सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २३

गीत २८ यहोवाको मित्र बनौँ

यहोवाले हामीलाई उहाँको पाहुना हुन निम्तो दिनुभएको छ

यहोवाले हामीलाई उहाँको पाहुना हुन निम्तो दिनुभएको छ

“मेरो निवासस्थान तिनीहरूसित हुनेछ। म तिनीहरूका परमेश्‍वर हुनेछु।”इज. ३७:२७.

सिक्न सकिने कुरा

यहोवाको पालमा उहाँको पाहुना हुने निम्तोप्रति हामी कसरी आफ्नो कृतज्ञता अझ बढाउन सक्छौँ भनेर यस लेखमा छलफल गर्नेछौँ। अनि यहोवाले आफ्ना पाहुनाहरूको कसरी ख्याल राख्नुहुन्छ, त्यसबारे पनि विचार गर्नेछौँ।

१-२. यहोवाले आफ्ना वफादार उपासकहरूलाई कस्तो निम्तो दिनुभएको छ?

 कसैले तपाईँलाई ‘यहोवा तपाईँको लागि को हुनुहुन्छ?’ भनेर सोध्यो भने तपाईँ कस्तो जवाफ दिनुहुन्छ? तपाईँ भन्‍नुहुन्छ होला, ‘यहोवा मेरो बुबा हुनुहुन्छ, मेरो ईश्‍वर हुनुहुन्छ र मेरो साथी हुनुहुन्छ।’ बाइबलमा हेऱ्‍यौँ भने हामी यहोवालाई विभिन्‍न तरिकामा सम्बोधन गर्न सक्छौँ। तर के तपाईँले उहाँलाई पाहुनाको सत्कार गर्ने व्यक्‍तिको रूपमा हेर्नुभएको छ?

 राजा दाउदले यहोवा र उहाँका वफादार उपासकहरूबीचको मित्रताबारे यसो भने: “हे यहोवा, तपाईँको पालमा कसले बास पाउला? तपाईँको पवित्र डाँडामा को बस्न पाउला?” (भज. १५:१) यहाँ तिनले यहोवालाई पाहुनाको सत्कार गर्ने व्यक्‍तिको रूपमा र उहाँका वफादार उपासकहरूलाई यहोवाको पाहुनाको रूपमा तुलना गरे। तिनका शब्दहरूबाट हामी यहोवाको पाहुना अर्थात्‌ उहाँको मित्र बन्‍न सक्छौँ भन्‍ने कुरा सिक्न सक्छौँ। महान्‌ सृष्टिकर्ता यहोवाबाट यस्तो निम्तो पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मानको कुरा!

हामी उहाँको पाहुना भएको यहोवा चाहनुहुन्छ

३. यहोवाको पहिलो पाहुना को हुनुहुन्छ र एकअर्कासित रहन पाउँदा उहाँहरूलाई कस्तो लाग्यो?

ब्रह्‍माण्डमा भएका विभिन्‍न कुरा सृष्टि गर्नुअघि यहोवा एक्लै हुनुहुन्थ्यो। तर पछि यहोवाले आफ्नो जेठो छोरालाई सृष्टि गर्नुभयो। अनि उहाँले आफ्नो छोरालाई आफ्नो पालमा अर्थात्‌ निवासस्थानमा स्वागत गर्नुभयो। यसरी आफ्नो पहिलो पाहुनालाई स्वागत गर्न पाउँदा उहाँ खुसी हुनुहुन्थ्यो। किनकि बाइबलमा उहाँ आफ्नो छोरालाई देखेर “असाध्यै रमाउनुहुन्थ्यो” भनेर बताइएको छ। अनि उहाँको पहिलो पाहुना पनि ‘यहोवासामु रहन पाएकोले सधैँ खुसीले गद्‌गद हुनुहुन्थ्यो।’—हितो. ८:३०

४. पछि यहोवाले आफ्नो पालमा अरू क-कसलाई स्वागत गर्नुभयो?

