सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २५

गीत ७ यहोवा हाम्रा बल

यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌

यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌

“यहोवा जीवित हुनुहुन्छ!”भज. १८:४६.

सिक्न सकिने कुरा

हामी “जीवित परमेश्‍वर” यहोवाको उपासना गर्दै छौँ भन्‍ने कुरा मनमा राख्दा निकै लाभ उठाउन सक्छौँ।

१. विभिन्‍न समस्याको बाबजुद यहोवाको उपासना गरिरहन हामीलाई केले मदत गर्छ?

 बाइबलले बताएअनुसार हामी अहिले “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ। (२ तिमो. ३:१) आज संसारका मानिसहरूले जे-जस्ता समस्या झेल्दै छन्‌, ती समस्या हामी यहोवाका जनहरूले पनि झेल्नुपर्छ। त्यसमाथि हामीले विरोध र खेदोको पनि सामना गर्नुपर्छ। यस्ता समस्याहरूको बाबजुद यहोवाको उपासना गरिरहन हामीलाई केले मदत गर्छ? हामीले यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा मनमा राख्नुपर्छ।—यर्मि. १०:१०; २ तिमो. १:१२.

२. यहोवा जीवित परमेश्‍वर हुनुहुन्छ भन्‍नुको अर्थ के हो?

यहोवा वास्तविक हुनुहुन्छ। हामीले भोग्ने एक-एक समस्या उहाँ देख्नुहुन्छ र हामीलाई मदत गर्न उत्सुक हुनुहुन्छ। (२ इति. १६:९; भज. २३:४) यहोवा जीवित परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा मनमा राख्यौँ भने हामी जस्तोसुकै समस्याको सामना गर्न तयार हुनेछौँ। यो कुरा राजा दाउद आफैले कसरी अनुभव गरे, विचार गरौँ।

३. दाउदले “यहोवा जीवित हुनुहुन्छ” भन्‍नुको अर्थ के थियो?

दाउदले यहोवालाई राम्ररी चिनेका थिए। त्यसैले तिनी उहाँमा भर परे। राजा साउलले मार्न खोज्दा अनि अरू शत्रुहरूले खेदो गर्दा दाउदले यहोवालाई गुहारे। (भज. १८:६) यहोवाले तिनको प्रार्थना सुन्‍नुभयो र तिनलाई छुटकारा दिनुभयो। त्यसपछि दाउदले यसो भने: “यहोवा जीवित हुनुहुन्छ!” (भज. १८:४६) त्यतिबेला दाउदले यहोवा साँच्चैको व्यक्‍ति हुनुहुन्छ मात्र त भनिरहेका थिएनन्‌। बरु एउटा किताबले बताएअनुसार तिनले “यहोवा आफ्ना जनहरूलाई मदत गर्न निरन्तर कदम चाल्नुहुने जीवित परमेश्‍वर हुनुहुन्छ” भन्‍ने कुरामाथिको आफ्नो भरोसा व्यक्‍त गर्दै थिए। हो, यहोवा वास्तविक हुनुहुन्छ र मदत गर्न सधैँ तयार हुनुहुन्छ भन्‍ने कुरा दाउद आफैले अनुभव गरेका थिए। त्यस कुरामाथिको बलियो विश्‍वासले दाउदलाई यहोवाको सेवामा अझ जोडतोडले लाग्न र उहाँको प्रशंसा गर्न उत्प्रेरित गऱ्‍यो।—भज. १८:२८, २९, ४९.

४. यहोवा जीवित परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा मनमा राख्दा हामी कस्तो लाभ उठाउन सक्छौँ?

