सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १९

गीत २२ यहोवाको राज्य अब चाँडै आओस्‌!

यहोवाले भविष्यमा गर्नुहुने न्यायबारे हामीलाई के थाह छ?

यहोवाले भविष्यमा गर्नुहुने न्यायबारे हामीलाई के थाह छ?

‘यहोवा कोही पनि नाश नहोस्‌ भन्‍ने चाहनुहुन्छ।’​—२ पत्रु. ३:९.

सिक्न सकिने कुरा

यहोवाले भविष्यमा गर्नुहुने न्याय सही हुनेछ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

१. हामी रोमाञ्चक समयमा बाँचिरहेका छौँ भनेर किन भन्‍न सक्छौँ?

 हामी एकदमै रोमाञ्चक समयमा बाँचिरहेका छौँ! हामीले प्रत्येक दिन बाइबलका भविष्यवाणीहरू पूरा भएको देखिरहेका छौँ। जस्तै: “उत्तरका राजा” र “दक्षिणका राजा” संसारमाथि प्रभुत्व जमाउन एकअर्कासित भिडिरहेका छन्‌। (दानि. ११:४०) अनि राज्यको सुसमाचार संसारभरि व्यापक रूपमा फैलिँदै छ र लाखौँ मानिसले यहोवाको सेवा गर्ने छनौट गरेका छन्‌। (यसै. ६०:२२; मत्ति २४:१४) साथै हामीले “ठीक समयमा” प्रशस्तै आध्यात्मिक भोजन पाइरहेका छौँ।​—मत्ति २४:४५-४७.

२. हामी कुन कुरामा ढुक्क हुन सक्छौँ तर हामीले कुन कुरा मानिलिनुपर्छ?

यहोवाले हामीलाई निकट भविष्यमा हुने महत्त्वपूर्ण घटनाहरूबारे स्पष्टसित बुझ्न मदत दिइरहनुभएको छ। (हितो. ४:१८; दानि. २:२८) महासङ्‌कष्ट सुरु हुने बेलासम्ममा उहाँले हामीलाई त्यस समयमा वफादार र एकतामा रहिरहन मदत गर्ने जानकारीहरू पक्कै दिइसक्नुभएको हुनेछ। तर निकट भविष्यबारे हामीलाई कुनै-कुनै कुरा थाह छैन भन्‍ने कुरा मानिलिनुपर्छ। यस लेखमा निकट भविष्यमा हुने केही घटनाबारे हाम्रो बुझाइमा किन छाँटकाँट गरियो, त्यसबारे छलफल गर्नेछौँ। त्यसपछि हामीलाई भविष्यबारे के थाह छ अनि यहोवाले कसरी न्याय गर्नुहुनेछ, त्यसबारे विचार गर्नेछौँ।

हामीलाई के थाह छैन?

३. महासङ्‌कष्ट सुरु भएपछि यहोवामा विश्‍वास नगर्ने मानिसहरूलाई के हुनेछ भनेर हामीले भन्दै आएका थियौँ र किन?

विगतमा हामीले महासङ्‌कष्ट सुरु भएपछि यहोवामा विश्‍वास नगर्ने मानिसहरूले उहाँमा विश्‍वास गर्ने र बच्ने मौका पाउनेछैनन्‌ भन्दै आएका थियौँ। त्यतिबेला हामीलाई जलप्रलयको भविष्यसूचक अर्थ थियो भन्‍ने लागेकोले त्यस्तो निष्कर्षमा पुगेका थियौँ। जस्तै: जलप्रलय सुरु हुनुभन्दा ठीकअघि यहोवाले जहाजको ढोका बन्द गर्नुभएको थियो। त्यस्तैगरि महासङ्‌कष्टको सुरुतिरै यहोवाले मौकाको ढोका बन्द गर्नुहुनेछ अनि मानिसहरूले उहाँमा विश्‍वास गर्ने र बच्ने मौका पाउनेछैनन्‌ भनेर हामीले तर्क गरेका थियौँ।​—मत्ति २४:३७-३९.

४. अहिले हामी जलप्रलयको भविष्यसूचक अर्थ छ भनेर किन भन्दैनौँ?