पछि यहोवाले अरू स्वर्गदूतहरू बनाउनुभयो र तिनीहरूलाई पनि आफ्नो पाहुनाको रूपमा स्वागत गर्नुभयो। बाइबलमा ती स्वर्गदूतहरूलाई “परमेश्‍वरका छोराहरू” भनिएको छ र तिनीहरू यहोवासित रहन पाउँदा खुसी थिए। (अय्यु. ३८:७; दानि. ७:१०) थुप्रै वर्षसम्म यहोवाको निवासस्थानमा येसु र स्वर्गदूतहरूबाहेक अरू कोही पाहुना थिएन। तर पछि यहोवाले मानिसहरू बनाउनुभयो र तिनीहरूलाई पनि आफ्नो पाहुनाको रूपमा स्वागत गर्नुभयो। ती मानिसहरूमध्ये केही हुन्‌: हनोक, नुह, अब्राहाम र अय्युब। यहोवाका यी उपासकहरूलाई बाइबलमा उहाँका मित्रहरू र ‘उहाँले देखाउनुभएको बाटोमा जीवनभरि हिँड्‌ने’ व्यक्‍तिहरू भनिएको छ।—उत्प. ५:२४; ६:९; अय्यु. २९:४; यसै. ४१:८.

५. इजकिएल ३७:२६, २७ मा गरिएको भविष्यवाणीबाट हामी के बुझ्न सक्छौँ?

शताब्दीऔँअघिदेखि यहोवाले मानिसहरूलाई आफ्नो पाहुनाको रूपमा स्वागत गर्दै आउनुभएको छ। (इजकिएल ३७:२६, २७ पढ्‌नुहोस्‌।) यो कुरा इजकिएलको भविष्यवाणीबाट बुझ्न सक्छौँ। त्यस भविष्यवाणीबाट यहोवा आफ्ना उपासकहरूले उहाँसित घनिष्ठ सम्बन्ध विकास गरेको चाहनुहुन्छ भनेर बुझ्न सक्छौँ। उहाँले तिनीहरूसित “शान्तिको करार” गर्ने वाचा गर्नुभएको छ। यस भविष्यवाणीले स्वर्गीय आशा पाएकाहरू र पृथ्वीमा सधैँभरि जिउने आशा पाएका मानिसहरू एकताबद्ध हुने समयलाई सङ्‌केत गर्छ। (युह. १०:१६) तिनीहरू एउटै बगालका हुने समय अहिल्यै हो!

हामी जहाँ भए पनि यहोवा हाम्रो ख्याल राख्नुहुन्छ

६. हामी कसरी यहोवाको पालमा उहाँको पाहुना बन्‍न सक्छौँ? यहोवाको पाल किन एउटा ठाउँमा मात्र सीमित छैन?

बाइबलकालीन समयमा आफ्नो पालमा बस्दा मानिसहरूले आराम गर्न सक्थे र हावाहुरी अनि अन्य खतराहरूबाट सुरक्षा पाउन सक्थे। कसैको पालमा पाहुनाको रूपमा जाने व्यक्‍ति आफ्नो राम्रोसँग ख्याल राखिने कुरामा ढुक्क हुन सक्थे। यहोवालाई जीवन समर्पण गर्दा हामी पनि उहाँको पालमा पाहुना हुन्छौँ। (भज. ६१:४) उहाँको पालमा हामी प्रशस्तै आध्यात्मिक भोजनबाट लाभ उठाउन सक्छौँ र उहाँका अरू पाहुनाहरूसित मित्रता गाँस्न सक्छौँ। यहोवाको पाल कुनै एउटा ठाउँमा मात्र सीमित छैन। सायद तपाईँ विशेष अधिवेशनमा उपस्थित हुन अर्कै देशमा जानुभएको छ होला। त्यहाँ तपाईँले यहोवाका अरू पाहुनाहरूलाई भेट्‌नुभएको छ होला। स्पष्ट छ, यहोवाका आज्ञाकारी उपासकहरू जहाँ-जहाँ छन्‌, यहोवाको पाल त्यहीँ-त्यहीँ छ।—प्रका. २१:३.

७. यहोवाका मरिसकेका वफादार उपासकहरू अझै पनि उहाँका पाहुना हुन्‌ भनेर किन भन्‍न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

यहोवाका मरिसकेका वफादार उपासकहरूबारे चाहिँ के भन्‍न सकिन्छ? के तिनीहरू अझै पनि यहोवाको पाहुना हुन्‌ भन्‍न सक्छौँ? पक्कै सक्छौँ! किनभने तिनीहरू यहोवाको सम्झनामा छन्‌। येसुले यसो भन्‍नुभयो: “मरेकाहरू ब्युँतनेछन्‌ भनेर मोसाले पनि झाडीसम्बन्धी विवरणमा बताए। त्यस विवरणमा तिनले यहोवालाई ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकुबका परमेश्‍वर’ भनेका छन्‌। उहाँ मरेकाहरूका होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ किनकि उहाँको लागि तिनीहरू सबै जीवित छन्‌।’”—लुका २०:३७, ३८.