यहोवा जीवित परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भयौँ भने हामी पनि उहाँको सेवामा जोडतोडले लाग्न सक्नेछौँ र जस्तोसुकै समस्याको सामना गर्न बल पाउनेछौँ। साथै यहोवासित नजिक भइरहने हाम्रो सङ्‌कल्प बलियो हुनेछ।

जीवित परमेश्‍वरले तपाईँलाई बल दिनुहुनेछ

५. समस्याहरू आइपर्दा हामी किन आत्तिनुपर्दैन? (फिलिप्पी ४:१३)

यहोवा जीवित परमेश्‍वर हुनुहुन्छ र हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ भन्‍ने कुरा मनमा राख्यौँ भने हामी साना-ठूला जस्तोसुकै समस्या सामना गर्न तयार हुनेछौँ। यहोवासित हाम्रा हर समस्या समाधान गर्न सक्ने शक्‍ति छ। उहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ र हामीलाई समस्याहरू सामना गर्न बल दिन सक्नुहुन्छ। (फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌।) त्यसैले कठिन परिस्थितिहरू आइपर्दा हामी आत्तिनुपर्ने कुनै कारण छैन। सानातिना समस्याहरू आउँदा यहोवाले साथ दिनुभएको अनुभव गऱ्‍यौँ भने उहाँले पछि अझ गाह्रा परिस्थितिहरू आइपर्दा पनि सम्हाल्नुहुनेछ भन्‍ने कुरामा हाम्रो भरोसा बढ्‌नेछ।

६. किशोरावस्थामा छँदा दाउदले अनुभव गरेका कस्ता घटनाहरूले यहोवामाथिको तिनको भरोसा बढायो?

फेरि दाउदबारे विचार गरौँ। तिनलाई यहोवामाथिको भरोसा अझ बढाउन मदत गरेको दुई वटा घटना केलाऔँ। किशोरावस्थामा तिनी गोठालो थिए। भेडा चराउने क्रममा एकपटक सिंहले र अर्को पटक भालुले तिनको बगालबाट भेडा लग्यो। तर दुवै पटक दाउदले साहस देखाउँदै ती जनावरहरूलाई खेदे र आफ्नो भेडालाई बचाएर ल्याए। त्यस्ता हिंस्रक जनावरहरूलाई मार्न सक्नुको श्रेय दाउद आफैले लिएनन्‌ किनकि यहोवाको मदतले गर्दा मात्र त्यो सम्भव भएको हो भनेर तिनलाई थाह थियो। (१ समु. १७:३४-३७) दाउदले ती अनुभवहरू कहिल्यै भुलेनन्‌। यहोवाबाट यसरी प्रत्यक्ष साथ पाएको अनुभव गरेकोले भविष्यमा पनि उहाँले मदत गर्नुहुनेछ भन्‍ने कुरामा दाउदको भरोसा बढ्यो।

७. सही दृष्टिकोण राख्दा दाउदलाई गोल्यतसित भिड्‌न कसरी मदत मिल्यो?

पछि दाउद इस्राएलीहरूले छाउनी हालेको ठाउँमा गए। सम्भवतः त्यतिबेला पनि तिनी किशोरावस्थामै थिए। गोल्यत नामका एक जना अजङ्‌गका पलिस्तियालीले “इस्राएलीहरूको फौजलाई चुनौती” दिइरहेको थियो, जसले गर्दा सबै इस्राएली सिपाहीहरू भयभीत थिए। (१ समु. १७:१०, ११) इस्राएली सिपाहीहरूको ध्यान केवल गोल्यतको अजङ्‌गको शरीर र उनले दिएको धम्कीमा केन्द्रित थियो। त्यसैले तिनीहरू असाध्यै डराए। (१ समु. १७:२४, २५) तर दाउदको दृष्टिकोण भने फरक थियो। दाउदको नजरमा गोल्यतले केवल इस्राएली फौजलाई चुनौती दिइरहेको थिएन बरु “जीवित परमेश्‍वरको फौजलाई चुनौती” दिइरहेको थियो। (१ समु. १७:२६) हो, दाउदले आफ्नो ध्यान यहोवा परमेश्‍वरमा केन्द्रित गरे। यहोवाले पहिला हिंस्रक जनावरहरूसित लड्‌न मदत गर्नुभएजस्तै अहिले पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा दाउद विश्‍वस्त थिए। यही विश्‍वासका साथ तिनी गोल्यतसित भिड्‌न गए र जित तिनकै भयो।—१ समु. १७:४५-५१.