त्यसोभए के जलप्रलयको भविष्यसूचक अर्थ छ? छैन। किन? किनकि त्यसो भन्‍न सकिने कुनै धर्मशास्त्रीय आधार छैन। a हुनत हो, येसुले “नुहको दिन”-लाई आफ्नो उपस्थितिको दिनसित तुलना गर्नुभयो। तर उहाँले जलप्रलयको भविष्यसूचक अर्थ छ भनेर सङ्‌केत गर्नुभएन। अनि प्रत्येक व्यक्‍ति र प्रत्येक घटनाले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर पनि बताउनुभएन। साथै उहाँले जहाजको ढोका बन्द गरिनुको कुनै भविष्यसूचक अर्थ छ भनेर पनि बताउनुभएन। तर यसको अर्थ हामीले नुह र जलप्रलयको विवरणबाट कुनै पाठै सिक्न सक्दैनौँ भन्‍ने होइन।

५. (क) जलप्रलयअघि नुहले कस्तो कदम चाले? (हिब्रू ११:७; १ पत्रुस ३:२०) (ख) नुहको समय र हाम्रो समयको साक्षीकार्यबीच कस्तो समानता छ?

यहोवाको चेतावनीमूलक सन्देश सुनेपछि नुहले जहाज निर्माण गरेर आफ्नो विश्‍वास प्रकट गरे। (हिब्रू ११:७; १ पत्रुस ३:२० पढ्‌नुहोस्‌।) त्यस्तैगरि मानिसहरूले परमेश्‍वरको राज्यको सुसमाचार सुनेपछि त्यसअनुसार कदम चाल्नुपर्छ। (प्रेषि. ३:१७-२०) पत्रुसले नुहलाई “धार्मिकताबारे प्रचार गर्ने” व्यक्‍ति भने। (२ पत्रु. २:५) तर अघिल्लो लेखमा छलफल गरिएझैँ नुहले जलप्रलय आउनुअघि मानिसहरूलाई यहोवाको सन्देश सुनाउन सक्दो गरे तर पृथ्वीभरिका एक-एक मानिससम्म त्यो सन्देश पुऱ्‍याउन सके कि सकेनन्‌ भन्‍नेबारे बाइबलमा केही बताइएको छैन। आज हामी पनि पृथ्वीभरिका मानिसहरूसम्म सुसमाचार पुऱ्‍याउन सक्दो गरिरहेका छौँ। तर हामीले जत्ति नै कोसिस गरे पनि अन्त आउनुअघि पृथ्वीभरिका एक-एक मानिससम्म सुसमाचार पुऱ्‍याउन सक्दैनौँ जस्तो देखिन्छ। किन?

६-७. हामीले अन्त आउनुअघि एक-एक मानिसलाई सुसमाचार सुनाउन सक्नेछैनौँ भनेर किन भन्‍न सक्छौँ?

येसुले साक्षीकार्य कत्तिको व्यापक रूपमा फैलिनेछ भन्‍नेबारे बताउनुभएको कुरा विचार गरौँ। उहाँले “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ” भन्‍नुभयो। (मत्ति २४:१४) यो भविष्यवाणी अहिलेजत्तिको व्यापक रूपमा पहिला कहिल्यै पूरा भएको थिएन। आज हामीले १ हजारभन्दा धेरै भाषामा मानिसहरूलाई सुसमाचार सुनाइरहेका छौँ। अनि jw.org वेबसाइटबाट विश्‍वको अधिकांश मानिसले परमेश्‍वरको राज्यबारे जानकारीहरू पाउन सक्छन्‌।

तर येसुले चेलाहरूलाई उहाँ मानिसजातिको न्याय गर्न आउनुअघि तिनीहरूले ‘सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्‌ध्याइसकेका हुनेछैनन्‌’ भनेर पनि बताउनुभयो। भन्‍नुको मतलब उहाँ आउनुअघि तिनीहरूले प्रत्येक व्यक्‍तिलाई प्रचार गर्न सिद्‌ध्याइसकेका हुने थिएनन्‌। (मत्ति १०:२३; २५:३१-३३) हाम्रो समयमा पनि कुरा त्यही हो। आज लाखौँ मानिस साक्षीकार्यमा कडिकडाउ गरिएका इलाकाहरूमा बस्छन्‌। साथै प्रत्येक मिनेट सयौँ बच्चा जन्मन्छन्‌। हामी “हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरूलाई” सुसमाचार सुनाउन सक्दो कोसिस गर्छौँ। (प्रका. १४:६) तर वास्तविकता के हो भने अन्त आउनुअघि हामीले पृथ्वीका प्रत्येक मानिसलाई सुसमाचार सुनाउन सक्नेछैनौँ।

८. यहोवाले भविष्यमा गर्नुहुने न्यायबारे हाम्रो मनमा कस्तो प्रश्‍न आउन सक्छ? (चित्रहरू पनि हेर्नुहोस्‌।)

