्‌ तर अरू कतिपय इलाकाका मानिसहरूले भने सुसमाचार सुन्‍ने मौका नै पाउँदैनथे होलान्‌। हाम्रो सङ्‌गठन व्यवस्थित भएकोले अरू के-कस्ता फाइदा भएका छन्‌?

येसुले प्रथम शताब्दीमा जस्तै आज पनि परमेश्‍वरका सेवकहरूलाई व्यवस्थित पार्दै हुनुहुन्छ। यस लेखमा उहाँले बसाल्नुभएको उदाहरणबारे र आज हाम्रो सङ्‌गठनले कसरी उहाँको उदाहरण पछ्याइरहेको छ भन्‍नेबारे विचार गर्नेछौँ। साथै हामी सङ्‌गठनमाथि कसरी भरोसा बढाउन सक्छौँ भनेर पनि छलफल गर्नेछौँ।

हाम्रो सङ्‌गठनले येसुको उदाहरण पछ्याउँछ

५. येसुको उदाहरण अनुकरण गर्ने एउटा तरिका के हो? (युहन्‍ना ८:२८)

येसुले आफ्नो बुबाबाट के बोल्ने र के गर्ने भन्‍नेबारे सिक्नुभयो। येसुको उदाहरण अनुकरण गर्दै यहोवाको सङ्‌गठनले हामीलाई नैतिक शिक्षा दिन र डोऱ्‍याउन परमेश्‍वरको वचनलाई नै आधार बनाउँछ। (युहन्‍ना ८:२८ पढ्‌नुहोस्‌; २ तिमो. ३:१६, १७) हामीलाई परमेश्‍वरको वचन पढ्‌न र सिकेको कुरा लागू गर्न बारम्बार सम्झाइन्छ। यो सल्लाह पालन गर्दा हामीलाई कस्तो फाइदा हुन्छ?

६. बाइबल अध्ययन गर्दा हामीलाई कस्तो लाभ हुन्छ?

हाम्रो सङ्‌गठनले तयार पारेका प्रकाशनहरूको मदत लिएर बाइबल अध्ययन गऱ्‍यौँ भने हामी धेरै लाभ उठाउन सक्छौँ। उदाहरणको लागि, हामीले सङ्‌गठनबाट पाउने निर्देशनलाई बाइबलको शिक्षासित तुलना गरेर हेर्न सकेका छौँ। हामीले पाइरहेको निर्देशन बाइबलमा आधारित छ भनेर बुझ्दा यहोवाको सङ्‌गठनमाथि हाम्रो भरोसा बढ्‌छ।​—रोमी १२:२.

७. येसुले कुन सन्देश सुनाउनुभयो र यहोवाको सङ्‌गठनले उहाँको उदाहरण कसरी अनुकरण गर्छ?

येसुले “परमेश्‍वरको राज्यको सुसमाचार” सुनाउनुभयो। (लुका ४:४३, ४४) उहाँले आफ्ना चेलाहरूलाई पनि राज्यको सुसमाचार सुनाउने आज्ञा दिनुभयो। (लुका ९:१, २; १०:८, ९) त्यसैले आज यहोवाको सङ्‌गठनको भाग बनेका सबैले राज्यको सुसमाचार सुनाउँछन्‌, चाहे तिनीहरू जुनसुकै ठाउँमा बसेका वा सङ्‌गठनमा जस्तोसुकै जिम्मेवारी पाएका किन नहोऊन्‌।

८. हामीले कस्तो सुअवसर पाएका छौँ?

परमेश्‍वरको राज्यको समाचार सुनाउन पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। यस्तो सुअवसर सबैले पाएका छैनन्‌। उदाहरणको लागि, येसु पृथ्वीमा हुनुहुँदा उहाँले प्रेतहरूलाई उहाँबारे साक्षी दिने अनुमति दिनुभएन। (लुका ४:४१) कुनै व्यक्‍ति यहोवाका सेवकहरूसित मिलेर साक्षीकार्यमा भाग लिन चाहन्छन्‌ भने पहिला तिनी यस कामको लागि योग्य हुनुपर्छ। हामी जुनसुकै समय वा जुनसुकै ठाउँमा साक्षी दिएर यस सुअवसरको कदर गरेको देखाउँछौँ। हाम्रो लक्ष्य पनि येसुले जस्तै मानिसहरूको हृदयमा सत्यको बिउ रोप्नु र त्यसमा पानी हाल्नु हो।​—मत्ति १३:३, २३; १ कोरि. ३:६.

९. परमेश्‍वरको सङ्‌गठनले कसरी उहाँको नाम प्रकट गरेको छ?