८. यहोवाले हामीलाई मदत गरिरहनुहुनेछ भन्‍ने कुरामा भरोसा बढाउन केले मदत गर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

जीवित परमेश्‍वर यहोवा हामीलाई मदत गर्न तयार हुनुहुन्छ भन्‍ने कुरा मनमा राख्यौँ भने हामी पनि जस्तोसुकै समस्या सामना गर्न सक्छौँ। (भज. ११८:६) विगतमा यहोवाले आफ्ना जनहरूलाई कसरी मदत गर्नुभयो भनेर विचार गर्दा उहाँमाथिको हाम्रो भरोसा बढ्‌छ। यहोवाले इस्राएलीहरूलाई कसरी जोगाउनुभयो भनेर बुझ्न मदत गर्ने बाइबल विवरणहरू पढ्‌नुहोस्‌। (यसै. ३७:१७, ३३-३७) साथै उहाँले अहिले हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि कसरी मदत गर्दै हुनुहुन्छ भन्‍नेबारे बुझ्न हाम्रो वेबसाइट jw.org मा आउने ताजा रिपोर्टहरू पढ्‌नुहोस्‌। यहोवाले तपाईँलाई के-कस्ता तरिकामा मदत गर्नुभएको छ, त्यसबारे पनि सोच्न सक्नुहुन्छ। हुनत तपाईँसित यहोवाले सिंह वा भालुबाट जोगाउनुभएको अनुभव नहोला वा त्यस्तै कुनै उल्लेखनीय तरिकामा मदत गर्नुभएको क्षण पनि सम्झना नआउला तर यहोवाले तपाईँको लागि पनि धेरै कुरा गर्नुभएको छ। यहोवाले तपाईँलाई आफूतर्फ खिच्नुभएको छ। (युह. ६:४४) साथै यहोवाको मदतले गर्दा नै तपाईँले अहिलेसम्म उहाँको सेवा गरिरहन सक्नुभएको छ। त्यसैले यहोवाले मदत गर्नुभएका क्षणहरू सम्झन सक्नुभएन भने पनि चिन्ता नगर्नुहोस्‌। बरु त्यस्ता क्षणहरू सम्झन मदत गर्नुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। यहोवाले विगतमा तपाईँलाई कसरी सम्हाल्नुभयो र चुनौतीहरूसित जुझ्न बल दिनुभयो भनेर मनन गर्दा उहाँले आगामी दिनमा पनि त्यसो गरिरहनुहुनेछ भन्‍ने कुरामा तपाईँको भरोसा बढ्‌नेछ।

सार्वभौमिकताको विवादमा हामी पनि मुछिएका छौँ भनेर सोच्यौँ भने आफ्ना समस्याहरूप्रति सही दृष्टिकोण राख्न सक्नेछौँ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)


९. हामी कसरी आफ्ना समस्याप्रति सही दृष्टिकोण राख्न सक्छौँ? (हितोपदेश २७:११)

यहोवा वास्तविक परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा मनमा राख्दा हामी आफ्ना समस्याहरूप्रति सही दृष्टिकोण राख्न सक्छौँ। कसरी? सैतानले उठाएको सार्वभौमिकताको विवादबारे सोच्नुहोस्‌। त्यसले गाह्रा परिस्थितिहरू आइपर्दा हामीले यहोवालाई त्याग्नेछौँ भनेर दाबी गरेको छ। (अय्यु. १:१०, ११; हितोपदेश २७:११ पढ्‌नुहोस्‌।) त्यसैले समस्याहरू आउँदा वफादार रह्‍यौँ भने हामीले यहोवा परमेश्‍वरप्रतिको आफ्नो प्रेम प्रकट गरिरहेका हुन्छौँ र सैतानलाई झूटो साबित गरिरहेका हुन्छौँ। सायद तपाईँ बस्ने ठाउँमा सरकारले हाम्रो साक्षीकार्यमा प्रतिबन्ध लगाएको होला वा मानिसहरूले सुसमाचारमा त्यति चासो नदेखाउलान्‌ अथवा तपाईँ आर्थिक चुनौती वा अन्य कुनै समस्या झेल्दै हुनुहुन्छ होला। तर यो कुरा मनमा राख्नुहोस्‌, तपाईँले सामना गर्ने चुनौती भनेको यहोवाप्रतिको तपाईँको प्रेम प्रकट गर्ने मौका हो। अनि यो कुरा पनि नबिर्सनुहोस्‌, यहोवाले कुनै पनि समस्या तपाईँले सहन सक्नेभन्दा बाहिर जान दिनुहुनेछैन। (१ कोरि. १०:१३) हो, यहोवाले तपाईँलाई सहन बल दिनुहुनेछ।

जीवित परमेश्‍वरले तपाईँलाई इनाम दिनुहुनेछ

१०. जीवित परमेश्‍वर यहोवाले उहाँको उपासना गर्नेहरूलाई के दिनुहुन्छ?