त्यसैले एउटा प्रश्‍न उठ्‌छ: महासङ्‌कष्ट सुरु हुनुअघि सुसमाचार सुन्‍ने मौका नपाएका मानिसहरूबारे चाहिँ के भन्‍न सकिन्छ? यहोवा र न्याय गर्ने सम्पूर्ण जिम्मा पाउनुभएका येसुले ती मानिसहरूको न्याय कसरी गर्नुहुनेछ? (युह. ५:१९, २२, २७; प्रेषि. १७:३१) यस लेखको मूल शास्त्रपदमा बताइएझैँ यहोवा “कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९; १ तिमो. २:४) तर उहाँले सुसमाचार सुन्‍ने मौका नपाएका मानिसहरूको न्याय कसरी गर्नुहुनेछ भनेर हामीलाई अहिलेसम्म बताउनुभएको छैन। अनि उहाँले पहिले गर्नुभएका र पछि गर्नुहुने कुनै पनि कामबारे हामीलाई बताउनै पर्छ भन्‍ने पनि छैन।

महासङ्‌कष्ट सुरु हुनुअघि सुसमाचार सुन्‍ने मौका नपाएका मानिसहरूको न्याय यहोवाले कसरी गर्नुहुनेछ? (अनुच्छेद ८ हेर्नुहोस्‌) c


९. यहोवाले बाइबलमा कस्तो कुरा बताउनुभएको छ?

यहोवाले आफूले भविष्यमा गर्ने केही कुराबारे बाइबलमा बताउनुभएको छ। जस्तै: सुसमाचार सुन्‍ने र जीवनमा परिवर्तन गर्ने मौका नपाएका “अधर्मी” मानिसहरू फेरि जीवित हुनेछन्‌। (प्रेषि. २४:१५; लुका २३:४२, ४३) तर यसले गर्दा हाम्रो मनमा थप प्रश्‍न उब्जिन सक्छ।

१०. हाम्रो मनमा अरू कस्ता प्रश्‍नहरू उब्जिन सक्छन्‌?

१० के महासङ्‌कष्टको बेला ज्यान गुमाउने कुनै पनि मानिस फेरि जीवित हुनेछैनन्‌? यहोवा र उहाँको स्वर्गीय सेनाले विरोधीहरूलाई आरमागेडोनमा नाश गर्नुहुनेछ अनि तिनीहरू फेरि जीवित हुनेछैनन्‌ भनेर बाइबलमा स्पष्टसित बताइएको छ। (२ थिस्स. १:६-१०) तर महासङ्‌कष्टको बेला वृद्धावस्था, रोगबिमार र दुर्घटनाले गर्दा ज्यान गुमाएका वा कसैले हत्या गरेका मानिसहरूबारे चाहिँ के भन्‍न सकिन्छ? (उप. ९:११; जक. १४:१३) के तिनीहरूमध्ये केही मानिस फेरि जीवित हुने “अधर्मी”-हरूमा पर्छन्‌? हामीलाई थाह छैन।

हामीलाई के थाह छ?

११. केको आधारमा मानिसहरूको न्याय गरिनेछ?

११ भविष्यमा हुने घटनाहरूबारे हामीलाई केही कुरा थाह छ। जस्तै: ख्रिष्टका भाइहरूसित मानिसहरूले गरेको व्यवहारको आधारमा तिनीहरूको न्याय गरिनेछ। (मत्ति २५:४०) ज-जसले ख्रिष्ट र अभिषिक्‍त जनहरूलाई समर्थन गरे, तिनीहरूलाई भेडाको रूपमा छुट्ट्याइनेछ। अनि हामीलाई यो पनि थाह छ, महासङ्‌कष्ट सुरु भएपछि पनि ख्रिष्टका केही भाइ पृथ्वीमै हुनेछन्‌ र आरमागेडोन सुरु हुनुभन्दा थोरै समयअघि स्वर्ग लगिनेछन्‌। ख्रिष्टका भाइहरू पृथ्वीमा होउन्जेल निष्कपट मानिसहरूले तिनीहरू र तिनीहरूको कामलाई समर्थन गर्ने मौका पाउन सक्छन्‌। (मत्ति २५:३१, ३२; प्रका. १२:१७) यी तथ्यहरू किन उल्लेखनीय छन्‌?

