सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २४

गीत २४ आऊ न यहोवाको पर्वतमा

सधैँभरि यहोवाको पाहुना भइरहनुहोस्‌!

सधैँभरि यहोवाको पाहुना भइरहनुहोस्‌!

“हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?”भज. १५:१.

सिक्न सकिने कुरा

यहोवाको मित्र भइरहन हामीले के गर्नुपर्छ र हामीले उहाँका साथीहरूसित कस्तो व्यवहार गरेको उहाँ चाहनुहुन्छ भनेर यस लेखमा छलफल गर्नेछौँ।

१. भजन १५:१-५ बाट हामी कस्तो कुरा सिक्न सक्छौँ?

 यसअघिको लेखमा हामीले यहोवालाई आफ्नो जीवन समर्पण गरेर उहाँसित घनिष्ठ सम्बन्ध कायम राखिराख्यौँ भने उहाँको पालमा पाहुना हुन सक्छौँ भनेर सिक्यौँ। तर उहाँसित घनिष्ठ सम्बन्ध कायम राखिराख्न हामीले के गर्नुपर्छ? यसको जवाफ भजन अध्याय १५ मा पाउन सक्छौँ। (भजन १५:१-५ पढ्‌नुहोस्‌।) त्यस अध्यायबाट यहोवासित अझ नजिक हुन के गर्नुपर्छ भनेर बुझ्न सक्छौँ।

२. दाउदले यहोवाको पालबारे बताउँदा के सोचिरहेका हुन सक्छन्‌?

भजन १५ अध्यायको सुरुमा दाउदले यस्ता प्रश्‍नहरू गरे: “हे यहोवा, तपाईँको पालमा कसले बास पाउला? तपाईँको पवित्र डाँडामा को बस्न पाउला?” (भज. १५:१) तिनले यहोवाको “पाल”-बारे बताउँदा त्यतिबेला केही समयको लागि गिबोनमा भएको वासस्थानबारे सोचिरहेका हुन सक्छन्‌। दाउदले यहोवाको “पवित्र डाँडा”-बारे पनि बताएका छन्‌। सायद त्यतिबेला तिनले यरुसलेमको सियोन डाँडामा भएको पालबारे सोचिरहेका हुन सक्छन्‌। गिबोनको दक्षिणमा लगभग १० किलोमिटरजति पर दाउदले एउटा पाल टाँगे र यहोवाको मन्दिर निर्माण नभएसम्म करारको सन्दुक त्यहीँ राखे।—२ समु. ६:१७.

३. हामीले भजन अध्याय १५ किन अध्ययन गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्‌।)

हुनत धेरैजसो इस्राएलीले कहिल्यै वासस्थानमा सेवा गर्ने मौका पाएनन्‌। साथै एकदमै थोरै इस्राएली मात्रै करारको सन्दुक राखिएको पालभित्र जान सक्थे। तर यहोवासित मित्रता गाँस्ने र त्यसलाई कायम राखिराख्ने सबै इस्राएली उहाँको पाहुना बन्‍न सक्थे। हामी सबैको इच्छा पनि यही हो। भजन अध्याय १५ मा यहोवाको मित्र भइरहन हामीले विकास गर्नुपर्ने केही गुणहरूबारे बताइएको छ।

दाउदको समयका इस्राएलीहरूले यहोवाको पालमा पाहुना हुनुको अर्थ के हो भनेर सजिलै कल्पना गर्न सक्थे (अनुच्छेद ३ हेर्नुहोस्‌)


निर्दोष जीवन बिताउनुहोस्‌ र असल काम गर्नुहोस्‌

४. यहोवाको मित्र बन्‍न बप्तिस्मा गर्नु मात्र किन पर्याप्त छैन? (यसैया ४८:१)

भजन १५:२ मा परमेश्‍वरको मित्रले “निर्दोष जीवन बिताउँछ” र “असल काम गर्छ” भनेर बताइएको छ। तर यो एक चोटि मात्र गरेर पुग्ने कुरा होइन, हामीले निर्दोष जीवन बिताइरहनुपर्छ र असल काम गरिरहनुपर्छ। तर के ‘निर्दोष जीवन बिताउन’ साँच्चै सम्भव छ? पक्कै छ। हुनत कोही पनि मानिस त्रुटिरहित छैन। तर हामीले यहोवाको आज्ञा पालन गर्न आफ्नो तर्फबाट सक्दो गऱ्‍यौँ भने उहाँको नजरमा ‘निर्दोष जीवन बिताइरहेका हुन्छौँ।’ समर्पण र बप्तिस्मा यहोवासितको यात्राको सुरुवात मात्र हो। बाइबलकालीन समयमा पनि कुनै व्यक्‍ति जन्मजात इस्राएली हुँदैमा तिनी स्वतः यहोवाको पाहुना हुन सक्दैनथे। कोही-कोहीले यहोवालाई पुकार्थे तर “सत्यबमोजिम र इमानदारीसाथ” पुकार्दैनथे। (यसैया ४८:१ पढ्‌नुहोस।) यहोवाको पाहुना बन्‍न चाहने इस्राएलीहरूले यहोवाका स्तरहरू के हुन्‌ भनेर बुझ्नुपर्थ्यो र ती पालन गर्नुपर्थ्यो। त्यसैगरि आज पनि यहोवाको मित्र बन्‍नको लागि बप्तिस्मा गर्नु र भाइबहिनीहरूसित सङ्‌गत गर्नु मात्र पर्याप्त छैन, हामीले ‘असल काम गरिरहनुपर्छ।’ हामी कसरी यसो गर्न सक्छौँ?

५. यहोवाप्रति आज्ञाकारी हुनुमा कस्ता कुराहरू समावेश छन्‌?

‘निर्दोष जीवन बिताउनु’ र ‘असल काम गर्नुमा’ नियमित रूपमा सभामा उपस्थित हुनु मात्र समावेश छैन। (१ समु. १५:२२) हामीले जीवनको हरेक पक्षमा यहोवाको आज्ञा पालन गर्ने कोसिस गर्नुपर्छ, एक्लै हुँदा समेत। (हितो. ३:६; उप. १२:१३, १४) हामीले ससाना कुराहरूमा पनि यहोवाको आज्ञा पालन गर्ने कोसिस गर्नुपर्छ। यसो गर्दा हामीले उहाँलाई साँच्चै प्रेम गरेको देखाइरहेका हुन्छौँ र उहाँले पनि हामीलाई अझ धेरै प्रेम गर्नुहुनेछ।—युह. १४:२३; १ युह. ५:३.

६. हिब्रू ६:१०-१२ अनुसार हामीले विगतमा गरेका असल कामहरूभन्दा के महत्त्वपूर्ण छ?

हामीले यहोवाको सेवामा जे-जति गऱ्‍यौँ, त्यसको उहाँ धेरै मोल गर्नुहुन्छ। तर विगतमा हामीले गरेका कुराहरूकै आधारमा हामी यहोवाको पाहुना भइरहन सक्दैनौँ। यो कुरा हामी हिब्रू ६:१०-१२ बाट बुझ्न सक्छौँ। (पढ्‌नुहोस्‌।) यहोवा हामीले विगतमा गरेका असल कामहरू बिर्सनुहुन्‍न। तर उहाँ हामीले तनमनले “अन्तसम्मै” उहाँको उपासना गरेको चाहनुहुन्छ। हामीले ‘हरेस नखाई असल काम गरिरह्‍यौँ’ भने उहाँ सधैँभरि हाम्रो मित्र भइरहनुहुनेछ।—गला. ६:९.

मनैदेखि सत्य बोल्नुहोस्‌

७. मनैदेखि सत्य बोल्नुको अर्थ के हो?

हामी यहोवाको पाहुना हुन चाहन्छौँ भने हामीले ‘मनैदेखि सत्य बोल्नुपर्छ।’ यसको मतलब झूट नबोल्नु मात्र होइन। (भज. १५:२) यहोवा हामी आफ्नो बोलीमा मात्र होइन, व्यवहारमा पनि इमानदार भएको चाहनुहुन्छ। (हिब्रू १३:१८) यसो गर्नु एकदमै महत्त्वपूर्ण छ किनभने “धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।”—हितो. ३:३२.

८. हामी कस्तो सोचाइ र व्यवहारदेखि अलग रहनुपर्छ?

धूर्त मानिसले यहोवाका आज्ञाहरू सर्वोत्तम छन्‌ भन्‍ने कुरामा शङ्‌का गर्न सक्छ। (याकु. १:५-८) तिनी आफूलाई सानोजस्तो लाग्ने कुराहरूमा यहोवाप्रति अनाज्ञाकारी हुन सक्छन्‌। अनि आफू अनाज्ञाकारी भए पनि कुनै खराब नतिजा भोग्नुपरेन भने यहोवाका नियम-कानुनहरू तोड्‌न तिनी अझै सुरिन सक्छन्‌। (उप. ८:११) तिनलाई आफूले यहोवाको सेवा गरिरहेको नै छु जस्तो लाग्न सक्छ। तर यहोवाले तिनको उपासना स्विकार्नुहुन्‍न। ‘मनैदेखि सत्य बोल्ने’ मानिस भने अरूको अगाडि मात्र होइन, एक्लै हुँदा पनि यहोवाप्रति आज्ञाकारी हुन्छन्‌। (यसै. २९:१३) हो, हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।

९. येसुले नथनेललाई पहिलो चोटि भेट्‌नुभएको विवरणबाट हामी के सिक्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

येसुका चेला फिलिपले आफ्नो साथी नथनेललाई उहाँसित भेटाउन ल्याउँदा के भएको थियो, विचार गरौँ। येसुले नथनेललाई यसअघि पहिला कहिल्यै भेट्‌नुभएको थिएन। तर नथनेललाई देख्नेबित्तिकै उहाँले यसो भन्‍नुभयो: “हेर, एक जना सच्चा इस्राएली, जसमा कुनै छल छैन।” (युह. १:४७) यस विवरणबाट हामी इमानदार हुनुको महत्त्व बुझ्न सक्छौँ। हुनत येसुका अरू चेलाहरू पनि इमानदार थिए तर येसुलाई नथनेलको इमानदारी उल्लेखनीय लाग्यो। नथनेल हामीजस्तै त्रुटिपूर्ण थिए तर तिनमा कुनै छल थिएन। येसुलाई त्यो कुरा मन पऱ्‍यो र उहाँले तिनको प्रशंसा गर्नुभयो। येसुले नथनेलको जस्तै हाम्रो पनि प्रशंसा गर्नुभयो भने हामी कत्ति गर्व महसुस गर्छौँ नि, होइन र?

फिलिपले आफ्नो साथी नथनेललाई येसुसित भेटाइदिए। उहाँले नथनेललाई कुनै छल नभएको सच्चा इस्राएली भन्‍नुभयो। के येसुले हामीबारे पनि त्यसै भन्‍नुहुनेछ? (अनुच्छेद ९ हेर्नुहोस्‌)


१०. हामी आफ्नो बोलीमा किन होसियार हुनुपर्छ? (याकुब १:२६)

१० भजन अध्याय १५ मा बताइएका धेरैजसो कुरा हामीले अरूसित गर्ने व्यवहारसित सम्बन्धित छ। भजन १५:३ मा बताइएअनुसार यहोवाको पाहुनाले अरूको “निन्दा गर्दैन, छिमेकीको खराबी गर्दैन र साथीहरूको बेइज्जत गर्दैन।” हामीले आफ्नो जिब्रोमा लगाम लगाएनौँ भने अरूलाई चोट पुग्न सक्छ र हामी यहोवाको पाहुना भइरहन योग्य हुँदैनौँ।—याकुब १:२६ पढ्‌नुहोस्‌।

११. निन्दा गर्नु भनेको के हो र अरूको निन्दा गर्ने तर पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई के गरिन्छ?

११ दाउदले निन्दाबारे तोकेरै बताएका छन्‌। निन्दा गर्नु भनेको के हो? निन्दा गर्नु भनेको कुनै व्यक्‍तिबारे नचाहिँदो हल्ला फैलाउनु हो, जसले गर्दा तिनको बदनाम हुन सक्छ। यदि कुनै व्यक्‍तिले अरूको निन्दा गर्छन्‌ र पश्‍चात्ताप गर्दैनन्‌ भने तिनी यहोवाको साक्षी भइरहन सक्दैनन्‌।—यर्मि. १७:१०.

१२-१३. हामीले कस्ता अवस्थाहरूमा अनजानमै आफ्ना साथीहरूको बदनाम गरिरहेका हुन सक्छौँ? (चित्र पनि हेर्नुहोस्‌।)

१२ भजन १५:३ मा यहोवाका पाहुनाहरूले छिमेकीको खराबी गर्दैनन्‌ र साथीहरूको बेइज्जत गर्दैनन्‌ भनेर पनि बताइएको छ। साथीहरूको बेइज्जत नगर्नुमा के समावेश छ?

१३ अरूबारे भए-नभएको कुरा गर्दै हिँड्‌दा हामीले अनजानमै तिनीहरूको बदनाम गरिरहेका हुन सक्छौँ। निम्न अवस्थाहरू विचार गरौँ। (१) एक बहिनीले अग्रगामी सेवा छोड्‌छिन्‌, (२) पहिले बेथेल सेवा गरिरहेको एक दम्पती अहिले बेथेल सेवा गर्दैन वा (३) एक जना भाइ अहिले एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्दैनन्‌। ती प्रत्येक अवस्थामा ती भाइ वा बहिनीले गल्ती गरेकोले तिनीहरूले सेवाको सुअवसर गुमाएका हुन्‌ भनेर अड्‌कल काट्‌नु र आफूले अनुमान लगाएको कुरा अरूलाई बताउँदै हिँड्‌नु के उचित हो? होइन। किनभने यस्तो हुनुका थुप्रै कारण हुन सक्छन्‌, जुन हामीलाई थाह नहुन सक्छ। हो, परमेश्‍वरको पाहुनाले “छिमेकीको खराबी गर्दैन र साथीहरूको बेइज्जत गर्दैन।”

अरूबारे नचाहिँदो हल्ला सजिलै फैलिन सक्छ र त्यसले निन्दाको रूप लिन सक्छ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)


यहोवाको डर मान्‍नेहरूलाई आदर गर्नुहोस्‌

१४. ‘नीच मानिसलाई तिरस्कार गर्नुको’ अर्थ के हो?

१४ भजन १५:४ मा बताइएअनुसार यहोवाको मित्रले “नीच मानिसलाई तिरस्कार गर्छ।” यहाँ बताइएको नीच मानिसले कस्ता मानिसहरूलाई बुझाउँछ? हामी त्रुटिपूर्ण मानिसहरूसित कुनै व्यक्‍ति नीच हो कि होइन भनेर छुट्ट्याउन सक्ने क्षमता छैन। किनभने हामी सबै मानिससँग उत्तिकै मिलेर बस्न सक्दैनौँ। अनि कुनै-कुनै मानिसको बानीबेहोरा देखेर हामीलाई रिस उठिहाल्छ। तर यहोवाले “नीच” ठान्‍नुहुने व्यक्‍तिहरूलाई मात्र हामीले तिरस्कार गर्नुपर्छ। (१ कोरि. ५:११) यस्ता मानिसहरूमा गलत काम गर्ने तर पश्‍चात्ताप नगर्ने, हाम्रो विश्‍वासलाई अनादर गर्ने र यहोवासितको हाम्रो सम्बन्धलाई कमजोर बनाउन खोज्ने मानिसहरू पर्छन्‌।—हितो. १३:२०.

१५. यहोवाको डर मान्‍नेहरूको आदर गर्ने एउटा तरिका के हो?

१५ अर्कोतर्फ भजन १५:४ मा बताइएअनुसार हामीले ‘यहोवाको डर मान्‍नेहरूलाई’ आदर गर्नुपर्छ। त्यसैले हामी यहोवाका मित्रहरूलाई दया देखाउने तरिकाहरू खोज्छौँ र तिनीहरूको आदर गर्छौँ। (रोमी १२:१०) यसो गर्न सकिने एउटा तरिकाबारे भजन १५:४ मा बताइएको छ। त्यहाँ लेखिएअनुसार परमेश्‍वरको पाहुनाले “आफ्नै हानि भए पनि आफ्नो वचन पूरा गर्छ।” हामीले कसैसित कुनै वाचा गरेका छौँ तर त्यो पूरा गरेनौँ भने तिनको चित्त दुख्छ। (मत्ति ५:३७) जस्तै: यहोवा आफ्ना पाहुनाहरूले विवाहको वाचा पूरा गरेको चाहनुहुन्छ। आमाबुबाले आफ्ना छोराछोरीसित गरेको वाचा पूरा गर्न सक्दो कोसिस गर्दा पनि यहोवा खुसी हुनुहुन्छ। यहोवा र छिमेकीप्रतिको प्रेमले हामीलाई आफ्नो वचन पूरा गर्न सक्दो कोसिस गर्न उत्प्रेरित गर्छ।

१६. यहोवाका मित्रहरूलाई आदर गर्ने अर्को तरिका के हो?

१६ यहोवाका मित्रहरूलाई आदर गर्ने अर्को तरिका तिनीहरूको अतिथि-सत्कार गर्नु र तिनीहरूसित अझ धेरै समय बिताउनु हो। (रोमी १२:१३) सभाहरू र साक्षीकार्यमा बाहेक अरू बेलामा भाइबहिनीसित समय बिताउँदा हामी तिनीहरूसित र यहोवासित अझ घनिष्ठ हुन सक्छौँ। साथै अतिथि-सत्कार गर्दा हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ।

पैसालाई प्रेम नगर्नुहोस्‌

१७. भजन अध्याय १५ मा किन पैसाबारे कुरा गरिएको छ?

१७ भजन १५:५ मा बताइएअनुसार परमेश्‍वरको पाहुनाले “पैसा ब्याजमा लगाउँदैन” र “निर्दोष मानिसविरुद्ध घुस लिँदैन।” भजनको यस छोटो अध्यायमा पनि किन पैसाबारे कुरा गरिएको होला? किनभने पैसालाई बढ्‌तै महत्त्व दिँदा हामीलाई मानिसहरूभन्दा पैसा धेरै महत्त्वपूर्ण छ जस्तो लाग्न सक्छ र यहोवासितको मित्रता पनि खतरामा पर्न सक्छ। (१ तिमो. ६:१०) बाइबलकालीन समयमा केही इस्राएलीहरूले गरिबहरूमाथि ब्याज लगाएर तिनीहरूसित अन्यायपूर्ण व्यवहार गरे। साथै केही न्यायकर्ताले घुस लिएर निर्दोषहरूलाई दोषी ठहऱ्‍याए। यस्ता कुराहरूलाई यहोवा घृणा गर्नुहुन्छ।—इज. २२:१२.

१८. पैसाप्रतिको आफ्नो दृष्टिकोणलाई जाँच्न हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौँ? (हिब्रू १३:५)

१८ पैसाप्रति सन्तुलित दृष्टिकोण राखिराख्न हामीले आफूलाई बेलाबेलामा जाँच्नुपर्छ। त्यसको लागि हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘के म जत्तिखेर पनि पैसा र यसले किन्‍न सक्ने कुराहरूबारे मात्र सोचिरहन्छु? यदि मैले कसैसित सापटी लिएको छु भने ऊसँग पैसा छँदै छ नि भन्‍ने सोचाइ राख्दै आफूले सापटी लिएको पैसा तिर्न ढिलासुस्ती गर्छु? पैसा भएकोले के म आफूलाई ठूलो ठान्छु तर अरूलाई दिन भने कन्जुस्याइँ गर्छु? यदि कुनै भाइबहिनी धनी छन्‌ भने तिनी यहोवालाई भन्दा पैसालाई धेरै प्रेम गर्छन्‌ भनेर सोच्छु? के म धनीहरूलाई चाहिँ साथी बनाउँछु तर गरिबहरूलाई चाहिँ वास्तै गर्दिनँ?’ हामीले यहोवाको पाहुना हुने सुअवसर पाएका छौँ। पैसाप्रतिको प्रेमबाट मुक्‍त भयौँ भने मात्र हामी यहोवाको पाहुना भइरहन सक्छौँ। यसो गऱ्‍यौँ भने यहोवाले हामीलाई कुनै हालतमा छोड्‌नुहुनेछैन।—हिब्रू १३:५ पढ्‌नुहोस्‌।

यहोवा आफ्ना मित्रहरूलाई प्रेम गर्नुहुन्छ

१९. यहोवा हामीले किन भजन अध्याय १५ मा दिइएको सल्लाहअनुसार जीवन बिताएको चाहनुहुन्छ?

१९ भजन १५:५ अनुसार गर्ने मानिस “कहिल्यै डग्नेछैन” भनेर सोही अध्यायको अन्तमा प्रतिज्ञा गरिएको छ। यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ। त्यसैले हामीले भजनको यस अध्यायमा दिइएको सल्लाहअनुसार जीवन बिताएको उहाँ चाहनुहुन्छ। यहोवा हामीलाई प्रेम गर्नुहुन्छ; त्यसैले हामीलाई डोऱ्‍याउनुहुन्छ। उहाँको डोऱ्‍याइअनुसार चल्यौँ भने हामीले आशिष्‌ र सुरक्षा पाउनेछौँ।—यसै. ४८:१७.

२०. यहोवाका पाहुनाहरू कस्तो समयको प्रतीक्षा गर्दै छन्‌?

२० यहोवाका पाहुनाहरू उज्ज्वल भविष्यको प्रतीक्षा गर्दै छन्‌। अभिषिक्‍त जनहरू यहोवाको निवासस्थानमा जानेछन्‌, जहाँ येसुले ‘तिनीहरूको लागि ठाउँ तयार पार्नुभएको छ।’ (युह. १४:२) पृथ्वीमा सधैँभरि बाँच्ने आशा भएकाहरू प्रकाश २१:३ मा बताइएको प्रतिज्ञा पूरा हुने समयको प्रतीक्षा गर्दै छन्‌। यहोवाको मित्र भएर सधैँभरि उहाँको पालमा रहने निम्तो पाउनु हाम्रो लागि साँच्चै ठूलो सम्मानको कुरा हो!

गीत ३९ परमेश्‍वरको नजरमा असल नाउँ राखौँ!