१० यहोवा उहाँको उपासना गर्नेहरूलाई सधैँ इनाम दिनुहुन्छ। (हिब्रू ११:६) यहोवाले अहिले हामीलाई मनोशान्ति र सन्तुष्टि दिनुभएको छ। साथै भविष्यमा उहाँले हामीलाई अनन्त जीवन पनि दिनुहुनेछ। यस कुरामा हामी निश्‍चिन्त हुन सक्छौँ। किनभने यहोवासित हामीलाई इनाम दिने इच्छा र शक्‍ति दुवै छ। त्यसैले विगतका यहोवाका वफादार उपासकहरू उहाँको सेवामा व्यस्त रहेजस्तै हामी पनि उहाँको सेवामा व्यस्त रहन सक्छौँ। प्रथम शताब्दीमा यहोवाको सेवामा व्यस्त रहेका एक सेवक तिमोथि हुन्‌।—हिब्रू ६:१०-१२.

११. तिमोथिलाई तनमन लगाएर मण्डलीमा सेवा गर्न केले उत्प्रेरित गऱ्‍यो? (१ तिमोथि ४:१०)

११ पहिलो तिमोथि ४:१० पढ्‌नुहोस्‌। जीवित परमेश्‍वर यहोवाले इनाम दिनुहुन्छ भन्‍ने कुरामा तिमोथि विश्‍वस्त थिए। त्यसैले यहोवाको सेवामा र अरूलाई मदत गर्ने काममा तिनले तनमन लगाए। प्रेषित पावलले तिनलाई शिक्षक र वक्‍ताको रूपमा अझ उन्‍नति गर्न प्रोत्साहन दिएका थिए। साथै पावलले तिनलाई जवान अनि वृद्ध सबैको लागि राम्रो उदाहरण बसाल्न पनि भनेका थिए। त्यसको अलावा तिमोथिलाई केही गाह्रा जिम्मेवारीहरू पनि सुम्पिइएको थियो। जस्तै: आवश्‍यक परेकाहरूलाई स्पष्ट तर मायालु तरिकामा सल्लाह दिने। (१ तिमो. ४:११-१६; २ तिमो. ४:१-५) तिनको कडा मेहनत अरूले याद नगरे पनि वा कदर नगरे पनि यहोवाले भने तिनलाई इनाम दिनुहुनेछ भन्‍ने कुरामा तिमोथि विश्‍वस्त थिए।—रोमी २:६, ७.

१२. आफूलाई सुम्पिइएको काम दिलोज्यान लगाएर पूरा गर्न एल्डरहरूलाई केले उत्प्रेरित गर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१२ आज एल्डरहरू पनि यहोवाले तिनीहरूको कडा परिश्रम देख्नुहुन्छ र कदर गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छन्‌। एल्डरहरूको प्रमुख जिम्मेवारी गोठालोको काम गर्ने, सिकाउने र साक्षीकार्यमा भाग लिने हो। त्यसको अलावा थुप्रै एल्डरहरू निर्माणकार्यमा र प्राकृतिक प्रकोप राहत समितिमा कडा परिश्रम गर्छन्‌। अनि कतिपय एल्डरहरू अस्पताल सम्पर्क समिति र बिरामी भेट्‌ने समूहहरूमा सेवा गर्छन्‌। यसरी कडा परिश्रम गर्ने एल्डरहरूलाई मण्डली परमेश्‍वरको हो र हामी कुनै मानिसको सेवा गरिरहेका छैनौँ भनेर राम्ररी थाह छ। त्यसैले तिनीहरू आफूलाई सुम्पिइएको जिम्मेवारी दिलोज्यान लगाएर पूरा गर्छन्‌ र यहोवाले अवश्‍य इनाम दिनुहुनेछ भन्‍ने कुरामा पूर्णतया विश्‍वस्त छन्‌।—कल. ३:२३, २४.