१२-१३. “महान्‌ बेबिलोन”-को विनाश देख्ने केही मानिसले कस्तो प्रतिक्रिया देखाउन सक्छन्‌? (चित्रहरू पनि हेर्नुहोस्‌।)

१२ “महान्‌ बेबिलोन”-को विनाश देख्ने केही मानिसले यहोवाका साक्षीहरूले यसबारे लामो समयदेखि चेतावनी दिँदै आएका थिए भनेर सम्झन सक्छन्‌। के महासङ्‌कष्टको बेला “महान्‌ बेबिलोन”-को विनाश देख्ने केही मानिसले आफ्नो मन परिवर्तन गरेर शुद्ध उपासनामा भाग लिनेछन्‌?​—प्रका. १७:५; इज. ३३:३३.

१३ यदि त्यसो भयो भने मोसाको समयमा इस्राएलीहरूले मिश्र छोडेको बेला जे भएको थियो, त्यस्तै हुन सक्छ। त्यतिबेला “विदेशीहरूको ठूलो दल” पनि तिनीहरूसँगै गएको थियो। ती विदेशीहरूमध्ये केहीले मोसाले चेतावनी दिएझैँ दस विपत्ति आएको देखेपछि मात्र यहोवामा विश्‍वास गर्न थालेका हुन सक्छन्‌। (प्रस्थ. १२:३८) त्यसैगरि केही मानिसले आरमागेडोन आउनुभन्दा थोरै समयअघि मात्र यहोवाको उपासना गर्न थाल्न सक्छन्‌। यदि त्यसो भयो भने के हामीले अन्याय भएको महसुस गर्नुपर्छ? अहँ, पर्दैन। बरु हामी यहोवा बुबाजस्तै ‘कृपालु र दयालु, हतपती नरिसाउने, अटल प्रेम र सत्यले भरिपूर्ण’ हुनुपर्छ। b​—प्रस्थ. ३४:६.

“महान्‌ बेबिलोन”-को विनाश देख्ने केही व्यक्‍तिले यहोवाका साक्षीहरूले यस घटनाबारे लामो समयदेखि चेतावनी दिँदै आएको कुरा सम्झनेछन्‌ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌) d


१४-१५. कुनै व्यक्‍तिले अनन्त जीवन पाउने कुरा तिनी कहिले मर्छन्‌ वा कहाँ बस्छन्‌ भन्‍ने कुरामा किन निर्भर हुँदैन? (भजन ३३:४, ५)

१४ विश्‍वासमा नभएका आफन्तहरूबारे कोही-कोहीले यसो भनेको हामीले सुनेका छौँ होला: “उहाँहरू महासङ्‌कष्ट सुरु हुनुभन्दा अघि नै बित्नुभएकोले राम्रो भयो। किनभने उहाँहरूले कमसेकम फेरि जीवित हुने आशा त पाउनुभयो।” हुनत तिनीहरूले असल मनसायले नै त्यसो भनेका हुन्‌। तर कुनै व्यक्‍तिले अनन्त जीवन पाउँछन्‌ कि पाउँदैनन्‌ भन्‍ने कुरा तिनी कहिले मर्छन्‌ भन्‍ने कुरामा निर्भर हुँदैन। यहोवा न्यायलाई प्रेम गर्नुहुन्छ। (भजन ३३:४, ५ पढ्‌नुहोस्‌।) त्यसैले “सारा पृथ्वीका न्यायकर्ताले” सधैँ सही न्याय गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ।​—उत्प. १८:२५.

१५ कुनै व्यक्‍तिले अनन्त जीवन पाउँछन्‌ कि पाउँदैनन्‌ भन्‍ने कुरा तिनी कहाँ बस्छन्‌ भन्‍ने कुरामा पनि निर्भर हुँदैन। लाखौँ मानिस यस्ता ठाउँहरूमा बस्छन्‌, जहाँ तिनीहरूले राज्य सन्देश सुन्‍ने मौका पाएका छैनन्‌। यहोवाले त्यस्ता मानिसहरूलाई सीधै “बाख्रा”-को रूपमा छुट्ट्याउनुहुन्छ भन्‍ने कुरा हामी सोच्न पनि सक्दैनौँ। (मत्ति २५:४६) उहाँले तिनीहरूलाई हामीले भन्दा धेरै प्रेम गर्नुहुन्छ। त्यसैले सारा पृथ्वीका न्यायकर्ताले सही निर्णय गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। महासङ्‌कष्टको दौडान यहोवाले घटनाक्रमलाई कसरी मोड्‌नुहुन्छ भन्‍ने कुरा हामीलाई थाह छैन। त्यतिबेला यहोवाले जातिजातिसामु आफ्नो नाम पवित्र पार्नुभएको देखेर ती मानिसहरूमध्ये केही उहाँमाथि भरोसा गर्न उत्प्रेरित हुन सक्छन्‌।​—इज. ३८:१६.

के महासङ्‌कष्टको बेला . . . केही मानिसले आफ्नो मन परिवर्तन गरेर शुद्ध उपासनामा भाग लिनेछन्‌?

१६. हामीले यहोवाबारे कस्तो कुरा बुझेका छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१६ हामीले व्यक्‍तिगत बाइबल अध्ययनबाट यहोवा मानिसको जीवनलाई कत्ति बहुमूल्य ठान्‍नुहुन्छ भनेर बुझेका छौँ। हामी सबैले अनन्त जीवनको आशा पाउन सकौँ भनेर उहाँले आफ्नो छोरा बलिदानस्वरूप दिनुभयो। (युह. ३:१६) हामी सबैले यहोवाको कोमल स्नेह महसुस गरेका छौँ। (यसै. ४९:१५) उहाँ हामी प्रत्येकलाई नामैले चिन्‍नुहुन्छ। यहाँसम्म कि यदि हामी मऱ्‍यौँ भने पनि उहाँले हाम्रो एक-एक आनीबानी अनि हाम्रो सम्झनामा भएका कुराहरू याद गरेर हामीलाई फेरि जीवन दिन सक्नुहुन्छ। (मत्ति १०:२९-३१) यहोवाले हामी प्रत्येकको ठीकसित न्याय गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ किनकि उहाँ बुद्धिमान्‌, न्यायी र कृपालु परमेश्‍वर हुनुहुन्छ।​—याकु. २:१३.

यहोवाले प्रत्येक व्यक्‍तिको न्याय सन्तुलित, सही र कृपालु तरिकामा गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ (अनुच्छेद १६ हेर्नुहोस्‌)


१७. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१७ यी छाँटकाँटहरूबाट साक्षीकार्य पहिलेभन्दा अझै जरुरी छ भन्‍ने कुरा स्पष्ट भएको छ। हामी किन यसो भन्‍न सक्छौँ? आलेटाले नगरी सुसमाचार सुनाइरहन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ? यी प्रश्‍नहरूबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।

गीत ७६ भन कस्तो लाग्छ?

a यो छाँटकाँट गरिनुको कारणबारे थाह पाउन मार्च १५, २०१५ अङ्‌कको प्रहरीधरहरा, पृ. ७-११ मा भएको “यसै गर्न तपाईंलाई उचित लाग्यो” भन्‍ने लेख हेर्नुहोस्‌।

b महान्‌ बेबिलोनको विनाशपछि मागोगको गोगले आक्रमण गर्दा यहोवाका सम्पूर्ण सेवकको जाँच हुनेछ। महान्‌ बेबिलोनको विनाशपछि यहोवाका जनहरूसँगै खडा हुने सबैको परीक्षा हुनेछ।

c चित्रको व्याख्या: तीन वटा फोटोमा संसारका केही ठाउँमा सुसमाचार पुग्न नसक्नुको कारण देखाउन खोजिएको छ: (१) एक महिला यस्तो ठाउँमा बस्छिन्‌, जहाँको मुख्य धर्मले गर्दा बाइबलको कुरा सिक्नेहरूलाई खतरा हुन सक्छ, (२) एक दम्पती यस्तो ठाउँमा बस्छ, जहाँको राजनैतिक व्यवस्थाले साक्षीकार्यलाई गैरकानुनी ठान्छ अनि (३) एक युवक यस्तो ठाउँमा बस्छन्‌, जहाँको भौगोलिक अवस्थाले गर्दा त्यहाँसम्म पुग्न असाध्यै गाह्रो छ।

d चित्रको व्याख्या: निष्क्रिय भएकी बहिनी “महान्‌ बेबिलोन”-को विनाशबारे सिकेको कुरा सम्झिन्छिन्‌। तिनको मन परिवर्तन हुन्छ र तिनी आफ्नो ख्रिष्टियन आमाबुबाकहाँ फर्कन्छिन्‌। यदि हामीले यस्तो अवस्था देख्यौँ भने हामी यहोवा बुबाको कृपा र कोमलताबारे मनन गर्न चाहन्छौँ अनि गल्ती गरेको व्यक्‍ति फर्केकोमा रमाउन सक्छौँ।