येसुले परमेश्‍वरको नाम प्रकट गर्नुभयो। उहाँले स्वर्गमा बस्नुहुने बुबालाई यस्तो प्रार्थना गर्नुभयो: “मैले . . . तपाईँको नाम प्रकट गरेको छु।” (युह. १७:२६) यहोवाको सङ्‌गठनले अरूलाई परमेश्‍वरको नाम प्रकट गर्न यथासक्दो गरेर येसुले बसाल्नुभएको उदाहरणको अनुकरण गर्छ। यस सङ्‌गठनले पवित्र बाइबल—नयाँ संसार अनुवाद-मार्फत यसो गरेको छ। मौलिक लेखोटअनुसार परमेश्‍वरको नाम जहाँ-जहाँ हुनुपर्ने हो, यस अनुवादमा त्यहाँ-त्यहाँ राखिएको छ। यो बाइबल पूरा वा आंशिक गरी २७० भन्दा धेरै भाषामा उपलब्ध छ। तपाईँले यस बाइबलको अतिरिक्‍त लेख क४क५-बाट बाइबलमा परमेश्‍वरको नाम पुनर्स्थापित गरिनुको कारणबारे थाह पाउनुहुनेछ। साथै अतिरिक्‍त लेख क५-मा तपाईँले ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्‍वरको नाम २३७ पटक उल्लेख गरिनुको थप कारण पाउनुहुनेछ।

१०. म्यानमारमा बस्ने महिलाको अनुभवबाट हामी के सिक्न सक्छौँ?

१० हामी पनि येसुजस्तै धेरैभन्दा धेरै मानिसलाई यहोवाको नाम प्रकट गर्न चाहन्छौँ। म्यानमारमा बस्ने ६७ वर्षीया महिला परमेश्‍वरको नाम थाह पाएपछि रोइन्‌ र अध्ययन सञ्चालकलाई यसो भनिन्‌: “परमेश्‍वरको नाम यहोवा हो भनेर मैले आज जीवनमा पहिलो पटक थाह पाएँ। . . . तपाईँले मलाई जीवनकै सबैभन्दा महत्त्वपूर्ण कुरा सिकाउनुभयो।” यस अनुभवले देखाएझैँ परमेश्‍वरको नाम थाह पाउँदा नम्र मानिसहरूको जीवनमा गहिरो प्रभाव पर्छ।

यहोवाको सङ्‌गठनमाथिको भरोसा कायम राख्नुहोस्‌

११. एल्डरहरूले परमेश्‍वरको सङ्‌गठनमाथि भरोसा राखेको कसरी देखाउन सक्छन्‌? (तस्बिर पनि हेर्नुहोस्‌।)

११ एल्डरहरूले परमेश्‍वरको सङ्‌गठनमाथि भरोसा राखेको देखाउने एउटा तरिका के हो? तिनीहरूले सङ्‌गठनबाट आएको निर्देशन ध्यान दिएर पढ्‌नुपर्छ र त्यो लागू गर्न यथासक्दो गर्नुपर्छ। उदाहरणको लागि, तिनीहरूले सभाका भागहरू कसरी प्रस्तुत गर्ने, मण्डलीमा सबैसामु गरिने प्रार्थना कस्तो हुनुपर्छ अनि ख्रिष्टका अनुयायीहरूको कसरी ख्याल राख्ने भन्‍नेबारे निर्देशन पाउँछन्‌। सङ्‌गठनको निर्देशनअनुसार चल्ने एल्डरहरूले तिनीहरूको जिम्मामा भएका भाइबहिनीलाई सुरक्षित र माया पाएको महसुस गराउँछन्‌।

एल्डरहरूले हामीलाई यहोवाको सङ्‌गठनले दिएको निर्देशनमा भरोसा गर्न मदत गर्छन्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌) b


१२. (क) हामीले किन अगुवाइ लिइरहेकाहरूलाई साथ दिनुपर्छ? (हिब्रू १३:७, १७) (ख) हामीले किन अगुवाइ लिइरहेकाहरूको सकारात्मक पक्षमा ध्यान दिनुपर्छ?

१२ हामीले एल्डरहरूमार्फत कुनै निर्देशन पाउँदा त्यो पालन गर्न इच्छुक हुनुपर्छ। यसो गरेर हामीले अगुवाइ लिइरहेका भाइहरूलाई आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न मदत गरिरहेका हुन्छौँ। बाइबलले हामीलाई तिनीहरूप्रति आज्ञाकारी हुन र तिनीहरूको अधीनमा बस्न प्रोत्साहन दिन्छ। (हिब्रू १३:७, १७ पढ्‌नुहोस्‌।) तर यी पुरुषहरू पनि त्रुटिपूर्ण भएकाले कहिलेकाहीँ हामीलाई यसो गर्न गाह्रो हुन सक्छ। यदि हामीले तिनीहरूको सकारात्मक पक्षमा भन्दा नकारात्मक पक्षमा ध्यान दियौँ भने एक अर्थमा हाम्रा शत्रुहरूलाई साथ दिइरहेका हुन्छौँ। किनभने ती शत्रुहरू परमेश्‍वरको सङ्‌गठनमाथिको हाम्रो भरोसालाई कमजोर बनाउन चाहन्छन्‌। त्यसोभए हामी कसरी उनीहरूले फैलाएको अफवाहलाई चिन्‍न र तिरस्कार गर्न सक्छौँ?

अरूको कारण सङ्‌गठनमाथिको तपाईँको भरोसा कमजोर नहोस्‌

१३. परमेश्‍वरका शत्रुहरूले उहाँको सङ्‌गठनलाई कसरी नकारात्मक तरिकामा प्रस्तुत गरेका छन्‌?

१३ परमेश्‍वरका विरोधीहरूले उहाँको सङ्‌गठनको सकारात्मक पक्षलाई नकारात्मक तरिकामा प्रस्तुत गर्न खोज्छन्‌। उदाहरणको लागि, हामीले बाइबलबाट यहोवा आफ्ना उपासकहरू शारीरिक, नैतिक र आध्यात्मिक रूपमा शुद्ध भएको चाहनुहुन्छ भनेर सिकेका छौँ। उहाँले अशुद्ध काम गर्ने तर पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाउन आज्ञा दिनुभएको छ। (१ कोरि. ५:११-१३; ६:९, १०) हामी बाइबलको यो आज्ञा पालन गर्छौँ। तर हाम्रा विरोधीहरूले यसलाई नै आधार बनाएर हामी कट्टर, आलोचक र निर्दयी भएको आरोप लगाउँछन्‌।

१४. यहोवाको सङ्‌गठनबारे झूटा अफवाहहरू फैलनुको पछाडि कसको हात छ?

१४ आक्रमणको स्रोत चिन्‍नुहोस्‌। झूटा अफवाहहरूको पछाडि दुष्ट सैतानको हात छ। त्यो “झूटको बुबा हो।” (युह. ८:४४; उत्प. ३:१-५) त्यसैले सैतानले आफ्ना समर्थकहरूलाई चलाएर यहोवाको सङ्‌गठनबारे झूटा अफवाहहरू फैलाउनु कुनै अचम्मलाग्दो कुरा होइन। प्रथम शताब्दीमा पनि यस्तै भएको थियो।

१५. धर्मगुरुहरूले येसु र उहाँका अनुयायीहरूविरुद्ध के गरे?

१५ परमेश्‍वरका छोरा येसु त्रुटिरहित हुनुहुन्थ्यो र उहाँले धेरै चमत्कार गर्नुभयो। तैपनि सैतानका समर्थकहरूले उहाँबारे झूट फैलाए। उदाहरणको लागि, येसुले प्रेतहरूलाई धपाउने शक्‍ति “प्रेतहरूको शासकबाट” पाउनुभएको हो भनेर धर्मगुरुहरूले मानिसहरूलाई बताए। (मर्कु. ३:२२) येसुको पुर्पक्षको बेला धर्मगुरुहरूले उहाँलाई ईश्‍वरनिन्दाको आरोप लगाए र उहाँलाई मार्नुपर्छ भनेर भीडलाई उक्साए। (मत्ति २७:२०) पछि येसुका अनुयायीहरूले सुसमाचार सुनाउँदा विरोधीहरूले तिनीहरूको खेदो गर्न “मानिसहरूलाई भड्‌काए।” (प्रेषि. १४:२, १९) डिसेम्बर १, १९९८ को प्रहरीधरहरा-मा प्रेषित १४:२ बारे रोचक कुरा बताइएको छ। त्यसमा यहुदी विरोधीहरूले सन्देश सुन्‍न इन्कार मात्र गरेनन्‌ बरु अन्यजातिहरूको मनमा ख्रिष्टियनहरूविरुद्ध पूर्वाग्रह जगाउने अभियान नै चलाए भनेर लेखिएको छ।

१६. झूटा अफवाहहरू सुन्यौँ भने कुन कुरा सम्झनुपर्छ?

१६ सैतानले प्रथम शताब्दीमा मात्र नभई अहिले पनि झूट फैलाइरहेको छ। त्यसले अझै पनि ‘सारा संसारलाई ठगिरहेको छ।’ (प्रका. १२:९) तपाईँले सङ्‌गठन वा अगुवाइ लिइरहेका भाइहरूबारे नकारात्मक कुराहरू सुन्‍नुभयो भने शत्रुहरूले येसु र प्रथम शताब्दीका चेलाहरूसित गरेको दुर्व्यवहार सम्झनुहोस्‌। बाइबलमा भविष्यवाणी गरिएझैँ अहिले पनि शत्रुहरूले यहोवाका सेवकहरूको खेदो र बदनाम गरिरहेका छन्‌। (मत्ति ५:११, १२) झूटा अफवाहहरूको स्रोत चिन्यौँ र त्यसलाई तिरस्कार गऱ्‍यौँ भने हामी त्यसको बहकाउमा पर्नेछैनौँ। हामी कसरी त्यसलाई तिरस्कार गर्न सक्छौँ?

१७. हामी कसरी झूटा अफवाहहरूलाई तिरस्कार गर्न सक्छौँ? (२ तिमोथि १:१३) (“ झूटा अफवाहहरू सुन्‍न पुग्यौँ भने के गर्नुपर्छ?” पेटी पनि हेर्नुहोस्‌।)

१७ झूटा अफवाहहरूलाई तिरस्कार गर्नुहोस्‌। झूटा अफवाहहरू सुन्‍न पुग्यौँ भने के गर्नुपर्छ भन्‍नेबारे प्रेषित पावलले स्पष्ट निर्देशन दिए। तिनले तिमोथिलाई ‘केही मानिसलाई झूटा कथाहरूमा ध्यान नदिन’ र ‘झूटा कथाहरू नसुन्‍न’ आज्ञा दिनू भनेर प्रोत्साहन दिए। (१ तिमो. १:३, ४; ४:७) यो उदाहरण विचार गर्नुहोस्‌: सानो बच्चाले भुईँमा खसेको कुनै कुरा टपक्क टिपेर मुखमा हाल्छ। तर वयस्क व्यक्‍तिले कहिल्यै त्यसो गर्दैन किनभने त्यसो गरेमा बिरामी भइन्छ भनेर उसलाई थाह हुन्छ। त्यसैगरि हामीलाई झूटा कथाहरू अर्थात्‌ अफवाहहरूको स्रोत थाह भएकोले हामी त्यसलाई तिरस्कार गर्छौँ अनि सत्यको “साँचो शिक्षा” मात्र सुन्छौँ।​—२ तिमोथि १:१३ पढ्‌नुहोस्‌।

१८. हामी परमेश्‍वरको सङ्‌गठनलाई भरोसा गरेको कसरी देखाउन सक्छौँ?

१८ यस लेखमा परमेश्‍वरको सङ्‌गठनले तीन वटा तरिकामा येसुको अनुकरण गरिरहेको छ भनेर छलफल गऱ्‍यौँ। तपाईँले बाइबल पढ्‌नुहुँदा यस सङ्‌गठनले अरू कुन-कुन तरिकामा येसुको उदाहरण अनुकरण गर्दै छ भनेर याद गर्नुहोस्‌। मण्डलीका भाइबहिनीलाई यस सङ्‌गठनमाथि भरोसा बढाउन मदत गर्नुहोस्‌। साथै वफादार भई यहोवाको सेवा गरेर अनि उहाँले आफ्नो इच्छा पूरा गर्न चलाइरहनुभएको यस सङ्‌गठनसित अझ नजिक भएर उहाँमाथि भरोसा गरेको देखाइरहनुहोस्‌। (भज. ३७:२८) यहोवाका मायालु र वफादार सेवकहरूसित काँधमा काँध मिलाएर सेवा गर्ने सुअवसरको कदर गरिरहौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • परमेश्‍वरका सेवकहरू येसुको अनुकरण गरेको कसरी देखाउँछन्‌?

  • हामी परमेश्‍वरको सङ्‌गठनलाई भरोसा गरेको कसरी देखाइरहन सक्छौँ?

  • झूटा अफवाहहरू सुन्‍न पुग्यौँ भने हामीले के गर्नुपर्छ?

गीत १०३ गोठालाहरू​—वरदानको रूपमा पुरुषहरू

a यहोवाको शुद्ध उपासना​—आखिरमा पुनर्स्थापित हुन्छ! किताबको पृ. १०२-१०३ मा भएको “इस्वी संवत्‌ १९१९ नै किन?” भन्‍ने पेटी हेर्नुहोस्‌।

b तस्बिरको व्याख्या: एल्डरहरू सार्वजनिक साक्षीकार्यको प्रबन्धबारे छलफल गरेपछि एक जना समूह निरीक्षकले प्रकाशकहरूलाई सुरक्षित हुनको लागि आफ्नो पछाडि भित्ता पर्नेगरि उभिनुपर्ने निर्देशनबारे बताउँछन्‌।