तपाईँले मण्डलीको लागि कडा मेहनत गर्दा जीवित परमेश्‍वरले तपाईँलाई इनाम दिनुहुनेछ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)


१३. यहोवाको सेवामा हामीले आफ्नो तर्फबाट सकेजति गर्दा उहाँलाई कस्तो लाग्छ?

१३ हुनत हामी सबै जना एल्डरको रूपमा सेवा गर्न सक्दैनौँ। तर हामी प्रत्येकले यहोवालाई आफ्नो तर्फबाट केही दिन भने सक्छौँ। यहोवाको सेवामा हामीले आफ्नो तर्फबाट सकेजति गर्दा उहाँ खुसी हुनुहुन्छ। राज्य गतिविधि अघि बढाउन हामीले गर्ने सानोभन्दा सानो योगदान पनि यहोवा याद गर्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। जस्तै: हामीलाई लाज लागे तापनि सभामा टिप्पणी दिन हात उठाउँदा वा कसैको सानोतिनो गल्ती बेवास्ता गरेर क्षमा दिँदा यहोवालाई खुसी लाग्छ। के तपाईँलाई आफूले यहोवाको सेवामा चाहेजति गर्न सकेको छैनँ जस्तो लाग्छ? त्यसो हो भने निराश नहुनुहोस्‌। तपाईँले जे-जति गर्दै हुनुहुन्छ, त्यसलाई यहोवा अनमोल ठान्‍नुहुन्छ। उहाँ तपाईँलाई प्रेम गर्नुहुन्छ र तपाईँलाई अवश्‍य इनाम दिनुहुनेछ।—लुका २१:१-४.

जीवित परमेश्‍वरसित घनिष्ठ भइरहनुहोस्‌

१४. यहोवासित घनिष्ठ मित्रता गाँस्दा उहाँप्रति वफादार रहन कसरी सजिलो हुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१४ यदि हामीले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका छौँ भने उहाँप्रति वफादार रहन हामीलाई सजिलो हुनेछ। युसुफको सन्दर्भमा त्यस्तै भयो। यहोवासित घनिष्ठ सम्बन्ध गाँसेकोले तिनले अवैध यौनसम्बन्ध राख्ने प्रलोभनलाई तिरस्कार गर्न सके। यहोवाको नजरमा त्यो घृणित कुरा हो भनेर तिनलाई थाह थियो। (उत्प. ३९:९) जति यहोवालाई प्रार्थना गर्छौँ र उहाँको वचन अध्ययन गर्छौँ, त्यति नै यहोवा हाम्रो लागि वास्तविक हुनुहुनेछ र उहाँसितको हाम्रो मित्रता बलियो हुनेछ। युसुफले जस्तै यहोवासित घनिष्ठ सम्बन्ध गाँस्यौँ भने हामीले उहाँलाई मन नपर्ने कुनै काम गर्नेछैनौँ।—याकु. ४:८.

जीवित परमेश्‍वरसित नजिक हुँदा तपाईँले उहाँप्रति वफादार रहिरहन मदत पाउनुहुनेछ (अनुच्छेद १४-१५ हेर्नुहोस्‌)


१५. इस्राएलीहरूले निर्जनभूमिमा विद्रोह गरेपछि भोग्नुपरेको नतिजाबाट हामी के सिक्न सक्छौँ? (हिब्रू ३:१२)

१५ अर्कोतर्फ यहोवासित घनिष्ठ सम्बन्ध नगाँसेकाहरू सजिलै उहाँदेखि टाढिन सक्छन्‌। इस्राएलीहरू निर्जनभूमिमा छँदा के भयो, विचार गरौँ। तिनीहरूलाई यहोवा वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर त थाह थियो तर उहाँले तिनीहरूको ख्याल राख्नुहोला कि नहोला भनेर तिनीहरूले शङ्‌का गरे। तिनीहरूले यस्तो प्रश्‍न सोधे: “के यहोवा परमेश्‍वर साँच्चै हामीसित हुनुहुन्छ?” (प्रस्थ. १७:२, ७) त्यसपछि तिनीहरूले यहोवा परमेश्‍वरको विद्रोह समेत गरे। तिनीहरू हाम्रो लागि चेतावनीमूलक उदाहरण हुन्‌। हामी तिनीहरूजस्तो अनाज्ञाकारी पक्कै हुन चाहँदैनौँ।—हिब्रू ३:१२ पढ्‌नुहोस्‌।

१६. केले गर्दा हाम्रो विश्‍वासको जाँच हुन सक्छ?

