सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई थाह थियो?

के तपाईँलाई थाह थियो?

राजा दाउदको सेनामा किन विदेशीहरू पनि थिए?

दाउदको सेनामा अम्मोनी जिलेक, हित्ती उरियाह र मोआबी इथ्माहजस्ता गैर-इस्राएली योद्धाहरू थिए। a (१ इति. ११:३९, ४१, ४६) तिनको सेनामा ‘कराथीहरू, पेलेथीहरू अनि गाथका मानिसहरू’ पनि थिए। (२ समु. १५:१८) गाथका मानिसहरू पलिस्तियाली थिए। अनि कराथी र पेलेथीहरू पनि पलिस्तियालीहरूका नातेदार थिए जस्तो देखिन्छ।​—इज. २५:१६; यहो. १३:२, ३; १ समु. ६:१७, १८.

दाउदले किन आफ्नो सेनामा विदेशीहरूलाई भर्ती गरे? किनभने ती विदेशीहरू तिनीप्रति र अझ महत्त्वपूर्ण कुरा, यहोवाप्रति वफादार रहनेछन्‌ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। जस्तै: कराथी र पेलेथीहरूबारे एउटा बाइबल शब्दकोशमा b यसो भनिएको छ: “उनीहरू दाउदको शासनकालको सबैभन्दा गाह्रो अवस्थामा पनि दाउदप्रति वफादार रहे।” कसरी? “इस्राएलका सबै मानिस” दाउदलाई पछ्याउन छोडेर ‘झगडालु सेबाको’ पछि लाग्दा कराथी र पेलेथीहरूले दाउदको साथ छोडेनन्‌ अनि उनीहरूले सेबाको विद्रोहलाई साम्य पार्न दाउदलाई मदत गरे। (२ समु. २०:१, २, ७) राजा दाउदका छोरा अदोनियाहले सिंहासन हडप्न खोज्दाको घटना पनि विचार गरौँ। त्यतिबेला पनि कराथी र पेलेथीहरू दाउदप्रति वफादार रहे अनि उनीहरूले दाउदका उत्तराधिकारी सुलेमानलाई राजा अभिषेक गर्न मदत गरे।​—१ राजा १:२४-२७, ३८, ३९.

दाउदप्रति पूरै वफादार रहेका अर्का एक जना विदेशी गाथका इथ्थै थिए। दाउदका छोरा अब्सालोमले विद्रोह गर्दा र उनले इस्राएलका मानिसहरूलाई दाउदविरुद्ध भड्‌काउन खोज्दा इथ्थै र तिनका ६०० जना योद्धाले दाउदको साथ छोडेनन्‌। दाउदले इथ्थै विदेशी भएकोले यो तिनको लडाइँ होइन भने। तर इथ्थैले यसो भने: “जीवित परमेश्‍वर यहोवाको अनि मेरा प्रभु, मेरा महाराजको जीवनको कसम खाएर भन्छु, हजुर जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। हजुरको यो सेवक हजुरसँगै मर्न पनि तयार छ।”​—२ समु. १५:६, १८-२१.

इथ्थै राजा दाउदप्रति वफादार थिए

कराथी, पेलेथी र गाथका मानिसहरू विदेशी भए तापनि उनीहरूले यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ र दाउदलाई उहाँले नै अभिषेक गर्नुभएको हो भनेर स्विकारे। यस्ता वफादार मानिसहरूको साथ पाएकोमा दाउद कत्ति कृतज्ञ भए होलान्‌!

a व्यवस्था २३:३-६ मा अम्मोनीहरू र मोआबीहरूलाई इस्राएलको सभाको भाग हुन निषेध गरिएको थियो। यसको अर्थ ती विदेशीहरूले जन्मजात इस्राएली नागरिकहरूले पाउने हकअधिकार पाउँदैनथे जस्तो देखिन्छ। तर यहोवाको स्तर स्विकारेका अम्मोनी र मोआबीहरूलाई परमेश्‍वरका जनहरूसित सरसङ्‌गत गर्न र सँगै बसोबास गर्न भने निषेध गरिएको थिएन। धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्‌ग्रेजी) खण्ड १, पृ. ९५ हेर्नुहोस्‌।

b The New Interpreter’s Dictionary of the Bible