मरिसकेका वफादार जनहरू अझै पनि यहोवाका पाहुना हुन्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)


लाभ तथा जिम्मेवारीहरू

८. यहोवाको पालमा रहँदा हामी कस्ता लाभहरू उठाउन सक्छौँ?

जसरी साँच्चैको पालमा आराम गर्न सकिन्छ र विभिन्‍न खतराहरूदेखि जोगिन सकिन्छ, त्यसैगरि यहोवाको पालमा रहँदा पनि उहाँसितको सम्बन्धलाई खतरामा पार्ने जस्तोसुकै कुरादेखि सुरक्षा पाउन सकिन्छ र भविष्यको साँचो आशा पाउन सकिन्छ। यदि हामी यहोवासित घनिष्ठ भइरह्‍यौँ भने सैतानले हामीलाई जस्तोसुकै हानि पुऱ्‍याए पनि त्यसको असर सदाको लागि रहनेछैन। (भज. ३१:२३; १ युह. ३:८) यहोवाले नयाँ संसारमा आफ्ना वफादार मित्रहरूलाई उहाँसितको सम्बन्धलाई खतरामा पार्ने कुराहरूदेखि मात्र होइन, मृत्युदेखि पनि जोगाउनुहुनेछ।—प्रका. २१:४.

९. यहोवा आफ्ना पाहुनाहरूले के गरेको चाहनुहुन्छ?

यहोवाको पाहुना हुन पाउनु साँच्चै सम्मानको कुरा हो! हामी उहाँसित घनिष्ठ मित्रता गाँस्न सक्छौँ, जुन सधैँभरि रहिरहन्छ। यदि हामी यहोवाको पाहुना भइरहन चाहन्छौँ भने हामीले के गर्नुपर्छ? यदि कसैले तपाईँलाई आफ्नो घरमा निम्तो दियो भने तपाईँ पक्कै पनि तिनी तपाईँबाट के चाहन्छन्‌ भनेर थाह पाउन चाहनुहुन्छ। जस्तै: सायद तिनी घरभित्र छिर्नुअघि तपाईँले जुत्ता फुकालेको चाहन्छन्‌ होला। अनि तपाईँ खुसीसाथ त्यसो गर्नुहुन्छ। त्यसैगरि यदि हामी यहोवाको पालमा उहाँको पाहुना भइरहन चाहन्छौँ भने यहोवा हामीबाट के चाहनुहुन्छ भनेर हामीले थाह पाउनुपर्छ। यहोवाप्रतिको प्रेमले हामीलाई “उहाँलाई पूर्ण रूपले प्रसन्‍न बनाउन” सक्दो कोसिस गर्न उत्प्रेरित गर्छ। (कल. १:१०) हुनत यहोवा हाम्रो साथी हुनुहुन्छ तर उहाँ हाम्रो ईश्‍वर र बुबा पनि हुनुहुन्छ। त्यसैले उहाँ हाम्रो आदर पाउन योग्य हुनुहुन्छ। (भज. २५:१४) यो कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन र सधैँ उहाँको गहिरो आदर गरिरहनुपर्छ। यस्तो श्रद्धाभावले हामीलाई उहाँलाई दुःखी तुल्याउने कुराहरू गर्नदेखि टाढै रहन मदत गर्छ। हामी पक्कै पनि मर्यादामा रहेर ‘आफ्ना परमेश्‍वरसित हिँडिरहन’ चाहन्छौँ।—मिका ६:८.

यहोवाले निर्जनभूमिमा पक्षपात गर्नुभएन

१०-११. सिनै निर्जनभूमिमा इस्राएलीहरूसित व्यवहार गर्दा यहोवाले आफू पक्षपाती नभएको कसरी देखाउनुभयो?

१० यहोवा आफ्ना कुनै पनि पाहुनालाई पक्षपात गर्नुहुन्‍न। (रोमी २:११) यो कुरा यहोवाले सिनै निर्जनभूमिमा इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट थाह पाउन सक्छौँ।

११ इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभएपछि यहोवाले वासस्थानमा सेवा गर्न पुजारीहरूलाई नियुक्‍त गर्नुभयो। अनि वासस्थानमा गर्नुपर्ने अन्य कामहरूको लागि लेवीहरूलाई खटाउनुभयो। के यहोवाले अरूलाई भन्दा वासस्थानमा सेवा गर्नेहरूलाई वा त्यसको नजिकै बस्ने कुलहरूलाई धेरै माया गर्नुभयो? त्यसो त पटक्कै होइन! किनभने यहोवा पक्षपात गर्नुहुन्‍न।

१२. यहोवाले इस्राएलीहरूको लागि गर्नुभएको कस्तो प्रबन्धबाट उहाँ पक्षपाती हुनुहुन्‍न भन्‍ने देखियो? (प्रस्थान ४०:३८) (चित्र पनि हेर्नुहोस्‌।)

१२ छाउनीमा बस्ने प्रत्येक इस्राएली यहोवासित घनिष्ठ हुन सक्थे, चाहे तिनीहरू वासस्थानमा सेवा गर्नेहरू होऊन्‌ या नहोऊन्‌ अथवा तिनीहरू वासस्थाननजिकै बस्ने कुलका होऊन्‌ या नहोऊन्‌। जस्तै: यहोवाले वासस्थानमाथि बादलको खामो र आगोको खामो सबै इस्राएलीले देख्न सक्नेगरि राखिदिनुभएको थियो। (प्रस्थान ४०:३८ पढ्‌नुहोस्‌।) त्यो बादलको खामो अर्कै दिशातर्फ मोडिँदा वासस्थानको सबैभन्दा टाढा पर्ने कुलका मानिसहरूले समेत त्यो देख्न सक्थे। त्यसपछि तिनीहरू आफ्नो पोकोपन्तरो बाँध्थे, पाल निकाल्थे र यात्रा सुरु गर्थे। (गन्ती ९:१५-२३) अनि यात्रा सुरु गर्ने बेला भयो भनेर सङ्‌केत दिन चाँदीका दुई वटा बिगुल फुकिँदा त्यसको ठूलो आवाज सबैले सुन्‍न सक्थे। (गन्ती १०:२) स्पष्ट छ, कुनै व्यक्‍ति वासस्थानको नजिकै बस्छन्‌ भन्दैमा यहोवासित तिनको सम्बन्ध अझ नजिकको छ भन्‍न मिल्दैनथ्यो। बरु वासस्थानको नजिक बस्ने होऊन्‌ या टाढा, प्रत्येक इस्राएली यहोवाको पाहुना हुन सक्थे अनि उहाँले डोऱ्‍याउनुहुनेछ र सुरक्षा दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्थे। त्यसैगरि आज पनि चाहे हामी संसारको जुनसुकै कुनामा बसौँ, हामी यहोवाले माया गर्नुहुन्छ, ख्याल राख्नुहुन्छ र सुरक्षा दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।

वासस्थान छाउनीको बीचतिर भएको कुराले यहोवा पक्षपाती हुनुहुन्‍न भन्‍ने देखियो (अनुच्छेद १२ हेर्नुहोस्‌)


यहोवा अहिले पनि पक्षपात गर्नुहुन्‍न

१३. अहिले पनि यहोवा पक्षपाती हुनुहुन्‍न भनेर किन भन्‍न सक्छौँ?

१३ अहिले यहोवाका केही सेवक मुख्यालय वा शाखा कार्यालयनजिकै बस्छन्‌। कतिपय भने ती कार्यालयहरूमा सेवा गर्छन्‌। त्यसैले तिनीहरूले नेतृत्व लिइरहेका भाइहरूसित मिलेर काम गर्न र उनीहरूसित सरसङ्‌गत गर्न सक्छन्‌। अरू कोही-कोही भने क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्दै छन्‌ वा अन्य कुनै तरिकामा विशेष पूर्ण-समय सेवामा लागिरहेका छन्‌। तर धेरैजसोले भने यस्तो सुअवसर पाएका छैनन्‌। यदि तपाईँ तीमध्ये हुनुहुन्छ भने तपाईँ यहोवाको पाहुना नै हुनुहुन्छ र उहाँ तपाईँलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्नुहुन्छ। उहाँ आफ्ना प्रत्येक पाहुनाको ख्याल राख्नुहुन्छ। (१ पत्रु. ५:७) यहोवा आफ्ना प्रत्येक सेवकलाई आध्यात्मिक भोजन, डोऱ्‍याइ र सुरक्षा दिनुहुन्छ।

१४. यहोवा पक्षपाती हुनुहुन्‍न भन्‍ने कुराको अर्को एउटा उदाहरण दिनुहोस्‌।

१४ यहोवा पक्षपाती हुनुहुन्‍न भन्‍नेबारे अर्को एउटा उदाहरण विचार गरौँ। उहाँले संसारका धेरैजसो मानिसले पढ्‌न सक्ने भाषाहरूमा बाइबल उपलब्ध गराउनुभएको छ। बाइबल सुरुमा हिब्रू, अरामी र ग्रीक भाषामा लेखिएको थियो। तर के यी भाषाहरूमा बाइबल पढ्‌न सक्ने मानिसहरू यहोवासित अझै नजिक हुन्छन्‌ भन्‍ने हो? त्यसो त पटक्कै होइन।—मत्ति ११:२५.

१५. बाइबलको अर्को कुन कुराले यहोवा पक्षपाती हुनुहुन्‍न भनेर देखाउँछ? (चित्र पनि हेर्नुहोस्‌।)

१५ यदि हामी धेरै पढेलेखेका छौँ वा सुरुमा बाइबल लेखिएका भाषाहरू जानेका छौँ भने मात्र यहोवाले हामीलाई साथी बनाउनुहुन्छ भन्‍ने होइन। बरु उहाँले बाइबलमा पाइने आफ्ना बुद्धिका कुराहरू धेरै पढेलेखेका मानिसहरूलाई मात्र होइन, संसारका सबै मानिसहरूलाई उपलब्ध गराउनुभएको छ। उहाँको वचन बाइबल हजारौँ भाषामा अनुवाद गरिएको छ। त्यसैले पृथ्वीका सबै मानिसले उहाँको शिक्षाबाट लाभ उठाउन सक्छन्‌ र उहाँको साथी कसरी बन्‍न सकिन्छ भनेर सिक्न सक्छन्‌।—२ तिमो. ३:१६, १७.

आज हजारौँ भाषामा बाइबल अनुवाद भएको कुराबाट परमेश्‍वर पक्षपाती हुनुहुन्‍न भनेर देखिन्छ (अनुच्छेद १५ हेर्नुहोस्‌)


यहोवाको पाहुना भइरहनुहोस्‌

१६. प्रेषित १०:३४, ३५ अनुसार हामी कसरी यहोवाको पाहुना भइरहन सक्छौँ?

१६ यहोवाले हामीलाई पाहुनाको रूपमा स्वागत गर्नु साँच्चै सम्मानको कुरा हो! उहाँजस्तो दयालु, मायालु र आतिथ्य देखाउने व्यक्‍ति अरू कोही छैन। साथै उहाँ पक्षपाती हुनुहुन्‍न। हामी जुनसुकै ठाउँ, पृष्ठभूमि, जाति, कुल, उमेर वा लिङ्‌गको भए पनि उहाँ हामीलाई आफ्नो पालमा स्वागत गर्नुहुन्छ। साथै उहाँको मित्र बन्‍न हामी पढेलेखेको हुनुपर्छ भन्‍ने छैन तर उहाँका स्तरहरूअनुसार चल्नेहरूलाई मात्र उहाँ पाहुनाको रूपमा स्विकार्नुहुन्छ।—प्रेषित १०:३४, ३५ पढ्‌नुहोस्‌।

१७. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१७ भजन १५:१ मा दाउदले यस्ता प्रश्‍नहरू सोधे: “हे यहोवा, तपाईँको पालमा कसले बास पाउला? तपाईँको पवित्र डाँडामा को बस्न पाउला?” यहोवाको प्रेरणा पाएर दाउद आफैले यी प्रश्‍नहरूको जवाफ दिएका छन्‌। अर्को लेखमा यहोवाको पाहुना भइरहन हामीले गर्नै पर्ने केही कुराहरूबारे छलफल गर्नेछौँ।

गीत ३२ यहोवाको पक्ष लेऔँ!