१६ अहिलेको संसारमा यहोवासित घनिष्ठ सम्बन्ध कायम राख्न चुनौतीपूर्ण हुन सक्छ। परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर धेरै जना विश्‍वास गर्दैनन्‌। त्यसमाथि परमेश्‍वरको स्तरअनुसार नचल्ने मानिसहरूकै फलिफाप भएको जस्तो पनि देखिन्छ। त्यस्तो देख्दा हाम्रो विश्‍वासको जाँच हुन सक्छ। हुनत हामी परमेश्‍वरको अस्तित्वमै शङ्‌का नगरौँला तर उहाँले हामीलाई मदत गर्नुहोला या नहोला भनेर चाहिँ हाम्रो मनमा शङ्‌का उब्जन सक्छ। भजन अध्याय ७३ का लेखकलाई पनि त्यस्तै महसुस भएको थियो। तिनको वरपरका दुष्ट मानिसहरूले परमेश्‍वरको स्तर पालन गर्दैनथे तर उनीहरूकै फलिफाप भइरहेको तिनले याद गरे। त्यसले गर्दा तिनलाई आफूले बेकारमा परमेश्‍वरको सेवा गरिरहेको छु जस्तो लाग्यो।—भज. ७३:११-१३.

१७. वफादार भई यहोवाको सेवा गरिरहन हामीलाई केले मदत गर्नेछ?

१७ भजन ७३ अध्यायका लेखकले कसरी आफ्नो दृष्टिकोण सच्याउन सके? तिनले परमेश्‍वरदेखि टाढिने र उहाँको स्तर पालन नगर्ने मानिसहरूको हालत कस्तो हुनेछ भन्‍ने कुरामा मनन गरे। (भज. ७३:१८, १९, २७) साथै तिनले परमेश्‍वरको सेवा गर्दा पाइने आशिष्‌हरूबारे सोचे। (भज. ७३:२४) हामी पनि यहोवाले अहिले हामीलाई दिइरहनुभएका आशिष्‌हरूमा मनन गर्न सक्छौँ। साथै उहाँको सेवा गर्ने छनौट नगरेको भए हाम्रो जीवन कस्तो हुन्थ्यो होला भनेर कल्पना गर्न सक्छौँ। त्यसले हामीलाई वफादार भई यहोवाको सेवामा लागिरहन मदत गर्नेछ। हामी भजनहारजस्तै यस्तो निष्कर्षमा पुग्न सक्नेछौँ: “मेरो लागि भने परमेश्‍वरको नजिक जानु उत्तम छ।” —भज. ७३:२८.

१८. भविष्यमा हुने घटनाहरूदेखि हामी किन डराउनुपर्दैन?

१८ यस लेखको सुरुमा पनि चर्चा गरिएझैँ हामी अहिले कठिन समयमा बाँचिरहेका छौँ। तर जति नै गाह्रा परिस्थितिहरू आइपरे तापनि हामी ती सब सामना गर्न सक्छौँ किनभने हामी “जीवित र साँचो परमेश्‍वरको दास” हौँ। (१ थिस्स. १:९) हाम्रा परमेश्‍वर यहोवा वास्तविक व्यक्‍ति हुनुहुन्छ र उहाँको उपासना गर्नेहरूलाई सधैँ इनाम दिनुहुन्छ। उहाँले आफ्ना विगतका वफादार सेवकहरूलाई साथ दिनुभयो र अहिले हामीलाई पनि साथ दिँदै हुनुहुन्छ। निकट भविष्यमा इतिहासमा कहिल्यै नभएको महासङ्‌कष्ट सुरु हुनेछ। तर हामी एक्लै छोडिनेछैनौँ। यहोवा हाम्रो साथमा हुनुहुनेछ। (यसै. ४१:१०) त्यसैले “हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौँ: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ, म डराउनेछैनँ।’”—हिब्रू १३:५, ६.

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा