सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

सन्‌ २०२० “सधैँ रमाओ!” अधिवेशन कार्यक्रमको अनुवाद

सन्‌ २०२० “सधैँ रमाओ!” अधिवेशन कार्यक्रमको अनुवाद

जुलाई १०, २०२०

 सन्‌ २०२० को जुलाई र अगस्त महिनामा पहिलो चोटि विश्‍वभरिका सबै यहोवाका साक्षीहरूले एउटै समयमा अधिवेशनको कार्यक्रम हेर्न सक्नेछन्‌। यसको लागि रेकर्ड गरिएका भाषणहरू ५०० भन्दा धेरै भाषामा अनुवाद गरिनुपर्छ। प्रायजसो यस्तो कामको लागि योजना बनाउन र पूरा गर्न एक वर्ष वा त्योभन्दा लामो समय लाग्छ। तर कोरोना भाइरसको महामारीको कारण २०२० “सधैँ रमाओ!” अधिवेशनका अनुवादकहरूसित यो काम पूरा गर्न चार महिनाभन्दा कम समय थियो।

 यहोवाका साक्षीहरूको मुख्यालयमा भएको अनुवाद सेवा विभाग र विश्‍वव्यापी किनमेल विभागले यो ठूलो काम पूरा गर्न मदत गऱ्‍यो। अनुवाद सेवा विभागले यो काम पूरा गर्न अनुवादकहरूलाई उच्च गुणस्तरको माइक्रोफोनजस्ता थप सरसाधनको आवश्‍यकता छ भनेर महसुस गऱ्‍यो। विश्‍वव्यापी किनमेल विभागले १,००० वटा माइक्रोफोन किनेर त्यसलाई लगभग २०० वटा ठाउँमा पुऱ्‍याउने प्रबन्ध मिलायो।

 खर्च कम गर्न विश्‍वव्यापी किनमेल विभागले माइक्रोफोनहरू एकैचोटिमा धेरै वटा किन्यो। ती माइक्रोफोनहरूलाई एक ठाउँमा ढुवानी गरियो र त्यस ठाउँबाट विश्‍वभरिका अनुवाद टोलीहरूलाई पठाइयो। यसरी एकैचोटि धेरै किन्दा एउटा माइक्रोफोनको मूल्य ढुवानी शुल्कसमेत गरेर लगभग १७० अमेरिकी डलर (लगभग २०,००० नेपाली रुपियाँ) पर्न आयो। यी माइक्रोफोनहरू एउटा-एउटा किनेको भए धेरै महँगो पर्थ्यो।

 विश्‍वव्यापी किनमेल विभागले यी सामानहरू अप्रिल र मे महिनामा किनेर त्यसलाई ढुवानी पनि गर्नुपर्थ्यो। तर त्यतिखेर कोरोना महामारीको कारण थुप्रै व्यवसायहरू ठप्प थिए। तैपनि मे महिनाको अन्तसम्ममा प्रायजसो स-साना अनुवाद कार्यालयहरू, शाखा कार्यालयहरू र अनुवादको काम हुने अरू ठाउँहरूमा ती सामानहरू पुगिसकेका थिए।

 विश्‍वव्यापी किनमेल विभागका निरीक्षक भाइ जे स्विनी यसो भन्छन्‌, “यस काममा बेथेलका विभागहरू र बाहिरका कारोबारीहरूबीच राम्रो तालमेल थियो। यहोवाको पवित्र शक्‍तिको मदतले गर्दा नै हामीले यो काम यत्ति चाँडो पूरा गर्न सक्यौँ अनि भाइबहिनीहरूबाट प्राप्त अनुदानको पनि सदुपयोग गर्न सक्यौँ।”

 अनुवाद सेवा विभागमा कार्यरत भाइ निकोलस अलादिस यसो भन्छन्‌, “लकडाउनको समयमा अनुवादकहरूले यी सामानहरू पाउँदा तिनीहरू निकै प्रोत्साहित भए। आफ्नो टोलीको अरू अनुवादकहरूसित एकै ठाउँमा बसेर काम गर्न नसके पनि तिनीहरूले सँगै मिलेर अधिवेशनका भाषणहरू, नाटकहरू र गीतहरू ५०० भन्दा धेरै भाषामा अनुवाद र रेकर्ड गर्न सक्थे।”

 सन्‌ २०२० को “सधैँ रमाओ!” अधिवेशनको कार्यक्रम सम्पन्‍न गर्न थुप्रै काम गर्नुपरेको थियो। तीमध्ये एउटा काम अनुवादकहरूलाई आवश्‍यक पर्ने सामग्रीहरू जुटाउनु थियो। तपाईँहरूले उदार भएर donate.pr418.com र अन्य माध्यममार्फत दिनुभएको अनुदानले गर्दा नै यी आवश्‍यक सामानहरू खरिद गर्न सम्भव भएको हो।